सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउनुहोस्‌—भाग २

येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउनुहोस्‌—भाग २

“तिमीहरूलाई के चाहिन्छ भनेर तिमीहरूका बुबालाई थाह छ।”—मत्ती ६:८.

१-३. हामीलाई के चाहिन्छ भनी यहोवा परमेश्‍वरलाई थाह छ भन्‍ने कुरामा एक बहिनी किन विश्‍वस्त भइन्‌?

 सन्‌ २०१२ को गर्मी यामको त्यो दिन लाना कहिल्यै बिर्सिदिंनन्‌। त्यसबेला उनी जर्मनीमा थिइन्‌। त्यो दिन उनले आफ्नो दुई वटा प्रार्थनाको जवाफ पाएको महसुस गरिन्‌। रेलमा यात्रा गरेर विमानस्थलतर्फ जाँदै गर्दा उनले पहिलो प्रार्थना गरेकी थिइन्‌। कसैलाई साक्षी दिन सकूँ भनेर उनले बिन्ती गरेकी थिइन्‌। विमानस्थल पुगेपछि उनले आफू चढ्‌ने विमानको उडान भोलिपल्टको लागि सारिएको कुरा थाह पाइन्‌। त्यसपछि उनले दोस्रो प्रार्थना गरिन्‌। आफूसित भएको पैसा सिद्धिनै लागेको र बस्नको लागि कुनै ठाउँ पनि नभएको कुरा उनले प्रार्थनामा बताइन्‌।

लानाको प्रार्थना सिद्धिनेबित्तिकै एक जना व्यक्‍तिले उनलाई यसो भने, “ओहो लाना! तिमी यहाँ कसरी?” तिनी लानाको स्कुलको साथी थिए। तिनी दक्षिण अफ्रिकामा जान लागेका रहेछन्‌ अनि विमानस्थलमा तिनलाई पुऱ्‍याउन तिनकी आमा र हजुरआमा पनि आएका रहेछन्‌। लानाको परिस्थितिबारे थाह पाएपछि तिनकी आमा एल्केले लानालाई आफ्नो घरमा बस्न निम्तो दिइन्‌। एल्के र उनकी आमाले लानालाई अतिथिसत्कार गरे। साथै लानालाई उनको विश्‍वास र पूर्ण-समय प्रचारकको रूपमा उनले गरिरहेको सेवाबारे थुप्रै प्रश्‍न सोधे।

भोलिपल्ट बिहान टन्‍न खाजा खाएपछि लानाले उनीहरूको मनमा उठेका बाइबलसम्बन्धी थुप्रै प्रश्‍नको जवाफ दिइन्‌। उनीहरूको चासो कायम राख्न सकियोस्‌ भनेर सम्पर्क ठेगाना पनि लिइन्‌। पछि लाना आफ्नो घर फर्किन्‌ र अहिले पनि उनी नियमित अग्रगामीको रूपमा सेवा गर्दै छिन्‌। “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वरले नै उनलाई मदत गर्नुभएको हो भन्‍ने कुरामा उनी विश्‍वस्त छिन्‌।—भज. ६५:२.

४. यस लेखमा कस्ता आवश्‍यकताहरूबारे छलफल गर्नेछौं?

एक्कासि कुनै समस्या आइपर्दा हामी यहोवा परमेश्‍वरलाई मदतको लागि तुरुन्तै पुकार्छौं। उहाँ पनि आफ्ना वफादार सेवकहरूको त्यस्तो बिन्ती सुन्‍न इच्छुक हुनुहुन्छ। (भज. ३४:१५; हितो. १५:८) तर हाम्रा अझै महत्त्वपूर्ण अन्य आवश्‍यकता पनि छन्‌, जसलाई हामी प्रार्थनामा समावेश गर्न बिर्सिरहेका हुन सक्छौं। येशूले सिकाउनुभएको प्रार्थनालाई राम्ररी केलाएर हेर्ने हो भने यस्ता आवश्‍यकताहरूबारे पनि प्रार्थना गर्नुपर्छ भनेर राम्ररी बुझ्न सक्छौं। येशूले सिकाउनुभएको प्रार्थनाको अन्तिम तीन बिन्तीले कसरी हाम्रो आध्यात्मिक आवश्‍यकतालाई जोड दिएको छ भनेर यस लेखमा विचार गर्नेछौं। त्योभन्दा पहिला येशूले सिकाउनुभएको प्रार्थनाको चौथो बिन्ती अर्थात्‌ दिनभरिको भोजन दिनुहोस्‌ भन्‍ने बिन्तीअनुसारै जीवन बिताउन के गर्न सक्छौं, विचार गरौं।मत्ती ६:११-१३ पढ्‌नुहोस्‌।

