सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको महान्‌ नामको आदर गर्नुहोस्

यहोवाको महान्‌ नामको आदर गर्नुहोस्

“म तपाईंको नाउँको महिमा सदाको निम्ति गर्नेछु।”—भज. ८६:१२.

१, २. परमेश्वरको नामप्रति यहोवाका साक्षीहरूको दृष्टिकोण चर्चहरूको भन्दा कसरी फरक छ?

धेरैजसो चर्चले परमेश्वरको नाम प्रयोग गरेका छैनन्‌। जस्तै:- एउटा बाइबलको * प्राक्कथनमा यस्तो लेखिएको छ: “एक मात्र परमेश्वरलाई कुनै पनि व्यक्तिवाचक नामले सम्बोधन गर्नु . . . सम्पूर्ण ख्रीष्टियन चर्चको लागि सरासर अनुचित हो।”

तर यहोवाका साक्षीहरू भने परमेश्वरको नाम बहन गर्न र यस नामको महिमा गर्न पाएकोमा गर्व गर्छन्‌। (भजन ८६:१२; यशैया ४३:१० पढ्नुहोस्) साथै यस नामको अर्थ र यस नामको पवित्रीकरणसित सम्बन्धित विवाद बुझ्न पाउनुलाई हामी ठूलो सुअवसर ठान्छौं। (मत्ती ६:९) यस्तो सुअवसरलाई कहिल्यै नबिर्सन मदत गर्ने तीनवटा महत्त्वपूर्ण प्रश्न विचार गरौं: परमेश्वरको नाम थाह पाउनुको अर्थ के हो? यहोवाले कसरी आफ्नो नामअनुसारकै काम गर्नुभएको छ? अनि हामी कसरी यहोवाको नाममा हिंड्न सक्छौं?

परमेश्वरको नाम थाह पाउनुको अर्थ

३. परमेश्वरको नाम थाह पाउनुको अर्थ के हो?

परमेश्वरको नाम थाह पाउनु भनेको “यहोवा” भन्ने शब्द थाह पाउनु मात्र होइन। यसमा यहोवाको गुण, उद्देश्य र उहाँको तौरतरिका, विशेषगरि उहाँले आफ्ना सेवकहरूसित गर्नुभएको व्यवहार बुझ्नु समावेश छ। आफ्नो उद्देश्य पूरा गर्ने क्रममा यहोवाले यी सबै कुरा अलि-अलि गर्दै प्रकट गर्नुभएको छ। (हितो. ४:१८) यहोवाले प्रथम मानव दम्पतीलाई आफ्नो नाम थाह दिनुभयो; कयिनलाई जन्माउँदा हव्वाले त्यो नाम प्रयोग गरिन्‌। (उत्प. ४:१, NW) विश्वासी कुलपिताहरू नूह, अब्राहाम, इसहाक र याकूबलाई परमेश्वरको नाम थाह थियो। यहोवाले आशिष्‌ दिंदा, हेरविचार गर्दा र आफ्नो उद्देश्य प्रकट गर्दा तिनीहरूले उहाँबारे अझ धेरै कुरा बुझ्न सके। पछि परमेश्वरले मोशालाई आफ्नो नामको अर्थबारे विशेष कुरा प्रकट गर्नुभयो।

मोशालाई परमेश्वरको नामको अर्थ थाह थियो र यसले तिनको विश्वास बलियो बनायो

४. मोशाले परमेश्वरको नामबारे किन प्रश्न गरे? परमेश्वरले छुटकारा दिनुहुनेछ भनेर मोशाले इस्राएलीहरूलाई विश्वस्त पार्न चाहनुको कारण के थियो?

