सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बहिष्कार—यो किन मायालु प्रबन्ध हो?

बहिष्कार—यो किन मायालु प्रबन्ध हो?

“छोरा बहिष्कार भएको घोषणा सुन्दा संसारै डुबे जस्तो लाग्यो,” जुलियन सम्झन्छन्‌। “ऊ हाम्रो जेठो सन्तान हो। हामी असाध्यै घनिष्ठ थियौं अनि हामी सँगै मिलेर थुप्रै काम गर्थ्यौं। उसको बानीबेहोरा पनि असाध्यै राम्रो थियो। यहोवाले घृणा गर्नुहुने काम उसले गर्ला भनेर हामीले कहिल्यै चिताएका थिएनौं। छोरा बहिष्कार भएपछि मेरी श्रीमतीलाई पनि त्यसको पीडा सहन असाध्यै गाह्रो भयो। उनी घरीघरी रोइरहन्थिन्‌ र उनलाई राम्ररी सम्झाउनै सक्दिनथें। हामी नै आफ्नो जिम्मेवारी पूरा गर्न चुकेकोले त्यस्तो भएको हो कि जस्तो लाग्थ्यो।”

कोही बहिष्कार हुँदा यत्ति धेरै पीडा हुन्छ भने यो कसरी मायालु प्रबन्ध हुन सक्छ जस्तो हामीलाई लाग्न सक्छ। त्यस्तो गम्भीर निर्णय गरिनुका के-कस्ता धर्मशास्त्रीय आधारहरू छन्‌? कुनै ख्रीष्टियनलाई बहिष्कार गरिनुको खास कारण के हो?

बहिष्कार गरिनुको कारण

कुनै बप्तिस्मा प्राप्त ख्रीष्टियनले गम्भीर पाप गर्छन्‌ तर तिनले आफ्नो गल्तीको लागि पछुतो गर्दैनन्‌ भने मात्र तिनलाई मण्डलीबाट बहिष्कार गरिन्छ। तर तिनले गम्भीर गल्ती गरे पनि मनैदेखि पछुतो गर्छन्‌ भने बहिष्कार गरिंदैन।

जति नै कोसिस गरे पनि हामी चुक्न सक्छौं भनेर यहोवालाई थाह छ। तर उहाँले तोक्नुभएको स्तर हामीले पालन गरेको उहाँ चाहनुहुन्छ। उदाहरणको लागि, यहोवाले हामीलाई अवैध यौनसम्बन्ध, मूर्तिपूजा, चोरी, लुटपाट, हत्या र तन्त्रमन्त्रजस्ता गम्भीर पापबाट अलग रहने आदेश दिनुभएको छ।—१ कोरि. ६:९, १०; प्रका. २१:८.

यहोवाका स्तरहरू उचित छन्‌ र ती स्तरहरू पालन गर्दा हाम्रो सुरक्षा हुन्छ भनेर तपाईं मानिलिनुहुन्‍न र? आफूले भरोसा गर्न सकिने शान्तिप्रिय मानिसहरूमाझ बस्न कसलाई पो मन पर्दैन होला र? हामीले यहोवालाई जीवन समर्पण गर्दा बाइबलमा उहाँले तोक्नुभएको स्तरहरूअनुसार चल्ने वाचा गरेका थियौं। त्यस्तो वाचा गरेकोले नै हामी यहोवाका असल सेवकहरूमाझ बस्न पाएका छौं।

तर आफ्नो कमजोरीको वशमा परेर कुनै बप्तिस्मा प्राप्त ख्रीष्टियनले गम्भीर पाप गऱ्‍यो भने नि? यहोवाका पहिले-पहिलेका वफादार सेवकहरूले पनि गम्भीर पाप गरे। तर यहोवाले तिनीहरूलाई तुरुन्तै त्याग्नुभएन। एउटा चिरपरिचित उदाहरण राजा दाऊदको हो। दाऊदले बेतशेबासित अवैध यौनसम्बन्ध राखे र तिनको श्रीमान्‌को हत्या गरे। तर पछि नातान भविष्यवक्‍ताले उनलाई यसो भने, “परमप्रभुले तपाईंको पाप लगिदिनुभएको छ।” हो, यहोवाले तिनको गल्ती क्षमा गर्नुभयो।—२ शमू. १२:१३, NRV.

