सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 हाम्रो अभिलेखालयबाट

“बाली काट्ने काम सिद्धिएको छैन”

“बाली काट्ने काम सिद्धिएको छैन”

जर्ज यङ मार्च १९२३ मा रियो दि जेनेरियो आइपुगे

कुरा सन्‌ १९२३ को हो। साऊ पाउलोमा भएको नाटक तथा सङ्गीत विद्यालयको हल भरिभराउ छ। के तपाईं जर्ज यङको जोडदार भाषण सुन्न सक्नुहुन्छ? तिनको भाषणलाई पोर्चुगिज भाषामा अनुवाद गरिंदै छ। उपस्थित ५८५ जना सबैले ध्यान दिएर सुनिरहेका छन्‌। बाइबल पदलाई पोर्चुगिज भाषामा पर्दामा देखाइँदै छ। भाषणको अन्तमा अहिले बाँचिरहेका लाखौं मानिस कहिल्यै मर्नेछैनन्‌ पुस्तिकाको एक सय प्रति पोर्चुगिज, अङ्ग्रेजी, जर्मन र इटालियन भाषामा वितरण गरिन्छ। भाषणको परिणाम एकदमै राम्रो हुन्छ। यसबारे जतासुकै चर्चा हुन थाल्छ। दुई दिनपछि साँझपख त्यही हलमा अर्को भाषण दिइन्छ। भाषण सुन्न मानिसहरूको ओइरो लाग्छ। तर जर्ज यङ कसरी साऊ पाउलो आइपुगे?

सन्‌ १८६७ मा सेरा बेलोना फरगीसन आफ्नो परिवारसितै अमेरिकाबाट ब्राजिल बसाइँ सरिन्‌। सन्‌ १८९९ मा सेराले तिनको भाइले अमेरिकाबाट ल्याएको केही बाइबल साहित्य पढिन्‌ र तिनलाई आफूले सत्य भेट्टाएको जस्तो लाग्यो। तिनी बाइबल साहित्यहरू पढ्न एकदमै रुचि राख्थिन्‌। त्यसैले अङ्ग्रेजी भाषाको प्रहरीधरहरा-को ग्राहक बनिन्‌। बाइबल सन्देशले मन छोएकोले तिनले भाइ सी. टी. रसललाई एउटा पत्र पठाइन्‌। पत्रमा तिनले यस्तो लेखिन्‌: “जतिसुकै टाढा बस्ने मानिसकोमा पनि बाइबल सत्य पुग्न सक्छ भन्ने कुराको जीवित प्रमाण म हुँ।”

के हामी मरिसकेका मानिससित कुराकानी गर्न सक्छौं? (पोर्चुगिज)

सेरा फरगीसनले अरूलाई बाइबल सत्य सुनाउन यथासक्दो गरिन्‌। तर आफू, आफ्नो परिवार अनि ब्राजिलका असल व्यक्तिहरूलाई कसले थप मदत देला भनेर तिनी सोच्ने गर्थिन्‌। मृतकहरू कहाँ छन्‌? शीर्षकको पोर्चुगिज भाषाको हजारौं पर्चाहरू लिएर साऊ पाउलोमा कोही आउँदै छन्‌ भनेर तिनले १९१२ मा ब्रूक्लिन बेथेलबाट खबर पाइन्‌। थुप्रै बाइबल विद्यार्थीले चाँडै स्वर्ग जाने आशा गरेको कुरा पढ्दा आफूलाई जहिले पनि अचम्म लाग्थ्यो भनेर तिनले १९१५ मा बताइन्‌। आफ्नो विचार पोख्दै तिनले यस्तो लेखिन्‌: “ब्राजिल र पूरै दक्षिण अमेरिका नि? . . .  दक्षिण अमेरिका कत्ति विशाल छ भनेर विचार गर्नुभयो भने बाली काट्ने काम सिद्धिएको छैन भनेर बुझ्नुहुनेछ।” हो, बाली काट्ने काम अझै बाँकी थियो!

