सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रेमले उत्प्रेरित हुँदै मतभेद सुल्झाउनुहोस्

प्रेमले उत्प्रेरित हुँदै मतभेद सुल्झाउनुहोस्

“आपसमा शान्ति कायम राख।”—मर्कू. ९:५०.

गीत: ३९, ७७

१, २. उत्पत्तिको किताबमा कस्ता विवरणहरू दिइएका छन्‌? यसबाट हामी कस्तो लाभ उठाउन सक्छौं?

तपाईंले बाइबलमा उल्लेख गरिएको मतभेदको विवरणहरूबारे कहिल्यै सोच्नुभएको छ? उत्पत्तिको किताबको सुरुका केही अध्याय विचार गर्नुहोस्। कयिनले हाबिललाई मारे (उत्प. ४:३-८); लेमेकले आफूलाई चोट पुऱ्याउने मानिसलाई मारे (उत्प. ४:२३); अब्राहाम (अब्राम) र लूतका गोठालाहरूको आपसमा झगडा भयो (उत्प. १३:५-७); हागारले तुच्छ व्यवहार गरेकीले सारा (साराई) अब्राहामसित रिसाइन्‌ (उत्प. १६:३-६); इश्माएल अरूको विरुद्धमा उठे र अरू सबैको हात तिनको विरुद्धमा उठ्‌यो।—उत्प. १६:१२.

बाइबलमा यस्ता मतभेदको विवरण किन दिइयो? यसको एउटा कारण त, त्रुटिपूर्ण मानिसहरूलाई मिलाप कायम गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर बुझ्न मदत गर्नु नै हो। अनि यस्तो कदम चाल्न के गर्न सकिन्छ, त्यो तरिका पनि हामी यस्ता विवरणहरूबाट सिक्न सक्छौं। बाइबलमा उल्लेख गरिएका वास्तविक व्यक्तिहरूले भोगेका वास्तविक समस्याहरूको विवरण पढ्‌दा हामी निकै लाभ उठाउन सक्छौं। तिनीहरूले गरेको प्रयासको परिणाम कस्तो भयो भनेर हामी बुझ्न सक्छौं र आफू पनि त्यस्तै परिस्थितिमा पर्दा तिनीहरूले जस्तै कदम चाल्न सक्छौं। हो, तिनीहरूको जस्तै परिस्थितिमा पर्दा हामीले के गर्नु हुन्छ र के गर्नु हुँदैन, त्यो बुझ्न बाइबलका विभिन्न विवरणहरूले हामीलाई मदत गर्छ।—रोमी १५:४.

३. हामी यस लेखमा के छलफल गर्नेछौं?

यस लेखमा हामी यहोवाका सेवकहरूले किन मतभेद सुल्झाउनुपर्छ र यसमा तिनीहरू कसरी सफल हुन सक्छन्‌, त्यस विषयमा छलफल गर्नेछौं। साथै मतभेद सुल्झाउन अनि छिमेकी र यहोवा परमेश्वरसित राम्रो सम्बन्ध कायम राख्न कस्ता बाइबल सिद्धान्तहरूले मदत गर्छ, त्यस विषयमा पनि यस लेखमा चर्चा गरिनेछ।

यहोवाका सेवकहरूले किन मतभेद सुल्झाउनुपर्छ?

४. संसारमा कस्तो मनोवृत्ति फैलिएको छ? परिणाम के भएको छ?

