सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आपसी कुराकानीद्वारा वैवाहिक सम्बन्ध बलियो बनाउनुहोस्

आपसी कुराकानीद्वारा वैवाहिक सम्बन्ध बलियो बनाउनुहोस्

“ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो।”—हितो. २५:११.

१. आपसी कुराकानीले थुप्रै विवाहित दम्पतीलाई कसरी मदत गरेको छ?

क्यानाडाका एक भाइले यसो भने: “म अरूसित भन्दा मेरी श्रीमतीसित धेरै समय बिताउँछु। उनीसित खुसी बाँड्दा त्यो खुसी झनै बढ्छ, दुःख बाँड्दा त्यो दुःख आधा घट्छ।” अस्ट्रेलियाका एक पतिले यस्तो लेखे: “हाम्रो विवाह भएको ११ वर्ष भयो, श्रीमतीसित कुरा नगरेको एक दिन पनि छैन। हामी एकअर्कालाई पूरा भरोसा गर्छौं र हाम्रो सम्बन्ध अत्यन्तै बलियो छ। यसको मुख्य कारण हो, हामी नियमित रूपमा कुराकानी गर्छौं।” कोस्टा रिकाकी एक बहिनीले यसो भनिन्‌: “आपसी कुराकानीले हाम्रो वैवाहिक सम्बन्ध बलियो बनाएको छ। त्यति मात्र होइन हामी यहोवासित घनिष्ठ भएका छौं, प्रलोभनहरूदेखि जोगिएका छौं, दम्पतीको रूपमा एकताबद्ध भएका छौं र हामीबीचको माया पनि बढेको छ।”

२. आपसी कुराकानी गर्न किन गाह्रो हुन सक्छ?

के तपाईं आफ्नो जोडीसित कुराकानी गर्नुहुन्छ? आपसी कुराकानी गर्न तपाईंलाई गाह्रो लाग्छ कि? विवाह भिन्नाभिन्नै व्यक्तित्वका दुई त्रुटिपूर्ण मानिसको मिलन हो। (रोमी ३:२३) अनि दुई जनाको रहनसहन र हुर्केको वातावरण पनि फरक हुन सक्छ। त्यसैले गाह्रो-साह्रो अवस्था त आउँछ नै। साथै कुराकानी गर्ने शैली पनि फरक-फरक हुन सक्छ। त्यसैले त वैवाहिक सम्बन्धबारे अध्ययन गर्ने जोन एम. गोटम्यान र नन सिल्भरले यसो भने: “दिगो सम्बन्धको लागि साहस, अठोट र जस्तोसुकै चुनौतीसित डट्ने क्षमता चाहिन्छ।”

३. वैवाहिक सम्बन्ध बलियो बनाउन दम्पतीहरूलाई केले मदत गरेको छ?

वैवाहिक सम्बन्ध बलियो बनाउन मेहनत त गर्नै पर्छ। यसो गर्दा विवाहित दम्पतीले अपार आनन्द पाउन सक्छन्‌। एकअर्कालाई प्रेम गर्ने दम्पतीले हाँसीखुसी जीवन बिताउन सक्छन्‌। (उप. ९:९) इसहाक र रिबेकाको वैवाहिक सम्बन्धलाई विचार  गर्नुहोस्। (उत्प. २४:६७) तिनीहरूले पतिपत्नीको रूपमा लामो समय बिताइसकेका थिए तर बाइबलमा तिनीहरूको माया कम भएको कुनै छनक पाइँदैन। आज पनि थुप्रै दम्पतीबारे यस्तै भन्न सकिन्छ। यसको रहस्य? तिनीहरूले आफ्नो भावना खुलस्त रूपमा तर दयालुपूर्वक व्यक्त गर्न सिकेका छन्‌। तिनीहरू अन्तरदृष्टि, प्रेम, गहिरो आदर अनि नम्रता देखाउँछन्‌। यी गुणहरूले आपसी कुराकानी गर्न कसरी मदत पुऱ्याउँछ, अब हामी बुझौं।

