सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको अनुशासनले आकार दिंदा त्यसलाई स्वीकार्नुहोस्

यहोवाको अनुशासनले आकार दिंदा त्यसलाई स्वीकार्नुहोस्

“तपाईंले आफ्नै सल्लाहले मलाई डोऱ्याउनुहुनेछ र त्यसपछि मलाई आफ्नो महिमामा लिनुहुनेछ।”—भज. ७३:२४.

१, २. (क) यहोवासित घनिष्ठ सम्बन्ध राख्न के-कस्ता कुरा चाहिन्छ? (ख) परमेश्वरको अनुशासनप्रति मानिसहरूले देखाएको प्रतिक्रिया जाँच्दा हामी कसरी लाभ उठाउन सक्छौं?

“परमेश्वरको नजिक जान मेरो निम्ति असल छ। . . . मैले परमप्रभु परमेश्वरलाई मेरो शरणस्थान बनाएको छु।” (भज. ७३:२८) यस पदमा भजनरचयिताले परमेश्वरमाथिको आफ्नो भरोसा जाहेर गरे। तिनी यस्तो निष्कर्षमा किन पुगे? दुष्टहरूको उन्नति देख्दा यी भजनरचयिताको मन रोयो। तिनले यसो भने: “निश्चय व्यर्थमा मैले आफ्नो हृदय शुद्ध गरेको छु, र निर्दोषतामा आफ्नो हात धोएँ।” (भज. ७३:२, ३, १३, २१) तर “परमेश्वरको पवित्र स्थानमा” पसेपछि तिनले आफ्नो सोचाइ बदल्न र परमेश्वरसित घनिष्ठ भइरहन सके। (भज. ७३:१६-१८) परमेश्वरको भय राख्ने भजनरचयिताले यस्तो पाठ सिके: यहोवासित घनिष्ठ सम्बन्ध राख्न उहाँका जनहरूमाझ हुनुपर्छ, सल्लाह स्वीकार्नुपर्छ र त्यसलाई लागू गर्नुपर्छ।—भज. ७३:२४.

हामी पनि साँचो र जीवित परमेश्वरसित घनिष्ठ सम्बन्ध राख्न चाहन्छौं। त्यसको लागि उहाँको सल्लाह वा अनुशासनले आकार दिंदा त्यसलाई स्वीकार्नुपर्छ। यसो गऱ्यौं भने हामी उहाँको प्यारो जन हुन सक्छौं। विगतमा परमेश्वरले व्यक्तिविशेष र राष्ट्रहरूलाई अनुशासन स्वीकार्ने मौका दिएर कृपा देखाउनुभयो। परमेश्वरले अनुशासन दिंदा तिनीहरूले देखाएको प्रतिक्रिया “यस युगको अन्तमा बाँचिरहेका हामीहरूकै चेतावनी” र “शिक्षाका लागि” बाइबलमा लिपिबद्ध गरिएका छन्‌। (रोमी १५:४; १ कोरि. १०:११) यी विवरण राम्ररी जाँच्दा यहोवाका गुणहरूबारे अझ धेरै बुझ्न सक्नेछौं। साथै यहोवाले आकार दिंदा त्यसबाट कसरी लाभ उठाउन सक्छौं भनेर पनि थाह पाउनेछौं।

 कुमालेले आफ्नो अधिकार कसरी प्रयोग गर्छ?

३. यशैया ६४:८ र यर्मिया १८:१-६ मा मानिसहरूमाथि यहोवाको अधिकारलाई कसरी वर्णन गरिएको छ? (शीर्षकसँगैको चित्र हेर्नुहोस्)

व्यक्तिविशेष र राष्ट्रहरूमाथि यहोवाको अधिकारलाई उदाहरणद्वारा बुझाउँदै यशैया ६४:८ यसो भन्छ: “हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटा मात्र हौं, र तपाईंचाहिं कुमाले हुनुहुन्छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं।” कुमालेसित माटोलाई आफूले चाहेअनुसारको आकार दिने अधिकार हुन्छ। माटोले कुमालेलाई केही भन्न सक्दैन। मानिस र परमेश्वरबीचको कुरा पनि त्यस्तै हो। कस्तो भाँडा बनाउने भनेर माटोले कुमालेलाई भन्न नसकेझैं हामीलाई कस्तो आकार दिने भनेर हामी परमेश्वरलाई भन्न सक्दैनौं।यर्मिया १८:१-६ पढ्नुहोस्।

