सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्‌?”

“हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्‌?”

“तपाईंको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?”—मत्ती २४:३.

१. प्रेषितहरूजस्तै हामी के थाह पाउन उत्सुक छौं?

पृथ्वीमा येशूको सेवाको काम सिद्धिनै लागेको थियो अनि उहाँका चेलाहरू भविष्यबारे थाह पाउन उत्सुक थिए। त्यसैले उहाँ मारिनुभन्दा केही दिनअघि चार जना चेलाले उहाँलाई यस्तो प्रश्न सोधे: “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्‌ अनि तपाईंको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?” (मत्ती २४:३; मर्कू. १३:३) त्यस प्रश्नको जवाफमा येशूले विभिन्न घटना समावेश भएको भविष्यवाणी गर्नुभयो, जुन मत्ती अध्याय २४ र २५ मा उल्लेख गरिएको छ। उहाँले बताउनुभएका कुराहरू हाम्रो लागि पनि अर्थपूर्ण छन्‌ किनकि हामी पनि भविष्यबारे थाह पाउन उत्सुक छौं।

२. (क) लामो समयदेखि हामीले केबारे अझ स्पष्ट समझ हासिल गर्न प्रयास गरेका छौं? (ख) हामी कुन तीनवटा प्रश्न विचार गर्नेछौं?

वर्षौंदेखि यहोवाका सेवकहरूले अन्तको दिनबारे येशूले गर्नुभएको भविष्यवाणी प्रार्थनापूर्वक अध्ययन गरेका छन्‌। येशूका शब्दहरू कहिले पूरा हुन्छ भन्ने सन्दर्भमा अझ स्पष्ट समझ हासिल गर्न प्रयास गरेका छन्‌। हामीले अझ स्पष्ट समझ हासिल गरेका छौं भन्ने कुराको उदाहरणस्वरूप तीनवटा प्रश्न विचार गरौं। “महासङ्कष्ट” कहिले सुरु हुन्छ? येशूले मानिसहरूलाई “भेडा” र “बाख्रा”-को रूपमा कहिले इन्साफ गर्नुहुन्छ? येशू कहिले ‘आउनुहुन्छ’ वा ‘फर्कनुहुन्छ?’—मत्ती २४:२१; २५:३१-३३.

महासङ्कष्ट कहिले सुरु हुन्छ?

३. विगतमा महासङ्कष्टबारे हाम्रो बुझाइ कस्तो थियो?

विगतमा महासङ्कष्टबारे हाम्रो बुझाइ यस्तो थियो: प्रथम विश्वयुद्ध हुनेबित्तिकै सन्‌ १९१४ मा महासङ्कष्ट सुरु भयो; शेष अभिषिक्त जनहरूले सारा राष्ट्रलाई सुसमाचार प्रचार गर्ने मौका पाऊन्‌ भनेर यहोवाले ‘ती दिन घटाउनुभयो’ अर्थात्‌ सन्‌ १९१८ मा विश्वयुद्ध रोक्नुभयो। (मत्ती २४:२१, २२) प्रचारकार्य पूरा भएपछि सैतानको शासन विनाश हुनेछ भनेर सोचेका  थियौं। तसर्थ महासङ्कष्टको तीनवटा चरण हुनेछ भन्ने सोचाइ राखेका थियौं: महासङ्कष्टको सुरुवात (१९१४-१९१८), महासङ्कष्टमाथि हस्तक्षेप (१९१८ देखि) र आरमागेडोनमा यसको समापन।

४. अन्तको दिनबारे येशूले गर्नुभएको भविष्यवाणीबारे हामीले के कुरा बुझ्यौं?

तर अन्तको दिनबारे येशूले गर्नुभएको भविष्यवाणीलाई थप अध्ययन गरेपछि यसको दुईवटा पूर्ति छ भन्ने कुरा बुझ्यौं। (मत्ती २४:४-२२) पहिलो पूर्ति प्रथम शताब्दीमा यहूदियामा भयो अनि दोस्रो पूर्ति हाम्रो समयमा विश्वव्यापी रूपमा हुनेछ। यो कुरा प्रस्ट भएकोले अन्तको दिनबारे गरिएको भविष्यवाणीका अरू भागबारे हाम्रो बुझाइमा छाँटकाँट गर्नुपऱ्यो। *

५. (क) सन्‌ १९१४ मा कस्तो कठिन समय सुरु भयो? (ख) त्यो समय प्रथम शताब्दीको कुन समयावधिसित मिल्दोजुल्दो छ?

