सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्राकृतिक प्रकोप भगवान्‌ निर्दयी हुन्‌ भन्‍ने प्रमाण हो?

प्राकृतिक प्रकोप भगवान्‌ निर्दयी हुन्‌ भन्‍ने प्रमाण हो?

कोही-कोही के भन्छन्‌? “संसारको मालिकै भगवान्‌ भएपछि प्राकृतिक प्रकोप ल्याउने पनि उनी नै हुन्‌। यस्तो भगवान्‌ निर्दयी नभए के त?”

बाइबल के भन्छ? “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” (१ यूहन्‍ना ५:१९) ‘त्यो दुष्ट’ को हो? बाइबलमा त्यसलाई सैतान भनिएको छ। (मत्ती १३:१९; मर्कूस ४:१५) संसार साँच्चै सैतानको हातमा छ? एकछिन सोच्नुहोस्‌: सारा संसार सैतानको हातमा छ भने त्यसले सबै मानिसलाई आफूजस्तै स्वार्थी, लोभी बनाउँछ अनि तत्कालको फाइदा मात्र हेर्न लगाउँछ। यस्ता मानिसहरूको हातमा परेपछि वातावरण विनाश त भइहाल्छ। वातावरण विनाशले प्राकृतिक प्रकोप निम्त्याउँछ, प्रकोपबाट हुने क्षतिलाई झनै चर्काउँछ वा मानिसलाई अझ जोखिमपूर्ण अवस्थामा पुऱ्‍याउँछ भनेर थुप्रै विशेषज्ञ चेतावनी दिन्छन्‌।

भगवान्‌ले सैतानलाई किन त्यति धेरै अधिकार दिनुभयो? यसको जवाफ मानव इतिहासको सुरुमा भएको घटनाबाट पाउँछौं, जतिबेला हाम्रा प्रथम आमाबाबुले भगवान्‌को शासनको विरोध गरेका थिए। त्यस समयदेखि थुप्रै मानिसले त्यही बाटो रोजेका छन्‌। भगवान्‌को शासनलाई इन्कार गरेको कारण सबै मानिस भगवान्‌को शत्रु सैतानको हातमा परेको छ। त्यसैले येशूले सैतानलाई “संसारको शासक” भन्‍नुभयो। (यूहन्‍ना १४:३०) के सैतानले सधैंभरि शासन गर्नेछ? अहँ, गर्नेछैन!

सैतानले गर्दा भएका समस्याहरूलाई यहोवा a बेवास्ता गर्नुहुन्‍न। बरु मानिसहरू समस्यामा परेको देख्दा उहाँलाई एकदमै दुःख लाग्छ। उदाहरणको लागि, इस्राएलीहरूमाथि सङ्‌कट आइपर्दा उहाँलाई कस्तो लाग्यो? बाइबल यसो भन्छ: “तिनीहरूका सारा दुःखमा उहाँ दुःखित हुनुभयो।” (यशैया ६३:९) हाम्रो कृपालु भगवान्‌ले सैतानको निर्दयी शासनलाई छिट्टै नामेट पार्न एउटा प्रबन्ध मिलाउनुभएको छ। भगवान्‌ले आफ्नो छोरा येशू ख्रीष्टलाई राजा नियुक्‍त गर्नुभएको छ। निष्पक्ष अनि असल राजा येशूले सधैंभरि शासन गर्नुहुनेछ।

तपाईंको लागि कस्तो अर्थ राख्छ? सैतानको शासनले मानिसहरूलाई प्राकृतिक प्रकोपबाट जोगाउन सकेको छैन तर येशूले भने जोगाउनुहुनेछ। एकपटक ठूलो बतास चलेको बेला येशूले चेलाहरूलाई बचाउन के गर्नुभयो? बाइबल यसो भन्छ: “[उहाँले] बतासलाई हप्काउनुभयो अनि समुद्रलाई यसो भन्‍नुभयो: ‘चुप लाग्‌! शान्त भइजा!’” चेलाहरूले भने: “यिनी साँच्चै को हुन्‌, किनकि बतास र समुद्रले समेत यिनको आज्ञा मान्छन्‌?” (मर्कूस ४:३७-४१) उक्‍त घटनाबाट हामी विश्‍वस्त हुन सक्छौं, येशूले शासन गर्दा सम्पूर्ण आज्ञाकारी मानिस प्राकृतिक प्रकोपबाट सुरक्षित हुनेछन्‌।—दानियल ७:१३, १४. (w13-E 05/01)

a बाइबलमा उल्लेख गरिएको भगवान्‌को नाम यहोवा हो।