सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी नैतिक रूपमा चोखो रहन सक्छौं

हामी नैतिक रूपमा चोखो रहन सक्छौं

“आफ्नो हात शुद्ध पार ... आफ्नो मन चोखो बनाओ।” —याकू. ४:८.

१. नैतिक रूपमा चोखो रहने विषयमा संसारका मानिसहरूको धारणा कस्तो छ?

 आजकल मानिसहरूलाई नैतिक रूपमा चोखो रहनु त्यति महत्त्वपूर्ण छैन जस्तो लाग्छ। हामी बाँचिरहेको संसार नैतिक रूपमा खस्केको छ। धेरैजसो मुलुकमा समलिङ्‌गी सम्बन्ध र आफ्नो श्रीमान्‌ वा श्रीमतीबाहेक अरूसितको यौनसम्बन्धलाई सामान्य ठानिन्छ। यस्ता कुराहरूलाई विज्ञापन र मनोरञ्जनजगत्‌ले पनि प्रोत्साहन दिन्छ। (भज. १२:८) संसारमा अनैतिकता यत्ति व्याप्त भएको देख्दा तपाईंलाई यस्तो लाग्न सक्छ, ‘नैतिक रूपमा चोखो रहन सकिन्छ होला र?’ अवश्‍य सकिन्छ, यो कुरामा कुनै शङ्‌का छैन। यहोवाको मदतले साँचो ख्रीष्टियनहरू नैतिक रूपमा चोखो रहन सक्छन्‌।१ थिस्सलोनिकी ४:३-५ पढ्‌नुहोस्‌।

२, ३. (क) हामीले किन कुइच्छालाई तुरुन्तै त्याग्नुपर्छ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौं?

नैतिक रूपमा चोखो रहन चाहन्छौं भने सबैभन्दा पहिला अनैतिक इच्छालाई हटाउनैपर्छ भन्‍ने कुरा हामीले बुझ्नुपर्छ। जसरी बल्छीमा चारो देखेर माछा आकर्षित हुन्छ, त्यसरी नै अनैतिक कुराहरू हामीलाई आकर्षक लाग्न सक्छ। त्यसैले आफ्नो मनमा अनैतिक सोचाइ र कुइच्छा आउनेबित्तिकै त्यसलाई हटाउनु जरुरी छ। हामी त्रुटिपूर्ण भएकोले यस्तो कुइच्छाले हामीलाई अनैतिक काम गर्न सजिलै बहकाउन सक्छ। समय बित्दै जाँदा त्यो इच्छा बलियो हुँदै जान सक्छ। त्यसपछि यहोवाको सेवकसमेत मौका पाउनेबित्तिकै आफ्नो अनैतिक इच्छाअनुसार काम गर्न पुग्छ। साँच्चै ‘तृष्णाले ... पापलाई जन्माउँछ।’याकूब १:१४, १५ पढ्‌नुहोस्‌।

मनमा आउने कुइच्छाले गम्भीर पाप गर्नतर्फ डोऱ्‍याउन सक्छ। तर त्यस्तो कुइच्छालाई मनमा जरा गाड्‌न दिएनौं भने अनैतिकतामा फस्नेछैनौं अनि त्यसले ल्याउने दुःखलाग्दो नतिजा पनि भोग्नुपर्ने छैन। (गला. ५:१६) हामीलाई कुइच्छाविरुद्ध लड्‌न मदत गर्ने तीन वटा कुराबारे यस लेखमा छलफल गर्नेछौं। ती हुन्‌: यहोवासित हाम्रो सम्बन्ध, उहाँको वचनमा पाइने सल्लाह र परिपक्व ख्रीष्टियनहरूको मदत।

“परमेश्‍वरसित नजिक होओ”

४. हामी किन यहोवासित नजिक हुनुपर्छ?

