सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पारिवारिक उपासना—यसलाई अझ रमाइलो बनाउन सक्नुहुन्छ कि?

पारिवारिक उपासना—यसलाई अझ रमाइलो बनाउन सक्नुहुन्छ कि?

“हाम्रो पारिवारिक उपासनाको साँझ यत्ति रमाइलो हुन्छ, मैले नरोक्ने हो भने छलफल अबेरसम्म चलिरहन्छ” भनी ब्राजिलका एक बुबा बताउँछन्‌। जापानका एक बुबा उनको दस वर्षको छोरालाई पारिवारिक उपासनाको समय सिद्धिएको पत्तै नहुने र ऊ अझै अध्ययन गरिरहन चाहने कुरा बताउँछन्‌। यस्तो किन भएको? ती बुबा यसो भन्छन्‌: “ऊ आफै इच्छुक भएकोले उसलाई अध्ययन गर्न रमाइलो लाग्छ।”

सबै केटाकेटीलाई पारिवारिक उपासना रमाइलो लाग्छ भन्ने छैन। कसै-कसैलाई त झिजोसमेत लाग्छ। किन? टोगो भन्ने ठाउँका एक बुबा यसो भन्छन्‌: “यहोवाको उपासना दिक्कलाग्दो हुनुहुँदैन।” पारिवारिक उपासना दिक्कलाग्दो छ भने सञ्चालन गर्ने तरिका परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ। इस्राएलीहरूका लागि विश्राम दिन ‘हर्षको दिन’ भएझैं थुप्रै परिवारका लागि पारिवारिक उपासना रमाइलो समय भएको छ।—यशै. ५८:१३, १४.

पारिवारिक उपासनाको दौडान परिवारका सदस्यहरूले सजिलो महसुस गरिरहेका छन्‌ कि छैनन्‌ भनी ख्रीष्टियन बुबाहरूले पक्का गर्नुपर्छ। यसो गरेमा पारिवारिक उपासना अझ रमाइलो हुन्छ। तीन छोरी र एक छोराका बुबा राल्फ उनीहरूको पारिवारिक उपासना अध्ययनजस्तो नभई कुराकानीजस्तो हुन्छ भनी बताउँछन्‌। किन? किनकि छलफलमा सबैले भाग लिन्छन्‌। अध्ययनमा सबैको चासो जगाउन र सबैले भाग लिने वातावरण बनाइराख्न कहिलेकाहीं गाह्रो हुन सक्छ। एउटी आमा यसो भन्छिन्‌: “पारिवारिक उपासनालाई आफूले चाहेजस्तो रमाइलो बनाउन सधैं सजिलो हुँदैन।” पारिवारिक उपासनालाई अझ रमाइलो बनाउन सक्नुहुन्छ कि?

लचकता र विविधता

“हामी लचकदार हुनुपर्छ” भनी जर्मनीका दुई छोराछोरीका बुबा बताउँछन्‌। “हाम्रो पारिवारिक उपासनामा विविधता सबैभन्दा महत्त्वपूर्ण छ” भनी दुई छोरीका आमा नतालीया भन्छिन्‌। थुप्रै परिवार पारिवारिक  उपासनालाई विभिन्न भागमा विभाजन गर्छन्‌। ब्राजिलका दुई किशोर-किशोरीका बुबा क्लेइटन यसो भन्छन्‌: “यसो गर्दा अध्ययन रोचक हुन्छ र सबैले भाग लिन सक्छन्‌।” अध्ययनलाई विभिन्न भागमा विभाजन गर्दा अरू कस्तो फाइदा हुन्छ? छोराछोरीको उमेर धेरै फरक छ भने पनि आमाबुबाले प्रत्येकको आवश्यकतालाई ध्यान दिन सक्छन्‌। साथै कुन प्रकाशन अध्ययन गर्ने अनि कसरी अध्ययन गर्ने भनी विचार गर्न पनि आमाबुबालाई सजिलो हुन्छ।

केही परिवारले पारिवारिक उपासनामा विविधता ल्याउन के गरेका छन्‌? कुनै-कुनै परिवार राज्य गीत गाएर पारिवारिक उपासना सुरु गर्छन्‌। मेक्सिकोका क्वान यसो भन्छन्‌: “यसले पारिवारिक उपासना सुरु गर्न राम्रो वातावरण तयार पार्छ र अध्ययनको लागि मन तयार पार्छ।” उनीहरू पारिवारिक उपासनामा छलफल गरिने विषयसित मिल्ने राज्य गीत गाउँछन्‌।

श्रीलंका

थुप्रै परिवार बाइबलको कुनै भाग सँगै मिलेर पढ्छन्‌। अध्ययनमा विविधता ल्याउन बाइबलका विभिन्न पात्रहरूको भाग परिवारका छुट्टाछुट्टै सदस्यले पढ्छन्‌। “सुरु-सुरुमा यसरी पढ्दा अनौठो लाग्यो” भनी जापानका एक बुबा बताउँछन्‌। तर आमाबुबाले पनि आफूसँगै रमाउँदै पढिरहेको देखेर तिनका दुई छोरा खुसी भए। केही परिवार भने बाइबलका कथाहरूको नाटक गर्छन्‌। “बाइबल पढ्दा हामीले त्यत्ति याद नगरेका कुराहरू पनि छोराछोरीले याद गर्छन्‌” भनी दक्षिण अफ्रिकामा बस्ने दुई छोराका बुबा रजर भन्छन्‌।

