सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सही निर्णय गर्नुहोस्

सही निर्णय गर्नुहोस्

“तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्।”—हितो. ३:५.

१, २. के तपाईंलाई निर्णयहरू गर्न मन पर्छ? आफूले गरेका केही निर्णय सम्झँदा तपाईंलाई कस्तो लाग्छ?

हरेक दिन हामी थुप्रै निर्णय गर्छौं। निर्णय गर्नुपर्दा तपाईंलाई कस्तो लाग्छ? कतिपय मानिस सबै निर्णय आफै गर्न रुचाउँछन्‌। तिनीहरू आफ्नो निर्णय आफैले गर्न पाउनुपर्छ भन्ने धारणा राख्छन्‌। अरूले निर्णय गरिदिएको तिनीहरूलाई मन पर्दैन। कतिलाई भने महत्त्वपूर्ण निर्णयहरू गर्न डर लाग्छ। कतिले त निर्णय गर्नुअघि किताबका पानाहरू पल्टाउँछन्‌ वा सल्लाहकारहरूलाई सोध्छन्‌। आफूले चाहेको सल्लाह पाउन तिनीहरू प्रशस्तै खर्च गर्नसमेत पछि पर्दैनन्‌।

कुनै-कुनै निर्णय गर्ने अधिकार हामीसित नभए तापनि जीवनमा थुप्रै निर्णय हामी आफैले गर्नुपर्छ भनेर हामीले बुझेका छौं। (गला. ६:५) तर हामीले गर्ने सबै निर्णय सही नहुन सक्छ।

३. जीवनमा महत्त्वपूर्ण निर्णयहरू गर्ने मदत हामीलाई कसले दिनुभएको छ? तर कस्तो अवस्थामा भने निर्णय गर्न अलि गाह्रो हुन सक्छ?

यहोवाले हामीलाई जीवनमा गर्नुपर्ने महत्त्वपूर्ण निर्णयहरूको सम्बन्धमा सुस्पष्ट निर्देशन दिनुभएको छ। ती निर्देशन पछ्यायौं भने हामीले गरेका निर्णय देखेर यहोवा खुसी हुनुहुनेछ र हामीलाई पनि फाइदा हुनेछ। तर बाइबलमा हामीले सामना गर्नुपर्ने प्रत्येक समस्या वा परिस्थितिको लागि एक-एक निर्देशन दिइएको छैन। यस्तो अवस्थामा के गर्ने भनेर कसरी निर्णय गर्न सक्छौं? जस्तै, बाइबलमा चोर्नु हुँदैन भनिएको छ। (एफि. ४:२८) तर कसै-कसैको विचारमा कुनै सामान त्यति मूल्यवान्‌ छैन वा आफूलाई त्यो सामानको खाँचो परेको छ भने अरूको चिज लिनु गलत होइन। कुनै काम कसरी गर्ने सुस्पष्ट निर्देशन नहुँदा हामी कसरी निर्णय गर्न सक्छौं? त्यस्तो अवस्थामा निर्णय गर्ने मदत कहाँबाट पाउन सक्छौं?

सुझबुझ चलाएर निर्णय गर्नुहोस्

४. निर्णय गर्ने सम्बन्धमा कहिलेकाहीं हामी कस्तो सल्लाह पाउँछौं?

आफूले गर्न लागेको महत्त्वपूर्ण निर्णयबारे सँगी साक्षीलाई  बताउँदा तिनले ‘सुझबुझ चलाएर निर्णय गर्नुहोस्’ भन्लान्‌। यो राम्रो सल्लाह हो। निर्णय गर्दा किन हतारिनुहुँदैन, बाइबलमा यसो भनिएको छ: “हतार गर्ने मानिस निश्चय कङ्गाली हुन्छ।” (हितो. २१:५) तर सुझबुझ चलाएर निर्णय गर्नुको अर्थ के हो? के यसको अर्थ परिस्थितिलाई राम्ररी केलाउनु, व्यावहारिक हुनु अनि निर्णय गर्नुअघि सबै कुरा राम्ररी तौलनु मात्र हो? यसो गर्नु महत्त्वपूर्ण छ तर सुझबुझ चलाउनुमा योभन्दा पनि धेरै कुरा मुछिएको छ।—रोमी १२:३; १ पत्रु. ४:७.

५. सुझबुझ चलाउँदा पनि हाम्रा निर्णय किन सही नहुन सक्छन्‌?

