सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टका भाइहरूलाई वफादार भई समर्थन गर्नुहोस्‌

ख्रीष्टका भाइहरूलाई वफादार भई समर्थन गर्नुहोस्‌

“तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई जे-जति गऱ्‍यौ, त्यो तिमीहरूले मलाई नै गऱ्‍यौ।”—मत्ती २५:४०.

१, २. (क) येशूले आफ्ना घनिष्ठ साथीहरूलाई के-कस्ता दृष्टान्तहरू बताउनुभयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) हामीले भेडा र बाख्राको दृष्टान्त बुझ्नु किन आवश्‍यक छ?

 यो दृश्‍य कल्पना गर्नुहोस्‌। येशू आफ्ना घनिष्ठ साथीहरू पत्रुस, अन्द्रियास, याकूब र यूहन्‍नासित कुराकानी गर्दै हुनुहुन्छ। उहाँले भर्खरै मात्र तिनीहरूलाई विश्‍वासी र बुद्धिमान्‌ दासको, दस कन्याको र तोडाको दृष्टान्त बताउनुभएको छ। अन्तमा उहाँले भेडा र बाख्राको दृष्टान्त पनि बताउनुहुन्छ। यस दृष्टान्तमा “मानिसको छोरा”-ले “सबै जातिहरू”-को न्याय गर्ने समयबारे उहाँ बताउनुहुन्छ। यो दृष्टान्त येशूका चेलाहरूलाई कत्ति रोचक लाग्यो होला, सोच्नुहोस्‌ त! यस दृष्टान्तमा येशूले भेडा र बाख्रागरि दुइटा समूहबारे बताउनुहुन्छ। उहाँ तेस्रो समूहबारे पनि उल्लेख गर्नुहुन्छ। त्यस समूहलाई उहाँले “राजा”-का “भाइहरू” भन्‍नुहुन्छ।मत्ती २५:३१-४६ पढ्‌नुहोस्‌।

यो दृष्टान्त परमेश्‍वरका जनहरूको लागि चासोको विषय हो किनकि यसमा येशूले मानिसहरूको जीवन र मृत्युसित सम्बन्धित कुरा बताउनुभएको छ। कसै-कसैलाई किन अनन्त जीवन दिइन्छ र कसै-कसैलाई किन सदाको लागि नाश गरिन्छ, त्यसबारे पनि उहाँले यस दृष्टान्तमा बताउनुभएको छ। उहाँले बताउनुभएको कुरा राम्ररी बुझ्यौं र त्यसअनुसार गऱ्‍यौं भने मात्र हाम्रो जीवन बच्न सक्छ। त्यसैले हामीले यस्ता प्रश्‍नहरूबारे विचार गर्नुपर्छ: यहोवाले यस दृष्टान्तबारे हाम्रो बुझाइमा के-कस्ता छाँटकाँट गर्दै आउनुभएको छ? यस दृष्टान्तले प्रचारकार्यको महत्त्वलाई जोड दिन्छ भनेर किन भन्‍न सक्छौं? प्रचार गर्ने जिम्मेवारी कसले पाएको छ? हामी “राजा” र उहाँका “भाइहरू”-प्रति वफादार हुनु किन आवश्‍यक छ?

हाम्रो बुझाइमा के-कस्ता छाँटकाँट गरिएका छन्‌?

३, ४. (क) भेडा र बाख्राको दृष्टान्तलाई सही तरिकाले बुझ्न हामीले के-कस्ता कुराहरू थाह पाउनुपर्छ? (ख) सन्‌ १८८१ मा सियोनको प्रहरीधरहरा-ले यो दृष्टान्तलाई कसरी व्याख्या गरेको थियो?

भेडा र बाख्राको दृष्टान्तलाई सही तरिकाले बुझ्न हामीले यी कुराहरू थाह पाउनुपर्छ: (१) “मानिसको छोरा” वा “राजा” को हो? भेडा र बाख्राले क-कसलाई सङ्‌केत गर्छ अनि राजाका “भाइहरू”-ले कसलाई बुझाउँछ? (२) “मानिसको छोरा”-ले भेडा र बाख्रालाई कहिले छुट्ट्याउनेछन्‌? (३) मानिसहरूलाई केको आधारमा भेडा र बाख्राको रूपमा छुट्ट्याइनेछ?

