सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो पक्का गर्नुहोस्’

‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो पक्का गर्नुहोस्’

‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर।’—फिलि. १:१०.

१, २. येशूका चेलाहरूलाई अन्तको दिनबारे गरिएको कुन भविष्यवाणीमा चासो लागेको हुनुपर्छ र किन?

येशूले भर्खरै मात्र आफ्ना चेलाहरूलाई यरूशलेमको मन्दिर विनाश हुनेछ भनी बताउनुभएको छ। उहाँको कुरा सुनेर पत्रुस, याकूब, यूहन्ना र अन्द्रियास चिन्तित भएका छन्‌। (मर्कू. १३:१-४) त्यसैले अरू कोही नभएको बेला तिनीहरू उहाँकहाँ सुटुक्क आएर सोध्छन्‌: “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्‌ अनि तपाईंको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?” (मत्ती २४:१-३) उहाँले तिनीहरूलाई यरूशलेमको विनाश हुनुअघिका घटनाहरूबारे मात्र बताउनुहुन्न, सैतानको संसारको अन्तको दिनमा हुने घटनाहरूबारे पनि बताउनुहुन्छ। येशूका चेलाहरूलाई एउटा खास विषयमा निकै चासो लागेको हुनुपर्छ। युद्ध, अनिकाल, दुष्टताजस्ता घटना बढ्दै जाने कुरा बताएपछि येशूले अन्तको दिनमा हुने राम्रो कुराबारे पनि बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ती २४:७-१४.

येशूका चेलाहरूले उहाँसँगै राज्यको सुसमाचार प्रचार गरेका थिए। (लूका ८:१; ९:१, २) तिनीहरूले येशूले भन्नुभएको यो कुरा सम्झेका हुन सक्छन्‌: “फसल त साँच्चै प्रशस्त छ तर खेतालाहरू भने थोरै छन्‌। त्यसकारण, फसलका मालिकलाई आफ्नो बाली काट्न खेतालाहरू पठाइदिनुहोस् भनेर बिन्ती गर।” (लूका १०:२) तर तिनीहरूले “सारा पृथ्वीभरि” “सबै जातिलाई” कसरी साक्षी दिने थिए? खेतालाहरू कहाँबाट आउने थिए? मत्ती २४:१४ का शब्दहरू कत्ति अचम्मलाग्दो तरिकामा पूरा हुनेछ भनेर येशूका चेलाहरूले कल्पनासमेत गरेका थिएनन्‌ होला!

३. लूका २१:३४ आज कसरी पूरा हुँदै छ र हामीले आफैलाई कस्ता प्रश्नहरू गर्नुपर्छ?

 हामी येशूको भविष्यवाणी पूरा भइरहेको समयमा बाँचिरहेका छौं। राज्यको सुसमाचार सारा पृथ्वीभरि फैलाउन लाखौं-लाख साक्षी प्रचार गर्दै छन्‌। (यशै. ६०:२२) तर अन्तको दिनमा प्रचारकार्यलाई प्राथमिकता दिन कसै-कसैको लागि चुनौतीपूर्ण हुनेछ भनेर पनि येशूले सङ्केत गर्नुभयो। तिनीहरू अरू कुरामै व्यस्त हुने थिए र त्यस्ता कुराहरूले तिनीहरूलाई ‘दबाउने थियो।’ (लूका २१:३४ पढ्नुहोस्) आज यो भविष्यवाणी पनि पूरा हुँदै छ। परमेश्वरका सेवकमध्ये कसै-कसैले सबैभन्दा महत्त्वपूर्ण कुरालाई बेवास्ता गरिरहेका छन्‌। जागिर खाने, उच्च शिक्षा हासिल गर्ने र भौतिक सरसामान प्राप्त गर्ने सम्बन्धमा तिनीहरूले गरेको निर्णयमा यो कुरा स्पष्ट देखिन्छ। अरू कतिपयले खेलकुद र मनोरञ्जनमा धेरै समय खेर फालेका छन्‌। कतिले चाहिं जीवनको फिक्रीले गर्दा परमेश्वरको सेवामा आफूले सक्नेजति पनि गरिरहेका छैनन्‌। आफैलाई सोध्नुहोस्: ‘मैले के गरिरहेको छु? के मैले सबैभन्दा महत्त्वपूर्ण कुरालाई पहिलो स्थान दिइरहेको छु?’

