सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी किन पवित्र हुनै पर्छ?

हामी किन पवित्र हुनै पर्छ?

“तिमीहरू पवित्र होओ।”—लेवी ११:४५.

१. लेवीको किताबबाट कस्तो मदत पाउँछौं?

बाइबलका अरू किताबमा भन्दा लेवीको किताबमा पवित्र भन्ने शब्द धेरै पटक चलाइएको छ। परमेश्वरका साँचो उपासकहरू पवित्र हुनुपर्छ। लेवीको किताबमा लेखिएका कुराहरू राम्ररी बुझ्यौं र त्यसको मोल गऱ्यौं भने हामी पवित्र रहन सक्नेछौं।

२. लेवीको किताबको केही विशेषता बताउनुहोस्।

लेवीको किताब भविष्यवक्ता मोशाले लेखेका हुन्‌। यो किताब “धर्मशास्त्र”-को एउटा भाग हो, जुन सिकाउन उपयोगी छ। (२ तिमो. ३:१६) बाइबलको कुनै-कुनै अनुवादमा लेवीको किताबको हरेक अध्यायमा औसतमा १० पटक यहोवा नाम प्रयोग गरिएको छ। लेवीको किताबमा लेखिएका कुराहरू राम्ररी बुझ्यौं भने परमेश्वरको नाममा कलङ्क लाग्ने कुनै पनि काम गर्नदेखि जोगिनेछौं। (लेवी २२:३२) यस किताबमा “म यहोवा हुँ” भन्ने अभिव्यक्ति बारम्बार प्रयोग गरिएको छ र यसले हामीलाई यहोवाको आज्ञा मान्न झकझकाउँछ। यो र यसपछिको लेखमा लेवीको किताबमा भएका केही बहुमूल्य रत्नहरू पत्ता लगाउने छौं। ती रत्नहरूले हामीलाई पवित्र सेवामा लागिरहन मदत गर्छ।

पवित्र रहनु अत्यावश्यक

३, ४. हारून र तिनका छोराहरूलाई नुहाइदिनुको अर्थ के हो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

लेवी ८:५, ६ पढ्नुहोस्। इस्राएलको प्रधान पुजारी हुन यहोवाले हारूनलाई रोज्नुभयो। हारूनका छोराहरूले चाहिं पुजारीको काम गर्ने थिए। हारूनले येशूलाई सङ्केत गर्छ भने हारूनका छोराहरूले येशूका अभिषिक्त चेलाहरूलाई। हारूनलाई नुहाइदिनुको अर्थ के हो? येशूलाई पनि शुद्ध पारिनुपर्छ भन्ने हो? त्यो त होइन। किनकि येशू त्रुटिरहित र “निष्खोट” हुनुहुन्छ। (हिब्रू ७:२६; ९:१४) नुहाएर सफा भएको हारूनले येशूलाई सङ्केत गर्छ, जो शुद्ध र न्यायी हुनुहुन्छ। त्यसोभए हारूनका छोराहरूलाई नुहाइदिनुको अर्थ चाहिं के हो?

यसले स्वर्गमा पुजारीको रूपमा सेवा गर्न रोजिएका व्यक्तिहरूलाई शुद्ध बनाइने कुरालाई सङ्केत गर्छ। तिनीहरू बप्तिस्मा गरेपछि शुद्ध हुने हो? होइन, किनकि बप्तिस्माले पाप पखाल्दैन। तिनीहरूले बप्तिस्मा गर्नुको अर्थ यहोवालाई जीवन समर्पण गर्नु हो। तिनीहरूलाई “परमेश्वरको वचनको पानीले धोएर” शुद्ध पारिन्छ। त्यसकारण तिनीहरूले बाइबलबाट सिकेका कुराहरू जीवनमा लागू गर्नुपर्छ। (एफि. ५:२५-२७) यसरी तिनीहरू पवित्र र सफा हुन्छन्‌। तर “अरू भेडा”-बारे चाहिं के भन्न सकिन्छ?—यूह. १०:१६.

५. अरू भेडा कसरी परमेश्वरको वचनद्वारा सफा हुन्छन्‌?

