सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको साक्षीवचन भरपर्दो छ

यहोवाको साक्षीवचन भरपर्दो छ

“परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान्‌ तुल्याउने।”भज. १९:७.

१. हाम्रा सभाहरूमा कस्ता विषयमा बारम्बार छलफल गरिन्छ? यस्तो छलफलले हामीलाई कस्तो लाभ पुऱ्याउँछ?

‘यस विषयमा त पहिला पनि छलफल गरिसकेको हैन र?’ प्रहरीधरहरा अध्ययनको तयारी गर्दा तपाईंले पनि मनमनै त्यस्तै सोच्नुभएको छ कि? यदि तपाईं यहोवाका साक्षीहरूको सभामा उपस्थित हुन थाल्नुभएको केही समय भइसकेको छ भने कुनै-कुनै विषयमा बारम्बार छलफल गरिएको याद गर्नुभएको होला। परमेश्वरको राज्य, फिरौती, प्रचारकार्य अनि प्रेम र विश्वासजस्ता गुणहरूको विषयमा हामी थुप्रै चोटि अध्ययन गर्छौं। यस्तो छलफलले हाम्रो विश्वास बलियो बनाउँछ र हामीलाई ‘सुन्ने मात्र होइन, वचन पालन गर्ने हुन’ मदत गर्छ।—याकू. १:२२.

२. (क) हिब्रू भाषामा “साक्षीवचन” शब्दले अक्सर केलाई बुझाउँछ? (ख) यहोवाका नियम-कानुन मानिसहरूको भन्दा कसरी फरक छ?

हिब्रू भाषामा “साक्षीवचन” शब्दले अक्सर परमेश्वरले आफ्ना मानिसहरूलाई दिनुहुने ऐन, कानुन, आज्ञा र नियमलाई बुझाउँछ। मानिसहरूका नियम-कानुन अक्सर सुधार्नुपर्छ वा संशोधन गर्नुपर्छ तर यहोवाको “साक्षीवचन” अर्थात्‌ नियम-कानुन भने सधैं भरपर्दो छ। यीमध्ये कुनै-कुनै नियम खास समय वा परिस्थितिको लागि दिइएको भए तापनि ती कहिल्यै पुराना हुँदैनन्‌। भजनरचयिताले यसो भने: “तपाईंका साक्षीवचनहरू सदा धर्ममय छन्‌।”—भज. ११९:१४४.

३ ४. (क) यहोवाको साक्षीवचनमा कहिलेकाहीं के पनि पर्छ? (ख) परमेश्वरको आज्ञा पालन गरेमा इस्राएलीहरूले के पाउने थिए?

यहोवाको साक्षीवचनमा कहिलेकाहीं चेतावनी पनि पर्छ। इस्राएलीहरूले परमेश्वरका भविष्यवक्ताहरूमार्फत नियमित रूपमा चेतावनी पाउँथे। उदाहरणको लागि, इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा पुग्नै लाग्दा मोशाले तिनीहरूलाई यस्तो चेतावनी दिए: “होशियार! नत्रता तिमीहरूका मनले धोका खाला, औ तिमीहरूले तर्केर अरू देवताहरूको सेवा र पूजा गर्नेछौ। औ परमप्रभु क्रोधित” हुनुहुनेछ। (व्यव. ११:१६, १७) आफ्ना मानिसहरूको फाइदाको लागि परमेश्वरले दिनुभएका अन्य थुप्रै साक्षीवचन बाइबलमा पाउँछौं।

 यहोवाले आफ्ना मानिसहरूलाई उहाँको डर मान्न, उहाँको आज्ञा पालन गर्न र उहाँको नाम पवित्र पार्न थुप्रै पटक आग्रह गर्नुभयो। (व्यव. ४:२९-३१; ५:२८, २९) ती आज्ञा पालन गरेमा तिनीहरूलाई प्रशस्त आशिष्‌ दिने प्रतिज्ञा गर्नुभयो।—लेवी २६:३-६; व्यव. २८:१-४.