“हामीलाई आज दिनभरिको भोजन दिनुहोस्‌”

५, ६. भौतिक कुराहरूको खासै अभाव नभए तापनि हामीलाई आज दिनभरिको भोजन दिनुहोस्‌ भनेर बिन्ती गर्नु किन महत्त्वपूर्ण छ?

याद गर्नुहोस्‌, येशू ख्रीष्टले “मलाई” आज दिनभरिको भोजन दिनुहोस्‌ भनेर बिन्ती गर्न सिकाउनुभएन। बरु “हामीलाई” आज दिनभरिको भोजन दिनुहोस्‌ भन्‍न सिकाउनुभयो। अफ्रिकामा सेवा गरिरहेका एक क्षेत्रीय निरीक्षक यसो भन्छन्‌, “मेरी श्रीमती र मैले छाक कसरी टार्ने होला अथवा हाम्रो भाडा कसले तिरिदिने होला भनेर औधी चिन्ता गर्नुपरेको छैन। यसको लागि म यहोवा परमेश्‍वरलाई मनैदेखि धन्यवाद दिने गर्छु। हाम्रा मायालु दाजुभाइ दिदीबहिनीले हरेक दिन हाम्रो ख्याल राख्नुहुन्छ। त्यसैले हामीलाई मदत गर्ने ती दाजुभाइ दिदीबहिनीले पनि आर्थिक समस्याहरूसित डट्‌न सकून्‌ भनेर म प्रार्थना गर्छु।”

हामीसँग खानेकुराको खासै अभाव छैन होला। तर हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनी भने गरिब छन्‌ वा प्रकोपको सिकार भएका छन्‌। हामीले उनीहरूको लागि प्रार्थना गरेर मात्र पुग्दैन, आफ्नो प्रार्थनाअनुसारै गर्न कदम पनि चाल्नुपर्छ। उदाहरणको लागि, हामी आफ्ना ख्रीष्टियन दाजुभाइ दिदीबहिनीसित आफूसँग भएका कुराहरू बाँडचुँड गर्न सक्छौं। साथै विश्‍वव्यापी कार्यको लागि नियमित रूपमा अनुदान पनि दिन सक्छौं। किनभने हामीले दिएको अनुदान खाँचोमा परेका दाजुभाइ दिदीबहिनीलाई मदत गर्न चलाइन्छ भनेर हामीलाई थाह छ।—१ यूह. ३:१७.

७. “भोलिको चिन्ता कहिल्यै नगर” भनेर सल्लाह दिंदा येशूले कस्तो उदाहरण चलाउनुभयो?

