सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो उपासनास्थल

हाम्रो उपासनास्थल

“तपाईंको घरको लागि मेरो जोसले मलाई खानेछ।”—यूह. २:१७.

गीत: १२७, ११८

१, २. (क) विगतमा यहोवाका सेवकहरूले उहाँलाई कसरी उपासना गर्थे? (ख) यरूशलेममा रहेको मन्दिरप्रति येशू कस्तो महसुस गर्नुहुन्थ्यो? (ग) यस लेखमा हामी के छलफल गर्नेछौं?

 परमेश्‍वरका सेवकहरूले पहिलेदेखि नै निश्‍चित ठाउँमा उहाँको उपासना गर्दै आएका छन्‌। उदाहरणको लागि, हाबिलले परमेश्‍वरलाई भेटी चढाउँदा वेदी बनाएको हुन सक्छ। (उत्प. ४:३, ४) त्यस्तै नूह, अब्राहाम, इसहाक, याकूब र मोशाले पनि वेदीहरू बनाए। (उत्प. ८:२०; १२:७; २६:२५; ३५:१; प्रस्थ. १७:१५) इस्राएलीहरूले यहोवाको निर्देशनमा बासस्थान बनाए। (प्रस्थ. २५:८) पछि तिनीहरूले यहोवाको उपासना गर्न मन्दिर पनि बनाए। (१ राजा ८:२७, २९) बेबिलोनको कैदबाट फर्केपछि यहूदीहरू नियमित रूपमा सभाघरहरूमा भेला हुन्थे। (मर्कू. ६:२; यूह. १८:२०; प्रेषि. १५:२१) प्रथम शताब्दीका ख्रीष्टियनहरू सभाका लागि घरमा भेला हुन्थे। (प्रेषि. १२:१२; १ कोरि. १६:१९) अहिले हाम्रो समयमा पनि संसारभरका यहोवाका सेवकहरू उपासनाका लागि राज्यभवनमा भेला हुन्छन्‌।

यरूशलेममा भएको यहोवाको मन्दिरप्रति येशूको मनमा गहिरो श्रद्धा थियो। यो कुरा देख्दा उहाँका चेलाहरूले भजनरचयिताको यी शब्दहरू सम्झेको हुनुपर्छ: “तपाईंको घरको जोसले मलाई खाएको छ।” (भज. ६९:९; यूह. २:१७) अहिलेको हाम्रो राज्यभवनलाई यरूशलेममा रहेको “परमप्रभुको भवन”-कै रूपमा त लिंदैनौं। (२ इति. ५:१३; ३३:४) तर हाम्रो उपासनास्थललाई हामीले गहिरो कदर गर्नै पर्छ। राज्यभवनमा हाम्रो चालचलन कस्तो हुनुपर्छ, राज्यभवनको कसरी देखभाल गर्नुपर्छ र कसरी राज्यभवनको खर्च बेहोर्न सक्छौं भन्‍नेबारे बाइबलका केही सिद्धान्त यस लेखमा छलफल गरिनेछ। a

साँचो उपासनाको कदर गर्नुहोस्‌

३-५. राज्यभवनको उद्देश्‍य के हो? हामी सभाहरूको कसरी कदर गर्न सक्छौं?

अहिले यहोवाको उपासना गर्ने मुख्य ठाउँ राज्यभवन हो। यसमा हुने सभाहरूले हामीलाई परमेश्‍वरसितको सम्बन्ध बलियो बनाउन मदत गर्छ। यहोवाको सङ्‌गठनले दिने प्रोत्साहन र निर्देशन पनि सभाहरूमै पाउँछौं। हाम्रो सभामा आउने सबैलाई वास्तवमा यहोवा र येशूले नै निम्तो दिनुभएको हो। त्यसैले हरेक हप्ता “यहोवाको टेबुलबाट” खाने निम्तोलाई हामी कहिल्यै हल्कासित नलिऔं।—१ कोरि. १०:२१.