अहिले मानिसहरूले भोगिरहेको दुःख, मतभेद वा समस्याको मुख्य जड सैतान हो। अदनको बगैंचामा, त्यसले हरेक मान्छेले के सही अनि के खराब, त्यो आफैले छुट्‌याउन सक्छ र त्यस्तो निर्णय तिनीहरूले परमेश्वरको मदतबिना नै गर्न सक्छन्‌ भनेको थियो। (उत्प. ३:१-५) त्यसले भनेको कुराअनुसारै हुँदा अहिले संसारको हालत कस्तो छ, त्यो त छर्लङ्‌गै छ। अहिले कुनै पनि मानिस कसैको अधीनमा बस्न चाहँदैन, एक से एक घमन्डी छन्‌; अहम् भाव अनि होडबाजीले सबैलाई जकडेको छ। वास्तवमा यस्तो मनोवृत्ति देखाउनेहरूले सैतानको विचार पछ्याइरहेका हुन्छन्‌; ‘अरूलाई जेसुकै होस्, मतलब छैन तर आफ्नो इच्छाचाहिं जसरी पनि पूरा गर्नुपर्छ; यो नै बुद्धिमानी कुरा हो’ भनेर तिनीहरू सोच्ने गर्छन्‌। यस्तो स्वार्थी सोचाइले रिस उठाउँछ। अनि हामीले बिर्सन नहुने कुरा के हो भने “रिसाउने मानिसले झगडा उठाउँछ, . . . गरम-मिजास भएको मानिसले धेरै खराब काम गर्छ।”—हितो. २९:२२.

५. येशूले मतभेद सुल्झाउन कस्तो सल्लाह दिनुभएको थियो?

तर यसको ठीक विपरीत येशूले मानिसहरूलाई शान्ति खोज्न अनि मेलमिलापमा रहन हर प्रयास गर्नुपर्छ भनेर सिकाउनुभयो, चाहे त्यसको लागि आफ्नो इच्छा मार्नु नै किन नपरोस्। डाँडाको उपदेश दिंदा उहाँले मतभेद सुल्झाउने वा सम्भावित झगडा रोक्ने उत्तम सल्लाह दिनुभएको थियो। जस्तै: उहाँले आफ्ना चेलाहरूलाई कोमल स्वभावको हुन, शान्ति कायम गर्न, रिस-इबी हटाउन, तुरुन्तै समस्या सुल्झाउन अनि आफ्नो शत्रुलाई प्रेम गर्न आग्रह गर्नुभयो।—मत्ती ५:५, ९, २२, २५, ४४.

६, ७. (क) आपसी मतभेद तुरुन्तै सुल्झाउनु किन महत्त्वपूर्ण छ? (ख) यहोवाका सम्पूर्ण सेवकहरूले आफैलाई कस्ता प्रश्नहरू सोध्नु राम्रो हुन्छ?

अरूसित शान्ति कायम गर्न अर्थात्‌ मिलाप गर्न आवश्यक कदम चालेनौं भने परमेश्वरलाई चढाएको सबै सेवा खेर जान्छ; हामीले गरेको प्रार्थना, सभामा उपस्थित भएको, प्रचार गएको अनि अरू सबै सेवा काम न काजको हुन्छ। (मर्कू. ११:२५) अरूको गल्ती क्षमा गर्न इच्छुक भएनौं भने हामी कुनै पनि हालतमा परमेश्वरको साथी बन्न सक्दैनौं।लूका ११:४; एफिसी ४:३२ पढ्‌नुहोस्।

‘क्षमा दिने सन्दर्भमा अनि अरूसित शान्ति कायम गर्ने सन्दर्भमा आफू कस्तो छु’ भनेर प्रत्येक ख्रीष्टियनले होसियारीसाथ अनि इमानदार हुँदै सोचविचार गर्नुपर्छ। के तपाईं अरूलाई मनैदेखि क्षमा गर्नुहुन्छ? तिनीहरूसँग सरसङ्‌गत गर्न खुसी हुनुहुन्छ? यहोवा आफ्ना सेवकहरू क्षमाशील भएको चाहनुहुन्छ। तपाईंको मनले यस विषयमा ‘केही उन्नति गर्नुपर्छ’ भन्छ भने आवश्यक कदम चाल्न प्रार्थना गर्दै यहोवासित मदत माग्नुहोस्। नम्र हुँदै गरेको यस्तो प्रार्थना स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबा यहोवाले अवश्य पनि सुन्नुहुन्छ र त्यसको जवाफ पनि दिनुहुन्छ।—१ यूह. ५:१४, १५.