परमेश्वरको साक्षीवचनप्रति इस्राएलीहरूको प्रतिक्रिया

५. यहोवाले किन राजा हिजकियाहको पक्ष लिनुभयो?

इस्राएलीहरूको इतिहासभरि नै परमेश्वरले तिनीहरूसित गरेको प्रतिज्ञा पूरा गर्नुभयो। उदाहरणको लागि, अश्शूरका राजा सनहेरीबले यहूदामा आक्रमण गरेर राजा हिजकियाहलाई धम्की दिंदा यहोवाले एउटा स्वर्गदूत पठाउनुभयो। परमेश्वरका ती दूतले एकै रातमा १ लाख ८५ हजार अश्शूरी योद्धालाई मारे। आफ्ना सबै योद्धा मारिएकाले सनहेरीब अपमानित भएर घर फर्के। (२ इति. ३२:२१; २ राजा १९:३५) परमेश्वरले किन राजा हिजकियाहको पक्ष लिनुभयो? किनकि हिजकियाह यहोवाप्रति “भक्त भइरहे र आफ्नो भक्ति देखाउनमा तिनी पछि हटेनन्‌, . . . परमप्रभुले दिनुभएका आज्ञाहरू तिनले पालन गरे।”—२ राजा १८:१, ५, ६.

यहोवाको साक्षीवचनले योशियाहलाई साँचो उपासनाको खातिर कदम चाल्न उत्प्रेरित गऱ्यो (अनुच्छेद ६ हेर्नुहोस्)

६. राजा योशियाहले यहोवामा भरोसा राखेको कुरा कसरी देखाए?

यहोवाको आज्ञा मान्ने अर्का व्यक्ति राजा योशियाह हुन्‌। आठ वर्षको उमेरमै तिनले “परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे।” तिनी दाहिने-देब्रे लागेनन्‌। (२ इति. ३४:१, २) देशमा भएका सबै मूर्ति हटाएर अनि मानिसहरूलाई फेरि यहोवाको उपासना गर्न मदत गरेर तिनले यहोवामा भरोसा राखेको कुरा देखाए। यसो गरेकोले तिनले मात्र होइन, सिङ्गो राष्ट्रले नै यहोवाको आशिष्‌ पायो।२ इतिहास ३४:३१-३३ पढ्नुहोस्।

७. यहोवाप्रति अनाज्ञाकारी हुँदा इस्राएलीहरूलाई के भयो?

दुःखको कुरा, परमेश्वरका सेवकहरूले उहाँको साक्षीवचनमा भरोसा गरिरहेनन्‌। तिनीहरू पटक-पटक यहोवाप्रति अनाज्ञाकारी भए। विश्वास ढलपल भएकोले तिनीहरू सजिलै झूटा देवीदेवताको उपासना गर्ने बहकाउमा परे। (एफि. ४:१३, १४) यसरी परमेश्वरमाथि भरोसा नराख्दा उहाँले पहिल्यै भन्नुभएझैं तिनीहरूले नराम्रो नतिजा भोग्नुपऱ्यो।—लेवी २६:२३-२५; यर्मि. ५:२३-२५.

८. हाम्रो अवस्था कसरी इस्राएलीहरूको जस्तै छ?

आज हाम्रो अवस्था कसरी इस्राएलीहरूको जस्तै छ? तिनीहरूले जस्तै आज हामीले पनि सल्लाह र अनुशासन पाउँछौं। (२ पत्रु. १:१२) प्रत्येक पटक बाइबल पढ्दा हामीले परमेश्वरका  आज्ञाहरू सम्झने मौका पाउँछौं। यहोवाले हामीलाई उहाँका आज्ञाहरू पालन गर्ने कि आफूलाई जे ठीक लाग्छ त्यही गर्ने, त्यो छनौट गर्ने छुट दिनुभएको छ। (हितो. १४:१२) यहोवाको साक्षीवचनमा किन भरोसा राख्न सक्छौं र ती पालन गर्दा कसरी लाभ उठाउन सक्छौं, आउनुहोस् छलफल गरौं।

परमेश्वरप्रति आज्ञाकारी हुनुहोस् र बाँच्नुहोस्

९. इस्राएलीहरू उजाडस्थानमा हुँदा यहोवाले तिनीहरूलाई साथ दिइरहेको कुरा कसरी देखाउनुभयो?