‘परमेश्‍वरसित नजिक हुन’ चाहनेहरूलाई बाइबलले यस्तो निर्देशन दिएको छ, “आफ्नो हात शुद्ध पार ... आफ्नो मन चोखो बनाओ।” (याकू. ४:८) यहोवासित गाँसेको सम्बन्धलाई साँच्चै अनमोल ठान्छौं भने हामी आफ्नो बानीबेहोरा राम्रो बनाइराख्छौं अनि मनमा पनि राम्रो कुरा खेलाएर उहाँलाई खुसी बनाउन अथक प्रयास गर्छौं। त्यसैले हामी चोखा, सद्‌गुण भएका र प्रशंसायोग्य कुराहरूमा मन लगाएर आफ्नो “हृदय शुद्ध” पार्छौं। (भज. २४:३, ४; ५१:६; फिलि. ४:८) हुन त यहोवालाई हामी त्रुटिपूर्ण छौं अनि हाम्रो मनमा सजिलै कुइच्छा आउन सक्छ भनेर थाह छ। तैपनि कुइच्छालाई हटाउन सक्दो प्रयास गर्नुको साटो त्यसलाई आफ्नो मनमा बढ्‌न दियौं भने उहाँलाई दुःख लाग्छ। (उत्प. ६:५, ६) यो कुरा विचार गऱ्‍यौं भने हामी आफ्नो मनमा अनैतिक कुरा नखेलाउन अझ दृढ हुन्छौं।

५, ६. प्रार्थनाले हामीलाई अनैतिक इच्छाविरुद्ध लड्‌न कसरी मदत गर्छ?

यहोवामा पूरा भरोसा गर्छौं भनेर देखाउने एउटा तरिका हो: कुइच्छासित लड्‌न प्रार्थना गरेर उहाँसित मदत माग्नु। प्रार्थना गरेर यहोवासित नजिक भयौं भने उहाँ पनि हाम्रो नजिक आउनुहुनेछ। उहाँ उदार भएर हामीलाई पवित्र शक्‍ति दिनुहुन्छ अनि यसले अनैतिक सोचाइविरुद्ध लड्‌ने र नैतिक रूपमा चोखो रहने हाम्रो सङ्‌कल्पलाई बलियो बनाउँछ। आफ्नो मनमा राम्रो कुरा मात्र खेलाएर यहोवालाई खुसी पार्न चाहन्छौं भनेर प्रार्थनामा बताऔं। (भज. १९:१४) के हामी नम्र भई आफूभित्र पापतर्फ डोऱ्‍याउने “दुराचरण” अर्थात्‌ कुइच्छा अनि खराब झुकाव छ कि छैन जाँचिदिनुहोस्‌ भनी यहोवालाई प्रार्थना गर्छौं? (भज. १३९:२३, २४) प्रलोभन आउँदा समेत वफादार भइरहन मदत गर्नुहोस्‌ भनी के हामी उहाँलाई नियमित रूपमा बिन्ती गर्छौं?—मत्ती ६:१३.

हामी हुर्केको वातावरण वा विगतको हाम्रो जीवनशैलीले गर्दा हामीसित अझै पनि यहोवाको स्तरविपरीत चल्ने झुकाव छ होला। तैपनि हामीलाई आवश्‍यक परिवर्तन गर्न अनि उहाँलाई स्वीकार्य हुने तरिकामा उहाँको सेवा गर्न यहोवाले मदत दिन सक्नुहुन्छ। यो कुरा राजा दाऊदले बुझेका थिए। बेतशेबासित अवैध यौनसम्बन्ध राखेपछि तिनी पछुताए अनि यहोवालाई यस्तो बिन्ती गरे, “ममा शुद्ध हृदय सृजनुहोस्‌ र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्‌।” (भज. ५१:१०, १२) कुइच्छाले हामीलाई सजिलै आफ्नो वशमा पार्न सक्छ किनभने हामी त्रुटिपूर्ण छौं। तर यहोवाले हाम्रो मनमा राजीखुसीको मनोभाव अर्थात्‌ उहाँप्रति आज्ञाकारी हुने चाहना हालिदिन सक्नुहुन्छ। हाम्रो मनमा कुइच्छाले जरा गाडेर बसेको छ र मनमा चोखो विचार राख्न गाह्रो भइरहेको छ भने पनि यहोवा हामीलाई उहाँका आज्ञाहरू मान्‍न र ती आज्ञाअनुसार चल्न मदत गर्न सक्नुहुन्छ। उहाँ हामीलाई गलत सोचाइको वशमा पर्नदेखि जोगाउन सक्नुहुन्छ।—भज. ११९:१३३.