 प्रस्थान ३:१०-१५ पढ्नुहोस्। मोशा ८० वर्षको हुँदा परमेश्वरले तिनलाई यस्तो आज्ञा दिनुभयो: ‘मेरा प्रजा अर्थात्‌ इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्या।’ त्यसपछि मोशाले परमेश्वरलाई आदरपूर्वक यस्तो अर्थपूर्ण प्रश्न गरे: ‘तपाईंको नाम के हो?’ परमेश्वरका सेवकहरूलाई उहाँको नाम पहिल्यैदेखि थाह थियो। तर मोशाले किन यस्तो प्रश्न गरे? तिनी परमेश्वरबारे अझ धेरै बुझ्न चाहन्थे। परमेश्वरले छुटकारा दिन सक्नुहुन्छ भनेर इस्राएलीहरूलाई विश्वस्त पार्न चाहन्थे। मोशाले यस्तो चाहना राख्नुको कारण हामी बुझ्न सक्छौं। इस्राएलीहरू दासत्वमा परेको वर्षौं भइसकेको थियो अनि यहोवाले छुटकारा दिन सक्नुहोला र भनेर तिनीहरूले शङ्का गर्न सक्थे। केही इस्राएलीले मिश्री देवताहरूको उपासनासमेत गरिरहेका थिए।—इज. २०:७, ८.

५. यहोवाले मोशालाई आफ्नो नामबारे के प्रकट गर्नुभयो?

यहोवाले मोशालाई कस्तो जवाफ दिनुभयो? उहाँले यसो भन्नुभयो: “इस्राएलीहरूलाई तैंले यसो भन्नू, ‘म हुँ भन्नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो।’” * “म हुँ” भन्नुको अर्थ आफ्नो उद्देश्य पूरा गर्न जे आवश्यक छ, यहोवा त्यही हुन वा बन्न सक्नुहुन्छ। त्यसकारण पद १५ मा यहोवाले यसो भन्नुभयो: “मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्तासम्म मेरो सम्झना यही हुनेछ।” यी शब्दहरूले मोशालाई निश्चय पनि गहिरो छाप पाऱ्यो र तिनको विश्वास बलियो बनायो।

यहोवाले आफ्नो नामअनुसारकै काम गर्नुभयो

६, ७. यहोवाले कसरी आफ्नो नामअनुसारकै काम गर्नुभयो?

मोशालाई आज्ञा दिएको केही समयपछि इस्राएलीहरूलाई छुटकारा दिएर यहोवाले आफ्नो नामअनुसारकै काम गर्नुभयो। उहाँले मिश्रमाथि दस विपत्ति ल्याउनुभयो अनि फिरऊन र मिश्री देवताहरूलाई शक्तिहीन प्रमाणित गर्नुभयो। (प्रस्थ. १२:१२) त्यसपछि यहोवाले लाल समुद्रलाई दुई भाग पार्नुभयो र इस्राएलीहरूलाई पार गराउनुभयो; फिरऊन र तिनका सेनाहरूलाई नाश गर्नुभयो। (भज. १३६:१३-१५) “विशाल र महाभयङ्कर उजाड-स्थान”-मा २०/३० लाख वा सोभन्दा धेरै इस्राएलीलाई खानेकुरा र पानी जुटाइदिएर यहोवाले आफूलाई जीवनरक्षक साबित गर्नुभयो। उहाँले तिनीहरूको लुगा अनि जुत्तासमेत पुरानो हुन दिनुभएन। (व्यव. १:१९; २९:५) हो, यहोवालाई आफ्नो प्रतिज्ञा पूरा गर्नदेखि कुनै कुराले रोक्न सक्दैन। पछि उहाँले यशैयालाई यसो भन्नुभयो: “म, अवश्य मनै परमप्रभु हुँ। मबाहेक  अरू कोही उद्धार गर्नेछैन।”—यशै. ४३:११.

मोशाका उत्तराधिकारी यहोशूले पनि मिश्र र उजाडस्थानमा यहोवाले गर्नुभएका शक्तिशाली कामहरू देखेका थिए। त्यसकारण यहोशूले आफ्नो जीवनको अन्तिम घडीतिर सँगी इस्राएलीहरूलाई विश्वस्त हुँदै यसो भन्न सके: “परमप्रभु परमेश्वरले तिमीहरूका बारेमा भन्नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले थाह पाएकै छौ।” (यहो. २३:१४) हो, यहोवाले जे प्रतिज्ञा गर्नुभएको थियो, त्यो पूरा गरेरै छोड्नुभयो।

८. आज यहोवा कसरी आफ्नो नामअनुसारकै काम गर्दै हुनुहुन्छ?