महासङ्कष्टको पहिलो चरण सन्‌ १९१४ मा सुरु भएन भनेर पनि हामीले बुझ्यौं। किन यसो भन्न सकिन्छ? किनकि बाइबल भविष्यवाणीअनुसार महासङ्कष्टको सुरुवात राष्ट्रहरूबीच युद्ध भएपछि होइन, झूटो धर्ममाथि आक्रमण हुँदा हुनेछ। त्यसैले सन्‌ १९१४ मा सुरु भएका घटनाहरू महासङ्कष्टको सुरुवात होइन, “प्रसववेदनाको सुरुवात” हो। (मत्ती २४:८) ती घटनाहरू इस्वी संवत्‌ ३३ देखि इस्वी संवत्‌ ६६ सम्म यरूशलेम र यहूदियामा भएका घटनाहरूसँग मिल्दाजुल्दा छन्‌।

६. महासङ्कष्ट सुरु भएको सङ्केत के हुनेछ?

 महासङ्कष्ट सुरु भएको सङ्केत के हुनेछ? येशूले यस्तो भविष्यवाणी गर्नुभयो: “तिमीहरूले जब उजाड पार्ने घृणित कुरा, जसबारे दानियल भविष्यवक्ताले भनेका थिए, पवित्र स्थानमा त्यो खडा भएको देखौला, (पढ्नेले समझ चलाओस्,) तब यहूदियामा हुनेजति डाँडाहरूतिर भाग्न थालून्‌।” (मत्ती २४:१५, १६) इस्वी संवत्‌ ६६ मा रोमी सेनाले (“घृणित कुरा”) यरूशलेम र यसको मन्दिरमा (यहूदीहरूको नजरमा पवित्र स्थान) आक्रमण गर्दा ‘पवित्र स्थानमा त्यो खडा हुनेछ’ भन्ने भविष्यवाणीको पहिलो पूर्ति भयो।  संयुक्त राष्ट्र सङ्घले (वर्तमान समयको “घृणित कुरा”) चर्चजगत्‌ (ख्रीष्टियन भनाउँदाहरूको नजरमा पवित्र) र महान्‌ बेबिलोनको बाँकी भागलाई आक्रमण गर्दा त्यस भविष्यवाणीको दोस्रो र विस्तृत पूर्ति हुनेछ। त्यस आक्रमणबारे प्रकाश १७:१६-१८ मा व्याख्या गरिएको छ। त्यो नै महासङ्कष्टको सुरुवात हुनेछ।

७. (क) प्रथम शताब्दीमा ख्रीष्टियनहरू कसरी ‘बचे?’ (ख) भविष्यमा के हुने आशा गर्न सक्छौं?

 येशूले यसो पनि भन्नुभयो: “ती दिन घटाइनेछन्‌।” इस्वी संवत्‌ ६६ मा रोमी सेनाले यरूशलेममाथिको आक्रमण ‘घटाउँदा’ अर्थात्‌ रोक्दा यस भविष्यवाणीको पहिलो पूर्ति भयो। त्यसपछि यरूशलेम र यहूदाका अभिषिक्त ख्रीष्टियनहरू त्यहाँबाट भागे जसले गर्दा तिनीहरू ‘बचे।’ (मत्ती २४:२२ पढ्नुहोस्; मला. ३:१७) त्यसोभए आउनै लागेको महासङ्कष्टको दौडान के हुने आशा गर्न सक्छौं? संयुक्त राष्ट्र सङ्घले झूटो धर्ममाथि आक्रमण गर्दा साँचो धर्मलाई झूटो धर्मसँगै नाश हुन नदिन यहोवाले त्यस आक्रमणलाई ‘घटाउनुहुनेछ’ अर्थात्‌ रोक्नुहुनेछ। यसप्रकार परमेश्वरका जनहरू बच्नेछन्‌।

८. (क) महासङ्कष्टको पहिलो चरण सिद्धिएपछि कस्ता घटनाहरू हुनेछन्‌? (ख) कुन समयमा १,४४,००० को अन्तिम सदस्यले स्वर्गीय इनाम पाउनेछन्‌ जस्तो देखिन्छ? (नोट हेर्नुहोस्)

