सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आध्यात्मिक प्रमोदवनलाई अझ सुन्दर बनाउनुहोस्‌

आध्यात्मिक प्रमोदवनलाई अझ सुन्दर बनाउनुहोस्‌

“म मेरो चरणको स्थानलाई शोभायमान बनाउनेछु।”—यशै. ६०:१३.

गीत: १०२, ७५

१, २. हिब्रू धर्मशास्त्रमा भएको “पाउदान” शब्दले कुन कुरालाई बुझाउँछ?

 यहोवा परमेश्‍वरले यस्तो घोषणा गर्नुभएको छ: “स्वर्ग मेरो सिंहासन हो र पृथ्वी चाहिं मेरो पाउदान हो।” (यशै. ६६:१) आफ्नो “पाउदान”-को विषयमा उहाँले यसो पनि भन्‍नुभएको छ: “म मेरो चरणको स्थानलाई शोभायमान बनाउनेछु।” (यशै. ६०:१३) उहाँले आफ्नो पाउदानलाई कसरी शोभायमान अर्थात्‌ सुन्दर बनाउनुहुन्छ? हामी परमेश्‍वरको “पाउदान”-मा भएकोले आफैलाई यसरी सोधौं: “यस कुराले मलाई कस्तो असर गर्छ?”

हिब्रू धर्मशास्त्रमा “पाउदान” शब्दले पृथ्वीलाई बुझाउँछ। साथै इस्राएलीहरूले प्रयोग गर्ने यरूशलेममा भएको मन्दिरलाई बुझाउन पनि यही शब्द चलाइएको छ। (१ इति. २८:२; भज. १३२:७) यो मन्दिर पृथ्वीमा साँचो उपासनाको केन्द्र थियो। यसैले यहोवाको नजरमा यो मन्दिर साँच्चै सुन्दर थियो। यसले पृथ्वीमा यहोवाको महिमा गर्ने थियो।

३. परमेश्‍वरको महान्‌ आध्यात्मिक मन्दिर भनेको के हो र यो कहिले अस्तित्वमा आयो?

अहिले यहोवाको उपासनाको लागि पृथ्वीमा कुनै मन्दिर छैन। तर आध्यात्मिक मन्दिर छ। यो आध्यात्मिक मन्दिर भनेको के हो? आध्यात्मिक मन्दिर भनेको येशूको फिरौतीको बलिदानमार्फत यहोवाको उपासना गर्ने प्रबन्ध हो। येशूको बप्तिस्माको बेला अर्थात्‌ इस्वी संवत्‌ २९ मा यो आध्यात्मिक मन्दिर अस्तित्वमा आयो। त्यसबेला यहोवाको महान्‌ आध्यात्मिक मन्दिरको प्रधान पुजारीको रूपमा येशू ख्रीष्टलाई अभिषेक गरियो। (हिब्रू ९:११, १२) यो आध्यात्मिक मन्दिरले कुनै पनि भौतिक मन्दिरले भन्दा अझ धेरै यहोवाको महिमा गर्छ।

४, ५. (क) यहोवाका वफादार सेवकहरूको इच्छाबारे भजन ९९ ले के बताउँछ? (ख) हामीले आफैलाई कस्तो प्रश्‍न सोध्नुपर्छ?

हामी यहोवाले प्रबन्ध गर्नुभएको आध्यात्मिक मन्दिरको गहिरो मोल गर्छौं। त्यसैले हामी उहाँको नाम चारैतिर फैलाउँछौं र फिरौतीको अमूल्य उपहारबारे अरूलाई बताउँछौं। आज ८० लाखभन्दा धेरै साँचो ख्रीष्टियनले यहोवाको महिमा गरिरहेका छन्‌। प्रायजसो धर्मका मानिसहरू मरेर स्वर्ग गएपछि परमेश्‍वरको प्रशंसा गर्ने सोचाइ राख्छन्‌। तर यहोवाका साक्षीहरू अहिले यसै पृथ्वीमा परमेश्‍वरको महिमा गर्छन्‌।

