सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी आफ्नो सारा चालचलनमा पवित्र रहनै पर्छ

हामी आफ्नो सारा चालचलनमा पवित्र रहनै पर्छ

“तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ।”—१ पत्रु. १:१५.

१, २. (क) यहोवा आफ्ना जनहरू कस्तो भएको चाहनुहुन्छ? (ख) यस लेखमा कस्ता प्रश्नहरूको जवाफ पाउनेछौं?

यहोवाको प्रेरणा पाएर प्रेषित पत्रुसले लेवीको किताबबाट उद्धृत गरे र इस्राएलीहरू जस्तै ख्रीष्टियनहरू पनि पवित्र हुनुपर्छ भने। (१ पत्रुस १:१४-१६ पढ्नुहोस्) यहोवा “पवित्र” हुनुहुन्छ। त्यसैले अभिषिक्त जनहरू र “अरू भेडा” आफ्नो सारा चालचलनमा पवित्र भएको उहाँ चाहनुहुन्छ।—यूह. १०:१६.

यस लेखमा लेवीको किताबमा पाइने अन्य आध्यात्मिक रत्नहरू पत्ता लगाउनेछौं। यस किताबबाट सिकेका कुराहरू लागू गर्दा हामी आफ्नो सारा चालचलनमा पवित्र रहन सक्नेछौं। यस लेखमा यी प्रश्नहरूको जवाफ पाउनेछौं: हामीले बाइबलका नियम तथा सिद्धान्तहरूमा किन सम्झौता गर्नु हुँदैन? यहोवाको शासन गर्ने अधिकारलाई समर्थन गर्ने विषयमा लेवीको किताबले के सिकाउँछ? इस्राएलीहरूले चढाउने बलिदानबाट हामी के सिक्न सक्छौं?

कहिल्यै सम्झौता नगर्नुहोस्

३, ४. (क) हामीले बाइबलका नियम तथा सिद्धान्तमा किन सम्झौता गर्नु हुँदैन? (ख) हामीले मनमा किन इबी पाल्नु हुँदैन?

यहोवालाई खुसी बनाउने हो भने उहाँका नियम तथा सिद्धान्तहरू पालन गर्नुपर्छ; त्यसमा कहिल्यै सम्झौता गर्नु हुँदैन। हुन त अहिले हामी मोशाको व्यवस्थाको अधीनमा छैनौं, तैपनि यसले यहोवालाई कुन कुरा मनपर्छ वा कुन कुरा मन पर्दैन भनेर बुझ्न मदत गर्छ। जस्तै, यहोवाले इस्राएलीहरूलाई यस्तो आज्ञा दिनुभएको थियो, “आफ्ना आफन्तहरूसित इबी नराख, तर आफ्नो छिमेकीसँग आफैलाई झैं प्रेम गर। म परमप्रभु हुँ।”—लेवी १९:१८.

हामीले मनमा इबी पालेको यहोवा चाहनुहुन्न। (रोमी १२:१९) यहोवाले दिनुभएका नियम तथा सिद्धान्तलाई बेवास्ता गऱ्यौं भने सैतान खुसी हुन्छ र परमेश्वरको नाममा कलङ्कसमेत लाग्न सक्छ। कसैले जानाजानी हाम्रो चित्त दुखायो भने हामी आफूलाई नै हानि हुने हदसम्म रिसाउनु हुँदैन। बाइबलले हामीलाई “माटाका भाँडाहरू” भनेको छ, जसमा धन राखिएको छ। त्यो धन हाम्रो सेवाको काम हो। (२ कोरि. ४:१, ७) बहुमूल्य धन राखिएको यस्तो भाँडोमा तेजाबजस्तो इबी राख्नु हुँदैन।

५. हारूनका छोराहरूको मृत्यु भएको घटनाबाट र हारूनबाट हामी के सिक्न सक्छौं? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

लेवी १०:१-११ मा हारूनको परिवारमा घटेको एउटा अप्रिय घटनाबारे लेखिएको छ। यहोवाले स्वर्गबाट आगो बर्साउनुभयो अनि हारूनका छोराहरू नादाब र अबीहू नाश भए। यहोवाले हारून र तिनको परिवारलाई उनीहरूको मृत्यु भएकोमा शोक नगर्न आदेश दिनुभयो। त्यतिबेला तिनीहरूको विश्वासको जाँच भयो। परिवारको कुनै सदस्य वा साथीभाइ बहिष्कार हुँदा तिनीहरूसित सङ्गत नगरेर के तपाईंले पनि आफू पवित्र रहेको देखाउँदै हुनुहुन्छ?१ कोरिन्थी ५:११ पढ्नुहोस्।