  महासङ्कष्टको पहिलो चरण सिद्धिएपछि के हुनेछ? येशूका शब्दहरूले महासङ्कष्टको पहिलो चरण र आरमागेडोनबीच केही समय बित्नेछ भन्ने छनक दिन्छ। त्यतिखेर कस्ता घटनाहरू हुनेछन्‌? यसको जवाफ इजकिएल ३८:१४-१६ र मत्ती २४:२९-३१ ले दिन्छ। (पढ्नुहोस्) * त्यसपछि हामीले महासङ्कष्टको अन्तिम चरण अर्थात्‌ आरमागेडोनको युद्ध देख्नेछौं जसलाई इस्वी संवत्‌ ७० मा भएको यरूशलेमको विनाशसित तुलना गर्न सकिन्छ। (मला. ४:१) आरमागेडोनको युद्ध महासङ्कष्टको अन्तिम चरण हो। यो घटना ‘संसारको सुरुवातदेखि अहिलेसम्म नभएकोले’ बेजोड हुनेछ। (मत्ती २४:२१) तत्पश्‍चात्‌ ख्रीष्टको हजार वर्षीय शासन सुरु हुनेछ।

९. महासङ्कष्टबारे येशूले गर्नुभएको भविष्यवाणीले यहोवाका जनहरूलाई के कुरामा विश्वस्त पार्छ?

 महासङ्कष्टबारे गरिएको यस भविष्यवाणीले हामीलाई बलियो बनाउँछ। कसरी? महासङ्कष्टको दौडान हामीले जस्तोसुकै कठिन परिस्थितिको सामना गर्नुपरे तापनि यहोवाका जनहरूले समूहको रूपमा महासङ्कष्ट पार गर्नेछन्‌ भन्ने कुरामा यस भविष्यवाणीले हामीलाई विश्वस्त पार्छ। (प्रका. ७:९, १४) सबैभन्दा महत्त्वपूर्ण कुरा, आरमागेडोनमा यहोवाले आफ्नो सार्वभौमिकता उच्च पार्नुहुनेछ र आफ्नो नाम पवित्र पार्नुहुनेछ।—भज. ८३:१८; इज. ३८:२३.

येशूले मानिसहरूलाई “भेडा” र “बाख्रा”-को रूपमा कहिले इन्साफ गर्नुहुन्छ?

१०. मानिसहरूलाई भेडा र बाख्राको रूपमा इन्साफ गर्ने समयावधिबारे विगतमा हाम्रो बुझाइ कस्तो थियो?

१० येशूको भविष्यवाणीको अर्को भाग भेडा र बाख्राको दृष्टान्त थियो। उहाँले मानिसहरूलाई भेडा र बाख्राको रूपमा कहिले इन्साफ गर्नुहुन्छ? (मत्ती २५:३१-४६) इन्साफ गर्ने काम सन्‌ १९१४ देखि सुरु भएर अन्तको दिन नसकुन्जेल चलिरहनेछ भन्ने हाम्रो बुझाइ थियो। राज्य सन्देश सुन्न इन्कार गर्नेहरू र महासङ्कष्ट सुरु हुनुअघि नै मरेकाहरू बाख्राखाले मानिसहरू हुन्‌ अनि तिनीहरूको लागि पुनर्जीवनको कुनै आशा छैन भन्ने निष्कर्षमा पुगेका थियौं।

११. मानिसहरूलाई भेडा र बाख्राको रूपमा इन्साफ गर्ने काम सन्‌ १९१४ मा सुरु भएको हुन सक्दैन, किन?

११ सन्‌ १९९५ मा प्रहरीधरहरा-मा मत्ती २५:३१ लाई पुनः केलाएर हेरियो। उक्त पदमा यस्तो लेखिएको छ: “मानिसको छोरा आफ्नो गौरवसहित सबै स्वर्गदूत लिएर आउँछ, तब ऊ आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ।” उक्त प्रहरीधरहरा-मा बताइएअनुसार येशू सन्‌ १९१४ मा परमेश्वरको राज्यको राजा हुनुभयो तर उहाँ “सबै जातिहरू”-को न्यायकर्ताको रूपमा “आफ्नो गौरवशाली सिंहासनमा” भने बस्नुभएन। (मत्ती २५:३२; तुलना गर्नुहोस् दानियल ७:१३) तर भेडा र बाख्राको दृष्टान्तमा येशूलाई मुख्यतया न्यायकर्ताको रूपमा चिनाइएको छ। (मत्ती २५:३१-३४, ४१, ४६ पढ्नुहोस्) येशूले सन्‌ १९१४ मा सबै जातिको न्यायकर्ताको रूपमा काम सुरु गरिसक्नुभएको थिएन। त्यसकारण मानिसहरूलाई भेडा र बाख्राको रूपमा इन्साफ गर्ने काम सन्‌ १९१४ मा सुरु भएको हुन सक्दैन। * त्यसोभए यो काम कहिले सुरु हुनेछ?