अन्तरदृष्टि देखाउनुहोस्

४, ५. अन्तरदृष्टिले एकअर्कालाई अझ राम्ररी बुझ्न विवाहित दम्पतीलाई कसरी मदत गर्छ? उदाहरण दिनुहोस्।

हितोपदेश १६:२० भन्छ: “वचन ध्यानसित सुन्ने [“अन्तरदृष्टि भएको,” NW] मानिस सुखी हुन्छ।” वैवाहिक सम्बन्ध र पारिवारिक जीवनको सन्दर्भमा पनि यो कुरा सोह्रै आना सही हो। (हितोपदेश २४:३ पढ्नुहोस्) अन्तरदृष्टि र बुद्धिको सबैभन्दा उत्तम स्रोत बाइबल हो। उत्पत्ति २:१८ अनुसार परमेश्वरले स्त्रीलाई पुरुषको सहयोगीको रूपमा बनाउनुभयो, पुरुषजस्तै होइन। त्यसैकारण स्त्रीको कुरा गर्ने शैली पुरुषको भन्दा फरक हुन्छ। हुन त मान्छेअनुसार स्वभाव फरक-फरक हुन्छ तर स्त्रीहरू साधारणतया आफ्नो भावना, मानिस तथा एकअर्काबीचको सम्बन्धबारे कुरा गर्न रुचाउँछन्‌। तिनीहरूलाई न्यानो र आत्मीय कुराकानी मन पर्छ किनभने यसरी कुरा गर्दा तिनीहरू माया पाएको महसुस गर्छन्‌। अर्कोतर्फ, थुप्रै पुरुष आफ्नो भावनाबारे कुरा गर्न त्यति रुचाउँदैनन्‌। बरु उनीहरू काम वा मनोरञ्जनजस्ता गतिविधि अनि समस्या तथा समाधानबारे कुरा गर्न रुचाउँछन्‌। अनि उनीहरूलाई अरूले आदर गरेको मन पर्छ।

बेलायतकी एक बहिनीले यसो भनिन्‌: “मेरो श्रीमान्‌ मेरो कुरा सुन्नुको सट्टा तुरुन्तै समस्या सुल्झाउन चाहनुहुन्छ। तर मलाई उहाँले मेरो कुरा सुनिदिए र मेरो भावना बुझिदिए पुग्छ।” एक जना पतिले लेखे: “विवाहको सुरु-सुरुतिर ममा श्रीमतीको समस्या तुरुन्तै समाधान गर्न खोज्ने झुकाव थियो। तर पछि मात्र थाह पाएँ, उनी त मैले उनको कुरा सुनिदिएको चाहन्थिन्‌।” (हितो. १८:१३; याकू. १:१९) अन्तरदृष्टि भएको पतिले आफ्नी पत्नीको भावना बुझ्छन्‌ र त्यसैअनुसार कदम चाल्ने कोसिस गर्छन्‌। साथै पत्नीको विचार र भावना आफ्नो लागि महत्त्वपूर्ण भएको कुरामा उनलाई विश्वस्त पार्छन्‌। (१ पत्रु. ३:७) अर्कोतर्फ, अन्तरदृष्टि भएकी पत्नीले पतिको विचार बुझ्ने कोसिस गर्छिन्‌। पतिपत्नीले आ-आफ्नो जिम्मेवारी बुझ्दा, त्यसको कदर गर्दा र ती पूरा गर्दा तिनीहरू आनन्दित हुन सक्छन्‌। साथै तिनीहरू दुवै मिलेर बुद्धिमानी निर्णय गर्न सक्छन्‌।

६, ७. (क) उपदेशक ३:७ मा पाइने सिद्धान्तले विवाहित दम्पतीलाई अन्तरदृष्टि देखाउन कसरी मदत गर्छ? (ख) पत्नीले कसरी समझ देखाउन सक्छिन्‌ र पतिले कस्तो प्रयास गर्नुपर्छ?

