सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“विश्‍वासमा दह्रो भएर बस”

“विश्‍वासमा दह्रो भएर बस”

“विश्‍वासमा दह्रो भएर बस, . . . पराक्रमी हुँदै जाओ।” —१ कोरि. १६:१३.

गीत: ६०, ६४

१. (क) गालीलको समुद्रमा एक रात कस्तो घटना घट्‌छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) पत्रुस किन डुब्न थाल्छन्‌?

 यो रातको समय हो। गालीलको समुद्रमा बेसरी आँधीबेहरी चलिरहेको छ। प्रेषित पत्रुसका साथै अरू चेलाहरूलाई डुङ्‌गा खियाउन निकै गाह्रो भइरहेको छ। यतिखेरै तिनीहरूले येशूलाई समुद्रमा हिंडिरहेको देख्छन्‌। पत्रुसले ठूलो सोरमा यसो भन्छन्‌: “प्रभु, . . . मलाई पानीमाथि हिंडेर तपाईंकहाँ आउने आज्ञा दिनुहोस्‌।” येशूले “हुन्छ, आऊ!” भन्‍नु भएपछि पत्रुस तुरुन्तै डुङ्‌गाबाट ओर्लन्छन्‌ र पानी माथिमाथि हिंडेर येशू भएतिर जान्छन्‌। तर केही पर पुगेपछि हुरीबतासले गर्दा तिनी डराउँछन्‌ र डुब्न थाल्छन्‌। तिनी मदतको लागि चिच्याउँछन्‌। येशूले तुरुन्तै तिनलाई समातेर यसो भन्‍नुहुन्छ: “ए थोरै विश्‍वास हुने मानिस, तिमीले किन शङ्‌का गऱ्‍यौ?”—मत्ती १४:२४-३२.

२. हामी कुन कुरा विचार गर्नेछौं?

अब हामी पत्रुसबाट विश्‍वासबारे सिक्न सकिने तीनवटा कुरा विचार गरौं: (१) पत्रुसले सुरुमा परमेश्‍वरमाथि कसरी विश्‍वास गरे? (२) पत्रुसको विश्‍वास किन धरमरायो? (३) फेरि विश्‍वासमा बलियो हुन पत्रुसलाई केले मदत गऱ्‍यो? यी प्रश्‍नहरूको जवाफले हामीलाई ‘विश्‍वासमा दह्रो भएर बस्न’ मदत गर्नेछ।—१ कोरि. १६:१३.

परमेश्‍वरले दिनुहुने मदतमा विश्‍वास गर्नुहोस्‌

३. पत्रुस किन डुङ्‌गाबाट ओर्ले र हामीले पनि के गरेका छौं?

पत्रुससित बलियो विश्‍वास थियो। त्यसैले त येशूले पानीमाथि हिंड्‌ने आज्ञा दिनुहुँदा तिनी डुङ्‌गाबाट ओर्ले र पानी माथिमाथि हिंड्‌न थाले। परमेश्‍वरको शक्‍तिले येशूलाई मदत गरेजस्तै आफूलाई पनि मदत गर्नेछ भन्‍ने कुरामा पत्रुसले विश्‍वास गरे। येशूले हामीलाई उहाँको पदचिन्हमा हिंड्‌ने निम्तो दिनुहुँदा हामीले पनि यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा गऱ्‍यौं। किन? यहोवा र येशूमा विश्‍वास गरेकोले र उहाँहरूले सधैं मदत गर्नुहुन्छ भन्‍ने कुरामा भरोसा भएकोले नै हो।—यूह. १४:१; १ पत्रुस २:२१ पढ्‌नुहोस्‌।

४, ५. विश्‍वास किन अमूल्य धन हो?