हारूनका छोराहरूले येशूका अरू भेडाको “ठूलो भीड”-लाई सङ्केत गर्दैन। (प्रका. ७:९) के उनीहरू पनि परमेश्वरको वचनद्वारा पवित्र र सफा हुन्छन्‌? अवश्य हुन्छन्‌। पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएकाहरू येशूको बलिदानले मानिसजातिलाई लाभ पुऱ्याउँछ भनेर विश्वास गर्छन्‌। त्यसैले तिनीहरू “दिनरात” पवित्र सेवा चढाउन जुरमुरिन्छन्‌। (प्रका. ७:१३-१५) अभिषिक्त जनहरू र अरू भेडालाई शुद्ध पार्ने काम चलिरहन्छ। त्यसैले तिनीहरूको चालचलन सधैं असल हुन्छ। (१ पत्रु. २:१२) तिनीहरू वफादार हुँदै आफ्नो गोठाला येशूको डोऱ्याइअनुसार चल्छन्‌। यो देख्दा यहोवालाई औधी खुसी लाग्छ।

६. हामीले किन आफूलाई समय-समयमा जाँच्नुपर्छ?

इस्राएलका पुजारीहरू सफा हुनुपर्थ्यो। यसबाट हामी के सिक्न सक्छौं? हामी राज्यभवन सफा राख्छौं, आफू पनि सफा रहन्छौं र सुकिलो लुगा लगाउँछौं। यो कुरा हाम्रा बाइबल विद्यार्थीहरूले याद गरिरहेका हुन्छन्‌। साथै, परमेश्वरको उपासना गर्न चाहनेहरूको “हृदय शुद्ध” हुनुपर्छ। (भजन २४:३, ४ पढ्नुहोस्; यशै. २:२, ३) यहोवालाई पवित्र सेवा चढाउन हाम्रो मन, सोचाइ र शरीर सफा हुनुपर्छ। हामीले आफूलाई समय-समयमा जाँच्नुपर्छ। यसो गऱ्यौं भने पवित्र रहन छाँटकाँट गर्नुपर्ने कुराहरू थाह पाउन सक्छौं। (२ कोरि. १३:५) जस्तै: बप्तिस्मा गरेका कुनै भाइले बारम्बार अश्‍लील सामग्री हेर्छन्‌ भने तिनले आफैलाई यस्तो प्रश्न गर्नुपर्छ, ‘के म पवित्र छु?’ त्यसपछि तिनले त्यस्तो बानी हटाउन एल्डरहरूसित मदत माग्नुपर्छ।—याकू. ५:१४.

आज्ञा पालन गरेर पवित्र रहनुहोस्

७. लेवी ८:२२-२४ मा उल्लेख गरिएको कुरा र येशूले बसाल्नुभएको उदाहरण कसरी सम्बन्धित छ?

इस्राएलमा पुजारीहरूको प्रबन्ध गरिंदा हारून र तिनका छोराहरूको दाहिने कानको लोतीमा, दाहिने हातको बूढी औंलामा र दाहिने खुट्टाको बूढी औंलामा भेडाको रगत लगाइयो। (लेवी ८:२२-२४ पढ्नुहोस्) यसले पुजारीहरू आफ्नो जिम्मेवारी पूरा गर्न सकेजति गर्छन्‌ भन्ने सङ्केत दिन्थ्यो। प्रधान पुजारी येशूले पनि अभिषिक्त जनहरू र अरू भेडाको लागि राम्रो उदाहरण बसाल्नुभयो। येशूले आफ्नो कानले परमेश्वरको निर्देशन ध्यान दिएर सुन्नुभयो, आफ्नो हातले उहाँको इच्छा गर्नुभयो र उहाँको खुट्टा जीवनको पवित्र मार्गबाट कहिल्यै तर्केन।—यूह. ४:३१-३४.

८. यहोवाका सबै उपासकले के गर्नुपर्छ?

प्रधान पुजारी येशू परमेश्वरप्रति वफादार हुनुभयो। अभिषिक्त ख्रीष्टियनहरू र अरू भेडाले येशूको देखासिकी गर्नुपर्छ। तिनीहरू सबैले उहाँको आज्ञा पालन गर्नुपर्छ। यसो गर्दा तिनीहरूले पवित्र शक्तिलाई दुःखी बनाउने छैनन्‌। (एफि. ४:३०) तिनीहरूले ‘आफ्नो खुट्टाको निम्ति बाटो सीधा’ बनाउनुपर्छ।—हिब्रू १२:१३.

