सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रचारकको भूमिका पूरा गर्नुहोस्

प्रचारकको भूमिका पूरा गर्नुहोस्

“प्रचारकको काम गर र आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर।”—२ तिमो. ४:५.

१. यहोवा परमेश्वर किन सबैभन्दा पहिलो र महान्‌ प्रचारक हुनुहुन्छ?

प्रचारक भनेको सुसमाचार सुनाउने व्यक्ति हो। सबैभन्दा पहिलो र महान्‌ प्रचारक यहोवा परमेश्वर हुनुहुन्छ। प्रथम आमाबाबुले विद्रोह गरेपछि यहोवाले सर्प अर्थात्‌ सैतान नाश हुनेछ भनेर त्यत्तिखेरै घोषणा गर्नुभयो। (उत्प. ३:१५) यहोवाको नाममा लागेको कलङ्क कसरी मेटाइनेछ, सैतानले निम्त्याएको समस्या कसरी हटाइनेछ अनि आदम र हव्वाले गुमाएको अनन्त जीवन फेरि कसरी पाउन सकिन्छ भनेर यहोवाले आफ्ना वफादार सेवकहरूलाई शताब्दियौंको दौडान लेख्न लगाउनुभयो।

२. (क) स्वर्गदूतहरू पनि प्रचारक हुन्‌, किन? (ख) प्रचारकहरूका लागि येशूले कस्तो नमुना बसाल्नुभयो?

स्वर्गदूतहरू पनि प्रचारक हुन्‌। तिनीहरू सुसमाचार सुनाउँछन्‌ र सुसमाचार फैलाउन अरूलाई पनि सहयोग गर्छन्‌। (लूका १:१९; २:१०; प्रेषि. ८:२६, २७, ३५; प्रका. १४:६) प्रधान दूत माइकलबारे के भन्न सकिन्छ? पृथ्वीमा छँदा येशूले मानव प्रचारकहरूका लागि नमुना बसाल्नुभयो। उहाँले सम्पूर्ण जीवन सुसमाचार फैलाउने काममा बिताउनुभयो।—लूका ४:१६-२१.

३. (क) हामीले सुनाउने सुसमाचार के हो? (ख) प्रचारकको रूपमा हामीले कुन प्रश्नहरूको जवाफ विचार गर्नुपर्छ?

येशूले चेलाहरूलाई प्रचारकको काम गर्न आज्ञा दिनुभयो। (मत्ती २८:१९, २०; प्रेषि. १:८) प्रेषित पावलले आफ्ना सहकर्मी तिमोथीलाई यस्तो आग्रह गरे: “प्रचारकको काम गर र आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर।” (२ तिमो. ४:५) येशूको अनुयायीको रूपमा हामीले सुनाउने सुसमाचार के हो? त्यस सुसमाचारमा स्वर्गका बुबा यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भन्ने सत्य समावेश छ। (यूह. ३:१६; १ पत्रु. ५:७) यहोवाले मानिसजातिलाई प्रेम देखाउने एउटा मुख्य माध्यम उहाँको राज्य हो। त्यसकारण परमेश्वरको राज्यको अधीनमा बस्नेहरू, उहाँप्रति आज्ञाकारी हुनेहरू र उहाँको स्तरबमोजिम चल्नेहरू उहाँको मित्र बन्न सक्छन्‌ भनेर हामी अरूलाई बताउँछौं।  (भज. १५:१, २) हो, यहोवाले सबै दुःखकष्ट र अन्याय-अत्याचार नामेट पार्नुहुनेछ। साथै विगतका पीडादायी स्मृति पनि मेट्नुहुनेछ। कत्ति राम्रो समाचार! (यशै. ६५:१७) प्रचारकको रूपमा हामी यी दुई महत्त्वपूर्ण प्रश्नको जवाफ विचार गरौं: आज मानिसहरूले सुसमाचार सुन्नु किन जरुरी छ? प्रचारकको रूपमा हामी आफ्नो भूमिका कसरी पूरा गर्न सक्छौं?

