सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नयाँ संसारको लागि अहिल्यै तयारी गर्नुहोस्‌

नयाँ संसारको लागि अहिल्यै तयारी गर्नुहोस्‌

“[तिनीहरूले] भलाइको काम गरून्‌, . . . यसरी तिनीहरूले साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न सक्नेछन्‌।”—१ तिमो. ६:१८, १९.

गीत: १२५, ४०

१, २. (क) यस पृथ्वीमा पाइने कस्ता आशिष्‌हरू तपाईं पर्खंदै हुनुहुन्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) नयाँ संसारमा हामीलाई आनन्द दिने मुख्य कुरा के हुनेछ?

 “साँच्चैको जीवन।” यो शब्द सुन्दा हाम्रो मनमा के कुरा आउँछ? हामीमध्ये धेरैले यसै पृथ्वीमा सधैंभरि जिउने आशाबारे सोच्छौं होला। प्रेषित पावलले पनि “अनन्त जीवनलाई” “साँच्चैको जीवन” भनेका छन्‌। (१ तिमोथी ६:१२, १९ पढ्‌नुहोस्‌) हो, हामी अनन्त जीवनको बाटो हेर्दै छौं। त्यतिबेला हामीलाई कुनै कुराको अभाव हुनेछैन र हाम्रो जीवन आनन्दले भरिनेछ। साथै हामीमा शारीरिक, मानसिक वा भावनात्मक समस्या हुने छैन। हरेक दिन पूर्ण स्वस्थ भएको महसुस गर्नेछौं। अहिले हामीलाई त्यस्तो जीवनको कल्पना गर्न गाह्रो छ। (यशै. ३५:५, ६) हाम्रो परिवार, इष्ट-मित्र र पुनर्जीवित भएकाहरूसित भेटघाट गर्नु अनि समय बिताउनु निकै रमाइलो हुनेछ। (यूह. ५:२८, २९; प्रेषि. २४:१५) हामीले सृष्टिमा भएका विविध कुराहरूको गहिरो अध्ययन गर्ने; सङ्‌गीत, कला वा आफूलाई मन पर्ने विधामा प्रशस्तै समय बिताउने मौका पाउनेछौं।

नयाँ संसारमा यस्ता आशिष्‌हरू पाउँदा हामी आनन्दित हुनेछौं, तर त्यतिबेला हामीलाई आनन्द दिने मुख्य कुरा भनेको यहोवाको उपासनासित सम्बन्धित कुराहरू नै हुन्‌। जस्तै: यहोवाको नाम पवित्र पारिंदा र सबैले उहाँको शासन स्वीकार्दा हामी आनन्दित हुनेछौं। (मत्ती ६:९, १०) यहोवा परमेश्‍वरले पृथ्वी र मानवजातिको लागि राख्नुभएको उद्देश्‍य पूरा हुँदा पनि हामी खुसी हुनेछौं। हामी त्रुटिरहित हुँदै जाँदा यहोवासित अझ घनिष्ठ हुन सक्नेछौं।—भज. ७३:२८; याकू. ४:८.

३. अहिले केको लागि तयारी गर्नुपर्छ?

यस्ता आशिष्‌हरू हामीले पाउनेछौं किनभने येशूले यस्तो आश्‍वासन दिनुभएको छ: “परमेश्‍वरको तर्फबाट . . . सबै कुरा सम्भव छ।” (मत्ती १९:२५, २६) ख्रीष्टको हजार वर्षे शासनको बेला मात्र होइन, त्यसपछि पनि यसै पृथ्वीमा बाँचिरहन चाहन्छौं भने अहिलेदेखि नै अनन्त जीवनलाई ‘दह्रोसित पक्रिराख्नुपर्छ।’ यो दुष्ट संसार छिट्टै विनाश हुनेछ भन्‍ने कुरा मनमा राख्दै नयाँ संसारमा पाइने जीवनको लागि अहिलेदेखि नै तयारी गर्नुहोस्‌। तपाईं कसरी तयारी गर्न सक्नुहुन्छ?

