सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

महिमित राजा ख्रीष्टको जयजयकार गर्नुहोस्!

महिमित राजा ख्रीष्टको जयजयकार गर्नुहोस्!

“तिम्रो महामहिमामा सफलतासाथ सवारी गर।”—भज. ४५:४.

१, २. भजन अध्याय ४५ लाई किन जाँच्नुपर्छ?

महिमित राजा सत्यता र धार्मिकताको निम्ति सवारी गर्नुहुन्छ र आफ्ना शत्रुहरूलाई पराजित गर्न अघि बढ्नुहुन्छ। तिनीहरूमाथि अन्तिम विजय हासिल गरेपछि उहाँ सुन्दरी दुलहीसित विवाह गर्नुहुन्छ। यी राजाको सम्झना र प्रशंसा पुस्तौंसम्म गरिन्छ। भजन अध्याय ४५ मा यी नै घटनाबारे व्याख्या गरिएको छ।

तर भजन अध्याय ४५ सुखद अन्त्य भएको रोचक कथा मात्र होइन। यहाँ बताइएको घटनाले हाम्रो लागि अर्थ राख्छ। यी घटनाहरूले हामीलाई अहिले र भविष्यमा समेत असर गर्छ। त्यसैले आउनुहोस्, यस भजनलाई ध्यानपूर्वक जाँचौं।

“मेरो हृदयमा एक असल कुरा भरिएर पोखिन्छ”

३, ४. (क) भजनरचयिताले लेखेको “असल कुरा” केसम्बन्धी हो र यसले हाम्रो हृदयलाई कस्तो असर गर्छ? (ख) हामी “राजाको विषयमा” कुन समाचार सुनाउँछौं? हाम्रो जिब्रो कसरी “सिपालु लेखकको कलमजस्तै” हुन्छ?

भजन ४५:१ पढ्नुहोस्। यी भजनरचयिताको हृदयमा ‘भरिएर पोखिएको’ “असल कुरा” एक जना राजासम्बन्धी समाचार हो। यो समाचार सुन्दा यी भजनरचयिता यत्ति रमाए, तिनको हृदय उत्साहले भरिएर पोखिएसरह भयो। तिनको जिब्रो पनि “सिपालु लेखकको कलमजस्तै” भयो।

 हामीबारे चाहिं के भन्न सकिन्छ? मसीही राज्यसम्बन्धी समाचारले हाम्रो हृदय छुन्छ। विशेषगरि सन्‌ १९१४ देखि राज्यसम्बन्धी समाचार “असल” भयो। किन? किनकि त्यसदेखि यता यो समाचार भविष्यको राज्यबारे रहेन; बरु अहिले स्वर्गमा शासन गरिरहेको एउटा वास्तविक राज्यको समाचार हुन पुगेको छ। यो समाचार ‘सबै जातिलाई साक्षी दिनका लागि सारा पृथ्वीभरि’ प्रचार भइरहेको ‘राज्यको सुसमाचार’ हो। (मत्ती २४:१४) के यो सन्देश हाम्रो हृदयमा ‘भरिएर पोखिएको’ छ? के हामी जोसिलो हुँदै राज्यको सुसमाचार प्रचार गर्छौं? भजनरचयिताजस्तै हामी पनि “राजाको विषयमा” अर्थात्‌ राजा येशू ख्रीष्टको विषयमा बोल्छौं। येशू अहिले मसीही राज्यको राजाको रूपमा स्वर्गमा शासन गर्दै हुनुहुन्छ भनेर प्रचार गर्छौं। सबैलाई, यस संसारका शासकहरूलाई समेत येशूको राज्यको अधीनमा बस्न आग्रह गर्छौं। (भज. २:१, २, ४-१२) अनि प्रचारकार्यमा बाइबल प्रयोग गर्दा हाम्रो जिब्रो “सिपालु लेखकको कलमजस्तै” हुन्छ।

राजा येशू ख्रीष्टसम्बन्धी सुसमाचार हामी आनन्दित भई सुनाउँछौं

‘राजाको ओठ अनुग्रहले भरपूर छ’

५. (क) येशू कुन अर्थमा “सुन्दर” हुनुहुन्थ्यो? (ख) कुन अर्थमा येशूको “ओठ अनुग्रहले भरपूर” भयो र हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं?

