सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“आफ्ना जतिलाई यहोवा चिन्नुहुन्छ”

“आफ्ना जतिलाई यहोवा चिन्नुहुन्छ”

“यदि कसैले परमेश्वरलाई प्रेम गर्छ भने परमेश्वरले उसलाई चिन्नुहुन्छ।”—१ कोरि. ८:३.

१. परमेश्वरका केही मानिसले कस्तो गलत सोचाइ राखेका थिए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

एक बिहानी प्रधान पुजारी हारून धुपौरो लिएर बासस्थानको मूलढोकामा उभिरहेका थिए। कोरह र तिनका २५० मानिसहरू पनि धुपौरो लिएर यहोवालाई धूप चढाइरहेका थिए। (गन्ती १६:१६-१८) झट्ट हेर्दा ती मानिसहरू यहोवाका वफादार उपासकहरू जस्तो देखिन्थे। तर वास्तवमा हारूनबाहेक अरू सबै घमन्डी र विद्रोही थिए अनि पुजारी पद हडप्न चाहन्थे। (गन्ती १६:१-११) ती मानिसहरू यहोवाले आफ्नो उपासना स्वीकार्नुहुन्छ भन्ने सोच्थे। तर त्यस्तो सोचाइ राखेर उनीहरूले मनको कुरा पढ्न सक्ने र उनीहरूको कपट देख्न सक्ने परमेश्वरको उपहास गरिरहेका थिए।—यर्मि. १७:१०.

२. मोशाले के भनेका थिए? के तिनले भनेको कुरा सही साबित भयो?

अघिल्लो दिन मोशाले यसो भनेका थिए, “भोलि बिहान को-को उहाँका हुन्‌ परमप्रभुले नै देखाइदिनुहुन्छ।” (गन्ती १६:५) हुन पनि साँचो मनले उपासना गर्नेहरू को हुन्‌ अनि ढोंग मात्र गर्नेहरू को हुन्‌ भनेर यहोवाले स्पष्ट पार्नुभयो। “परमप्रभुकहाँबाट आगो निस्केर धूप चढाउने [कोरह र] ती दुई सय पचास जनालाई भस्म पाऱ्यो।” (गन्ती १६:३५; २६:१०) तर यहोवाले हारूनलाई बचाउनुभयो। यसरी यहोवाले साँचो उपासक र आफूले रोजेको पुजारी हारून नै हुन्‌ भनेर चिनाउनुभयो।१ कोरिन्थी ८:३ पढ्नुहोस्।

३. (क) प्रेषित पावलको समयमा कस्तो परिस्थिति सृजना भयो? (ख) शताब्दिऔंअघि यहोवाले विद्रोहीहरूको न्याय गर्नुभएको विवरणबाट वफादार ख्रीष्टियनहरूले के थाह पाउन सक्थे?

 लगभग १,५०० वर्षपछि प्रेषित पावलको समयमा पनि त्यस्तै परिस्थिति सृजना भयो। ख्रीष्टियन भएको दाबी गर्ने केहीले झूटो शिक्षा अङ्गाले; तर तिनीहरू अझै पनि ख्रीष्टियन मण्डलीसित सङ्गत गरिरहेका थिए। झट्ट हेर्दा ती धर्मत्यागीहरू मण्डलीका अरू सदस्यजस्तै देखिन्थे। तर वफादार ख्रीष्टियनहरूका लागि तिनीहरू खतराका कारण थिए। भेडाको भेषमा आएका ती ब्वाँसाहरूले “कसै-कसैको विश्वास ध्वस्त पारिरहेका” थिए। (२ तिमो. २:१६-१८) तर यहोवाको हेराइ सतही थिएन; उहाँ त्यस्ता व्यक्तिहरूको भित्री मनसाय बुझ्नुहुन्छ भन्ने कुरा पावललाई थाह थियो। तिनले यो कुरा कसरी थाह पाए? शताब्दिऔंअघि विद्रोही कोरह र तिनका समर्थकहरूलाई यहोवाले सजाय दिनुभएको विवरणबाट। यसै सन्दर्भमा एउटा रोचक पद केलाऔं र त्यस पदबाट हामी के सिक्न सक्छौं, बुझौं।

“म परमप्रभु कहिल्यै परिवर्तन हुँदिनँ”

४. पावल कुन कुरामा विश्वस्त थिए र तिमोथीलाई पत्र लेख्दा तिनले प्रयोग गरेका शब्दहरूबाट तिनी विश्वस्त भएको कुरा कसरी देखिन्छ?

