सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा—हाम्रा प्रबन्धक र रक्षक

यहोवा—हाम्रा प्रबन्धक र रक्षक

“त्यसले मलाई प्रेम गरेको हुनाले, म त्यसलाई छुटाउनेछु। त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु।”—भज. ९१:१४, NRV.

१, २. हाम्रो पारिवारिक अवस्थाका साथै हामीले बाइबल सत्य सिकेको तरिका पनि कसरी फरक-फरक छ?

यहोवा परिवारको सुरुवातकर्ता हुनुहुन्छ। (एफि. ३:१४, १५) एउटै परिवारभित्र पनि परिवारका सदस्यहरूको व्यक्तित्व र परिस्थिति फरक-फरक हुन्छ। कतिपय आफ्ना आमाबुबाको रेखदेखमा हुर्केका हुन सक्छन्‌। कतिले भने रोग, दुर्घटना वा अन्य दुःखदायी घटनाले गर्दा आमाबुबा गुमाएका होलान्‌। कतिपयलाई त आफ्ना आमाबुबा को हुन्‌ भनेर समेत थाह छैन।

हामी यहोवाको विशाल परिवारको सदस्य हौं र हामीले फरक-फरक तरिकामा बाइबल सत्य सिक्यौं। तपाईंका आमाबुबाले तपाईंलाई सानैदेखि बाइबल सिद्धान्तअनुसार चल्न सिकाउनुभयो होला। (व्यव. ६:६, ७) अथवा हजारौं मानिसहरूले जस्तै तपाईंले पनि यहोवाका अन्य सेवकहरूमार्फत सत्य सिक्नुभयो होला।—रोमी १०:१३-१५; १ तिमो. २:३, ४.

३. हामीमा के-कस्ता कुरा समान छन्‌?

हाम्रो पृष्ठभूमि फरक-फरक भए तापनि हामीमा केही कुरा भने समान छन्‌। आदम यहोवाप्रति अनाज्ञाकारी भएकोले हामी जन्मजातै त्रुटिपूर्ण, पापी र मरणशील छौं। (रोमी ५:१२) तैपनि साँचो उपासक भएकोले यहोवालाई “हाम्रा बुबा” भन्न सक्छौं। पुरातन समयमा यहोवाले चुन्नुभएका मानिसहरूले  यसो भन्न सक्थे: “हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ।” (यशै. ६४:८) साथै येशूले पनि नमुना प्रार्थना यसरी सुरु गर्नुभयो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईंको नाम पवित्र पारियोस्।”—मत्ती ६:९.

४, ५. स्वर्गमा बस्नुहुने बुबा यहोवाप्रतिको कृतज्ञता बढाउन हामी कुन कुरा छलफल गर्नेछौं?

हाम्रा बुबा यहोवा साँचो उपासकहरूको विशाल परिवारलाई हेरचाह गर्नुहुन्छ र रक्षा गर्नुहुन्छ। यहोवाले यसो भन्नुभयो: “त्यसले मलाई प्रेम गरेको हुनाले, म त्यसलाई छुटाउनेछु। त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु।” (भज. ९१:१४, NRV) हो, यहोवा आफ्ना सेवकहरूलाई शत्रुहरूका हातदेखि छुटाउनुहुन्छ र रक्षा गर्नुहुन्छ। त्यसैले उनीहरू पूर्णतया नामेट पारिएका छैनन्‌।

स्वर्गमा बस्नुहुने बुबाप्रतिको कृतज्ञता बढाउन तीनवटा महत्त्वपूर्ण पक्ष विचार गरौं: (१) हाम्रा बुबा हाम्रो प्रबन्धक हुनुहुन्छ। (२) यहोवा हाम्रो रक्षक हुनुहुन्छ। (३) उहाँ हाम्रो सबैभन्दा असल मित्र हुनुहुन्छ। यी बुँदाहरू छलफल गर्दा परमेश्वरसितको हाम्रो सम्बन्ध कस्तो छ भनेर मनन गर्नु र बुबाको रूपमा कसरी उहाँको सम्मान गर्न सकिन्छ भनेर विचार गर्नु मदतकारी हुन्छ। साथै उहाँको नजिक हुनेहरूका लागि उहाँले साँचेर राख्नुभएका आशिष्‌हरूबारे विचार गर्नु पनि लाभदायी हुन्छ।—याकू. ४:८.

