सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुद्धिमानी छनौट गरेर आफ्नो उत्तराधिकारको रक्षा गर्नुहोस्

बुद्धिमानी छनौट गरेर आफ्नो उत्तराधिकारको रक्षा गर्नुहोस्

“जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर, जे कुरा असल छ, त्यससित टाँसिरहो।”—रोमी १२:९.

१, २. (क) परमेश्वरको सेवा गर्ने छनौट गर्न तपाईंले के गर्नुभयो? (ख) उत्तराधिकारबारे के-कस्ता प्रश्नहरू विचार गर्नेछौं?

लाखौंले यहोवा परमेश्वरको सेवा गर्ने र येशू ख्रीष्टको पदचिन्ह राम्ररी पछयाउने छनौट गरेका छन्‌। (मत्ती १६:२४; १ पत्रु. २:२१) आफ्नो जीवन परमेश्वरलाई समर्पण गर्ने छनौट गम्भीर छनौट हो। हाम्रो त्यो छनौट बाइबलका केही पदको सतही ज्ञानमा होइन, बाइबलको गहिरो अध्ययनमा आधारित थियो। यस्तो अध्ययनले ‘एक मात्र साँचो परमेश्वर अनि उहाँले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिनेहरूले’ पाउने उत्तराधिकारमाथिको हाम्रो विश्वास बलियो बनायो।—यूह. १७:३; रोमी १२:२.

यहोवासित राम्रो सम्बन्ध कायम राख्ने हो भने उहाँलाई खुसी पार्ने किसिमको छनौट गर्नै पर्छ। यस लेखमा यी महत्त्वपूर्ण प्रश्नहरूबारे विचार गर्नेछौं:- हाम्रो उत्तराधिकार के हो? हामीले यसलाई कस्तो ठान्नुपर्छ? उत्तराधिकार पाउन हामीले के गर्नै पर्छ? बुद्धिमानी छनौट गर्न हामीलाई केले मदत गर्छ?

हाम्रो उत्तराधिकार के हो?

३. (क) अभिषिक्त ख्रीष्टियनहरूले कस्तो उत्तराधिकार पाउनेछन्‌? (ख) “अरू भेडा”-ले कस्तो उत्तराधिकार पाउनेछन्‌?

थोरै ख्रीष्टियनले “अविनाशी, विशुद्ध र नओइलाउने उत्तराधिकार” अर्थात्‌ स्वर्गमा ख्रीष्टसित शासन गर्ने अनमोल सुअवसर पाउँछन्‌। (१ पत्रु. १:३, ४) त्यो उत्तराधिकार पाउन तिनीहरू ‘फेरि जन्मनै पर्छ।’ (यूह. ३:१-३) अभिषिक्त ख्रीष्टियनहरूसँगै परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने येशूका लाखौं “अरू भेडा”-ले चाहिं कस्तो उत्तराधिकार पाउँछन्‌? (यूह. १०:१६) उनीहरूले आदम र हव्वाले कहिल्यै नपाएको कुरा पाउनेछन्‌। त्यो हो: दुःखकष्ट, शोक वा मृत्यु नहुने प्रमोदवनमा अनन्त जीवन। (प्रका. २१:१-४) येशूले आफूसँगै  टाँगिएका अपराधीलाई यस्तो प्रतिज्ञा गर्नुभयो: “म आज तिमीलाई साँचो-साँचो भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ।”—लूका २३:४३.

४. हामीले अहिल्यै कस्ता आशिष्‌ पाएका छौं?