भजन ४५:२ पढ्नुहोस्। हुन त बाइबलले येशूको रूपबारे त्यति चर्चा गरेको छैन। तर त्रुटिरहित व्यक्ति भएकोले उहाँ पक्कै पनि “सुन्दर” हुनुहुन्थ्यो। यहोवाप्रतिको सत्यनिष्ठा र वफादारीले उहाँलाई साँचो अर्थमा सुन्दर बनाएको थियो। साथै, येशूले अनुग्रहले भरिएर राज्यको सुसमाचार प्रचार गर्नुभयो र मानिसहरूको मन छुने शब्दहरू प्रयोग गर्नुभयो। (लूका ४:२२; यूह. ७:४६) के हामी पनि प्रचारकार्यमा येशूको अनुकरण गर्ने प्रयास गर्छौं?—कल. ४:६.

६. यहोवाले येशूलाई कसरी “सदाको निम्ति” आशिष्‌ दिनुभयो?

येशूले यहोवाप्रति वफादारी र प्रेम देखाउनुभयो। त्यसकारण पृथ्वीमा येशूको सेवाको दौडान यहोवाले उहाँलाई आशिष्‌ दिनुभयो र बलिदानको रूपमा जीवन अर्पण गरेपछि पनि उहाँलाई इनाम दिनुभयो। प्रेषित पावलले येशूबारे यस्तो लेखे: “मानिसको रूपमा देखापरेपछि उहाँले आफूलाई नम्र बनाउनुभयो र मृत्युसम्मै आज्ञाकारी हुनुभयो; हो, यातनाको खम्बाको मृत्युसम्मै आज्ञाकारी हुनुभयो। यही कारणले गर्दा पनि परमेश्वरले उहाँलाई अझ उच्च पद दिनुभयो र दयालु भई अरू सबै नामहरूभन्दा उत्तम नाम दिनुभयो, ताकि स्वर्गमा भएका, पृथ्वीमा भएका र जमिनमुनि भएकाहरू हरेकले येशूको नाममा घुँडा टेकून्‌ अनि येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर हरेकले खुलेआम स्वीकारून्‌, जसद्वारा परमेश्वर, हाम्रा बुबाको महिमा हुनेछ।” (फिलि. २:८-११) अमर जीवनसहित पुनर्जीवित गरेर यहोवाले येशूलाई “सदाको निम्ति” आशिष्‌ दिनुभयो।—रोमी ६:९.

राजालाई उहाँका “साथीहरूभन्दा” महान्‌ बनाइन्छ

७. कुन-कुन तरिकामा येशूलाई उहाँका “साथीहरूभन्दा” बढ्ता गरेर अभिषेक गरियो?

भजन ४५:६, ७ पढ्नुहोस्। येशू असल कुरालाई प्रेम गर्नुहुन्थ्यो र यहोवाको अनादर हुने कुरालाई घृणा गर्नुहुन्थ्यो। त्यसैले यहोवाले उहाँलाई मसीही राज्यको राजाको रूपमा अभिषेक गर्नुभयो। येशूलाई उहाँका “साथीहरू” अर्थात्‌ दाऊदको वंशबाट आएका यहूदाका राजाहरूलाई भन्दा बढ्ता गरेर “हर्षको तेलले” अभिषेक  गरियो। कसरी? पहिलो, येशूलाई स्वयम् यहोवाले नै अभिषेक गर्नुभयो। दोस्रो, यहोवाले उहाँलाई राजा र प्रधान पुजारीको रूपमा अभिषेक गर्नुभयो। (भज. २:२; हिब्रू ५:५, ६) तेस्रो, येशूलाई तेलद्वारा होइन पवित्र शक्तिद्वारा अभिषेक गरियो। चौथो, उहाँ पृथ्वीबाट होइन, स्वर्गबाट शासन गर्नुहुन्छ।

८. येशूको शासन न्यायी हुन्छ भनेर किन ढुक्क हुन सक्छौं? उहाँसित शासन गर्ने अधिकार छ भनेर किन भन्न सक्छौं?