इस्राएलीहरूले उजाडस्थानको बाटो भएर ४० वर्षसम्म यात्रा गरे। त्यसबेला यहोवाले तिनीहरूलाई डोऱ्याउने, रक्षा गर्ने र हेरचाह गर्ने सम्बन्धमा एक-एक कुरा बताउनुभएन। तैपनि उहाँमाथि भरोसा गरेमा र उहाँका निर्देशनहरू पछ्याएमा तिनीहरूले लाभ उठाउन सक्छन्‌ भनेर उहाँले विभिन्न तरिकामा देखाउनुभयो। दिनमा बादलको खामो र रातमा आगोको खामोद्वारा डोऱ्याएर यहोवाले त्यस कठिन यात्रामा तिनीहरूलाई साथ दिइरहेको कुरा देखाउनुभयो। (व्यव. १:१९; प्रस्थ. ४०:३६-३८) उहाँले तिनीहरूको आधारभूत आवश्यकता पनि पूरा गर्नुभयो। “तिनीहरूलाई केही कुराको अभाव भएन; तिनीहरूका लुगा फाटेनन्‌ र तिनीहरूका खुट्टाहरू सुनिएनन्‌।”—नहे. ९:१९-२१, NRV.

१०. अहिले परमेश्वरले आफ्ना सेवकहरूलाई कसरी डोऱ्याइरहनुभएको छ?

१० परमेश्वरका सेवकहरू चाँडै नयाँ संसारमा पुग्नेछन्‌। आउँदै गरेको “महासङ्कष्ट”-बाट जोगिन हामीलाई चाहिने हरेक कुरा यहोवाले दिइरहनुभएको छ भनेर के हामी भरोसा गर्छौं? (मत्ती २४:२१, २२; भज. ११९:४०, ४१) हो, हामीलाई नयाँ संसारसम्म डोऱ्याउन यहोवाले बादलको खामो वा आगोको खामो प्रयोग गर्नुहुन्न। तर जागा रहन हामीलाई मदत गर्न उहाँ आफ्नो सङ्गठन चलाउनुहुन्छ। उदाहरणको लागि, बाइबल पढेर, साँझको पारिवारिक उपासना गरेर अनि नियमित रूपमा सभा तथा प्रचारमा गएर यहोवासितको आफ्नो सम्बन्ध बलियो बनाउन हामीलाई प्रोत्साहन दिइएको छ। यी निर्देशनहरू पछ्याउन के हामीले छाँटकाँट गरेका छौं? यी कुराहरू गरेमा नयाँ संसारमा पुग्न हामीमा हुनुपर्ने बलियो विश्वास खेती गर्न सक्नेछौं।

यहोवाको साक्षीवचन स्वीकार्दा राज्यभवनलाई सुरक्षित राख्न मदत पाउनेछौं (अनुच्छेद ११ हेर्नुहोस्)

११. परमेश्वर हाम्रो हित चिताउनुहुन्छ भनेर केले देखाउँछ?

११ परमेश्वरको सङ्गठनले हामीलाई दैनिक जीवनमा सही निर्णयहरू गर्न पनि मदत गर्छ। जस्तै, हामी अनावश्यक फिक्रीबाट जोगिन सकोस् भनेर भौतिक चिजबीजप्रति सही दृष्टिकोण राख्न र सरल जीवन बिताउन प्रोत्साहन दिइएको छ। पहिरन तथा कोरीबाटी, मनोरञ्जन र शिक्षाको सन्दर्भमा पनि सही निर्णय गर्न हामीलाई निर्देशन दिइएको छ। साथै आफ्नो घर, सवारी साधन तथा राज्यभवनलाई सुरक्षित अवस्थामा राख्न अनि आकस्मिक घटनाको लागि तयार रहन हामीलाई बारम्बार सम्झाइएको छ। यसले परमेश्वर हाम्रो हित चिताउनुहुन्छ भनेर देखाउँछ।

साक्षीवचनले प्रथम शताब्दीका ख्रीष्टियनहरूलाई वफादार रहिरहन मदत गऱ्यो

१२. (क) येशूले आफ्ना चेलाहरूसित कुन विषयमा थुप्रै पटक कुराकानी गर्नुभयो? (ख) नम्र हुनुपर्ने विषयमा येशूले बसाल्नुभएको कुन उदाहरण पत्रुसले कहिल्यै बिर्सेनन्‌? येशूको उदाहरणले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्छ?

