सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मसीही राज्यको १०० वर्ष—यसले तपाईंको लागि कस्तो अर्थ राख्छ?

मसीही राज्यको १०० वर्ष—यसले तपाईंको लागि कस्तो अर्थ राख्छ?

‘हे युगयुगका महाराजा यहोवा, तपाईंका कामहरू महान्‌ अनि अचम्मलाग्दा छन्‌।’—प्रका. १५:३.

१, २. परमेश्वरको राज्यले के गर्नेछ? परमेश्वरको राज्य आउनेछ भनेर हामी किन पक्का हुन सक्छौं?

इस्वी संवत्‌ ३१ को वसन्त ऋतुमा येशूले कफर्नहुम सहर नजिकैको डाँडामा चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्।” (मत्ती ६:१०) तर आज थुप्रैले परमेश्वरको राज्य आउँछ कि आउँदैन भनेर शङ्का गर्छन्‌। तैपनि राज्य आओस् भनेर हामीले गरेको प्रार्थनाको जवाफ परमेश्वरले दिनुहुनेछ भनी पक्का हुन सक्छौं।

यहोवाले यस राज्यद्वारा स्वर्ग र पृथ्वीको आफ्नो परिवारलाई एकतामा बाँध्नुहुनेछ। यहोवाको उद्देश्य अवश्य पूरा हुनेछ। (यशै. ५५:१०, ११) बितेका १०० वर्षभित्रका रोचक घटनाहरूले यहोवा अहिले हाम्रो समयमा पनि राजा हुनुहुन्छ र आफ्ना लाखौं सेवकहरूका लागि थुप्रै राम्रा काम गर्दै हुनुहुन्छ भनेर देखाउँछ। (जक. १४:९; प्रका. १५:३) तर यहोवा राजा हुनु र येशूले प्रार्थना गर्न सिकाउनुभएको राज्य आउनु फरक-फरक कुरा हो। यी दुई घटना कसरी फरक छन्‌ र यसले हाम्रो लागि कस्तो अर्थ राख्छ?

मसीही राजा कदम चाल्नुहुन्छ

३. (क) येशू कहिले र कहाँ राजा हुनुभयो? (ख) येशूले १९१४ मा शासन गर्न थाल्नुभयो भनेर तपाईं कसरी प्रमाणित गर्नुहुन्छ? (फुटनोट हेर्नुहोस्)

लगभग २,५०० वर्षअघि दानियलले गरेको यस भविष्यवाणीको अर्थ १९ औं शताब्दीको अन्ततिर स्पष्ट हुन थाल्यो: “ती राजाहरूका समयमा  स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन।” (दानि. २:४४) सन्‌ १९१४ विशेष हुनेछ भनेर बाइबल स्टुडेन्ट्सले वर्षौंसम्म प्रचार गरे। त्यतिबेला मानिसहरू निकै आशावादी थिए। एक जना लेखकले यसो भने: “१९१४ को संसार आशा र प्रतिज्ञाले भरिपूर्ण थियो।” तर त्यही वर्ष प्रथम विश्वयुद्ध हुँदा, बाइबल भविष्यवाणी पूरा भयो। अनिकाल, भूकम्प र महामारीसम्बन्धी गरिएका भविष्यवाणीलगायत अन्य भविष्यवाणीको पूर्तिले १९१४ मा येशू ख्रीष्टले परमेश्वरको राज्यको राजाको रूपमा शासन गर्न थाल्नुभयो भनेर प्रमाणित गऱ्यो। * आफ्नो छोरालाई मसीही राज्यको राजा बनाएर यहोवा नयाँ अर्थमा राजा हुनुभयो।

४. राजा हुनेबित्तिकै येशू ख्रीष्टले के गर्नुभयो? त्यसपछि उहाँले के गर्न थाल्नुभयो?

