सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | परमेश्‍वरलाई प्रेम गर्न असम्भव छ भन्‍ने झूट

सत्यले तपाईँलाई स्वतन्त्र बनाउँछ

सत्यले तपाईँलाई स्वतन्त्र बनाउँछ

एकदिनको कुरा हो, येसु यरुसलेममा हुनुहुँदा उहाँले आफ्नो बुबा यहोवाबारे बताउनुभयो र त्यतिबेलाका झूटा धर्मगुरुहरूको पर्दाफास गर्नुभयो। (युहन्‍ना ८:१२-३०) त्यतिबेला उहाँले सिकाउनुभएको कुरालाई विचार गर्दा आज हाम्रो समयमा परमेश्‍वरबारे व्याप्त धारणा सही हुन्‌ कि होइनन्‌ भनेर बुझ्न मदत पाउँछौँ। येसुले भन्‍नुभयो: “तिमीहरू मेरो वचनमा रह्‍यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ अनि तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।”—युहन्‍ना ८:३१, ३२.

“तिमीहरू मेरो वचनमा रहो।” येसुले यहाँ एउटा स्तर तोक्नुभयो, जसले गर्दा हामी धार्मिक शिक्षाहरू “सत्य” हुन्‌ कि होइनन्‌ बनेर छुट्ट्याउन सक्छौँ। परमेश्‍वरबारे कुनै कुरा सुन्दा आफूलाई यो प्रश्‍न सोध्नुहोस्‌: के यो येसुका शब्दहरू र बाइबलमा बताइएका अरू कुराहरूसित मेल खान्छ? ती व्यक्‍तिहरूले जस्तै गर्नुहोस्‌, जसले प्रेषित पावलको कुरा सुनेपछि “ती [आफूले सिकिरहेका कुराहरू] सत्य हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्न होसियारीसाथ दिनहुँ धर्मशास्त्र जाँच्थे।”—प्रेषित १७:११.

यस शृङ्‌खलाको पहिलो लेखमा उल्लेख गरिएका मार्को, रोसा र रेमोनाले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेर आफूले विश्‍वास गरेका कुरा सत्य हुन्‌ कि होइनन्‌ भनेर होसियारीसाथ जाँचे। यसरी जाँच्दा तिनीहरूले के थाह पाए?

मार्को: “हाम्रो बाइबल अध्ययन सञ्चालकले मेरी श्रीमती र मैले सोधेका सबै प्रश्‍नको जवाफ बाइबलबाटै दिनुभयो। यसले गर्दा यहोवाप्रतिको हाम्रो प्रेम बढ्‌दै गयो र हामी श्रीमान्‌-श्रीमती पनि पहिलेभन्दा अझ घनिष्ठ भयौँ।”

रोसा: “सुरु-सुरुमा मलाई बाइबल मानव दर्शनको किताब मात्र हो जस्तो लाग्थ्यो। त्यसैले यसमा परमेश्‍वरबारे मानिसहरूका विभिन्‍न धारणा छन्‌ भन्ठान्थेँ। तर पछि मैले एक-एक गर्दै मेरा प्रश्‍नहरूको जवाफ बाइबलमा पाएँ। अहिले चाहिँ मलाई यहोवा वास्तविक लाग्छ। म उहाँमा भरोसा गर्न सक्छु।”

रेमोना: “म परमेश्‍वरबारे सिक्न चाहन्थेँ। त्यसैले मलाई मदत गर्नुहोस्‌ भनेर उहाँलाई प्रार्थना गरेँ। त्यसको केही समय नबित्दै मेरो श्रीमान्‌ र मैले बाइबल अध्ययन गर्न थाल्यौँ। बल्ल हामीले यहोवाबारे सत्य कुरा सिक्यौँ। उहाँ कस्तो परमेश्‍वर हुनुहुँदो रहेछ भनेर बुझेपछि हामी खुसीले गद्‌गद भयौँ।”

परमेश्‍वरबारे फैलाइएका झूटहरूको बाइबलले पर्दाफास गर्छ। त्यति मात्र होइन, यसले उहाँका मनमोहक गुणहरूबारे सत्य पनि प्रकट गर्छ। बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको किताब हो र यसले “परमेश्‍वरले दया गरेर हामीलाई दिनुभएका कुराहरू थाह पाउन” मदत गर्छ। (१ कोरिन्थी २:१२) परमेश्‍वर, उहाँको उद्देश्‍य र हाम्रो भविष्यबारे साधारणतया सोधिने महत्त्वपूर्ण प्रश्‍नहरूको बाइबलले कस्तो जवाफ दिन्छ, तपाईँ आफैले जाँचेर हेर्नुभए कसो होला? केही प्रश्‍नको जवाफ पाउन www.pr418.com/ne मा “बाइबलको शिक्षा > बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ” अन्तर्गत हेर्नुहोस्‌। साथै बाइबल अध्ययन गर्न तपाईँले त्यही वेबसाइटमा अनलाइन फाराम भर्न वा एक जना यहोवाको साक्षीलाई आग्रह गर्न सक्नुहुन्छ। यसो गर्नुभयो भने परमेश्‍वरलाई प्रेम गर्न तपाईँलाई निकै सजिलो लाग्नेछ भन्‍ने कुरामा हामी ढुक्क छौँ।