उपासना गरेको ढोंग गर्नेहरूलाई मात्र होइन, आज्ञाकारी मानिसहरूलाई पनि यहोवा राम्ररी चिन्नुहुन्छ भन्ने कुरामा पावल विश्वस्त थिए। तिनले तिमोथीलाई पत्र लेख्दा प्रयोग गरेका शब्दहरूबाट तिनी कत्ति विश्वस्त थिए भन्ने कुरा छर्लङ्ग हुन्छ। धर्मत्यागीहरूको कारण मण्डलीका केही सदस्यले बेहोर्नुपरेको आध्यात्मिक हानिबारे बताएपछि पावलले यस्तो लेखे, “यी सबका बाबजुद परमेश्वरको बलियो जग भने ज्यूँका त्यूँ रहिरहन्छ, जसमा यस्तो वचन कुँदिएको छ: ‘आफ्ना जतिलाई यहोवा चिन्नुहुन्छ,’ अनि ‘यहोवाको नाम लिने जति सबैले कुकर्म त्यागून्‌।’”—२तिमो. २:१८,१९.

५, ६. पावलले चलाएको “परमेश्वरको बलियो जग” भन्ने अभिव्यक्ति किन उल्लेखनीय छ? यस अभिव्यक्तिले तिमोथीमा कस्तो प्रभाव पाऱ्यो?

यस पदमा पावलले प्रयोग गरेका शब्दहरू किन उल्लेखनीय छ? बाइबलको यस पदमा मात्र “परमेश्वरको बलियो जग”-बारे उल्लेख गरिएको छ। साथै बाइबलमा विभिन्न कुरालाई “जग”-सित तुलना गरिएको छ। पुरातन इस्राएलको राजधानी यरूशलेमलाई “जग” भनिएको छ। (भज. ८७:१, २) यहोवाको उद्देश्य पूरा गर्ने सन्दर्भमा येशूले खेल्ने भूमिकालाई पनि जगसित तुलना गरिएको छ। (१ कोरि. ३:११; १ पत्रु. २:६) “परमेश्वरको बलियो जग”-बारे लेख्दा पावलको मनमा कुन कुरा थियो?

गन्ती १६:५ मा मोशाले कोरह र उनका समर्थकलाई भनेको कुरा पावलले उल्लेख गरे र “परमेश्वरको बलियो जग”-बारे पनि बताए। तिमोथीलाई प्रोत्साहन दिन अनि विद्रोह गर्नेहरूलाई यहोवा चिन्नुहुन्छ र सजाय दिनुहुन्छ भनेर सम्झाउन पावलले मोशाको समयमा भएको घटनाबारे उल्लेख गरे। शताब्दिऔंअघि कोरहले यहोवाको उद्देश्यलाई विफल पार्न नसकेझैं मण्डलीका धर्मत्यागीहरूले पनि यहोवाको उद्देश्यलाई कुनै हालतमा विफल पार्न सक्ने थिएनन्‌। हुन त “परमेश्वरको बलियो जग”-ले केलाई बुझाउँछ भनेर पावलले विस्तृत जानकारी दिएका छैनन्‌। तैपनि तिनले प्रयोग गरेका शब्दहरूले गर्दा तिमोथी यहोवामा पूर्ण भरोसा राख्न पक्कै उत्प्रेरित भए।

७. यहोवा आफ्नो धार्मिकता र वफादारी देखाउनुहुन्छ भनेर हामी कसरी पक्का हुन सक्छौं?