यसरी हामीले भजन ९९:१-३,  मा बताइएका यहोवाका विश्‍वासी सेवकहरूको नमुना अनुकरण गरिरहेका हुन्छौं। (पढ्‌नुहोस्‌) त्यस पदमा बताइए जस्तै मोशा, हारून र शमूएलले साँचो उपासनाको प्रबन्धलाई पूरापूर समर्थन गरे। (भज. ९९:६, ७) येशूका अभिषिक्‍त भाइहरू अहिले आध्यात्मिक मन्दिरको पृथ्वीमा रहेको भागमा विश्‍वासीपूर्वक सेवा गरिरहेका छन्‌। भविष्यमा तिनीहरूले येशूसँगै स्वर्गमा पुजारीको रूपमा सेवा गर्नेछन्‌। लाखौं “अरू भेडा”-ले तिनीहरूलाई वफादार भई साथ दिएका छन्‌। (यूह. १०:१६) तिनीहरूको आशा फरक-फरक भए तापनि दुवै समूह एक भएर यहोवाको पाउदानमा उहाँको उपासना गरिरहेका छन्‌। तर के हामीले व्यक्‍तिगत रूपमा पनि साँचो उपासनाको प्रबन्धलाई पूरापूर समर्थन गरिरहेका छौं?

आध्यात्मिक मन्दिरमा सेवा गरिरहेकाहरूलाई चिन्‍नुहोस्‌

६, ७. सुरु सुरुका ख्रीष्टियनहरूमा कस्तो समस्या देखा पऱ्‍यो? सन्‌ १९१९ देखि के भयो?

ख्रीष्टियन मण्डली खडा भएको एक शताब्दी पनि नबित्दै भविष्यवाणी गरिएअनुसारै धर्मत्याग सुरु भयो। (प्रेषि. २०:२८-३०; २ थिस्स. २:३, ४) त्यसपछि आध्यात्मिक मन्दिरमा कसले परमेश्‍वरको सेवा गरिरहेका छन्‌ भनेर चिन्‍न गाह्रो भयो। सयौं वर्षपछि मात्रै यहोवाले उहाँको आध्यात्मिक मन्दिरमा कसले सेवा गरिरहेका छन्‌ भन्‍ने कुरा स्पष्ट पार्नुभयो।

यहोवाको अनुमोदन कसले पाएका छन्‌ अनि उहाँको आध्यात्मिक मन्दिरमा कसले सेवा गरिरहेका छन्‌ भनेर सन्‌ १९१९ देखि स्पष्टै चिनियो। तिनीहरूको सेवा परमेश्‍वरसामु अझ स्वीकार्य बनाउन तिनीहरूलाई आध्यात्मिक रूपमा शुद्ध पारियो। (यशै. ४:२, ३; मला. ३:१-४) त्यसपछि प्रेषित पावलले वर्षौंअघि दर्शनमा देखेको कुरा केही मात्रामा पूरा हुन थाल्यो।

८, ९. पावलले दर्शनमा देखेको “प्रमोदवन”-ले कुन तीनवटा कुरालाई बुझाउँछ?

पावलले देखेको दर्शन हामी २ कोरिन्थी १२:१-४ मा पाउँछौं। (पढ्‌नुहोस्‌) तिनले देखेको अलौकिक दर्शन भविष्यमा हुने घटना थियो। उक्‍त दर्शनमा पावललाई ‘उठाएर तेस्रो स्वर्गमा’ लगिएको र तिनले “प्रमोदवन” देखेको वर्णन छ। तिनले देखेको “प्रमोदवन”-ले कुन कुरालाई बुझाउँछ? पहिलो, पृथ्वी साँच्चैको प्रमोदवनमा परिणत हुने कुरालाई बुझाउँछ। (लूका २३:४३) दोस्रो, यसले आध्यात्मिक प्रमोदवनलाई पनि बुझाउँछ। हामी नयाँ संसारमा पूर्ण रूपले आध्यात्मिक प्रमोदवनको आनन्द उठाउनेछौं। तेस्रो, यसले स्वर्गमा “परमेश्‍वरको प्रमोदवन”–लाई बुझाउँछ। (प्रका. २:७) त्यसैले पावलले देखेको प्रमोदवनको भौतिक, आध्यात्मिक र स्वर्गीय पूर्ति छ भनेर बुझ्न सकिन्छ। यो भविष्यमा एकसाथ पूरा हुनेछ।