यहोवाले येशूलाई १९१४ मा मसीही राज्यको राजाको रूपमा सिंहासनमा बसाल्नुभयो। ‘उहाँको राज्यको राजदण्ड पक्षपातरहितको राजदण्ड हो।’ त्यसैले उहाँको शासन निष्पक्ष र न्यायी हुन्छ भनेर हामी ढुक्क हुन सक्छौं। यहोवाले नै येशूलाई राजा नियुक्त गर्नुभएकोले उहाँसित शासन गर्ने अधिकार छ। साथै, येशूको सिंहासन “सदासर्वदा” कायम रहन्छ। यहोवाले नियुक्त गर्नुभएको राजाको अधीनमा रहेर यहोवाको सेवा गर्न पाउनु हाम्रो लागि सम्मानको कुरा होइन र?

राजा ‘आफ्नो तरबार भिर्नुहुन्छ’

९, १०. (क) येशूले कहिले आफ्नो तरबार भिर्नुभयो र त्यसलाई कसरी तुरुन्तै प्रयोग गर्नुभयो? (ख) येशूले भविष्यमा पनि कसरी तरबार प्रयोग गर्नुहुनेछ?

भजन ४५:३ पढ्नुहोस्। राजा येशूलाई ‘कम्मरमा आफ्नो तरबार भिर्न’ यहोवा अह्राउनुहुन्छ। यसप्रकार परमेश्वरले उहाँको शासनको विरोध गर्नेहरूविरुद्ध युद्ध गर्ने अख्तियार येशूलाई दिनुहुन्छ। (भज. ११०:२) ख्रीष्ट कसैले जित्न नसक्ने योद्धा राजा हुनुहुन्छ। त्यसैले उहाँलाई “वीर” भनी सम्बोधन गरिएको छ। उहाँले १९१४ मा तरबार भिर्नुभयो। त्यतिबेला उहाँ सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूमाथि विजयी हुनुभयो र तिनीहरूलाई स्वर्गबाट पृथ्वीमा फालिदिनुभयो।—प्रका. १२:७-९.

१० त्यो उहाँको विजययात्राको सुरुवात मात्र थियो। उहाँले “आफ्नो विजययात्रा पूरा गर्न” बाँकी नै छ। (प्रका. ६:२) सैतानको संसारको हरेक तत्वमाथि यहोवाको न्यायदण्ड आउन बाँकी नै छ। अनि सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूको प्रभावलाई पनि हटाउनै पर्छ। सबैभन्दा पहिला, झूटो धर्मको विश्वसाम्राज्य महान्‌ बेबिलोनलाई हटाइनेछ। यस दुष्ट “वेश्यालाई” नाश गर्न यहोवाले राजनैतिक शासकहरू प्रयोग गर्नुहुनेछ। (प्रका. १७:१६, १७) त्यसपछि योद्धा राजाले सैतानको संसारको सबै सरकारलाई पूर्णतया हटाउनुहुनेछ। अनि “अगाध खाडलका दूत” पनि भनिने ख्रीष्टले सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई अगाध खाडलमा हुऱ्याउनुहुनेछ। यसप्रकार उहाँले आफ्नो विजययात्रा पूरा गर्नुहुनेछ। (प्रका. ९:१, ११; २०:१-३) यी रोचक घटनाहरूबारे भजन अध्याय ४५ मा कस्तो भविष्यवाणी गरिएको थियो, आउनुहोस् बुझौं।

राजा ‘सत्यताको निम्ति सवारी गर्नुहुन्छ’

११. ख्रीष्ट कसरी ‘सत्यताको निम्ति सवारी गर्नुहुन्छ’?