कसरी तयारी गर्न सक्छौं

४. नयाँ संसारको लागि कसरी तयारी गर्न सक्छौं, एउटा उदाहरण दिनुहोस्‌।

नयाँ संसारको लागि हामी कसरी तयारी गर्न सक्छौं? एउटा उदाहरण विचार गर्नुहोस्‌। तपाईं अर्को देशमा बसाइँ सर्ने योजना बनाउँदै हुनुहुन्छ भने कसरी तयारी गर्नुहुन्छ? त्यस देशका मानिसहरूले बोल्ने भाषा सिक्नुहुन्छ होला। तिनीहरूको रहनसहन, संस्कार र खानपिनबारे पनि जानकारी लिनुहुन्छ होला। मतलब, तपाईं त्यस देशको बासिन्दाले जस्तै जीवन बिताउनुहुन्छ। त्यस्तै गरी नयाँ संसारमा हामी जसरी जीवन बिताउँछौं, अहिले पनि त्यसरी नै जीवन बिताएर हामी तयारी गर्न सक्छौं। अब नयाँ संसारको लागि तयारी गर्ने केही तरिकाहरूबारे छलफल गरौं।

५, ६. अहिलेदेखि नै यहोवाको सङ्‌गठनले दिने निर्देशन पालन गर्न किन सिक्नुपर्छ?

नयाँ संसारमा सबैले यहोवाको शासन स्वीकार्नेछन्‌। सैतानले शासन गरेको यो संसार र नयाँ संसारबीच आकाश जमिनको फरक हुनेछ। अहिले मानिसहरू ‘हामी आफै सक्षम छौं, हामीलाई जे गर्न मन लाग्छ त्यही गर्न पाउनुपर्छ’ भन्‍ने धारणा राख्छन्‌। तर यसको नतिजा के भएको छ? परमेश्‍वरको शासन तिरस्कार गर्दा मानिसहरूले दुःख र पीडा भोग्नुपरेको छ। (यर्मि. १०:२३) त्यसैले सबैले यहोवाको शासन स्वीकार्ने त्यो नयाँ संसारलाई हामी उत्सुक भई पर्खिरहेका छौं।

नयाँ संसारमा यहोवाले हामीलाई पृथ्वी सुन्दर बनाउने, पुनर्जीवित भएकाहरूलाई सिकाउने र अन्य कामहरू दिनुहुन्छ। ती कामहरू गर्न हामीलाई पक्कै पनि रमाइलो लाग्नेछ। तर यहोवाले हामीलाई त्यति मन नपर्ने काम दिनुभयो भने नि? के हामी त्यो काम खुसीसाथ गर्नेछौं? त्यो काम पूरा गर्न के हामी सकेजति गर्नेछौं? अहिलेदेखि नै यहोवाको सङ्‌गठनले दिने निर्देशन पालन गर्ने बानी बसालेका छौं भने नयाँ संसारमा हामीलाई सजिलो हुनेछ।

७, ८. (क) हामीले किन यहोवाको सङ्‌गठनसित मिलेर काम गर्न सिक्नुपर्छ? (ख) केही ख्रीष्टियनहरूको जिम्मेवारीमा कस्तो छाँटकाँट भएको छ? (ग) नयाँ संसारमा हामीले जस्तोसुकै निर्देशन पाए पनि कस्तो मनोवृत्ति देखाउनेछौं?

नयाँ संसारको लागि तयारी गर्ने अर्को तरिका हो: सन्तोकी हुन सिक्नु र यहोवाको सङ्‌गठनसित मिलेर काम गर्नु। जस्तै: हामीले कुनै नयाँ जिम्मेवारी पाउँदा खुसीसाथ स्वीकारेर अगुवाइ लिइरहेकाहरूको अधीनमा बस्न सक्छौं। हामीमा यस्तो बानी छ भने नयाँ संसारमा पनि त्यस्तै मनोवृत्ति देखाउन सक्नेछौं। (हिब्रू १३:१७ पढ्‌नुहोस्‌) इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा बसोबास गर्न जाँदा गोला हालेर जमिन बाँडफाँड गरिएको थियो। (गन्ती २६:५२-५६; यहो. १४:१, २) नयाँ संसारमा यहोवाले हामीलाई कहाँ बस्ने निर्देशन दिनुहुन्छ, अहिले हामीलाई थाह छैन। तर उहाँको सङ्‌गठनसित मिलेर काम गऱ्‍यौं र उहाँको इच्छाअनुसार चल्यौं भने हामी जहाँसुकै बसे पनि खुसी हुनेछौं।