येशू ख्रीष्टले आज दिनभरिको भोजनको कुरा गर्नुभयो। त्यसैले उहाँ वास्तवमा हाम्रा दैनिक आवश्‍यकताहरूबारे कुरा गर्दै हुनुहुन्थ्यो भनेर थाह पाउन सक्छौं। त्यसपछि परमेश्‍वरले मैदानका फूलहरूलाई समेत पहिराउनुहुन्छ भनेर उहाँले बताउनुभयो अनि यसो भन्‍नुभयो, “हे अल्पविश्‍वासीहरू हो, के उहाँले तिमीहरूलाई झनै पहिराउनुहुन्‍न र? त्यसैले ‘हामी के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के लगाऔंला?’ भनेर कहिल्यै चिन्ता नगर।” उहाँले यो महत्त्वपूर्ण सल्लाह दिंदै आफ्नो कुरा टुङ्‌ग्याउनुभयो, “भोलिको चिन्ता कहिल्यै नगर।” (मत्ती ६:३०-३४) त्यसैले भौतिक कुराहरू जम्मा गर्ने धुनमा लाग्नुको साटो हामी आफ्ना दैनिक आवश्‍यकताहरू पूरा भएपछि त्यसैमा सन्तुष्ट रहनुपर्छ। यी आवश्‍यकताहरूमा बास, परिवारको लालनपालन गर्न जागिर र आफ्नो स्वास्थ्यको राम्ररी ख्याल राख्न चाहिने बुद्धि पर्छन्‌। तर हामीले यस्ता भौतिक आवश्‍यकताहरूको लागि मात्र प्रार्थना गर्दा हामी असन्तुलित भइरहेका हुन्छौं। यी आवश्‍यकताभन्दा हाम्रो आध्यात्मिक आवश्‍यकता अझै महत्त्वपूर्ण छ।

८. येशूले चलाउनुभएको दिनभरिको भोजन भन्‍ने शब्दले हामीलाई कुन कुरा सम्झाउँछ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

येशूले चलाउनुभएको दिनभरिको भोजन भन्‍ने शब्दले हामीलाई आध्यात्मिक भोजन खानु पनि आवश्‍यक छ भनेर सम्झाउँछ। हाम्रो गुरु येशूले यसो भन्‍नुभयो, “मानिस रोटीको भरमा मात्र बाँच्नुहुँदैन तर यहोवाको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नु पर्छ।” (मत्ती ४:४) त्यसकारण यहोवाले हाम्रो लागि ठीक समयमा आध्यात्मिक भोजन प्रबन्ध गरिदिऊन्‌ भनेर हामीले नियमित रूपमा प्रार्थना गर्नुपर्छ।

“हाम्रो ऋण क्षमा गर्नुहोस्‌”

९. कुन अर्थमा हाम्रा पापहरू “ऋण” हो?

येशू ख्रीष्टले किन “ऋण” भन्‍ने शब्द चलाउनुभयो? यो प्रश्‍न रोचक छ किनभने पछि प्रार्थना गर्न सिकाउँदा उहाँले “ऋण” भन्‍ने शब्द नभई “पापहरू” भन्‍ने शब्द चलाउनुभएको पाउँछौं। (मत्ती ६:१२; लूका ११:४) झन्डै ६० वर्षअघिको एउटा प्रहरीधरहरा-मा यसबारे यसरी व्याख्या गरिएको थियो, “परमेश्‍वरको नियम तोडेर हामीले कुनै पाप गऱ्‍यौं भने हामी उहाँप्रति ऋणी हुन्छौं। ... हाम्रो पापको बदलामा हाम्रो जीवनसमेत लिने अधिकार उहाँसित छ। . . . उहाँले हामीबाट आफ्नो शान्ति खोस्न सक्नुहुन्छ र हामीसित गाँसेको सम्बन्ध तोड्‌न सक्नुहुन्छ। . . . तर उहाँ त्यसो गर्नहुन्‍न, बरु हामीलाई प्रेम गर्नुहुन्छ। उहाँले हामीलाई प्रेम गर्नुभएकोले हामी उहाँप्रति ऋणी छौं। हामीले पनि उहाँको आज्ञा पालन गरेर उहाँलाई प्रेम गरेको देखाउनुपर्छ। त्यसैले पाप गर्दा हामी वास्तवमा आफ्नो ऋण चुक्‍ता गर्नदेखि चुकिरहेका हुन्छौं। किनभने पाप गऱ्‍यौं भने हामीले यहोवा परमेश्‍वरलाई प्रेम गरिरहेका हुँदैनौं।”—१ यूह. ५:३.