११ भजन ४५:४ पढ्नुहोस्। यी योद्धा राजा इलाका कब्जा गरेर मानिसहरूलाई आफ्नो दासत्वमा राख्न युद्ध लड्नुहुन्न। उहाँ असल उद्देश्य लिएर युद्ध लड्नुहुन्छ। उहाँ “सत्यता, नम्रता र धार्मिकताको निम्ति” सवारी गर्नुहुन्छ। सारा ब्रह्माण्डभरि शासन गर्ने अधिकार यहोवासित मात्र छ। हामीले पक्ष लिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण सत्य यो नै हो। सैतानले यहोवाको विरोध गरेर उहाँको शासन गर्ने अधिकारमाथि नै चुनौती खडा गऱ्यो। त्यसदेखि यता दुष्ट स्वर्गदूतहरू र मानवजातिले यो आधारभूत सत्यमाथि प्रश्न उठाएका छन्‌। नियुक्त राजाले शासन गर्ने अधिकार यहोवासित मात्र छ भनेर प्रमाणित गर्ने समय आएको छ।

१२. राजा कसरी ‘नम्रताको निम्ति’ सवारी गर्नुहुन्छ?

१२ यी राजा ‘नम्रताको निम्ति’ पनि सवारी गर्नुहुन्छ। नम्र हुने र आफ्नो बुबाप्रति आज्ञाकारी हुने सन्दर्भमा येशूले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। (यशै. ५०:४, ५; यूह. ५:१९) येशूका सबै वफादार प्रजाले उहाँको अनुकरण गर्नुपर्छ र  नम्र हुँदै हरेक क्षेत्रमा यहोवाको शासनको अधीनमा बस्नुपर्छ। यसो गर्नेहरू मात्र परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा बस्न पाउनेछन्‌।—जक. १४:१६, १७.

१३. ख्रीष्ट कसरी “धार्मिकताको निम्ति” सवारी गर्नुहुन्छ?

१३ ख्रीष्ट “धार्मिकताको निम्ति” पनि सवारी गर्नुहुन्छ। यो धार्मिकता सही र गलतसम्बन्धी यहोवाको स्तर हो। (रोमी ३:२१; व्यव. ३२:४) यशैयाले येशू ख्रीष्टबारे यस्तो भविष्यवाणी गरे: “राजाले न्यायोचित राज्य गर्नेछन्‌।” (यशै. ३२:१) येशूको शासनले “नयाँ आकाश” र “नयाँ पृथ्वी” ल्याउनेछ जहाँ “न्यायले बास गर्छ।” (२ पत्रु. ३:१३) नयाँ संसारमा बस्ने हरेकले सही र गलतसम्बन्धी यहोवाको स्तरअनुसार जीवन बिताउनुपर्नेछ।—यशै. ११:१-५.

राजा “भयानक काम” गर्नुहुन्छ

१४. ख्रीष्टको दाहिने हातले कस्तो “भयानक काम” गर्नेछ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

१४ भजनरचयिताले बताएअनुसार राजाले आफ्नो कम्मरमा तरबार भिर्नुभएको छ। (भज. ४५:३) त्यसपछि उहाँ त्यो तरबार आफ्नो दाहिने हातमा लिनुहुन्छ र प्रयोग गर्न थाल्नुहुन्छ। भजनरचयिताले येशूबारे यस्तो भविष्यवाणी गरे: “तिम्रो दाहिने हातले तिमीलाई भयानक काम सिकाउला।” (भज. ४५:४) आरमागेडोनमा सैतानको संसार नाश गर्न आउँदा येशू ख्रीष्टले आफ्ना शत्रुहरूविरुद्ध “भयानक काम” गर्नुहुनेछ। उहाँले सैतानको संसार कसरी नाश गर्नुहुनेछ, त्यो त हामीलाई थाह छैन। तर यो कुराचाहिं हामीलाई थाह छ, राजाको शासनको अधीनमा बस्न परमेश्वरले दिनुभएको चेतावनी नसुन्नेहरू राजाले चालेको कदम देखेर भयभीत हुनेछन्‌। (भजन २:११, १२ पढ्नुहोस्) अन्तको दिनबारे गरेको भविष्यवाणीमा येशूले यसो भन्नुभयो: “पृथ्वीमाथि आइपर्ने कुराहरूको डर र आशङ्काले गर्दा मानिसहरू मूर्च्छा पर्नेछन्‌, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्‌।” उहाँले थप यसो पनि भन्नुभयो: “तब तिनीहरूले मानिसको छोरालाई शक्ति र ठूलो गौरवसहित बादलमा आउँदै गरेको देख्नेछन्‌।”—लूका २१:२६, २७.

