सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं “असल कामहरूमा जोसिलो” हुनुहुन्छ?

के तपाईं “असल कामहरूमा जोसिलो” हुनुहुन्छ?

“असल कामहरूमा जोसिलो आफ्नो विशेष जन बनाउनको लागि हामीलाई शुद्ध पार्न ख्रीष्टले हाम्रो लागि आफैलाई अर्पण गर्नुभयो।”—ती. २:१४.

१, २. यहोवाका साक्षीहरूले मात्रै कस्तो सम्मान पाएका छन्‌? त्यस्तो सम्मान पाएकोमा तपाईं कस्तो महसुस गर्नुहुन्छ?

कुनै विशेष काम गरेबापत पुरस्कार पाउँदा मानिसहरू गर्व गर्छन्‌। जस्तै:- विद्रोही पक्षहरूबीच शान्ति कायम गर्न जोसका साथ लागेकोले कसै-कसैले नोबेल पुरस्कार पाएका छन्‌। मानिसहरूलाई परमेश्वरसित शान्ति कायम गर्न मदत दिन उहाँले हामीलाई राजदूत वा प्रतिनिधिको रूपमा पठाउनुभएको छ। योभन्दा ठूलो सम्मान अरू के होला र?

यहोवाको साक्षीको रूपमा हामीले मात्रै यस्तो विशेष सम्मान पाएका छौं। परमेश्वर र येशूको निर्देशनमा हामी मानिसहरूलाई ‘परमेश्वरसित मिलाप गर्न’ आग्रह गर्छौं। (२ कोरि. ५:२०) मानिसहरूलाई आफूतर्फ खिच्न परमेश्वरले हामीलाई चलाउँदै हुनुहुन्छ। यसले गर्दा २३५ भन्दा धेरै मुलुकका लाखौं मानिस परमेश्वरको मित्र बन्न सकेका छन्‌ र तिनीहरूले अनन्त जीवनको आशा पाएका छन्‌। (ती. २:११) ‘जीवन दिने पानी सित्तैंमा लिन चाहनेहरूलाई’ हामी जोसिलो भई निम्तो दिन्छौं। (प्रका. २२:१७) यस विशेष जिम्मेवारीको हामी मोल गर्छौं अनि यो जिम्मेवारी पूरा गर्न कडा प्रयास गर्छौं। त्यसकारण हामी “असल कामहरूमा जोसिलो” मानिस भनेर चिनिन्छौं। (ती. २:१४) असल कामहरूमा जोसिलो हुँदा मानिसहरूलाई यहोवातर्फ खिच्न कसरी मदत गर्न सक्छौं, विचार गरौं। एउटा तरिका प्रचारकार्य हो।

यहोवा र येशूको जोस अनुकरण गर्नुहोस्

३. “यहोवाको उत्तेजित जोस” विचार गर्दा हामी कुन कुरामा विश्वस्त हुन सक्छौं?

यशैया ९:७ मा परमेश्वरको छोरा राजा हुने र ती राजाले मानिसहरूका लागि असल काम गर्नेबारे बताइएको छ। यी सबै काम ‘सेनाहरूका यहोवाको उत्तेजित जोसले गर्दा’ पूरा हुनेछ। स्वर्गमा हुनुहुने हाम्रा बुबा मानिसहरूको उद्धार गर्न इच्छुक हुनुहुन्छ  भनेर यसबाट स्पष्ट हुन्छ। यहोवा जोसिलो हुनुहुन्छ। त्यसकारण हामीले पनि प्रचारकार्यलाई जोसिलो भई समर्थन गर्नुपर्छ। मानिसहरूलाई परमेश्वर चिन्न मदत दिने तीव्र चाहना राख्दा यहोवाको जोस अनुकरण गरिरहेका हुन्छौं। परमेश्वरको सहकर्मीको रूपमा के तपाईं आफ्नो परिस्थितिले दिएसम्म प्रचारकार्यमा पूरापूर भाग लिंदै हुनुहुन्छ?—१ कोरि. ३:९.