१०. यहोवा परमेश्‍वरले कुन आधारमा हामीलाई क्षमा गर्न सक्नुहुन्छ? यस प्रबन्धबारे तपाईं कस्तो महसुस गर्नुहुन्छ?

१० हामीले दिनदिनै यहोवा परमेश्‍वरबाट क्षमा पाउनु आवश्‍यक छ। त्यसैले येशूले चढाउनुभएको फिरौतीको बलिदान साँच्चै महत्त्वपूर्ण छ नि, होइन र? परमेश्‍वरले हाम्रो पाप क्षमा गर्न सक्ने एक मात्र कानुनी आधार यही बलिदान हो। हुन त येशूले यो बलिदान झन्डै २,००० वर्षअघि नै चढाउनुभएको थियो। तर आज हामी पनि यस उपहारप्रति आभारी हुनुपर्छ। हाम्रो जीवनको लागि येशूले चढाउनुभएको “छुटकाराको मोल ... ज्यादै” मूल्यवान्‌ छ। किनभने त्रुटिपूर्ण मानिसले जेसुकै गरे तापनि फिरौतीको मोल तिर्न सक्दै-सक्दैन। (भजन ४९:७-९; १ पत्रुस १:१८, १९ पढ्‌नुहोस्‌) त्यसैले हामीले यहोवा परमेश्‍वरलाई यस्तो अनमोल उपहारको लागि धन्यवाद दिन कहिल्यै बिर्सनु हुँदैन। यो कुरा पनि विचार गर्नुहोस्‌, येशूले हाम्रा पापहरू” भन्‍न सिकाउनुभयो, “मेरा पापहरू” होइन। यसले हामीलाई सम्पूर्ण ख्रीष्टियन दाजुभाइ दिदीबहिनीले फिरौतीको प्रबन्धबाट लाभ उठाउनु महत्त्वपूर्ण छ भनेर सम्झाउँछ। त्यसैले हामीले यहोवासितको उनीहरूको सम्बन्धलाई पनि विचार पुऱ्‍याएको उहाँ चाहनुहुन्छ। यसो गर्नुमा हामीविरुद्ध पाप गरेकाहरूलाई क्षमा दिनु पनि समावेश छ। धेरैजसो अवस्थामा त्यस्ता पापहरू सानोतिनो खालका हुन्छन्‌। वास्तवमा कसैले हामीविरुद्ध सानोतिनो गल्ती गर्दा हामी उनलाई साँच्चै प्रेम गर्छौं भनेर देखाउने मौका पाउँछौं। साथै यहोवा परमेश्‍वरले कृपालु भई हामीलाई क्षमा गर्नुभएझैं हामी पनि उनलाई क्षमा दिन इच्छुक छौं भनेर देखाउने मौका पाउँछौं।—कल. ३:१३.

परमेश्‍वरबाट क्षमा पाउन चाहनुहुन्छ भने अरूलाई क्षमा दिने गर्नुहोस्‌ (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. हामीले किन क्षमा दिनुपर्छ?

११ दुःखको कुरा, हामी त्रुटिपूर्ण भएकोले कहिलेकाहीं क्षमा दिन गाह्रो हुन्छ र हामी एकअर्काविरुद्ध इबी राख्न पुग्छौं। (लेवी १९:१८) समस्याबारे मण्डलीका अरू सदस्यहरूसित कुराकानी गऱ्‍यौं भने तिनीहरूले पनि हाम्रो पक्ष लिन सक्छन्‌ र मण्डलीमा फाटो आउन सक्छ। यस्तो हुन दियौं भने फिरौतीको बलिदान अनि परमेश्‍वरले देखाउनुभएको कृपाप्रति आभारी नभएको देखाइरहेका हुन्छौं। हामीले क्षमा दिएनौं भने परमेश्‍वरले पनि हामीलाई आफ्नो छोराको बलिदानको आधारमा क्षमा दिनुहुनेछैन। (मत्ती १८:३५) यसबारे येशूले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनेबित्तिकै चर्चा गर्नुभएको थियो। (मत्ती ६:१४, १५ पढ्‌नुहोस्‌) साथै परमेश्‍वरबाट क्षमा पाउन चाहन्छौं भने हामीले गम्भीर पाप गर्नु हुँदैन। गम्भीर पाप नगर्ने अठोट गर्दा हामी येशूले सिकाउनुभएको प्रार्थनाको अर्को बिन्ती गर्न उत्प्रेरित हुनेछौं।—१ यूह. ३:४,.