सन्‌ १८८१ मा सियोनको प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) “मानिसको छोरा” अर्थात्‌ “राजा”-ले येशूलाई बुझाउँछ भनिएको थियो। त्यस प्रहरीधरहरा-ले राजाका “भाइहरू” भनेको येशूसितै शासन गर्नेहरू अनि त्रुटिरहित भएपछि पृथ्वीमा सधैंभरि बाँच्ने मानिसहरू हुन्‌ भनेर बुझाएको थियो। भेडा र बाख्रा छुट्ट्याउने काम ख्रीष्टको हजार वर्षीय शासनको बेला हुनेछ भनेर पनि त्यसमा बताइएको थियो। साथै, ज-जसले परमेश्‍वरको प्रेमको देखासिकी गर्छन्‌, तिनीहरूलाई भेडाको रूपमा छुट्ट्याइनेछ भन्‍ने कुरा पनि त्यस प्रहरीधरहरा-मा बताइएको थियो।

५. सन्‌ १९२० पछिका केही वर्षहरूमा हाम्रो बुझाइमा के-कस्ता छाँटकाँटहरू गरिएका थिए?

सन्‌ १९२० पछिका केही वर्षहरूमा यहोवाले आफ्ना जनहरूलाई यो दृष्टान्तको अर्थ अझ राम्ररी बुझ्न मदत गर्नुभयो। अक्टोबर १५, १९२३ को प्रहरीधरहरा-ले (अङ्‌ग्रेजी) “मानिसको छोरा” भनेको येशू हो भनेर बताएको थियो। तर त्यस प्रहरीधरहरा-मा ख्रीष्टका भाइहरू को हुन्‌ भन्‍ने बुझाइमा चाहिं छाँटकाँट गरिएको थियो। त्यसमा ख्रीष्टका भाइहरू भनेको स्वर्गमा उहाँसितै शासन गर्नेहरू मात्र हुन्‌ भन्‍ने कुराको धर्मशास्त्रीय आधारहरू पेस गरिएको थियो। भेडाले चाहिं ख्रीष्टले शासन गरेको बेला पृथ्वीमा सधैंभरि बाँच्ने आशा पाएका मानिसहरूलाई बुझाउँछ भन्‍ने कुरा पनि त्यस प्रहरीधरहरा-ले प्रस्ट पारेको थियो। त्यसोभए, भेडा र बाख्रालाई कहिले छुट्ट्याइने थियो? दृष्टान्तले बताएझैं भेडाखाले मानिसहरूले ख्रीष्टका भाइहरूलाई मदत गर्ने थिए। त्यसैले भेडा र बाख्रा छुट्ट्याउने काम ख्रीष्टका भाइहरू पृथ्वीमा छँदा नै, अझ स्पष्टसित भन्‍नुपर्दा हजार वर्षीय शासन सुरु हुनुअघि नै गरिनुपर्ने थियो। परमेश्‍वरको राज्यले मात्र संसारको परिस्थिति सुधार्न सक्छ भनेर विश्‍वास गरेको र येशूलाई प्रभु मानेको आधारमा मानिसहरूलाई भेडाको रूपमा अलग पारिनेछ भन्‍ने कुरा पनि त्यस लेखले बताएको थियो।

६. सन्‌ १९९५ मा हाम्रो बुझाइमा कस्तो छाँटकाँट गरियो?

दृष्टान्तको बुझाइमा गरिएका छाँटकाँटहरूले गर्दा परमेश्‍वरका जनहरू कस्तो निष्कर्षमा पुगे? अन्तको दिनको दौडान मानिसहरूले राज्यको सुसमाचार स्वीकार्छन्‌ कि स्वीकार्दैनन्‌, त्यसैको आधारमा तिनीहरूलाई भेडा वा बाख्राको रूपमा छुट्ट्याइनेछ भन्‍ने निष्कर्षमा पुगे। तर १९९५ मा हाम्रो बुझाइमा छाँटकाँट गरियो। अक्टोबर १५, १९९५ को प्रहरीधरहरा-मा छापिएका दुइटा लेखले मत्ती २४:२९-३१ मत्ती २५:३१, ३२ मा येशूले भन्‍नुभएका कुराबीच के-कस्ता समानता छन्‌ भनेर बतायो। (पढ्‌नुहोस्‌) a ती लेखहरूको निचोड के थियो? पहिलो लेखमा यसो भनिएको थियो, “मानिसहरूलाई भेडा र बाख्राको रूपमा न्याय गर्ने काम भविष्यमा हुनेछ।” तर ठ्याक्कै कहिले? “मत्ती २४:२९, ३० मा उल्लेख गरिएको ‘सङ्‌कष्ट’ सुरु भएपछि र मानिसको छोरा ‘गौरवसहित’ आएपछि यो काम हुनेछ। . . . अनि यस दुष्ट युगको अन्त हुनै लाग्दा येशूले सबैलाई भेला गरेर न्याय गर्नुहुनेछ।”