४. सेवाको काममा जोसिलो भई लाग्ने सन्दर्भमा येशूले कस्तो उदाहरण बसाल्नुभयो?

येशूको जोस पनि विचार गर्नुहोस्। सेवाको काममा जोसिलो भई लाग्ने सन्दर्भमा उहाँले उत्कृष्ट उदाहरण बसाल्नुभयो। घोर विरोधको सामना गर्नुपरे तापनि उहाँले जीवनको अन्तिम क्षणसम्मै प्रचारकार्यप्रति जोस देखाउनुभयो। (यूह. १८:३६, ३७) आफ्नो जीवन बलिदानको रूपमा चढाउने समय नजिकिंदै जाँदा मानिसहरूलाई परमेश्वरसित नजिक हुन मदत गर्ने उहाँको चाहना झनै तीव्र भयो।

५. येशू कसरी दृष्टान्तको मालीजस्तै हुनुभयो?

इस्वी संवत्‌ ३२ मा येशूले दाखबारीमा अन्जीरको रूख लगाएका एक जना मानिसको दृष्टान्त सुनाउनुभयो। दृष्टान्तको त्यस रूखले फल नफलाएको तीन वर्ष भइसकेको थियो। रूख काट्न लगाइँदा मालीले मल हाल्न केही समय माग्यो। (लूका १३:६-९ पढ्नुहोस्) येशूले यो दृष्टान्त सुनाउनुहुँदा थोरै मानिस मात्र उहाँका चेला बनेका थिए। तर दृष्टान्तमा सङ्केत गरिएझैं येशू आफ्नो जीवनको छोटो समय कडा परिश्रम गर्न चाहनुहुन्थ्यो। त्यसकारण उहाँले यहूदिया र पेरियामा लगभग छ महिना जोसका साथ प्रचार गर्नुभयो। यसप्रकार उहाँले लाक्षणिक अर्थमा अन्जीरको रूख वरिपरि खनेर मल हाल्नुभयो। आफ्नो मृत्युभन्दा केही दिनअघि येशूले सुसमाचारप्रति “कान बाक्लो” बनाएका मानिसहरूको निम्ति रुनुभयो।—मत्ती १३:१५; लूका १९:४१.

६. हामी प्रचारकार्यमा किन अझ जोसका साथ लाग्नुपर्छ?

अन्तको दिन झन्‌झनै नजिकिंदै गएको कुरा विचार गर्दा के हामी प्रचारकार्यमा अझ जोसका साथ लाग्नुपर्दैन र? (दानियल २:४१-४५ पढ्नुहोस्) यहोवाको साक्षी बन्न पाउनु हाम्रो लागि कत्ति ठूलो सम्मान! मानव समस्याको वास्तविक समाधानबारे बताउने मानिसहरू हामीबाहेक अरू कोही छैनन्‌। असल मानिसहरूलाई किन दुःख आइपर्छ भनेर थाह पाउनु असम्भव छ भनेर अखबारका एक जना लेखकले हालै बताए। सुन्न इच्छुक सबैलाई यीलगायत अन्य प्रश्नको बाइबलआधारित जवाफ दिनु हामी ख्रीष्टियनहरूको कर्तव्य अनि सुअवसर हो। प्रचारकार्यमा भाग लिंदा “पवित्र शक्तिले भरिएर जोसिलो” हुने हर कारण छ। (रोमी १२:११) यहोवाको आशिष्‌ पाएर हामी उहाँलाई चिन्न अनि प्रेम गर्न अरूलाई मदत दिन सक्नेछौं।

आत्मत्यागी मनोभावले यहोवाको महिमा गर्छ

७, ८. आत्मत्यागी मनोभावले कसरी यहोवाको महिमा गर्छ?