दक्षिण अफ्रिका

विविधताको लागि गर्न सकिने अर्को कुरा परिवारै मिलेर नूहको जहाज अनि सुलेमानको मन्दिरको नमुना बनाउनेजस्ता रमाइलो गतिविधिमा भाग लिनु हो। यसको लागि अनुसन्धान गर्नुपर्ने हुन्छ र यसो गर्नु रमाइलो हुन्छ। एउटा उदाहरण विचार गरौं। एउटा एसियाली परिवारको पाँच वर्षीया केटीले आफ्ना बुबाआमा र हजुरआमासित मिलेर बैठक कोठामा प्रेषित पावलको मिसनरी यात्रासम्बन्धी खेल (बोर्ड गेम) तयार पारिन्‌। कतिपय परिवारले चाहिं प्रस्थानको किताबमा भएको विवरणसम्बन्धी त्यस्तै खेल तयार पारेका छन्‌। विविधताले “हाम्रो पारिवारिक उपासनामा मात्रै होइन, हाम्रो परिवारमै नयाँपन ल्याएको छ” भनी टोगोका १९ वर्षीय डनल्ड भन्छन्‌। पारिवारिक उपासनालाई अझ रमाइलो बनाउने कुनै तरिका तपाईं पनि विचार गर्न सक्नुहुन्छ कि?

संयुक्त राज्य अमेरिका

तयारी एकदमै आवश्यक छ

विविधता र लचकताले पारिवारिक उपासनालाई रमाइलो बनाउने भए तापनि अझ धेरै फाइदा उठाउन सबैले तयारी गर्नु आवश्यक छ। एकोहोरो अध्ययन मात्र गर्दा केटाकेटीहरूलाई गाह्रो हुन्छ। त्यसैले केटाकेटीलाई चासो लाग्ने विषय बुबाले विचार पुऱ्याएर छान्नुपर्छ। तिनले तयारी गर्न पनि समय निकाल्नुपर्छ। “मैले तयारी गर्दा छलफल एकदमै लाभदायी हुन्छ” भनी एक बुबा बताउँछन्‌। जर्मनीका एक बुबा आउँदा हप्ताहरूमा छलफल गरिने विषय परिवारलाई पहिल्यै बताउँछन्‌। छ जना साना केटाकेटी भएको बेनिनको एउटा परिवारले पारिवारिक उपासनामा कहिलेकाहीं सङ्गठनको भिडियोहरू हेर्छ। छलफलका लागि बुबाले पहिल्यै प्रश्नहरू तयार पारेर परिवारलाई दिन्छन्‌। तयारी गर्दा पारिवारिक उपासनाबाट अझ धेरै फाइदा उठाउन सकिन्छ।

पारिवारिक उपासनामा छलफल हुने विषय परिवारका सदस्यहरूलाई पहिल्यै थाह छ भने उनीहरूले हप्ताभरि नै त्यसबारे कुराकानी गर्ने मौका पाउँछन्‌। यसले गर्दा अध्ययनप्रति उनीहरूको उत्सुकता बढ्छ। अनि सबैले पारिवारिक उपासनामा भाग पाएका छन्‌ भने हरेकले यो मेरै पारिवारिक उपासना हो भन्ठान्नेछन्‌।

नियमित रूपमा गर्नुहोस्

थुप्रै परिवारलाई पारिवारिक उपासना नियमित रूपले सञ्चालन गर्न सजिलो छैन। किन?

परिवारको पालनपोषण गर्न केही आमाबुबाले दिनको धेरैजसो समय काममा बिताउनुपर्छ। उदाहरणको लागि, मेक्सिकोमा बस्ने एक बुबा बिहान छ बजे काममा निस्कन्छन्‌ र राती आठ बजे मात्र घर फर्कन्छन्‌। साथै, कुनै-कुनै परिवारले क्षेत्रीय निरीक्षकको भ्रमण वा जिल्ला अधिवेशनजस्ता गतिविधिको कारण अध्ययन गर्ने दिन परिवर्तन गर्नुपर्ने हुन सक्छ।

जस्तोसुकै बाधा आइपरे तापनि नियमित रूपमा पारिवारिक उपासना गर्ने कोसिस गर्नुपर्छ। टोगोकी ११ वर्षीया लोइस आफ्नो परिवारले गरेको कोसिसबारे यसो भन्छिन्‌: “व्यस्त भएकोले कहिलेकाहीं पारिवारिक उपासना ढिलो सुरु गर्नुपर्ने हुन्छ तर छुटेको भने छैन।” कुनै-कुनै परिवारले किन हप्ताको सुरुतिरै पारिवारिक उपासना गर्ने तालिका बनाउँछन्‌? पारिवारिक उपासनाको दिनमा सोच्दै नसोचेको काम आइपऱ्यो भने पनि हप्ताको बाँकी दिनमा पारिवारिक उपासना गर्न सकिन्छ।

पारिवारिक उपासना भनेर किन भनिएको? किनभने यो हामीले यहोवालाई गर्ने उपासनाको भाग हो। पूरै परिवार मिलेर हामी यहोवालाई ‘ओठको स्तुति चढाउँछौं।’ (होशे १४:२) परिवारको प्रत्येक सदस्यको लागि यो रमाइलो समय होओस् ‘किनभने यहोवाको आनन्द नै हाम्रो बल हो।’—नहे. ८:९, १०.