दाऊदले मनैदेखि पश्‍चात्ताप गरेकोले उनले क्षमा पाए। (भज. ३२:१-५) त्यसैगरि अहिले पनि कसैले गम्भीर पाप गर्छन्‌ तर पश्‍चात्ताप गर्दैनन्‌ भने अथवा त्यस्तो काम गरिरहन्छन्‌ भने मात्र तिनलाई बहिष्कार गरिन्छ। (प्रेषि. ३:१९; २६:२०) गम्भीर पाप गर्ने व्यक्‍तिले मनैदेखि पश्‍चात्ताप गरेका छैनन्‌ भन्‍ने कुरामा न्यायिक समितिका एल्डरहरू पक्का भएपछि मात्र एल्डरहरूले तिनलाई बहिष्कार गर्छन्‌।

गम्भीर पाप गर्ने व्यक्‍तिलाई बहिष्कार गरिने प्रबन्ध सुरुमा त कठोर र निर्दयी छ जस्तो हामीलाई लाग्न सक्छ। त्यसमाथि बहिष्कार गरिएको व्यक्‍ति हाम्रो साथी, नातेदार वा परिवारका सदस्य हुन्‌ भने त झन्‌ त्यस्तो लाग्नु स्वाभाविकै हो। तर बाइबलले हामीलाई यो मायालु प्रबन्ध हो भन्‍ने कुरामा ढुक्क बनाउँछ।

बहिष्कारको प्रबन्धले सबैलाई फाइदा पुऱ्‍याउँछ

येशूले यसो भन्‍नुभयो, “मानिसले परमेश्‍वरको स्तरबमोजिम गर्ने असल कामैले ऊ बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ।” (मत्ती ११:१९) गम्भीर गल्ती गर्ने तर मनैदेखि पश्‍चात्ताप नगर्नेहरूलाई बहिष्कार गर्दा नतिजा राम्रो भएको छ र यसो गर्नु बुद्धिमानी हो भन्‍ने कुरा प्रमाणित भएको छ। तीनवटा राम्रा नतिजाबारे अब विचार गरौं:

गम्भीर पाप गर्नेहरूलाई बहिष्कार गर्दा यहोवाको नामको आदर हुन्छ। हामी यहोवाको नामद्वारा चिनिन्छौं। त्यसैले हाम्रो चालचलनले उहाँको नामलाई पक्कै असर गर्छ। (यशै. ४३:१०) छोराको चालचलनले उसको आमाबुबाको कि त आदर हुन्छ कि अनादर। त्यसैगरि यहोवाका सेवकहरूले असल चालचलन देखाएका छन्‌ भने मानिसहरूले उहाँको आदर गर्छन्‌। तर खराब चालचलन देखाएका छन्‌ भने चाहिं उहाँको अनादर गर्छन्‌। यहोवाको सेवकले उहाँको नैतिक स्तरअनुसार जीवन बिताउँदा यहोवाको नामको आदर हुन्छ। इजकिएलको समयमा पनि यहूदीहरूको चालचलनले गर्दा मानिसहरूमाझ यहोवाको नाम बदनाम भयो। किनकि यहूदीहरू यहोवाको नामले चिनिन्थे।—इज. ३६:१९-२३.