“हामीलाई प्रलोभनमा पर्न नदिनुहोस्‌”

१२, १३. (क) येशूले बप्तिस्मा गर्नुभएको केही समय नबित्दै के भयो? (ख) हामी प्रलोभनमा पऱ्‍यौं भने त्यसको दोष अरूलाई दिन मिल्दैन, किन? (ग) मृत्युसम्मै वफादार रहेर येशूले के प्रमाणित गर्नुभयो?

१२ “हामीलाई प्रलोभनमा पर्न नदिनुहोस्‌” भनेर बिन्ती गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर बुझ्न एउटा घटना विचार गरौं। येशूले बप्तिस्मा गर्नुभएको केही समय नबित्दै परमेश्‍वरको शक्‍तिले येशूलाई उजाडस्थानतिर डोऱ्‍यायो। त्यहाँ के भयो? “दियाबलले लोभ देखाएर उहाँको परीक्षा गर्ने कोसिस गऱ्‍यो।” (मत्ती ४:१; ६:१३) यहोवा परमेश्‍वरले किन त्यसो हुन दिनुभएको होला भनेर के हामी छक्क पर्नुपर्छ? अहँ, पर्दैन। परमेश्‍वरले आफ्नो छोरालाई पृथ्वीमा पठाउनुको मुख्य कारण के थियो, विचार गर्नुहोस्‌। आदम र हव्वाले परमेश्‍वरको शासन गर्ने अधिकारको विरोध गर्दा खडा भएको विवाद सुल्झाउन येशू पृथ्वीमा आउनुभएको थियो। त्यस विवादले गर्दा विभिन्‍न प्रश्‍न खडा भयो। जस्तै: परमेश्‍वरले मानिसलाई खोटसहित बनाउनुभएको थियो कि? “त्यस दुष्ट” सैतानले जतिसुकै दबाब दिए तापनि त्रुटिरहित मानिस परमेश्‍वरप्रति वफादार रहन सक्ला? सैतानले भन्‍न खोजेझैं परमेश्‍वरको शासनविना नै मानिसहरू सुखी रहन सक्छन्‌ कि? (उत्प. ३:४, ५) यी प्रश्‍नहरूको जवाफ पाउन प्रशस्तै समय चाहिन्थ्यो। तर यी प्रश्‍नहरूको जवाफले यहोवा परमेश्‍वर आफ्नो शासन गर्ने अधिकार सही तरिकामा चलाउनुहुन्छ भनेर प्रमाणित गर्ने थियो।