अहिले पनि हामीले थुप्रै आशिष्‌ पाएका छौं। “ख्रीष्ट येशूले तिर्नुभएको फिरौती”-मा विश्वास गरेकोले हामीले मनोशान्ति पाएका छौं र परमेश्वरसित घनिष्ठ सम्बन्ध राख्न सकेका छौं। (रोमी ३:२३-२५) बाइबलका सुनौला प्रतिज्ञाहरू राम्ररी बुझेका छौं। अन्तरराष्ट्रिय भ्रातृत्वको सदस्य हुन पाएकोमा आनन्दित हुन सकेका छौं। यहोवाको साक्षी हुने ठूलो सम्मान पाएका छौं! हो, हामीसित आफ्नो उत्तराधिकारको मोल गर्ने हर कारण छ।

५. सैतानले परमेश्वरका सेवकहरूलाई के गर्ने प्रयास गरेको छ र त्यसको दाउपेचहरूविरुद्ध दृढ भई खडा भइरहन हामीलाई केले मदत गर्छ?

आफ्नो उत्तराधिकार नगुमाउने हो भने हामी सैतानका पासोहरूदेखि होसियार हुनै पर्छ। सैतान परमेश्वरका सेवकहरूले आफ्नो उत्तराधिकार गुमाएको चाहन्छ। त्यसकारण तिनीहरूलाई गलत छनौट गर्न लगाउने प्रयास त्यसले गरिरहेको छ। (गन्ती २५:१-३, ९) सैतानलाई आफ्नो दिन धेरै छैन भनेर थाह छ। त्यसैले हामीलाई बहकाउन त्यसले आफ्नो भएभरको बल लगाइरहेको छ। (प्रकाश १२:१२, १७ पढ्नुहोस्) “दियाबलका दाउपेचहरूविरुद्ध दृढ भई खडा” भइरहने हो भने हामीले सधैं आफ्नो उत्तराधिकारको मोल गर्नै पर्छ। (एफि. ६:११) यससम्बन्धमा इसहाकको छोरा एसावको चेतावनीमूलक उदाहरणबाट महत्त्वपूर्ण पाठ सिक्न सक्छौं।

एसावजस्तो नहुनुहोस्

६, ७. एसाव को थिए र तिनले कस्तो उत्तराधिकार पाउन सक्थे?

लगभग ४,००० वर्षअघि इसहाक र रिबेकाले एसाव र याकूब नाम गरेका जुम्ल्याहा सन्तान जन्माए। हुर्कंदै जाँदा तिनीहरूको स्वभाव र छनौट फरक-फरक भयो। “एसावचाहिं सिपालु शिकारी र वन-वन डुलिहिंड्ने भए। औ याकूबचाहिं पालमा बसिरहने शान्त स्वभावका मानिस भए।” (उत्प. २५:२७) “शान्त स्वभाव” भनेर अनुवाद गरिएको हिब्रू शब्दले “सत्यनिष्ठ वा सोझो” भन्ने अर्थ बुझाउँछ भनी बाइबल अनुवादक रोबर्ट आल्टर बताउँछन्‌।

एसाव र याकूब १५ वर्षको छँदा तिनीहरूको हजुरबुबा अब्राहामको मृत्यु भयो। तर यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञा भने यथावतै रह्यो। पछि यहोवाले इसहाकसित पनि त्यही प्रतिज्ञा गर्नुभयो। उहाँले अब्राहामको सन्तानद्वारा पृथ्वीका सबै जाति आशिषित्‌ हुनेछन्‌ भन्नुभयो। (उत्पत्ति २६:३-५ पढ्नुहोस्) त्यस प्रतिज्ञाले उत्पत्ति ३:१५ का “सन्तान” अर्थात्‌ मसीह अब्राहामको वंशबाट आउने कुरा प्रकट गऱ्यो। एसाव इसहाकको जेठो छोरा भएकोले तिनी त्यस प्रतिज्ञाको हकदार थिए। एसावले कत्ति ठूलो उत्तराधिकार पाउन सक्थे! तर के तिनले त्यसको मोल गरे?

आफ्नो उत्तराधिकारलाई खतरामा नपार्नुहोस्

८, ९. (क) उत्तराधिकारको सम्बन्धमा एसावले कस्तो छनौट गरे? (ख) वर्षौंपछि एसावलाई आफूले गरेको छनौटप्रति कस्तो महसुस भयो र तिनले कस्तो प्रतिक्रिया देखाए?