विश्‍वास अमूल्य धन हो। विश्‍वासले गर्दा पत्रुस पानीमाथि हिंड्‌न सके। मानिसको नजरबाट हेर्ने हो भने यो असम्भव छ। विश्‍वासले हामीलाई पनि असम्भव जस्तो देखिने काम गर्न सक्षम बनाउँछ। (मत्ती २१:२१, २२) उदाहरणको लागि, हामीमध्ये कतिपयले पहिलेको बानीबेहोरा र चालचलन त्यागेका छौं। कतिपय मानिसहरू हामीमा भएको परिवर्तन देखेर छक्क परेका छन्‌। हामीले कसरी यस्तो परिवर्तन गर्न सक्यौं? यहोवामा विश्‍वास गरेकोले हामीले कदम चाल्यौं र उहाँले हाम्रो प्रयासमा आशिष्‌ दिनुभयो। त्यसैले हामीले यस्तो परिवर्तन गर्न सक्यौं। (कलस्सी ३:५-१० पढ्‌नुहोस्‌ ) हो, विश्‍वासले गर्दा हामीले यहोवालाई जीवन समर्पण गऱ्‍यौं र उहाँको मित्र भयौं। यहोवाको मदतबिना यो काम गर्न सक्ने थिएनौं।—एफि. २:८.

विश्‍वासले हामीलाई बलियो बनाउँछ। सैतान हामीभन्दा शक्‍तिशाली छ। तर विश्‍वासले हामीलाई त्यसको आक्रमणविरुद्ध लड्‌न मदत गर्छ। (एफि. ६:१६) साथै, समस्याहरू आए पनि यहोवामा भरोसा राखेकोले हामी विचलित हुने छैनौं। यहोवामाथि भरोसा गर्दा र उहाँको कामलाई पहिलो स्थानमा राख्दा उहाँले हामीलाई आवश्‍यक कुराहरू दिनुहुनेछ। (मत्ती ६:३०-३४) सबैभन्दा मुख्य कुरा, यहोवामा विश्‍वास गर्दा हाम्रो आफ्नै प्रयासमा कहिल्यै हासिल गर्न नसक्ने अनन्त जीवन उहाँले दिनुहुन्छ।—यूह. ३:१६.

येशूमा ध्यान केन्द्रित नगर्दा विश्‍वास धरमराउन सक्छ

६, ७. (क) पत्रुसले सामना गरेको आँधीबेहरीलाई केसित तुलना गर्न सकिन्छ? (ख) विश्‍वास कमजोर हुन सक्छ भन्‍ने कुरालाई किन हल्कासित लिनु हुँदैन?

समुद्रमा आएको आँधीबेहरी र छालले गर्दा पत्रुस डराएका थिए। अहिले हामीले सामना गर्नुपर्ने चुनौती र प्रलोभन पनि आँधीबेहरी जस्तै हुन्‌। तर समस्या जतिसुकै ठूलो भए पनि यहोवाको मदतले हामी त्यसलाई पार गर्न सक्छौं। हुरीबतासले वा छालले गर्दा पत्रुस डुब्न लागेका होइनन्‌। बरु, येशूलाई एकटक लगाएर नहेरेकोले पत्रुसको विश्‍वास धरमरायो। यसबारे बाइबल यसो भन्छ: “आँधी चलिरहेको देखेर तिनी डराए।” (मत्ती १४:३०) त्यसैगरि हामी पनि आँधीरूपी समस्यामा मात्र ध्यान दिन्छौं भने यहोवाले दिने मदतमा शङ्‌का गर्न पुग्छौं र हाम्रो विश्‍वास कमजोर हुन सक्छ।

बाइबलले विश्‍वास कमजोर हुन सक्छ भनेर बताएको छ। यसलाई “सजिलै अल्झाउने पाप” भनेर उल्लेख गरिएको छ। (हिब्रू १२:१) त्यसैले यसलाई हल्कासित लिनु हुँदैन। पत्रुसको उदाहरणले देखाएझैं हामी अनावश्‍यक कुरामा ध्यान दिन्छौं भने हाम्रो विश्‍वास तुरुन्तै कमजोर हुन सक्छ। हाम्रो विश्‍वास कमजोर हुन लागेको कुरा हामी कसरी थाह पाउन सक्छौं? आफूलाई जाँच्न केही प्रश्‍नहरू विचार गरौं।

८. परमेश्‍वरका प्रतिज्ञाहरूमाथि हाम्रो मनमा किन शङ्‌का उब्जन सक्छ?