हामीले यहोवाको नैतिक स्तर उल्लङ्‌घन गऱ्‍यौं भने उहाँको पवित्र नाममा कलङ्‌क लाग्नेछ। प्रेषित पावलले ख्रीष्टियनहरूलाई यस्तो सल्लाह दिए, “परमेश्‍वरको ज्ञान नहुँदा तिमीहरू जुन इच्छाअनुसार हिंड्‌थ्यौ, अब आज्ञाकारी बालकहरू भएर त्यसअनुसार चल्न छोड। तर तिमीहरूलाई बोलाउनुहुने परमेश्‍वर जस्तो पवित्र हुनुहुन्छ तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ, किनभने यस्तो लेखिएको छ: ‘तिमीहरू पवित्र हुनै पर्छ, किनकि म पवित्र छु।’” (१ पत्रु. १:१४-१६) स्पष्ट छ, हाम्रो चालचलन स्वच्छ छ भने यहोवाको नामको महिमा हुन्छ।

कुनै ख्रीष्टियनले गलत काम गरिरहेका छन्‌ भने तिनका साथीभाइ तथा अरू व्यक्‍तिहरूलाई त्यो कुरा थाह हुन सक्छ। बहिष्कारको प्रबन्धले यहोवाका सेवकहरू पवित्र छन्‌ र उनीहरू पवित्र रहने सन्दर्भमा बाइबलले तोकेको स्तरलाई समर्थन गर्छन्‌ भन्‍ने कुरा देखाउँछ। स्वीट्‌जरल्याण्डको एउटा राज्यभवनमा एक जना नयाँ व्यक्‍ति आए र आफू पनि मण्डलीको सदस्य हुन चाहेको कुरा बताए। यहोवाको नैतिक स्तर उल्लङ्‌घन गरेकीले तिनकी दिदी बहिष्कार भएकी रहेछिन्‌। ती व्यक्‍तिले आफू “खराब आचरणलाई फिटिक्कै नसहने” सङ्‌गठनको भाग हुन चाहेको कुरा बताए।

बहिष्कारको प्रबन्धले गर्दा ख्रीष्टियन मण्डली पवित्र रहन्छ। जानाजानी पाप गर्नेहरूलाई मण्डलीमा रहन दिनुको खतराबारे प्रेषित पावलले कोरिन्थीहरूलाई चेतावनी दिए। तिनले भने, “अलिकता खमिरले पीठोको पूरै ढिकोलाई खमिरा बनाइदिन्छ।” त्यसैगरि जानाजानी पाप गर्नेहरूले पूरै मण्डलीलाई नराम्रो प्रभाव पार्न सक्छ। त्यसपछि तिनले यस्तो सल्लाह दिए, “दुष्ट मानिसलाई आफ्नो बीचबाट हटाओ।”—१ कोरि. ५:६, ११-१३.

पावलले उल्लेख गरेको “दुष्ट मानिस”-ले लाजै पचाएर अवैध यौनसम्बन्ध राखेका थिए जस्तो देखिन्छ। अनि मण्डलीका अरू सदस्यहरूले त्यस मानिसको आचरणलाई हल्कासित लिन थालिसकेका थिए। (१ कोरि. ५:१, २) त्यस्तो गम्भीर किसिमको पापलाई बेवास्ता गरिंदा के हुन सक्थ्यो? कोरिन्थका मानिसहरूका लागि अवैध यौनसम्बन्ध राख्नु सामान्य कुरा थियो। त्यसैले त्यहाँका ख्रीष्टियनहरू पनि अवैध यौनसम्बन्धमा फस्न सक्थे। जानाजानी गरिएको पापलाई सहेर बस्ने हो भने यहोवाको स्तरलाई बेवास्ता गर्ने झुकाव बढ्‌दै जान सक्छ। (उप. ८:११) त्यसको साथै, पश्‍चात्ताप नगर्ने मानिसहरू “पानीमुनि लुकेका चट्टानहरू”-जस्ता हुन सक्छन्‌ र तिनीहरूको कारण मण्डलीका अरू सदस्यहरूको विश्‍वासको जहाज डुब्न सक्छ।—यहू. ४, १२.