१५, १६. युद्धमा येशूको पछि-पछि लाग्ने “सेनाहरू” को हुनेछन्‌?

१५ परमेश्वरका शत्रुहरूलाई नाश गर्न राजा “शक्ति र ठूलो गौरवसहित” आउने विषयमा प्रकाशको पुस्तक यसो भन्छ: “मैले स्वर्ग उघ्रेको देखें अनि हेर, एउटा सेतो घोडा पनि देखें। त्यसमा सवार हुनेको नाम विश्वासी अनि सत्य रहेछ र तिनले परमेश्वरको स्तरबमोजिम न्याय गर्नुका साथै युद्ध गर्दा रहेछन्‌। साथै, तिनको पछि-पछि सेता घोडाहरू चढेर स्वर्गका सेनाहरू आइरहेका थिए अनि तिनीहरूले सेता, सफा मलमलको लुगा लगाएका थिए। राष्ट्रहरूलाई प्रहार गर्न तिनको मुखबाट लामो धारिलो तरबार निस्किरहेको थियो। तिनले फलामको डन्डाले तिनीहरूमाथि शासन गर्नेछन्‌ अनि सर्वशक्तिमान्‌ परमेश्वरको भयानक क्रोधको कोल पनि पेल्नेछन्‌।”—प्रका. १९:११, १४, १५.

१६ युद्धमा येशूको पछि-पछि लाग्ने स्वर्गका “सेनाहरू” को हुनेछन्‌? येशूले पहिलो पटक तरबार भिरेर सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई स्वर्गबाट धपाउँदा उहाँका “स्वर्गदूतहरूले” उहाँलाई साथ दिएका थिए। (प्रका. १२:७-९) त्यसैले आरमागेडोनको युद्धमा पनि पवित्र स्वर्गदूतहरूले ख्रीष्टलाई साथ दिनेछन्‌ भन्ने निष्कर्षमा पुग्नु तर्कसङ्गत छ। ख्रीष्टको सेनामा अरू पनि हुनेछन्‌ कि? येशूले आफ्ना अभिषिक्त भाइहरूसित यस्तो प्रतिज्ञा गर्नुभयो: “जसले विजय हासिल गर्छ र मैले अह्राएका कामहरू अन्तसम्म गरिरहन्छ, म उसलाई मानिसहरूमाथि शासन गर्ने अख्तियार दिनेछु। अनि उसले मानिसहरूमाथि फलामको डन्डाले शासन गर्नेछ र तिनीहरूलाई माटोका भाँडाहरूलाई जस्तै चकनाचुर पार्नेछ। मैले पनि आफ्नो बुबाबाट यही  अख्तियार पाएको छु।” (प्रका. २:२६, २७) त्यसैले स्वर्गमा इनाम पाइसकेका ख्रीष्टका अभिषिक्त भाइहरू पनि स्वर्गका सेनामा सम्मिलित हुनेछन्‌। येशूले राष्ट्रहरूलाई नाश गर्ने “भयानक काम” गर्दा अभिषिक्त ख्रीष्टियनहरू पनि उहाँसँगै हुनेछन्‌।

राजा आफ्नो विजययात्रा पूरा गर्नुहुन्छ

१७. (क) ख्रीष्ट सवार हुनुभएको सेतो घोडाले केलाई सङ्केत गर्छ? (ख) तरबार र धनुले केलाई बुझाउँछ?

