सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो अभिलेखालयबाट

‘त्यो जस्तो राम्रो समाचार पहिला कहिल्यै सुन्‍न पाएको थिएन’

‘त्यो जस्तो राम्रो समाचार पहिला कहिल्यै सुन्‍न पाएको थिएन’

“यो सब केको लागि?” जर्ज नाशले सोधे। तिनले क्यानाडाको सास्काटुनको गोदाममा थुपारिएका १८ मिटर लामा-लामा मुढाहरूलाई देखाउँदै उक्‍त प्रश्‍न सोधे। ती मुढाहरू प्रथम विश्‍वयुद्धको बेला सूचना टावर बनाउन प्रयोग गरिएको थियो भन्‍ने जवाफ दिइयो। भाइ नाशले पछि भने, “मलाई लाग्यो, यी मुढाहरू रेडियो टावर बनाउन काम लाग्छ। यसरी हाम्रो प्रचारकार्यलाई रेडियो स्टेसनमार्फत विस्तार गर्ने कुरा सुरु भयो।” त्यसको एक वर्षपछि, सन्‌ १९२४ मा सी एच यु सी-बाट प्रसारण सुरु भयो। क्यानाडामा धार्मिक विषयमा प्रसारण गर्ने सुरु-सुरुतिरका रेडियो स्टेसनहरूमध्ये यो पनि थियो।

क्यानाडा युरोप जत्तिकै ठूलो छ। त्यसैले यहाँ रेडियो मार्फत साक्षी दिनु एकदमै उपयुक्‍त थियो। सास्काटुनको रेडियो स्टेसनमा काम गर्ने फ्लोरेन्स जोन्सनले यसो भनिन्‌: “हाम्रो रेडियो प्रसारणले गर्दा थुप्रै मानिसलाई बाइबलको सन्देश सुनाउन सक्यौं, तीमध्ये कतिपयलाई हामीले भेट्‌न सम्भवै हुनेथिएन। त्यतिबेला रेडियो नयाँ कुरा थियो। त्यसैले रेडियोमा प्रसारण गरिएका सबै कुरा मानिसहरू कान ठाडो पारेर सुन्थे।” सन्‌ १९२६ सम्ममा त बाइबल स्टुडेन्ट्‌सले (त्यतिबेला यहोवाका साक्षीहरूलाई बोलाइने नाम) क्यानाडाको चारवटा सहरमा आफ्नै रेडियो स्टेसन सञ्चालन गरिरहेका थिए। a

यी प्रसारणहरूमा तपाईंले के सुन्‍नुहुने थियो? स्थानीय मण्डलीका गायकहरूले अक्सर वाद्यवादक अनि सानो वाद्यटोलीको साथमा गीत गाउँथे। भाइहरूले प्रवचन दिन्थे अनि बाइबलआधारित विषयमा छलफल गर्थे। यस्ता छलफलमा भाग लिएकी एमी जोन्सले भनिन्‌: “प्रचारकार्यमा भाग लिंदा मैले आफ्नो परिचय दिने बित्तिकै घरधनीले कहिलेकाहीं यसो भन्थे, ‘अँ, थाह छ, मैले तपाईंको कार्यक्रम सुनिसकें।’”

नोभा स्कटियाको ह्‍यालिफ्याक्स भन्‍ने ठाउँका बाइबल स्टुडेन्ट्‌सले एउटा नयाँ तरिका अपनाए। त्यो थियो, श्रोताहरूले फोन गरेर प्रश्‍न सोध्ने टक शो। एक जना भाइले यस्तो लेखे: “एकदमै राम्रो प्रतिक्रिया प्राप्त भयो। यति धेरै फोन आयो कि सबैलाई जवाफ दिन सम्भवै भएन।”

प्रेषित पावलको समयमा जस्तै, बाइबल स्टुडेन्ट्‌सको कुराप्रति मानिसहरूले फरक-फरक प्रतिक्रिया देखाए। (प्रेषि. १७:१-५) कोही-कोही श्रोताले त्यो सन्देश रुचाए। उदाहरणको लागि, धर्मशास्त्रको अध्ययन (अङ्‌ग्रेजी) भन्‍ने किताबको नाम रेडियोमा सुनेपछि हेक्टर मार्शलले छवटा खण्ड अर्डर गरे। पछि तिनले यस्तो लेखे: “यी किताबहरू पढ्यो भने सन्डे स्कूलमा सिकाउन सजिलो हुन्छ जस्तो लाग्यो।” तर पहिलो खण्ड पढी सिध्याउन्जेलसम्ममा हेक्टरले चर्च छोड्‌ने निर्णय गरिसकेका थिए। तिनी जोसिलो प्रचारक भए अनि सन्‌ १९९८ मा मृत्यु नहोउन्जेलसम्म वफादार भई यहोवाको सेवा गरे। पूर्वी नोभा स्कटियामा “परमेश्‍वरको राज्य—संसारको आशा” विषयक भाषण प्रसारण भएको भोलिपल्ट कर्नेल जे. ए. म्याकडोनाल्डले त्यही इलाकाको एक जना भाइलाई भने: “केप ब्रेटन टापुका मानिसहरूले हिजो एकदमै राम्रो सन्देश सुने। यहाँका मानिसहरूले त्यो जस्तो राम्रो समाचार पहिला कहिल्यै सुन्‍न पाएका थिएनन्‌।”

अर्कोतर्फ, पादरीहरू भने असाध्यै रिसाए। ह्‍यालिफ्याक्सका कोही-कोही क्याथोलिकले बाइबल स्टुडेन्ट्‌सको कार्यक्रम प्रसारण गर्ने स्टेसनलाई ध्वस्त पार्ने धम्की दिए। धार्मिक नेताहरूले उक्साएपछि सन्‌ १९२८ मा सरकारले अचानक बाइबल स्टुडेन्ट्‌सको प्रसारण अनुमति-पत्र नविकरण नगर्ने घोषणा गऱ्‍यो। यसको प्रतिकार गर्दै भाइबहिनीहरूले प्रसारण अधिकार कसको? (अङ्‌ग्रेजी) भन्‍ने सन्देश छापेर वितरण गरे। तैपनि सरकारी अधिकृतहरूले बाइबल स्टुडेन्ट्‌सको प्रसारण अनुमति-पत्र नविकरण गर्न मानेनन्‌।

के यसले गर्दा क्यानाडाका यहोवाका सेवकहरूको सानो समूहको मनोबल घट्यो? इजाबेल वेनराइटले यसो भनिन्‌, “सुरुमा त शत्रुको ठूलो विजय भयो जस्तो लाग्यो। तर मलाई थाह थियो, यहोवाले चाहेको भए रोक्न सक्नुहुन्थ्यो। त्यसैले अर्कै उल्लेखनीय तरिका अपनाएर परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनुपर्ने समय भएको हुनुपर्छ।” साक्षी दिनको लागि रेडियोमा मात्रै भर पर्नुको साटो क्यानाडाका बाइबल स्टुडेन्ट्‌सले मानिसहरूलाई घर-घरमा भेटेर प्रचार गर्न थाले। तर मानिसहरूले ‘पहिला कहिल्यै नसुनेको राम्रो समाचार’ प्रसारण गर्न त्यतिबेला रेडियोले उल्लेखनीय भूमिका खेलेको थियो।—क्यानाडाको हाम्रो अभिलेखालयबाट।

a रेडियोबाट साक्षी दिन क्यानाडाका भाइहरूले व्यावसायिक रेडियो स्टेसनमा पनि समय किने।

[पृष्ठ ३२-मा भएको चित्र]

 

[पृष्ठ ३२-मा भएको चित्र]