यहोवाका उच्च सिद्धान्तहरू कहिल्यै फेरबदल हुँदैनन्‌। भजन ३३:११ यसो भन्छ, “परमप्रभुका योजनाहरू सदा स्थिर रहन्छन्‌, उहाँको हृदयका विचार पुस्तौंसम्म रहिरहन्छन्‌।” अन्य पदहरूमा यहोवाको शासन, कृपा, धार्मिकता र वफादारीबारे पनि बताइएको छ। (प्रस्थ. १५:१८; भज. १०६:१; ११२:९; ११७:२) मलाकी ३:६ यसो भन्छ, “म परमप्रभु कहिल्यै परिवर्तन हुँदिनँ।” त्यसैगरि याकूब १:१७ मा पनि  “सरिरहने छायाजस्तो उहाँ परिवर्तन भइरहनुहुन्न” भनिएको छ।

विश्वास बलियो बनाउने ‘कुँदिएको वचन’

८, ९. पावलको उदाहरणको ‘कुँदिएको वचन’-बाट हामी के सिक्छौं?

दोस्रो तिमोथी २:१९ मा पावलले चर्चा गरेको जगमा वचन कुँदिएको छ। पुरातन समयमा भवनको जगमा कुनै कुरा कुँद्नु सामान्य थियो। भवन कसले बनायो वा कसको हो भनेर कुँदिएको हुन्थ्यो। यस्तो उदाहरण चलाउने पहिलो बाइबल लेखक पावल हुन्‌। * “परमेश्वरको बलियो जग”-मा दुइटा वचन कुँदिएको छ। पहिलो, “आफ्ना जतिलाई यहोवा चिन्नुहुन्छ।” दोस्रो, “यहोवाको नाम लिने जति सबैले कुकर्म त्यागून्‌।” यसले हामीलाई गन्ती १६:५ मा लेखिएको कुरा सम्झाउँछ।—पढ्नुहोस्।

पावलको उदाहरणको ‘कुँदिएको वचनबाट’ हामी के सिक्छौं? परमेश्वरलाई प्रेम गर्नेहरूका लागि उहाँका स्तर र सिद्धान्त दुइटा आधारभूत सत्यमा समेट्न सकिन्छ भनेर हामी सिक्छौं। ती हुन्‌: (१) आफूप्रति वफादार व्यक्तिहरूलाई यहोवा प्रेम गर्नुहुन्छ र (२) उहाँ कुकर्मलाई घृणा गर्नुहुन्छ। धर्मत्यागसम्बन्धी विवाद उठेको मण्डलीमा यी सिद्धान्त किन लाभदायी थियो?

१०. धर्मत्यागीहरूको व्यवहारले गर्दा पावलको समयका वफादार ख्रीष्टियनहरूलाई कस्तो असर पऱ्यो?

१० तिमोथीलगायत अन्य वफादार ख्रीष्टियनहरू धर्मत्यागीहरूको व्यवहारले गर्दा पक्कै चिन्तित थिए। कसै-कसैको मनमा ‘यस्ता खराब व्यक्तिहरूलाई किन मण्डलीमा रहिरहन दिइएको होला’ भन्ने कुरा खेलेको हुनुपर्छ। यहोवाले यस्ता ढोंगीहरूलाई सहिरहनुभएको हो कि जस्तो देखिन्थ्यो। त्यसकारण थुप्रै ख्रीष्टियनलाई आफूले देखाएको वफादारीको उहाँलाई मतलबै छैन जस्तो लागेको हुनुपर्छ।—प्रेषि. २०:२९, ३०.

तिमोथी धर्मत्यागीहरूको प्रभावमा परेनन्‌ (अनुच्छेद १०-१२ हेर्नुहोस्)

११, १२. पावलको पत्रले तिमोथीको विश्वास कसरी बलियो बनायो?