प्रेषित पावलको अनुभवले देखाएझैं सेवाको कामको लागि हामीले ‘अनिदो रात बिताउनुपर्ने’ हुन सक्छ अनि ‘भोकै बस्नुपर्ने’ पनि हुन सक्छ। (२ कोरि. ६:५) हाम्रा भाइबहिनीले त्यस्तै त्याग गरेका छन्‌। अग्रगामीहरू प्रचारकार्यलाई सबैभन्दा महत्त्वपूर्ण ठान्छन्‌। तर तिनीहरूमध्ये थुप्रैले जीविका चलाउनको लागि काम पनि गर्नुपर्छ। मिसनरीहरूलाई पनि विचार गर्नुहोस्। विदेशी भूमिमा सेवा गर्न तिनीहरू आफूलाई ‘दाखमद्य-भेटीको रूपमा अर्पण गर्छन्‌।’ (फिलि. २:१७) बगालको हेरचाह गर्न एल्डरहरूले कहिलेकाहीं भोकभोकै बस्नुपर्ने अनि अनिदो रात बिताउनुपर्ने हुन्छ। हामीमाझ वृद्ध भाइबहिनी अनि खराब स्वास्थ्य अवस्थासित सङ्घर्ष गरिरहेकाहरू पनि छन्‌। ती भाइबहिनी सभामा उपस्थित हुन अनि प्रचारकार्यमा भाग लिन कडा प्रयत्न गर्छन्‌। परमेश्वरका यी आत्मत्यागी सेवकहरूलाई विचार गर्दा हाम्रो हृदय कृतज्ञताले ओतप्रोत हुन्छ। यस्तो प्रयासले प्रचारकार्यप्रति अरूको दृष्टिकोणमा सकारात्मक प्रभाव पार्छ।

अमेरिकाको एउटा अखबार कम्पनीलाई एक  जना गैर-साक्षीले यस्तो पत्र लेखे: “मानिसहरूले धर्ममा चासो राख्नै छोडिसके। . . . चर्चका पादरीहरू दिनभरि के गरेर बस्छन्‌ हँ? ख्रीष्ट मानिसहरूलाई भेट्न जानुहुन्थ्यो तर तिनीहरू पटक्कै जाँदैनन्‌। . . . अरूप्रति चासो राख्ने एउटै मात्र धर्म यहोवाका साक्षीहरूको धर्म नै हो। तिनीहरू मानिसहरूलाई भेट्छन्‌ अनि सत्य कुरा सिकाउँछन्‌।” स्वार्थी मानिसहरूले भरिएको संसारमा हामी भने आत्मत्यागी मनोभाव देखाउँछौं। यसले यहोवाको महिमा गर्छ।—रोमी १२:१.

तपाईंलाई प्रचारकार्यमा देख्दा मानिसहरूले प्रभावकारी साक्षी पाइरहेका हुन्छन्‌

९. प्रचारकार्यमा जोसिलो भई लागिरहन हामीलाई केले उत्प्रेरित गर्छ?

तर प्रचारकार्यमा हाम्रो जोस सेलाउन थालेको छ भने नि? प्रचारकार्यमार्फत यहोवाले पूरा गरिरहनुभएको उद्देश्यबारे मनन गर्नु मदतकारी हुनेछ। (रोमी १०:१३-१५ पढ्नुहोस्) उद्धार पाउन यहोवामा विश्वास गर्नै पर्छ र उहाँको नाम पुकार्नै पर्छ। तर हामीले मानिसहरूलाई प्रचार गरेकै छैनौं भने तिनीहरूले कसरी त्यसो गर्न सक्छन्‌? यो कुरा बुझ्दा हामी असल काममा लागिरहन र लगनशील भई राज्यको सुसमाचार घोषणा गर्न उत्प्रेरित हुन्छौं।

असल आचरणले मानिसहरूलाई परमेश्वरतर्फ खिच्छ

तपाईंको इमानदारी र कडा मेहनत अरूले याद गरिरहेका हुन्छन्‌

१०. हाम्रो असल आचरणले मानिसहरूलाई यहोवातर्फ खिच्छ भनेर किन भन्न सक्छौं?