हाम्रो मनमा कुइच्छा पलाएको अनि त्यसले जरा गाड्‌दै गइरहेको थाह पायौं भने त्यसलाई जरैसमेत उखेल्नुपर्छ (अनुच्छेद ६ हेर्नुहोस्‌)

“वचन पालन गर्ने होओ”

७. परमेश्‍वरको वचनले कसरी अनैतिक सोचाइ हटाउन मदत गर्छ?

यहोवाले हाम्रो प्रार्थनाको जवाफ आफ्नो वचन बाइबलमार्फत दिन सक्नुहुन्छ। परमेश्‍वरको वचनमा पाइने बुद्धि “सर्वप्रथम पवित्र हुन्छ।” (याकू. ३:१७) त्यसैले दिनहुँ बाइबल पढ्‌दा र पढेको कुरामा मनन गर्दा हामीले आफ्नो मनबाट अनैतिक सोचाइलाई हटाएर यसमा पवित्र कुराहरू भरिरहेका हुन्छौं। (भज. १९:७, ११; ११९:९, ११) साथै बाइबलमा थुप्रै उदाहरण र सल्लाह पाउँछौं, जसले हामीलाई अनैतिक सोचाइको पासोमा पर्नदेखि जोगाउँछ।

८, ९. (क) एक जना ठिटो कसरी वेश्‍याको पासोमा पर्छ? (ख) हितोपदेश ७ अध्यायमा दिइएको चेतावनी अहिले कसरी लागू हुन्छ?

हितोपदेश ५:८ ले यसो भन्छ, “त्यस्ता [वेश्‍या] स्त्रीदेखि टाढा बस्‌, औ त्यसको घरको ढोकाको नजिक नजा।” यो सल्लाह पालन नगर्दा कस्तो नतिजा भोग्नुपर्छ, त्यसको एउटा उदाहरण हितोपदेश अध्याय ७ मा पाउँछौं। त्यस अध्यायमा एक जना ठिटोबारे बताइएको छ। साँझ परेपछि ऊ डुल्न जान्छ र डुल्दा-डुल्दै एउटी वेश्‍याको घरनजिकै आइपुग्छ। सडकको कुनामा त्यो वेश्‍या ऊकहाँ आउँछे। सायद त्यसले कामुक लुगा लगाएकी छे। त्यसले उसलाई समात्छे र चुम्बन गर्छे। त्यसको लोभ्याउने बोलीले त्यो ठिटाको मनमा कुइच्छा पलाउँछ र ऊ त्यस चाहनालाई त्याग्न सक्दैन। तिनीहरू अवैध यौनसम्बन्ध राख्न पुग्छन्‌। हुन त त्यो ठिटो अवैध यौनसम्बन्ध राख्ने उद्देश्‍यले डुल्न निस्केको थिएन। तर ऊ अनुभवहीन र मूर्ख थियो। त्यसैले उसले आफूले गरेको कामको दुःखलाग्दो नतिजा भोग्नुपऱ्‍यो र त्यसको असर उसको जीवनभर रहने भयो। ऊ त्यस स्त्रीबाट परै रहेको भए यस्तो हुने नै थिएन।—हितो. ७:६-२७.

हामी पनि कहिलेकाहीं त्यो ठिटोजस्तै गलत बाटोमा लागिरहेका हुन सक्छौं अनि कुइच्छा जगाउन सक्ने खतरामा आफूलाई पारिरहेका हुन सक्छौं। उदाहरणको लागि, रातको समयमा कुनै-कुनै टिभी च्यानलले ख्रीष्टियनहरूलाई नसुहाउने किसिमको कार्यक्रम देखाइरहेको हुन सक्छ। त्यस्तो बेला एकपछि अर्को गर्दै च्यानल फेऱ्‍यौं भने के हुन सक्छ? अथवा इन्टरनेट चलाउँदा कुनै लिङ्‌कले कहाँ पुऱ्‍याउँछ भनेर थाहै नभए पनि जथाभाबी ती लिङ्‌कहरू खोल्छौं कि? अथवा अनैतिक कुराहरूको विज्ञापन हुन सक्ने वा अश्‍लील सामग्रीको लिङ्‌क हुन सक्ने विभिन्‍न च्याट रूम वा वेबसाइट होसै नपुऱ्‍याइ चलाउँछौं कि? यसो गऱ्‍यौं भने हामी कुइच्छा जगाउन सक्ने र नैतिक रूपमा चोखो रहने हाम्रो सङ्‌कल्पलाई कमजोर बनाउन सक्ने कुरा हेर्न पुग्छौं।