४. के परमेश्वरले मनमानी तरिकामा आकार दिनुहुन्छ? व्याख्या गर्नुहोस्।

कुमालेले माटोलाई आकार दिएझैं यहोवाले प्राचीन इस्राएलीहरूलाई आकार दिनुभयो। तर मानव कुमाले र यहोवाबीच आकाश-जमिनको भिन्नता छ। कुमालेले माटोको डल्लाबाट आफूले चाहेअनुसारको भाँडो बनाउन सक्छ। त्यसोभए के परमेश्वरले कसैलाई राम्रो बनाएर अनि कसैलाई बिगारेर मनमानी तरिकामा आकार दिनुहुन्छ? परमेश्वरले त्यस्तो गर्नुहुन्न भनी बाइबल बताउँछ। यहोवाले मानिसहरूलाई एउटा अमूल्य उपहार दिनुभएको छ। त्यो हो, स्वतन्त्र इच्छा। परमेश्वरले यस उपहारको औचित्य नै नरहने गरी आफ्नो अधिकार प्रयोग गर्नुहुन्न। मानिस स्वयम्ले इच्छा देखाएमा मात्र सृष्टिकर्ता यहोवाले आकार दिनुहुन्छ।यर्मिया १८:७-१० पढ्नुहोस्।

५. यहोवाले आकार दिंदा कुनै मानिसले त्यसलाई इन्कार गर्छ भने उहाँ आफ्नो अधिकार कसरी प्रयोग गर्नुहुन्छ?

तर महान्‌ कुमालेले आकार दिंदा कुनै मानिसले अटेर गर्दै त्यसलाई इन्कार गर्छ भने नि? त्यतिबेला यहोवा आफ्नो अधिकार कसरी प्रयोग गर्नुहुन्छ? जुन उद्देश्यको लागि माटो तयार पारिएको हो, त्यसको लागि उपयुक्त नभएमा माटोलाई के गरिन्छ, विचार गर्नुहोस्। कुमालेले त्यस माटोबाट अर्कै किसिमको भाँडो बनाउँछ वा त्यसलाई नष्ट गर्छ। अक्सर कुमालेकै गल्तीले गर्दा यस्तो हुने गर्छ। तर महान्‌ कुमाले यहोवाको सम्बन्धमा भने कुरा फरक छ। (व्यव. ३२:४) यहोवाले आकार दिंदा कसैले त्यसलाई स्वीकार्दैन भने कमजोरी त्यही व्यक्तिको हो। आफूले आकार दिंदा मानिसहरूले कस्तो प्रतिक्रिया देखाउँछन्‌, त्यसकै आधारमा उहाँ आफ्नो अधिकार प्रयोग गर्नुहुन्छ। उहाँले आकार दिंदा त्यसलाई स्वीकार्नेहरू उपयोगी भाँडो बन्न सक्छन्‌। उदाहरणको लागि, अभिषिक्त ख्रीष्टियनहरू “कृपाका भाँडाहरू” हुन्‌, जसलाई “आदरणीय प्रयोगको लागि” आकार दिइएको छ। अर्कोतर्फ यहोवाको सल्लाह नस्वीकार्नेहरू “विनाशको लायक क्रोधका भाँडाहरू” बन्नेछन्‌।—रोमी ९:१९-२३.

६, ७. यहोवाको सल्लाहप्रति राजा दाऊद र राजा शाऊलले कस्तो भिन्नाभिन्नै प्रतिक्रिया देखाए?