४. (क) फिलिप्पीका ख्रीष्टियनहरूका लागि पावलले कस्तो प्रार्थना गरे र किन? (ख) यो र यसपछिको लेखमा हामी के छलफल गर्नेछौं? यी लेखहरूले हामीलाई के गर्न मदत गर्नेछ?

परमेश्वरको सेवालाई पहिलो स्थान दिन प्रथम शताब्दीका ख्रीष्टियनहरूले कडा मेहनत गर्नुपर्थ्यो। त्यसैकारण फिलिप्पीका ख्रीष्टियनहरूले ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो पक्का गर्न सकून्‌’ भनेर प्रेषित पावलले उनीहरूका लागि प्रार्थना गरे। (फिलिप्पी १:९-११ पढ्नुहोस्) प्रेषित पावलले जस्तै थुप्रै ख्रीष्टियनले “परमेश्वरको वचन निडर भई बोल्न पहिलेभन्दा झन्‌ धेरै साहस” देखाए। (फिलि. १:१२-१४) त्यसैगरि आज हामीमध्ये धेरैजसो साहसी भई परमेश्वरको वचन प्रचार गर्छौं। तैपनि आज यहोवाको सङ्गठनले गरिरहेको कामबारे विचार गर्दा सबैभन्दा महत्त्वपूर्ण काम अर्थात्‌ प्रचारकार्यमा अझै ध्यान केन्द्रित गर्न सक्नेछौं। मत्ती २४:१४ मा उल्लिखित भविष्यवाणी पूरा गर्न यहोवाले कस्तो प्रबन्ध मिलाउनुभएको छ, यस लेखबाट बुझ्नेछौं। यहोवाको सङ्गठनले के गर्दै छ अनि यो कुरा थाह पाउँदा हामी र हाम्रो परिवार के गर्न उत्प्रेरित हुनेछौं? यहोवाको सेवामा धीरजी भई लागिरहन र उहाँको सङ्गठनसँगसँगै हिंडिरहन केले मदत गर्नेछ भनेर यसपछिको लेखमा छलफल गर्नेछौं।

यहोवाको सङ्गठनको स्वर्गीय भाग

५, ६. (क) यहोवाले आफ्ना सेवकहरूलाई उहाँको सङ्गठनको अदृश्य भागको दर्शन किन देखाउनुभयो? (ख) इजकिएलले दर्शनमा के देखे?

यहोवाले आफ्नो लिखित वचनमा समावेश गर्न नचाहनुभएका कुराहरू थुप्रै छन्‌। जस्तै:- मस्तिष्क वा ब्रह्माण्डबारे विस्तृत रूपमा बुझ्नु निकै रोचक होला तर यहोवाले त्यसबारे विस्तृत जानकारी दिनुभएन। बरु उहाँको इच्छा बुझ्न र त्यसअनुसार जीवन बिताउन चाहिने जानकारी भने दिनुभयो। (२ तिमो. ३:१६, १७) रोचक कुरा, यहोवाले हामीलाई उहाँको सङ्गठनको अदृश्य भागबारे बताउनुभएको छ। यसरी उहाँले एक अर्थमा स्वर्गको पर्दा खोल्नुभएको छ। यहोवाको सङ्गठनको अदृश्य भागबारे यशैया, इजकिएल, दानियल र प्रकाशको पुस्तकमा भएको विवरण पढ्दा हामी रोमाञ्चित हुन्छौं। (यशै. ६:१-४; इज. १:४-१४, २२-२४; दानि. ७:९-१४; प्रका. ४:१-११) उहाँले यस्तो जानकारी किन दिनुभयो?

हामी ब्रह्माण्डीय सङ्गठनको भाग हौं भनेर सधैं सम्झेको यहोवा चाहनुहुन्छ। यहोवाको सङ्गठनको अदृश्य भाग उहाँको उद्देश्य पूरा गर्न जोडतोडले लाग्दै छ। जस्तै:-  इजकिएलले यहोवाको सङ्गठनको अदृश्य भागलाई चित्रण गर्ने विशाल रथको दर्शन देखे। यो रथ तीव्र गतिमा अघि बढ्न र चाहेको दिशामा तुरुन्तै मोडिन सक्थ्यो। (इज. १:१५-२१) पाङ्ग्राले एक फन्को मार्दा यसले लामो दूरी पार गर्न सक्थ्यो। दर्शनमा इजकिएलले रथमा सवार व्यक्तिलाई पनि देखे। इजकिएलले यसो भने: “चहकिलो पीतलजस्तै मैले देखें—चारैतिर आगोले घेरिएकोजस्तै। . . . परमप्रभुको महिमाको प्रतिरूप यस्तै थियो।” (इज. १:२५-२८) यो दर्शन देख्दा इजकिएलले कत्ति अचम्म माने होलान्‌! आफ्नो सङ्गठनमाथि यहोवाको पूर्ण नियन्त्रण भएको र उहाँले यसलाई पवित्र शक्तिद्वारा डोऱ्याउनुभएको तिनले देखे। यहोवाको सङ्गठनको अदृश्य भागले कसरी काम गर्दै छ भनेर देखाउने कत्ति राम्रो दर्शन!