मानिसहरूले सुसमाचार सुन्नु किन जरुरी छ?

प्रभावकारी प्रश्नहरूले मानिसहरूलाई आफ्नो विश्वासको आधार बुझ्न मदत गर्छ

४. मानिसहरू परमेश्वरबारे कस्ता झूटा कुराहरू गर्छन्‌?

कल्पना गर्नुहोस्, तपाईंको बुबाले तपाईं र तपाईंको परिवारलाई छोडेर गए भनी कसैले झूटो कुरा सुनायो। उक्त व्यक्तिले तपाईंको बुबा एकलकाँटे, घुसघुसे अनि निर्दयी थिए भन्यो। उसले तपाईंको बुबा मरिसके अनि उनीसित सम्पर्क गर्न खोज्नु बेकार छ समेत भन्यो। परमेश्वरबारे पनि थुप्रैले यस्तै नचाहिंदा कुरा गर्छन्‌। परमेश्वर रहस्यमयी हुनुहुन्छ, उहाँलाई चिन्न असम्भव छ अथवा उहाँ निर्दयी हुनुहुन्छ भनेर तिनीहरू सिकाउँछन्‌। उदाहरणका लागि, परमेश्वरले दुष्ट मानिसलाई सदाको लागि नरकमा सास्ती दिनुहुन्छ भनेर केही धार्मिक नेता सिकाउँछन्‌। अरू भने प्राकृतिक प्रकोपले निम्त्याएको विपत्तिको दोष परमेश्वरलाई दिन्छन्‌। यस्तो प्रकोपमा असल र खराब दुवै प्रकारका मानिसले ज्यान गुमाउँछन्‌ तर मानिसहरू यसलाई परमेश्वरले दिनुभएको सजाय भन्छन्‌।

प्रश्नहरूले तिनीहरूलाई सत्य स्वीकार्न उत्सुक बनाउँछ

५, ६. क्रमविकासको सिद्धान्त र झूटो धार्मिक शिक्षाले मानिसहरूलाई कस्तो असर गरेको छ?

कोही-कोही भने परमेश्वरै छैन भन्छन्‌। क्रमविकासमा विश्वास गर्नेहरू सृष्टिकर्ताविना नै जीवन सम्भव भयो भन्छन्‌। कतिपयचाहिं मानिस पनि एउटा जनावर नै हो, त्यसैले मानिसले जनावरको जस्तो स्वभाव देखाउनु अनौठो कुरा होइन भन्छन्‌। उनीहरू बलियोले निर्धामाथि प्रभुत्व जमाउनु प्राकृतिक नियम नै हो भन्छन्‌। त्यसकारण थुप्रै मानिसले अन्याय-अत्याचार कहिल्यै हट्दैन भन्ने सोचाइ राख्नु स्वाभाविकै हो। अतः क्रमविकासमा विश्वास गर्नेहरूसित साँचो आशा हुँदैन।

यस अन्तको दिनमा क्रमविकासको सिद्धान्त र झूटो धार्मिक शिक्षाले मानिसजातिको दुःखमाथि दुःख थपेको छ। (रोमी १:२८-३१; २ तिमो. ३:१-५) यी शिक्षाहरू सुसमाचार होइनन्‌। बरु प्रेषित पावलले बताएझैं यी शिक्षाले मानिसहरूको ‘दिमागलाई अन्धकारमा राखेको छ अनि परमेश्वरले दिनुहुने जीवनबाट तिनीहरूलाई टाढा बनाएको छ।’ (एफि. ४:१७-१९) साथै क्रमविकासको सिद्धान्त र झूटो धार्मिक शिक्षाले मानिसजातिलाई परमेश्वरले दिनुभएको सुसमाचार स्वीकार्न बाधा पुऱ्याएको छ।एफिसी २:११-१३ पढ्नुहोस्।

प्रश्नहरूले तिनीहरूलाई बाइबल सिद्धान्तमा आधारित निष्कर्षमा पुग्न मदत गर्छ

७, ८. सुसमाचारबारे सिक्ने एउटै मात्र तरिका के हो?