 यहोवाले मानिसहरूलाई आकार दिने एउटा तरिका हो: सल्लाह वा अनुशासन दिएर। कसैलाई आकार दिंदा उहाँ आफ्नो अधिकार कसरी प्रयोग गर्नुहुन्छ भनी बुझ्न इस्राएलका प्रथम दुई राजा शाऊल र दाऊदको उदाहरण विचार गरौं। राजा दाऊदले बेतशेबासित अवैध यौनसम्बन्ध राख्दा यसले तिनलाई र अरूलाई नराम्रो असर गऱ्यो। दाऊद राजा भए तापनि यहोवाले तिनलाई कडा अनुशासन दिनुभयो। तिनलाई कडा सन्देश सुनाउन परमेश्वरले भविष्यवक्ता नातान पठाउनुभयो। (२ शमू. १२:१-१२) दाऊदले कस्तो प्रतिक्रिया देखाए? तिनी अत्यन्तै दुःखित भए र पश्‍चात्ताप गरे। त्यसैले तिनले परमेश्वरबाट कृपा पाए।२ शमूएल १२:१३ पढ्नुहोस्।

 राजा शाऊलले भने सल्लाह सुनेनन्‌। यहोवाले भविष्यवक्ता शमूएलमार्फत शाऊललाई यस्तो स्पष्ट सल्लाह दिनुभएको थियो: सम्पूर्ण अमालेकी र तिनीहरूका सबै वस्तुभाउ नाश गर्नू। तर शाऊलले त्यसो गरेनन्‌। उनले राजा  अगागलाई र असल-असल वस्तुभाउलाई जोगाइराखे। किन? एउटा कारण, उनले आफ्नो महिमा चाहेका हुन सक्छन्‌। (१ शमू. १५:१-३, ७-९, १२) महान्‌ कुमालेले आकार दिंदा शाऊलले नम्र भएर स्वीकार्नुपर्थ्यो। तर त्यसो गर्नुको साटो उनले आफ्नो कामको सफाइ दिन खोजे। वस्तुभाउलाई बलिदानको लागि प्रयोग गर्न सकिन्छ भन्दै आफ्नो कामलाई उचित ठहराउन खोजे। शमूएलको सल्लाहलाई हल्कासित लिएकोले यहोवाले शाऊललाई राजाको पदबाट हटाउनुभयो। त्यसपछि उनले साँचो परमेश्वरसितको सम्बन्ध सुधार्ने प्रयास कहिल्यै गरेनन्‌।१ शमूएल १५:१३-१५, २०-२३ पढ्नुहोस्।

शाऊलले सल्लाहलाई हल्कासित लिए र त्यसलाई इन्कार गरे। यहोवाले आकार दिंदा स्वीकारेनन्‌! (अनुच्छेद ७ हेर्नुहोस्)

दाऊद अत्यन्तै दुःखित भए र सल्लाह स्वीकारे। परमेश्वरले आकार दिंदा स्वीकारे। तपाईं नि? (अनुच्छेद ६ हेर्नुहोस्)

परमेश्वर पक्षपाती हुनुहुन्न

८. यहोवाले आकार दिंदा इस्राएल राष्ट्रले देखाएको प्रतिक्रियाबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

यहोवाले आकार दिंदा त्यसलाई स्वीकार्ने कि नस्वीकार्ने भनेर छनौट गर्ने मौका उहाँ व्यक्तिविशेषलाई मात्र होइन, राष्ट्रहरूलाई पनि दिनुहुन्छ। ईसापूर्व १५१३ मा इस्राएलीहरू मिश्रको दासत्वबाट मुक्त भए र परमेश्वरको विशेष जन बने। इस्राएल राष्ट्र परमेश्वरले चुन्नुभएको राष्ट्र थियो र त्यस राष्ट्रले महान्‌ कुमालेबाट आकार पाउने सुअवसर पाएको थियो। तर इस्राएलीहरूले यहोवाको नजरमा जे खराब छ, त्यही गरिरहे। यहाँसम्म कि छिमेकी राष्ट्रका देवताहरूलाई पूज्नसमेत थाले। तिनीहरूलाई चेतावनी दिन यहोवाले बारम्बार भविष्यवक्ताहरू पठाउनुभयो तर तिनीहरूले सुनेनन्‌। (यर्मि. ३५:१२-१५) अटेरी भएकोले तिनीहरूले यहोवाबाट कडा अनुशासन पाए। दस गोत्रे उत्तरी राज्य र दुई गोत्रे दक्षिणी राज्य विनाशको लायक भाँडो साबित भए। दस गोत्रे राज्यलाई अश्शूरीहरूले कब्जा गरे भने दुई गोत्रे राज्यलाई बेबिलोनीहरूले। हाम्रो लागि कत्ति  सशक्त पाठ! यहोवाले आकार दिंदा त्यसलाई स्वीकाऱ्यौं भने मात्र लाभ उठाउन सक्छौं।