६, ७. (क) धार्मिक परम्पराअनुसार हुने विवाह समारोहमा जाने कि नजाने भनेर निर्णय गर्नुपर्दा कस्ता कुराहरू विचार गर्नुपर्छ? (ख) धार्मिक परम्पराअनुसार हुने विवाह समारोहमा नजाने निर्णय गऱ्यौं भने, त्यसको कारण कसरी बताउन सक्छौं?

हामीले हारून र तिनको परिवारले भोग्नुपरेको जस्तो परीक्षा त भोग्नु पर्दैन होला। तर स्थानीय धार्मिक परम्पराअनुसार हुने विवाह समारोहमा निम्तो आयो भने चाहिं के गर्ने? यस सन्दर्भमा धर्मशास्त्रले तोकेरै आज्ञा दिएको त छैन। तर त्यस्तो बेला के गर्न सकिन्छ भनेर बुझ्न बाइबलका केही सिद्धान्तहरूले मदत गर्छ। *

यहोवालाई खुसी बनाउन र पवित्र रहन हामीले त्यस्तो समारोहमा नजाने निर्णय गऱ्यौं भने बेग्लै धर्म मान्ने आफन्तहरू छक्क पर्न सक्छन्‌। (१ पत्रु. ४:३, ४) हामी उनीहरूलाई दुःखी बनाउन चाहँदैनौं। त्यसैले उनीहरूलाई आफ्नो अडानबारे बताउँदा उनीहरूलाई चोट नपुऱ्याउन होसियार हुनुपर्छ र आफ्नो कुरा स्पष्टसित बताउनुपर्छ। सम्भव छ भने, समारोहको केही दिन अघि नै उनीहरूसित कुरा गर्नुपर्छ। निम्तो दिएकोमा हामी धन्यवाद भन्न सक्छौं। समारोहको कुनै पनि धार्मिक विधिमा भाग लिन नसक्ने भएकोले उनीहरूलाई वा अरू पाहुनालाई अप्ठ्यारो हुन सक्ने कुरा बताउन सक्छौं। आफ्नो कारणले गर्दा उनीहरूको विशेष दिनमा खलल पुग्न सक्ने कुरा पनि बताउन सक्छौं। यसरी हामी आफ्नो विश्वासमा सम्झौता गर्नदेखि जोगिन्छौं।

यहोवाको शासन गर्ने अधिकारलाई समर्थन गर्नुहोस्

८. लेवीको किताबले नियम-कानुन बनाउने अधिकार यहोवासित मात्र छ भनी कसरी जोड दिन्छ?

यहोवा हाम्रो शासक हुनुभएकोले हाम्रो लागि नियम-कानुन बनाउने अधिकार उहाँसित मात्र छ भनी लेवीको किताबले जोड दिन्छ। यस किताबमा भएका नियमहरू यहोवाले दिनुभएको हो र यो कुरा लेवीको किताबमा तीसभन्दा धेरै पटक लेखिएको छ। यी सबै नियम यहोवाले दिनुभएको हो भनेर मोशालाई थाह थियो। त्यसैले तिनले यहोवाले भनेअनुसारै गरे। (लेवी ८:४, ५) मोशाले जस्तै हामीले पनि सबैभन्दा असल शासक यहोवाको आज्ञा मान्नुपर्छ। यसो गर्न हामीलाई उहाँको सङ्गठनले मदत गर्छ। तर सैतानले उजाडस्थानमा येशूको परीक्षा गरेजस्तै कहिलेकाहीं हामी एक्लो हुँदा त्यसले हाम्रो पनि परीक्षा गर्न सक्छ। (लूका ४:१-१३) यहोवाको शासन गर्ने अधिकारलाई समर्थन गऱ्यौं र उहाँमा भरोसा राख्यौं भने हामी सम्झौता गर्ने दबाब आइपर्दा झुक्ने छैनौं। हामी मान्छेको डरको पासोमा पर्ने छैनौं।—हितो. २९:२५.

९. परमेश्वरका जनहरू किन घृणाको पात्र भएका छन्‌?