राजा हुनेबित्तिकै येशू ख्रीष्टले आफ्नो बुबाको शत्रु सैतानसित युद्ध गर्नुभयो। येशू र उहाँका स्वर्गदूतहरूले सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई स्वर्गबाट फालिदिनुभयो। स्वर्गमा रमाहट भयो तर पृथ्वीमा भने पहिला कहिल्यै नभएको दुःखकष्ट सुरु भयो। (प्रकाश १२:७-९, १२ पढ्नुहोस्) त्यसपछि पृथ्वीका आफ्ना प्रजाले परमेश्वरको इच्छा पूरा गर्न सकोस् भनेर राजाले उनीहरूलाई शुद्ध पार्न, शिक्षा दिन र व्यवस्थित गर्न थाल्नुभयो। यी तीन क्षेत्रमा येशूले दिएको निर्देशन उनीहरूले राम्ररी पालन गरे। यो हाम्रो लागि कसरी राम्रो उदाहरण साबित भएको छ, विचार गरौं।

मसीही राजा आफ्ना वफादार प्रजालाई शुद्ध पार्नुहुन्छ

५. सन्‌ १९१४ देखि १९१९ को सुरुसम्म कस्तो काम गरियो?

सैतान र दुष्ट स्वर्गदूतहरूलाई पृथ्वीमा फालेर स्वर्ग सफा पारेपछि यहोवाले येशूलाई पृथ्वीका प्रजालाई निरीक्षण गर्न र शुद्ध पार्न लगाउनुभयो। भविष्यवक्ता मलाकीले यसलाई खार्ने र शुद्ध पार्ने काम भनेका छन्‌। (मला. ३:१-३) इतिहासको पाना पल्टाएर हेर्दा यो शुद्ध पार्ने काम १९१४ देखि १९१९ को सुरुसम्म चल्यो भनेर थाह पाउँछौं। * यहोवाको विशाल परिवारको भाग बन्न चाहन्छौं भने हामी पवित्र हुनै पर्छ। (१ पत्रु. १:१५, १६) झूटो धर्म वा राजनीतिले हाम्रो उपासनालाई बिटुलो पार्न दिनु पटक्कै हुँदैन।

६. आध्यात्मिक भोजन कसरी प्रबन्ध गरिन्छ र यो भोजन किन महत्त्वपूर्ण छ?

त्यसपछि राजा येशूले आफ्नो अख्तियार प्रयोग गर्दै “विश्वासी र बुद्धिमान्‌ दास” नियुक्त गर्नुभयो। यस दासले येशूको रेखदेखमा पर्ने “एउटै बगालको” सबैका लागि नियमित रूपमा आध्यात्मिक भोजन प्रबन्ध गर्नेथियो। (मत्ती २४:४५-४७; यूह. १०:१६) सन्‌ १९१९ देखि अभिषिक्त भाइहरूको सानो समूहले “घरका अरू दासहरूलाई” भोजन दिने महत्त्वपूर्ण जिम्मेवारी वफादार भई पूरा गरिरहेको छ। हामी विश्वासमा बढ्दै जाओस् भनेर विश्वासी र बुद्धिमान्‌ दासले प्रशस्त मात्रामा आध्यात्मिक भोजनको प्रबन्ध गर्छ। यसले हाम्रो उपासना, सोचाइ र कामका साथै शरीरलाई परमेश्वरको स्तरअनुसार सफा राख्ने हाम्रो सङ्कल्प अझै बलियो बनाउँछ। यस्तो भोजनले हामीलाई सबैभन्दा महत्त्वपूर्ण काम अर्थात्‌ प्रचारकार्यको लागि तयार हुन मदत गर्छ र आवश्यक शिक्षा दिन्छ। के तपाईं नियमित रूपमा आध्यात्मिक भोजन लिनुहुन्छ?

राजा आफ्नो प्रजालाई विश्वभरि प्रचार गर्न सिकाउनुहुन्छ

७. पृथ्वीमा छँदा येशूले कुन महत्त्वपूर्ण काम सुरु गर्नुभयो? यो काम कहिलेसम्म चलिरहनेथियो?