एक दिनको कुरा हो, एसाव वनबाट फर्कंदा तिनले याकूबले “सुरूवा पकाइराखेको” देखे। एसावले भने: “मलाई त्यो रातो सुरूवा अलिकता खान देऊ। मलाई भोकले भाउन्न छुटेको छ।” याकूबले यस्तो जवाफ दिए: “पहिले मलाई तपाईंको ज्येष्ठ-अधिकार बेच्नुहोस्।” एसावले कस्तो छनौट गरे? अचम्मको कुरा, तिनले यसो भने: “मलाई त्यो ज्येष्ठ-अधिकारको के काम?” हो, एसावले जाबो एक कचौरा सुरूवाको लागि आफ्नो ज्येष्ठ-अधिकार बेचे! ज्येष्ठ-अधिकार बेचेको कुरा पक्कापक्की गर्न याकूबले यस्तो आग्रह गरे: “पहिले शपथ खाएर मलाई भन्नुहोस्।” सोचविचारै नगरी एसावले आफ्नो ज्येष्ठ-अधिकार बेचे। “त्यसपछि याकूबले एसावलाई  रोटी र सुरूवा दिए। अनि खानपीन गरेर एसाव आफ्नो बाटो लागे। यसरी एसावले आफ्नो ज्येष्ठ-अधिकारलाई लत्याए।”—उत्प. २५:२९-३४.

त्यसको वर्षौंपछि इसहाकलाई आफ्नो मर्ने दिन नजिकै छ जस्तो लाग्न थाल्यो। अनि एसावले बेचेको ज्येष्ठ-अधिकार याकूबले नै पाओस् भनेर रिबेकाले एउटा जुक्ति निकालिन्‌। ज्येष्ठ-अधिकार बेचेको वर्षौंपछि एसावलाई आफूले एकदमै मूर्ख छनौट गरेको महसुस भयो। अनि तिनले इसहाकसित यस्तो बिन्ती गरे: “बुबा, मलाई पनि आशिष्‌ दिनुहोस्। . . . के तपाईंले मेरो निम्ति एउटै आशिष्‌ पनि जगेरा राख्नुभएको छैन?” याकूबलाई आशिष्‌ दिइसकेकोले आफूले केही गर्न नसक्ने कुरा बताएपछि “एसाव डाँको छोडेर रोए।”—उत्प. २७:३०-३८.

१०. एसाव र याकूबलाई यहोवाले कुन दृष्टिले हेर्नुभयो र किन?

१० यस विवरणबाट एसावको मनोवृत्तिबारे के सिक्न सक्छौं? तिनले उत्तराधिकारको रूपमा पाउने भावी आशिष्‌भन्दा शारीरिक इच्छा महत्त्वपूर्ण भएको देखाए। एसावले आफ्नो ज्येष्ठ-अधिकारको मोल नगरेर परमेश्वरप्रति साँचो प्रेम नभएको देखाए। साथै आफ्नो छनौटले आफ्नो सन्तानमा पार्ने असरबारे पनि सोचेनन्‌। यसको विपरीत, याकूबले आफ्नो उत्तराधिकारको एकदमै मोल गरे। उदाहरणको लागि, उनले पत्नी छान्ने सम्बन्धमा आमाबाबुको निर्देशन पछयाए। (उत्प. २७:४६–२८:३) याकूबले धैर्य र त्याग चाहिने यस्तो छनौट गरेकोले यहोवाले उनलाई मसीहको पुर्खा हुने सुअवसर दिनुभयो। एसाव र याकूबलाई परमेश्वरले कुन दृष्टिले हेर्नुभयो? भविष्यवक्ता मलाकीमार्फत यहोवाले यसो भन्नुभयो: “मैले याकूबलाई नै प्रेम गरें। तर एसावलाई मैले अप्रिय जानें।”—मला. १:२, ३.