सुझबुझ चलाउँदा पनि हाम्रा सबै निर्णय सधैं सही नहुन सक्छन्‌। किन? जन्मँदै पापी र त्रुटिपूर्ण भएकोले हाम्रो सोचाइ पनि त्रुटिपूर्ण छ। (भज. ५१:५; रोमी ३:२३) साथै यहोवा र उहाँका स्तरहरूबारे सिक्नुअघि हामीमध्ये प्रायजसोको दिमागलाई सैतानले “अन्धो तुल्याइदिएको” थियो। (२ कोरि. ४:४; ती. ३:३) त्यसैकारण आफूलाई सही अनि व्यावहारिक लागेको निर्णयको आधारमा निकै समय लगाएर निष्कर्ष निकाले तापनि त्यो निर्णय गलत हुन पुग्छ।—हितो. १४:१२.

६. सुझबुझ चलाउने मदत हामी कसरी पाउन सक्छौं?

हामी त्रुटिपूर्ण छौं तर स्वर्गमा हुनुहुने हाम्रो बुबा यहोवा त्रुटिरहित हुनुहुन्छ। (व्यव. ३२:४) उहाँले हामीलाई आफ्नो सोचाइ बदल्न चाहिने मदत दिनुभएको छ र सुझबुझ चलाउने तरिका सिकाउनुभएको छ। (२ तिमोथी १:७ पढ्नुहोस्) यहोवाको जन भएकोले हामी सही तरिकामा सोचविचार गर्न, तर्क गर्न र व्यवहार गर्न चाहन्छौं। त्यसैकारण हामीले आफ्नो सोचाइ र भावनालाई नियन्त्रणमा राख्न सिक्नुपर्छ। साथै यहोवाको सोचाइ, भावना र व्यवहार अनुकरण गर्नुपर्छ।

७, ८. दबाबमा वा समस्यामा पर्दा पनि सही निर्णय गर्न सकिन्छ भनेर देखाउने एउटा उदाहरण बताउनुहोस्।

यो उदाहरण विचार गर्नुहोस्। विदेशमा काम गर्न गएका केहीले बच्चा जन्मँदा नवजात शिशुलाई घर पठाउने गर्छन्‌। यसो गर्दा तिनीहरूलाई काम गर्न र पैसा कमाउन सजिलो हुन्छ। * विदेशमा बसिरहेकी एउटी युवतीले छोरो जन्माइन्‌। त्यही समयतिर तिनले साक्षीहरूसित बाइबल अध्ययन गरेर सिकेको कुरा लागू गर्न थालिन्‌। तिनी र तिनका श्रीमान्‌लाई बारम्बार साथीभाइले ‘छोरालाई हजुरबुबा-हजुरआमाले हुर्काइहाल्छन्‌, घर पठाइदेओ’ भन्थे। तर छोराछोरी हुर्काउने जिम्मेवारी यहोवाले आमाबाबुलाई नै दिनुभएको छ भनेर तिनले बाइबल अध्ययनबाट सिकिरहेकी थिइन्‌। (भज. १२७:३; एफि. ६:४) अरूले जस्तै तिनले पनि छोरालाई घरै पठाउने थिइन्‌ कि? अथवा पैसाको समस्या होस् वा अरूले आलोचना गरोस्, बाइबलबाट सिकेको कुरा पछ्याउने थिइन्‌? तपाईं भए यस्तो अवस्थामा के गर्नुहुने थियो?

अरूले दबाब दिएकोले यस युवतीलाई एकदमै तनाव भयो। त्यसैकारण तिनले प्रार्थना गरेर यहोवालाई आफ्नो भावना पोखाइन्‌ र उहाँसित मदत मागिन्‌। तिनलाई बाइबल अध्ययन गराउने बहिनी र मण्डलीका अरूसित कुरा गरेपछि तिनले यससम्बन्धमा यहोवाको विचार बुझिन्‌। हुर्कंदै गर्दा छोराले आमाबाबुको साथ पाएन भने उसको भावनात्मक अवस्था कमजोर हुन्छ भनेर पनि तिनले बुझिन्‌। आफ्नो अवस्थाबारे बाइबलको दृष्टिकोण राम्ररी तौलेपछि तिनले छोरालाई घर नपठाउने निर्णय गरिन्‌। मण्डलीका भाइबहिनीले तुरुन्तै तिनीहरूलाई मदत गरेको अनि छोरा पनि स्वस्थ र खुसी भएको देखेर तिनका श्रीमान्‌ले  अध्ययन सुरु गरे र सभा पनि जान थाले।

९, १०. सुझबुझ चलाउनुको अर्थ के हो? सुझबुझ चलाउन हामीले के गर्नुपर्छ?

