सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउनुहोस्‌—भाग १

येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउनुहोस्‌—भाग १

“तपाईंको नाम पवित्र पारियोस्‌।”—मत्ती ६:९.

१. मत्ती ६:९-१३ मा उल्लेख गरिएको प्रार्थनालाई हामी कसरी प्रचारकार्यमा चलाउन सक्छौं?

 प्रभुको प्रार्थना भनेर चिनिने येशूले सिकाउनुभएको प्रार्थना थुप्रै देशका मानिसलाई कण्ठ छ। घरघरको प्रचारमा जाँदा परमेश्‍वरको राज्य एउटा वास्तविक सरकार हो र यसले पृथ्वीमा राम्रा परिवर्तनहरू ल्याउनेछ भनेर घरधनीलाई बुझाउन हामी यस प्रार्थनाबारे बताउने गर्छौं। अथवा परमेश्‍वरको नाम छ र यो पवित्र गरिनुपर्छ अर्थात्‌ हामीले यस नामलाई पवित्र ठान्‍नुपर्छ भनेर घरधनीलाई बुझाउन यस प्रार्थनाको पहिलो बिन्तीबारे बताउँछौं।—मत्ती ६:९.

२. हरेक चोटि प्रार्थना गर्दा येशूले सिकाउनुभएको प्रार्थनाका शब्दहरू जस्ताको तस्तै दोहोऱ्‍याएको उहाँ चाहनुहुन्‍न थियो भनेर हामी कसरी थाह पाउँछौं?

आज चर्चजगत्‌का थुप्रै मानिस हरेक चोटि प्रार्थना गर्दा येशूले सिकाउनुभएको प्रार्थनाका शब्दहरू जस्ताको तस्तै दोहोऱ्‍याउँछन्‌। के हामीले त्यसै गरोस्‌ भन्‍ने येशू चाहनुहुन्थ्यो? अहँ! चाहनुहुन्‍न थियो। यस प्रार्थनाबारे बताउनुअघि येशूले यसो भन्‍नुभएको थियो, “प्रार्थना गर्दा ... एउटै कुरा दोहोऱ्‍याई नराख।” (मत्ती ६:७) पछि उहाँले फेरि एक पटक आफ्ना चेलाहरूलाई यही प्रार्थनाबारे बताउनुभयो तर उहाँले फरक शब्दहरू चलाउनुभयो। (लूका ११:१-४) त्यसैले प्रार्थनामा कस्ता कुराहरूको लागि बिन्ती गर्नुपर्छ र हामीले प्रार्थनामा भन्‍ने कुराहरू कुन क्रमअनुसार हुनुपर्छ भनेर येशूले सिकाउन खोज्दै हुनुहुन्थ्यो। त्यसैले उहाँले सिकाउनुभएको यस प्रार्थनालाई हामी नमुनाको रूपमा पनि लिन सक्छौं।

३. येशूले सिकाउनुभएको प्रार्थनाबारे छलफल गर्दा हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नु राम्रो हो?

यो र यसपछिको लेखमा येशूले सिकाउनुभएको प्रार्थनामा गरिएका बिन्तीहरू केलाउनेछौं। यी लेखहरू अध्ययन गर्दा आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘यस प्रार्थनाले मेरो प्रार्थनाको गुणस्तर बढाउन कसरी मदत गर्छ?’ त्योभन्दा पनि महत्त्वपूर्ण प्रश्‍न, ‘के म यो प्रार्थनाअनुसारै जीवन बिताउँदै छु?’

“स्वर्गमा बस्नुहुने हाम्रा बुबा”

४. “हाम्रो बुबा” भन्‍ने अभिव्यक्‍तिले हामीलाई कुन कुरा सम्झाउँछ? पृथ्वीमा बाँच्ने आशा भएकाहरूले किन यहोवा परमेश्‍वरलाई “बुबा” भनेर पुकार्न सक्छन्‌?