यहोवासित राम्रो सम्बन्ध गाँस्न चाहनेहरू उहाँको अस्तित्व छ र उहाँसित नजिक हुनुमा जायज कारणहरू छन्‌ भनेर विश्वस्त हुनै पर्छ। सृष्टिका कुराहरू जाँच्न प्रोत्साहन दिएर हामी मानिसहरूलाई परमेश्वरबारे सिक्न मदत गर्न सक्छौं। सृष्टिका कुराहरू जाँच्न इच्छुक भएमा तिनीहरूले परमेश्वर बुद्धिमान्‌ र शक्तिशाली हुनुहुन्छ भनेर बुझ्नेछन्‌। (रोमी १:१९, २०) परमेश्वरले बनाउनुभएका कुराहरू अचम्मलाग्दा छन्‌ भनेर बुझ्न हामी मानिसहरूलाई कसरी मदत गर्न सक्छौं? के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिकाको भाग ३ र जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? पुस्तिकाको भाग २ प्रयोग गर्न सक्छौं। तर सृष्टिबारे अध्ययन गरेर मात्र जीवनका जटिल प्रश्नहरूको जवाफ पाउन सकिंदैन। जस्तै:- परमेश्वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ? पृथ्वीको लागि परमेश्वरको उद्देश्य के हो? के परमेश्वर मेरो चासो राख्नुहुन्छ?

परमेश्वर र उहाँको उद्देश्यबारे सिक्ने एउटै  मात्र तरिका बाइबलको अध्ययन गर्नु हो। मानिसहरूलाई सुसमाचार सिक्न मदत दिन पाउनु हाम्रो लागि कत्ति ठूलो सुअवसर! तर मानिसहरूको मनसम्म पुग्न तथ्य कुरा बताएर मात्र पुग्दैन, विश्वस्त हुनेगरि सिकाउनै पर्छ। (२ तिमो. ३:१४) विश्वस्त पार्ने सम्बन्धमा येशूको उदाहरण अनुकरण गर्न सक्छौं। उहाँले मानिसहरू विश्वस्त हुने तरिकामा सिकाउन सक्नुको कारण के थियो? एउटा कारण, उहाँ प्रभावकारी तरिकामा प्रश्नहरू प्रयोग गर्नुहुन्थ्यो। हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं?

सफल प्रचारक प्रभावकारी तरिकामा प्रश्न प्रयोग गर्छन्‌

९. मानिसहरूलाई सुसमाचार स्वीकार्न मदत दिने हो भने हामीले के गर्नै पर्छ?

येशूले जस्तै हामीले क्षेत्र सेवामा किन प्रश्नहरू प्रयोग गर्नुपर्छ? यो दृश्य कल्पना गर्नुहोस्: डाक्टरले तपाईंलाई गम्भीर प्रकारको शल्यक्रिया गर्नुपर्छ भनेर बताउँछन्‌। सायद तपाईं तिनलाई भरोसा गर्नुहुन्छ। तर तिनले तपाईंको स्वास्थ्य स्थितिबारे सोधपुछै नगरी शल्यक्रिया गर्ने कुरा बताए भने नि? के तपाईं तिनलाई भरोसा गर्नुहुन्छ? डाक्टर जतिसुकै दक्ष किन नहोऊन्‌, परामर्श दिनुअघि तिनले तपाईंलाई प्रश्न गर्नुपर्छ र तपाईंले बताएका लक्षणहरू सुन्नुपर्छ। त्यसैगरि मानिसहरूलाई परमेश्वरको राज्यको सुसमाचार स्वीकार्न मदत दिने हो भने प्रभावकारी प्रश्न गर्न सिपालु हुनै पर्छ। तिनीहरूको आध्यात्मिक अवस्था राम्ररी बुझेपछि मात्र हामी तिनीहरूलाई मदत गर्न सक्छौं।

मानिसहरूको मनसम्म पुग्न तिनीहरू विश्वस्त हुनेगरि सिकाउनै पर्छ

१०, ११. येशूको शिक्षणशैली अनुकरण गर्दा हामी के गर्न सक्षम हुन्छौं?