११ पावलको पत्र पढ्दा तिमोथीले वफादार हारून सही ठहरिएको अनि ढोंगी कोरह र उनका समर्थकहरूलाई पर्दाफास गरेर नाश गरिएको कुरा सम्झे। यसले तिनको विश्वास पक्कै बलियो बनायो। मण्डलीभित्र ढोंगी ख्रीष्टियनहरू भए तापनि मोशाको समयमा जस्तै यहोवा आफ्नो जतिलाई चिन्नुहुन्छ भनी पावलले बताउन खोज्दै थिए।

१२ यहोवा कहिल्यै परिवर्तन हुनुहुन्न; उहाँ भरोसायोग्य हुनुहुन्छ। उहाँ कुकर्मलाई घृणा गर्नुहुन्छ र खराब काम गर्नेहरूलाई आफूले तोकेको  समयमा दण्ड दिनुहुन्छ। “यहोवाको नाम लिने” व्यक्ति भएकोले तिमोथीले ढोंगी ख्रीष्टियनहरूको खराब प्रभावलाई तिरस्कार गर्नुपर्थ्यो। *

साँचो उपासना व्यर्थ हुँदैन

१३. हामी कुन कुरामा विश्वस्त हुन सक्छौं?

१३ पावलले लेखेका शब्दहरूबाट हामी पनि आध्यात्मिक बल पाउन सक्छौं। सर्वप्रथम, यहोवालाई हाम्रो वफादारी थाह हुन्छ भनेर बुझ्दा हामी सान्त्वना पाउँछौं। तर उहाँलाई थाह हुने मात्र होइन; आफ्ना मानिसहरूमा गहिरो चासो राख्नुहुन्छ। बाइबल भन्छ, “जसका हृदय उहाँप्रति भक्त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ।” (२ इति. १६:९) त्यसकारण “शुद्ध मन”-ले यहोवाको लागि जे-जति गर्छौं, त्यो व्यर्थ जाँदैन भनेर हामी विश्वस्त हुन सक्छौं।—१ तिमो. १:५; १ कोरि. १५:५८.

१४. यहोवा कसको उपासना स्वीकार्नुहुन्न?

१४ यहोवा ढोंगीहरूको उपासना स्वीकार्नुहुन्न भन्ने कुरा पनि हाम्रो लागि सान्त्वनादायी छ। यहोवाको दृष्टि “पृथ्वीभरि नै” रहिरहने भएकोले जसको हृदय उहाँप्रति “भक्त” छैन, त्यस्ता व्यक्तिहरूलाई उहाँ चिन्नुहुन्छ। हितोपदेश ३:३२ अनुसार “जो सोझो छैन, त्यसलाई परमप्रभु घिन गर्नुहुन्छ।” आज्ञाकारी भएको ढोंग गरेर भित्रभित्रै पाप गर्ने व्यक्तिहरूलाई उहाँ घृणा गर्नुहुन्छ। त्यस्ता धूर्त व्यक्तिले मान्छेलाई त झुक्क्याउन सक्ला तर यहोवालाई भने झुक्याउन सक्दैन। सर्वशक्तिमान्‌ र भलाइ रुचाउने परमेश्वर यहोवाले ‘दोष लुकाउने व्यक्तिको उन्नति हुँदैन’ भनेर चेतावनी दिनुभएको छ।—हितो. २८:१३; १ तिमोथी ५:२४; हिब्रू ४:१३ पढ्नुहोस्।

१५. हामीले के गर्नु हुँदैन र किन?

१५ यहोवाका धेरैजसो सेवकहरू उहाँलाई साँचो मनले उपासना गर्छन्‌। उपासना गरेको ढोंग गर्नेहरू त मण्डलीमा विरलै होलान्‌। तर मण्डलीमा त्यस्तो व्यक्ति हुँदै हुँदैन भन्नचाहिं सकिंदैन। किनकि मोशाको समयमा र प्रथम शताब्दीमा पनि उपासना गरेको ढोंग गर्नेहरू थिए। (२ तिमो. ३:१, ५) तर सङ्गी ख्रीष्टियनले गरिरहेको उपासनामाथि शङ्का गर्नु उचित हो? त्यसो गर्नु उचित होइन। कुनै आधारविना भाइबहिनीलाई शङ्काको नजरले हेर्नु गलत हो। (रोमी १४:१०-१२; १ कोरिन्थी १३:७ पढ्नुहोस्) तर त्योभन्दा पनि ठूलो कुरा, अरूको निष्ठामाथि शङ्का गर्ने झुकाव हामीमा छ भने परमेश्वरसितको सम्बन्धलाई आफैले कमजोर बनाइरहेका हुन्छौं।