अन्तरदृष्टि भएको दम्पतीलाई “चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय” छ भन्ने कुरा पनि थाह हुन्छ। (उप. ३:१, ७) विवाह गरेको दस वर्ष भएको एक बहिनीले यसो भनिन्‌: “कहिलेकाहीं कुरा गर्न नमिल्ने समय पनि हुन्छ भनेर अहिले बुझेकी छु। काम अथवा अन्य जिम्मेवारीले गर्दा श्रीमान्‌ लखतरान हुनुभएको छ भने केही समय पर्खेर मात्र कुरा गर्छु। यसले हाम्रो कुराकानीलाई अझ फलदायी बनाएको छ।” पत्नीले दयालु तरिकामा अनि “ठीक बेलामा” आफ्नो कुरा व्यक्त गर्दा पतिले खुसीसाथ तिनको कुरा सुन्नेछन्‌।हितोपदेश २५:११ पढ्नुहोस्।

स-साना कुराले वैवाहिक जीवनमा ठूलो फरक पार्छ

ख्रीष्टियन पतिले पत्नीको कुरा सुनेर मात्र पुग्दैन, आफ्नो भावना पनि स्पष्ट रूपमा व्यक्त गर्नुपर्छ। सत्ताइस वर्षअघि विवाह गरेका एक जना एल्डरले यसो भने: “मनको कुरा श्रीमतीलाई बताउन मैले निकै प्रयास गर्नुपरेको छ।” चौबीस वर्षअघि विवाह गरेका अर्का भाइले यसो भने: “म आफ्नो भावना दबाएर राख्थें। मलाई लाग्थ्यो, ‘कुनै विषयमा कुरै गरिएन भने त्यो त्यसै हराएर  गइहाल्छ नि!’ तर अहिले के बुझेको छु भने आफ्नो भावना व्यक्त गर्नु कमजोरी होइन। भावना व्यक्त गर्न गाह्रो हुँदा सही शब्द सही तरिकामा भन्न सकूँ भनेर प्रार्थना गर्छु। त्यसपछि लामो सास फेर्छु र कुरा थाल्छु।” कुराकानी गर्ने समय पनि सही हुनुपर्छ। जस्तै, दम्पती मिलेर दैनिक पद छलफल गर्दा वा बाइबल पढ्दा।

८. वैवाहिक सम्बन्ध बलियो बनाउन ख्रीष्टियन दम्पतीले थप के गर्न सक्छन्‌?

कुराकानी गर्ने पुरानो शैली परिवर्तन गर्न गाह्रो हुन सक्छ। तर पतिपत्नी दुवैले पवित्र शक्तिको लागि प्रार्थना गर्नुपर्छ र तिनीहरूमा कुराकानी गर्ने शैली सुधार्ने तीव्र इच्छा हुनुपर्छ। यहोवालाई प्रेम गरेमा, उहाँको शक्ति मागेमा र वैवाहिक बन्धनलाई पवित्र ठानेमा मात्र तिनीहरूमा त्यस्तो इच्छा जाग्नेछ। विवाह गरेको २६ वर्ष भएकी एक जना पत्नीले यसो भनिन्‌: “म र मेरो श्रीमान्‌ विवाहसम्बन्धी यहोवाको दृष्टिकोणलाई गम्भीरतासाथ लिन्छौं। त्यसैले छुट्टिएर बस्ने कुरा त सोच्दा पनि सोच्दैनौं। अनि कुनै समस्या खडा हुँदा सँगै मिलेर समाधान गर्ने प्रयास गर्छौं।” यसरी परमेश्वरप्रति वफादार हुँदा उहाँ खुसी हुनुहुन्छ र उहाँले प्रशस्त आशिष्‌ दिनुहुन्छ।—भज. १२७:१.

प्रेम बढाउनुहोस्

९, १०. प्रेमको बन्धन अझ बलियो बनाउन दम्पतीले के गर्न सक्छन्‌?