१२. (क) येशूले पहिलो चोटि सबै जातिको इन्साफ कहिले गर्नुहुनेछ? (ख) मत्ती २४:३०, ३१ अनि मत्ती २५:३१-३३, ४६ मा के-कस्ता घटनाबारे उल्लेख गरिएको छ?

  १२ झूटो धर्मको विनाशपछि येशूले पहिलो चोटि सबै जातिको इन्साफ गर्नुहुनेछ भनेर उहाँले अन्तको दिनबारे गर्नुभएको भविष्यवाणीबाट स्पष्ट हुन्छ।  अनुच्छेद ८ मा उल्लेख गरिएझैं त्यतिबेला हुने केही घटना मत्ती २४:३०, ३१ मा रेकर्ड गरिएको छ। यी पदहरूमा उल्लिखित घटना भेडा र बाख्राको दृष्टान्तसित मिल्दोजुल्दो छ भनेर याद गर्नुहोस्। जस्तै: मानिसको छोरा गौरवसहित स्वर्गदूतहरूसित आउनेछन्‌; सबै कुल र जातिलाई भेला गरिनेछ; भेडाखाले मानिसको रूपमा इन्साफ गरिएकाहरूले ‘आफ्नो शिर उठाउनेछन्‌’ किनकि तिनीहरूले “अनन्त जीवन पाउनेछन्‌।” * बाख्राखाले मानिसको रूपमा इन्साफ गरिएकाहरूले “शोक गर्दै आफ्नो छाती पिट्नेछन्‌” किनकि उनीहरू “सधैंका लागि नाश हुनेछन्‌।”—मत्ती २५:३१-३३, ४६.

१३. (क) येशूले मानिसहरूलाई भेडा र बाख्राको रूपमा कहिले इन्साफ गर्नुहुनेछ? (ख) यस बुझाइले क्षेत्र सेवाप्रति हाम्रो दृष्टिकोणमा कस्तो असर गर्छ?

 १३ त्यसोभए हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? महासङ्कष्टको दौडान येशूले सबै जातिका मानिसहरूलाई भेडा वा बाख्राको रूपमा इन्साफ गर्नुहुनेछ। त्यसपछि महासङ्कष्टको अन्तिम चरण अर्थात्‌ आरमागेडोनमा बाख्राखाले मानिसहरू सधैंका लागि “नाश हुनेछन्‌।” यस बुझाइले क्षेत्र सेवाप्रति हाम्रो दृष्टिकोणमा कस्तो असर गर्छ? यसले प्रचारकार्य कत्तिको महत्त्वपूर्ण छ भनेर बुझ्न मदत गर्छ। महासङ्कष्ट सुरु  नहोउन्जेल मानिसहरूसित आफ्नो सोचाइ परिवर्तन गर्ने अनि “जीवनतर्फ लैजाने” बाटोमा हिंड्ने मौका छ। (मत्ती ७:१३, १४) अहिले केही मानिसले भेडाखाले वा बाख्राखाले स्वभाव देखाउलान्‌। तर हामीले यो कुरा बिर्सनुहुँदैन, को भेडाखाले मानिस हो अनि को बाख्राखाले, येशूले महासङ्कष्टको दौडान मात्र इन्साफ गर्नुहुनेछ। त्यसकारण हामीले सकेसम्म धेरै मानिसलाई राज्य सन्देश सुन्न र स्वीकार्न मदत गरिरहनुपर्छ।

महासङ्कष्ट सुरु नहोउन्जेल मानिसहरूसित आफ्नो सोचाइ परिवर्तन गर्ने मौका छ ( अनुच्छेद १३ हेर्नुहोस्)

येशू कहिले आउनुहुन्छ वा फर्कनुहुन्छ?

१४, १५. येशू भविष्यमा न्यायकर्ताको रूपमा आउने कुरासित सम्बन्धित चारवटा पद कुन-कुन हुन्‌?