१२ प्रथम शताब्दीमा परमेश्वरका सेवकहरूले नियमित रूपमा साक्षीवचन पाउँथे। नम्र हुनुपर्ने विषयमा येशूले आफ्ना चेलाहरूसित थुप्रै पटक कुराकानी गर्नुभयो। तर येशूले नम्र हुनु भनेको के हो भनेर व्याख्या मात्र गर्नुभएन, आफ्नै उदाहरणबाट देखाउनुभयो। आफू मारिनुभन्दा अघिल्लो रात येशू आफ्ना प्रेषितहरूसित निस्तार-चाड मनाउन भेला हुनुभएको थियो। प्रेषितहरूले खाइरहेको बेला येशू उठ्नुभयो र तिनीहरूको खुट्टा धुन थाल्नुभयो। यो काम साधारणतया दासहरूले गर्थे। (यूह. १३:१-१७) येशूले बसाल्नुभएको यो उदाहरण प्रेषितहरूले कहिल्यै बिर्सेनन्‌। त्यस भोजमा उपस्थित प्रेषित पत्रुसले लगभग ३० वर्षपछि अरू  ख्रीष्टियनहरूलाई नम्र हुन सल्लाह दिए। (१ पत्रु. ५:५) येशूको उदाहरणले हामी सबैलाई एकअर्कासित व्यवहार गर्दा नम्र हुन उत्प्रेरित गर्नुपर्छ।—फिलि. २:५-८.

१३. येशूले आफ्ना चेलाहरूलाई कुन महत्त्वपूर्ण गुण खेती गर्नुपर्ने आवश्यकताबारे बताउनुभयो?

१३ येशूले आफ्ना चेलाहरूसित विश्वास बलियो बनाउनुपर्ने आवश्यकताबारे पनि थुप्रै पटक कुराकानी गर्नुभयो। दुष्ट स्वर्गदूतको वशमा परेको केटोलाई निको पार्न नसक्दा चेलाहरूले येशूलाई यस्तो प्रश्न सोधे: “हामीले किन त्यसलाई धपाउन सकेनौं?” येशूले जवाफ दिनुभयो: “तिमीहरूसित विश्वास थोरै भएकोले। किनकि म तिमीहरूलाई साँचो-साँचो भन्छु, यदि तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्वास छ भने पनि . . . तिमीहरूको लागि कुनै कुरा असम्भव हुनेछैन।” (मत्ती १७:१४-२०) पृथ्वीमा आफ्नो सेवाको अवधिभर नै येशूले चेलाहरूलाई विश्वास महत्त्वपूर्ण गुण हो भनेर सिकाउनुभयो। (मत्ती २१:१८-२२ पढ्नुहोस्) के हामी विश्वास बलियो बनाउन मदत गर्ने अधिवेशन, सम्मेलन र सभाहरूमा उपस्थित हुन्छौं? यी जमघटहरूमा हामी रमाइलोको लागि मात्र होइन, यहोवामाथिको भरोसा देखाउन उपस्थित हुन्छौं।

१४. निःस्वार्थ प्रेम देखाउनु किन महत्त्वपूर्ण छ?