९. परिचालक निकायका सदस्यहरूसित नजिकबाट सङ्गत गरेका तीन जना भाइले के भने? ती भाइहरूले भनेको कुरा मनन गर्दा तपाईंलाई कस्तो लाभ हुन्छ?

परिचालक निकायका सदस्यहरूसँग थुप्रै वर्ष काम गरेका तीन जना भाइले भनेको कुरा विचार गरौं। उनीहरूमध्ये एक जनाले यसो भने, “परिचालक निकायका भाइहरूसँग सेवा गर्न पाउनु ठूलो सुअवसर हो। तर ती अभिषिक्त भाइहरूसित नजिकबाट सङ्गत गर्दा उहाँहरूमा पनि कमीकमजोरी छ भन्ने कुरा महसुस गरें। तैपनि म नेतृत्व लिइरहेका भाइहरूको आज्ञा सधैं पालन गर्न चाहन्छु।” दोस्रो भाइले यसो भने, “दोस्रो कोरिन्थी १०:५ जस्ता पदहरूले ‘ख्रीष्टको आज्ञा’ मान्न सल्लाह दिन्छ। यी पदहरूले मलाई नेतृत्व लिइरहेकाहरूको आज्ञा मान्न र उहाँहरूसँगै मिलेर काम गर्न मदत गरेको छ। म ती भाइहरूले भनेको कुरा मनैदेखि मान्न चाहन्छु।” तेस्रो भाइले यसो भने, “यहोवाले प्रेम गर्ने कुरालाई हामीले प्रेम गर्नुपर्छ अनि उहाँले घृणा गर्ने कुरालाई घृणा गर्नुपर्छ। त्यतिमात्र होइन, उहाँको निर्देशनअनुसार चल्नुपर्छ र उहाँलाई मन पर्ने काम गर्नुपर्छ। यसको अर्थ उहाँको सङ्गठनको र उहाँले आफ्नो उद्देश्य पूरा गर्न चलाइरहनुभएका भाइहरूको निर्देशन मान्नुपर्छ।” ती भाइ नेथन नोरलाई सम्झन्छन्‌। सन्‌ १९२५ को प्रहरीधरहरा-को (अङ्ग्रेजी) “राष्ट्रको जन्म” भन्ने लेखमा बताइएको कुरा स्वीकार्न कतिपयले आनाकानी गरे। तर पछि परिचालक निकायका सदस्य हुनुभएका भाइ नोरले भने स्वीकार्नुभयो। यो देख्दा ती भाइ निक्कै प्रभावित भए। ती तीन जना भाइले भनेको कुरा मनन गर्नुभयो भने तपाईं पनि यहोवाप्रति आज्ञाकारी हुन र पवित्र रहन सक्नुहुन्छ।

रगतसम्बन्धी यहोवाको आज्ञा पालन गर्नुहोस्

१०. रगतसम्बन्धी यहोवाको आज्ञा पालन गर्नु किन महत्त्वपूर्ण छ?

१० लेवी १७:१० पढ्नुहोस्। यहोवाले इस्राएलीहरूलाई ‘रगत नखान’ आज्ञा दिनुभएको थियो। हामी ख्रीष्टियनहरू पनि रगतबाट अलग बस्नुपर्छ। (प्रेषि. १५:२८, २९) कुनै गम्भीर गल्ती गऱ्यौं भने यहोवाले हामीलाई त्याग्नुहुन्छ र मण्डलीबाट निकालिदिनुहुन्छ। तर यस्तो गल्ती गर्नेबारे हामी सोच्नसमेत सक्दैनौं। हामी यहोवालाई प्रेम गर्छौं र उहाँले भनेको कुरा मान्छौं। यहोवालाई नचिन्ने र उहाँको स्तरअनुसार नचल्ने मानिसहरूले हामीलाई उहाँको आज्ञा उल्लङ्घन गर्न दबाब दिन सक्छन्‌। तर जीवनै गुमाउनुपर्ने अवस्थामा पनि हामी तिनीहरूको कुरा सुन्दैनौं। रगतको विषयमा हाम्रो अडान देख्दा मानिसहरूले हाम्रो गिल्ला गर्लान्‌, तैपनि हामी यहोवाको आज्ञा पालन गर्छौं। (यहू. १७, १८) रगत नखाने वा अरूको रगत नलिने आफ्नो निर्णयमा दृढ रहन हामीलाई केले मदत गर्छ?—व्यव. १२:२३.