१७ भजन ४५:५ पढ्नुहोस्। राजा सेतो घोडामा सवार हुनुहुन्छ। यो सेतो घोडाले यहोवाको नजरमा शुद्ध र न्यायी युद्धलाई सङ्केत गर्छ। (प्रका. ६:२; १९:११) राजाले तरबारको साथै एउटा धनु पनि बोक्नुभएको छ। हामी यस्तो लेखिएको पाउँछौं: “मैले एउटा सेतो घोडा देखें। त्यसमाथि सवार हुनेसित एउटा धनु थियो र तिनलाई एउटा मुकुट दिइयो अनि तिनी विजय गर्दै आफ्नो विजययात्रा पूरा गर्नलाई अघि बढे।” तरबार र धनु दुवैले शत्रुहरूलाई नाश गर्न ख्रीष्टले प्रयोग गर्नुहुने माध्यमलाई बुझाउँछ।

पृथ्वी सफा पार्न चराहरू प्रयोग गरिनेछ (अनुच्छेद १८ हेर्नुहोस्)

१८. ख्रीष्टले “काँड” हान्नुहुँदा के हुनेछ?

१८ भजनरचयिताले कवितात्मक शैलीमा राजाबारे यस्तो भविष्यवाणी गरे: “तिम्रा काँडहरू तीखा-तीखा छन्‌, राजाका शत्रुहरूका बीचमा ती हुनेछन्‌। मानिसहरू तिम्रो सामने घोप्टो पर्छन्‌।” युद्धमा मारिएकाहरूको लास पृथ्वीभरि छरपस्ट हुनेछ। यर्मियाले यस्तो भविष्यवाणी गरे: “त्यस दिन परमप्रभुले मार्नुभएकाहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म हुनेछन्‌।” (यर्मि. २५:३३) त्यसै घटनासम्बन्धी अर्को भविष्यवाणी यस्तो छ: “मैले सूर्यको अगाडि उभिरहेको एउटा स्वर्गदूतलाई पनि देखें अनि आकाशमा उड्ने सबै चराहरूलाई तिनले चर्को सोरमा कराएर यसो भने: ‘यहाँ आओ, परमेश्वरको ठूलो भोज खान भेला होओ। तिमीहरूले राजाहरूको मासु, सेनापतिहरूको मासु, ठूलाठालुहरूको मासु, घोडाहरूको मासु, घोडसवारहरूको मासु अनि के स्वतन्त्र, के दास, के साना, के ठूला, सबैको मासु खान पाउनेछौ।’”—प्रका. १९:१७, १८.

१९. ख्रीष्टले कसरी आफ्नो विजययात्रा पूरा गर्नुहुनेछ?

१९ सैतानको दुष्ट युग नाश गरेपछि ख्रीष्ट आफ्नो महिमामा ‘सफलतासाथ सवारी गर्नुहुनेछ।’ (भज. ४५:४) सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई एक हजार वर्षको लागि अगाध खाडलमा हुर्ऱ्याएपछि उहाँको विजययात्रा पूरा हुनेछ। (प्रका. २०:२, ३) सैतान र त्यसका दूतहरू मृत्युसरी अवस्थामा पुगेपछि पृथ्वीका मानिसहरू सैतानको प्रभावबाट मुक्त हुनेछन्‌। त्यसपछि तिनीहरू विजयी र महिमित राजाप्रति पूर्ण रूपमा वफादार हुन सक्नेछन्‌। पूरै पृथ्वी सुन्दर बगैंचामा परिणत हुनुअघि तिनीहरूले राजा र उहाँका सह-शासकहरूसितै रमाहट गर्न सक्ने अर्को कारण पनि पाउनेछन्‌। यस रोचक घटनाबारे अर्को लेखमा छलफल गरिनेछ।