आज पनि यहोवा आफ्नो नामअनुसारकै काम गर्दै हुनुहुन्छ। अन्तको दिनमा “सारा पृथ्वीभरि” राज्य सन्देश प्रचार गरिनेछ भनेर परमेश्वरले आफ्नो छोरामार्फत भविष्यवाणी गर्नुभयो। (मत्ती २४:१४) सर्वशक्तिमान्‌ परमेश्वरबाहेक अरू कसले यस्तो भविष्यवाणी गर्न सक्छ र? अनि आफ्नो वचन पूरा गर्न उहाँ “अशिक्षित अनि साधारण मानिस” प्रयोग गर्दै हुनुहुन्छ। (प्रेषि. ४:१३) त्यसैले प्रचारकार्यमा भाग लिंदा हामीले बाइबल भविष्यवाणी पूरा गरिरहेका हुन्छौं। हाम्रा बुबा यहोवाको आदर गरिरहेका हुन्छौं र यो प्रार्थनाअनुरूप काम गरिरहेका हुन्छौं: “तपाईंको नाम पवित्र पारियोस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्।”—मत्ती ६:९, १०.

परमेश्वरको नाम महान्‌ छ

फिरऊनले यहोवालाई परमेश्वर मान्न इन्कार गऱ्यो

९, १०. यहोवाले इस्राएलीहरूसित गर्नुभएको व्यवहारबाट उहाँबारे थप कस्तो कुरा सिक्न सक्छौं?

इस्राएलीहरूलाई मिश्रबाट छुटकारा दिएको केही समय नबित्दै यहोवाले आफूबारे थप कुरा प्रकट गर्नुभयो। उहाँले तिनीहरूसित व्यवस्थाको करार बाँध्नुभयो र “स्वामी” अर्थात्‌ पतिको रूपमा तिनीहरूको हेरविचार गर्ने प्रतिज्ञा गर्नुभयो। (यर्मि. ३:१४) इस्राएलीहरू यहोवाको पत्नीजस्तै भए। तिनीहरू परमेश्वरको नामद्वारा पुकारिने मानिसहरू भए। (यशै. ५४:५, ६) खुसीसाथ परमेश्वरको अधीनमा बसेमा र उहाँका आज्ञाहरू पालन गरेमा उहाँ तिनीहरूको असल पति हुनुहुने थियो। उहाँले तिनीहरूलाई आशिष्‌, सुरक्षा र शान्ति दिनुहुने थियो। (गन्ती ६:२२-२७) यसरी यहोवाको महान्‌ नाम सबै राष्ट्रसामु महिमित हुने थियो। (व्यवस्था ४:५-८; भजन ८६:७-१० पढ्नुहोस्) इस्राएलीहरू परमेश्वरको सेवक रहुन्जेल थुप्रै विदेशीले साँचो उपासना अँगाले। ती विदेशीहरूले मोआबी रूथले नाओमीलाई भनेझैं भनिरहेका थिए: “तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌, औ तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्‌।”—रूथ १:१६.

 १० यहोवाले इस्राएलीहरूसित लगभग १,५०० वर्षसम्म व्यवहार गर्दा आफ्नो व्यक्तित्वका थुप्रै पक्ष प्रकट गर्नुभयो। तिनीहरू पटक-पटक अनाज्ञाकारी भए तर यहोवाले आफूलाई “टिठाउनमा भरिपूर्ण” र “रीस गर्नमा ढीलो” परमेश्वर साबित गर्नुभयो। उहाँले धैर्य गर्नुभयो। (प्रस्थ. ३४:५-७) तर यहोवाको धैर्यको सीमा छ। यहूदी राष्ट्रले उहाँको छोरालाई तिरस्कार गर्दा र हत्या गर्दा उहाँको धैर्यको बाँध टुट्यो। (मत्ती २३:३७, ३८) त्यसपछि इस्राएलीहरू परमेश्वरको नामको लागि छानिएका मानिसहरू रहेनन्‌। तिनीहरू सुकेको रूखझैं यहोवाको लागि मरेतुल्य भए। (लूका २३:३१) पछि तिनीहरूले परमेश्वरको नामप्रति कस्तो मनोवृत्ति राखे?

