सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले ‘दिनहुँ मेरो बोझ उठाउनुहुन्छ’

यहोवाले ‘दिनहुँ मेरो बोझ उठाउनुहुन्छ’

मेरो स्वास्थ्य एकदमै नाजुक छ। कहिले के हुन्छ, केही ठेगान छैन। तैपनि स्वर्गमा बस्नुहुने मेरो मायालु बुबाले मलाई सधैं सम्हाल्नुभएको छ। खुसीको कुरा, २० वर्षभन्दा धेरै भयो, अग्रगामीको रूपमा सेवा गरेर मैले आनन्दित जीवन बिताइरहेकी छु।

मेरो जन्म सन्‌ १९५६ मा भएको थियो। गर्भमा छँदा मेरो ढाडको हड्डी राम्ररी विकास नभएकोले (मेरुदण्डको स्नायु ट्युब राम्ररी बन्द नभएकोले) जन्मँदाखेरि नै मलाई स्पाइना बिफिडा भन्ने रोग लागिसकेको थियो। यस रोगले गर्दा म राम्ररी हिंड्न पनि सक्दिनँ अनि अरू थुप्रै समस्याहरू पनि देखा परेका छन्‌।

म जन्मनुभन्दा केही समयअघिदेखि मिसनरी सेवामा लाग्नुभएका एक दम्पतीले मेरो बुबाआमासित बाइबल अध्ययन सुरु गर्नुभयो। म सानो छँदा मेरो जन्मस्थल नामिबियाको उसकोसमा केही प्रकाशकहरू मात्र थिए। त्यसैले मण्डलीमा छलफल गरिने विषय हामी परिवारको रूपमा छलफल गर्थ्यौं। सात वर्षकी हुँदा मलाई युरोस्टोमी अप्रेसन गरियो। पिसाब फेर्न समस्या भएकोले यस्तो अप्रेसन गर्नुपऱ्यो। मेरो पेटमा प्वाल पारियो र त्यसमा कृत्रिम पिसाब थैली टाँसियो। चौध वर्षकी हुँदा मलाई छारे रोग लाग्यो। सबैभन्दा नजिकको स्कूल जान पनि धेरै समय लाग्थ्यो। मलाई बुबाआमाको विशेष हेरविचार पनि चाहिन्थ्यो। त्यसैले मैले बीचमै स्कूल छोड्नुपऱ्यो।

तैपनि मैले यहोवासितको सम्बन्धलाई बलियो बनाउने अठोट गरें। हाम्रा थुप्रै प्रकाशन मेरो मातृभाषामा (अफ्रिकान्स भाषामा) थिएन। त्यसैले हाम्रा अङ्ग्रेजी प्रकाशनहरू पढ्न सकूँ भनेर मैले अङ्ग्रेजी भाषा सिकें। म प्रकाशक भएँ र १९ वर्षको उमेरमा बप्तिस्मा गरें। त्यसपछि लगातार चार वर्षसम्म मलाई थुप्रै स्वास्थ्य समस्याले सतायो। भावनात्मक रूपमा सम्हालिन पनि निकै गाह्रो भयो। त्यतिमात्र होइन, छरछिमेकसित एकदमै घनिष्ठ सम्बन्ध भएकोले मानिसको डरको कारण प्रचारमा जोसिलो भएर लाग्न पनि सकिनँ।

म लगभग २०/२२ वर्षकी थिएँ होला। हामी नामिबियाबाट दक्षिण अफ्रिका सऱ्यौं। त्यतिबेला मैले पहिलो चोटि मण्डलीसित सङ्गत गर्ने मौका पाएँ। त्यो कत्ति खुसीको क्षण थियो! तर दुःखको कुरा, फेरि पनि मेरो अप्रेसन गर्नुपर्ने भयो। यसपालि चाहिं मलाई कोलोस्टोमी * अप्रेसन गरियो।

केही समयपछि हाम्रो मण्डलीमा आउनुभएको क्षेत्रीय निरीक्षकले अग्रगामी सेवा गर्ने विषयमा दिनुभएको भाषण मैले सुनें। उहाँको भाषणले मेरो मनै छोयो। मेरो स्वास्थ्य नाजुक छ भनेर मलाई थाह थियो। तर हरेक कठिनाइमा यहोवाले मेरो हात थाम्नुभएको अनुभव गरिसकेकीले मैले नियमित अग्रगामीको फाराम भरें। तर मेरो नाजुक अवस्थाको कारण मैले अग्रगामी सेवा गर्न सक्दिनँ होला भनेर एल्डरहरूले मेरो फाराम स्वीकार्नुभएन।

तैपनि मैले सक्दो प्रचार गर्ने निर्णय गरें। मेरी आमा र अरूहरूको मदतले गर्दा मैले लगातार ६ महिनासम्म अग्रगामीको घण्टा बुझाउन सकें। स्वास्थ्य समस्याको बाबजुद पनि म अग्रगामी सेवा गर्न सक्छु भनेर यसले प्रमाणित गऱ्यो। त्यसैले मैले फेरि पनि आवेदन दिएँ। यसपालि भने मेरो आवेदन स्वीकृत भयो। सन्‌ १९८८, सेप्टेम्बर १ मा म नियमित अग्रगामीको रूपमा नियुक्त भएँ।

अग्रगामी सेवा गर्दा मैले थुप्रै चोटि यहोवाको मदत पाएको अनुभव गर्न सकेकी छु। आफ्नो समस्यामा नभई नयाँ मानिसहरूलाई सत्य सिकाउने कुरामा ध्यान केन्द्रित गर्न सकेकोले मैले भावनात्मक रूपमा सुरक्षित महसुस गर्न सकेकी छु; यहोवासित अझै नजिक हुन सकेकी छु। केही मानिसहरूलाई समर्पण र बप्तिस्मा गर्न मदत गर्न सकेकोमा म निकै आनन्दित हुन सकेकी छु।

मेरो स्वास्थ्य कहिले कस्तो हुन्छ, भन्नै सकिंदैन। तर यहोवा ‘दिनहुँ मेरो बोझ उठाउनुहुन्छ।’ (भज. ६८:१९) उहाँले मलाई गाह्रो परिस्थिति सहन मात्र होइन तर यो अनमोल जीवनको आनन्द उठाउन पनि मदत गर्नुभएको छ!

^ अनु. 7 दिसा गर्न समस्या हुँदा पेटमा प्वाल पारेर कृत्रिम थैली टाँसिने एक प्रकारको अप्रेसन।