११. (क) एसावको उदाहरणबाट आजका ख्रीष्टियनहरूले कस्तो लाभ उठाउन सक्छन्‌? (ख) एसावले गरेको कामबारे बताउँदा पावलले किन अवैध यौनसम्बन्धबारे पनि उल्लेख गरे?

११ एसावको उदाहरणबाट के आजका ख्रीष्टियनहरूले पनि लाभ उठाउन सक्छन्‌? हो, सक्छन्‌। प्रेषित पावलले सँगी विश्वासीहरूलाई यस्तो चेतावनी दिए: “अवैध यौनसम्बन्ध राख्ने कोही नहोस्, न त एक छाक भोजनसित आफ्नो ज्येष्ठ-अधिकार साट्ने एसावजस्तो पवित्र कुराहरूको कदर नगर्ने कोही होस्।” (हिब्रू १२:१६) यस चेतावनीबाट आज हामी पनि पाठ सिक्न सक्छौं। शारीरिक इच्छाको वशमा परेर आफ्नो उत्तराधिकार नगुमाउन हामीले पवित्र कुराहरूको कदर गरिरहनै पर्छ। तर एसावले गरेको कामबारे बताउँदा पावलले किन अवैध यौनसम्बन्धबारे पनि उल्लेख गरे? किनभने एसावको जस्तो शारीरिक झुकाव राख्ने व्यक्तिले अवैध यौनसम्बन्धजस्तो अनैतिक इच्छा पूरा गर्न पवित्र  कुराहरूलाई लत्याउने सम्भावना प्रबल हुन्छ।

आफ्नो हृदयलाई अहिल्यै ठीक अवस्थामा राख्नुहोस्

१२. (क) सैतानले हामीलाई कसरी प्रलोभनमा पार्न खोज्छ? (ख) गलत काम गर्ने प्रलोभनमा पर्दा बाइबलका कस्ता उदाहरणले मदत गर्न सक्छन्‌?

१२ यहोवाको सेवक भएकोले हामी अवैध यौनसम्बन्धसम्म पुऱ्याउन सक्ने अवस्थाहरूदेखि अलग रहन्छौं। कसैले प्रलोभन देखायो भने पनि त्यसको प्रतिरोध गर्न प्रार्थना गर्छौं। (मत्ती ६:१३) यस दुष्ट संसारमा हामीले आफ्नो सत्यनिष्ठा कायम राख्न अथक प्रयास गरिरहेका छौं अनि सैतान पनि यहोवासितको हाम्रो सम्बन्ध कमजोर बनाउन हार नमानी लागिपरेको छ। (एफि. ६:१२) सैतान यस दुष्ट युगको ईश्वर हो। त्यसैले हामीलाई पापी इच्छाहरूको वशमा पार्न प्रलोभनहरू कसरी प्रयोग गर्ने भनेर त्यसलाई थाह छ। (१ कोरि. १०:८, १३) कल्पना गर्नुहोस्, तपाईं गलत तरिकामा आफ्नो इच्छा पूरा गर्ने प्रलोभनमा पर्नुभयो। तपाईं के गर्नुहुन्छ? एसावजस्तै तुरुन्तै आफ्नो इच्छा पूरा गर्न खोज्नुहुन्छ वा पोतीफरकी पत्नीले प्रलोभन देखाउँदा यूसुफ भागेजस्तै भाग्नुहुन्छ?उत्पत्ति ३९:१०-१२ पढ्नुहोस्।

१३. (क) आज थुप्रैले कसरी यूसुफको जस्तो कदम चालेका छन्‌? तर केहीले चाहिं कसरी एसावको जस्तो कदम चालेका छन्‌? (ख) एसावको जस्तो कदम नचाल्ने हो भने हामीले के गर्नै पर्छ?