११. यहूदीहरूले परमेश्वरको नाम प्रयोग गर्न किन छोडे?

११ इतिहासले देखाएअनुसार यहूदीहरूले परमेश्वरको नामबारे अन्धविश्वासी धारणा अपनाउन थाले। परमेश्वरको नाम अति पवित्र भएकोले कसैले पनि उहाँको नाम उच्चारण गर्नु हुँदैन भन्ने सोचाइ तिनीहरू राख्थे। (प्रस्थ. २०:७) परिणामस्वरूप तिनीहरूले बिस्तारै परमेश्वरको नाम प्रयोग गर्न छोडे। आफ्नो नामको अनादर गरेको देख्दा यहोवाको कत्ति चित्त दुख्यो होला! (भज. ७८:४०, ४१) परमेश्वरको लागि आफ्नो नाम एकदमै महत्त्वपूर्ण छ। बाइबलमा उहाँलाई आफ्नो नामको डाह गर्ने परमेश्वर भनिएको छ। उहाँको नामको अनादर गर्ने इस्राएलीहरूसित उहाँले कहिल्यै आफ्नो नाम जोड्नुहुने थिएन। (प्रस्थ. ३४:१४) यसबाट सृष्टिकर्ताको नामलाई आदर गर्नु एकदमै महत्त्वपूर्ण छ भन्ने पाठ सिक्न सक्छौं।

परमेश्वरको नामद्वारा पुकारिने नयाँ मानिसहरू

१२. परमेश्वरको नामद्वारा पुकारिने मानिसहरू को भए?

१२ यहोवाले नयाँ राष्ट्र अर्थात्‌ आध्यात्मिक इस्राएलसित “नयाँ करार” बाँध्ने उद्देश्य यर्मियामार्फत प्रकट गर्नुभयो। यर्मियाको भविष्यवाणीअनुसार यस राष्ट्रका “सानादेखि ठूलासम्म सबैले” ‘यहोवालाई चिन्ने थिए।’ (यर्मि. ३१:३१, ३३, ३४) इस्वी संवत्‌ ३३ पेन्तिकोसमा परमेश्वरले नयाँ करार स्थापना गर्दा यो भविष्यवाणी पूरा हुन थाल्यो। यहूदी र गैर-यहूदी मिलेर बनेको नयाँ राष्ट्रका मानिसहरू ‘परमेश्वरको नामको लागि छानिएका मानिसहरू’ अर्थात्‌ “[परमेश्वरको] नामद्वारा पुकारिने मानिसहरू” भए।—गला. ६:१६; प्रेषित १५:१४-१७ पढ्नुहोस्; मत्ती २१:४३.

१३. (क) के सुरुका ख्रीष्टियनहरूले परमेश्वरको नाम प्रयोग गरे? व्याख्या गर्नुहोस्। (ख) प्रचारकार्यमा परमेश्वरको नाम प्रयोग गर्न पाएकोमा तपाईंलाई कस्तो लाग्छ?

१३ नयाँ राष्ट्रका सदस्यहरूले हिब्रू बाइबलबाट उद्धरण गर्दा परमेश्वरको नाम प्रयोग गरे। * यहूदी र धर्म परिवर्तन गरेर यहूदी बनेकाहरूमाझ इस्वी संवत्‌ ३३ पेन्तिकोसमा भाषण दिंदा प्रेषित पत्रुसले थुप्रै चोटि परमेश्वरको नाम प्रयोग गरे। (प्रेषि. २:१४, २०, २१, २५, ३४) सुरुका ख्रीष्टियनहरू परमेश्वरको नामको आदर गर्थे। त्यसैले यहोवाले तिनीहरूको प्रचारकार्यमा आशिष्‌ दिनुभयो। आज पनि प्रचारकार्यमा मानिसहरूलाई परमेश्वरको नामबारे बताउँदा र सकेसम्म उनीहरूकै बाइबलबाट उहाँको नाम देखाउँदा यहोवा हामीलाई आशिष्‌ दिनुहुन्छ। यसरी मानिसहरूलाई साँचो परमेश्वर चिन्न मदत गर्न पाउनु कत्ति ठूलो सुअवसर! घरधनीलाई साँचो परमेश्वर चिन्न मदत गरेको त्यो भेट उनीहरूको लागि यहोवासित बलियो अनि चिरस्थायी सम्बन्ध गाँस्ने आधार बन्न सक्छ।