यहोवा महान्‌ प्रबन्धक

६. यहोवालाई किन “हरेक उत्तम उपहार”-का स्रोत भन्न सकिन्छ?

चेला याकूबले यस्तो लेखे: “हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाटै पाउँछौं, किनकि त्यो आकाशका ज्योतिहरूका बुबाबाट आउँछ।” (याकू. १:१७) हाम्रो जीवन यहोवाले दिनुभएको विशेष उपहार हो। (भज. ३६:९) यहोवाको इच्छाअनुसार जीवन बितायौं भने अहिल्यै प्रशस्त आशिष्‌ पाउनेछौं र भविष्यमा नयाँ संसारमा अनन्त जीवन। (हितो. १०:२२; २ पत्रु. ३:१३) तर हामी जन्मजातै त्रुटिपूर्ण, पापी र मरणशील भएकोले यो कसरी सम्भव छ?

७. यहोवाले उहाँसित नजिक हुने बाटो कसरी खोलिदिनुभएको छ?

यहोवा अन्य थुप्रै तरिकामा पनि महान्‌ प्रबन्धक हुनुहुन्छ। जस्तै, उहाँ असीम अनुग्रहले भरिपूर्ण भएकोले हामीलाई छुटकारा दिनुहुन्छ। आदमले गर्दा हामी सबै त्रुटिपूर्ण र पापी भएका छौं। (रोमी ३:२३) तर यहोवा हामीलाई प्रेम गर्नुहुन्छ। त्यसैले उहाँसित नजिक हुने बाटो खोलिदिनुभएको छ। प्रेषित यूहन्नाले यस्तो लेखे: “हाम्रो सन्दर्भमा परमेश्वरको प्रेम यसरी प्रकट भएको छ, कि उहाँले आफ्नो एक मात्र छोरा संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामीले जीवन पाउन सकौं। प्रेम यसैमा छ, कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, बरु उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापहरूको प्रायश्‍चितको बलिदानको रूपमा उहाँले आफ्नो छोरालाई पठाउनुभयो।”—१ यूह. ४:९, १०.

८, ९. अब्राहाम र इसहाकको समयमा यहोवा कसरी महान्‌ प्रबन्धक साबित हुनुभयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

येशू जन्मनुभन्दा लगभग १,९०० वर्षअघि अब्राहामको जीवनमा घटेको एउटा घटनाले आज्ञाकारी मानिसहरूलाई अनन्त जीवन दिन यहोवाले कस्तो मायालु प्रबन्ध गर्नुहुनेछ भनेर स्पष्ट पाऱ्यो। हिब्रू ११:१७-१९ मा यस्तो लेखिएको छ: “विश्वासैले गर्दा अब्राहामले आफ्नो परीक्षा हुँदा इसहाकलाई झन्डै बलि चढाइसकेका थिए, प्रतिज्ञाहरू खुसीसाथ स्वीकारेका यी मानिस आफ्नो एक मात्र छोरालाई बलि चढाउन ठिक्क परेका थिए। हुन त, तिनलाई यसो भनिएको थियो: ‘जसलाई “तिम्रो वंश” भनिनेछ, त्यो इसहाकमार्फत आउनेछ।’ तर पनि तिनलाई थाह थियो, परमेश्वरले इसहाकलाई मृत्युबाट समेत ब्यूँताउन सक्नुहुन्छ। अनि तिनले आफ्नो छोरालाई साँच्चै फिर्ता पाए, जुन पछि हुने कुराको नमुना थियो।” अब्राहाम आफ्नो छोरा इसहाकलाई बलि चढाउन इच्छुक भएजस्तै यहोवाले पनि मानवजातिलाई बचाउन आफ्नो छोरा येशू ख्रीष्ट दिनुभयो।यूहन्ना ३:१६, ३६ पढ्नुहोस्।