१० मानिसहरूलाई परमेश्वरतर्फ खिच्न प्रचारकार्यमा जोसिलो भएर मात्र पुग्दैन, असल आचरण पनि देखाउनुपर्छ। पावलले असल आचरणको महत्त्वलाई जोड दिंदै यस्तो लेखे: “हाम्रो सेवामा कुनै खोट नभेटिओस् भनेर ठेस लाग्ने कुनै कारण हामी दिंदैनौं।” (२ कोरि. ६:३) राम्रो बोली र असल आचरणले परमेश्वरको शिक्षाको शोभा बढाउँछ, जसले गर्दा मानिसहरू यहोवाको उपासनातर्फ खिचिन्छन्‌। (ती. २:१०) हामीमा ख्रीष्टको जस्तो आचरण देखेर मानिसहरू सत्यतर्फ आकर्षित भएको थुप्रै अनुभव हामी सुन्ने गर्छौं।

११. हाम्रो आचरणले अरूलाई पार्ने प्रभावबारे किन प्रार्थनापूर्वक विचार गर्नुपर्छ?

११ जसरी हाम्रो असल आचरणले मानिसहरूलाई  सत्य सिक्न आकर्षित गर्छ, त्यसरी नै हाम्रो खराब आचरणले मानिसहरूलाई सत्य सिक्नबाट विकर्षित गर्छ। त्यसैले काम गर्ने ठाउँमा, घरमा अथवा स्कूलमा, हामी कसैलाई पनि हाम्रो सेवामा र आचरणमा खोट भेट्टाउने कारण दिंदैनौं। हामीले जानाजानी पाप गरिरह्यौं भने भयावह नतिजा भोग्नुपर्नेछ। (हिब्रू १०:२६, २७) यस तथ्यले हाम्रो आचरण कस्तो छ र यसले अरूमा कस्तो प्रभाव पार्छ भनेर प्रार्थनापूर्वक विचार गर्न हामीलाई उत्प्रेरित गर्नुपर्छ। संसारका मानिसहरूको नैतिक स्तर खस्कँदै गइरहेको बेला निष्कपट मानिसहरूले “परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद” सजिलै छुट्टयाउन सक्नेछन्‌। (मला. ३:१८) हो, हाम्रो असल आचरणले मानिसहरूलाई परमेश्वरसित मिलाप गराउन महत्त्वपूर्ण भूमिका खेल्छ।

१२-१४. हामीले परीक्षाहरू सहँदा मानिसहरूले बाइबल सत्यप्रति राख्ने दृष्टिकोणमा कस्तो प्रभाव पर्छ? उदाहरण दिनुहोस्।

१२ कोरिन्थीहरूलाई लेखेको पत्रमा पावलले आफूले सङ्कष्ट भोगेको, कठिनाइ सहेको, पिटाइ खाएको र झ्यालखानामा थुनिएको विषयमा बताए। (२ कोरिन्थी ६:४, ५ पढ्नुहोस्) विश्वासको जाँच हुने परीक्षाहरू सहँदा मानिसहरू सत्य अँगाल्न उत्प्रेरित हुन सक्छन्‌। उदाहरणको लागि, केही वर्षअघि अंगोलाको एउटा इलाकाबाट यहोवाका साक्षीहरूलाई नामेट पार्ने प्रयास गरियो। विरोधीहरूले बप्तिस्मा गरेका दुई जना साक्षी र सभामा आउने ३० जना जिज्ञासु व्यक्तिलाई समाएर लगे। ती निर्दोष मानिसहरूलाई रक्ताम्मे हुनेगरि कोर्रा लगाए। महिला र केटाकेटीलाई समेत बाँकी राखेनन्‌। विरोधीहरूले त्यो रमिता हेर्न स्थानीय बासिन्दालाई जबरजस्ती जम्मा गरे। कसैले पनि यहोवाका साक्षीहरूको कुरा सुन्ने आँट नगरोस् भन्ने उद्देश्यले यसो गरिएको थियो। तर अचम्मको कुरा, त्यस घटनापछि त्यहाँका थुप्रै मानिसले बाइबल अध्ययन गराइदिन साक्षीहरूलाई आग्रह गरे। त्यसपछि त्यहाँ राज्य प्रचारकार्य तीव्र गतिमा अघि बढ्यो, उल्लेख्य वृद्धि भयो र भाइबहिनीले थुप्रै आशिष्‌ पाए।