सन्‌ १९२० तिर आठ जना ब्राजिलियन नाविकहरू न्यु योर्कमा भएको कुनै-कुनै सभामा उपस्थित भए। त्यसबेला तिनीहरूको जहाज मर्मत गरिंदै थियो। रियो दि जेनेरियो फर्केपछि तिनीहरूले बाइबलबाट सिकेका कुराहरू अरूसित बाँडे। त्यसको केही समयपछि मार्च १९२३ मा जर्ज यङ रियो दि जेनेरियो आइपुगे र त्यहाँ जिज्ञासु व्यक्तिहरू भेट्टाए। जर्ज यङ परिभ्रमण निरीक्षक थिए। तिनले थुप्रै प्रकाशन पोर्चुगिज भाषामा अनुवाद गर्ने प्रबन्ध मिलाए। त्यसपछि भाइ यङ त्यसबेला ६ लाख जति जनसङ्ख्या भएको सहर साऊ पाउलो गए। यस लेखको सुरुमा बताइएझैं त्यहाँ तिनले भाषण दिए अनि लाखौं मानिस पुस्तिका वितरण गरे। तिनले यस्तो रिपोर्ट दिए: “एक्लै भएकोले भाषणको विज्ञापन गर्न अखबारको सहारा लिनुपऱ्यो। ब्राजिलमा अन्तरराष्ट्रिय बाइबल विद्यार्थी सङ्गठनको नाममा विज्ञापन गरिएका पहिलो भाषणहरू यी नै थिए।”

भाइ यङले भाषण दिंदा बाइबल पदहरू पर्दामा देखाइएको थियो

डिसेम्बर १५, १९२३ को प्रहरीधरहरा-ले (अङ्ग्रेजी) ब्राजिलबारे यस्तो रिपोर्ट दियो: “ब्राजिलमा जून १ मा काम सुरु भयो र त्यसबेला त्यहाँ कुनै पनि साहित्य थिएन। यो कुरा विचार गर्दा प्रभुले हाम्रो काममा कसरी आशिष्‌ दिनुभयो भनेर प्रस्टै देखिन्छ।” रिपोर्टमा बताइएअनुसार भाइ यङले जून १ देखि सेप्टेम्बर ३० भित्रमा दिएको २१ वटा भाषण सुन्न ३,६०० जना उपस्थित भएका थिए। भाइ यङले तीमध्ये दुइटा भाषण साऊ पाउलोमा दिएका थिए। रियो दि जेनेरियोमा राज्य प्रचारकार्य बिस्तारै फैलँदै थियो। अनि केही महिनामै पोर्चुगिज भाषामा ७ हजारभन्दा धेरै प्रकाशन वितरण गरियो! नोभेम्बर-डिसेम्बर १९२३ को अङ्कदेखि प्रहरीधरहरा पत्रिका पोर्चुगिज भाषामा पनि आउन थाल्यो।

सेरा बेलोना फरगीसन, ब्राजिलमा अङ्ग्रेजी प्रहरीधरहरा-को पहिलो ग्राहक

सेरा फरगीसनलाई भेट्न जर्ज यङ तिनको घरमा गए। त्यस घटनाबारे प्रहरीधरहरा-ले यस्तो रिपोर्ट दियो: “बहिनी सेरा बैठक कोठामा आइन्‌ र एकछिन त वाल्लै परिन्‌। त्यसपछि तिनले भाइ यङको हात समातिन्‌ र उनलाई एकटक लगाएर हेरिन्‌। एकछिन पछि तिनले यसो भनिन्‌: ‘मलाई त सपनाजस्तै लागिरा’छ। तपाईं परिभ्रमण निरीक्षक हो?’” पछि तिनी र तिनका केही छोराछोरीले बप्तिस्मा गरे। उनी २५ वर्षदेखि बप्तिस्माको लागि पर्खंदै थिइन्‌! अगस्त १, १९२४ को प्रहरीधरहरा-ले (अङ्ग्रेजी) बताएअनुसार ब्राजिलमा ५० जनाले बप्तिस्मा गरे। बप्तिस्मा गर्नेहरूको सङ्ख्या रियो दि जेनेरियोमा सबैभन्दा धेरै थियो।

अहिले लगभग ९० वर्षपछि यस्तो प्रश्न गर्नु आवश्यक छैन: “ब्राजिल र पूरै दक्षिण अमेरिका नि?” अहिले ब्राजिलमा ७ लाख ६० हजारभन्दा धेरै साक्षीले सुसमाचार सुनाइरहेका छन्‌। अनि दक्षिण अमेरिकाभरि पोर्चुगिज, स्पेनिश र अन्य थुप्रै रैथाने भाषामा प्रचार भइरहेको छ। सन्‌ १९१५ मा सेरा फरगीसनले भनेको कुरा एकदम सही थियो: ‘बाली काट्ने काम अझै सिद्धिएको थिएन।’—ब्राजिलको हाम्रो अभिलेखालयबाट।