बहिष्कार गरिंदा गम्भीर पाप गर्ने व्यक्‍तिको होस खुल्न सक्छ। येशूले एक पटक उडन्ते छोराको दृष्टान्त बताउनुभएको थियो। ऊ आफ्नो बुबाको घर छोडेर गयो र भोगविलासको जीवन बिताएर आफ्नो सम्पत्ति उडायो। बाहिरका मानिसहरूको जीवन खोक्रो छ अनि तिनीहरूमा कुनै दया-माया छैन भन्‍ने कुरा उसले दुःख पाएपछि मात्र चाल पायो। अन्तमा उसको होस खुल्यो, उसले आफ्नो गल्तीको लागि पछुतो गऱ्‍यो र आफ्नो परिवारकहाँ फर्कन आफै अग्रसर भयो। (लूका १५:११-२४) ऊ पछुतो मानेर फर्केको देख्दा उसको बुबा असाध्यै खुसी भए किनकि तिनी आफ्नो छोरालाई माया गर्थे। यसले हामीलाई यहोवाको भावना बुझ्न मदत गर्छ। उहाँ यसो भन्‍नुहुन्छ, “दुष्टको मृत्यु म चाहन्‍नँ बरु दुष्ट मानिसले आफ्नो चाल त्यागेर जिओस्‌ भन्‍ने म चाहन्छु।”—इज. ३३:११.

त्यसैगरि, बहिष्कार भएका व्यक्‍तिहरूले आध्यात्मिक परिवार अर्थात्‌ ख्रीष्टियन मण्डलीबाट टाढा भए पछि मात्र आफूले धेरै कुरा गुमाएको महसुस गर्न थाल्छन्‌। आफ्नो गल्तीको नमीठो नतिजा भोग्नुपरे पछि तिनीहरूलाई यहोवाको सेवा गर्दा उहाँका मण्डलीका सदस्यहरूसित बिताएका रमाइला क्षणहरूको झलझली याद आउन थाल्छ। त्यसपछि तिनीहरूको होस खुल्छ।

बहिष्कार भएको व्यक्‍ति मण्डलीमा फर्केको चाहन्छौं भने त्यो व्यक्‍तिलाई माया गर्नुको साथै बहिष्कारको प्रबन्धलाई समर्थन पनि गर्नुपर्छ। भजनरचयिता दाऊदले यसो भने, “धर्मात्माले मलाई पिटोस्‌, त्यो मेरो निम्ति दयाझैं हुनेछ, तिनले मलाई चेतावनी दिऊन्‌, त्यो मेरो शिरमा तेलझैं हुनेछ।” (भज. १४१:५) एउटा उदाहरण विचार गरौं। एक जना मानिस खाना खाइरहेको बेला उसको घाटीमा खानेकुरा अड्‌कन्छ। उसलाई सास फेर्नै गाह्रो हुन्छ अनि ऊ कालो-निलो हुन थाल्छ। ऊ बोल्न पनि सक्दैन। उसलाई कसैले तुरुन्तै मदत गरेन भने ऊ मर्न पनि सक्छ। घाटीमा अड्‌केको खानेकुरा निकाल्न साथीले उसको गर्दनमा हिर्काउँछ। त्यसरी हिर्काउँदा दुख्न त दुख्छ तर यसले उसको ज्यान बचाउन सक्छ। त्यसैगरि, कसैबाट सुधार पाउँदा त्यो स्वीकार्न गाह्रो हुन सक्छ भन्‍ने कुरा दाऊदलाई थाह थियो तर तिनकै भलाइको लागि कसैले अनुशासन दिन्छ भने त्यो स्वीकार्न तिनी तयार थिए।

धेरैजसो अवस्थामा, गम्भीर पाप गर्ने व्यक्‍तिलाई बहिष्कार गरिंदा तिनले आफूलाई चाहिएकै अनुशासन पाउन सक्छन्‌। यस लेखको सुरुमा उल्लेख गरिएका जुलियनका छोराले बहिष्कार भएको दस वर्षपछि आफ्नो जीवनशैली सुधारे, मण्डलीमा फर्के अनि अहिले तिनी एल्डरको रूपमा सेवा गर्दै छन्‌। तिनी यो कुरा स्वीकार्छन्‌, “गलत छनौट गर्दा कस्तो परिणाम भोग्नुपर्छ भन्‍ने कुरा मैले बहिष्कार भएपछि बुझें। मैले चाहिएकै अनुशासन पाएँ।”—हिब्रू १२:७-११.