वैवाहिक जीवनमा प्रेमको सबैभन्दा महत्त्वपूर्ण स्थान छ। बाइबलले यस गुणलाई “पूर्ण एकतामा गाँस्ने बन्धन” भन्छ। (कल. ३:१४) पतिपत्नीले जीवनका उकाली-ओराली सँगै पार गर्दा साँचो प्रेम बढ्दै जान्छ। तिनीहरूको मित्रता अझ घनिष्ठ हुन्छ र एकअर्काको साथमा हुन पाउँदा तिनीहरू रमाउँछन्‌। टि.भी. तथा चलचित्रमा पात्रहरूले आफ्नो जोडीको लागि ठूलठूलो काम गरिदिएको देखाइन्छ। तर स-साना काम गरिदिंदा पनि वैवाहिक जीवनमा ठूलो फरक पर्न सक्छ। जस्तै: आलिङ्गन गर्दा, दयालु वचन बोल्दा, विचार पुऱ्याएर केही काम गरिदिंदा, न्यानो मुस्कान छरिदिंदा वा ‘दिन कस्तो भयो?’ भनेर सोध्दा। विवाह गरेको १९ वर्ष भइसकेको एक दम्पती एकअर्काको हालखबर बुझ्न फोन वा एसएमएस गर्ने गर्छन्‌।

१० प्रेमले एकअर्कालाई अझ राम्ररी चिन्दै जान पनि उत्प्रेरित गर्छ। (फिलि. २:४) दुवैमा कमजोरी भए तापनि एकअर्कालाई राम्ररी चिन्दा तिनीहरूको प्रेम झन्‌झनै बढ्दै जान्छ। सफल वैवाहिक सम्बन्ध समय बित्दै जाँदा अझ प्रगाढ  हुँदै जान्छ। त्यसैले तपाईं विवाहित हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्: ‘म आफ्नो श्रीमान्‌/श्रीमतीलाई कत्तिको राम्ररी चिन्छु? के म उहाँको/उनको भावना र विचार बुझ्छु? मलाई आफ्नो श्रीमान्‌/श्रीमतीको जुन गुणले सुरुमा आकर्षित गरेको थियो, के म त्यसबारे सोच्ने गर्छु?’

आदर देखाउनुहोस्

११. सम्बन्ध बलियो बनाउन पतिपत्नीले किन एकअर्काको आदर गर्नुपर्छ? उदाहरण दिनुहोस्।

११ सुखी वैवाहिक जीवनमा समेत समस्या आउँछ। पतिपत्नी हरेक कुरामा सहमत हुन्छन्‌ भन्ने छैन। अब्राहाम र साराबीच पनि कहिलेकाहीं असहमति हुन्थ्यो। (उत्प. २१:९-११) तर यसले तिनीहरूको वैवाहिक सम्बन्ध कमजोर बनाएन। किन? तिनीहरू एकअर्कालाई आदर गर्थे। उदाहरणको लागि, अब्राहामले सारासित कुरा गर्दा “कृपया” भन्ने शब्द चलाए। (उत्प. १२:११, १३, NW) साराले पनि अब्राहामको आज्ञा पालन गर्थिन्‌ र तिनलाई “प्रभु” भनेर पुकार्थिन्‌। (१ पत्रु. ३:६) पतिपत्नीबीच आदर छैन भने यो उनीहरूको बोल्ने शैलीमा देखिन्छ। (हितो. १२:१८) समस्याको मूल कारण पत्ता लगाएर समाधान गरिएन भने वैवाहिक सम्बन्ध तहसनहस हुन सक्छ।याकूब ३:७-१०, १७, १८ पढ्नुहोस्।

१२. विशेषगरि भर्खरै विवाह गरेकाहरूले किन एकअर्कालाई आदर देखाउँदै बोल्ने प्रयास गर्नुपर्छ?