दोस्रो कोरिन्थी १२:४ मा यस्तो लेखिएको छ: “उच्चारण गर्न नहुने यस्तो कुरा तिनले त्यहाँ सुने, जुन कुनै मानिसले आफ्नो मुखबाट निकाल्नुसमेत हुँदैनथ्यो।” पावलले किन त्यसो भने? त्यतिबेला तिनले देखेका अलौकिक कुराहरू एक-एक गरी बताउने समय आएको थिएन। तर अहिले भने परमेश्‍वरका सेवकहरूले पाइरहेको आशिष्‌हरूबारे बताउनु उपयुक्‍त छ।

१०. “आध्यात्मिक प्रमोदवन” र “आध्यात्मिक मन्दिर” एउटै होइन, किन?

१० के “आध्यात्मिक प्रमोदवन” र “आध्यात्मिक मन्दिर”-ले एउटै कुरालाई बुझाउँछ? बुझाउँदैन। आध्यात्मिक मन्दिर भनेको साँचो उपासनाको लागि परमेश्‍वरले गर्नुभएको प्रबन्ध हो। तर आध्यात्मिक प्रमोदवनले चाहिं परमेश्‍वरका सेवकहरूबीच भएको शान्तिमय अवस्थालाई बुझाउँछ। साथै यसले परमेश्‍वरको अनुमोदन पाएर अहिले उहाँको आध्यात्मिक मन्दिरमा सेवा गर्नेहरूलाई चिन्‍न मदत गर्छ।—मला. ३:१८.

११. आज हामीसित कस्तो सुअवसर छ?

११ सन्‌ १९१९ देखि यहोवा परमेश्‍वरले पृथ्वीमा आध्यात्मिक प्रमोदवन बढाउने, फैलाउने र बलियो पार्ने काममा त्रुटिपूर्ण मानिसहरूलाई प्रयोग गर्दै हुनुहुन्छ। के तपाईं यस विशेष काममा भाग लिंदै हुनुहुन्छ? यहोवाको ‘चरणस्थान’-लाई महिमित पार्ने काममा योगदान पुऱ्‍याउन पाउनु ठूलो सुअवसर हो।

यहोवाको सङ्‌गठन अझ सुन्दर बनाइँदै छ

१२. यशैया ६०:१७ अनुसार हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौं? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

१२ यहोवा परमेश्‍वरले आफ्नो सङ्‌गठनको पृथ्वीमा रहेको भागमा हुने अद्‌भुत परिवर्तनबारे भविष्यवाणी गर्नुभएको थियो। (यशैया ६०:१७ पढ्‌नुहोस्‌) यहोवाको सङ्‌गठनमा आएका नयाँ व्यक्‍तिहरूले यस्ता परिवर्तनबारे पढेका वा अरू कसैबाट सुनेका हुन सक्छन्‌। कतिपय दाजुभाइ दिदीबहिनीले भने यस्ता परिवर्तन आफैले देखेका छन्‌। त्यसैले तिनीहरू यहोवा परमेश्‍वरले नै उहाँको सङ्‌गठन डोऱ्‍याइ रहनुभएको छ भन्‍ने कुरामा विश्‍वस्त छन्‌। तिनीहरूको अनुभव सुन्‍नुभयो भने तपाईंको विश्‍वास बलियो हुनेछ र यहोवाप्रतिको भरोसा बढ्‌नेछ।

१३. भजन ४८:१२-१४ ले हामीलाई के गर्न प्रोत्साहन दिन्छ?