संसारभरका परमेश्वरका जनहरूले सतावट भोगिरहेका छन्‌। येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभएको थियो, “मानिसहरूले तिमीहरूलाई सताउनेछन्‌ र मार्नेछन्‌ अनि मेरा चेला भएकाले तिमीहरू सबै जातिहरूमाझ घृणाको पात्र हुनेछौ।” (मत्ती २४:९) त्यस्तो सतावट भोग्नुपर्दा समेत हामी परमेश्वरको राज्यबारे प्रचार गरिरहन्छौं र उहाँको नजरमा पवित्र रहिरहन्छौं। हामी इमानदार छौं, हाम्रो जीवनशैली राम्रो छ र देशको सबै नियम-कानुन पालन पनि गर्छौं। तैपनि हामी किन घृणाको पात्र भएका छौं? (रोमी १३:१-७) किनकि हामीले यहोवालाई आफ्नो शासक बनाएका छौं। हामी “उहाँलाई मात्र” पवित्र सेवा चढाउँछौं र उहाँका नियम तथा सिद्धान्तहरूमा कहिल्यै सम्झौता गर्दैनौं।—मत्ती ४:१०.

१०. एक जना भाइले सम्झौता गर्दा के भयो?

१० हामी ‘यस संसारका होइनौं।’ त्यसकारण युद्ध र राजनीतिमा भाग लिंदैनौं। (यूहन्ना १५:१८-२१; यशैया २:४ पढ्नुहोस्) तर यहोवालाई जीवन समर्पण गरेका कोही-कोही तटस्थ रहेनन्‌। तैपनि उनीहरूमध्ये धेरैले पश्‍चात्ताप गरे र कृपा देखाउनुहुने बुबा यहोवासित फेरि घनिष्ठ भए। (भज. ५१:१७) तर केहीले भने पश्‍चात्ताप गरेनन्‌। दोस्रो विश्वयुद्धको बेला अफिसरहरूले हंगेरीका सबै जेलबाट ४५ वर्षमुनिका १६० जना यहोवाको साक्षीलाई एउटा सहरमा जम्मा गरे र सेनामा भर्ती हुन आदेश दिए। वफादार साक्षीहरूले त्यसो गर्न मानेनन्‌ तर उनीहरूमध्ये नौ जनाले भने सम्झौता गरे। ती नौ जनाले सपथ लिए अनि सेनाको बर्दी लगाए। सम्झौता गर्नेहरूमध्ये एक जना दुई वर्षपछि ठूलो समस्यामा परे। एउटा समूहले वफादार साक्षीहरूलाई गोली हान्ने आदेश पायो र त्यो समूहमा उनी पनि थिए। उनले आफ्नो साक्खै दाइलाई गोली हान्नुपर्ने भयो। तर खुसीको कुरा, ती वफादार साक्षीहरूलाई गोली हान्ने आदेश रद्द गरियो।

यहोवालाई सबैभन्दा उत्तम भेटी चढाउनुहोस्

११, १२. इस्राएलीहरूले चढाउने बलिदानबाट हामी के सिक्न सक्छौं?

११ मोशाको व्यवस्थाअनुसार इस्राएलीहरूले खास किसिमका बलिहरू चढाउनुपर्थ्यो। (लेवी ९:१-४, १५-२१) तिनीहरूले चढाउने बलि निष्खोट हुनुपर्थ्यो किनकि त्यसले येशूको त्रुटिरहित बलिदानलाई सङ्केत गर्थ्यो। साथै, प्रत्येक बलि चढाउँदा इस्राएलीहरूले तोकिएको विधि पूरा गर्नुपर्थ्यो। उदाहरणको लागि, भर्खरै बच्चा जन्माएकी स्त्रीले के गर्नुपर्थ्यो, विचार गर्नुहोस्। लेवी १२:६ मा यस्तो लेखिएको छ, “त्यसको शुद्ध हुने दिन पूरा भएपछि छोराको निम्ति होस्, वा छोरीको होस्, त्यसले होमबलिको लागि एउटा एक वर्षे थुमा अथवा एउटा ढुकुर भेट हुने पालको ढोकामा पूजाहारीहरूकहाँ ल्याओस्।” बलि चढाउने सन्दर्भमा यहोवाले तोकेरै निर्देशन दिनुभएको थियो। तैपनि व्यवस्थाले उहाँ मायालु र व्यावहारिक हुनुहुन्छ भनेर स्पष्ट पार्छ। यदि ती स्त्रीसित थुमा चढाउने औकात छैन भने तिनले दुइटा ढुकुर अथवा परेवाका दुइटा बच्चा चढाउन सक्थिन्‌। (लेवी १२:८) तिनी गरिब भए पनि यहोवाले तिनलाई बहुमूल्य भेटी ल्याउनेहरूलाई जत्तिकै माया गर्नुहुन्थ्यो र तिनले गरेको प्रयासको मोल गर्नुहुन्थ्यो। यसबाट हामी के सिक्न सक्छौं?