९, १०. परमेश्वरले दिनुभएको चेतावनीप्रति निनवेबासीले कस्तो प्रतिक्रिया देखाए?

यहोवाले अश्शूरको राजधानी निनवेका मानिसहरूलाई पनि चेतावनी सुन्ने कि नसुन्ने भनेर छनौट गर्ने मौका दिनुभयो। उहाँले योनालाई यसो भन्नुभयो: “उठ्, त्यस ठूलो शहर निनवेमा जा, र त्यसको विरुद्धमा करा, किनकि त्यसको दुष्ट्याइँ मेरो नजरको सामने छ।” निनवे विनाशको योग्य थियो।—योना १:१, २; ३:१-४.

१० तर योनाले विनाशको सन्देश सुनाउँदा “निनवेका मानिसहरूले परमेश्वरमा विश्वास गरे र तिनीहरूले उपवास बस्न भनी प्रचार गरे। तिनीहरूका साना ठूला सबैले भाङ्रा लगाए।” “सिंहासनबाट उठेर [राजाले] आफ्नो राज-पोशाक फुकालेर भाङ्रा लगाए र खरानीमा बसे।” यहोवाले आकार दिंदा निनवेबासीले त्यसलाई स्वीकार्दै पश्‍चात्ताप गरे। फलस्वरूप यहोवाले निनवेलाई विनाश गर्नुभएन।—योना ३:५-१०.

११. निनवे र इस्राएल राष्ट्रसित यहोवाले गर्नुभएको व्यवहारबाट उहाँबारे के सिक्न सक्छौं?

११ इस्राएलीहरू परमेश्वरका विशेष जन भए तापनि उहाँले तिनीहरूलाई अनुशासन दिनुपऱ्यो। निनवेबासी भने परमेश्वरका विशेष जन थिएनन्‌। तैपनि तिनीहरूले न्यायको सन्देश स्वीकारेकोले यहोवाले तिनीहरूप्रति कृपा देखाउनुभयो। यहोवा परमेश्वर “कसैको पक्षपात गर्नुहुन्न” भनी यी दुई उदाहरणले छर्लङ्गै पार्छ।—व्यव. १०:१७.

यहोवा व्यावहारिक र लचकदार हुनुहुन्छ

१२, १३. (क) मानिसहरूले देखाउने प्रतिक्रियाको आधारमा यहोवा किन आफ्नो निर्णय बदल्नुहुन्छ? (ख) शाऊलको सन्दर्भमा अनि निनवेको सन्दर्भमा यहोवाले ‘आफ्नो इच्छा बदल्नुको’ अर्थ के थियो?

१२ यहोवाले हामीलाई आकार दिने तरिका विचार गर्दा उहाँ व्यावहारिक र लचकदार हुनुहुन्छ भनेर बुझ्न सक्छौं। मानिसहरूले देखाएको प्रतिक्रियाको आधारमा यहोवाले आफ्नो निर्णय बदल्नुभएको विवरणबाट यो कुरा स्पष्ट हुन्छ। ‘शाऊललाई राजा तुल्याएकोमा यहोवालाई पछुतो लाग्यो’ भनी बाइबल बताउँछ। (१ शमू. १५:११) निनवेका मानिसहरूले पश्‍चात्ताप गरेकोले र आफ्नो गलत मार्ग त्यागेकोले “तिनीहरूमाथि आपत्ति ल्याउने आफ्नो इच्छालाई परमेश्वरले बदल्नुभयो। उहाँले सो गर्नुभएन” भनी बाइबल बताउँछ।—योना ३:१०.