१६. (क) मनमा कपटपूर्ण झुकावले जरा गाड्न नदिन हामी प्रत्येकले के गर्नुपर्छ? (ख) “ जाँचिरहो . . . साबित गरिरहो . . . ” भन्ने पेटीबाट हामी के सिक्न सक्छौं?

१६ हरेक ख्रीष्टियनले ‘आफ्नो काम जाँच्नुपर्छ।’ (गला. ६:४) हामी त्रुटिपूर्ण भएकोले हाम्रो मनमा चालै नपाई कपटपूर्ण झुकाव आउने खतरा हुन्छ। (हिब्रू ३:१२, १३) त्यसकारण यहोवाको सेवा किन गर्दै छु भनेर समय-समयमा जाँच्नु आवश्यक छ। हामी आफैलाई यसरी सोध्न सक्छौं, ‘के म यहोवाप्रतिको प्रेमले र उहाँको सार्वभौमिकतालाई समर्थन गर्ने इच्छाले उहाँको सेवा गर्दै छु? अथवा नयाँ संसारमा पाइने सुखसुविधाबारे मात्र सोचिरहन्छु?’ (प्रका. ४:११) हामीले आफ्नो काम जाँच्नुपर्छ र मनको कुनै कुनामा कपटपूर्ण झुकाव बाँकी छ भने हटाउने कोसिस गर्नुपर्छ। यसो गर्दा हामी आफैलाई फाइदा हुन्छ।

वफादार हुँदा आनन्दित हुन सक्नेछौं

१७, १८. हामीले यहोवालाई किन साँचो मनले उपासना गर्नुपर्छ?

१७ यहोवालाई साँचो मनले उपासना गर्न प्रयत्न गऱ्यौं भने थुप्रै लाभ उठाउनेछौं। भजनरचयिताले यसो भने, “त्यो मानिस धन्यको हो, जसको अधर्मको लेखा परमप्रभुले राख्नुहुन्न र जसको आत्मामा छल छँदै छैन।” (भज. ३२:२) अहिले पनि निष्कपट व्यक्तिहरू आनन्दित हुन्छन्‌ र भविष्यमा पूर्णतया आनन्दित हुने आशा राख्न सक्छन्‌।

 १८ अब छिट्टै यहोवाले खराब काम गर्नेहरूलाई र दोहोरो जीवन बिताउनेहरूलाई सजाय दिनुहुनेछ। त्यतिबेला “धर्मी र दुष्ट, अनि परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद” स्पष्ट हुनेछ। (मला. ३:१८) त्यतिन्जेल हामीले बाइबलको यस पदबाट आश्वासन पाउँछौं, “ज-जसले परमेश्वरको स्तरबमोजिम असल काम गर्छन्‌, तिनीहरूमाथि यहोवाको नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्न उहाँले आफ्नो कान थाप्नुहुन्छ।”—१ पत्रु. ३:१२.

^ अनु. 8 पावलले तिमोथीलाई पत्र लेखेको दशकौंपछि प्रकाश २१:१४ मा प्रेषित यूहन्नाले १२ वटा ढुङ्गाबारे उल्लेख गरे, जसमा १२ जना प्रेषितको नाम कुँदिएको थियो।

^ अनु. 12 कुकर्म त्याग्ने सन्दर्भमा कसरी यहोवाको अनुकरण गर्न सक्छौं, यसपछिको लेखमा छलफल गर्नेछौं।