पृथ्वीमा सेवाको काम सुरु गर्दा येशूले यसो भन्नुभयो: “मैले अरू सहरहरूमा पनि परमेश्वरको राज्यको सुसमाचार सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४३) येशूले साढे तीन वर्षसम्म सेवाको कामलाई नै सबैभन्दा महत्त्वपूर्ण ठान्नुभयो। उहाँले चेलाहरूलाई  यसो भन्नुभयो: “जाओ र यसो भन्दै प्रचार गर: ‘स्वर्गको राज्य नजिकै आएको छ।’” (मत्ती १०:७) चेलाहरूले यो सन्देश “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” फैलाउनेछन्‌ भनेर पुनर्जीवित भएपछि येशूले भविष्यवाणी गर्नुभयो। (प्रेषि. १:८) युगको आखिरी समयसम्म चेलाहरूलाई यस महत्त्वपूर्ण काममा साथ दिने प्रतिज्ञा पनि उहाँले गर्नुभयो।—मत्ती २८:१९, २०.

८. राजाले प्रजालाई राज्यको सुसमाचार प्रचार गर्न कसरी जुरमुऱ्याउनुभयो?

सन्‌ १९१९ सम्ममा “राज्यको यो सुसमाचार”-को थप पक्ष पनि स्पष्ट भयो। (मत्ती २४:१४) राजाले स्वर्गमा राज्य गर्दै हुनुहुन्थ्यो र पृथ्वीमा भने शुद्ध पारिएको प्रजा जम्मा गरिसक्नुभएको थियो। येशूले चेलाहरूलाई परमेश्वरको राज्यले स्वर्गमा शासन सुरु गरिसक्यो भन्ने सुसमाचार पृथ्वीभरि फैलाउने आदेश दिनुभएको थियो। अनि जम्मा गरिएको त्यस प्रजाले येशूको सुस्पष्ट आदेश उत्सुक भएर पालन गऱ्यो। (प्रेषि. १०:४२) जस्तै, सेप्टेम्बर १९२२ मा अमेरिकाको सिडार प्वाइन्ट, ओहायोमा आयोजित अन्तरराष्ट्रिय अधिवेशनमा राज्यका लगभग २० हजार समर्थक भेला भए। भाइ रदरफोर्डले परमेश्वरको राज्यबारे भाषण दिंदा र यस्तो घोषणा गर्दा तिनीहरू जुरमुरिएको हुनुपर्छ: “हाम्रो राजाले शासन गर्न थालिसक्नुभएको छ! अनि तपाईंहरू उहाँको प्रचार-प्रसार गर्ने माध्यम हुनुहुन्छ। त्यसकारण राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्, विज्ञापन गर्नुहोस्, विज्ञापन गर्नुहोस्।” भोलिपल्टको विशेष क्षेत्र सेवामा अधिवेशनमा आएका २ हजारले भाग लिए। कोही-कोही त अधिवेशन भएको ठाउँबाट ७२ किलोमिटर परसम्म प्रचार गर्न गए। एक जना भाइले यसो भने: “राज्यको विज्ञापन गर्न दिइएको निम्तो र भेला भएका मानिसहरूको जोस म कहिल्यै बिर्सन सक्दिनँ।” अरू थुप्रैले पनि त्यस्तै महसुस गरे।

९, १०. (क) राज्य प्रचारकहरूलाई तालिम दिन कस्ता प्रबन्धहरू गरिएका छन्‌? (ख) यस्तो तालिमबाट तपाईंले कस्तो लाभ उठाउनुभएको छ?