परमेश्‍वरका प्रतिज्ञाहरू पहिले जति वास्तविक लाग्थ्यो, के अहिले पनि त्यति नै वास्तविक लाग्छ? एउटा उदाहरण विचार गरौं। परमेश्‍वरले सैतानको संसारलाई विनाश गर्ने प्रतिज्ञा गर्नुभएको छ। तर यस संसारको मनोरञ्जनले हामीलाई अलमल्याएको छ कि? यसो हो भने संसारको अन्त नजिकै छ भन्‍ने कुरामा शङ्‌का उब्जन सक्छ। (हब. २:३) अर्को उदाहरण पनि विचार गर्नुहोस्‌। यहोवा परमेश्‍वरले फिरौतीको बलिदानको आधारमा हाम्रो पाप क्षमा गर्ने प्रतिज्ञा गर्नुभएको छ। तर आफूले विगतमा गरेको गल्तीबारे मात्र सोचिरहन्छौं भने यहोवाले हाम्रो सबै पाप ‘मेटाइदिनुभयो’ भन्‍ने कुरामा शङ्‌का गरिरहेका हुन्छौं। (प्रेषि. ३:१९) यसले गर्दा परमेश्‍वरको सेवाबाट पाइने आनन्द घट्‌छ र हाम्रो जोस पनि सेलाउँछ।

९. संसारका कुराहरू हासिल गर्नमै ध्यान दियौं भने के हुन्छ?

के म परमेश्‍वरको सेवामा पहिले जत्तिकै जोसिलो छु? यहोवाको सेवामा परिश्रम गर्दा “आशा पूरा हुनेछ भनी अन्तसम्मै निश्‍चिन्त” हुन सक्छौं। तर हामीले आफ्नो भएभरको बल संसारका कुराहरू हासिल गर्नमै लगाउँछौं भने के हुन्छ? राम्रो कमाइ हुने जागिर खाइरहेका छौं तर यहोवाको सेवा गर्न बाधा पुगिरहेको छ भने के हुन्छ? हाम्रो विश्‍वास कमजोर हुन्छ र यहोवाको सेवामा सकेजति पनि नगरेर हामी “अल्छे” भइरहेका हुन्छौं।—हिब्रू ६:१०-१२.

१०. क्षमा दिंदा कसरी यहोवामाथि विश्‍वास गरिरहेका हुन्छौं?

१० के म क्षमा दिन्छु? कसैले हाम्रो चित्त दुखाउँदा के हामी रिसाइहाल्ने वा तिनीसित बोल्नै छोड्‌ने गर्छौं? त्यसो हो भने हामी आफूलाई कस्तो लागिरहेको छ भनेर मात्र बढ्‌तै सोचिरहेका हुन्छौं। तर हामी क्षमा दिन्छौं भने यहोवामा विश्‍वास गरिरहेका हुन्छौं। कसरी? कसैले हामीविरुद्ध पाप गर्दा तिनी हाम्रो ऋणी बन्छन्‌, जसरी पापले गर्दा हामी पनि यहोवाको ऋणी भएका छौं। (लूका ११:४) त्यसैले क्षमा दिंदा यहोवाले हाम्रो प्रयासमा आशिष्‌ दिनुहुन्छ भनेर विश्‍वास गरिरहेका हुन्छौं। अनि हामीविरुद्ध पाप गर्नेलाई सजाय दिलाउनुभन्दा यहोवाको आशिष्‌ र अनुमोदन पाउनु महत्त्वपूर्ण हो। क्षमा दिन विश्‍वास चाहिन्छ भनेर येशूका चेलाहरूलाई पनि थाह थियो। त्यसकारण कसैले बारम्बार हाम्रो चित्त दुखाए तापनि क्षमा दिइरहनुपर्छ भनी येशूले बताउनुहुँदा चेलाहरूले यस्तो बिन्ती गरे: “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌।”—लूका १७:१-५.

११. के गऱ्‍यौं भने सल्लाहबाट लाभ उठाउन सक्दैनौं?