उपासनाको लागि भेला हुने अनि एकअर्कालाई प्रोत्साहन दिने कुरालाई यहोवा महत्त्वपूर्ण ठान्‍नुहुन्छ। त्यसैले उहाँले प्रेषित पावललाई एक ठाउँमा भेला हुनुको महत्त्वबारे लेख्न लगाउनुभयो। (हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌) हामी सानातिना कुराहरूमै अल्झिएर सभाहरू छुटाउँछौं भने यहोवालाई आदर गरिरहेको हुँदैनौं। हामी यहोवाको अनि उहाँले गर्नुभएको प्रबन्धको कसरी कदर गर्न सक्छौं? सभाको लागि राम्ररी तयारी गरेर अनि सभामा सक्दो भाग लिएर।—भज. २२:२२.

हामी राज्यभवनको भौतिक संरचनाको रेखदेख गर्न अग्रसर हुँदा र त्यहाँ हुने आध्यात्मिक कार्यक्रमको शोभा बढाउने ढङ्‌गमा चल्दा राज्यभवनको कदर गरिरहेका हुन्छौं। हामीले त्यहाँ गर्ने कुनै पनि कामले यहोवाको नाममा कलङ्‌क नलागोस्‌ भन्‍ने चाहन्छौं जुन नाम राज्यभवनको साइन बोर्डमा पनि हुन्छ।—१ राजा ८:१७ तुलना गर्नुहोस्‌।

६. कसै-कसैले हाम्रो राज्यभवन र त्यहाँ उपस्थित मानिसहरूबारे के बताएका छन्‌? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

हामीले उपासनास्थलको कदर गरेको कुरा अक्सर मानिसहरूले याद गरिरहेका हुन्छन्‌। उदाहरणको लागि, टर्कीका एक व्यक्‍तिले यसो भने: “सफा राज्यभवन र त्यहाँका सबै कुरा व्यवस्थित भएको देख्दा म त छक्कै परें! सबैले भद्र लुगा लगाएका थिए, उनीहरूको अनुहार हँसिलो थियो अनि मलाई न्यानो स्वागत गरे। यसले गर्दा म निकै प्रभावित भएँ।” तिनी नियमित रूपमा सभा आउन थाले अनि चाँडै नै बप्तिस्मा पनि गरे। इन्डोनेसियाको एउटा मण्डलीले राज्यभवनको समर्पण कार्यक्रममा त्यहाँको मेयर, स्थानीय सरकारी अधिकारी र छिमेकीहरूलाई निम्तो दियो। राज्यभवनको डिजाइन, गुणस्तर र सुन्दर बगैंचा देखेर मेयर साह्रै प्रभावित भए। तिनले यसो भने: “भवनको सरसफाइले तपाईंहरूको विश्‍वास साँचो हो भन्‍ने देखिन्छ।”

हाम्रो चालचलनले परमेश्‍वरको अनादर गरिरहेको छ कि? (अनुच्छेद ७, ८ हेर्नुहोस्‌)

७, ८. राज्यभवनमा उपस्थित हुँदा हामीले कसरी यहोवाको आदर गर्न सक्छौं?

हामीलाई सभामा निम्तो दिनुहुने यहोवा परमेश्‍वर नै हुनुहुन्छ। त्यसैले हामी सभा जाँदा हाम्रो पहिरन, कोरीबाटी वा चालचलन कस्तो छ, त्यसमा ध्यान दिनुपर्छ। तर यस्तो विषयमा अति नै कडिकडाउ गर्नु वा जे गरे पनि हुन्छ भन्‍ने विचार राख्नु ठीक होइन। हाम्रो राज्यभवनमा सबैले सजिलो महसुस गरेको यहोवा चाहनुहुन्छ। तर सभाको अनादर हुने कुनै पनि कुरा नगर्न हामी होसियार हुनुपर्छ। हामी अभद्र वा फोहोर लुगा लगाउँदैनौ; साथै सभाको दौडान फोन चलाउने, कुरा गर्ने वा खानपिन गर्ने जस्ता कामहरू पनि गर्दैनौं। आमाबाबुले छोराछोरीलाई राज्यभवन खेल्ने-कुद्‌ने ठाउँ होइन भनेर पनि सिकाउनुपर्छ।—उप. ३:१.