 १४ येशूको भविष्यवाणीलाई थप विश्लेषण गर्दा अन्य महत्त्वपूर्ण घटनाहरूको समयावधिबारे हाम्रो बुझाइमा पनि छाँटकाँट गर्नुपर्छ कि? भविष्यवाणी आफैले यसको जवाफ दिन्छ। कसरी? अब विचार गरौं।

१५ मत्ती २४:२९–२५:४६ मा येशू मुख्यतया अन्तको दिनमा र महासङ्कष्टको दौडान हुने घटनाबारे उल्लेख गर्नुहुन्छ। उहाँ आफू ‘आउने’ वा ‘फर्कने’ कुरा आठ पटकसम्म उल्लेख गर्नुहुन्छ। महासङ्कष्टबारे उहाँ यसो भन्नुहुन्छ: ‘तिनीहरूले मानिसको छोरालाई बादलहरूमा आउँदै गरेको देख्नेछन्‌।’ “तिमीहरूका प्रभु कुन दिन आउँदै हुनुहुन्छ, तिमीहरूलाई थाह छैन।” “तिमीहरूले नचिताएको समयमा मानिसको छोरा आउँदैछ।” साथै भेडा र बाख्राको दृष्टान्तमा उहाँ यसो भन्नुहुन्छ: ‘मानिसको छोरा आफ्नो गौरवसहित आउँछ।’ (मत्ती २४:३०, ४२, ४४; २५:३१) यी चारवटा पद येशू भविष्यमा न्यायकर्ताको रूपमा आउने कुरासित सम्बन्धित छन्‌। बाँकी चारवटा पद कुन-कुन हुन्‌?

१६. येशू आउने वा फर्कने समयबारे अरू कुन शास्त्रपदहरूमा बताइएको छ?

१६ विश्वासी र बुद्धिमान्‌ दासबारे येशू यसो भन्नुहुन्छ: “आनन्दित हो त्यो दास, जसलाई उसको मालिकले फर्केर आउँदा त्यसै गरिरहेको भेट्टाउँछन्‌!” कन्याहरूको दृष्टान्तमा येशू यसो भन्नुहुन्छ: “तिनीहरू पसल जाँदै गर्दा दुलहा आइपुगे।” तोडाको दृष्टान्तमा येशू भन्नुहुन्छ: “धेरै समयपछि ती दासहरूको मालिक फर्क्यो।” सोही दृष्टान्तमा त्यस मालिकले यसो भन्यो: “म फर्कंदा . . . त्यो फिर्ता पाउने थिएँ।” (मत्ती २४:४६; २५:१०, १९, २७) यी पदहरूमा बताइएअनुसार येशू कहिले आउनुहुन्छ वा फर्कनुहुन्छ?

१७. मत्ती २४:४६ मा मालिक ‘आउने’ भनिएको समय कुन थियो भनेर हाम्रा प्रकाशनहरूमा बताइएको थियो?

 १७ विगतका हाम्रा प्रकाशनहरूमा यी पछिल्ला चारवटा पद सन्‌ १९१८ मा येशू आउनुभएको कुरासित सम्बन्धित छन्‌ भनेर बताइएको थियो। उदाहरणको लागि, येशूले “विश्वासी र बुद्धिमान्‌ दास”-बारे बताउनुभएको कुरा विचार गर्नुहोस्। (मत्ती २४:४५-४७ पढ्नुहोस्) पद ४६ मा मालिक ‘आउने’ भनिएको समय सन्‌ १९१८ मा येशू अभिषिक्त ख्रीष्टियनहरूको आध्यात्मिक अवस्था जाँच्न आउनुभएको समय थियो र उहाँले सन्‌ १९१९ मा दासलाई मालिकको सबै सम्पत्तिमाथि नियुक्त गर्नुभयो भनेर बुझेका थियौं। (मला. ३:१) तर येशूको भविष्यवाणीलाई अझ केलाएर हेर्दा उहाँ आउनुहुने समयबारे हाम्रो बुझाइमा केही छाँटकाँट गर्नुपर्ने आवश्यकता देखिन्छ। किन?

१८. येशूको भविष्यवाणीको सम्पूर्ण पक्ष केलाउँदा उहाँ आउने समयबारे हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं?