प्रार्थनामा “हाम्रो बुबा” भन्‍ने अभिव्यक्‍ति चलाइएको छ, “मेरो बुबा” होइन। यस कुराले हामी “सबै भाइहरू” मिलेर बनेको सङ्‌गठनको भाग हौं भनेर सम्झाउँछ, जसका सबै सदस्यहरू एकअर्कालाई साँचो माया गर्छन्‌। (१ पत्रु. २:१७) यो हामीले पाएको विशेष सुअवसर होइन र? स्वर्गमा जीवन पाउने आशा भएका अभिषिक्‍त ख्रीष्टियनहरूलाई परमेश्‍वरले धर्मपुत्र बनाउनुभएको छ। त्यसैले तिनीहरू यहोवा परमेश्‍वरलाई वास्तवमै “बुबा” भनेर पुकार्छन्‌। (रोमी ८:१५-१७) सधैंभरि पृथ्वीमा बाँच्ने आशा भएका ख्रीष्टियनहरूले पनि यहोवा परमेश्‍वरलाई “बुबा” भनेर पुकार्न सक्छन्‌। किनभने उहाँले नै तिनीहरूलाई जीवन दिनुभएको हो र उहाँ मायालु भई आफ्ना सबै उपासकको आवश्‍यकता पूरा गरिदिनुहुन्छ। पृथ्वीमा बाँच्ने आशा भएकाहरू त्रुटिरहित भइसकेपछि र अन्तिम परीक्षामा यहोवाप्रति वफादार भएको कुरा प्रमाणित गरिसकेपछि तिनीहरू पनि वास्तवमा परमेश्‍वरको सन्तान बन्‍नेछन्‌।—रोमी ८:२१; प्रका. २०:७, ८.

५, ६. आमाबुबाले छोराछोरीलाई कस्तो उपहार दिन सक्छन्‌? छोराछोरीले कसरी यस उपहारको सदुपयोग गर्न सक्छन्‌? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

आमाबुबाले छोराछोरीलाई प्रार्थना गर्न र यहोवालाई आफ्नो मायालु बुबाको रूपमा हेर्न सिकाउनुपर्छ। यसो गर्दा आमाबुबाले छोराछोरीलाई साँच्चै एउटा अनमोल उपहार दिइरहेका हुन्छन्‌। दक्षिण अफ्रिकामा क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरिरहेका एक भाइ यसो भन्छन्‌, “छोरीहरू जन्मेदेखि नै मैले प्रत्येक रात उनीहरूसँगै बसेर प्रार्थना गरें। कहिलेकाहीं घरमा नहुँदा मात्र त्यसो गर्न सकिनँ। मैले प्रार्थनामा ठ्याक्कै कस्ता शब्दहरू चलाएको थिएँ भनेर त अहिले उनीहरूलाई याद छैन। तर प्रार्थना गर्दाको माहोल भने उनीहरूलाई अझै याद छ। हाम्रा बुबा यहोवासित कुरा गर्नु साँच्चै महत्त्वपूर्ण छ भनेर महसुस गरेको र यसो गर्दा ढुक्क अनुभव गरेको उनीहरूले बिर्सेका छैनन्‌। उनीहरू प्रार्थना गर्न सक्ने उमेरको भएदेखि नै मैले उनीहरूलाई ठूलो स्वरमा प्रार्थना गर्न लगाएँ। किनभने त्यसो गर्दा उनीहरूले यहोवालाई आफ्नो सोचाइ र भावना पोखेको मैले सुन्‍न पाउँथें। यसरी उनीहरूको मनको कुरा थाह पाउन सक्थें। त्यसपछि मैले उनीहरूलाई येशूले सिकाउनुभएको प्रार्थनामा भएका महत्त्वपूर्ण बिन्तीहरू समावेश गरेर प्रार्थनालाई कसरी अझै अर्थपूर्ण बनाउन सकिन्छ भनेर सिकाउन सकें।”

हुर्कंदै जाँदा ती भाइका छोरीहरूले आध्यात्मिक उन्‍नति गरे। उनीहरू अहिले आ-आफ्ना श्रीमान्‌सँगै सुखी जीवन बिताउँदै छन्‌ र पूर्ण-समय सेवा गर्दै छन्‌। आमाबुबाले छोराछोरीलाई यहोवा परमेश्‍वरसित घनिष्ठ सम्बन्ध गाँस्न मदत गर्नुपर्छ। यो नै आमाबुबाले आफ्ना छोराछोरीलाई दिन सक्ने सबैभन्दा उत्तम उपहार हो। तर यहोवा परमेश्‍वरसितको अनमोल सम्बन्धलाई कायम राख्ने जिम्मेवारी भने प्रत्येकको आफ्नै हो। यसो गर्नुमा परमेश्‍वरको नामलाई प्रेम गर्न र यस नामको गहिरो आदर गर्न सिक्नु समावेश छ।—भज. ५:११, १२; ९१:१४.