यो त एउटा उदाहरण मात्र हो। तर यसले आफूलाई व्यावहारिक लागेअनुसार गर्नु वा अरूलाई सही वा सजिलो लागेअनुसारै गर्नु सुझबुझ चलाउनु होइन भनेर देखाउँछ। हाम्रो त्रुटिपूर्ण दिमाग र हृदयलाई एकदमै छिटो वा एकदमै ढिलो चल्ने घडीसित तुलना गर्न सकिन्छ। ठीक समय नदिने घडीअनुसार चल्यौं भने हामीलाई धोका हुन्छ। (यर्मि. १७:९) धोका नखान हामीले आफ्नो सोचाइ र भावनालाई परमेश्वरको स्तरअनुसार डोऱ्याउनुपर्छ।यशैया ५५:८, ९ पढ्नुहोस्।

१० बाइबल यस्तो बुद्धिमानी सल्लाह दिन्छ: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितो. ३:५, ६) याद गर्नुहोस्, यहाँ “तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्” भनिएको छ। त्यसपछि यहोवालाई “सम्झी” भनिएको छ। कुनै खोट वा त्रुटिविना सोचविचार गर्न सक्ने त यहोवा मात्र हुनुहुन्छ। त्यसकारण कुनै पनि निर्णय गर्नुअघि उक्त विषयमा यहोवाको दृष्टिकोण के छ, बाइबलमा खोज्नुपर्छ र त्यसैअनुसार निर्णय गर्नुपर्छ। सुझबुझ चलाउन चाहन्छौं भने यहोवाले जसरी सोच्नुहुन्छ, त्यसरी नै सोच्नुपर्छ।

सोच्ने-बुझ्ने क्षमतालाई तालिम दिनुहोस्

११. सही निर्णय गर्न के गर्नुपर्छ?

११ सही निर्णयहरू गर्न सिक्नु र त्यसैअनुसार चल्नु सजिलो हुँदैन। त्यसो गर्नु विशेषगरि भर्खरै बप्तिस्मा गरेकाहरू वा प्रगति गरिरहेकाहरूलाई अझै गाह्रो हुन्छ। तर असम्भवै भने होइन। बाइबलले तिनीहरूलाई ‘बालक’ भनेर सम्बोधन गरेको छ किनकि तिनीहरूले भर्खरै हिंड्न सिकेका छन्‌। बालकले ताती-ताती गर्दै हिंड्न सिक्छ। सही निर्णय गर्न सिक्दै गरेकाहरूले पनि त्यसै गर्छन्‌। प्रेषित पावलले “आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्टयाउन तालिम दिएका” मानिसहरू परिपक्व मानिस हुन्‌ भने। “चलाएर” अनि “तालिम” दुवै शब्दले निरन्तर प्रयास  गर्नुपर्ने आवश्यकतालाई बुझाउँछ। त्यसैकारण नयाँ व्यक्तिले सही निर्णय गर्न सिकिरहनुपर्छ।हिब्रू ५:१३, १४ पढ्नुहोस्।

दैनिक क्रियाकलापमा सही छनौट गर्दा सोच्ने-बुझ्ने क्षमतालाई तालिम दिइरहेका हुन्छौं (अनुच्छेद ११ हेर्नुहोस्)

१२. सही निर्णय गर्न कसरी सिक्छौं?

१२ हरेक दिन हामीले साना-ठूला थुप्रै निर्णय गर्नुपर्छ। एउटा अध्ययनअनुसार मानिसले लगभग १० वटा निर्णयमा ४ वटा जति त आफ्नो बानीको आधारमा गर्छ, होसियार भई सोचेर होइन। जस्तै, हरेक बिहान हामी कुन लुगा लगाउने, निर्णय गर्छौं। यो सानो निर्णय भएकोले यसबारे त्यति सोचिरहनु पर्दैन जस्तो तपाईंलाई लाग्ला। तर तपाईंको पहिरन यहोवाको सेवकलाई सुहाउने किसिमको छ कि छैन, त्यसबारे सोच्नु महत्त्वपूर्ण छ। (२ कोरि. ६:३, ४) बजार जाँदा चलनचल्तीमा रहेको लुगाफाटा किन्ने विचार गर्नुहुन्छ होला। तर लुगा भद्र छ कि छैन र पैसा पुग्छ कि पुग्दैन, त्यसबारे पनि सोच्नुहुन्छ कि? लुगाफाटा किन्नेजस्तो सामान्य कुरामा पनि सही छनौट गर्दा सोच्ने-बुझ्ने क्षमतालाई तालिम दिइरहेका हुन्छौं। यसो गर्दा अझ महत्त्वपूर्ण विषयहरूमा सही निर्णय गर्न मदत पाउनेछौं।—लूका १६:१०; १ कोरि. १०:३१.