सन्‌ १९२२ सम्ममा १७ हजारभन्दा धेरै प्रकाशकले विश्वभरि ५८ देशमा प्रचार गरिरहेका थिए। तर तिनीहरूलाई तालिम चाहिन्थ्यो। नियुक्त राजाले प्रथम शताब्दीमा चेलाहरूलाई केबारे प्रचार गर्ने, कहाँ प्रचार गर्ने अनि कसरी प्रचार गर्ने स्पष्ट निर्देशन दिनुभयो। (मत्ती १०:५-७; लूका ९:१-६; १०:१-११) आज पनि राज्य प्रचारकहरूले प्रभावकारी शिक्षक बन्न आवश्यक निर्देशन र साधन पाएको येशू चाहनुहुन्छ। (२ तिमो. ३:१७) चेलाहरूलाई प्रचारकार्यको लागि तालिम दिन येशूले ख्रीष्टियन मण्डली प्रयोग गर्दै हुनुहुन्छ। तालिम दिने एउटा माध्यम हो, ईश्वरतान्त्रिक सेवा स्कूल। अहिले विश्वभरका १ लाख ११ हजारभन्दा धेरै मण्डलीमा यो स्कूल सञ्चालन गरिन्छ। यस स्कूलले ७० लाखभन्दा धेरै प्रचारकलाई “सबै किसिमका मानिसहरू”-लाई मदत पुग्ने तरिकामा प्रचार गर्न र सिकाउन तालिम दिइरहेको छ।१ कोरिन्थी ९:२०-२३ पढ्नुहोस्।

 १० मण्डलीका एल्डरहरू, अग्रगामीहरू, अविवाहित भाइहरू, ख्रीष्टियन दम्पतीहरू, शाखा समिति सदस्य र उनीहरूका श्रीमतीहरू, परिभ्रमण निरीक्षक र उनीहरूका श्रीमतीहरू अनि मिसनरीहरूलाई प्रशिक्षण दिने बाइबल स्कूलहरू पनि छन्‌। * ख्रीष्टियन दम्पतीहरूका लागि बाइबल स्कूलका विद्यार्थीहरूले आफ्नो कृतज्ञता यसरी व्यक्त गरे: “हामीले पाएको विशेष तालिमले यहोवाप्रतिको हाम्रो प्रेम अझै बलियो बनाएको छ र अरूलाई मदत गर्न अझै सुसज्जित बनाएको छ।”

११. सैतानले आक्रमण गरे तापनि राज्य प्रचारकहरूले प्रचार गरिरहन सक्नुको कारण के हो?

११ सुसमाचार प्रचार गर्न र सिकाउन गरिएको हरेक प्रयासलाई सैतानले याद गरिरहेको छ। सैतान हामीले प्रचार गर्न छोडेको चाहन्छ। त्यसकारण सुसमाचारको प्रचारमा भाँजो हाल्न र प्रचार गर्नेहरूलाई रोक्न त्यसले भएभरको बल लगाउँछ। तर त्यसको प्रयास व्यर्थ हुनेछ। यहोवाले आफ्नो छोरालाई “सबै सरकार, अख्तियार, शक्ति, प्रभुत्व अनि नामहरूभन्दा धेरै माथि” राख्नुभएको छ। (एफि. १:२०-२२) बुबाको इच्छा पूरा होस् भनेर येशू आफ्नो प्रजालाई सुरक्षा र निर्देशन दिन राजाको रूपमा पाएको अख्तियार प्रयोग गर्नुहुन्छ। * सुसमाचार प्रचार भइरहेको छ र लाखौं इमानदार मानिसले परमेश्वरको उपासना गर्न सिकिरहेका छन्‌। यस विशेष काममा भाग लिन पाउनु हाम्रो लागि ठूलो सम्मान हो।

राजा आफ्नो प्रजालाई थप काम गर्न व्यवस्थित गर्नुहुन्छ

१२. सन्‌ १९१४ देखि परमेश्वरका सेवकहरू कसरी अझै व्यवस्थित भएका छन्‌?