“तपाईंको नाम पवित्र पारियोस्‌”

७. परमेश्‍वरका जनहरूले कस्तो सुअवसर पाएका छन्‌? यस्तो सुअवसर पाएको हुनाले हामीले के गर्नुपर्छ?

हामीले परमेश्‍वरको नाम थाह पाउने मात्र नभई त्यो नाम बहन गर्ने सुअवसर पनि पाएका छौं। हो, हामी ‘उहाँको नामको लागि छानिएका मानिसहरू’ हौं। (प्रेषि. १५:१४; यशै. ४३:१०) स्वर्गमा बस्नुहुने बुबालाई हामी यस्तो बिन्ती गर्छौं, “तपाईंको नाम पवित्र पारियोस्‌।” यस्तो बिन्तीले हामीलाई परमेश्‍वरको पवित्र नामको बदनाम हुने कुनै पनि कुरा नभन्‍न वा नगर्न मदत दिनुहोस्‌ भनेर उहाँलाई पुकार्न उत्प्रेरित गर्छ। आफूले प्रचार गरेको कुराअनुसार नचल्ने प्रथम शताब्दीका केही ख्रीष्टियनहरू जस्तो हामी हुन चाहँदैनौं। प्रेषित पावलले तिनीहरूलाई यसो भने, “तिमीहरूले गर्दा अन्यजातिहरूको बीचमा परमेश्‍वरको नाम निन्दित भइरहेको छ।”—रोमी २:२१-२४.

८, ९. यहोवा परमेश्‍वर आफ्नो नाम पवित्र पार्न चाहनेहरूलाई आशिष्‌ दिनुहुन्छ भनेर बुझाउने एउटा उदाहरण बताउनुहोस्‌।

हामी परमेश्‍वरको नाम पवित्र पार्न चाहन्छौं। नर्वेकी एक बहिनीको उदाहरण विचार गरौं। तिनको श्रीमान्‌को अकालमै मृत्यु भएपछि तिनी एक्लैले दुई वर्षको छोरालाई हुर्काउनुपऱ्‍यो। तिनी भन्छिन्‌, “त्यो मेरो लागि असाध्यै गाह्रो समय थियो। भावनात्मक रूपमा बलियो हुन मदत गर्नुहोस्‌ भनेर म हरेक दिन, हरेक घण्टा यहोवालाई प्रार्थना गर्थें। किनभने म कुनै मूर्ख निर्णय गरेर वा आफ्नो वफादारीमा सम्झौता गरेर सैतानलाई यहोवाको आलोचना गर्ने मौका दिन चाहन्‍नथें। म यहोवाको नाम पवित्र पार्न चाहन्थें र मेरो छोराले नयाँ संसारमा आफ्नो बुबालाई फेरि भेट्‌न पाएको हेर्न चाहन्थें।”—हितो. २७:११.

के यहोवाले तिनको निष्कपट प्रार्थनाको जवाफ दिनुभयो? पक्कै दिनुभयो। आफ्ना ख्रीष्टियन दाजुभाइ दिदीबहिनीसँग नियमित रूपमा सङ्‌गत गरेर तिनले निकै मदत पाइन्‌। पाँच वर्षपछि तिनले एक जना एल्डरसित विवाह गरिन्‌। तिनको छोरा अहिले २० वर्षको भइसकेका छन्‌ र उनले पनि बप्तिस्मा गरिसकेका छन्‌। ती बहिनी यसो भन्छिन्‌, “मेरो श्रीमान्‌ले छोरा हुर्काउन मलाई साथ दिनुभएकोमा म निकै खुसी छु।”

१०. परमेश्‍वरले कसरी आफ्नो नाम पूर्ण रूपमा पवित्र पार्नुहुनेछ?

१० परमेश्‍वरले चाँडै आफ्नो नाम पूर्ण रूपमा पवित्र पार्नुहुनेछ र आफ्नो नाममा लागेको सबै कलङ्‌क मेटाउनुहुनेछ। त्यसको लागि उहाँले आफ्नो शासन गर्ने अधिकारको जानाजानी विरोध गर्ने सबैलाई नाश गर्नुहुनेछ। (इजकिएल ३८:२२, २३ पढ्‌नुहोस्‌) त्यसपछि मानिसहरू बिस्तारै त्रुटिरहित हुनेछन्‌। स्वर्ग र पृथ्वीमा भएका सबैले यहोवाको नामलाई पवित्र पार्नेछन्‌। हामी त्यस समयको उत्कट प्रतीक्षा गर्दै छौं। अन्तमा, स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबा नै “सबै थोकका सर्वेसर्वा” हुनुहुनेछ।—१ कोरि. १५:२८.