१४ ख्रीष्टियन ग्रीक धर्मशास्त्रले हामीलाई आपसमा प्रेम गर्न थुप्रै पटक सम्झाएको छ। दोस्रो ठूलो आज्ञा “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम” गर्नु हो भनेर येशूले बताउनुभयो। (मत्ती २२:३९) येशूका सौतेनी भाइ याकूबले प्रेमलाई “शाही व्यवस्था” भने। (याकू. २:८) प्रेषित यूहन्नाले यस्तो लेखे: “हे मेरा प्रियहरू हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन तर तिमीहरूले सुरुदेखि नै पाएको पुरानै आज्ञा लेख्दैछु। . . . फेरि पनि म तिमीहरूलाई एउटा नयाँ आज्ञाजस्तै गरी लेख्दैछु।” (१ यूह. २:७, ८) यूहन्नाले “पुरानै आज्ञा” भनेर केलाई सङ्केत गर्दैथिए? तिनले प्रेम गर्ने सन्दर्भमा दिइएको आज्ञालाई सङ्केत गर्दैथिए। येशूले त्यो आज्ञा “सुरुदेखि नै” अर्थात्‌ वर्षौंअघि दिनुभएकोले त्यो “पुरानै” आज्ञा थियो। तर चेलाहरूले पछि नयाँ परिस्थितिमा निःस्वार्थ प्रेम देखाउनुपर्ने भएकोले त्यसलाई “नयाँ” आज्ञा पनि भन्न सकिन्छ। संसारका धेरैजसो मानिसको जस्तो स्वार्थी मनोभाव नदेखाउन आफूले पाएको चेतावनीको लागि हामी कृतज्ञ छौं। बरु हामी निःस्वार्थ प्रेम देखाउँछौं।

१५. येशू पृथ्वीमा आउनुको मुख्य उद्देश्य के थियो?

१५ येशू मानिसहरूको साँच्चै ख्याल राख्नुहुन्थ्यो। बिरामीहरूलाई निको पारेर र मरिसकेकाहरूलाई ब्यूँताएर येशूले यो कुरा देखाउनुभयो। तर येशू पृथ्वीमा आउनुको मुख्य उद्देश्य मानिसहरूलाई निको पार्नु थिएन। उहाँको प्रचारकार्य र शिक्षाले गर्दा मानिसहरूले अझ ठूलो लाभ उठाउन सक्ने थिए। कसरी? येशूले निको पार्नुभएका र पुनर्जीवित पार्नुभएका सबै जना पछि गएर बूढाबूढी भए  र मरे। तर उहाँको सन्देश स्वीकार्नेहरूले अनन्त जीवनको प्रत्याशा पाए।—यूह. ११:२५, २६.

१६. येशूको आज्ञा यहोवाका साक्षीहरूले कसरी पालन गरिरहेका छन्‌?

१६ येशूले आफ्ना चेलाहरूलाई यस्तो आज्ञा दिनुभयो: “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ।” (मत्ती २८:१९) प्रथम शताब्दीका ख्रीष्टियनहरूले येशूले सुरु गर्नुभएको कामलाई निरन्तरता दिए। आज हामी पहिलेभन्दा अझ धेरै ठाउँमा र अझ धेरै मानिसहरूलाई प्रचार गर्छौं। सत्तरी लाखभन्दा धेरै यहोवाका साक्षीहरूले २३० भन्दा धेरै मुलुकमा परमेश्वरको राज्यको विषयमा जोसका साथ सिकाइरहेका छन्‌। यी साक्षीहरूले लाखौं मानिसहरूलाई नियमित रूपमा बाइबल अध्ययन गराइरहेका छन्‌। प्रचारकार्यले हामी अन्तको समयमा बाँचिरहेका छौं भनेर देखाउँछ।

यहोवामा भरोसा राखिरहनुहोस्

१७. पावल र पत्रुसले कस्तो सल्लाह दिए?

१७ साक्षीवचनले प्रथम शताब्दीका ख्रीष्टियनहरूलाई विश्वास बलियो बनाउन मदत गऱ्यो। उदाहरणको लागि, प्रेषित पावल रोमको झ्यालखानामा हुँदा तिमोथीलाई यसो भने: “तिमीले मबाट सुनेको साँचो शिक्षाको नमुनालाई पक्रिराख।” (२ तिमो. १:१३) यी शब्दहरूबाट तिमोथीले पक्कै पनि प्रोत्साहन पाए। सँगी ख्रीष्टियनहरूलाई सहनशीलता, भ्रातृस्नेह, आत्मसंयमजस्ता गुणहरू खेती गर्न प्रोत्साहन दिएपछि प्रेषित पत्रुसले पनि यसो भने: “तिमीहरूलाई यी कुराहरू सम्झाइरहन म सधैं तत्पर भइरहनेछु। तथापि, तिमीहरूलाई यी कुरा थाहै छ अनि तिमीहरू आफूले सिकेको सत्यमा अडिग छौ।”—२ पत्रु. १:५-८, १२.