७. अहिले हामीले भेडा र बाख्राको दृष्टान्तलाई कसरी बुझेका छौं?

अहिले हामीले भेडा र बाख्राको दृष्टान्त स्पष्टसित बुझेका छौं। दृष्टान्तमा उल्लेख गरिएका पात्रहरूले क-कसलाई सङ्‌केत गर्छ भनेर हामीले बुझेका छौं। “मानिसको छोरा” वा “राजा”-ले येशूलाई बुझाउँछ। ख्रीष्टका “भाइहरू” चाहिं अभिषिक्‍त पुरुष तथा स्त्रीहरू हुन्‌, जसले ख्रीष्टसितै शासन गर्नेछन्‌। (रोमी ८:१६, १७) “भेडा” र “बाख्रा”-ले विभिन्‍न राष्ट्रका मानिसहरूलाई बुझाउँछ। तिनीहरू पवित्र शक्‍तिद्वारा अभिषेक भएका हुँदैनन्‌। न्याय गर्ने काम चाहिं कहिले हुनेछ? न्याय गर्ने काम महासङ्‌कष्टको अन्ततिर हुनेछ। मानिसहरूलाई केको आधारमा भेडा र बाख्राको रूपमा छुट्ट्याइनेछ? पृथ्वीमा बाँकी रहेका ख्रीष्टका अभिषिक्‍त भाइहरूलाई तिनीहरूले गरेको व्यवहारको आधारमा। यस अन्तको दिनमा यहोवाले यो दृष्टान्तलगायत मत्ती अध्याय २४ र २५ मा पाइने अन्य दृष्टान्तहरू हामीलाई राम्ररी बुझाउँदै आउनुभएको छ। यसको लागि हामी उहाँप्रति आभारी छौं।

यस दृष्टान्तले प्रचारकार्यको महत्त्वलाई कसरी जोड दिन्छ?

८, ९. भेडाखाले मानिसहरूलाई “परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने मानिस” भनिएको छ, किन?

भेडा र बाख्राको दृष्टान्तमा येशूले प्रचारकार्यबारे सीधै बताउनुभएको छैन। त्यसोभए यस दृष्टान्तले प्रचारकार्यको महत्त्वलाई जोड दिन्छ भनेर कसरी भन्‍न सक्छौं?

यसो भन्‍न सकिने दुइटा आधार छन्‌। पहिलो, येशूले दृष्टान्त चलाएर सिकाउँदै हुनुहुन्थ्यो। त्यसकारण उहाँले साँच्चैको भेडा र बाख्रा छुट्ट्याउने विषयमा बताउनुभएको थिएन। त्यसैगरि, भेडाको रूपमा अलग पारिने प्रत्येक व्यक्‍तिले ख्रीष्टका भाइहरूलाई साँच्चै नै खुवाउनुपर्छ, लुगा लगाइदिनुपर्छ, बिरामी हुँदा स्याहारसुसार गर्नुपर्छ र झ्यालखानामा भेट्‌न जानुपर्छ भन्‍न खोज्नुभएको थिएन। बरु, भेडाखाले मानिसहरूले ख्रीष्टका भाइहरूलाई कसरी हेर्छन्‌, त्यसबारे बताउन खोज्दै हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई “परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने मानिस” भन्‍नुभएको छ। किन? किनकि ख्रीष्टका अभिषिक्‍त भाइहरू अहिले पनि पृथ्वीमा छन्‌ भन्‍ने कुरा तिनीहरू मानिलिन्छन्‌। साथै, तिनीहरू अहिलेको असाध्यै कठिन समयमा अभिषिक्‍त जनहरूलाई वफादार भई समर्थन गर्छन्‌।—मत्ती १०:४०-४२; २५:४०, ४६; २ तिमो. ३:१-५.