७. दानियलको दर्शनले यहोवा र येशूमाथि भरोसा गर्न कसरी मदत गर्छ?

दानियलको दर्शनले यहोवा र येशूमाथि भरोसा गर्न मदत गर्छ। “अति वृद्ध व्यक्ति”-को रूपमा यहोवा बलिरहेको सिंहासनमा बस्नुभएको तिनले देखे। सिंहासनमा पाङ्ग्राहरू पनि थिए। (दानि. ७:९) यहोवाको सङ्गठन उहाँको उद्देश्य पूरा गर्दै अघि लम्किरहेको छ भनेर दानियलले बुझेको यहोवा चाहनुहुन्थ्यो। “मानिसका पुत्रजस्तै” व्यक्ति येशूलाई परमेश्वरको सङ्गठनको पृथ्वीमा रहेको भागको सुपरिवेक्षण गर्ने जिम्मेवारी दिइएको कुरा पनि दानियलले देखे। ख्रीष्टको न्यायोचित शासन केही वर्षको लागि मात्र होइन। “उहाँको सर्वाधिकार कहिल्यै नबित्ने सदासर्वदैको सर्वाधिकार छ, औ उहाँको राज्याधिकार कहिल्यै नष्ट हुनेछैन।”  (दानि. ७:१३, १४) यस दर्शनले हामीलाई यहोवामा भरोसा गर्न र उहाँले गरिरहनुभएको कामको कदर गर्न उत्प्रेरित गर्छ। उहाँले हरेक परीक्षामा सफल येशूलाई “सर्वाधिकार, महिमा र राज्याधिकार” दिनुभयो। यहोवालाई आफ्नो छोरामाथि पूरा भरोसा छ। त्यसैले हामी पनि येशूको नेतृत्वमाथि पूरा भरोसा गर्न सक्छौं।

८. यहोवाको सङ्गठनको दर्शनले इजकिएल र यशैयामा कस्तो प्रभाव पाऱ्यो? यसले हामीमा कस्तो प्रभाव पार्नुपर्छ?

यहोवाको सङ्गठनको स्वर्गीय भागका यी दर्शनहरूले हामीमा कस्तो प्रभाव पार्नुपर्छ? यहोवाले गरिरहनुभएको काम देखेर हामी पनि इजकिएलजस्तै मनैदेखि उहाँको आदर गर्न उत्प्रेरित हुनुपर्छ। (इज. १:२८) भविष्यवक्ता यशैयाले पनि स्वर्गमा के भइरहेको छ भन्ने कुराको दर्शन देखे। यहोवाले गरिरहनुभएको कामबारे अरूलाई बताउने मौका पाउँदा तिनले नहिचकिचाईकन त्यो जिम्मेवारी स्वीकारे। (यशैया ६:५,  पढ्नुहोस्) यहोवाको मदत पाएर जस्तोसुकै चुनौती सामना गर्न सकिन्छ भनेर तिनी विश्वस्त थिए। यशैयाजस्तै हामी पनि यहोवाको सेवामा अझ धेरै लागेर उहाँको सङ्गठनलाई समर्थन गर्न उत्प्रेरित हुनुपर्छ। यहोवाको सङ्गठन उहाँको उद्देश्य पूरा गर्न निरन्तर अघि बढिरहेको छ भनेर थाह पाउनु कत्ति प्रोत्साहनदायी कुरा!

यहोवाको सङ्गठनको पृथ्वीमा रहेको भाग

९, १०. यहोवाको सङ्गठनको दृश्य भागको आवश्यकता किन पऱ्यो?