१३ यहोवाले नै शाऊललाई राजा बनाउनुभएको थियो। तर उहाँले तिनलाई राजाको पदबाट हटाउनुभयो। शाऊललाई चुन्नु आफ्नो गल्ती भएकोले यहोवाले यस्तो परिवर्तन गर्नुभएको थिएन। तिनी यहोवाप्रति अनाज्ञाकारी भएकोले उहाँले यसो गर्नुभयो। त्यसैले गल्ती शाऊलकै थियो। अनि निनवेबासीहरूले पश्‍चात्ताप गर्दा यहोवाले आफ्नो मन बदल्नुभयो। यहोवा व्यावहारिक, लचकदार, दयालु र कृपालु हुनुहुन्छ अनि गल्ती गर्ने मानिसले आफ्नो खराब मार्ग त्यागेमा उहाँ आफ्नो निर्णय बदल्न इच्छुक हुनुहुन्छ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी!

यहोवाको अनुशासनलाई इन्कार नगरौं

१४. (क) यहोवा आज हामीलाई कसरी आकार दिनुहुन्छ? (ख) यहोवाले आकार दिंदा हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ?

१४ यहोवा आज हामीलाई मुख्यतया आफ्नो वचन बाइबल र आफ्नो सङ्गठनद्वारा आकार दिनुहुन्छ। (२ तिमो. ३:१६, १७) यी माध्यमबाट पाउने हरेक सल्लाह वा अनुशासनलाई के हामीले स्वीकार्नुपर्दैन र? हाम्रो बप्तिस्मा भएको जतिसुकै वर्ष भएको होस् वा हामीले सेवाको जतिसुकै सुअवसर पाएका होऔं, यहोवाको सल्लाह हामीले सधैं स्वीकार्नुपर्छ। यसो गर्दा हामी आदरणीय प्रयोगको लागि बनाइएको भाँडो हुन सक्नेछौं।

१५, १६. (क) सुअवसर गुमाउनुपर्दा कस्तो महसुस हुन सक्छ? उदाहरण दिनुहोस्। (ख) अनुशासन पाउँदा पैदा हुने नकारात्मक भावनासित डट्न हामीलाई केले मदत गर्न सक्छ?

 १५ कुनै-कुनै अनुशासन निर्देशन वा सुधारको रूपमा आउन सक्छ। अनि कहिलेकाहीं भने गलत काम गरेकोले अनुशासनको आवश्यकता पर्न सक्छ। अनुशासन पाउँदा सुअवसरसमेत गुमाउनुपर्ने हुन सक्छ। पहिला एल्डरको रूपमा सेवा गरेका दिपेशको * उदाहरण विचार गर्नुहोस्। व्यापारिक मामिलामा सही निर्णय नगरेकोले तिनलाई न्यायिक सुधार गरियो। तिनी अबदेखि एल्डर होइनन्‌ भनेर मण्डलीमा घोषणा गरिएको रात तिनलाई कस्तो लाग्यो? तिनी भन्छन्‌: “मलाई असफलताको भावनाले पिरोल्यो। तीस वर्षको दौडान मैले थुप्रै जिम्मेवारी सम्हालें। नियमित अग्रगामी सेवा गरें, बेथेल सेवा गरें, सहायक सेवक र पछि एल्डरको रूपमा पनि नियुक्त भएँ। भर्खरै मात्र जिल्ला अधिवेशनमा पहिलो चोटि भाषण दिएको थिएँ। तर अकस्मात्‌ यी सबै कुरा गुमाएँ। लज्जित र अप्ठेरो महसुस गरें अनि यहोवाको सङ्गठनमा मेरो लागि कुनै ठाउँ छैन जस्तो लाग्यो।”