१३ यहोवा परमेश्‍वर पवित्र हुनुहुन्छ। त्यसैले उहाँ कुनै खराब मनसायले कसैको पनि परीक्षा गर्नुहुन्‍न। बरु ‘परीक्षा गर्न खोज्ने’ त दियाबल हो। (मत्ती ४:३) हुन त दियाबलले हामीलाई प्रलोभनमा पार्न विभिन्‍न पासो थाप्छ। तर प्रलोभनको प्रतिरोध गर्ने कि नगर्ने भन्‍ने कुरा प्रत्येकले आफै निर्णय गर्न सक्छन्‌। (याकूब १:१३-१५ पढ्‌नुहोस्‌) सैतानले ल्याएको हरेक प्रलोभनलाई येशूले ठाडै इन्कार गर्नुभयो। उहाँले हरेक पटक बाइबलबाट उद्धरण गर्दै सैतानलाई जवाफ दिनुभयो। यसरी उहाँले परमेश्‍वरको शासन गर्ने अधिकारलाई पूर्ण रूपमा समर्थन गर्नुभयो। तर सैतानले हार मानेन। बरु “अर्को अनुकूल मौका नपाउन्जेलसम्मका लागि” पर्खेर बस्यो। (लूका ४:१३) तर सैतानले येशूको निष्ठा तोड्‌न गरेको हरेक प्रयासलाई उहाँले विफल पारिदिनुभयो। उहाँले यहोवा परमेश्‍वरको शासन गर्ने अधिकारलाई समर्थन गर्नुभयो र जस्तोसुकै गाह्रो परीक्षा आइपरे तापनि त्रुटिरहित मानिस वफादार रहन सक्छ भनेर प्रमाणित गर्नुभयो। तर सैतान अझै पनि येशूका चेलाहरूलाई पासोमा पार्न लागिपरेको छ र त्यसले तपाईंलाई पनि आफ्नो सिकार बनाउन खोज्छ।

१४. प्रलोभनमा नपर्ने हो भने हामीले के गर्नुपर्छ?

१४ परमेश्‍वरको शासन गर्ने अधिकारसम्बन्धी खडा भएको विवाद अहिलेसम्म पनि हल भएको छैन। त्यसैले यहोवा परमेश्‍वरले सैतानलाई हाम्रो परीक्षा लिन दिनुभएको छ। उहाँले नै हामीलाई प्रलोभनमा पार्ने त होइन। बरु उहाँ हामीलाई भरोसा गर्नुहुन्छ र हामीलाई मदत गर्न चाहनुहुन्छ। तर उहाँ हाम्रो छनौट गर्ने स्वतन्त्रताको पनि कदर गर्नुहुन्छ। त्यसैले प्रलोभनको प्रतिरोध गर्ने कि नगर्ने भनेर हामी आफैलाई निर्णय गर्न दिनुहुन्छ। प्रलोभनमा नपर्ने हो भने हामीले दुइटा कुरा गर्नु आवश्‍यक छ: आध्यात्मिक रूपमा जागा रहने र निरन्तर प्रार्थना गर्ने। प्रलोभनमा पर्न नदिनुहोस्‌ भनेर प्रार्थनामा बिन्ती गर्दा यहोवा परमेश्‍वर कसरी त्यसको जवाफ दिनुहुन्छ?

यहोवासितको सम्बन्ध घनिष्ठ बनाइराख्नुहोस्‌ र जोसिलो भई प्रचारकार्यमा लागिरहनुहोस्‌ (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५, १६. (क) हामीले प्रतिरोध गर्नुपर्ने केही प्रलोभन के-के हुन्‌? (ख) हामी प्रलोभनमा पऱ्‍यौं भने त्यसको दोषी को हो?

१५ यहोवा परमेश्‍वर हामीलाई पवित्र शक्‍ति दिनुहुन्छ। यसले हामीलाई प्रलोभनको प्रतिरोध गर्ने बल दिन्छ। परमेश्‍वर हामीलाई आफ्नो वचन र मण्डलीमार्फत पनि प्रलोभनमा पर्न सक्ने विभिन्‍न खतराबारे चेतावनी दिनुहुन्छ। जस्तै: अनावश्‍यक भौतिक कुराहरू हासिल गर्नमै आफ्नो समय, पैसा र शक्‍ति खर्च गर्नुको खतराबारे हामी चेतावनी पाउँछौं। एस्पेन र याना युरोपको एक धनी देशमा बस्छन्‌। थुप्रै वर्षसम्म तिनीहरूले आफ्नो देशको आवश्‍यकता धेरै भएको ठाउँमा नियमित अग्रगामी सेवा गरे। तर छोरा जन्मेपछि तिनीहरूले अग्रगामी सेवा छोड्‌नुपऱ्‍यो। पछि तिनीहरूको एउटी छोरी पनि जन्मिइन्‌। एस्पेन यसो भन्छन्‌, “पहिला हामी आध्यात्मिक गतिविधिमा जति समय बिताउँथ्यौं, अहिले त्यति समय बिताउन सक्दैनौं। त्यसैले प्रलोभनमा पर्न नदिनुहोस्‌ भनेर हामी अक्सर यहोवालाई प्रार्थना गर्छौं। साथै उहाँसितको सम्बन्ध घनिष्ठ बनाइराख्न र जोसिलो भई प्रचारकार्यमा लागिरहन मदत गर्नुहोस्‌ भनेर पनि बिन्ती गर्छौं।”