सही कदम चाल्ने इच्छालाई बलियो बनाउनुहोस्

१३. निर्णयअनुसार चल्न हामीलाई केले मदत गर्छ?

१३ सही निर्णय गरेकै भए पनि निर्णयअनुसार चल्न सधैं सजिलो हुँदैन। जस्तै, चुरोट छोड्न चाहेको व्यक्तिको इच्छाशक्ति बलियो छैन भने तिनी असफल हुन्छन्‌। आफूले गरेको निर्णयअनुसार चल्न हाम्रो इच्छाशक्ति बलियो हुनुपर्छ। कसै-कसैको विचारमा सही कदम चाल्ने इच्छालाई बलियो बनाउनु मांसपेशीलाई बलियो बनाउनुजस्तै हो। जति कसरत गर्छौं, मांसपेशी उति नै बलियो हुन्छ। तर कहिलेकाहीं मात्र कसरत गर्छौं भने हाम्रो मांसपेशी त्यति बलियो हुँदैन। निर्णयअनुसार चल्ने इच्छालाई कसरी बलियो बनाउन सक्छौं? यसको लागि यहोवासित मदत माग्नुपर्छ।फिलिप्पी २:१३ पढ्नुहोस्।

१४. गर्नुपर्ने कुरा गर्न पावलले कोबाट बल पाए?

१४ सही काम गर्नु गाह्रो छ भनेर पावलले आफ्नै अनुभवबाट थाह पाएका थिए। “असल गर्ने चाहना” भए तापनि गर्न गाह्रो भएको तिनले बताए। आफूले गर्न चाहेको वा गर्नुपर्ने कुरा के हो, थाह हुँदाहुँदै पनि तिनले कहिलेकाहीं त्यसो गर्न सकेनन्‌। तिनले स्वीकारे: “परमेश्वरको व्यवस्थामा म मनैदेखि साँच्चै आनन्द गर्छु। तर म आफ्नो शरीरका अङ्गहरूमा बेग्लै खालको नियम पाउँछु, जसले मेरो दिमागको व्यवस्थासँग युद्ध गर्छ। अनि मेरो शरीरका अङ्गहरूमा बास गर्ने पापको व्यवस्थाले मलाई बन्दी बनाउने गर्छ।” तैपनि तिनले आशा मार्नुपर्ने कारण थिएन। तिनले भने: “हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरलाई धन्यवाद होस्!” (रोमी ७:१८, २२-२५) तिनले यस्तो पनि लेखे: “किनकि जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”—फिलि. ४:१३.

१५. सही कदम चाल्ने अठोट किन गर्नुपर्छ?

१५ परमेश्वरलाई खुसी पार्न सही कदम चाल्ने निर्णय गर्नुपर्छ र त्यसपछि त्यसैबमोजिम गर्ने अठोट गर्नुपर्छ। एलियाले कर्मेल डाँडामा बाल उपासक र धर्मत्यागी इस्राएलीहरूलाई भनेको कुरा सम्झनुहोस्: “तिमीहरू कहिलेसम्म दोधारमा बसिरहन्छौ? यदि परमप्रभुनै परमेश्वर हुनुहुन्छ भने उहाँलाई पछ्याऊ। तर यदि बाल परमेश्वर हो भने त्यसलाई पछ्याऊ।” (१ राजा १८:२१) यहोवाको मात्र उपासना गर्नुपर्छ भनेर इस्राएलीहरूलाई थाह थियो। तर यहोवा अनि बाल दुवैको उपासना गरिरहेकोले ती इस्राएलीहरू “दोधारमा” थिए। तर कर्मेलमा यो घटना हुनुभन्दा वर्षौंअघिका यहोशू भने भिन्नै थिए। तिनले इस्राएलीहरूलाई यसो भनेका थिए: “यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा  गर्ने, आजै तिमीहरूले रोज। . . . तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” (यहो. २४:१५) तिनी र तिनको घरानाले कस्तो आशिष्‌ पाए? तिनीहरू “दूध र मह बहने देश” अर्थात्‌ प्रतिज्ञा गरिएको देशमा जान पाए।—यहो. ५:६.