१० विचार पुऱ्याएर सोधिएका प्रश्नहरूले शिक्षकलाई विद्यार्थीबारे थाह पाउन मात्र होइन, विद्यार्थीलाई आफ्नो धारणा व्यक्त गर्न पनि मदत गर्छ भनेर येशूलाई थाह थियो। जस्तै:- चेलाहरूलाई नम्रताको पाठ सिकाउनुअघि येशूले तिनीहरूलाई सोच्न लगाउने प्रश्न गर्नुभयो। (मर्कू. ९:३३) एक चोटि येशूले पत्रुसलाई एउटा प्रश्न सोध्नुभयो र दुइटा सम्भाव्य जवाफ दिएर त्यसमध्ये एउटा रोज्न लगाउनुभयो। (मत्ती १७:२४-२६) अनि अर्को अवसरमा चेलाहरूको मनको कुरा निकाल्न येशूले एकपछि अर्को प्रश्न सोध्नुभयो। (मत्ती १६:१३-१७ पढ्नुहोस्) प्रश्न सोधेर अनि केही कुरा बताएर येशूले तथ्य मात्र प्रस्तुत गर्नुभएन। उहाँले मन छुने तरिकामा सिकाउनुभयो। जसले गर्दा मानिसहरू आफूले सुनेको सुसमाचारअनुरूप जीवन बिताउन उत्प्रेरित भए।

११ प्रभावकारी तरिकामा प्रश्न प्रयोग गर्ने येशूको तरिका अनुकरण गर्दा हामी कम्तीमा पनि तीनवटा कुरा गर्छौं। मानिसहरूलाई मदत गर्ने सबैभन्दा राम्रो तरिका पत्ता लगाउँछौं, वार्तालाप बाधकहरूलाई जवाफ दिने तरिका सिक्छौं र नम्र मानिसहरूलाई तिनीहरूले कसरी लाभ उठाउन सक्छन्‌ भनेर सिकाउँछौं। प्रभावकारी तरिकामा प्रश्नहरू प्रयोग गर्न सक्ने तीनवटा उदाहरण विचार गरौं।

१२-१४. नडराईकन सुसमाचार सुनाउन तपाईं आफ्नो छोराछोरीलाई कसरी मदत गर्न सक्नुहुन्छ? उदाहरण दिनुहोस्।

१२ उदाहरण १: किशोरावस्थाको छोराले स्कूलको साथीसित सृष्टिबारे कुरा गर्न डर लागेको कुरा बताउँदा तपाईं के गर्नुहुन्छ? पक्कै पनि तपाईं उसलाई मदत गर्न चाहनुहुन्छ। त्यसकारण उसको आलोचना गर्नु वा तुरुन्तै सल्लाह दिनुभन्दा येशूको अनुकरण गर्दै विचार बुझ्ने केही प्रश्न सोध्नुभए कसो होला? तपाईं कसरी यसो गर्न सक्नुहुन्छ?

 १३ चिन्ता गर्नुहुन्छ? पुस्तिकाको भाग ३ को केही अनुच्छेद छोरासित पढ्नुहोस्। त्यसपछि उसलाई कुन कुरा सबैभन्दा रोचक लाग्यो, सोध्नुहोस्। सृष्टिकर्ता हुनुहुन्छ भनेर ऊ किन विश्वस्त हुन सक्यो र ऊ किन परमेश्वरको इच्छाअनुसार गर्न चाहन्छ, त्यसबारे सोच्न प्रोत्साहन दिनुहोस्। (रोमी १२:२) उसको जवाफ तपाईंको जस्तै हुनुपर्छ भन्ने छैन भनेर थाह दिनुहोस्।