परमेश्‍वरको मन्दिरमा व्यापार गरेको देख्दा येशू रिसाउनुभयो। त्यसैले उहाँले तिनीहरूलाई त्यहाँबाट धपाउनुभयो। (यूह. २:१३-१७) हाम्रो राज्यभवन पनि उपासना गर्ने ठाउँ हो र हामी त्यहाँ यहोवाबारे सिक्छौं। त्यसैले आध्यात्मिक कुरासित सम्बन्धित नभएका कुनै पनि व्यापारिक कारोबार राज्यभवनमा गर्नु ठीक होइन।—नहेम्याह १३:७, ८ तुलना गर्नुहोस्‌।

राज्यभवन निर्माणका लागि हामी के गर्न सक्छौं?

९, १०. (क) राज्यभवन निर्माण गर्न के-कस्ता कामहरू हुँदै छन्‌? यसको नतिजा कस्तो भएको छ? (ख) राज्यभवन निर्माण गर्न आर्थिक अभाव झेलिरहेका मण्डलीहरूले कुन प्रबन्धले गर्दा लाभ उठाएका छन्‌?

यहोवाको सङ्‌गठनमा राज्यभवन निर्माणसम्बन्धी विभिन्‍न कामहरू भइरहेका छन्‌, जस्तै: राज्यभवन बनाउने, डिजाइन गर्ने, मर्मतसम्भार गर्ने, आदि। यस्ता थुप्रै कामहरू स्वयंसेवकहरूले गरिरहेका छन्‌। यसको नतिजा कस्तो भएको छ? नोभेम्बर १, १९९९ देखि यता संसारभरका थुप्रै मण्डलीहरूका लागि २८ हजार राज्यभवन निर्माण भइसकेका छन्‌। यसको अर्थ १५ वर्षभित्र औसतमा प्रत्येक दिन ५ वटा राज्यभवन निर्माण गरियो।

१० राज्यभवन निर्माणका लागि चाहिने मदत, स्रोतसाधन र खर्च जुटाउन निकै प्रयास गरिंदै छ। कसरी? आर्थिक तवरमा सम्पन्‍न भएकाहरूले खाँचोमा परेकाहरूलाई मदत गर्ने मायालु प्रबन्ध गरिएको छ। यो प्रबन्ध २ कोरिन्थी ८:१३-१५ मा पाइने सिद्धान्तमा आधारित छ। (पढ्‌नुहोस्‌) यस्तो प्रबन्धले गर्दा राज्यभवन बनाउन नसकेका थुप्रै मण्डलीहरूले सुन्दर राज्यभवन पाएका छन्‌।

११. नयाँ राज्यभवन पाएपछि धन्यवादका कस्ता शब्दहरू सुन्‍ने गरिन्छ? यो सुन्दा तपाईंलाई कस्तो लाग्छ?

११ कोस्टा रिकाको मण्डलीका एक जना भाइले यस्तो भावना व्यक्‍त गरे: “आफ्नै आँखा अगाडि राज्यभवन देख्दा सपना जस्तै लाग्छ। आठ दिनमै राज्यभवन तयार भयो। विश्‍वासै गर्न गाह्रो! यो यहोवाको आशिष्‌ले गर्दा नै भएको हो। उहाँको सङ्‌गठनले गरेको प्रबन्ध र हाम्रा प्यारा दाजुभाइ दिदीबहिनीको सहयोगलाई कहिल्यै बिर्सन सक्दैनौं। हामीले पाएको राज्यभवन वास्तवमा यहोवा परमेश्‍वरले दिनुभएको अनमोल उपहार हो। हाम्रो खुसीको सीमै छैन।” यस्ता धन्यवादका शब्दहरू सुन्दा हामीलाई पनि खुसी लाग्छ नि, होइन? यस काममा यहोवा परमेश्‍वरले आशिष्‌ दिइरहनुभएको छ भन्‍ने कुरा स्पष्ट छ। किनभने नयाँ राज्यभवन बनाएको केही समयपछि नै यहोवा परमेश्‍वरबारे सिक्न चाहने मानिसहरूले राज्यभवन भरिने गर्छ।—भज. १२७:१.