१३ हामी वर्षौंदेखि यहोवाको सङ्‌गठनमा छौं होला वा भर्खरै मात्र आएका होऔंला, तैपनि हामी सबैले यहोवाको सङ्‌गठनबारे अरूलाई बताउनुपर्छ। यो दुष्ट संसारमा आध्यात्मिक प्रमोदवन पाउनु एक प्रकारको चमत्कार नै हो। पृथ्वीमा भएको आध्यात्मिक प्रमोदवन र “सियोन” अर्थात्‌ परमेश्‍वरको सङ्‌गठनबारे ‘पछिल्लो पुस्तालाई’ खुसीसाथ बताइरहौं।—भजन ४८:१२-१४ पढ्‌नुहोस्‌।

१४, १५. सन्‌ १९७० को दशकमा सङ्‌गठनमा कस्ता छाँटकाँटहरू भए? यस्ता छाँटकाँटले कस्तो लाभ पुऱ्‍याएको छ?

१४ हामीमाझ भएका वृद्ध दाजुभाइ दिदीबहिनीहरूले सङ्‌गठनमा भएका केही छाँटकाँटहरू आफैले देखेका छन्‌। यी छाँटकाँटहरूले यहोवाको सङ्‌गठनको पृथ्वीमा रहेको भागलाई अझ सुन्दर बनाएको छ। के-कस्ता छाँटकाँटहरू गरिएका छन्‌? जस्तै: पहिले मण्डली सेवक हुन्थ्यो भने अहिले एल्डरहरूको निकाय छ। त्यसरी नै पहिले शाखा सेवक हुन्थ्यो भने अहिले शाखा समिति छ अनि पहिले वाच टावर सोसाइटीको अध्यक्षले निर्देशन दिन्थ्यो भने अहिले यहोवाका साक्षीहरूको परिचालक निकायले दिन्छ। यी जिम्मेवार भाइहरूलाई मदत गर्न अन्य भाइहरू त हुन्थे तर सङ्‌गठनमा निर्णयहरू गर्ने जिम्मेवारी मुख्यतः एक जना व्यक्‍ति मै केन्द्रित हुन्थ्यो। तर सन्‌ १९७० को दशकदेखि निर्णय गर्ने जिम्मेवारी एक जना व्यक्‍तिले नभई एल्डरहरूको समूहले गर्न थाल्यो।

१५ यस्ता छाँटकाँटहरूले किन सङ्‌गठनलाई लाभ पुऱ्‍याएको छ? किनभने यी छाँटकाँटहरू धर्मशास्त्रमा आधारित छन्‌। यहोवाले “वरदानको रूपमा पुरुषहरू” दिनुभएको छ र तिनीहरूको असल-असल गुण र क्षमताले सङ्‌गठनलाई लाभ पुऱ्‍याउँछ। त्यसैले एक जनाले मात्रै निर्णय गर्नुभन्दा सबै एल्डरबीच विचार विमर्श गरेर निर्णय गर्दा परिणाम राम्रो हुँदै आएको छ।—एफि. ४:८; हितो. २४:६.

यहोवा मानिसहरूलाई आफ्नो सङ्‌गठनतर्फ डोऱ्‍याउँदै हुनुहुन्छ (अनुच्छेद १६, १७ हेर्नुहोस्‌)

१६, १७. तपाईंलाई मन पर्ने कुनै नयाँ छाँटकाँटहरू छन्‌ कि? ती छाँटकाँटहरू मन पर्नुको कारण के हो?