यहोवाले आफ्नो छोरामार्फत पृथ्वीमा आफ्नो सङ्गठनको एउटा भाग स्थापना गर्नुभयो, जसले स्वर्गीय भागसँगै मिलेर काम गर्छ। मत्ती २४:१४ मा बताइएको काम सम्पन्न गर्न यहोवाको सङ्गठनको दृश्य भागको आवश्यकता किन पऱ्यो? तीनवटा कारण विचार गरौं।

१० पहिलो, येशूले बताउनुभएअनुसार चेलाहरूले “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” समेत प्रचार गर्ने थिए। (प्रेषि. १:८) दोस्रो, यस काममा भाग लिनेहरूलाई आध्यात्मिक भोजन र हेरचाहको खाँचो पर्ने थियो। (यूह. २१:१५-१७) तेस्रो, यहोवाको उपासनाको लागि एक ठाउँमा भेला हुन र प्रचार गर्ने तरिका सिक्न तिनीहरूलाई सभाहरूको आवश्यकता पर्ने थियो। (हिब्रू १०:२४, २५) यी लक्ष्यहरू हचुवाको भरमा हासिल गर्न सकिंदैनथ्यो। यसको लागि येशूका चेलाहरू व्यवस्थित हुनुपर्थ्यो।

११. हामी कसरी यहोवाको सङ्गठनलाई समर्थन गर्न सक्छौं?

११ हामी कसरी यहोवाको सङ्गठनलाई समर्थन गर्न सक्छौं? एउटा तरिका हो, प्रचारकार्यमा नेतृत्व लिइरहेका भाइहरूमाथि भरोसा गरेर। यहोवा र येशूले समेत तिनीहरूलाई भरोसा गर्नुभएको छ। यी भाइहरूले आफ्नो समय र शक्ति संसारका समस्याहरू समाधान गर्न लगाउन सक्थे तर तिनीहरूले त्यसो गरेका छैनन्‌। यहोवाको सङ्गठनको दृश्य भागले सधैं कुन कुरामा ध्यान केन्द्रित गरेको छ?

“अझ महत्त्वपूर्ण कुराहरू”-मा ध्यान दिनुहोस्

१२, १३. एल्डरहरू आफ्नो जिम्मेवारी कसरी पूरा गर्छन्‌ र यो तपाईंको लागि किन प्रोत्साहनदायी छ?

१२ अनुभवी एल्डरहरूलाई प्रचारकार्यको सुपरिवेक्षण गर्ने र त्यसलाई गति दिने जिम्मेवारी सुम्पिइएको छ। कुनै निर्णय गर्नुपर्दा तिनीहरू परमेश्वरको वचनलाई ‘आफ्नो खुट्टाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो’ बनाउँछन्‌ र डोऱ्याइको लागि यहोवालाई व्यग्र प्रार्थना गर्छन्‌।—भज. ११९:१०५; मत्ती ७:७, ८.

१३ आज प्रचारकार्यको सुपरिवेक्षण गर्ने एल्डरहरू पनि प्रथम शताब्दीका एल्डरहरूजस्तै “परमेश्वरको वचन सिकाउने काममा समर्पित” छन्‌। (प्रेषि. ६:४) स्थानीय इलाकामा अनि संसारभर सुसमाचार फैलिरहेको देख्दा  तिनीहरू असाध्यै खुसी हुन्छन्‌। (प्रेषि. २१:१९, २०) तिनीहरू तीनथुप्रो नियम बनाउँदैनन्‌। बरु प्रचारकार्यलाई अघि बढाउन बाइबल अनि पवित्र शक्तिको डोऱ्याइ खोज्छन्‌। (प्रेषित १५:२८ पढ्नुहोस्) यसरी यी जिम्मेवार भाइहरूले मण्डलीका सबै भाइबहिनीका लागि राम्रो उदाहरण बसाल्छन्‌।—एफि. ४:११, १२.

१४, १५. (क) विश्वव्यापी प्रचारकार्यलाई समर्थन गर्न के-कस्ता प्रबन्ध मिलाइएका छन्‌? (ख) प्रचारकार्यलाई समर्थन गर्न आफूले गरिरहेको काम विचार गर्दा तपाईंलाई कस्तो लाग्छ?