“तपाईंको राज्य आओस्‌”

११, १२. सन्‌ १८७६ मा यहोवा परमेश्‍वरले साँचो ख्रीष्टियनहरूलाई कुन कुरा बुझ्न मदत गर्नुभयो?

११ येशू स्वर्गमा फर्कनुअघि चेलाहरूले उहाँलाई यस्तो प्रश्‍न सोधे, “प्रभु, के तपाईंले इस्राएलमा परमेश्‍वरको राज्य अहिले पुनर्स्थापित गर्न लाग्नुभएको हो?” येशूले दिनुभएको जवाफबाट तिनीहरूले त्यतिबेला परमेश्‍वरको राज्यले कहिलेदेखि शासन थाल्नेछ भनेर थाह पाउने समय भइसकेको थिएन भनेर बुझ्न सक्छौं। येशूले आफ्ना चेलाहरूलाई एउटा महत्त्वपूर्ण काम अर्थात्‌ सुसमाचार प्रचार गर्ने काममा ध्यान दिन भन्‍नुभयो। (प्रेषित १:६-८ पढ्‌नुहोस्‌) तर उहाँले आफ्ना चेलाहरूलाई परमेश्‍वरको राज्यको उत्सुकतासाथ प्रतीक्षा गर्न पनि भन्‍नुभएको थियो। त्यसैले प्रेषितहरूको समयदेखि नै ख्रीष्टियनहरूले त्यो राज्य आओस्‌ भनेर प्रार्थना गरिरहेका छन्‌।

१२ येशूले स्वर्गबाट शासन थाल्ने समय नजिकिंदै जाँदा यहोवा परमेश्‍वरले आफ्ना जनहरूलाई त्यो समय कहिले आउनेछ भनेर बुझ्न मदत गर्नुभयो। सन्‌ १८७६ मा बाइबल परीक्षक भन्‍ने अङ्‌ग्रेजी पत्रिकामा चार्ल्स टेज रसलको एउटा लेख छापिएको थियो। त्यस लेखको शीर्षक “अन्यजातिहरूको समय: यो कहिले अन्त हुनेछ?” भन्‍ने थियो। यस लेखमा सन्‌ १९१४ एउटा महत्त्वपूर्ण वर्ष हो भनेर बताइएको थियो। साथै दानियलको भविष्यवाणीमा बताइएको “सात काल” र येशूले बताउनुभएको “राष्ट्रहरूलाई दिइएको समय” एकअर्कासित सम्बन्धित छ भनेर पनि बताइएको थियो। aदानि. ४:१६; लूका २१:२४.

१३. सन्‌ १९१४ मा के भयो र त्यस वर्षदेखि संसारमा घटेका घटनाहरूले कुन कुरा प्रमाणित गर्छ?

१३ सन्‌ १९१४ मा युरोपेली राष्ट्रहरूबीच एउटा युद्ध भयो। पछि त्यो युद्ध संसारभरि फैलँदै गयो र यसले पूरै संसारलाई नराम्रो असर गऱ्‍यो। सन्‌ १९१८ मा यस युद्धको अन्त भयो। त्यस बेलासम्ममा युद्धले गर्दा थुप्रै ठाउँमा अनिकाल लागिसकेको थियो। साथै एउटा महामारी व्यापक रूपमा फैलिएको थियो अनि यसले गर्दा मरेका मानिसहरूको सङ्‌ख्या युद्धमा मारिएकाहरूको भन्दा धेरै भयो। यसरी पृथ्वीको नयाँ राजाको रूपमा आफ्नो उपस्थिति हुने समयबारे येशूले दिनुभएको “चिन्ह” पूरा हुन थाल्यो। (मत्ती २४:३-८; लूका २१:१०, ११) सन्‌ १९१४ मा येशू ख्रीष्टलाई “एउटा मुकुट” दिइएको थियो भन्‍ने कुराको थुप्रै प्रमाण छ। त्यसबेलादेखि उहाँ “विजय गर्दै आफ्नो विजययात्रा पूरा गर्नलाई अघि” बढ्‌नुभयो। (प्रका. ६:२) उहाँले स्वर्गमा सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूसित युद्ध लड्‌नुभयो, तिनीहरूलाई हराउनुभयो अनि पृथ्वीमा फालिदिनुभयो। त्यसबेलादेखि मानिसहरूले बाइबलका यी शब्दहरू पूरा भएको अनुभव गरेका छन्‌, “पृथ्वी र समुद्रलाई भने धिक्कार छ, किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी भएकोले त्यो असाध्यै रिसाएको छ।”—प्रका. १२:७-१२.