१०. भेडाखाले मानिसहरूले ख्रीष्टका भाइहरूलाई कसरी मदत गर्छन्‌?

१० दोस्रो, आफ्नो उपस्थिति र यस युगको आखिरी समयको चिन्हबारे छलफल गर्दा येशूले यो दृष्टान्त पनि बताउनुभएको थियो। (मत्ती २४:३) युगको आखिरी समयको विभिन्‍न चिन्हहरूबारे बताउनुहुँदा उहाँले राज्यको सुसमाचार “सारा पृथ्वीभरि प्रचार गरिनेछ” पनि भन्‍नुभएको थियो। (मत्ती २४:१४) भेडा र बाख्राको दृष्टान्त बताउनुअघि येशूले तोडाको दृष्टान्त बताउनुभएको थियो। अघिल्लो लेखमा छलफल गरिएझैं येशूले आफ्ना अभिषिक्‍त “भाइहरू”-लाई लगनशील भई प्रचार गर्न तोडाको दृष्टान्तमार्फत प्रोत्साहन दिनुभयो। तर ख्रीष्टको उपस्थितिको बेला पृथ्वीमा बाँकी रहेका थोरै अभिषिक्‍त जनहरूले अन्त आउनुअघि “सारा पृथ्वीभरि” प्रचार गर्नुपर्ने थियो। यो तिनीहरूको लागि एउटा ठूलो चुनौती थियो। तर भेडा र बाख्राको दृष्टान्तमा बताइएझैं भेडाखाले मानिसहरूले ती अभिषिक्‍त जनहरूलाई मदत गर्ने थिए। कसरी? तिनीहरूलाई प्रचारकार्यमा समर्थन गरेर। तिनीहरूलाई यसरी समर्थन गर्नुमा के समावेश छ? भौतिक सहयोग दिनु वा प्रचार गर्न हौसला दिनु मात्र पर्याप्त छ र?

प्रचार गर्ने जिम्मेवारी कसले पाएको छ?

११. कस्तो प्रश्‍न उठ्‌न सक्छ? यस्तो प्रश्‍न उठ्‌नुको कारण के हो?

११ आज संसारभर येशूका ८० लाख चेलाहरू छन्‌। तर उनीहरूमध्ये धेरैजसो अभिषिक्‍त जनहरू होइनन्‌। येशूले उनीहरूलाई तोडा दिनुभएको छैन; आफ्ना अभिषिक्‍त दासहरूलाई मात्र दिनुभएको छ। (मत्ती २५:१४-१८) त्यसैले यस्तो प्रश्‍न उठ्‌न सक्छ, ‘पवित्र शक्‍तिद्वारा अभिषेक नभएकाहरूले पनि प्रचार गर्नुपर्छ र?’ गर्नुपर्छ। आउनुहोस्‌, केही कारणहरू छलफल गरौं।

१२. मत्ती २८:१९, २० बाट हामी कुन कुरा थाह पाउन सक्छौं?

१२ पुनर्जीवित भएपछि येशूले आफ्ना सबै चेलाहरूलाई प्रचार गर्ने आज्ञा दिनुभयो। उनीहरूले चेला बनाउनुपर्थ्यो र येशूले दिनुभएको “सबै” आज्ञा पालन गर्न नयाँ चेलाहरूलाई पनि सिकाउनुपर्थ्यो। उहाँले दिनुभएका आज्ञाहरूमा प्रचार गर्ने आज्ञा पनि समावेश थियो। (मत्ती २८:१९, २० पढ्‌नुहोस्‌) त्यसकारण, येशूका सबै चेलाहरूले प्रचार गर्नुपर्थ्यो, चाहे उनीहरूको आशा स्वर्ग जाने होस्‌ वा पृथ्वीमै बस्ने।—प्रेषि. १०:४२.

१३. यूहन्‍नाले देखेको दर्शनबाट कुन कुरा स्पष्ट हुन्छ र किन?