सही निर्णय गर्नुहोस् र आशिष्‌ पाउनुहोस्

१६, १७. यहोवाको इच्छाबमोजिम निर्णय गर्दा हामीलाई कस्तो फाइदा हुन्छ?

१६ भर्खरै बप्तिस्मा गरेका एक जना भाइलाई विचार गर्नुहोस्। श्रीमती र तीन जना स-साना छोराछोरीको पालनपोषण गर्ने जिम्मेवारी तिनको काँधमा थियो। तिनको तलब खासै राम्रो थिएन तैपनि सप्ताहन्तमा परिवारसँगै सभामा अनि प्रचारमा जान छुट्टी मिल्ने भएकोले तिनले त्यस ठाउँमा काम गरिरहेका थिए। एक दिन एक जना सहकर्मीले तिनलाई ‘अर्कै कम्पनीमा गएर काम गरौं, सुविधा र तलब धेरै छ’ भने। यसबारे हाम्रो भाइले निकै सोचविचार गरे र प्रार्थना गरे। नयाँ कम्पनीमा जागिर खाइयो भने सप्ताहन्तमा तुरुन्तै छुट्टी नपाइने कुरा तिनले याद गरे। तपाईं भए के गर्नुहुन्थ्यो?

१७ यहोवासितको सम्बन्धलाई असर गर्ने भएकोले तिनले धेरै तलब आउने त्यो जागिर नखाने निर्णय गरे। तपाईंको विचारमा के तिनी पछुताए होलान्‌? अहँ, पछुताएनन्‌। धेरै पैसा कमाउनुभन्दा आफू र आफ्नो परिवार यहोवासित घनिष्ठ हुनु नै तिनलाई महत्त्वपूर्ण लाग्यो। यी भाइ र तिनकी श्रीमती दस वर्षकी छोरीको कुरा सुनेर एकदमै खुसी भए। छोरीले तिनीहरूलाई र मण्डलीका भाइबहिनीलाई माया गरेको अनि यहोवालाई अझ धेरै माया गरेको कुरा सुनाइन्‌। यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा गर्न चाहेको कुरा पनि बताइन्‌। बुबाले यहोवालाई जीवनमा पहिलो स्थान दिएर असल उदाहरण बसालेकोले नै उनले यस्तो निर्णय गरेकी थिइन्‌।

सही निर्णय गर्नुहोस् र परमेश्वरका जनहरूसितै रमाउनुहोस् (अनुच्छेद १८ हेर्नुहोस्)

१८. हामीले हरेक दिन सही निर्णय गर्नुपर्छ, किन?

१८ मोशाले इस्राएलीहरूलाई उजाड-स्थानमा डोऱ्याएझैं येशू ख्रीष्टले पनि सैतानको संसारमा परमेश्वरका जनहरूलाई डोऱ्याउन थाल्नुभएको वर्षौं भइसक्यो। यहोशूले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशमा पुऱ्याएझैं येशूले पनि सैतानको संसारलाई नाश गरेर आफ्ना अनुयायीहरूलाई न्यायले बास गर्ने नयाँ संसारमा पुऱ्याउनुहुनेछ। (२ पत्रु. ३:१३) त्यो दिन सोचेभन्दा नजिक भएकोले पुरानो सोचाइ, आनीबानी, स्तर तथा लक्ष्यहरूलाई फेरि अँगाल्नु मूर्खता मात्र हुनेछ। हामीले कसरी जीवन बिताएको यहोवा चाहनुहुन्छ, त्यो हामीले अझ राम्ररी बुझ्नुपर्छ। (रोमी १२:२; २ कोरि. १३:५) तपाईंले गर्ने निर्णय तथा छनौटले तपाईं यहोवाको आशिष्‌ पाउन योग्य व्यक्ति हुनुहुन्छ भन्ने कुरा देखाओस्।हिब्रू १०:३८, ३९ पढ्नुहोस्।

^ अनु. 7 हजुरबुबा-हजुरआमाले अरूलाई नातिनातिना देखाउन सकून्‌ भनेर पनि बच्चालाई घर पठाउने गरिन्छ।