१०. मन पराएको भान पर्ने गरी जिस्किनु किन खतरनाक हो? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

१० नैतिक रूपमा चोखो रहन बाइबलले अर्को एउटा तरिकामा पनि मदत गर्छ। विपरीत लिङ्‌गको व्यक्‍तिसित कसरी व्यवहार गर्नुपर्छ भन्‍ने विषयमा बाइबलले सल्लाह दिएको छ। (१ तिमोथी ५:२ पढ्‌नुहोस्‌) यो सल्लाहले विपरीत लिङ्‌गको व्यक्‍तिसित मन पराएको भान पर्ने गरी जिस्किनु गलत हो भनी स्पष्ट पार्छ। कसै-कसैलाई शरीरको हाउभाउ, इशारा र हेराइले रोमान्टिक सङ्‌केत दिनुमा कुनै खतरा छैन जस्तो लाग्न सक्छ। तिनीहरू शारीरिक सम्पर्क राखेको होइन भनेर तर्क गर्छन्‌। तर मन पराएको भान पर्ने गरी जिस्किनु वा अरूले जिस्काउँदा मक्ख पर्नु खतरनाक हुन सक्छ। किनभने यसले हामीमा कुइच्छा जगाउँछ अनि हामी अवैध यौनसम्बन्ध राख्ने हदसम्म पुग्न सक्छौं। यो कुनै नौलो कुरा होइन, यस्तो पहिला पनि भएको थियो।

११. यूसुफले कस्तो उदाहरण बसालेका छन्‌?

११ यूसुफले हाम्रो लागि राम्रो उदाहरण बसालेका छन्‌। तिनको मालिक पोतीफरकी श्रीमतीले तिनलाई अवैध यौनसम्बन्धमा फसाउन खोजिन्‌। तर यूसुफले उनको हर प्रयासलाई विफल पारे। तैपनि उनले हार मानिनन्‌। दिनदिनै उनले यूसुफलाई आफूसित बस्न दबाब दिइन्‌। (उत्प. ३९:७, ८, १०) एक जना बाइबलविद्‌अनुसार पोतीफरकी श्रीमतीले वास्तवमा यसो भनिरहेकी थिइन्‌, “‘हामी एकअर्कासित केही समय बिताऔं न।’ [यूसुफ] आफैले पहिलो कदम चालेको उनी चाहन्थिन्‌।” तर यूसुफले उनको प्रस्ताव नस्वीकार्ने र उनको त्यस्तो व्यवहार नसहने दृढ सङ्‌कल्प गरेका थिए। उनी यूसुफसित जिस्किन्थिन्‌ तर यूसुफ न त मक्ख परे न उनीसित जिस्किए। यसरी तिनले कुनै किसिमको कुइच्छालाई आफ्नो मनमा जरा गाड्‌न दिएनन्‌। यूसुफलाई पोतीफरकी श्रीमतीले यौनसम्बन्ध राख्न जबरजस्ती गर्दा यूसुफ तुरुन्तै भागे। “आफ्नो लुगा तिनकै हातमा छोडेर यूसुफ भागे, र घरबाट बाहिर निस्के।”—उत्प. ३९:१२.

१२. हामीले हेर्ने कुराले मनलाई असर गर्न सक्छ भनी कसरी थाह पाउन सक्छौं?