१४, १५. धर्मत्याग फैलिएको समयमा समेत आफ्नो नाम सुरक्षित राख्न यहोवाले के गर्नुभयो?

१४ खासगरि प्रेषितहरूको मृत्युपछि धर्मत्यागीहरूले ख्रीष्टियन मण्डलीलाई भ्रष्ट पार्न थाले। (२ थिस्स. २:३-७) यहूदी परम्पराबाट प्रभावित भएर उनीहरूले परमेश्वरको नामसमेत प्रयोग गर्न छोडे। तर के यहोवाले आफ्नो नाम  नामेट हुन दिनुहुने थियो? अहँ थिएन। परमेश्वरको नाम विगतमा कसरी उच्चारण गरिन्थ्यो भनेर हामीलाई थाह नभए तापनि यो नाम आजसम्म अस्तित्वमा छ। सयौं वर्षदेखि यो नाम विभिन्न बाइबल अनुवादमा अनि बाइबलविद्हरूका किताबहरूमा उल्लेख गरिएको छ। उदाहरणको लागि, सन्‌ १७५७ मा चार्ल्स पिटर्सले परमेश्वरका अरू थुप्रै पदवीले भन्दा “यहोवा” नामले “उहाँलाई अझ राम्ररी चिनाउँछ” भनेर लेखे। सन्‌ १७९७ मा हपटन हायन्सले परमेश्वरको उपासनाबारे एउटा किताब निकाले। त्यस किताबको अध्याय ७ को सुरुमा यस्तो लेखिएको छ: “ख्रीष्ट अनि उहाँका प्रेषितहरूजस्तै यहूदीहरू पनि यहोवा भन्ने नाम भएका परमेश्वरको मात्र उपासना गर्थे।” हेन्री ग्रूले (१७८१-१८६२) परमेश्वरको नाम प्रयोग मात्र गरेनन्‌; उहाँको नाममा कलङ्क लागेको छ र त्यस नामलाई पवित्र पार्नुपर्छ भनेर पनि बुझे। त्यसैगरि चार्ल्स टी. रसलका घनिष्ठ साथी जर्ज स्टोर्सले (१७९६-१८७९) पनि रसलले जस्तै परमेश्वरको नाम प्रयोग गरे।

१५ सन्‌ १९३१ परमेश्वरका सेवकहरूका लागि अविस्मरणीय वर्ष थियो किनभने ‘अन्तरराष्ट्रिय बाइबल विद्यार्थी’ भनेर चिनिएका सेवकहरूले त्यसबेला ‘यहोवाका साक्षीहरू’ भन्ने बाइबलआधारित नाम पाए। (यशै. ४३:१०-१२) ‘परमेश्वरको नामको लागि छानिएका मानिसहरू’ भनेर चिनाउन पाउनु अनि उहाँको नामको प्रशंसा गर्न पाउनु गर्वको कुरा हो भनेर तिनीहरूले संसारलाई थाह दिए। (प्रेषि. १५:१४) यहोवाले आफ्नो नाम सुरक्षित राख्न गर्नुभएका यस्ता कुराहरूले हामीलाई मलाकी १:११ का शब्दहरू सम्झाउँछ: “सूर्योदयदेखि सूर्यास्तसम्म अन्यजातिहरूका बीचमा मेरो नाउँ महान्‌ छ।”

यहोवाको नाममा हिंड्नुहोस्

१६. यहोवाको नाममा हिंड्न पाउनुलाई किन सम्मानको कुरा ठान्नुपर्छ?