नयाँ संसारमा यहोवा परमेश्‍वरको सेवा गर्न पाउनु ठूलो सुअवसर हो। त्यसैले यहोवाको सङ्‌गठनको अधीनमा रहेर जस्तोसुकै काम गर्न पनि हामी खुसी हुन्छौं। तर समय र परिस्थितिअनुसार हाम्रो जिम्मेवारी परिवर्तन हुन सक्छ। उदाहरणको लागि, अमेरिका बेथेल परिवारका केही सदस्यलाई नयाँ जिम्मेवारी दिएर क्षेत्रमा खटाइयो। तिनीहरूले यस कामबाट प्रशस्तै आशिष्‌ पाए। साथै उमेर वा अन्य कारणले गर्दा केही परिभ्रमण निरीक्षकलाई विशेष अग्रगामी सेवा गर्न खटाइएको छ। जिम्मेवारी परिवर्तन हुँदा हामी सन्तोकी हुनुपर्छ, यहोवाको मदत माग्नुपर्छ र आफूलाई सुम्पिइएको काम तनमनले पूरा गर्नुपर्छ। यसो गर्दा अहिलेको कठिन समयमा पनि आनन्दित हुन सक्नेछौं र थुप्रै आशिष्‌ पाउनेछौं। (हितोपदेश १०:२२ पढ्‌नुहोस्‌) नयाँ संसारबारे के भन्‍न सकिन्छ? त्यतिबेला कहाँ बस्ने भन्‍नेबारे हाम्रो आफ्नै योजना होला। तर अर्कै ठाउँमा बस्ने निर्देशन दिइन सक्छ। त्यतिबेला हामीले जहाँ सेवा गरे पनि वा जस्तो काम गरे पनि हामी रमाउनेछौं र यहोवाप्रति आभारी हुनेछौं।—नहे. ८:१०.

९, १०. (क) नयाँ संसारमा हामीले धैर्य गर्नुपर्ने कस्तो अवस्था आइपर्न सक्छ? (ख) अहिले हामी कसरी धैर्य गर्न सक्छौं?

नयाँ संसारमा हामीले धैर्य गर्नुपर्ने हुन सक्छ। उदाहरणको लागि, मानिसहरू पुनर्जीवित भएर आउँदा तिनीहरूका नातागोता र साथीहरू खुसी भएको देख्छौं होला। तर हामीले भने आफूले गुमाएका व्यक्‍तिहरूलाई भेट्‌न केही समय पर्खनुपर्ला। त्यस्तो अवस्थामा के हामी अरूको खुसीमा रमाउँदै धैर्य गर्छौं? (रोमी १२:१५) अहिले हामीले यहोवाका प्रतिज्ञाहरू पूरा हुने समय धैर्य गर्दै पर्खिरहेका छौं भने नयाँ संसारमा पनि धैर्य गर्न गाह्रो हुनेछैन।—उप. ७:८.

१० बाइबलको शिक्षाबारे हाम्रो बुझाइमा छाँटकाँट हुँदा पनि धैर्य गरेर हामी नयाँ संसारको लागि तयार हुन सक्छौं। के हामी ती बुझाइबारे अध्ययन गर्छौं र सबै कुरा राम्ररी नबुझ्दा धैर्य गर्छौं? यदि गर्छौं भने नयाँ संसारमा यहोवाले हाम्रो लागि उहाँको इच्छा प्रकट गर्दै जानुहुँदा धैर्य गर्न सक्नेछौं।—हितो. ४:१८; यूह. १६:१२.

११. हामीले अहिले नै आफूमा कस्तो गुण विकास गर्नुपर्छ? यसले हामीलाई नयाँ संसारमा कस्तो मदत पुऱ्‍याउनेछ?

११ नयाँ संसारको लागि तयारी गर्ने अर्को तरिका क्षमाशील हुन सिक्नु हो। ख्रीष्टको हजार वर्षीय राज्यको दौडान मानिसहरूमा भएको त्रुटिपूर्ण झुकाव हट्‌न केही समय लाग्नेछ। (प्रेषि. २४:१५) के हामी त्यतिबेला एकअर्कालाई खुला मनले क्षमा दिनेछौं? अहिले नै खुला मनले क्षमा दिन्छौं र अरूसित राम्रो सम्बन्ध बनाउँछौं भने नयाँ संसारमा त्यसो गर्न सजिलो हुनेछ।कलस्सी ३:१२-१४ पढ्‌नुहोस्‌।

१२. नयाँ संसारको लागि अहिल्यै किन तयारी गर्नुपर्छ?