११ कसैले बाइबलबाट सल्लाह दिंदा के म चित्त दुखाउँछु? आफूले पाएको सल्लाह पालन गर्दा कस्तो फाइदा हुन्छ भनेर सधैं विचार गर्नुपर्छ। हामी त्यो सल्लाह वा सल्लाह दिने व्यक्‍तिको खोट हेर्नतिर लाग्छौं भने त्यस सल्लाहबाट कुनै लाभ उठाउन सक्दैनौं। (हितो. १९:२०) साथै यहोवाको जस्तै सोचाइ राख्न हामीलाई गाह्रो हुन्छ।

१२. नियुक्‍त दाजुभाइहरू विरुद्ध गनगन गर्ने बानी परेको छ भने कुन कुरा बुझ्नुपर्छ?

१२ के म मण्डलीका नियुक्‍त दाजुभाइहरू विरुद्ध गनगन गर्छु? दस जना जासुसले ल्याएको गलत रिपोर्टमा ध्यान दिएकोले इस्राएलीहरूले मोशा र हारून विरुद्ध गनगन गर्न थाले। त्यसपछि यहोवाले मोशालाई यसरी सोध्नुभयो: “यिनीहरूले कतिसम्म ममाथि अविश्‍वास गर्छन्‌?” (गन्ती १४:२-४, ११) वास्तवमा इस्राएलीहरूले यहोवाद्वारा नियुक्‍त भएका मोशा र हारून विरुद्ध गनगन गर्दा यहोवामाथि विश्‍वास नभएको कुरा स्पष्ट देखियो। हामीलाई पनि यहोवाले नियुक्‍त गर्नुभएका दाजुभाइहरू विरुद्ध गनगन गर्ने बानी नै परेको छ भने हाम्रो विश्‍वास कमजोर हुँदै छ भन्‍ने कुरा बुझ्नुपर्छ।

१३. विश्‍वास कमजोर भएको जस्तो लागेमा किन निराश हुनु हुँदैन?

१३ यी प्रश्‍नहरूबारे छलफल गरिसकेपछि तपाईंलाई पनि आफ्नो विश्‍वास कमजोर भएको छ जस्तो लाग्यो कि? त्यसो हो भने निराश नहुनुहोस्‌। येशूका चेला पत्रुस समेत कुनै समय डराएका थिए र तिनको विश्‍वास धरमराएको थियो। साथै, येशूले आफ्ना चेलाहरूलाई विश्‍वासको सन्दर्भमा बारम्बार सल्लाह दिनुपरेको थियो। (मत्ती १६:८) तर पत्रुसको विवरणबाट हामी अर्को महत्त्वपूर्ण पाठ पनि सिक्न सक्छौं। विश्‍वास धरमराएर समुद्रमा डुब्न लागेपछि तिनले के गरे, अब विचार गरौं।

विश्‍वास बलियो बनाउन येशूलाई ध्यान दिएर हेर्नुहोस्‌

१४, १५. (क) समुद्रमा डुब्नै लाग्दा पत्रुसले के गरे? (ख) हामी येशूलाई कसरी “एकटक लगाएर” हेर्न सक्छौं?

१४ समुद्रमा डुब्नै लाग्दा पत्रुसले के गर्न सक्थे? पौडेर डुङ्‌गातिर जान सक्थे किनकि तिनी पौडी खेल्न सिपालु थिए। (यूह. २१:७) तर तिनी आफैमा भर परेनन्‌। बरु, मदतको लागि झट्टै येशूतिर हेरे। विश्‍वास कमजोर भइरहेको जस्तो लागेमा पत्रुसको विवरणबाट हामी महत्त्वपूर्ण कुरा सिक्न सक्छौं।

१५ पत्रुसले मदतको लागि येशूतिर हेरेको जस्तै हामीले पनि “विश्‍वासको मुख्य माध्यम र यसलाई पूर्ण तुल्याउनुहुने येशूलाई एकटक लगाएर” हेर्नुपर्छ। (हिब्रू १२:२, ३ पढ्‌नुहोस्‌ ) तर हामी येशूलाई आफ्नै आँखाले देख्न सक्दैनौं। त्यसोभए हामी उहाँलाई कसरी “एकटक लगाएर” हेर्न सक्छौं? उहाँले सिकाउनुभएका र गर्नुभएका कुराहरू अध्ययन गरेर अनि उहाँको अनुकरण गरेर। त्यसो गर्दा आफ्नो विश्‍वास बलियो बनाउन सक्नेछौं। येशूको अनुकरण गर्ने केही तरिकाहरू अब विचार गरौं।

येशूमा ध्यान केन्द्रित गर्दै उहाँको पदचिन्ह पछ्याएर विश्‍वासमा दह्रो हुन सक्छौं (अनुच्छेद १५ हेर्नुहोस्‌)

१६. बाइबलको अध्ययन कसरी गर्दा हाम्रो विश्‍वास बलियो हुन्छ?