१६ भविष्यवक्ता मीकाले यस्तो लेखे: “सबै जातिका मानिसहरूचाहिं ता आफ्नो-आफ्नो देवताको नाउँमा हिंड्छन्‌, तर हामीचाहिं सदासर्वदै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा हिंड्नेछौं।” (मीका ४:५) ती बाइबल विद्यार्थीहरूका लागि यहोवाको नाम बहन गर्न पाउनु सम्मानको कुरा मात्र थिएन, उहाँको अनुमोदन पाएको चिन्हसमेत थियो। (मलाकी ३:१६-१८ पढ्नुहोस्) तपाईंको लागि नि? के तपाईं ‘यहोवाको नाममा हिंड्न’ सक्दो गर्दै हुनुहुन्छ? उहाँको नाममा हिंड्नुमा के समावेश छ भनेर बुझ्नुभएको छ?

१७. परमेश्वरको नाममा हिंड्नुमा के समावेश छ?

१७ परमेश्वरको नाममा हिंड्नुमा कम्तीमा पनि तीनवटा कुरा समावेश छ। पहिलो, “जसले यहोवाको नाम पुकार्छ, उसले [मात्र] उद्धार पाउनेछ” भन्ने कुरा बुझेर मानिसहरूलाई उहाँको नाम घोषणा गर्नै पर्छ। (रोमी १०:१३) दोस्रो, यहोवाका गुणहरू झल्काउनै पर्छ, विशेषगरि उहाँको प्रेम। तेस्रो, उहाँका स्तरहरू खुसीसाथ पालन गर्नै पर्छ। अन्यथा हामीले उहाँको पवित्र नाममा कलङ्क लगाइरहेका हुनेछौं। (१ यूह. ४:८; ५:३) के तपाईं ‘सदासर्वदै यहोवा आफ्ना परमेश्वरको नाममा हिंड्न’ कटिबद्ध हुनुहुन्छ?

१८. यहोवाको नामको आदर गर्ने सबैले विश्वस्त हुँदै भविष्यको प्रतीक्षा गर्न सक्छन्‌, किन?

१८ यहोवालाई इन्कार गर्नेहरू अथवा उहाँको विरोध गर्नेहरू चाँडै उहाँलाई चिन्न बाध्य हुनेछन्‌। (इज. ३८:२३) ती मानिसहरू फिरऊनजस्ता छन्‌, जसले यसो भन्यो: “परमप्रभु को हो, र म तिनको कुरा सुनेर इस्राएलीहरूलाई जानदिऊँ?” फिरऊनले आफ्नो प्रश्नको जवाफ तुरुन्तै पायो! (प्रस्थ. ५:१, २; ९:१६; १२:२९) तर हामीले भने राजीखुसीले यहोवालाई चिन्ने निर्णय गरेका छौं। उहाँको नामद्वारा पुकारिन पाएकोमा अनि उहाँको आज्ञाकारी मानिस हुन पाएकोमा हामी गर्व गर्छौं। हामी भजन ९:१० मा गरिएको प्रतिज्ञामा विश्वस्त हुँदै भविष्यको प्रतीक्षा गर्छौं: “तपाईंको नाउँ जान्नेहरू जत्तिचाहिंले आफ्नो भरोसा तपाईंमा राख्छन्‌। किनभने हे परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्याग्नुभएको छैन।”

^ अनु. 1 Revised Standard Version

^ अनु. 5 परमेश्वरको नाम “गराउनु” भन्ने अर्थ भएको हिब्रू क्रियाबाट आएको हो। त्यसैले “यहोवा”-को अर्थ हुन्छ, “उहाँले गराउनुहुन्छ।”

^ अनु. 13 सुरुका ख्रीष्टियनहरूले प्रयोग गर्ने हिब्रू धर्मशास्त्रमा टेट्राग्रामटन अर्थात्‌ परमेश्वरको नाम थियो। प्रमाणले देखाएअनुसार सेप्टुआजिन्ट अर्थात्‌ हिब्रू धर्मशास्त्रको ग्रीक अनुवादका सुरुका प्रतिहरूमा पनि परमेश्वरको नाम थियो।