 आफ्नो जीवन बलिदान दिनु पर्दैन भनेर थाह पाउँदा इसहाकले कत्ति ढुक्क महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्। उनको सट्टामा यहोवाले भेडाको प्रबन्ध गरिदिंदा इसहाक उहाँप्रति पक्कै कृतज्ञ भए। (उत्प. २२:१०-१३) इसहाकलाई बलि चढाउन लागेको ठाउँको नाम अब्राहामले “यह्वेयिरे” राखे, जसको अर्थ हो ‘यहोवाले जुटाउनुहुन्छ।’—उत्प. २२:१४; फुटनोट।

परमेश्वरसित मिलाप गर्ने प्रबन्ध

१०, ११. “मिलापको सेवा” कसले पूरा गरेका छन्‌ र कसरी?

१० यहोवाले गर्नुभएको सबै प्रबन्धमा मनन गर्दा येशूको बलिदानविना परमेश्वरको मित्र बन्न सम्भव थिएन भनेर मानिलिन्छौं। पावलले लेखे: “हामी यस्तो निष्कर्षमा पुगेका छौं: सबैका लागि एक जना मानिस मर्नुभयो; भनौं भने, सबै जना मरेका थिए, अनि उहाँ सबैका लागि यसकारण मर्नुभयो कि बाँच्नेहरू अबउसो आफ्नो लागि होइन तर उहाँकै लागि बाँचून्‌, जो तिनीहरूका लागि मर्नुभयो र ब्यूँताइनुभयो।”—२ कोरि. ५:१४, १५.

११ प्रथम शताब्दीका ख्रीष्टियनहरू परमेश्वरलाई प्रेम गर्थे र उहाँको सेवा गर्ने सम्मान पाएकोमा कृतज्ञ थिए। त्यसकारण तिनीहरूले खुसीसाथ “मिलापको सेवा” स्वीकारे। तिनीहरूको प्रचारकार्य र चेला बनाउने कामले गर्दा राम्रो मन भएका थुप्रै मानिस यहोवासित मिलापमा आउन, उहाँको मित्र बन्न र पछि स्वर्गमा परमेश्वरका छोराहरू हुन सके। आज यहोवाका अभिषिक्त सेवकहरू त्यही सेवा पूरा गर्छन्‌। उनीहरू परमेश्वर र ख्रीष्टको राजदूतको रूपमा सेवा गर्छन्‌। उनीहरूको प्रचारकार्यले गर्दा इमानदार र नम्र मानिसहरू यहोवातर्फ खिचिएका छन्‌ र उहाँका सेवक भएका छन्‌।२ कोरिन्थी ५:१८-२० पढ्नुहोस्; यूह. ६:४४; प्रेषि. १३:४८.

१२, १३. यहोवाले गर्नुभएका सबै प्रबन्धप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौं?

१२ महान्‌ प्रबन्धक यहोवाप्रति कृतज्ञ भएकोले अरू भेडाका सदस्यहरू अभिषिक्त जनहरूलाई प्रचारकार्यमा साथ दिन्छन्‌। यस काममा हामी बाइबल प्रयोग गर्छौं। यो यहोवाले दिनुभएको अर्को विशेष उपहार हो। (२ तिमो. ३:१६, १७) प्रभावकारी तरिकामा बाइबल प्रयोग गर्दा अरूलाई अनन्त जीवन पाउने मौका दिइरहेका हुन्छौं। यो काम पूरा गर्न हामी प्रत्येक नै यहोवाको अर्को प्रबन्ध अर्थात्‌ पवित्र शक्तिमा भर पर्छौं। (जक. ४:६; लूका ११:१३) यहोवाका साक्षीहरूको वार्षिक पुस्तक-ले (अङ्ग्रेजी) देखाएझैं प्रचारकार्यको परिणाम साँच्चै चाखलाग्दो भएको छ। हाम्रा बुबा र प्रबन्धकको प्रशंसा गर्ने काममा भाग लिन पाउनु कत्ति ठूलो सम्मान!