१२ नयाँ संसारमा हामीले चाहेको सबै कुरा चाहेकै समयमा पाउँछौं भन्‍ने छैन। बरु त्यतिबेला पनि हामी यहोवाप्रति आभारी हुनु र सन्तोकी हुनु आवश्‍यक पर्नेछ। वास्तवमा भन्‍नुपर्दा, अहिले हामीले विकास गरेको गुणहरू त्यतिबेला पनि काम लाग्नेछ। त्यसैले हामी नयाँ संसारमा जसरी जीवन बिताउँछौं, त्यसरी नै अहिले जीवन बिताउन सिक्नुपर्छ। यसो गर्दा हामीले सधैंभरि काम लाग्ने गुणहरू विकास गरिरहेका हुन्छौं। साथै नयाँ संसार अवश्‍य आउनेछ भन्‍ने कुरामा हाम्रो विश्‍वास अझ बलियो बनाइरहेका हुन्छौं। (हिब्रू २:५; ११:१) सुख-शान्तिले भरिएको नयाँ संसार हेर्न इच्छुक छौं भन्‍ने कुरा पनि देखाइरहेका हुन्छौं। यसरी हामीले नयाँ संसारको लागि तयारी गरिरहेका हुन्छौं।

आध्यात्मिक लक्ष्यहरू राख्नुहोस्‌

जोसिलो भएर सुसमाचार प्रचार गर्नुहोस्‌

१३. नयाँ संसारमा हामी कुन कुरालाई पहिलो स्थानमा राख्नेछौं?

१३ नयाँ संसारको लागि तयारी गर्ने अर्को तरिका पनि विचार गर्नुहोस्‌। नयाँ संसारमा जीवनको आनन्द उठाउन चाहिने सबै कुरा हामीले पाउनेछौं। तर त्यतिबेला पनि यहोवासित हामीले गाँस्ने सम्बन्धले नै हामीलाई सबैभन्दा धेरै आनन्द दिनेछ। (मत्ती ५:३) हामी यहोवाको सेवामा व्यस्त हुँदा रमाउँनेछौं। (भज. ३७:४) अहिलेदेखि नै यहोवाको सेवालाई प्रथम स्थानमा राख्दा नयाँ संसारको लागि तयार भइरहेका हुन्छौं।मत्ती ६:१९-२१ पढ्‌नुहोस्‌।

१४. युवाहरूले कस्ता लक्ष्यहरू राख्न सक्छन्‌?

१४ यहोवाको सेवामा हामी कसरी अझ आनन्दित हुन सक्छौं? एउटा तरिका हो, आध्यात्मिक लक्ष्यहरू राखेर। युवाहरू हो, आफ्नो जीवन यहोवाको सेवामै बिताउन सकिन्छ कि भनेर गहिरो मनन गर्नुहोस्‌। के-कस्ता तरिकामा पूर्ण समय सेवा गर्न सकिन्छ भनेर हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्‌ र तीमध्ये कुनै एउटा लक्ष्य राख्नुहोस्‌। a पूर्ण समय सेवामा धेरै वर्ष बिताएका दाजुभाइ दिदीबहिनीसँग कुरा गर्नुहोस्‌। यहोवाको सेवामा जीवन बिताउँदा तपाईंले बहुमूल्य तालिम पाउनुहुन्छ र थुप्रै अनुभव बटुल्नुहुन्छ। त्यस्तो तालिम र अनुभवले तपाईंलाई नयाँ संसारमा यहोवाको सेवा गरिरहन मदत गर्नेछ।

आध्यात्मिक गतिविधिमा भाग लिनुहोस्‌

१५. राज्य प्रचारकहरूले कस्ता लक्ष्यहरू राख्न सक्छन्‌?

१५ राज्य प्रचारकहरूले राख्न सक्ने लक्ष्यहरू धेरै छन्‌। जस्तै: प्रचारकार्यको कुनै पक्षमा अझ सिपालु हुने वा बाइबलका सिद्धान्तहरू अझ राम्रोसँग बुझेर त्यसलाई आफ्नो जीवनमा उतार्ने लक्ष्य राख्न सक्छौं। सभामा हामीले दिने टिप्पणी, भाषण वा पढाइलाई अझ राम्रो बनाउने लक्ष्य पनि राख्न सक्छौं। यसबाहेक तपाईंले राख्न सक्ने अरू लक्ष्यहरूबारे पनि सोच्न सक्नुहुन्छ कि? यसरी आध्यात्मिक लक्ष्यहरू राख्नुभयो भने तपाईं यहोवाको सेवा गर्न अझ हौसिनुहुनेछ र यसले तपाईंलाई नयाँ संसारको लागि तयार गर्नेछ।

जीवन बिताउने उत्तम तरिका

आध्यात्मिक खानेकुराको मोल गर्नुहोस्‌

१६. किन यहोवाको सेवा गर्नु नै जीवन बिताउने उत्तम तरिका हो?