१२ हाम्रो आँखाले कसरी मनलाई बहकाउँछ, त्यसबारे पनि बाइबलले हामीलाई बताएको छ। हामी के हेर्दै छौं त्यसमा होसियार भएनौं भने त्यसले अनुचित किसिमको यौन इच्छा जगाउन वा बढाउन सक्छ। येशूले यस्तो चेतावनी दिनुभयो, “जसले कुनै स्त्रीलाई हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित यौनसम्बन्ध राखिसकेको हुन्छ।” (मत्ती ५:२८) राजा दाऊदलाई सम्झनुहोस्‌। “कौसीमाथि घुमिरहेका बेलामा [दाऊदले] एउटी स्त्रीलाई नुहाइरहेकी देखे।” (२ शमू. ११:२) तिनले त्यस स्त्रीलाई हेरिरहनुको साटो अन्तै हेर्नुपर्थ्यो वा अरू नै कुरा सोच्नुपर्थ्यो। तर तिनले त्यसो गरेनन्‌। परिणाम? तिनमा अर्काकी श्रीमतीप्रति कुइच्छा जाग्यो अनि उनीसित यौनसम्बन्ध राख्न पुगे।

१३. हामीले किन कसैलाई “कुदृष्टिले नहेर्ने ... दृढ सङ्‌कल्प” गर्नुपर्छ? यसो गर्नुमा के समावेश छ?

१३ हामी अनैतिक कुराको कल्पनामा डुब्न चाहँदैनौं भने वफादार अय्यूबजस्तै हुनुपर्छ। तिनले कसैलाई “कुदृष्टिले नहेर्ने ... दृढ सङ्‌कल्प” गरेका थिए। (अय्यू. ३१:१, ७,) हामीले पनि आफ्नो आँखालाई वशमा राख्ने र आफूमा कामवासना जगाउने किसिमले कसैलाई नहेर्ने अठोट गर्नुपर्छ। यसो गर्नुमा अश्‍लील तस्बिर देख्नेबित्तिकै आँखा फर्काइहाल्नु पनि समावेश छ, चाहे त्यो कम्प्युटरमा होस्‌ वा कुनै विज्ञापन पाटी, पत्रपत्रिका वा अन्त कतै।

१४. नैतिक रूपमा चोखो रहन हामीले के गर्नुपर्छ?

१४ अहिलेसम्मको छलफलबाट आफूमा पनि सुधार्नुपर्ने कुनै कुरा तपाईंले भेट्‌नुभयो कि? त्यसो हो भने आफ्नो कुइच्छाविरुद्ध लड्‌न तुरुन्तै कदम चाल्नुहोस्‌। परमेश्‍वरको वचनमा पाइने सल्लाह पालन गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईं गलत काम गर्नदेखि जोगिनुहुनेछ अनि नैतिक रूपमा चोखो रहन सक्नुहुनेछ।याकूब १:२१-२५ पढ्‌नुहोस्‌।

“एल्डरहरूलाई आफूकहाँ बोलाओस्‌”

१५. हामीलाई नैतिक रूपमा चोखो रहन गाह्रो भइरहेको छ भने मदत माग्दा कस्तो फाइदा हुन्छ?

१५ हामीलाई गलत यौन इच्छाविरुद्ध लड्‌न गाह्रो भइरहेको छ भने मण्डलीका दाजुभाइ दिदीबहिनीसित पनि मदत माग्न सक्छौं। हुन त यस्तो व्यक्‍तिगत कुरा अरूलाई बताउन सजिलो हुँदैन। तर साहस गरेर आफ्नो मनको कुरा कुनै परिपक्व ख्रीष्टियनलाई बतायौं भने मनमा गलत यौन इच्छा आउनु खराब होइन भनेर तर्क गर्नदेखि जोगिन सक्छौं। (हितो. १८:१; हिब्रू ३:१२, १३) हाम्रो कमीकमजोरीबारे परिपक्व ख्रीष्टियनसित कुरा गर्दा आफूमा सुधार गर्नुपर्ने क्षेत्र पत्ता लगाउन सक्छौं, जसबारे हामीले यादै नगरेका हुन सक्छौं। यसले हामीलाई यहोवाको प्रेम पाउन लायक भइरहन आवश्‍यक छाँटकाँट गर्न मदत गर्छ।

१६, १७. (क) कुइच्छाविरुद्ध सङ्‌घर्ष गरिरहेकाहरूलाई एल्डरहरूले कसरी मदत गर्न सक्छन्‌? उदाहरण दिनुहोस्‌। (ख) अश्‍लील सामग्री हेर्ने बानी भएकाहरूले किन तुरुन्तै मदत माग्नुपर्छ?