१३ बाइबल सिद्धान्तप्रतिको हाम्रो दृढ अडानले मानिसहरूमा कस्तो प्रभाव पार्न सक्छ भनेर यस उदाहरणले देखाउँछ। पत्रुस र अरू प्रेषितहरूले चालेको साहसिक कदमले थुप्रै मानिसलाई परमेश्वरसित मिलाप गर्न मदत गऱ्यो। (प्रेषि. ५:१७-२९) सही कुराप्रतिको हाम्रो अडान देख्दा स्कूलका साथीहरूले, सहकर्मीहरूले अथवा परिवारका सदस्यहरूले सत्य स्वीकार्न सक्छन्‌।

१४ हाम्रा भाइबहिनीमध्ये केहीले अहिले पनि खेदो भोगिरहेका छन्‌। जस्तै:- तटस्थताको कारण आर्मेनियामा लगभग ४० जना भाइ झ्यालखानामा थुनिएका छन्‌। भविष्यमा दर्जनौंलाई झ्यालखानामा हालिने सम्भावना छ। एरिट्रियामा ५५ जना साक्षीलाई झ्यालखानामा हालिएको छ। झ्यालखानामा हालिएकामध्ये केही त ६० वर्षमाथिका छन्‌। दक्षिण कोरियामा पनि करिब ७०० जना साक्षी आफ्नो विश्वासको कारण झ्यालखानामा छन्‌। यो अवस्था ६० वर्षदेखि यथावतै छ। खेदो भोगिरहेका हाम्रा भाइहरूको वफादारीले परमेश्वरको महिमा गरोस् र अरू मानिसलाई सत्य स्वीकार्न मदत पुगोस् भनेर प्रार्थना गरौं।—भज. ७६:८-१०.

१५. हाम्रो इमानदारीले मानिसहरूलाई सत्यतर्फ कसरी आकर्षित गर्छ, उदाहरण दिनुहोस्।

१५ हाम्रो इमानदारीले पनि मानिसहरूलाई सत्यतर्फ आकर्षित गर्न सक्छ। (२ कोरिन्थी ६:४,  पढ्नुहोस्) एक जना बहिनीको उदाहरण विचार गर्नुहोस्। ती बहिनीले बस भाडा तिर्नै लाग्दा तिनकी साथीले छोटो दूरीको यात्रा गर्दा भाडा नतिरे पनि हुन्छ भनिन्‌। ती बहिनीले यात्रा जति नै छोटो भए तापनि भाडा तिर्नुपर्छ भनेर बताइन्‌। त्यसपछि तिनकी साथी बसबाट झरिन्‌। अनि बस चालकले ती बहिनीतिर फर्केर सोधे, “तपाईं यहोवाको साक्षी हो?” तिनले जवाफ दिइन्‌, “हो, किन र?” चालकले भने, “तपाईंहरूले भाडा तिर्ने विषयमा कुरा गर्नुभएको सुनें। भाडा तिर्ने र सबै कुरामा इमानदार हुने थोरै मानिसमा यहोवाका साक्षीहरू पनि पर्छन्‌  भनेर मलाई थाह छ।” केही महिनापछि उक्त चालक सभामा आए र ती बहिनीलाई यसो भने, “मलाई चिन्नुभयो? तपाईंसित भाडा तिर्ने विषयमा कुरा गर्ने त्यही बस ड्राइभर के त? तपाईंको आचरण देखेर यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्ने निर्णय गरें।” हो, हाम्रो इमानदारी देखेर मानिसहरू हामीले सुनाउने सुसमाचारमा विश्वास गर्छन्‌।

परमेश्वरको आदर गर्ने गुणहरू सधैं देखाउनुहोस्

१६. धीरज, प्रेम र दयाजस्ता गुणहरूले किन मानिसहरूको मन छुन्छ? झूटा धार्मिक नेताहरू के गर्छन्‌ भन्ने सन्दर्भमा एउटा उदाहरण दिनुहोस्।