१८. सल्लाह पाउँदा प्रथम शताब्दीका ख्रीष्टियनहरूले कस्तो प्रतिक्रिया देखाए?

१८ पावल र पत्रुसले मण्डलीहरूलाई लेखेका कुराहरू “उहिले-उहिलेका पवित्र भविष्यवक्ताहरूले बताएका कुराहरू”-सित मिल्दाजुल्दा थिए। (२ पत्रु. ३:२) त्यस्तो सल्लाह पाउँदा प्रथम शताब्दीका हाम्रा भाइहरू रिसाए? अहँ, रिसाएनन्‌। किनकि उक्त सल्लाह परमेश्वरको प्रेमको अभिव्यक्ति थियो। त्यस सल्लाहले तिनीहरूलाई ‘हाम्रा प्रभु अनि उद्धारक येशू ख्रीष्टको असीम अनुग्रह र ज्ञानमा बढ्दै जान’ मदत गऱ्यो।—२ पत्रु. ३:१८.

१९, २०. यहोवाको डोऱ्याइ पछ्याउनुमा नै हाम्रो हित छ भनेर किन भन्न सक्छौं? यहोवाको साक्षीवचनबाट कस्तो लाभ उठाउन सक्छौं?

१९ यहोवाले आफ्नो वचन बाइबलमार्फत दिनुभएको डोऱ्याइ पछ्याउनुमा नै हाम्रो हित छ भन्न सक्ने थुप्रै कारण हामीसित छन्‌। उहाँको वचनमा पाइने हरेक सल्लाह भरपर्दा छन्‌। (यहोशू २३:१४ पढ्नुहोस्) हजारौं वर्षदेखि परमेश्वरले मानिसहरूसित कस्तो व्यवहार गर्नुभएको छ भनी बाइबल बताउँछ। यी कुराहरू हाम्रै फाइदाको लागि लेखिएका थिए। (रोमी १५:४; १ कोरि. १०:११) साथै हामीले बाइबल भविष्यवाणीहरू पूरा भएको पनि देखेका छौं। वर्षौंअघि गरिएका भविष्यवाणीहरूलाई साक्षीवचन भन्न सकिन्छ। जस्तै, “पछिल्ला दिनमा” लाखौं मानिसले यहोवाको उपासना गर्नेछन्‌ भनेर गरिएको भविष्यवाणी पूरा भइरहेको छ। (यशै. २:२, ३) संसार झन्‌झनै खराब हुँदै गएको छ। यो पनि बाइबल भविष्यवाणीको पूर्ति हो। अनि पहिल्यै छलफल गरिएझैं विश्वव्यापी प्रचारकार्यले पनि येशूको भविष्यवाणी पूरा भइरहेको छ भनेर देखाउँछ।—मत्ती २४:१४.

२० हाम्रा सृष्टिकर्ताले आफूलाई भरोसायोग्य प्रमाणित गर्नुभएको छ। के हामी उहाँको साक्षीवचनमा भरोसा गर्दैछौं? हामीले उहाँको साक्षीवचनमा भरोसा गर्नुपर्छ। रोसलीन नाम गरेकी बहिनीले यसै गरिन्‌। तिनी भन्छिन्‌: “यहोवामा पूरा भरोसा राख्न थाल्दा उहाँले सुरक्षा दिनुभएको र बलियो बनाउनुभएको कुरा अझ राम्ररी महसुस गर्न थालें।” यहोवाको साक्षीवचनमा ध्यान दिंदा हामी पनि लाभ उठाउन सक्छौं।