१४. (क) अहिले पनि हामीले परमेश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्नु किन महत्त्वपूर्ण छ? (ख) हामीले कस्तो सुअवसर पाएका छौं?

१४ परमेश्‍वरको राज्यको जन्म भएदेखि नै मानिसजातिलाई पिरोल्ने डरलाग्दा घटनाहरू किन घट्‌न थाले भन्‍ने प्रश्‍नको जवाफ प्रकाश १२:७-१२ मा उल्लेख गरिएको भविष्यवाणीले दिन्छ। परमेश्‍वरको राज्यका राजा येशूले आफ्ना शत्रुहरूमाझ शासन गरिरहनुभएको छ। उहाँले आफ्नो विजययात्रा पूरा नगरेसम्म र पृथ्वीबाट दुष्टतालाई नहटाएसम्म परमेश्‍वरको राज्य आओस्‌ भनेर हामी प्रार्थना गरी नै रहनेछौं। साथै हामीले आफ्नो प्रार्थनाअनुसारै जीवन बिताउनु पनि महत्त्वपूर्ण छ। त्यसको लागि येशूले दिनुभएको “चिन्ह”-को सबैभन्दा रोचक पक्षमा भाग लिनुपर्छ। यसबारे येशूले यसो भन्‍नुभएको थियो, “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ती २४:१४.

“तपाईंको इच्छा ... पृथ्वीमा पनि पूरा होस्‌”

१५, १६. परमेश्‍वरको इच्छा पृथ्वीमा पूरा होस्‌ भन्‍ने बिन्तीअनुसारै हामी कसरी जीवन बिताउन सक्छौं?

१५ झन्डै ६,००० वर्षअघि पृथ्वीमा सबै कुरा परमेश्‍वरको इच्छाअनुसारै भइरहेको थियो। त्यसैले मानिसजातिलाई सृष्टि गरेपछि अनि उनीहरूको लागि आफूले गरेको सबै प्रबन्ध हेरेपछि परमेश्‍वरले यसो भन्‍नुभयो, “त्यो साह्रै राम्रो थियो।” (उत्प. १:३१) तर सैतानले विद्रोह गऱ्‍यो। त्यस बेलादेखि पृथ्वीमा थोरै मानिस मात्र परमेश्‍वरको इच्छाअनुसार चलेका छन्‌। तर आज झन्डै ८० लाख यहोवाका साक्षीहरूले परमेश्‍वरको इच्छा पृथ्वीमा पूरा होस्‌ भनेर प्रार्थना गरिरहेका मात्र छैनन्‌, त्यस बिन्तीअनुसारै जीवन बिताइरहेका पनि छन्‌। यस्तो समयमा बाँच्न पाउनु हाम्रो लागि ठूलो सुअवसर होइन र? यहोवाका साक्षीहरूले चेला बनाउने काममा जोसिलो भई भाग लिएर अनि आफ्नो जीवनशैलीद्वारा परमेश्‍वरको इच्छा पृथ्वीमा पूरा होस्‌ भन्‍ने बिन्तीअनुसारै जीवन बिताइरहेका छन्‌।

