सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीहरू सहनशील हुनु आवश्‍यक छ”

“तिमीहरू सहनशील हुनु आवश्‍यक छ”

अनिता a यहोवाको साक्षी भएपछि उनको श्रीमान्‌ले घोर विरोध गरे। उनी भन्छिन्‌, “उहाँ मलाई सभामा जान अनि परमेश्‍वरको नामसमेत लिन दिनुहुन्‍न थियो। मैले यहोवाको नाम लिनेबित्तिकै उहाँको पारो तातेर आउँथ्यो।”

आफ्नो छोराछोरीलाई यहोवाको विषयमा सिकाउनु पनि उनको लागि एउटा चुनौती थियो। उनी भन्छिन्‌, “मलाई यहोवाको उपासना गर्न आफ्नै घरमा समेत निषेध गरिएको थियो। न त आफ्नो छोराछोरीसित खुलेआम बाइबल अध्ययन गर्न सक्थें न तिनीहरूलाई सभामा नै लैजान सक्थें।”

परिवारका सदस्यहरूले विरोध गर्दा निष्ठा कायम राख्न साँच्चै गाह्रो हुन सक्छ भन्‍ने कुरा अनिताको अनुभवबाट स्पष्ट हुन्छ। साथै आफूलाई दीर्घकालीन रोग लाग्दा, श्रीमान्‌/श्रीमती वा छोराछोरीको मृत्यु हुँदा अथवा परिवारको कोही सदस्यले यहोवालाई त्याग्दा पनि गाह्रो हुन सक्छ। तर यस्तो अवस्थामा पनि यहोवाप्रति वफादार रहन केले मदत गर्छ?

यस्ता समस्याहरू आइपर्दा तपाईं के गर्नुहुन्छ? प्रेषित पावलले यसो भने, “तिमीहरू सहनशील हुनु आवश्‍यक छ।” (हिब्रू १०:३६) तर सहनशील हुन हामीलाई केले मदत गर्छ?

प्रार्थना गर्दै यहोवामा भर पर्नुहोस्‌

सहनशील हुन बल पाउने एउटा मुख्य तरिका प्रार्थना गर्दै यहोवामा भर पर्नु हो। आना नामकी बहिनीको उदाहरण विचार गरौं। सोमबार दिउँसो अचानक उनको परिवारमाथि एउटा ठूलो समस्या आइपऱ्‍यो। उनको श्रीमान्‌को निधन भयो। उनीहरूले विवाह गरेको तीस वर्ष भइसकेको थियो। उनी भन्छिन्‌, “उहाँ काममा जानुभएको थियो। त्यसपछि कहिल्यै घर फर्कनुभएन। उहाँ ५२ वर्षको मात्र हुनुहुन्थ्यो।”

आनाले कसरी सहने बल पाइन्‌? उनले फेरि काम गर्न थाल्नुपर्ने भयो। उनले आफ्नो पूरै ध्यान काममा लगाउनुपर्थ्यो। यसले गर्दा उनले केही राहत त पाइन्‌ तर यसले उनको दुःख पूरै हटाउन सकेन। उनी भन्छिन्‌, “मैले यहोवालाई आफ्नो दुखेसो पोखें अनि सहनशील हुन बल मागें।” के यहोवाले उनको प्रार्थना सुन्‍नुभयो? सुन्‍नुभयो भन्‍ने कुरामा उनी विश्‍वस्त छिन्‌। उनी भन्छिन्‌, “परमेश्‍वरले मात्र दिन सक्ने शान्तिले मेरो मनको घाउमा मलहम लगाइदियो अनि मैले आफैलाई सम्हाल्न सकें। यहोवा परमेश्‍वरले मेरो श्रीमान्‌लाई पुनर्जीवित गर्नुहुनेछ भन्‍ने कुरामा म ढुक्क छु।”—फिलि. ४:६, ७.