१३ हाम्रा थुप्रै भाइबहिनी एसावजस्तो हुने कि यूसुफजस्तो हुने भनेर छनौट गर्नुपर्ने अवस्थामा परेका छन्‌। धेरैजसोले बुद्धिमानी कदम चालेर यहोवाको हृदयलाई आनन्दित तुल्याएका छन्‌। (हितो. २७:११) तर प्रलोभनमा पर्दा केही भाइबहिनीले चाहिं एसावजस्तो हुने छनौट गरेर आफ्नो उत्तराधिकारलाई धरापमा पारेका छन्‌। हरेक साल थुप्रैलाई न्यायिक सुधार वा बहिष्कार गरिनुको एउटा प्रमुख कारण अवैध यौनसम्बन्ध हो। भविष्यमा आइपर्ने जस्तोसुकै प्रलोभनको प्रतिरोध गर्न अहिल्यै आफ्नो हृदयलाई ठीक अवस्थामा राख्नु अत्यन्तै महत्त्वपूर्ण छ। (भज. ७८:८) प्रलोभनको प्रतिरोध गर्न र बुद्धिमानी छनौट गर्न हामीले चाल्न सक्ने दुइटा कदमबारे छलफल गरौं।

सोचविचार गर्नुहोस् र आफूलाई तयार पार्नुहोस्

ईश्वरीय बुद्धि खोजेर हामी आफूलाई प्रलोभनको प्रतिरोध गर्न तयार पार्छौं

१४. कस्ता प्रश्नहरूबारे सोचविचार गर्दा ‘जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर्न’ र ‘जे कुरा असल छ, त्यससित टाँसिरहन’ मदत पाउनेछौं?

१४ पहिलो कदम हो, आफ्नो कामको नतिजाबारे सोचविचार गर्नु। हामी आफ्नो उत्तराधिकारको कत्तिको मोल गर्छौं भन्ने कुरा उत्तराधिकारका स्रोत यहोवालाई कति माया गर्छौं, त्यसमा भर पर्छ। हामी कसैलाई माया गर्छौं भने उसको चित्त दुखाउन चाहँदैनौं। बरु उसलाई खुसी बनाउन सक्दो कोसिस गर्छौं। त्यसकारण शारीरिक इच्छा पूरा गर्दा आफूले र अरूले कस्तो नतिजा भोग्नुपर्नेछ भनेर विचार गर्नु बेस हो। हामीले आफैलाई यस्ता प्रश्नहरू सोध्नुपर्छ: ‘मेरो स्वार्थले यहोवासितको सम्बन्धमा कस्तो असर पार्छ? मेरो गलत कामले परिवारलाई कस्तो असर गर्छ? अनि मण्डलीका भाइबहिनीहरूलाई नि? अरूले ठेस खाने हुन्‌ कि?’ (फिलि. १:१०) आफैलाई यी प्रश्नहरू पनि सोध्नुपर्छ: ‘क्षणिक आनन्दको लागि ठूलो मोल चुकाउनु ठीक होला? के म गल्ती महसुस गरेपछि रोइकराइ गर्ने एसावजस्तै हुन चाहन्छु?’ (हिब्रू १२:१७) यस्ता प्रश्नहरूबारे सोचविचार गर्दा ‘जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर्न’ र ‘जे कुरा असल छ, त्यससित टाँसिरहन’ मदत पाउनेछौं। (रोमी १२:९) विशेषगरि यहोवाप्रतिको प्रेमले हामीलाई आफ्नो उत्तराधिकारको रक्षा गर्न उत्प्रेरित गर्नेछ।—भज. ७३:२८.

१५. यहोवासितको सम्बन्धलाई खतरामा पार्ने कुराहरूबाट जोगिन हामीलाई केले मदत गर्नेछ?