के तपाईं आफ्ना छोराछोरीलाई परमेश्‍वरको इच्छा पृथ्वीमा पूरा होस्‌ भन्‍ने बिन्तीअनुसारै जीवन बिताउन मदत गर्दै हुनुहुन्छ? (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६ उदाहरणको लागि, सन्‌ १९४८ मा बप्तिस्मा गरेकी र अफ्रिकामा मिसनरीको रूपमा सेवा गरेकी बहिनीलाई लिनुहोस्‌। तिनी भन्छिन्‌, “येशूले सिकाउनुभएको प्रार्थनाको तेस्रो बिन्तीअनुसारै अन्त आउनुअघि सबै भेडाखाले मानिसहरूलाई भेट्‌न सकियोस्‌ अनि उनीहरूले यहोवा परमेश्‍वरलाई चिन्‍ने मौका पाऊन्‌ भनेर म अक्सर प्रार्थना गर्छु। साथै कसैलाई साक्षी दिनुअघि म यहोवा परमेश्‍वरलाई त्यस मानिसको मनसम्म पुग्न बुद्धि दिनुहोस्‌ भनेर पनि प्रार्थना गर्छु। अनि चेला बनिसकेका भेडाखाले मानिसहरूको विषयमा पनि म प्रार्थना गर्छु र हामीले उनीहरूलाई मदत गर्न प्रयास गर्दा आशिष्‌ दिनुहोस्‌ भनेर यहोवा परमेश्‍वरलाई बिन्ती गर्छु।” यी ८० वर्षीया बहिनी आफ्नो प्रचारकार्यमा सफल भएकी छिन्‌। तिनले अरू दाजुभाइ दिदीबहिनीको पनि सहायता लिएर थुप्रैलाई यहोवाको साक्षी बन्‍न मदत गरेकी छिन्‌। उमेर ढल्किसकेको भए तापनि यी बहिनीले जस्तै परमेश्‍वरको इच्छाअनुसार चल्न आफैलाई अर्पण गरेका थुप्रै दाजुभाइ दिदीबहिनीलाई तपाईं पनि चिन्‍नुहुन्छ होला।फिलिप्पी २:१७ पढ्‌नुहोस्‌।

१७. परमेश्‍वरले भविष्यमा कसरी आफ्नो इच्छा व्यापक रूपमा पूरा गर्नुहुनेछ? यो कुरा विचार गर्दा तपाईंलाई कस्तो लाग्छ?

१७ परमेश्‍वरको राज्यका शत्रुहरूलाई पृथ्वीबाट विनाश नगरेसम्म उहाँको इच्छा पूरा होस्‌ भनेर हामी प्रार्थना गरिरहनेछौं। नयाँ संसारमा करोडौं मानिसहरूलाई पुनर्जीवित गरिनेछ। यसरी परमेश्‍वरको इच्छा यस पृथ्वीमा व्यापक रूपमा पूरा भएको हामीले देख्नेछौं। येशूले यसो भन्‍नुभएको थियो, “यसमा अचम्म नमान, किनभने बेला आउँदैछ, जब चिहानमा हुनेहरू सबैले [मेरो] सोर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌।” (यूह. ५:२८, २९) हामीले मरिसकेका आफन्त तथा साथीभाइलाई नयाँ संसारमा स्वागत गर्ने ठूलो सुअवसर पाउनेछौं। परमेश्‍वरले “[हाम्रो] आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रका. २१:४) नयाँ संसारमा पुनर्जीवित भएर आउनेहरूमध्ये धेरै जना त ‘परमेश्‍वरको स्तरबमोजिम असल काम नगर्नेहरू’ हुनेछन्‌, जसले यहोवा परमेश्‍वर अनि उहाँको छोराबारे सिक्ने मौका नै पाएका थिएनन्‌। हामीले उनीहरूलाई परमेश्‍वरको इच्छा र उद्देश्‍यबारे सिकाउने अनि “अनन्त जीवन” पाउनको लागि योग्य हुन मदत गर्ने सुअवसर पनि पाउनेछौं।—प्रेषि. २४:१५; यूह. १७:३.

१८. मानिसजातिको सबैभन्दा महत्त्वपूर्ण आवश्‍यकता के-के हुन्‌?

१८ यहोवा परमेश्‍वरले आफ्नो राज्यमार्फत आफ्नो नाम पवित्र पार्नुभएपछि मात्र सारा संसारमा शान्ति र एकता छाउनेछ। त्यसैले येशूले सिकाउनुभएको प्रार्थनाको पहिलो तीन बिन्ती नै वास्तवमा मानिसजातिको सबैभन्दा महत्त्वपूर्ण आवश्‍यकता हुन्‌। किनभने यहोवाले यी बिन्तीको जवाफ दिनुभएपछि हाम्रा ती आवश्‍यकताहरू पूरा हुनेछन्‌। यसबाहेक हाम्रा अरू आवश्‍यकताहरू पनि छन्‌, जसबारे येशूले सिकाउनुभएको प्रार्थनाको बाँकी चार बिन्तीमा बताइएको छ। यी बिन्तीहरूबारे अर्को लेखमा छलफल गर्नेछौं।

a यो भविष्यवाणी सन्‌ १९१४ मै पूरा भयो र त्यही सालदेखि परमेश्‍वरको राज्यले शासन गर्न थाल्यो भन्‍ने विषयमा थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताबको पृष्ठ २१५-२१८ हेर्नुहोस्‌।