“प्रार्थना सुन्‍नुहुने” परमेश्‍वरले आफ्ना जनहरूलाई उहाँप्रति वफादार रहिरहन हर प्रकारको मदत गर्ने वाचा गर्नुभएको छ। (भज. ६५:२) के यो कुरा सान्त्वनादायी छैन र? के यसले तपाईं पनि सहनशील हुन सक्नुहुन्छ भन्‍ने कुरामा तपाईंलाई ढुक्क बनाउँदैन र?

मण्डलीका सभाहरूले सहने बल दिन्छ

यहोवा परमेश्‍वर मण्डलीमार्फत आफ्ना जनहरूलाई सहने बल दिनुहुन्छ। उदाहरणको लागि, थिस्सलोनिकी मण्डलीले घोर विरोधको सामना गर्नुपर्दा पावलले त्यहाँका ख्रीष्टियनहरूलाई ‘एक-अर्कालाई सान्त्वना दिइरहन अनि एक-अर्काको उत्थान गरिरहन’ आग्रह गरे। ‘तिनीहरूले त्यसै गरिरहेका पनि थिए।’ (१ थिस्स. २:१४; ५:११) एकअर्कालाई माया र मदत गरेकाले थिस्सलोनिकी ख्रीष्टियनहरूले परीक्षा आए पनि आफ्नो विश्‍वास जोगाइराख्न सके। तिनीहरूले सहनशील हुने सन्दर्भमा हाम्रो लागि राम्रो उदाहरण बसाले। हामी कसरी तिनीहरूजस्तै सहनशील हुन सक्छौं?

मण्डलीका दाजुभाइ दिदीबहिनीसित घनिष्ठ सम्बन्ध गाँस्दा “एक-अर्काको उत्थान” गर्ने थुप्रै मौका पाउँछौं। (रोमी १४:१९) विशेषगरि गाह्रो परिस्थितिको सामना गर्नुपर्दा यसले हामीलाई निकै मदत गर्छ। पावलले थुप्रै कठिन परिस्थितिको सामना गरेका थिए अनि यहोवाले तिनलाई सहनशील हुन बल दिनुभयो। कतिपय अवस्थामा यहोवाले ख्रीष्टियन दाजुभाइ दिदीबहिनी चलाएर तिनलाई हौसला दिनुभयो। जस्तै: पावलले कलस्सी मण्डलीका ख्रीष्टियनहरूलाई आफ्नो अभिवादन पठाउँदा तिनीहरूबारे यसो भने, “यिनीहरू नै मलाई बल दिने मेरा मदतगार भएका छन्‌।” (कल. ४:१०, ११) हो, तिनीहरू पावललाई माया गर्थे। त्यसैले तिनलाई आवश्‍यक मदत र सान्त्वना दिन तिनीहरू उत्प्रेरित भए। तपाईंले पनि आफ्नो मण्डलीका दाजुभाइ दिदीबहिनीबाट त्यस्तै मदत र सान्त्वना पाउनुभएको छ होला।

एल्डरहरूको मदत

यहोवाले आफ्ना जनहरूलाई सहन बल दिने अर्को माध्यम मण्डलीका एल्डरहरू हुन्‌। यी परिपक्व पुरूषहरू “बतासबाट लुक्ने ठाउँ र आँधीबेह्रीबाट आड लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै” हुन्छन्‌। (यशै. ३२:२) कत्ति सान्त्वनादायी कुरा! यस्तो मायालु प्रबन्धबाट के तपाईंले लाभ उठाउनुभएको छ? एल्डरहरूले दिने हौसला र मदतले तपाईंलाई सहनशील हुन बल दिनेछ।

हुन त एल्डरहरूले चमत्कार गरेर हाम्रो समस्या हटाउन सक्दैनन्‌। तिनीहरू पनि हामीजस्तै “कमीकमजोरी भएका” त्रुटिपूर्ण मानिसहरू हुन्‌। (प्रेषि. १४:१५) तैपनि तिनीहरूले हाम्रो लागि यहोवालाई प्रार्थना गरिदिंदा हामीले मदत पाउन सक्छौं। (याकू. ५:१४, १५) इटालीका एक जना भाइलाई विचार गरौं। वर्षौंदेखि तिनी मांसपेशी कमजोर हुँदै जाने एक किसिमको रोगबाट पीडित छन्‌। तिनी भन्छन्‌, “एल्डरहरूले माया गरेकोले अनि पटक-पटक भेट्‌न आएकोले मैले सहने बल पाएको छु।” हो, यहोवाले माया गरेर एल्डरहरूको प्रबन्ध गर्नुभएको छ। तपाईंले पनि कुनै समस्याको सामना गर्दै हुनुहुन्छ भने एल्डरहरूसित मदत माग्नुहोस्‌।