१६ दिपेशले आफ्नो गलत मार्ग त त्याग्नै पर्थ्यो। तर तिनमा जुन नकारात्मक भावना थियो, त्यससित डट्न तिनलाई केले मदत गऱ्यो? तिनी भन्छन्‌: “राम्रो आध्यात्मिक तालिका कायम राख्न म दृढ थिएँ। अनि भाइबहिनीको साथ र हाम्रा प्रकाशनहरूबाट पाएको प्रोत्साहनले पनि उत्तिकै मदत दियो। अगस्त १, २००९ को प्रहरीधरहरा-को ‘के तपाईं पहिले जस्तै फेरि जिम्मेवारी बहन गर्न सक्नुहुन्छ?’ भन्ने लेख मेरो प्रार्थनाको जवाफस्वरूप पठाइएको पत्रजस्तै थियो। मलाई असाध्यै मन परेको सल्लाह यो थियो, ‘अहिले तपाईंको काँधमा थप जिम्मेवारीहरू नहुँदा आध्यात्मिक तवरमा बलियो हुन बढी जोड गर्नुहोस्।’” आफूले पाएको अनुशासनबाट दिपेशले कस्तो लाभ उठाएका छन्‌? तिनी भन्छन्‌: “यहोवाले मलाई सहायक सेवकको रूपमा सेवा गर्ने सुअवसर दिएर फेरि आशिष्‌ दिनुभएको छ।”

१७. बहिष्कारको प्रबन्धले पाप गर्ने व्यक्तिलाई पश्‍चात्ताप गर्न कसरी मदत गर्छ? उदाहरण दिनुहोस्।

१७ यहोवाले अनुशासन दिने अर्को तरिका हो: बहिष्कारको प्रबन्ध। यसले मण्डलीलाई हानिकारक प्रभावबाट जोगाउँछ र पाप गर्ने व्यक्तिलाई पश्‍चात्ताप गर्ने मौका दिन्छ। (१ कोरि. ५:६, ७, ११) रोहन बहिष्कार भएको लगभग १६ वर्ष भएको थियो। यस समयावधिमा तिनका आमाबाबु तथा दाजुभाइले बाइबलको निर्देशन दृढ अनि वफादार भई पछयाए। उनीहरूले तिनीसित कुनै सङ्गत गरेनन्‌ र तिनलाई अभिवादनसमेत गरेनन्‌। रोहन पुनर्बहाली भएको केही वर्ष बितिसक्यो र अहिले तिनले आध्यात्मिक उन्नति गरिरहेका छन्‌। यति लामो समयपछि यहोवा र उहाँका जनहरूकहाँ फर्कन केले उत्प्रेरित गऱ्यो भनेर सोध्दा आफ्नो परिवारले लिएको अडानले मदत गऱ्यो भनी तिनले बताए। तिनी भन्छन्‌: “परिवारले मसित अलिकति मात्र समय बिताएको भए वा मेरो हालखबर मात्र बुझेको भए मलाई परिवारको न्यास्रो लाग्ने थिएन। अनि सायद ममा यहोवा र उहाँका जनहरूकहाँ फर्कने इच्छा पलाउने थिएन।”

१८. महान्‌ कुमालेको हातमा हामी कस्तो खालको माटो साबित हुनुपर्छ?

१८ हामीलाई त्यस्तै खालको अनुशासन त नचाहिएला। तर महान्‌ कुमालेको हातमा हामी कस्तो खालको माटो साबित हुनेछौं? अनुशासन पाउँदा हामी कस्तो प्रतिक्रिया देखाउनेछौं? हामी दाऊदजस्तो हुनेछौं वा शाऊलजस्तो? महान्‌ कुमाले हाम्रो बुबा हुनुहुन्छ। यो कुरा कहिल्यै नबिर्सनुहोस्, “जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ, तिनीहरूलाई नै उहाँले हप्काउनुहुन्छ, र आफ्ना प्यारो छोरालाई उहाँले दण्ड दिनुहुन्छ।” त्यसकारण ‘यहोवाको अनुशासनलाई अवहेलना नगर्नुहोस् अथवा उहाँको ताडनादेखि चित्त नदुखाउनुहोस्।’—हितो. ३:११, १२.

^ अनु. 15 नामहरू परिवर्तन गरिएका छन्‌।