१६ नयाँ संसारको लागि तयारी गर्दा जीवन सरल बनाउनुपर्ने हुन्छ। त्यसो गर्दा आफूले कुनै कुरा गुमाउनुपरेको जस्तो लाग्छ कि? त्यस्तो पटक्कै नसोच्नुहोस्‌। किनकि यहोवाको सेवा गर्नु नै जिउने सबैभन्दा उत्तम तरिका हो। कसैको करकापमा परेर वा महासङ्‌कष्टबाट बच्न मात्र हामीले उहाँको सेवा गरेका होइनौं। वास्तवमा यहोवाको सेवा गर्दा मात्र हामी आनन्दित हुने तरिकामा उहाँले हामीलाई सृष्टि गर्नुभएको छ। त्यसैले यहोवाको डोऱ्‍याइ पाउँदा र उहाँसित राम्रो सम्बन्ध हुँदा हामी साँच्चै आनन्दित हुन्छौं। (भजन ६३:१-३ पढ्‌नुहोस्‌) वर्षौंदेखि यहोवाको सेवा गरिरहेका उहाँका सेवकहरूले यस्तो आनन्द अहिल्यै अनुभव गरिरहेका छन्‌। साथै जीवन बिताउने उत्तम तरिका यही हो भनेर तिनीहरूले बुझेका छन्‌। हो, यहोवाको सेवा गर्दा पाइने आनन्द हामी अहिलेदेखि अनुभव गर्न सक्छौं।—भज. १:१-३; यशै. ५८:१३, १४.

बाइबलमा पाइने डोऱ्‍याइ खोज्नुहोस्‌

१७. के नयाँ संसारमा हाम्रा इच्छा-आकाङ्‌क्षा पूरा हुनेछ? व्याख्या गर्नुहोस्‌।

१७ नयाँ संसारमा हाम्रो इच्छा-आकाङ्‌क्षा पूरा हुनेछ। यहोवाले हामीलाई रमाइलो गर्ने र जीवनबाट आनन्द उठाउने इच्छासहित सृष्टि गर्नुभएको छ। यदि उहाँले हाम्रा ती इच्छाहरू पूरा नगरिदिने हो भने हामीमा त्यस्तो इच्छा राखिदिनुहुन्थ्यो होला र? (उप. २:२४) उहाँले नयाँ संसारमा “सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” (भज. १४५:१६) हुन त हामीलाई आराम र रमाइलो पनि चाहिन्छ। तर यहोवासितको सम्बन्धलाई पहिलो स्थानमा राख्यौं भने हाम्रो आनन्द झनै बढ्‌छ। नयाँ संसारको कुरा पनि त्यस्तै हो। हामी आफ्नो इच्छा-आकाङ्‌क्षा पूरा गर्नमै तल्लीन हुँदैनौं, बरु परमेश्‍वरको राज्यलाई पहिलो स्थानमा राख्छौं र उहाँको सेवामा पाइने आनन्दमा ध्यान केन्द्रित गर्छौं।—मत्ती ६:३३.

१८. साँच्चैको जीवन पाउन इच्छुक भएको कुरा कसरी देखाउन सक्छौं?

१८ नयाँ संसारमा अनुभव गर्ने आनन्दको हामी अहिले कल्पना पनि गर्न सक्दैनौं। साँच्चैको जीवनको लागि अहिलेदेखि तयारी गरेर त्यस्तो जीवन पाउन इच्छुक भएको कुरा देखाऔं। असल गुणहरू विकास गरौं र राज्यको सुसमाचार प्रचार गर्ने जिम्मेवारीलाई खुसीसाथ पूरा गरौं। यहोवाको सेवालाई पहिलो स्थानमा राख्दा पाइने आनन्द अनुभव गरौं। अनि यहोवाका प्रतिज्ञाहरूमा पूर्ण भरोसा राख्दै नयाँ संसारको बाटो हेरिरहौं।

a युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, खण्ड २, (अङ्‌ग्रेजी), पृष्ठ ३११-३१८ हेर्नुहोस्‌।