१४ स्कूलको साथीसित कुरा गर्दा माथि छलफल गरिएको तरिका पछयाउन सकिन्छ भनेर छोरालाई बताउनुहोस्। उसले साथीलाई सृष्टिबारे केही तथ्य बताउन सक्छ अनि साथीको विचार बुझ्न प्रश्नहरू सोध्न सक्छ। जस्तै:- तपाईंको छोराले साथीलाई चिन्ता गर्नुहुन्छ? पुस्तिकाको पृष्ठ ५-६ को अनुच्छेद १०-१२ पढ्न आग्रह गर्न सक्छ। त्यसपछि उसले यस्तो प्रश्न सोध्न सक्छ, ‘जानकारी सञ्चय गर्ने डीएनए-को क्षमताको तुलनामा कुनै पनि कम्प्युटर आउन सकेको छैन भनेर के तिमी विश्वास गर्छौ?’ साथीले ‘गर्छु’ भन्ला। त्यसपछि तपाईंको छोराले यस्तो प्रश्न गर्न सक्छ, ‘कम्प्युटर बनाउने त कोही छ भने डीएनए बनाउने कोही नहोला र?’ छोरालाई आफ्नो विश्वासबारे विश्वस्त भएर कुरा गर्न मदत दिन ऊसित नियमित रूपमा अभ्यास गर्न सक्नुहुन्छ। यसरी छोराछोरीलाई प्रभावकारी तरिकामा प्रश्नहरू प्रयोग गर्न प्रशिक्षण दिनुभयो भने तिनीहरूलाई प्रचारकको भूमिका पूरा गर्न मदत दिइरहनुभएको हुनेछ।

१५. नास्तिकलाई मदत दिन हामी कसरी प्रश्नहरू प्रयोग गर्न सक्छौं?

१५ उदाहरण २: प्रचारकार्यमा परमेश्वरको अस्तित्वमाथि शङ्का गर्ने मानिसहरू भेट्न सक्छौं। जस्तै:- घरधनीले आफू नास्तिक भएको कुरा बताउन सक्छन्‌। त्यसपछि कुराकानी त्यहीं टुङ्ग्याउनुको सट्टा तिनी नास्तिक भएको कति समय भयो र तिनी किन नास्तिक भए भनेर आदरपूर्वक सोध्न सक्छौं। जवाफ सुनेपछि तिनले आफ्नो विश्वासलाई गम्भीरतासाथ लिएकोमा तिनको प्रशंसा गर्न सक्छौं। त्यसपछि  सृष्टिकर्ता हुनुहुन्छ भन्ने प्रमाणहरू पेस गरिएको पुस्तिका पढ्न चाहन्छन्‌ कि भनेर सोध्न सक्छौं। घरधनी खुला विचारधाराका रहेछन्‌ भने तिनी प्रमाण जाँच्न इच्छुक हुनेछन्‌। अनि हामी तिनलाई चिन्ता गर्नुहुन्छ? वा जीवनको उद्देश्य पुस्तिका दिन सक्छौं। दयालु हुँदै अनि सोचविचार गरेर प्रश्नहरू सोध्दा मानिसहरू सुसमाचार सुन्न इच्छुक हुन सक्छन्‌।

१६. विद्यार्थीले अनुच्छेदबाटै हुबहु जवाफ दिंदा त्यसैमा चित्त बुझाउनु हुँदैन, किन?

१६ उदाहरण ३: बाइबल अध्ययन सञ्चालन गर्दा विद्यार्थीलाई अनुच्छेदबाट हुबहु जवाफ दिन दियौं भने के हुन्छ? हामीले तिनको प्रगतिमा बाधा पुऱ्याइरहेका हुन सक्छौं। किन? राम्ररी नसोची अनुच्छेदबाट हुबहु जवाफ दिने विद्यार्थीको विश्वासको जरा सतही हुन्छ। प्रचण्ड तापले गर्दा बिरुवा ओइलाएजस्तै विरोध आइपर्दा तिनले सजिलै ठेस खान सक्छन्‌। (मत्ती १३:२०, २१) यस्तो हुन नदिन आफूले सिकिरहेको कुरा कस्तो लागिरहेको छ भनेर विद्यार्थीलाई सोध्नुहोस्। सिकिरहेको कुरासित तिनी सहमत छन्‌ कि छैनन्‌, पत्ता लगाउने कोसिस गर्नुहोस्। अझ महत्त्वपूर्ण कुरा, सहमत वा असहमत हुनुको कारण सोध्नुहोस्। त्यसपछि तिनलाई बाइबल सिद्धान्तमा आधारित निष्कर्षमा पुग्न मदत गर्नुहोस्। (हिब्रू ५:१४) हामीले प्रभावकारी तरिकामा प्रश्नहरू प्रयोग गऱ्यौं भने विद्यार्थीको विश्वास बलियो हुने सम्भावना प्रबल हुन्छ र कसैले विरोध गर्दा वा बहकाउँदा त्यसको प्रतिकार गर्न तिनी सक्षम हुनेछन्‌। (कल. २:६-८) प्रचारकको भूमिका पूरा गर्न हामी अरू के गर्न सक्छौं?