१३ अभिषिक्‍त जनहरूले मात्र होइन, अरूले पनि प्रचारकार्यमा भाग लिनेछन्‌ भनेर प्रकाशको किताबले सङ्‌केत गर्छ। येशूले प्रेषित यूहन्‍नालाई “दुलही”-को दर्शन देखाउनुहुन्छ। ती दुलहीले स्वर्गमा ख्रीष्टसित शासन गर्ने १ लाख ४४ हजार अभिषिक्‍त जनहरूलाई बुझाउँछ। दर्शनमा दुलहीले मानिसहरूलाई ‘जीवन दिने पानी सित्तैंमा लिन’ आग्रह गर्छिन्‌। (प्रका. १४:१, ३; २२:१७) ख्रीष्टले चढाउनुभएको फिरौतीको बलिदानको आधारमा मानिसजातिलाई पाप र मृत्युबाट मुक्‍त गर्ने प्रबन्धलाई त्यस पानीले सङ्‌केत गर्छ। (मत्ती २०:२८; यूह. ३:१६; १ यूह. ४:९, १०) हामीले सुनाउने सन्देश फिरौतीको बलिदानमा केन्द्रित छ। मानिसहरूलाई फिरौतीको बलिदानबारे सिकाउने र त्यसबाट लाभ उठाउन मदत गर्ने काममा अभिषिक्‍त जनहरूले नेतृत्व लिइरहेका छन्‌। (१ कोरि. १:२३) तर दर्शनमा यूहन्‍नाले अरूलाई पनि देख्छन्‌, जो दुलही वर्गका होइनन्‌। तिनीहरूलाई पनि “आऊ!” भनेर अरूलाई निम्तो दिन आग्रह गरिएको छ। तिनीहरूले त्यो आग्रह स्वीकार्छन्‌ र अरूलाई पनि जीवन दिने पानी लिन निम्तो दिन्छन्‌। तिनीहरू पृथ्वीमा जीवन पाउने आशा भएकाहरू हुन्‌। यस दर्शनबाट यो कुरा स्पष्ट हुन्छ, “आऊ!” भन्‍ने निम्तो स्वीकार्ने जति सबैसित अरूलाई प्रचार गर्ने जिम्मेवारी छ।

१४. “ख्रीष्टको व्यवस्था” पालन गर्नुमा के समावेश छ?

१४ “ख्रीष्टको व्यवस्था”-मा बाँधिएका सबैले प्रचार गर्नै पर्छ। (गला. ६:२) यहोवाले सबैको लागि एउटै स्तर तोकिदिनुभएको छ। उदाहरणको लागि, उहाँले इस्राएलीहरूलाई यसो भन्‍नुभयो, “स्वदेशी र तिनीहरूका बीचमा प्रवास गर्ने परदेशीको निम्ति समान व्यवस्था हुनेछ।” (प्रस्थ. १२:४९; लेवी २४:२२) हुन त आज हामीले मोशाको व्यवस्था पालन गर्नु पर्दैन। तर चाहे हामी अभिषिक्‍त ख्रीष्टियन होऔं वा पृथ्वीमै बस्ने आशा पाएकाहरू, हामी सबैले “ख्रीष्टको व्यवस्था” भने पालन गर्नुपर्छ। त्यस व्यवस्थामा येशूले सिकाउनुभएका सबै कुरा समावेश छ। उहाँले हामीलाई सिकाउनुभएको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आपसमा प्रेम गर्नु हो। (यूह. १३:३५; याकू. २:८) यहोवा, येशू ख्रीष्ट र छिमेकीलाई प्रेम गरेको देखाउने एउटा राम्रो तरिका राज्यको सुसमाचार प्रचार गर्नु हो।—यूह. १५:१०; प्रेषि. १:८.

१५. येशूको आज्ञा उहाँका सबै चेलाहरूलाई लागू हुन्छ भनेर किन भन्‍न सक्छौं?