१२ प्रेषित पावलले सङ्गी ख्रीष्टियनहरूलाई “प्रशंसाको बलिदान” चढाउन आग्रह गरे। (हिब्रू १३:१५) अरूलाई परमेश्वरको नामबारे बताउँदा हामीले प्रशंसाको बलिदान चढाइरहेका हुन्छौं। सुस्त श्रवण भएका हाम्रा दाजुभाइ दिदीबहिनीहरूले साङ्केतिक भाषामा परमेश्वरको प्रशंसा गर्छन्‌। वृद्धावस्थाले गर्दा वा अशक्त भएकोले घरबाट निस्कन नसक्ने ख्रीष्टियनहरूले चिठ्ठी वा टेलिफोनमार्फत साक्षी दिन्छन्‌। साथै, आफ्नो देखभाल गर्ने वा भेट्न आउनेहरूलाई प्रचार गर्छन्‌। यसरी तिनीहरूले यहोवाको प्रशंसा गर्छन्‌। हामी यहोवाको सेवामा कति गर्न सक्छौं, त्यो हाम्रो स्वास्थ्य वा क्षमतामा भर पर्छ। तर हामीले यहोवालाई चढाउने बलिदान सबैभन्दा उत्तम हुनुपर्छ।—रोमी १२:१; २ तिमो. २:१५.

१३. हामीले किन प्रचारको रिपोर्ट दिनुपर्छ?

१३ हामी यहोवालाई प्रेम गर्छौं। त्यसैले हामी राजीखुसीले उहाँलाई प्रशंसाको बलिदान चढाउँछौं। (मत्ती २२:३७, ३८) तर हरेक महिना प्रचारकार्यमा बिताएको घण्टा रिपोर्ट गर्ने विषयमा हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ? हामीले खुसीसाथ रिपोर्ट बुझाउनुपर्छ किनकि यसो गर्दा हामीले “परमेश्वरको भक्ति” गरिरहेका हुन्छौं। (२ पत्रु. १:७) तर धेरै घण्टा रिपोर्ट गर्नको लागि मात्र प्रचारकार्यमा धेरै समय बिताउनुपर्छ भन्ने सोच्नु चाहिं राम्रो होइन। उमेर वा स्वास्थ्यले गर्दा कुनै प्रकाशकले प्रचारकार्यमा धेरै समय बिताउन सक्दैनन्‌ होला। तर तिनले १५ मिनेट मात्र भए पनि बुझाउन सक्छन्‌। तिनले आफ्नो क्षमताले भ्याएसम्म गरेकोमा यहोवालाई खुसी लाग्छ। त्यस्ता अवस्थामा भएका दाजुभाइ दिदीबहिनीहरूले यहोवालाई प्रेम गर्छन्‌ र तिनीहरू साँच्चै नै उहाँबारे साक्षी दिन चाहन्छन्‌ भनेर उहाँलाई थाह छ। केही इस्राएलीहरू गरिब भए पनि आफ्नो औकातले भ्याएसम्म बलि चढाउन सक्थे। आज पनि आफ्नो सीमितताले गर्दा प्रचारकार्यमा धेरै समय बिताउन नसक्नेहरूले समेत रिपोर्ट बुझाउन सक्छन्‌। हामी प्रत्येकले बुझाएको रिपोर्ट विश्वव्यापी रिपोर्टमा गाभिन्छ। विश्वव्यापी रिपोर्टको आधारमा सङ्गठनले प्रचारकार्यको लागि योजनाहरू बनाउँछ। त्यसैले हामीले प्रचारकार्यमा बिताएको समय रिपोर्ट गर्नु आवश्यक छ।

अध्ययन गर्ने बानी र प्रशंसाको बलिदान

१४. हामीले किन आफ्नो अध्ययन गर्ने बानी केलाउनुपर्छ?