१३ यहोवाले हाम्रो लागि थुप्रै प्रबन्ध गर्नुभएको छ। त्यसैले आफैलाई यसरी सोध्नुपर्छ: ‘यहोवाले गर्नुभएको सबै प्रबन्धप्रति कृतज्ञ भएको देखाउन के म प्रचारकार्यमा सक्दो गर्दै छु? म कसरी अझ प्रभावकारी प्रचारक हुन सक्छु?’ राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थानमा राखेर हामी यहोवाको प्रबन्धप्रति कृतज्ञ भएको देखाउन सक्छौं। यसो गऱ्यौं भने यहोवाले हाम्रा आवश्यकताहरू पूरा गरिदिनुहुनेछ। (मत्ती ६:२५-३३) यहोवा हामीलाई माया गर्नुहुन्छ, त्यसकारण उहाँको हृदयलाई आनन्दित तुल्याउन सकेजति गर्न चाहन्छौं।—हितो. २७:११.

१४. यहोवाले आफ्ना जनहरूलाई कसरी छुटकारा दिनुभएको छ?

१४ भजनरचयिता दाऊदले यसरी गाए: “म ता दु:खी र दरिद्र छु। तैपनि परमप्रभुले मेरो विचार राख्नुहुन्छ। तपाईं मेरा सहायक र छुटकारा दिने हुनुहुन्छ।” (भज. ४०:१७) यहोवाले आफ्ना जनहरूलाई सामूहिक रूपमा थुप्रै पटक छुटकारा दिनुभएको छ, विशेषगरि शत्रुहरूबाट खेदो र सतावट भोग्नुपर्दा। यस्तो परिस्थितिमा यहोवाले मदत दिनुभएकोमा र नियमित रूपमा आध्यात्मिक प्रबन्ध गरिदिनुभएकोमा हामी उहाँप्रति असाध्यै कृतज्ञ छौं।

 यहोवा हाम्रो रक्षा गर्नुहुन्छ

१५. मायालु बुबाले कसरी आफ्ना छोराछोरीको रक्षा गर्छन्‌, उदाहरण दिनुहोस्।

१५ मायालु बुबाले आफ्ना छोराछोरीको आवश्यकता मात्र पूरा गर्दैनन्‌, उनीहरूको रक्षा पनि गर्छन्‌। खतरामा पर्दा उनीहरूलाई जोगाउन झट्टै कदम चाल्छन्‌। एक जना भाइ आफू सानो छँदाको एउटा घटना सम्झन्छन्‌। एकदिन ती भाइ र तिनका बुबा प्रचारबाट घर फर्कंदै थिए। बाटोमा खोला तर्नुपर्थ्यो। त्यस बिहानी ठूलो पानी परेकोले खोलामा बाढी आएको थियो। एउटा ढुङ्गाबाट अर्को ढुङ्गामा फड्को मार्नुबाहेक खोला तर्ने अरू उपाय थिएन। ती भाइ आफ्नो बुबाको अघि-अघि जाँदै थिए। फड्को मार्ने क्रममा ती भाइ दुई पटक खोलामा खसे। बुबाले तिनलाई तुरुन्तै कुममा समाएर ताने र डुब्नबाट बचाए। ती भाइ बुबाप्रति निकै कृतज्ञ भए। स्वर्गमा बस्नुहुने हाम्रा बुबाले पनि हामीलाई यो दुष्ट संसार र यसको शासक सैतानबाट जोगाउनुहुन्छ। यहोवाले जत्तिको सुरक्षा अरू कसैले पनि दिन सक्दैन।—मत्ती ६:१३; १ यूह. ५:१९.