नियमित रूपमा आध्यात्मिक गतिविधिमा भाग लिनुहोस्‌

नियमित रूपमा आध्यात्मिक गतिविधिमा भाग लिंदा पनि सहनशील हुन बल पाउँछौं। जोन भन्‍ने ३९ वर्षीय भाइको अनुभव विचार गरौं। तिनलाई क्यान्सर भएको थियो। तिनी भन्छन्‌, “म जवानै थिएँ। मलाई नै किन त्यस्तो भएको होला जस्तो लाग्थ्यो।” त्यतिबेला जोनको छोरा तीन वर्षको मात्र थियो। तिनी अझ यसो भन्छन्‌, “मेरी श्रीमतीले हाम्रो सानो छोराको मात्र नभई मेरो पनि हेरविचार गर्नुपर्ने भयो। साथै मलाई डाक्टरकहाँ पुऱ्‍याउने र ल्याउने काम पनि उनले नै गर्नुपर्ने भयो।” क्यान्सरको उपचार गर्न तिनले किमोथेरापी गर्नुपऱ्‍यो। यसले गर्दा तिनी थकित हुन्थे अनि तिनलाई वाकवाक लाग्थ्यो। तिनको दुःखमाथि दुःख थपियो। तिनको बुबालाई एउटा प्राणघातक रोग लाग्यो र परिवारले उनको पनि हेरविचार गर्नुपर्ने भयो।

जोन र तिनको परिवारले त्यस्तो गाह्रो परिस्थितिको सामना कसरी गर्न सके? जोन भन्छन्‌, “प्रायजसो थकित हुने भए तापनि हामीले नियमित रूपमा आध्यात्मिक गतिविधिमा भाग लियौं। हामी कुनै पनि सभा छुटाउँदैन थियौं, हरेक हप्ता प्रचारमा जान्थ्यौं अनि गाह्रो भए पनि नियमित रूपमा पारिवारिक उपासना गर्थ्यौं।” यहोवासितको सम्बन्ध बलियो बनाउँदा जस्तोसुकै समस्या आए तापनि सहनशील हुन सकिन्छ भन्‍ने कुरा जोनले बुझे। तिनीजस्तै गाह्रो परिस्थितिको सामना गरिरहेकाहरूलाई जोन यस्तो सुझाव दिन्छन्‌, “एक्कासि समस्या आउँदा सुरुमा त हामी अत्तालिन्छौं। तर यहोवाको शक्‍ति र मायाले हामीलाई नकारात्मक भावनासित लड्‌न मदत गर्छ। यहोवाले मलाई जस्तै तपाईंलाई पनि बलियो पार्नुहुनेछ।”

चाहे अहिले होस्‌ या भविष्यमा, कठिन परीक्षा वा परिस्थिति आइपर्दा यहोवाको मदत पाएर हामी सहनशील हुन सक्छौं भन्‍ने कुरामा कुनै शङ्‌का छैन। त्यसैले प्रार्थना गर्दै हामी यहोवामा भर परौं, मण्डलीका दाजुभाइ दिदीबहिनीसित घनिष्ठ सम्बन्ध गाँसौं, एल्डरहरूको मदत मागौं अनि नियमित रूपमा आध्यात्मिक गतिविधिमा भाग लिइरहौं। यसो गऱ्‍यौं भने हामी पावलका यी शब्दहरू अनुसार चलिरहेका हुन्छौं, “तिमीहरू सहनशील हुनु आवश्‍यक छ।”

a केही नाम परिवर्तन गरिएका छन्‌।