१२. राज्यभवन निर्माणकार्यमा तपाईं कसरी मदत गर्न सक्नुहुन्छ?

१२ राज्यभवन निर्माणकार्यमा तपाईं कसरी मदत गर्न सक्नुहुन्छ? हामी राज्यभवन निर्माण स्थलमै गएर स्वयंसेवकको रूपमा काम गर्न सक्छौं। अथवा यसो गर्न सक्दैनौ भने पनि हामी अनुदान दिन सक्छौं। यसरी सक्दो मदत गर्दा धेरै दाजुभाइ दिदीबहिनी आनन्दित हुन सकेका छन्‌। विगतमा यहोवाका सेवकहरूले आर्थिक मदत गरेर यहोवाको काममा टेवा पुऱ्‍याएका थिए। अहिले हामी पनि यसै गर्छौं।—प्रस्थ. २५:२; २ कोरि. ९:७.

राज्यभवनको सरसफाइ

१३, १४. राज्यभवन सफा राख्ने विषयमा बाइबलमा कस्ता सिद्धान्तहरू दिइएका छन्‌?

१३ यहोवा पवित्र परमेश्‍वर हुनुहुन्छ र सबै काम व्यवस्थित ढङ्‌गमा गर्नुहुन्छ। त्यसैले राज्यभवन सफा र चिटिक्क राख्नुपर्छ। (१ कोरिन्थी १४:३३, ४० पढ्‌नुहोस्‌) हामी स्वच्छ हुनु भनेको हाम्रो सोचाइ, आचरण र उपासनामा मात्र नभई शारीरिक तवरमा पनि स्वच्छ हुनु हो।—प्रका. १९:८.

१४ यी सिद्धान्तहरू मनमा राख्दै हामीले हाम्रो राज्यभवन सफा र चिटिक्क राख्नुपर्छ। हामी मानिसहरूलाई सफा र सुन्दर पृथ्वीबारे बताउँछौं तर हाम्रो उपासना गर्ने ठाउँ नै सफा-सुग्घर छैन भने तिनीहरूलाई हामीले बताएको कुरा विश्‍वास गर्न गाह्रो लाग्नेछ। अर्कोतर्फ हाम्रो राज्यभवन सफा छ भने तिनीहरूले हामीले उपासना गर्ने परमेश्‍वर पवित्र हुनुहुन्छ र चाँडै यस पृथ्वीलाई सफा बनाउनुहुनेछ भनेर बुझ्नेछन्‌।—यशै. ६:१-३; प्रका. ११:१८.

१५, १६. (क) राज्यभवन सफा राख्न किन गाह्रो हुन सक्छ? (ख) तपाईंको मण्डलीमा राज्यभवन सफा गर्ने कस्तो तालिका मिलाइएको छ?

१५ सरसफाइ सम्बन्धी मानिसहरूको धारणा फरक-फरक हुन सक्छ। किन? सरसफाइबारे हामीलाई सानैबाट सिकाइएको कुराले अथवा हामी हुर्किएको वातावरणले गर्दा। जस्तै: हामी बसोबास गरेको ठाउँ हिलोमैलो थियो कि, अथवा सफा गर्न चाहिने सरसामान पाइन्थ्यो कि पाइँदैनथ्यो, पानीको अभाव थियो कि; यस्ता विविध कुराहरूले असर गर्न सक्छ। हामी जहाँ बस्ने भए पनि अथवा सरसफाइबारे हामी वरपरका मानिसहरूको धारणा जेसुकै भए पनि हाम्रो राज्यभवन सधैं सफा राख्नुपर्छ। यसमा यहोवाको नाम जोडिएको छ अनि यो हाम्रो उपासना गर्ने ठाउँ हो।—व्यव. २३:१४.