१६, १७. इस्राएलीहरूले अमालेकीहरूसित युद्ध गर्दा यहोवाले उनीहरूलाई कसरी मदत र सुरक्षा दिनुभयो?

१६ ईसापूर्व १५१३ मा यहोवाले आफ्ना मानिसहरूलाई मायालु तरिकामा रक्षा गर्नुभयो। उहाँले इस्राएलीहरूलाई दासत्वबाट छुटाउनुभएको थियो र लाल समुद्र तर्दा रक्षा गर्नुभएको थियो। उजाडस्थानको बाटो भएर सीनै पर्वततर्फ जाँदै गर्दा उनीहरू रपीदीममा आइपुगे।

१७ उत्पत्ति ३:१५ मा गरिएको भविष्यवाणी पूरा भइसकेको थिएन। त्यसकारण सैतान इस्राएलीहरूलाई आक्रमण गर्न आतुर थियो। उनीहरूले कसैको सुरक्षा नपाएको जस्तो देख्दा सैतानले उनीहरूलाई आक्रमण गर्न परमेश्वरका शत्रु अमालेकीहरूलाई प्रयोग गऱ्यो। (गन्ती २४:२०) आफ्ना मानिसहरूलाई जोगाउन यहोवाले यहोशू, मोशा, हारून र हूरलाई कसरी चलाउनुभयो? यहोशूले अमालेकीहरूसित युद्ध गरिरहेको बेला मोशा, हारून र  हूर नजिकैको डाँडाको टाकुरामा थिए। मोशाले आफ्नो हात उचालिराख्दा इस्राएलीहरू विजयी हुन्थे। मोशाको हात गलेपछि हारून र हूरले तिनको हात थामिराखे। यहोवाको मदत र सुरक्षा पाएकोले नै “यहोशूले अमालेक र तिनका मानिसहरूलाई” जिते। (प्रस्थ. १७:८-१३) मोशाले त्यहाँ एउटा वेदी बनाए र त्यसको नाम “यहवे-निस्सी” राखे, जसको अर्थ हो ‘यहोवा मेरो झन्डा।’ प्रस्थान १७:१४, १५ पढ्नुहोस्; फुटनोट।

सैतानका आक्रमणहरूदेखि सुरक्षित

१८, १९. हालैका वर्षहरूमा यहोवाले कसरी हाम्रो रक्षा गर्नुभएको छ?

१८ यहोवालाई प्रेम गर्नेहरूलाई र उहाँको आज्ञा मान्नेहरूलाई यहोवा रक्षा गर्नुहुन्छ। रपीदीममा आइपुग्दा इस्राएलीहरूले शत्रुहरूदेखि जोगिन यहोवाको बाटो हेरेजस्तै हामी पनि यहोवाको बाटो हेर्छौं। यहोवाले हामीलाई प्रायजसो सामूहिक रूपमा जोगाउनुभएको छ र सैतानका आक्रमणहरूदेखि सधैं जोगाउनुहुन्छ। जस्तै, ख्रीष्टियन तटस्थाको खातिर सताइएका भाइबहिनीलाई यहोवाले थुप्रै पटक रक्षा गर्नुभएको छ। सन्‌ १९३० को दशकमा र १९४० को दशकको सुरुतिर नाजी सरकारको शासनकालमा जर्मनी र अरू देशका हाम्रा भाइबहिनीले क्रूर सतावट भोग्नुपऱ्यो। वार्षिक पुस्तक र अन्य प्रकाशनमा ती भाइबहिनीको जीवनी र सतावटको समयमा यहोवाले दिनुभएको सुरक्षासम्बन्धी विवरण छापिएका छन्‌। ती विवरण पढ्दा अनि मनन गर्दा यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ भन्ने कुरामा पक्का हुन सक्छौं।—भज. ९१:२.