१६ हाम्रा साहित्य तथा यसको वितरणमा हालै भएका छाँटकाँटहरू पनि विचार गर्नुहोस्‌। हाम्रा प्रकाशनहरूमा इलाकाका मानिसहरूको चासो जगाउने रोचक विषयवस्तुहरू समेटिएका छन्‌। साथै jw.org जस्ता आधुनिक प्रविधि चलाएर धेरैभन्दा धेरै मानिसलाई बाइबलको सन्देश सुनाउने काम हुँदै छ। यी सबै छाँटकाँटमा संसारभरका मानिसप्रति यहोवा परमेश्‍वरको गहिरो चासो र माया झल्किन्छ।

१७ पारिवारिक उपासना वा व्यक्‍तिगत अध्ययनको लागि अझ समय पाओस्‌ भनेर गरिएका छाँटकाँटलाई पनि हामी विचार गर्न सक्छौं। साथै, सम्मेलन र अधिवेशनबारे के भन्‍न सक्छौं? यी कार्यक्रमहरू झनै राम्रा हुँदै गएका छन्‌ नि, होइन र? हाम्रा थुप्रै ईश्‍वरतान्त्रिक स्कुल पनि छन्‌। यी स्कुलहरूबाट तालिम पाएकोमा हामी निकै आनन्दित छौं। यी सबै छाँटकाँटमा यहोवा परमेश्‍वरको हात प्रस्टै देखिन्छ। यहोवा आफ्नो सङ्‌गठनलाई र अहिले हामीले आनन्द उठाइरहेको आध्यात्मिक प्रमोदवनलाई अझ सुन्दर बनाउँदै हुनुहुन्छ।

आध्यात्मिक प्रमोदवनलाई सुन्दर बनाउनुहोस्‌

१८, १९. हामी कसरी आध्यात्मिक प्रमोदवनलाई अझ सुन्दर बनाउन सक्छौं?

१८ आध्यात्मिक प्रमोदवनलाई अझ सुन्दर बनाउने जिम्मेवारी यहोवा परमेश्‍वरले हामीलाई दिनुभएको छ। हामी कसरी त्यो पूरा गर्न सक्छौं? राज्यको सुसमाचार जोडतोडले प्रचार गरेर अनि चेला बनाएर। मानिसहरूलाई यहोवाको सेवक बन्‍न मदत दिंदा हामीले आध्यात्मिक प्रमोदवनलाई अझ बढाइरहेका हुन्छौं।—यशै. २६:१५; ५४:२.

१९ हाम्रो ख्रीष्टियन व्यक्‍तित्वलाई सुधारेर पनि आध्यात्मिक प्रमोदवनलाई अझ सुन्दर बनाउन सक्छौं। यसो गर्दा मानिसहरू हाम्रो सङ्‌गठनमा ओइरिन उत्प्रेरित हुन्छन्‌। हुन पनि हो, सुरुमा मानिसहरू बाइबलको ज्ञानले नभई प्रायः हाम्रो असल आचरण र राम्रो व्यवहारले गर्दा सङ्‌गठनतर्फ खिचिन्छन्‌ अनि यहोवा र येशूबारे सिक्न थाल्छन्‌।

तपाईं आध्यात्मिक प्रमोदवनलाई अझ बढाउन सक्नुहुन्छ (अनुच्छेद १८, १९ हेर्नुहोस्‌)

२०. हितोपदेश १४:३५ अनुसार हाम्रो इच्छा के हुनुपर्छ?

२० अहिले हाम्रो यो सुन्दर आध्यात्मिक प्रमोदवन देख्दा यहोवा र येशू पक्कै खुसी हुनुहुन्छ। हामी पनि आध्यात्मिक प्रमोदवनलाई सुन्दर बनाउने काममा भाग लिंदा खुसी छौं। वास्तवमा यो खुसी भविष्यमा यस पृथ्वीलाई साँच्चै प्रमोदवन बनाइँदा पाइने खुसीको एउटा सानो झलक मात्र हो। हितोपदेश १४:३५ मा लेखिएका यी शब्दहरू मनमा राखौं: “बुद्धिमान्‌ सेवकमाथि राजाको निगाह रहन्छ।” त्यसैले बुद्धिमान्‌ होऔं र आध्यात्मिक प्रमोदवनलाई अझ सुन्दर बनाउने काममा भाग लिइरहौं।