१६ धीरज, प्रेम र दयाजस्ता गुणहरू देखाउँदा पनि हामीले मानिसहरूलाई यहोवातर्फ खिचिरहेका हुन्छौं। हाम्रो आचरणले गर्दा केही मानिस यहोवा, उहाँको उद्देश्य र उहाँका सेवकहरूबारे सिक्न इच्छुक हुन सक्छन्‌। साँचो ख्रीष्टियनहरूको मनोवृत्ति र आचरण देखावटी भक्ति गर्नेहरूको भन्दा बिलकुलै फरक छ। केही धार्मिक नेता आफ्ना भक्तहरूलाई ठगेर मालामाल भएका छन्‌। त्यो पैसा महँगा घरहरू र गाडीहरू किन्न उडाएका छन्‌। एक जनाले त कुकुरको लागि समेत एयरकन्डिशनर भएको खोर किने। हो, ख्रीष्टको अनुयायी भएको दाबी गर्ने थुप्रै मानिसमा ‘सित्तैंमा दिने’ मनसाय नै छैन। (मत्ती १०:८) उनीहरू प्राचीन समयका खराब पुजारीहरूजस्तै “ज्याला लिएर” सिकाउँछन्‌, त्यो पनि गैर-धर्मशास्त्रीय शिक्षा। (मीका ३:११) यस्तो छली आचरणले कसैलाई पनि परमेश्वरसित मिलाप गराउँदैन।

१७, १८. (क) यहोवाका गुणहरू झल्काउँदा कसरी उहाँको आदर हुन्छ? (ख) असल काममा जोसिलो भइरहन तपाईंलाई कुन कुराले उत्प्रेरित गर्छ?

१७ अर्कोतर्फ, साँचो शिक्षाले अनि छिमेकीहरूसितको राम्रो व्यवहारले गर्दा मानिसहरू सत्यतर्फ आकर्षित भएका छन्‌। जस्तै:- एक जना अग्रगामी भाइले घरघरको प्रचार गर्दा एक पाको उमेरकी विधवालाई भेटे। तर ती वृद्धाले तिनको सन्देश सुन्नै चाहिनन्‌। ती भाइले घण्टी बजाउँदा आफू भऱ्याङ चढेर भान्छाको चिम फेर्ने कोसिस गरिरहेको कुरा उनले बताइन्‌। ती भाइले भने, “तपाईं एक्लैले गर्दा खतरा हुन सक्छ।” त्यसपछि ती भाइले चिम फेरिदिए र आफ्नो बाटो लागे। पछि ती वृद्धाको छोराले त्यो कुरा थाह पाए। त्यसबाट निकै प्रभावित भएर आफ्नो कृतज्ञता व्यक्त गर्न उनले ती भाइलाई खोज्न थाले। पछि उनले बाइबल अध्ययन गर्न थाले।

१८ तपाईं किन असल काममा जोसिलो भइरहन चाहनुहुन्छ? प्रचारकार्यमा जोसिलो हुँदा अनि परमेश्वरको इच्छाबमोजिम चल्दा यहोवाको आदर हुन्छ र मानिसहरूलाई उद्धार पाउन मदत पुग्छ भनेर बुझेकोले सायद तपाईं त्यसो गर्न चाहनुहुन्छ। (१ कोरिन्थी १०:३१-३३ पढ्नुहोस्) परमेश्वर र सँगी मानवहरूलाई प्रेम देखाउने गहिरो इच्छाले हामीलाई जोसिलो भई सुसमाचार सुनाउन र परमेश्वरको स्तरबमोजिम असल आचरण देखाउन उत्प्रेरित गर्छ। (मत्ती २२:३७-३९) असल काममा जोसिलो भयौं भने अहिल्यै अपार आनन्द र सन्तुष्टि पाउँछौं। साथै सबै मानिसजातिले सृष्टिकर्ता यहोवाको आदर र उपासना गर्ने समयको प्रतीक्षा गर्न सक्छौं।