के तपाईं अरूको गल्ती बेवास्ता गर्न सक्नुहुन्छ?

८, ९. अरूले चित्त दुखाउँदा हामीले के गर्नुपर्छ?

सबै मानिस त्रुटिपूर्ण भएकोले एक न एक दिन कसै न कसैले हामीलाई चित्त दुखाउने कुरा वा काम गर्न सक्छन्‌। यो त टारेर टार्नै नसकिने कुरा हो। (उप. ७:२०; मत्ती १८:७) यस्तो अवस्थामा तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? एउटा दृश्य कल्पना गर्नुहोस्: साक्षीहरूको जमघट भइरहेको छ। एउटी बहिनीले दुई जना भाइलाई स्वागत-सत्कार गर्छिन्‌। तर ती बहिनीले कुरा गरेको तरिका एक जना भाइलाई मन पर्दैन। ती बहिनी गइसकेपछि उनले तिनको आलोचना गर्छन्‌। आलोचना गर्ने भाइलाई अर्को भाइले ती बहिनीले गाह्रो अवस्थाको बाबजुद पनि वफादार भएर सेवा गरेको ४० वर्ष भइसक्यो अनि तिनले कुनै खराबी चिताएकी होइनन्‌ भनेर सम्झाउँछन्‌। केही बेर सोचमग्न भएपछि चित्त दुखाउने भाइले यसो भन्छन्‌: “तपाईंले ठीक भन्नुभो!” यसरी तिल जत्रो कुरा पहाड हुन पाएन।

यो अनुभवले के देखाउँछ? हो, परिस्थितिलाई कतातिर मोड्‌ने, त्यो तपाईंकै हातमा हुन्छ। जेहोस्, मायालु व्यक्तिले अरूको सानोतिनो गल्ती बेवास्ता गर्छ। (हितोपदेश १०:१२; १ पत्रुस ४:८ पढ्‌नुहोस्) अनि ‘दोषको वास्ता गर्नुभएन’ भने यहोवाले त्यसलाई “गौरव”-को कुरा ठान्नुहुनेछ। (हितो. १९:११; उप. ७:९) त्यसैले कसैले नराम्रो व्यवहार गऱ्यो वा अनादर गऱ्यो भने सुरुमा आफैलाई यस्तो प्रश्न सोध्नुहोस्, ‘के म यो कुरालाई बेवास्ता गर्न सक्छु? के मैले यसलाई विवादको विषय बनाइरहनुपर्छ?’

१०. (क) अरूले आलोचना गर्दा एउटी बहिनीलाई सुरुमा कस्तो लाग्यो? (ख) मनोशान्ति कायम गर्न तिनलाई कुन बाइबल पदले मदत गऱ्यो?

१० अरूले गरेको आलोचनालाई हल्का रूपमा लिनु गाह्रो हुन सक्छ। अग्रगामी बहिनी लुसीको अनुभव विचार गर्नुहोस्। तिनको प्रचारकार्य अनि समय बिताउने तरिकाबारे अरूले नकारात्मक टीका-टिप्पणी गर्दा मनमा साह्रै अशान्ति भएकोले तिनले अनुभवी भाइसित मदत लिने विचार गरिन्‌। तिनी भन्छिन्‌: “बाइबलबाट पाएको सल्लाहले गर्दा मैले अरूको विचारप्रति सकारात्मक दृष्टिकोण राख्न सकें अनि सबैभन्दा ठूलो कुरा यहोवाले मलाई कुन नजरले हेर्नुहुन्छ, त्यसमा ध्यान दिन सकें।” मत्ती ६:१-४ पढेर लुसीले प्रोत्साहन पाइन्‌। (पढ्‌नुहोस्) सबैभन्दा ठूलो कुरा यहोवालाई खुसी बनाउनु हो भनेर तिनले सम्झन सकिन्‌। तिनी भन्छिन्‌: “अरूले मेरो कामबारे चाहिने-नचाहिने कुरा गरे पनि दुःखी हुँदिनँ। किनभने सबैभन्दा महत्त्वपूर्ण कुरा, मतलब यहोवाको कृपा पाउन सक्दो कोसिस गरिरहेकी छु भनेर मलाई थाह छ।” यस्तो निष्कर्षमा पुगेपछि लुसीले अरूको टीका-टिप्पणीलाई बेवास्ता गर्ने बुद्धिमानी छनौट गरिन्‌।