१२ विशेषगरि भर्खरै विवाह गरेकाहरूले एकअर्कालाई आदर देखाउँदै नरम बोली बोल्ने प्रयास गर्नुपर्छ। यसो गर्दा उनीहरूले खुलस्त कुराकानी गर्न सक्नेछन्‌। एक जना पतिले यसो भने: “विवाहको पहिलो वर्ष रमाइलो त हुन्छ तर एकअर्काको भावना, स्वभाव अनि आवश्यकता नबुझ्दा कहिलेकाहीं दिक्क लाग्छ। व्यावहारिक भएमा, हँसीमजाक गरेमा, नम्र र धीरजी भएमा अनि यहोवामा भर परेमा सम्बन्ध राम्रो बनाउन सकिन्छ।” कत्ति राम्रो सल्लाह!

साँचो नम्रता देखाउनुहोस्

१३. सुखी वैवाहिक जीवनको लागि नम्रता किन अत्यावश्यक छ?

१३ पतिपत्नीमा “नम्र मनोभाव” छ भने मात्र उनीहरूले नरम हुँदै र शान्तपूर्वक कुराकानी गर्न सक्छन्‌। (१ पत्रु. ३:८) विवाह गरेको ११ वर्ष भएको एक जना भाइले यसो भने: “समस्या सुल्झाउने सबैभन्दा राम्रो उपाय नम्र हुनु हो। नम्र हुनुहुन्छ भने ‘मलाई माफ गर’ भन्न गाह्रो लाग्नेछैन।” बीस वर्षदेखि सुखी वैवाहिक जीवनको  आनन्द उठाइरहेका एक जना एल्डरले यसो भने: “कहिलेकाहीं ‘मलाई माफ गर’ भन्नु ‘म तिमीलाई माया गर्छु’ भन्नुभन्दा महत्त्वपूर्ण हुन्छ।” तिनले यसो पनि भने: “नम्र हुन तुरुन्तै मदत गर्ने एउटा माध्यम प्रार्थना हो। पत्नीसँगै बसेर प्रार्थना गर्दा आफ्नो त्रुटिपूर्ण अवस्था र यहोवाको असीम अनुग्रह सम्झन मदत पाउँछौं। यसले कुनै पनि मामिलालाई उचित दृष्टिकोणले हेर्न मदत गर्छ।”

आपसी कुराकानी गर्न कहिल्यै नछोड्नुहोस्

१४. घमन्डले वैवाहिक सम्बन्धलाई कस्तो असर गर्छ?

१४ घमन्डले पतिपत्नीलाई आपसी कुराकानी गर्न र समस्या समाधान गर्न गाह्रो बनाउँछ। घमन्डी व्यक्तिले ‘मलाई माफ गर’ भन्नै चाहँदैन वा उसमा त्यसो भन्ने साहसै हुँदैन। उसले अनेक बहाना बनाउँछ र गल्ती स्वीकार्नुको सट्टा अरूलाई दोष लगाउँछ। कसैले उसको चित्त दुखाउँदा शान्ति कायम गर्न चाहँदैन। बरु रूखो बोली बोलेर या चुपचाप बसेर बदला लिन्छ। (उप. ७:९) हो, वैवाहिक सम्बन्धको लागि घमन्ड घातक छ। यो कुरा सम्झनु बेस हो: “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।”—याकू. ४:६.

१५. एफिसी ४:२६, २७ मा पाइने सिद्धान्तले समस्या समाधान गर्न पतिपत्नीलाई कसरी मदत गर्छ?