१४ लेवीको किताबबाट बहुमूल्य पाठहरू सिकेपछि तपाईंलाई यस्तो लाग्यो होला, ‘यहोवाको प्रेरणा पाएर लेखिएको वचनमा लेवीको किताब पनि राखिनुको कारण मैले बल्ल बुझें।’ (२ तिमो. ३:१६) लेवीको किताबको केही भाग छलफल गरेपछि के तपाईं पवित्र रहन उत्प्रेरित हुनुभयो? हामी पवित्र रहेको र आफूले सकेजति गरेको यहोवा चाहनुहुन्छ अनि उहाँले हामीबाट त्यस्तो माग गर्नु जायज छ। यी दुइटा लेखबाट लेवीको किताबमा भएका राम्रा कुराहरू सिकिसकेपछि तपाईंलाई धर्मशास्त्रको बाँकी भाग पनि गहिरिएर अध्ययन गर्न मन लाग्यो होला। (हितोपदेश २:१-५ पढ्नुहोस्) यहोवालाई प्रार्थना गरेर आफ्नो अध्ययन गर्ने बानी केलाउनुहोस्। तपाईं पक्कै पनि आफ्नो प्रशंसाको बलिदान यहोवाले स्वीकार्नुभएको चाहनुहुन्छ। टिभी कार्यक्रम, सोख, भिडियो गेम, खेलकुदजस्ता कुराहरूमा अलमलिएकोले यहोवाको सेवामा प्रगति गर्न गाह्रो भइरहेको छ कि? त्यसो हो भने हिब्रूको किताबमा प्रेषित पावलले लेखेका केही कुराहरू मनन गर्नुहोस्।

के तपाईंले बाइबल अध्ययन र पारिवारिक उपासनालाई पहिलो स्थान दिइरहनुभएको छ? (अनुच्छेद १४ हेर्नुहोस्)

१५, १६. पावलले हिब्रू ख्रीष्टियनहरूलाई किन कडा सल्लाह दिए?

१५ पावलले हिब्रू ख्रीष्टियनहरूलाई कडा सल्लाह दिए। (हिब्रू ५:७, ११-१४ पढ्नुहोस्) तिनले कुरा चपाएर बोलेनन्‌। तिनले ती ख्रीष्टियनहरूलाई यसो भने, “तिमीहरूको कान बोधो भएको छ।” पावलले किन त्यस्तो कडा शब्द चलाए? दूधको भरमै बाँचिरहेका ती ख्रीष्टियनहरूलाई पावलले यहोवाले जस्तै माया र चासो देखाए। हुन त बाइबलका आधारभूत कुराहरू बुझ्नु आवश्यक छ तर त्यतिले मात्र पुग्दैन। आध्यात्मिक रूपमा परिपक्व हुन “खँदिलो खानेकुरा” पनि खानुपर्छ।

१६ ती हिब्रू ख्रीष्टियनहरू अरूलाई सिकाउन सक्ने भइसक्नुपर्थ्यो। तर तिनीहरूलाई नै कसैले सिकाउनु परेको थियो। किन? किनकि तिनीहरूले “खँदिलो खानेकुरा” खाएका थिएनन्‌। आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्, ‘के म गहिरा कुराहरू सिक्न इच्छुक छु? के मलाई प्रार्थना गर्न वा बाइबलका गहिरा कुराहरू सिक्न अल्छी लाग्छ? अध्ययन गर्ने राम्रो बानी नभएकोले पो त्यस्तो भएको हो कि?’ हाम्रो काम मानिसहरूलाई प्रचार गर्ने मात्र होइन; सिकाउने र चेला बनाउने पनि हो। त्यसैले बाइबलका गहिरा कुराहरू सिक्नु आवश्यक छ।—मत्ती २८:१९, २०.

१७, १८. (क) हामीले किन बाइबलको खँदिलो खानेकुरा लिइरहनुपर्छ? (ख) सभा जानुअघि रक्सी पिउने कुरालाई हामीले कसरी हेर्नुपर्छ?