 १८ मत्ती २४:४६ भन्दा अघिका पदहरूमा ‘आउने’ भनी उल्लेख गरिएका सबै अभिव्यक्तिले महासङ्कष्टको दौडान येशू न्याय घोषणा र कार्यान्वयन गर्न आउनुहुने समयलाई बुझाउँछ। (मत्ती २४:३०, ४२, ४४) साथै  अनुच्छेद १२ मा छलफल गरेझैं मत्ती २५:३१ ले पनि येशू भविष्यमा न्याय गर्न आउनुहुने समयलाई नै बुझाउँछ। त्यसैले मत्ती २४:४६, ४७ मा उल्लेख गरिएझैं आफ्ना सबै सम्पत्तिमाथि दासलाई नियुक्त गर्न येशू आउनुहुने समयले पनि उहाँ महासङ्कष्टको दौडान आउनुहुने कुरालाई नै सङ्केत गर्छ भन्ने निष्कर्षमा पुग्नु तर्कसङ्गत छ। हो, येशूको भविष्यवाणीको सम्पूर्ण पक्ष केलाउँदा उहाँ आउने समयबारे छलफल गरिएका यी आठैवटा पदले उहाँ महासङ्कष्टको दौडान न्याय गर्न आउनुहुने समयलाई सङ्केत गर्छ भनेर बुझ्न सक्छौं।

१९. हामीले कस्ता छाँटकाँटबारे छलफल गऱ्यौं र यसपछिका लेखहरूमा कस्ता प्रश्नहरूबारे छलफल गरिनेछ?

१९ अहिलेसम्म हामीले के सिक्यौं? यस लेखको सुरुमा हामीले समयसित सम्बन्धित तीनवटा प्रश्न उठाएका थियौं। पहिलो, महासङ्कष्ट सन्‌ १९१४ मा सुरु भएन तर संयुक्त राष्ट्र संघले महान्‌ बेबिलोनलाई आक्रमण गर्दा सुरु हुनेछ भनेर छलफल गऱ्यौं। दोस्रो, मानिसहरूलाई भेडा र बाख्राको रूपमा इन्साफ गर्ने काम येशूले सन्‌ १९१४ मा सुरु गर्नुभएन तर महासङ्कष्टको दौडान गर्नुहुनेछ भनेर किन भन्न सक्छौं, त्यो पनि बुझ्यौं। तेस्रो, विश्वासी दासलाई आफ्ना सबै सम्पत्तिमाथि नियुक्त गर्न येशू सन्‌ १९१९ मा आउनुभएको होइन तर महासङ्कष्टको दौडान आउनुहुनेछ भन्न सक्नुको कारण पनि जाँच्यौं। त्यसकारण समयसित सम्बन्धित तीनवटै प्रश्नले भविष्यको एउटै समयावधिलाई बुझाउँछ अर्थात्‌ महासङ्कष्टलाई। के यस छाँटकाँटले विश्वासी दासबारे हाम्रो बुझाइमा केही फरक पार्छ? साथै अन्तको समयमा पूरा भइरहेका येशूका अन्य दृष्टान्तसम्बन्धी हाम्रो बुझाइमा केही फरक पार्छ? यसपछिका लेखहरूमा यी महत्त्वपूर्ण प्रश्नहरूबारे छलफल गरिनेछ।

 

^ अनु. 4 अनुच्छेद ४: थप जानकारीको लागि फेब्रुअरी १, १९९४ को प्रहरीधरहरा, पृष्ठ १८-३१मे १, १९९९ को प्रहरीधरहरा, पृष्ठ ८-२० हेर्नुहोस्।

^ अनु. 8 अनुच्छेद ८: यी पदहरूमा उल्लेख गरिएको एउटा घटना ‘चुनिएका जनहरूलाई जम्मा गर्नु’ हो। (मत्ती २४:३१) तसर्थ महासङ्कष्टको पहिलो चरणपछि पृथ्वीमा बाँकी रहेका सबै अभिषिक्त जनलाई आरमागेडोनको युद्ध सुरु हुनुअघि नै स्वर्ग लगिनेछ जस्तो देखिन्छ। यो जानकारी अगस्त १५, १९९० को प्रहरीधरहरा (अङ्ग्रेजी), पृष्ठ ३० को “पाठकहरूको प्रश्न”-मा दिइएको भन्दा भिन्नै छ।

^ अनु. 11 अनुच्छेद ११: अक्टोबर १५, १९९५ को प्रहरीधरहरा, पृष्ठ १८-२८ हेर्नुहोस्।

^ अनु. 12 अनुच्छेद १२: यस्तै विवरण लूका २१:२८ मा हेर्नुहोस्।