१५ आफूमा कहिल्यै घमन्ड देखा पर्दैन भनेर सोच्नु अव्यावहारिक हुनेछ। त्यसैले आफू घमन्डी भएको थाह पाउनासाथै समाधानको लागि कदम चालिहाल्नुपर्छ। पावलले सँगी ख्रीष्टियनहरूलाई भने: “घाम डुब्नुअघि नै तिमीहरूको रिस मरोस्, दियाबललाई मौका नदेओ।” (एफि. ४:२६, २७) परमेश्वरको वचनको सल्लाह पालन नगर्दा दुःख भोग्नुपर्ने हुन्छ। एक जना बहिनीले यस्तो दुखेसो पोखिन्‌: “हामी पतिपत्नीले एफिसी ४:२६, २७ को सल्लाह पालन गरेका थिएनौं। यसले गर्दा केही रात त निद्रै परेन।” मिलाप गर्ने उद्देश्यले समस्याबारे तुरुन्तै छलफल गर्नु कत्ति बेस! हो, पतिपत्नीले रिस ठन्डा गर्न एकअर्कालाई केही समय दिनुपर्ने हुन सक्छ। अनि नम्र मनोभाव राख्न यहोवालाई प्रार्थना गर्नु पनि उपयुक्त हुन्छ। यस्तो मनोभावले आफूमा होइन, समस्याको समाधानमा ध्यान केन्द्रित गर्न मदत गर्नेछ।कलस्सी ३:१२, १३ पढ्नुहोस्।

१६. नम्रताले पतिपत्नीलाई एकअर्काको राम्रो पक्षमा ध्यान दिन कसरी मदत गर्छ?

१६ नम्रताले पतिपत्नीलाई एकअर्काको राम्रो पक्षमा ध्यान दिन मदत गर्छ। जस्तै: पत्नीमा कुनै विशेष खुबी हुन सक्छ र त्यो खुबी तिनले आफ्नो परिवारको फाइदाको लागि चलाउँछिन्‌। पति नम्र छन्‌ भने उनले आफू पत्नीभन्दा श्रेष्ठ हुनुपर्छ भनेर सोच्नेछैनन्‌ बरु तिनको खुबी सदुपयोग गर्न प्रोत्साहन दिनेछन्‌। यसप्रकार ती पतिले पत्नीलाई माया गरेको र कदर गरेको देखाउँछन्‌। (हितो. ३१:१०, २८; एफि. ५:२८, २९) नम्र पत्नीचाहिं आफ्नो खुबीको फुइँ लगाउँदिनन्‌ वा पतिलाई होच्याउँदिनन्‌। हुन पनि तिनीहरू “एउटै शरीर” हुन्‌ अनि एक जनालाई चोट पुग्दा अर्कोलाई पनि चोट पुग्छ।—मत्ती १९:४, ५.

१७. केले वैवाहिक सम्बन्धलाई सुखी र यहोवाको महिमा गर्ने खालको बनाउँछ?

१७ अब्राहाम र सारा अनि इसहाक र रिबेकाको वैवाहिक जीवन सुखी, दिगो र यहोवाको महिमा गर्ने खालको थियो। तपाईं पनि आफ्नो वैवाहिक जीवन पक्कै त्यस्तै भएको चाहनुहुन्छ। त्यसो हो भने विवाहप्रति परमेश्वरको जस्तै दृष्टिकोण राख्नुहोस्। अन्तरदृष्टि र बुद्धि पाउन उहाँको वचनमा भर पर्नुहोस्। एकअर्काको राम्रा गुणहरूबारे सोचेर प्रेमलाई अझ प्रबल बनाउनुहोस्। (श्रेष्ठ. ८:६) नम्र हुने प्रयास गर्नुहोस्। आफ्नो जोडीलाई आदर गर्नुहोस्। यी कुराहरू गर्नुभयो भने तपाईंको वैवाहिक सम्बन्धले तपाईं र स्वर्गका बुबालाई आनन्दित तुल्याउनेछ। (हितो. २७:११) सायद तपाईंको भावना पनि २७ वर्षअघि विवाह गरेका यी भाइको जस्तै होला, जसले यसो भने: “म आफ्नी श्रीमतीविनाको जीवन कल्पना पनि गर्न सक्दिनँ। हाम्रो सम्बन्ध दिनप्रतिदिन बलियो हुँदै छ किनकि हामी यहोवालाई प्रेम गर्छौं र एकअर्कासित नियमित रूपमा कुराकानी गर्छौं।”