१४ हाम्रा थुप्रै भाइबहिनी प्रकाशनहरू तयार पार्न अनि सभा तथा अधिवेशनहरू आयोजना गर्न लागिपरेका छन्‌। हाम्रा प्रकाशनहरूलाई ६०० भन्दा धेरै भाषामा अनुवाद गर्न हजारौं स्वयंसेवक कडा मेहनत गर्छन्‌। यसले गर्दा धेरै मानिसले “परमेश्वरको विषयमा अद्भुत कुराहरू” सिक्न सकेका छन्‌। (प्रेषि. २:७-११) साहित्य छाप्ने अनि बाइन्डिङ गर्ने काममा जवान भाइबहिनी कडा मेहनत गर्छन्‌। त्यसपछि ती साहित्य एकदमै दुर्गम ठाउँका मण्डलीलगायत अन्य मण्डलीहरूमा पठाइन्छ।

१५ स्थानीय मण्डलीसँगै मिलेर सुसमाचार प्रचार गर्न सकियोस् भनेर थुप्रै प्रबन्ध मिलाइएका छन्‌। उदाहरणको लागि, हजारौं भाइबहिनी राज्यभवन तथा सम्मेलन भवन निर्माण गर्न स्वयंसेवकको रूपमा काम गर्छन्‌। अरू भने आकस्मिक उपचारको आवश्यकता परेकाहरूलाई र प्रकोप पीडितहरूलाई मदत गर्छन्‌। केही स्वयंसेवक सम्मेलन तथा अधिवेशनहरू आयोजना गर्छन्‌ अनि अरूचाहिं ख्रीष्टियन स्कूलहरूमा सिकाउँछन्‌। यी सबै कामले कुन उद्देश्य पूरा गर्छ? सुसमाचार फैलाउनमा टेवा पुऱ्याउँछ; प्रचारकहरूलाई प्रगति गर्न मदत गर्छ अनि धेरैभन्दा धेरै मानिसलाई यहोवाको उपासक बन्न मदत गर्छ। हो, यहोवाको सङ्गठनको पृथ्वीमा रहेको भागले अझ महत्त्वपूर्ण कुराहरूमा ध्यान दिइरहेको छ।

यहोवाको सङ्गठनको उदाहरण पछयाउनुहोस्

१६. तपाईं पारिवारिक उपासना वा व्यक्तिगत अध्ययनमा कुन विषयमा अध्ययन गर्न सक्नुहुन्छ?

१६ यहोवाको सङ्गठनले गरिरहेको कामबारे के तपाईं बेलाबेलामा सोच्ने गर्नुहुन्छ? केहीले पारिवारिक उपासना वा व्यक्तिगत अध्ययनमा सङ्गठनबारे अनुसन्धान गर्ने अनि मनन गर्ने गरेका छन्‌। यशैया, दानियल अनि यूहन्नाले देखेको दर्शनबारे अध्ययन गर्नु पनि रमाइलो हुनेछ। यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरू (अङ्ग्रेजी) भन्ने किताब वा तपाईंको भाषामा उपलब्ध प्रकाशन तथा डी भी डी-बाट यहोवाको सङ्गठनबारे थुप्रै रोचक कुरा सिक्न सक्नुहुन्छ।

१७, १८. (क) यस लेखबाट तपाईंले कस्तो लाभ उठाउनुभयो? (ख) हामीले के-कस्ता प्रश्नबारे विचार गर्नुपर्छ?

१७ प्रचारकार्य विस्तार गर्न यहोवाले कसरी आफ्नो सङ्गठन चलाउँदै हुनुहुन्छ भनेर मनन गर्नु राम्रो हो। यहोवाको सङ्गठनसँगसँगै हामी पनि अझ महत्त्वपूर्ण कुरामा ध्यान देऔं। यसो गर्दा हामी पनि पावलको जस्तै सङ्कल्प राख्न सक्नेछौं, जसले यस्तो लेखे: “हामीलाई देखाइएको कृपाले गर्दा हामीलाई यो सेवा सुम्पिइएकोले हामी हरेस खाँदैनौं।” (२ कोरि. ४:१) तिनले आफ्ना सहकर्मीहरूलाई पनि यस्तो प्रोत्साहन दिए: “हामी हरेस नखाई असल काम गरिरहौं, किनकि थाकेनौं भने हामीले ठीक समयमा कटनी गर्नेछौं।”—गला. ६:९.

१८ हरेक दिन अझ महत्त्वपूर्ण कुराहरूलाई प्राथमिकता दिन तपाईं र तपाईंको परिवारले कुनै छाँटकाँट गर्नुपर्छ कि? प्रचारकार्यमा अझ ध्यान दिन जीवन सरल बनाउन सक्नुहुन्छ कि? यहोवाको सङ्गठनसँगसँगै हिंड्न हामीलाई मदत गर्ने पाँचवटा क्षेत्रबारे अर्को लेखमा छलफल गरिनेछ।