सङ्गी विश्वासीहरू चलाएर यहोवा हामीलाई कठिन समयमा पनि वफादार रहन मदत गर्नुहुन्छ (अनुच्छेद १८-२० हेर्नुहोस्)

१९ सङ्गठन र बाइबलआधारित प्रकाशनहरूमार्फत मायालु सल्लाह दिएर पनि यहोवा हाम्रो रक्षा गर्नुहुन्छ। हालैका वर्षहरूमा त्यस्ता सल्लाहले कसरी हाम्रो रक्षा गरेको छ, विचार गरौं। यो संसार अश्‍लील सामग्री र दुराचारको दलदलमा फसदै गइरहेको छ। तर यहोवाले दिनुभएको सल्लाह अनि व्यावहारिक मदतले गर्दा हामी यस्तो खतरादेखि जोगिएका छौं। जस्तै, स्वर्गमा बस्नुहुने बुबाले हामीलाई सामाजिक संजालको दुरुपयोग गरेर खराब सङ्गतमा फस्नदेखि जोगिने सन्दर्भमा सल्लाह दिनुभएको छ। *१ कोरि. १५:३३.

२०. ख्रीष्टियन मण्डलीमार्फत कस्तो सुरक्षा र डोऱ्याइ पाउँछौं?

२० हामी साँच्चै नै ‘यहोवाबाट सिकाइँदै’ छौं भनेर कसरी देखाउन सक्छौं? होसियार भई उहाँका आज्ञाहरू पालन गरेर। (यशै. ५४:१३) हामी मण्डलीमार्फत सुरक्षा अनि डोऱ्याइ पाउँछौं। त्यहाँ एल्डरहरूले बाइबलआधारित निर्देशन र मदत दिन्छन्‌। (गला. ६:१) ‘वरदानको रूपमा दिइएका यी पुरुषहरूमार्फत’ यहोवा हाम्रो मायालु हेरविचार गर्नुहुन्छ। (एफि. ४:७, ८) त्यसोभए एल्डरहरूबाट सल्लाह पाउँदा हामीले के गर्नुपर्छ? ती सल्लाहहरू खुसीसाथ पालन गर्नुपर्छ। यसो गऱ्यौं भने यहोवाको आशिष्‌ पाउनेछौं।—हिब्रू १३:१७.

२१. (क) हामीले कस्तो अठोट गर्नुपर्छ? (ख) अर्को लेखमा के छलफल गर्नेछौं?

२१ मदतको लागि पवित्र शक्तिमा भर पर्ने र स्वर्गमा बस्नुहुने बुबाको डोऱ्याइ स्वीकार्ने अठोट गरौं। येशू ख्रीष्टको जीवनी मनन गर्नु र उहाँको अनुकरण गर्न सक्दो गर्नु पनि महत्त्वपूर्ण छ। “मृत्युसम्मै आज्ञाकारी” भएकोले उहाँले ठूलो इनाम पाउनुभयो। (फिलि. २:५-११) सारा मनले यहोवामा भरोसा गऱ्यौं भने हामीले पनि आशिष्‌ पाउनेछौं। (हितो. ३:५, ६) महान्‌ प्रबन्धक र रक्षक यहोवामा सधैं भरोसा गरौं। उहाँको सेवा गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान अनि आनन्दको कुरा हो। यहोवा हाम्रो सबैभन्दा असल मित्र पनि हुनुहुन्छ। तर कसरी? अर्को लेखमा यसबारे छलफल गर्नेछौं। यस प्रश्नको जवाफ पाउँदा यहोवाप्रतिको हाम्रो प्रेम झनै बलियो हुनेछ।

^ अनु. 19 अगस्त १५, २०११ को प्रहरीधरहरा, पृष्ठ ३-५ मा भएको “इन्टरनेट चलाउँदा बुद्धि चलाउनुहोस्” भन्ने लेख र अगस्त १५, २०१२ को प्रहरीधरहरा, पृष्ठ २०-२९ मा भएको “दियाबलका पासोहरूदेखि होसियार!” अनि “दृढ भई खडा हुनुहोस् र सैतानको पासोको प्रतिरोध गर्नुहोस्!” भन्ने लेखमा त्यस्ता सल्लाहहरू पाइन्छन्‌।