असल प्रचारकहरू एकअर्कालाई मदत गर्छन्‌

१७, १८. प्रचारकार्यमा हामी कसरी साथीलाई मदत गर्न सक्छौं?

१७ येशूले चेलाहरूलाई प्रचारकार्यमा दुई-दुई जना गरी पठाउनुभयो। (मर्कू. ६:७; लूका १०:१) पछि प्रेषित पावलले आफूसँग “मिलेर सुसमाचार सुनाउन . . . परिश्रम” गरेका “सहकर्मीहरू”-बारे बताए। (फिलि. ४:३) यही नमुना पछयाउँदै प्रचारकार्यको लागि प्रशिक्षण दिन सन्‌ १९५३ मा राज्य प्रकाशकहरूले एउटा कार्यक्रम सुरु गरे।

१८ कुनै प्रकाशकसित प्रचारकार्यमा जाँदा तपाईं कसरी तिनलाई मदत गर्न सक्नुहुन्छ? (१ कोरिन्थी ३:६-९ पढ्नुहोस्) साथीले बाइबल पढेर सुनाउँदा तपाईं पनि आफ्नो बाइबल हेर्नुहोस्। घरधनी वा तपाईंको साथीमध्ये जो बोलिरहेको छ, उसको कुरा ध्यान दिएर सुन्नुहोस्। यसो गर्दा साथीलाई केही अप्ठेरो परेमा मदत गर्न सक्नुहुनेछ। (उप. ४:१२) तर होसियार! साथीले प्रभावकारी तर्क गरिरहेको बेला बीचैमा कुरा नकाट्नुहोस्। तपाईंको अनियन्त्रित जोसले साथीलाई निरुत्साहित पार्न सक्छ र घरधनी अलमलमा पर्न सक्छन्‌। तर कहिलेकाहीं आफूले पनि केही भन्नु उचितै हुन सक्छ। यदि केही बताउन चाहनुहुन्छ भने छोटकरीमा बताउनुहोस्। त्यसपछि साथीलाई नै कुरा अघि बढाउन दिनुहोस्।

१९. हामीले कुन कुरा बिर्सनु हुँदैन र किन?

१९ प्रचारकार्यमा एउटा घरबाट अर्को घरमा जाँदा एकअर्कालाई कसरी मदत गर्न सक्छौं? आफ्नो प्रस्तुति कसरी सुधार्न सकिन्छ भन्ने विषयमा कुरा गर्नुभए कसो होला? इलाकाका मानिसहरूबारे नकारात्मक कुराकानी नगर्नुहोस्। अनि सँगी प्रचारकहरूको कुरा काट्ने पनि नगर्नुहोस्। (हितो. १८:२४) हामी सबै माटाका भाँडाहरू हौं भनेर कहिल्यै नबिर्सौं। यहोवाले हामीलाई सुसमाचार सुनाउने जिम्मेवारी सुम्पेर अपार दया देखाउनुभएको छ। (२ कोरिन्थी ४:१,  पढ्नुहोस्) त्यसकारण प्रचारकको भूमिका पूरा गर्न सक्दो गरेर त्यस जिम्मेवारीको मोल गरेको देखाऔं।