११. प्रायश्‍चितको दिन केवल एउटा धार्मिक विधि मात्र थिएन भनेर किन भन्न सक्छौं?

११ इस्राएलका प्रधान पुजारीले प्रायश्‍चितको दिनमा जनावरको रगत प्रयोग गर्थे। यसबाट हामी रगतबारे यहोवाको दृष्टिकोण बुझ्न सक्छौं। रगत एउटा विशेष काम अर्थात्‌ पापको प्रायश्‍चितको लागि प्रयोग गरिन्थ्यो। यसले गर्दा इस्राएलीहरूले यहोवासित शान्तिपूर्ण सम्बन्ध गाँस्न सक्थे। प्रधान पुजारीले साँढे र बोकाको रगत कृपा-आसनको अगाडि छर्कन्थे। (लेवी १६:१४, १५, १९) यो रगतको आधारमा यहोवाले इस्राएलीहरूको पाप क्षमा गर्नुहुन्थ्यो। साथै, कुनै इस्राएलीले खानको लागि जनावर माऱ्यो भने त्यो जनावरको रगत निथारेर धुलोले पुरिदिनुपर्थ्यो “किनभने सबै जीवधारीको प्राण तिनीहरूको रगतमा हुन्छ।” (लेवी १७:११-१४) यी आज्ञाहरू केवल एउटा धार्मिक विधि मात्र थिएन। त्यसको सयौं वर्षअघि पनि यहोवाले नूह र तिनका सन्तानहरूलाई रगत नखान आज्ञा दिनुभएको थियो। (उत्प. ९:३-६) यसबाट ख्रीष्टियनहरूले के सिक्न सक्छन्‌?

१२. रगत र क्षमा सम्बन्धित छ भनेर पावलले कसरी देखाए?

१२ प्रेषित पावलले हिब्रू ख्रीष्टियनहरूलाई यस्तो लेखे, “मोशाको व्यवस्थाअनुसार रगतले प्रायः सबै थोक शुद्ध पार्छ अनि रगत नबगाईकन पापको क्षमा हुँदै हुँदैन।” (हिब्रू ९:२२) रगतमा शुद्ध पार्ने शक्ति छ भनेर तिनले लेखे। तर जनावरको बलिदान चढाउने प्रबन्ध अस्थायी थियो। यो प्रबन्धले इस्राएलीहरूलाई आफू पापी छु र पाप पूर्णतया हटाउन त्योभन्दा ठूलो बलिदान आवश्यक छ भन्ने कुराको सम्झना गराउँथ्यो। हो, व्यवस्था “वास्तविकता नभएर आउन लागेका असल कुराहरूको छाया मात्र हो।” (हिब्रू १०:१-४) त्यसोभए पापको क्षमा कसरी पाउन सकिन्थ्यो?

१३. आफूले बगाएको रगतको मोल येशूले परमेश्वरसामु चढाउनुभएकोले तपाईंलाई कस्तो लाभ भएको छ?

१३ एफिसी १:७ पढ्नुहोस्। येशूले ‘हाम्रो निम्ति आफैलाई अर्पण गर्नुभयो।’ येशूको बलिदानबाट उहाँ र उहाँको बुबालाई प्रेम गर्नेहरू सबैले लाभ उठाउन सक्छन्‌। (गला. २:२०) प्रायश्‍चितको दिनमा प्रधान पुजारीले जुन काम गर्थे, त्यसले पछि येशूले गर्नुहुने कामलाई चित्रण गर्थ्यो। त्यस दिन जब प्रधान पुजारी बासस्थानको महापवित्र स्थानमा जान्थे, तिनी यहोवासामु गएसरह हुन्थ्यो। महापवित्र स्थानमा पुजारीले जनावरको रगत यहोवासामु चढाउँथे। (लेवी १६:११-१५) त्यसैगरि, पुनर्जीवित भएपछि येशू स्वर्ग जानुभयो र आफूले बगाएको रगतको मोल परमेश्वरसामु चढाउनुभयो। (हिब्रू ९:६, ७, ११-१४, २४-२८) उहाँले बगाउनुभएको रगतमा विश्वास गरेकोले हामीले पापको क्षमा पाएका छौं र अन्तस्करण सफा राख्न सकेका छौं। यस्तो प्रबन्धको हामी मनैदेखि कदर गर्छौं।

१४, १५. रगतबारे यहोवाको आज्ञा थाह पाउनु र पालन गर्नु किन महत्त्वपूर्ण छ?