बहिष्कार भएकाहरूसित गर्नुपर्ने व्यवहार

कोही बहिष्कार हुँदा यहोवासित तिनले गाँसेको सम्बन्ध बिग्रन्छ। तर त्यसले गर्दा समस्याको पहाडै टुट्‌नुपर्छ भन्‍नेचाहिं छैन। हामी सबैले आ-आफ्नो भूमिका ठीकसित निर्वाह गऱ्‍यौं भने जुन उद्देश्‍यको लागि बहिष्कार गरिएको हो, त्यो उद्देश्‍य पूरा हुन्छ।

पश्‍चात्ताप गर्नेहरूलाई यहोवातर्फ फर्कन मदत गरिन्छ

गम्भीर गल्ती गरेको व्यक्‍तिलाई बहिष्कारको निर्णय सुनाउँदा एल्डरहरूलाई पनि दुःख लाग्छ। तैपनि तिनीहरू यहोवाले जस्तै प्रेम देखाउने प्रयास गर्छन्‌। बहिष्कार भएको व्यक्‍ति मण्डलीमा पुनर्बहाली हुन चाहन्छन्‌ भने तिनले कस्तो कदम चाल्नुपर्छ भनेर एल्डरहरूले दयालु भई स्पष्टसित बताउँछन्‌। बहिष्कार भएको व्यक्‍तिले जीवनशैली परिवर्तन गर्न थालेको देखिएको छ भने मण्डलीमा फर्कन तिनले कस्तो कदम चाल्नुपर्छ भनी सम्झाउन एल्डरहरू बेलाबेलामा तिनलाई भेट्‌न जान सक्छन्‌। a

परिवारका सदस्यहरूले बहिष्कारको निर्णयलाई कदर गरेर मण्डलीलाई अनि गल्ती गर्ने व्यक्‍तिलाई माया गरेको देखाउन सक्छन्‌। जुलियन भन्छन्‌, “हुन त ऊ मेरै छोरा थियो तर उसको गलत कामले गर्दा ऊ र मबीच त्यसले ठूलो पर्खाल खडा गरिदियो।”

गम्भीर पाप गर्ने व्यक्‍तिलाई अनुशासन दिन यहोवा एल्डरहरूलाई चलाउनुहुन्छ। बहिष्कार भएको व्यक्‍तिसित कुराकानी नगरेर अनि कुनै सम्पर्क नराखेर मण्डलीका सदस्यहरूले यहोवाको यस प्रबन्धलाई समर्थन गरिरहेका हुन्छन्‌ अनि बहिष्कार भएको व्यक्‍तिलाई साँचो प्रेम गरेको देखाइरहेका हुन्छन्‌। (१ कोरि. ५:११; २ यूह. १०, ११) परिवारको सदस्य बहिष्कार हुँदा परिवारलाई धेरै गाह्रो भइरहेको हुन्छ। त्यसैले यस्तो बेला मण्डलीका सदस्यहरूले उनीहरूलाई पन्छ्याउने वा उनीहरूदेखि टाढा बस्ने गर्नु हुँदैन। यसरी तिनीहरूले उनीहरूलाई धेरै माया गरिरहेका र चासो देखाइरहेका हुन्छन्‌।—रोमी १२:१३, १५.

जुलियन भन्छन्‌, “बहिष्कारको प्रबन्धले हामीलाई यहोवाको स्तरअनुसार चल्न मदत गर्छ। त्यसैले यो प्रबन्ध आवश्‍यक छ। कोही बहिष्कार हुँदा हामीलाई दुःख त लाग्छ तर समयमा यसको नतिजा राम्रो हुन्छ। मैले छोराको नराम्रो चालचलनलाई बेवास्ता गरेर बसेको भए ऊ कहिल्यै सुध्रिने थिएन होला।”

a फेब्रुअरी १, १९९२ अङ्‌कको प्रहरीधरहरा, पृष्ठ १७-१९ हेर्नुहोस्‌।