१७ हामीमध्ये धेरैलाई बाइबलको गहिरो अध्ययन गर्न गाह्रो लाग्छ होला। हुन त यहोवा हामीलाई बाइबलको गहिरो अध्ययन गर्न कर गर्नुहुन्न। तैपनि हामीले वर्षौंदेखि यहोवाको सेवा गरिरहेको होस् वा भर्खरै, खँदिलो खानेकुरा लिइरहनुपर्छ। पवित्र रहन हामीले त्यसो गर्नै पर्छ।

१८ पवित्र रहन हामीले धर्मशास्त्र राम्ररी जाँच्नुपर्छ र यहोवाले चाहनुभएको कुरा गर्नुपर्छ। नादाब र अबीहूलाई लिनुहोस्। “परमप्रभुले आज्ञा नगर्नुभएको अनौठो आगो” चढाएकोले उनीहरूले जीवनै गुमाए। सायद त्यतिबेला उनीहरूले मद्य पिएका थिए। (लेवी १०:१, २) उनीहरूको मृत्यु भएपछि यहोवाले हारूनलाई के भन्नुभयो, विचार गर्नुहोस्। (लेवी १०:८-११ पढ्नुहोस्) यहोवाले भन्नुभएको कुराको अर्थ ख्रीष्टियन सभामा जानुअघि हामीले कुनै पनि किसिमको रक्सी पिउनु हुँदैन भन्ने हो? यी कुराहरू मनमा राख्नुहोस्: हामी व्यवस्थाको अधीनमा छैनौं। (रोमी १०:४) केही मुलुकमा हाम्रा सङ्गी ख्रीष्टियनहरूले सभामा जानुअघि खाना खाने बेला ठिक्क मात्रामा रक्सी पिउँछन्‌। इस्राएलीहरूको समयमा निस्तार चाडमा चार कचौरा दाखमद्य प्रयोग गरिन्थ्यो। साथै, स्मरणार्थ उत्सव स्थापित गर्दा येशूले पनि आफ्ना प्रेषितहरूलाई दाखमद्य दिनुभयो र त्यसले उहाँको रगतलाई सङ्केत गर्थ्यो। (मत्ती २६:२७) तर धेरै रक्सी पिउनु र पियक्कड हुनुलाई बाइबलले निन्दा गर्छ। (१ कोरि. ६:१०; १ तिमो. ३:८) थुप्रै ख्रीष्टियनले आफ्नो अन्तस्करणको कारण सेवाको जुनसुकै पक्षमा भाग लिनुअघि रक्सी नपिउने निर्णय गर्न सक्छन्‌। तर अवस्था देशअनुसार फरक हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको प्रत्येक ख्रीष्टियनले “पवित्र र अपवित्र” कुराबीच फरक छुट्टयाउनुपर्छ। यसो गर्दा पवित्र रहन सक्छौं र यहोवालाई खुसी बनाउन सक्छौं।

१९. (क) पारिवारिक उपासना र व्यक्तिगत अध्ययनलाई कसरी अझ राम्रो बनाउन सक्छौं? (ख) पवित्र रहन दृढ हुनुहुन्छ भनेर कसरी देखाउन सक्नुहुन्छ?

१९ परमेश्वरको वचनको गहिरो अध्ययन गऱ्यौं भने थुप्रै आध्यात्मिक रत्न भेट्टाउन सक्छौं। पारिवारिक उपासना र व्यक्तिगत अध्ययनलाई अझ राम्रो बनाउन अनुसन्धान सामग्रीहरू प्रयोग गर्नुहोस्। यहोवा र उहाँको उद्देश्यबारे अझ धेरै कुरा बुझ्नुहोस्। यहोवासित अझ नजिक हुनुहोस्। (याकू. ४:८) भजनरचयिताले जस्तै यहोवालाई यसरी प्रार्थना गर्नुहोस्, “मेरा आँखा खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाबाट उदेकका कुरा देख्न सकूँ।” (भज. ११९:१८) बाइबलका नियम तथा सिद्धान्तहरूमा कहिल्यै सम्झौता नगर्नुहोस्। “पवित्र” परमेश्वरको उच्च स्तरअनुरूप चल्नुहोस् र “परमेश्वरको सुसमाचार घोषणा गर्ने पवित्र काममा” जोसका साथ भाग लिइरहनुहोस्। (१ पत्रु. १:१५; रोमी १५:१६) यस अन्तको दिनमा पवित्र रहनुहोस्। आफ्नो सारा चालचलनमा पवित्र रहेर पवित्र परमेश्वर यहोवाको शासन गर्ने अधिकारलाई समर्थन गर्नुहोस्।

^ अनु. 6 डिसेम्बर १, २००७ को प्रहरीधरहरा-मा भएको “पाठकहरूका प्रश्न” हेर्नुहोस्।