१२ येशूले १९१४ मा शासन सुरु गरेदेखि यता बुबाको इच्छा पूरा गर्नेहरूलाई व्यवस्थित पार्ने सन्दर्भमा थप छाँटकाँट गर्नुभएको छ। (यशैया ६०:१७ पढ्नुहोस्) प्रचारकार्यको नेतृत्व लिन १९१९ मा प्रत्येक मण्डलीमा सेवा निर्देशक नियुक्त गरियो। सन्‌ १९२७ देखि मण्डलीहरूले हरेक आइतबार घरघरको प्रचारकार्य सुरु गरे। सन्‌ १९३१ मा परमेश्वरका सेवकहरूले यहोवाका साक्षीहरू भन्ने नाम बहन गरे र उनीहरू अझ विस्तृत तवरमा सुसमाचार सुनाउन उत्प्रेरित भए। (यशै. ४३:१०-१२) मण्डलीमा नेतृत्व लिने भाइहरू पहिले चुनावी प्रक्रियाद्वारा छानिन्थे। तर १९३८ देखि भने नेतृत्व लिन चाहनेहरूले बाइबलमा तोकिएका आवश्यकता पूरा गर्नुपर्ने भयो। पहिले-पहिले एक जनाले मात्र मण्डलीको रेखदेख गर्थ्यो। तर १९७२ देखि एल्डरहरूको निकायले यो जिम्मेवारी सम्हाल्न थाल्यो। एल्डर तथा सहायक सेवक हुन योग्य भाइहरूलाई मण्डलीमा बगालको हेरविचार गर्ने इच्छा देखाउन प्रोत्साहन दिइयो। (१ पत्रु. ५:२) विश्वव्यापी प्रचारकार्यको सुपरिवेक्षण गर्न १९७६ मा परिचालक निकायको छवटा  समिति गठन गरियो। त्यसबेलादेखि येशूले आफ्नो प्रजालाई परमेश्वरको इच्छा पूरा गर्न व्यवस्थित गर्दै हुनुहुन्छ।

१३. मसीही राजाले आफ्नो शासनको दौडान हासिल गरेका उपलब्धिले तपाईंको लागि कस्तो अर्थ राखेको छ?

१३ मसीही राजाले १०० वर्षभित्र हासिल गर्नुभएका उपलब्धिहरूबारे सोच्नुहोस्। यहोवाको प्रतिनिधित्व गर्न सकोस् भनेर उहाँले एउटा समूहलाई शुद्ध पार्नुभएको छ। लाखौंलाई यहोवाको उपासना गर्न सिकाउनुभएको छ र २३९ देश तथा टापुमा भइरहेको प्रचारकार्यमा नेतृत्व लिनुभएको छ। परमेश्वरको इच्छा गर्न समर्पित ७० लाखभन्दा धेरै प्रजालाई एकतामा बाँध्नुभएको छ। (भज. ११०:३) हो, यहोवाले मसीही राज्यमार्फत उदेकलाग्दा काम गरिरहनुभएको छ। तर भविष्यमा अझ धेरै उदेकलाग्दा काम गर्नुहुनेछ।

मसीही राज्यले ल्याउने भावी आशिष्‌

१४. (क) “तपाईंको राज्य आओस्” भनेर प्रार्थना गर्दा यहोवालाई के आग्रह गरिरहेका हुन्छौं? (ख) सन्‌ २०१४ को वार्षिक पद के हो र यो किन उपयुक्त छ?

१४ हुन त १९१४ मा यहोवाले आफ्नो छोरा येशू ख्रीष्टलाई सिंहासनमा बसाल्नुभयो। तैपनि त्यो “तपाईंको राज्य आओस्” भनेर हामीले गरेको प्रार्थनाको पूरा जवाफ थिएन। (मत्ती ६:१०) येशूले ‘शत्रुहरूबीच राज्य गर्नुहुनेछ’ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (भज. ११०:२) सैतानको अधीनमा रहेको मानव सरकारले परमेश्वरको राज्यको विरोध गर्न छोडेको छैन। परमेश्वरलाई “तपाईंको राज्य आओस्” भनेर प्रार्थना गर्दा मसीही राजा र उहाँका सह-शासकहरूले परमेश्वरको राज्यको विरोध गर्ने मानव शासक तथा अरू मानिसलाई हटाओस् भनेर आग्रह गरिरहेका हुन्छौं। हामीले गरेको यस प्रार्थनाको जवाफ पाउँदा दानियल २:४४ मा गरिएको भविष्यवाणी पूरा हुनेछ। त्यस पदमा बताइएअनुसार परमेश्वरको राज्यले “यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ।” परमेश्वरको राज्यले त्यसको विरोध गर्ने सरकारहरूलाई नाश गर्नेछ। (प्रका. ६:१, २; १३:१-१८; १९:११-२१) यो घटना हुने समय एकदमै नजिक भएकोले २०१४ को वार्षिक पद मत्ती ६:१० बाट लिइनु साह्रै उपयुक्त छ। त्यहाँ यस्तो लेखिएको छ: “तपाईंको राज्य आओस्।” येशूले स्वर्गमा शासन गर्न थालेको अहिले १०० वर्ष पुग्यो!