१५ येशूले सानो समूहलाई भन्‍नुभएको कुरा धेरैलाई लागू हुन्छ। उदाहरणको लागि, येशूले आफ्ना ११ जना चेलाहरूसित राज्य दिने करार बाँध्नुभयो। तर त्यो करार १ लाख ४४ हजार अभिषिक्‍त ख्रीष्टियनहरूलाई पनि लागू हुन्छ। (लूका २२:२९, ३०; प्रका. ५:१०; ७:४-८) त्यसैगरि, पुनर्जीवित भएपछि येशू ज-जसकहाँ देखा पर्नुभयो, तिनीहरूलाई प्रचार गर्ने आज्ञा दिनुभयो। (प्रेषि. १०:४०-४२; १ कोरि. १५:६) तर प्रथम शताब्दीका वफादार चेलाहरूमध्ये धेरैजसोले त्यो आज्ञा आफ्नै कानले सुनेका थिएनन्‌। तैपनि तिनीहरूले त्यो आज्ञा आफ्नो लागि पनि हो भनेर बुझे। (प्रेषि. ८:४; १ पत्रु. १:८) आज पनि येशूले ८० लाख प्रचारकहरू प्रत्येकसित आमनेसामने कुरा गर्नुभएको छैन। तैपनि ख्रीष्टमा विश्‍वास गर्नु र प्रचारकार्यमा भाग लिएर त्यो विश्‍वास कामद्वारा देखाउनु आफ्नो कर्तव्य हो भनेर तिनीहरूले बुझेका छन्‌।—याकू. २:१८.

वफादार रहने समय अहिल्यै हो

१६-१८. येशूले न्याय गर्नुहुँदा भेडाको रूपमा अलग पारिने व्यक्‍तिहरूले उहाँका भाइहरूलाई अरू कुन-कुन तरिकामा समर्थन गर्छन्‌? तिनीहरूले किन अहिल्यै ख्रीष्टका भाइहरूलाई समर्थन गर्नुपर्छ?

१६ पृथ्वीमा बाँकी रहेका ख्रीष्टका अभिषिक्‍त भाइहरूविरुद्ध सैतानले लडाइँ गर्दै छ। त्यसको “समय थोरै मात्र बाँकी भएकोले” त्यसले आफ्नो आक्रमण अझ तीव्र बनाउँदै लैजान्छ। (प्रका. १२:९, १२, १७) तर जतिसुकै कठिन परीक्षाको सामना गर्नुपरे तापनि अभिषिक्‍त जनहरूले इतिहासकै व्यापक प्रचार अभियानमा अगुवाइ लिइरहेका छन्‌। येशू तिनीहरूसित हुनुहुन्छ र उहाँले तिनीहरूको हर प्रयासमा साथ दिइरहनुभएको छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।—मत्ती २८:२०.

१७ येशूले न्याय गर्नुहुँदा भेडाको रूपमा अलग पारिने व्यक्‍तिहरूको सङ्‌ख्या बढ्‌दै छ। उनीहरू प्रचारकार्यमा मात्र होइन, अन्य व्यावहारिक तरिकामा पनि ख्रीष्टका भाइहरूलाई समर्थन गर्न पाउँदा असाध्यै खुसी हुन्छन्‌। जस्तै, उनीहरू राज्यभवन, सम्मेलन भवन र शाखा कार्यालयका भवनहरू निर्माण गर्ने काममा सघाउँछन्‌ र त्यस कामको लागि आर्थिक सहयोग पनि गर्छन्‌। साथै, उनीहरू “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले नियुक्‍त गरेका ख्रीष्टियन दाजुभाइहरूको आज्ञा पालन गर्छन्‌।—मत्ती २४:४५-४७; हिब्रू १३:१७.

हामी ख्रीष्टका भाइहरूलाई विभिन्‍न तरिकामा समर्थन गर्न सक्छौं (अनुच्छेद १७ हेर्नुहोस्‌)

१८ अब चाँडै स्वर्गदूतहरूले महासङ्‌कष्टको “बतास” छोडिदिनेछन्‌। ख्रीष्टका भाइहरूमध्ये पृथ्वीमा बाँकी रहेका सबैले अन्तिम छाप पाइसकेपछि महासङ्‌कष्ट सुरु हुनेछ। (प्रका. ७:१-३) अनि आरमागेडोन सुरु हुनुअघि नै तिनीहरूलाई स्वर्ग लगिनेछ। (मत्ती १३:४१-४३) त्यसकारण, येशूले न्याय गर्नुहुँदा भेडाको रूपमा अलग पारिने सबैले ख्रीष्टका भाइहरूलाई वफादार भई समर्थन गर्ने समय अहिल्यै हो।

a यस दृष्टान्तबारे विस्तृत रूपमा बुझ्न अक्टोबर १५, १९९५ को प्रहरीधरहरा-मा छापिएको “न्याय आसनसामु तपाईंको अवस्था कस्तो हुनेछ?” अनि “भेडा र बाख्राहरूसामु कस्तो भविष्य छ?” भन्‍ने लेखहरू हेर्नुहोस्‌।