१६ बाइबलमा भरोसा बढाउनुहोस्‌। बाइबल परमेश्‍वरको वचन हो र यसले सही बाटोमा हिंड्‌न सिकाउँछ भन्‍ने कुरामा येशू विश्‍वास गर्नुहुन्थ्यो। (यूह. १७:१७) त्यस्तै विश्‍वास विकास गर्न हामीले दिनहुँ बाइबल पढ्‌नुपर्छ, अध्ययन गर्नुपर्छ र आफूले सिकेका कुराहरूमा मनन गर्नुपर्छ। मनमा उब्जेका विभिन्‍न प्रश्‍नहरूबारे खोज-अनुसन्धान पनि गर्नुपर्छ। जस्तै: हामी अन्तको दिनमा बाँचिरहेका छौं भनेर के तपाईं साँच्चै विश्‍वास गर्नुहुन्छ? अन्तको दिनबारे बाइबलमा पाइने भविष्यवाणीहरूको गहिरो अध्ययन गरेर तपाईं विश्‍वास बलियो बनाउन सक्नुहुन्छ। के तपाईं परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरूमा विश्‍वास बढाउन चाहनुहुन्छ? त्यसोभए पूरा भएका बाइबलका भविष्यवाणीहरूको अध्ययन गर्नुहोस्‌। बाइबलको सल्लाह हाम्रो लागि साँच्चै उपयोगी छ भनेर के तपाईं विश्‍वस्त हुनुहुन्छ? बाइबलको मदतले आफ्नो जीवन सुधारेका हाम्रा दाजुभाइ दिदीबहिनीको अनुभवहरू पढ्‌नुभयो भने तपाईंको विश्‍वास बढ्‌नेछ। a१ थिस्स. २:१३.

१७. घोर सतावट आउँदासमेत येशू किन वफादार रहन सक्नुभयो? तपाईं कसरी येशूको अनुकरण गर्न सक्नुहुन्छ?

१७ यहोवाका प्रतिज्ञाहरूमा ध्यान दिनुहोस्‌। येशूले “आफ्नो अगाडि राखिएको आनन्द”-मा ध्यान दिनुभयो। त्यसैले घोर सतावट आउँदासमेत वफादार रहन सक्नुभयो। (हिब्रू १२:२) उहाँले संसारका कुराहरूमा ध्यान लगाउनुभएन। (मत्ती ४:८-१०) यहोवाले तपाईंको लागि गर्नुभएका सुन्दर प्रतिज्ञाहरूमा मनन गरेर येशूको अनुकरण गर्नुहोस्‌। नयाँ संसारमा तपाईं के-के गर्न चाहनुहुन्छ, लेख्नुहोस्‌ वा चित्रमा उतार्नुहोस्‌। पुनर्जीवित भएका क-कसलाई भेट्‌न चाहनुहुन्छ र तिनीहरूसित के-कस्ता कुरा गर्न चाहनुहुन्छ भनेर पनि लेख्नुहोस्‌। परमेश्‍वरले यस्ता प्रतिज्ञाहरू तपाईंकै लागि गर्नुभएको हो भन्‍ने कुरा नबिर्सनुहोस्‌।

१८. विश्‍वास बलियो बनाउन प्रार्थनाले कसरी मदत गर्छ?

१८ विश्‍वासको लागि प्रार्थना गर्नुहोस्‌। येशूले आफ्ना चेलाहरूलाई प्रार्थनामा पवित्र शक्‍ति माग्न सिकाउनुभयो। (लूका ११:९, १३) तपाईं पनि विश्‍वास बढाइदिनुहोस्‌ भनेर प्रार्थना गर्न सक्नुहुन्छ, किनकि पवित्र शक्‍तिको फलको एउटा पक्ष विश्‍वास हो। तपाईं तोकेरै बिन्ती गर्न सक्नुहुन्छ। जस्तै, कसैलाई क्षमा दिन तपाईंलाई गाह्रो लागिरहेको छ भने, आफूमा भएको त्यस्तो कमजोरी हटाउन मदतको लागि यहोवालाई बिन्ती गर्नुहोस्‌।

१९. हामीले कस्तो साथी छान्‍नुपर्छ?