गम्भीर मामिला सुल्झाउने तरिका

११, १२. (क) ‘आफ्नो विरुद्धमा कुनै भाइसित केही गुनासो छ’ भने त्यतिबेला कस्तो कदम चाल्नुपर्छ? (ख) अब्राहामले मतभेद सुल्झाएको तरिकाबाट हामी के सिक्न सक्छौं? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

११ “हामी सबै जना धेरै चोटि चुक्छौं।” (याकू. ३:२) मानिलिनुहोस्, तपाईंको बोली वा कामले गर्दा कुनै दाजुभाइ वा दिदीबहिनीको चित्त दुखेको छ भनेर तपाईंले थाह पाउनुभयो। त्यस्तो अवस्थामा तपाईंले के गर्नुपर्छ? येशूले भन्नुभयो: “तिमीले वेदीमा आफ्नो भेटी चढाउन ल्याउँदा तिम्रो विरुद्धमा तिम्रो भाइसित केही गुनासो छ भन्ने तिमीलाई झल्याँस्स याद आयो भने आफ्नो भेटी त्यहीं वेदीअगाडि छोड र गएर पहिले आफ्नो भाइसित मिलाप गर अनि फर्केर आएपछि आफ्नो भेटी चढाऊ।” (मत्ती ५:२३, २४) येशूले दिनुभएको सल्लाहअनुसारै आफ्नो भाइकहाँ गएर कुरा गर्नुहोस्। तर त्यतिबेला तपाईंको उद्देश्य के हुनुपर्छ? हाम्रो उद्देश्य गल्ती गर्ने व्यक्तिलाई दोषी ठहराउने होइन, बरु आफ्नो गल्ती स्वीकार्ने अनि मिलापको लागि प्रयास गर्ने हुनुपर्छ। यहोवाको सेवा गर्ने दाजुभाइ दिदीबहिनीसित मेलमिलापमा बस्नु साँच्चै महत्त्वपूर्ण कुरा हो।

१२ पछि निम्तिन सक्ने मतभेदलाई शान्तपूर्वक सुल्झाउन सकिन्छ भनेर बाइबलमा दिइएको एउटा उदाहरणले देखाउँछ। त्यो उदाहरण हो: अब्राहाम र तिनको भतिजा लूतको, जसबारे हामीले माथि पनि उल्लेख गरेका थियौं। तिनीहरू दुवैको वस्तुभाउ थियो। तिनीहरूका गोठालाहरू चरन क्षेत्रको लागि झगडा गरेको देखिन्छ। यो कुरालाई साम्य पार्न अब्राहामले सुरुमा लूतलाई नै आफ्नो घरानाको लागि बसोबास गर्ने ठाउँ छान्न दिन्छन्‌। (उत्प. १३:१, २, ५-९) कत्ति राम्रो उदाहरण! अब्राहामले आफ्नो इच्छालाई भन्दा पनि मिलाप गर्ने कुरालाई प्राथमिकता दिए। यसरी उदार मनोवृत्ति देखाउँदा तिनले केही गुमाउनुपऱ्यो कि? अहँ, परेन। किनभने यो घटना घटेको केही समयपछि नै यहोवाले अब्राहामलाई ठूलो आशिष्‌ दिनुभयो। (उत्प. १३:१४-१७) यहोवाको सिद्धान्तअनुसार चल्ने अनि प्रेमले उत्प्रेरित हुँदै मतभेद सुल्झाउने सेवकहरूले सुरुमा केही गुमाएको जस्तो त देखिएला, तर तिनीहरूले त्यो कुरा सधैंभरिका लागि गुमाउनेचाहिं होइन। [१]