१४ यहोवाले हामीलाई रगतबाट अलग रहनु भन्नुको कारण स्पष्टसित बुझ्नुभयो होला। (लेवी १७:१०) यहोवाले रगतलाई पवित्र ठान्नुको कारण पनि बुझ्नुभयो होला। बाइबलले बताएअनुसार रगतमा प्राण हुन्छ। (उत्प. ९:४) हामीले पनि रगतप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुपर्छ र रगतबाट अलग रहनुपर्छ। येशूको बलिदानमा विश्वास गऱ्यौं र हाम्रा सृष्टिकर्ता रगतलाई अनमोल ठान्नुहुन्छ भनेर मानिलियौं भने मात्र यहोवासित शान्ति कायम गर्न सक्छौं।—कल. १:१९, २०.

१५ हामीमध्ये जोसुकैले पनि कुनै न कुनै समयमा रगतसम्बन्धी गम्भीर निर्णय गर्नुपर्ने हुन सक्छ। हाम्रो परिवारको सदस्य वा साथीभाइ रगत लिने वा नलिने भनेर निर्णय गर्नुपर्ने अवस्थामा पुग्न सक्छन्‌। त्यतिबेला रगतको सूक्ष्म तत्त्वबारे र उपचारविधिबारे पनि निर्णय गर्नुपर्ने हुन्छ। त्यसैले प्रार्थना गर्नुहोस्, अनुसन्धान गर्नुहोस् र आपत्‌कालीन अवस्थाको लागि तयार रहनुहोस्। यहोवाले निषेध गर्नुभएको काम गरेर हामी यहोवालाई दुःखी बनाउन चाहँदैनौं। आज थुप्रै डाक्टर र मानिसहरू ‘रगत दान जीवन दान’ भन्ने नारालाई समर्थन गर्छन्‌। तर रगतको प्रयोगबारे बताउने अधिकार यहोवासित मात्र छ भनेर हामीले बुझेका छौं। उहाँ “रगत”-लाई पवित्र ठान्नुहुन्छ। हामी रगतबारे यहोवाको आज्ञा पालन गर्न दृढ हुनुपर्छ। आफ्नो चालचलन पवित्र राखेर हामी येशूको बलिदानको मोल गरेको देखाउँछौं। उहाँको रगतले गर्दा हामीले पापको क्षमा र अनन्त जीवनको आशा पाएका छौं।—यूह. ३:१६.

रगतबारे यहोवाको आज्ञा पालन गर्न तपाईं दृढ हुनुहुन्छ? (अनुच्छेद १४, १५ हेर्नुहोस्)

यहोवा हामी पवित्र रहेको चाहनुहुन्छ

१६. परमेश्वरका सेवकहरू किन पवित्र हुनुपर्छ?

१६ इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा यहोवाले यसो भन्नुभयो, “तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्याउने परमप्रभु मनै हुँ। यसैकारण तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु।” (लेवी ११:४५) इस्राएलीहरू पवित्र रहेको यहोवा चाहनुहुन्थ्यो किनकि उहाँ आफै पनि पवित्र हुनुहुन्छ। यहोवाको साक्षी भएकोले हामी पनि पवित्र रहनुपर्छ। यहोवा हामी पवित्र रहेको चाहनुहुन्छ भन्ने कुरा लेवीको किताबबाट स्पष्ट हुन्छ।

१७. लेवीको किताब अध्ययन गरेर तपाईंलाई कस्तो लाग्यो?

१७ लेवीको किताबका केही पदहरू छलफल गरेर हामीले थुप्रै लाभ उठायौं। आजको छलफलपछि तपाईंको मनमा लेवीको किताबप्रति अझ कदर बढ्यो होला। हामी किन पवित्र हुनुपर्छ भनेर पनि थाह पाउनुभयो होला। तर लेवीको किताबबाट अरू कस्ता कुराहरू सिक्न सक्छौं? यहोवालाई पवित्र सेवा चढाउन लेवीको किताबले कसरी मदत गर्छ? यी कुराहरूबारे अर्को लेखमा छलफल गर्नेछौं।