१६ आजकाल सैतानले मानिसहरूलाई प्रलोभनमा पार्न चलाउने एउटा प्रभावकारी तरिका हो: अश्‍लील सामग्री। तर अश्‍लील सामग्री हेर्ने प्रलोभनमा पऱ्‍यौं भने हामीले सैतानलाई दोष दिन मिल्दैन। किन? किनभने सैतान र त्यसको संसारले हामीलाई आफ्नो इच्छाविपरीत चल्न जबरजस्ती गर्न सक्दैन। खराब कुराहरू मनमा खेलाइरहेकोले कोही-कोही अश्‍लील सामाग्री हेर्ने प्रलोभनमा परेका छन्‌। तर हामी यस्तो प्रलोभनको प्रतिरोध गर्न सक्छौं। हजारौं दाजुभाइ दिदीबहिनीले पनि त्यसै गरेका छन्‌।—१ कोरि. १०:१२, १३.

“त्यस दुष्टबाट छुटाउनुहोस्‌”

१७. (क) हामी कसरी “त्यस दुष्टबाट छुटाउनुहोस्‌” भन्‍ने बिन्तीअनुसारै जीवन बिताउन सक्छौं? (ख) अब चाँडै के हुनेछ?

१७ हामी कसरी “त्यस दुष्टबाट छुटाउनुहोस्‌” भन्‍ने बिन्तीअनुसारै जीवन बिताउन सक्छौं? ‘सैतानको संसारको नहुन’ र “[सैतानको] संसारलाई वा संसारमा भएका थोकहरूलाई प्रेम” नगर्न कडा प्रयास गरेर। (यूह. १५:१९; १ यूह. २:१५-१७) सैतानको संसार रहुन्जेल हामीले यस्तो प्रयास गरिरहनै पर्छ। भविष्यमा यहोवाले सैतान र त्यसको दुष्ट संसारलाई नाश गरेर हाम्रो प्रार्थनाको जवाफ दिनुहुनेछ। त्यतिबेला हामी कत्ति खुसी हुनेछौं! तर त्यतिन्जेल सैतानले हाम्रो निष्ठा तोड्‌न भएभरको प्रयास गर्छ भनेर नभुलौं। किनभने सैतानलाई स्वर्गबाट पृथ्वीमा फालिंदा आफ्नो समय थोरै मात्र बाँकी छ भनेर थाह थियो। त्यो असाध्यै रिसाएको छ। त्यसैले त्यसबाट छुटाउनुहोस्‌ भनेर प्रार्थना गरिरहनै पर्छ।—प्रका. १२:१२, १७.

१८. सैतानको संसार अन्त हुँदा जोगिन चाहन्छौं भने हामीले के गरिरहनै पर्छ?

१८ के तपाईं त्यस दुष्ट सैतान नभएको संसारमा बाँच्न चाहनुहुन्छ? चाहनुहुन्छ भने परमेश्‍वरको राज्यले उहाँको नाम पवित्र पारोस्‌ र उहाँको इच्छा यस पृथ्वीमा पनि पूरा गरोस्‌ भनेर प्रार्थना गरिरहनुहोस्‌। आफ्नो आध्यात्मिक र भौतिक आवश्‍यकताहरू पूरा गर्न यहोवा परमेश्‍वरमा भर पर्नुहोस्‌। येशूले सिकाउनुभएको प्रार्थनाअनुसारै जीवन बिताउन सक्दो गर्नुहोस्‌।