१६ विशेषगरि ख्रीष्टियन एल्डरहरूले हामीलाई मदत गर्न सक्छन्‌। (याकूब ५:१३-१५ पढ्‌नुहोस्‌) ब्राजिलको एक जना युवकको उदाहरण विचार गरौं। तिनले धेरै वर्षसम्म कुइच्छाविरुद्ध सङ्‌घर्ष गरे। तिनी भन्छन्‌, “मेरो सोचाइले यहोवालाई दुःखी बनाइरहेको छ भनेर मलाई थाह थियो। तर यसबारे अरूसित कुराकानी गर्न मलाई असाध्यै लाज लाग्थ्‌यो।” खुसीको कुरा तिनको मण्डलीको एक जना मायालु एल्डरले तिनीसित कुरा गरे अनि तिनलाई एल्डरहरूसित मदत माग्न प्रोत्साहन दिए। ती भाइ भन्छन्‌, “एल्डरहरू त मैले आशा गरेभन्दा पनि धेरै दयालु हुनुहुँदो रहेछ। उहाँहरूले मेरो कुरा राम्ररी बुझ्नुभयो। मेरो समस्या ध्यान दिएर सुन्‍नुभयो। यहोवाले मलाई कत्ति धेरै माया गर्नुहुन्छ भन्‍ने कुरा उहाँहरूले बाइबलबाट सम्झाउनुभयो अनि मसित प्रार्थना पनि गर्नुभयो। त्यसले गर्दा उहाँहरूले बाइबलबाट दिनुभएको सल्लाह स्वीकार्न मलाई सजिलो भयो।” वर्षौंपछिको कुरा हो, आध्यात्मिक उन्‍नति गरेपछि तिनले यसो भने, “आफ्नो बोझ एक्लैले बोक्नुभन्दा अरूसित मदत माग्नु कत्ति महत्त्वपूर्ण छ भन्‍ने कुरा मैले बल्ल बुझें।”

१७ कसैको मनमा कुइच्छा आउनुको कारण अश्‍लील सामग्री हेर्ने बानी हो भने तिनले तुरुन्तै मदत माग्नुपर्छ। तिनी मदत माग्न जति ढिला गर्छन्‌, तिनको कुइच्छा ‘गर्भवती हुने अनि त्यसले पापलाई जन्माउने’ सम्भावना पनि त्यति नै धेरै हुन्छ। यसले अरूलाई चोट पुऱ्‍याउँछ अनि यहोवाको नाममा पनि कलङ्‌क लगाउँछ। यहोवालाई खुसी बनाउने र ख्रीष्टियन मण्डलीमा रहिरहने इच्छा भएकोले थुप्रैले एल्डरहरूको मदत स्वीकारेका छन्‌।—याकू. १:१५; भज. १४१:५; हिब्रू १२:५, ६.

नैतिक रूपमा चोखो रहन दृढ सङ्‌कल्प गर्नुहोस्‌

१८. तपाईंले के गर्ने सङ्‌कल्प गर्नुभएको छ?

१८ सैतानको संसार नैतिक रूपमा खस्किरहेको छ। तर यहोवाका वफादार सेवकहरू भने आफ्नो सोचाइ चोखो राख्न अनि यहोवाको उच्च नैतिक स्तरअनुसार चल्न हर प्रयास गरिरहेका छन्‌। आफ्ना यी सेवकहरू देख्दा यहोवा कत्ति खुसी हुनुहुन्छ होला! त्यसैले यहोवाको नजिक भइरहने अनि उहाँले आफ्नो वचन र मण्डलीमार्फत दिने निर्देशन स्वीकार्ने सङ्‌कल्प गरौं। नैतिक रूपमा चोखो रहँदा हामी अहिले पनि आनन्दित हुन सक्छौं र हाम्रो मनमा शान्ति छाउँछ। (भज. ११९:५, ६) साथै भविष्यमा सैतानलाई हटाएपछि त्यसको भ्रष्ट प्रभाव नरहने संसारमा सधैंभरि बाँच्ने सुअवसर पाउनेछौं।