१६ राज्यभवन आफसेआफ सफा हुने होइन। राज्यभवन सफा राख्न एल्डरहरूले सफाइको तालिका बनाउनुपर्छ र सरसफाइ गर्न चाहिने सामानहरूको पनि प्रबन्ध गर्नुपर्छ। राज्यभवनको कुनै कुनै भाग हरेक सभापछि सफा गर्नुपर्ने हुन्छ; कुनै कुनै भाग भने हरेक पटक सफा गर्न नपर्ला। जे होस्‌ सफा गर्नुपर्ने कुनै पनि भाग नछुटाउन हामीले विशेष ध्यान दिनुपर्छ। राज्यभवन सफा गर्ने सुअवसर हामी सबैले पाएका छौं।

राज्यभवनको देखभाल गर्नुहोस्‌

१७, १८. (क) यहोवाका सेवकहरूले मन्दिरको राम्रो देखभाल गरेकोबाट हामी के सिक्न सक्छौं? (ख) हामीले राज्यभवनको किन राम्रो देखभाल गर्नै पर्छ?

१७ राज्यभवन राम्रो अवस्थामा रहिरहोस्‌ भन्‍ने हामी चाहन्छौं। त्यसैले केही टुट-फुट भएमा वा भत्किएमा तुरुन्तै बनाइहाल्छौं। विगतका यहोवाका सेवकहरूले पनि त्यसै गरेका थिए। उदाहरणको लागि, यहूदाका राजा योआशले “खाँचो भएको ठाउँमा मरमत गर्न” मन्दिरको लागि दिइएको पैसा प्रयोग गरेका थिए। (२ राजा १२:४, ५) त्यसको दुई सय वर्षपछि राजा योशियाहले पनि मर्मत गर्न मन्दिरको अनुदान चलाएका थिए।—२ इतिहास ३४:९-११ पढ्‌नुहोस्‌।

१८ कुनै कुनै देशका मानिसहरू आफ्नो घर वा सरसामानलाई दुरुस्त राख्न त्यति ध्यान दिंदैनन्‌। त्यस्ता मुलुकका मानिसहरूसँग मर्मत सम्बन्धी ज्ञान वा मर्मत गर्न चाहिने आवश्‍यक खर्च नभएको हुन सक्छ। तर राज्यभवनलाई दुरुस्त राख्ने हो भने मर्मत-सम्भार ठीक समयमा गर्नु आवश्‍यक छ। हामी राज्यभवनको राम्रो देखभाल गर्छौं भने मानिसहरूले राम्रो साक्षी पाउनेछन्‌, यहोवाको महिमा हुनेछ अनि हाम्रा दाजुभाइ दिदीबहिनीले दिएका अनुदानको पनि सदुपयोग गरिरहेका हुन्छौं।

राज्यभवनलाई सफा र चिटिक्क राख्नुपर्छ (अनुच्छेद १६, १८ हेर्नुहोस्‌)

१९. हामी राज्यभवनको कदर गर्छौं भनेर कसरी देखाउन सक्छौं?

१९ राज्यभवन कुनै व्यक्‍ति वा मण्डलीको नाममा हुन सक्छ। तर यो कसैको निजी सम्पत्ति नभई यहोवाको हो, किनभने राज्यभवन यहोवालाई समर्पित गरिएको हुन्छ। यस लेखमा छलफल गरिएका बाइबल सिद्धान्तहरूले हामीलाई राज्यभवनप्रति सही मनोवृत्ति राख्न मदत गर्छ। हामी यहोवालाई उपासना गर्ने स्थलको कदर गर्छौं। त्यसैले राज्यभवन निर्माणका लागि अनुदान गरेर वा श्रम, शक्‍ति, समय दिएर सक्दो सहयोग गर्छौं। साथै राज्यभवनको राम्रो देखभाल गरेर यसलाई दुरुस्त राख्छौं। यसरी हामी येशूले जस्तै यहोवाको उपासनास्थलको लागि जोस देखाउँछौं र यसको कदर गर्छौं।—यूह. २:१७.

a यस लेखमा मुख्यतः राज्यभवनबारे चर्चा गरिएको भए तापनि यही सिद्धान्त अधिवेशन भवन वा यहोवाको उपासना गर्न प्रयोग गरिने अन्य भवनहरूको लागि पनि लागू हुन्छ।