१९ बलियो विश्‍वास भएकाहरूलाई साथी बनाउनुहोस्‌। येशूले साथी छान्‍ने सन्दर्भमा विचार पुऱ्‍याउनुभयो। उहाँका घनिष्ठ साथीहरू अर्थात्‌ प्रेषितहरू विश्‍वासी, वफादार र आज्ञाकारी थिए। (यूहन्‍ना १५:१४, १५ पढ्‌नुहोस्‌ ) त्यसैले साथी छान्दा येशूको आज्ञा मान्‍ने र बलियो विश्‍वास भएकाहरूलाई रोज्नुहोस्‌। यो कुरा पनि मनमा राख्नुहोस्‌: साँचो मित्रहरू एक-अर्कासित खुलस्त कुराकानी गर्छन्‌, चाहे सल्लाह दिनुपर्दा वा सल्लाह पाउँदा नै किन नहोस्‌।—हितो. २७:९.

२०. अरूलाई विश्‍वास बलियो बनाउन मदत गर्दा कस्तो लाभ हुन्छ?

२० विश्‍वास बलियो बनाउन मदत गर्नुहोस्‌। येशूले आफ्नो बोली र कामद्वारा चेलाहरूको विश्‍वास बलियो बनाउनुभयो। (मर्कू. ११:२०-२४) हामीले पनि त्यस्तै गर्नुपर्छ। विश्‍वास बलियो बनाउन अरूलाई मदत गर्दा हाम्रो आफ्नै विश्‍वास पनि बलियो हुन्छ। (हितो. ११:२५) तपाईं प्रचारमा मानिसहरूलाई कसरी मदत गर्न सक्नुहुन्छ? परमेश्‍वर हुनुहुन्छ, तिनीहरूको ख्याल राख्नुहुन्छ र बाइबल परमेश्‍वरको वचन हो भन्‍ने कुरामा जोड दिनुहोस्‌। तपाईं मण्डलीका दाजुभाइ दिदीबहिनीहरूको विश्‍वास कसरी बलियो बनाउन सक्नुहुन्छ? कसैले नियुक्‍त दाजुभाइहरू विरुद्ध गनगन गर्दै छन्‌ भने तिनीहरूबाट तुरुन्तै नटाँढिनुहोस्‌। बरु तिनीहरूको विश्‍वास बलियो बनाउन मदत गर्नुहोस्‌। (यहू. २२, २३) तपाईं स्कुलमा पढ्‌दै हुनुहुन्छ र कक्षामा क्रमविकासबारे छलफल भइरहेको छ भने साहसी भएर आफ्नो विश्‍वासबारे बताउनुहोस्‌। तपाईंले भनेका कुराले अरूमा पारेको प्रभाव देखेर छक्कै पर्नु हुनेछ।

२१. यहोवाले कस्तो वाचा गर्नुभएको छ?

२१ येशूमार्फत परमेश्‍वरको मदत पाएपछि पत्रुसले आफ्नो डर र शङ्‌का हटाउन सके। पछि तिनी ख्रीष्टियनहरूमाझ बलियो विश्‍वास भएको व्यक्‍तिको रूपमा चिनिए। यहोवाले हामीलाई पनि विश्‍वासमा दह्रो हुन मदत गर्नुहुन्छ। (१ पत्रुस ५:९, १० पढ्‌नुहोस्‌ ) विश्‍वास बलियो बनाउन हामीले गरेको प्रयास खेर जानेछैन। विश्‍वासमा अडिग रहँदा हामीले थुप्रै इनाम पाउनेछौं।

a उदाहरणको लागि, प्रहरीधरहरा-को जनसंस्करणमा आउने “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” भन्‍ने शृङ्‌खला हेर्नुहोस्‌।