सन्‌ २०१४ को वार्षिक पद: “तपाईंको राज्य आओस्।”—मत्ती ६:१०

१५, १६. (क) ख्रीष्टको हजार वर्षीय राज्यको दौडान कस्ता घटनाहरू हुनेछन्‌? (ख) मसीही राजाको रूपमा येशूले गर्ने अन्तिम काम के हो? परमेश्वरको उद्देश्यमा यसले कस्तो अर्थ राख्नेछ?

१५ मसीही राजाले परमेश्वरका शत्रुहरूलाई नाश गरेपछि सैतान र त्यसका दूतहरूलाई हजार वर्षको लागि अगाध खाडलमा फालिदिनुहुनेछ। (प्रका. २०:१-३) सैतानको दुष्ट प्रभाव नरहने भएकोले परमेश्वरको राज्यले मानिसहरूलाई येशूको फिरौतीको बलिदानबाट लाभ उठाउन मदत गर्नेछ र आदमको पापले गर्दा भएका असरलाई पनि हटाउनेछ। राजाले लाखौंलाई पुनर्जीवित पार्नुहुनेछ र तिनीहरूलाई यहोवाबारे सिकाउन विश्वव्यापी शैक्षिक कार्यक्रम सुरु गर्नुहुनेछ। (प्रका. २०:१२, १३) पूरै पृथ्वी अदनको बगैंचाजस्तै सुन्दर हुनेछ र सबै वफादार मानिस त्रुटिरहित हुनेछन्‌।

१६ ख्रीष्टको हजार वर्षीय राज्यपछि पृथ्वीको लागि परमेश्वरको उद्देश्य पूरा भइसकेको हुनेछ। त्यसपछि येशूले बुबालाई राज्य सुम्पनुहुनेछ। (१ कोरिन्थी १५:२४-२८ पढ्नुहोस्) यहोवा र हामीबीच मध्यस्थकर्ता आवश्यक पर्नेछैन। स्वर्गका छोराहरू र पृथ्वीका छोराछोरीहरू यहोवासित एक हुनेछन्‌। यसरी उनीहरू यहोवाको विशाल परिवारको सदस्य हुनेछन्‌।

१७. राज्यको लागि तपाईं के गर्न दृढ हुनुहुन्छ?

१७ राज्य शासन सुरु भएको १०० वर्षभित्र भएका रोमाञ्चकारी घटनाहरूले अझै पनि सबै कुरामाथि यहोवाकै अधिकार छ र पृथ्वीको लागि उहाँको उद्देश्य अवश्य पूरा हुनेछ भनेर देखाउँछ। त्यसैले वफादार भई यहोवाको सेवा गरिरहौं र राजा अनि राज्यको विज्ञापन गरिरहौं। “तपाईंको राज्य आओस्” भनेर हामीले गरेको प्रार्थनाको जवाफ यहोवाले पक्कै दिनुहुनेछ।

^ अनु. 10 सेप्टेम्बर १५, २०१२ को प्रहरीधरहरा, पृष्ठ १३-१७ मा भएको “ईश्वरतान्त्रिक स्कूलहरू—यहोवाको प्रेमको प्रमाण” भन्ने लेख हेर्नुहोस्।

^ अनु. 11 विभिन्न देशका साक्षीहरूले जितेका मुद्दाबारे थाह पाउन डिसेम्बर १, १९९८ को प्रहरीधरहरा, पृष्ठ १९-२२ हेर्नुहोस्।