१५ दोस्रो कदम हो, प्रलोभनको प्रतिरोध गर्न आफूलाई तयार पार्नु। यहोवासितको सम्बन्धलाई  खतरामा पार्ने कुराहरूबाट हामीलाई जोगाउन उहाँले थुप्रै प्रबन्ध मिलाउनुभएको छ। ती प्रबन्धमा बाइबलको अध्ययन, सभा, क्षेत्र सेवा र प्रार्थना पर्छन्‌। (१ कोरि. १५:५८) जब-जब हामी आफ्नो मनको बह यहोवालाई पोखाउँछौं र क्षेत्र सेवामा जोसिलो भएर भाग लिन्छौं, हामीले प्रलोभनको प्रतिरोध गर्न आफूलाई तयार पारिरहेका हुन्छौं। (१ तिमोथी ६:१२, १९ पढ्नुहोस्) आफूलाई तयार पार्ने कुरा धेरै हदसम्म हामी आफैमा भर पर्छ। (गला. ६:७) यसबारे हितोपदेश अध्याय २ मा प्रकाश पारिएको छ।

‘त्यसलाई खोजिरहनुहोस्’

१६, १७. केले हामीलाई बुद्धिमानी छनौट गर्न मदत गर्नेछ?

१६ हितोपदेश अध्याय २ ले हामीलाई बुद्धि र सोच्ने क्षमता प्राप्त गर्न प्रोत्साहन दिन्छ। यस्तो क्षमताले सही र गलत छुट्टयाउन मदत दिन्छ। साथै आफ्ना इच्छाहरूलाई गलत तरिकामा पूरा गर्नुको सट्टा त्यसलाई वशमा राख्न मदत गर्छ। तर त्यसको लागि प्रयास गर्नै पर्छ। यस तथ्यलाई जोड दिंदै बाइबल यसो भन्छ: “हे मेरो छोरो, यदि तैंले मेरा वचन हृदयमा लिइस् र मेरा आज्ञा तेरो मनमा राखिस् भने, बुद्धिमा तेरो ध्यान र तेरो मन समझशक्तिमा लगाइस् भने, तैंले विवेक माग्छस् भने समझशक्तिलाई पुकार्। यदि तैंले त्यसलाई चाँदीझैं खोजिस् र गाडधनझैं त्यो खनिस् भने, तैंले परमप्रभुको भय बुझ्नेछस्, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। किनभने बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ, र ज्ञान र समझशक्ति उहाँबाट नै आउँछन्‌।”—हितो. २:१-६.

१७ यी पदहरूमा पाइने सुझाव पालन गऱ्यौं भने मात्र बुद्धिमानी छनौट गर्न सक्नेछौं। यहोवाको वचनलाई हाम्रो भित्री व्यक्तित्व परिवर्तन गर्न दियौं भने, परमेश्वरको निर्देशनको लागि निरन्तर प्रार्थना गऱ्यौं भने र परमेश्वरको ज्ञानलाई गाडधनझैं खोजिरह्यौं भने मात्र प्रलोभनहरूको प्रतिरोध गर्न सक्नेछौं।

१८. तपाईं के गरिरहन कटिबद्ध हुनुहुन्छ र किन?

१८ ज्ञान, विवेक, समझशक्ति र बुद्धि खोज्न अथक प्रयास गर्नेहरूलाई मात्र यहोवाले यी कुराहरू दिनुहुनेछ। यी कुराहरू जति धेरै खोज्छौं र प्रयोग गर्छौं, यहोवा परमेश्वरसित त्यति नै धेरै नजिक हुन सक्नेछौं। यसरी यहोवासित नजिक हुँदा प्रलोभनहरूको प्रतिरोध गर्न सक्नेछौं। यहोवासित नजिक भइरहँदा र उहाँको डर मानिरहँदा गलत काम गर्नदेखि जोगिनेछौं। (भज. २५:१४; याकू. ४:८) यहोवासितको मित्रता र ईश्वरीय बुद्धिले हामी सबैलाई उहाँको हृदय खुसी तुल्याउने र आफ्नो उत्तराधिकारको रक्षा गर्ने बुद्धिमानी छनौट गर्न उत्प्रेरित गरोस्।