१३. कठोर तरिकामा बोल्ने भाइलाई एक जना निरीक्षकले कस्तो व्यवहार गरे? यो उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१३ आधुनिक परिस्थितिसित मेल खाने एउटा उदाहरण विचार गर्नुहोस्। अधिवेशन विभागका नयाँ निरीक्षकले एक जना भाइलाई फोन गरेर ‘स्वयम्सेवा गर्न सक्नुहुन्छ कि’ भनेर सोध्छन्‌। तर त्यस भाइलाई पहिलाको निरीक्षकसित साह्रै चित्त दुखेको रहेछ। त्यसैले उनले नयाँ निरीक्षकलाई रिसाउँदै गुनासो पोख्छन्‌ र फोन काट्‌छन्‌। त्यस भाइले नराम्रो व्यवहार गर्दा पनि नयाँ निरीक्षक रिसाउँदैनन्‌ तर यो कुरालाई तिनले बेवास्ता पनि गर्न सकेनन्‌। त्यसैले एक घण्टापछि ती निरीक्षकले त्यस भाइलाई फेरि फोन गर्छन्‌। अनि उनीहरूलाई आपसमा भेटेर समस्या सुल्झाउन सुझाव दिन्छन्‌। एक हप्तापछि राज्यभवनमा नयाँ निरीक्षक र त्यस भाइको भेट हुन्छ। तिनीहरूले सँगै बसेर प्रार्थना गरिसकेपछि लगभग एक घण्टाजति कुरा गर्छन्‌। उक्त भाइले आफ्नो सबै कथा बेलीबिस्तार लगाउँछन्‌। उनको कुरा ध्यान दिएर सुनेपछि ती निरीक्षकले धर्मशास्त्रबाट केही कुरा छलफल गर्छन्‌ अनि उनीहरूको मिलाप हुन्छ। पहिला चित्त दुखाउने ती भाइले पछि अधिवेशनमा स्वयम्सेवा गर्छन्‌। नयाँ निरीक्षकले आफूसित शान्तपूर्वक अनि दयालु हुँदै कुरा गरेकोमा ती भाइ निकै धन्यवादी छन्‌।

एल्डरहरूलाई मुछ्‌नु ठीक हो?

१४, १५. (क) कस्तो अवस्थामा मत्ती १८:१५-१७ मा दिइएको सल्लाह लागू गर्न सकिन्छ? (ख) येशूले उल्लेख गर्नुभएको तीनवटा कदम के-के हुन्‌? ती कदम चाल्दा हाम्रो उद्देश्य कस्तो हुनुपर्छ?

१४ धेरैजसो मतभेद ख्रीष्टियनहरूले सम्बन्धित व्यक्तिसित कुरा गरेरै सुल्झाउन सक्छन्‌ र त्यसो गर्नु पनि पर्छ। तर कुनै-कुनै अवस्थामा भने अरूको पनि मदत लिनुपर्ने हुन सक्छ भनेर येशूले मत्तीको किताबमा भन्नुभएको कुराबाट देखिन्छ। (मत्ती १८:१५-१७ पढ्‌नुहोस्) यदि पाप” गर्ने व्यक्तिले सम्बन्धित व्यक्तिसित, साक्षी दिने व्यक्तिसित अनि मण्डलीका प्रतिनिधिहरूसित छलफल गरिसकेपछि पनि कुरा सुन्दैन भने परिणाम के हुन्छ? हो, त्यस्तो व्यक्तिलाई “अन्यजाति वा कर उठाउने मानिससरह” व्यवहार गर्नुपर्छ। अहिले हाम्रो शब्दमा भन्ने हो भने, बहिष्कार गर्नुपर्छ। यसले स्पष्ट पार्छ, यो “पाप” कुनै सानोतिनो मतभेद होइन। त्यसोभए, यो पापमा कस्तो कुरा पर्छ? यसमा दुइटा कुरा समावेश छ: १) यो त्यस्तो पाप हो जुन आपसमा भेटेर सुल्झाउन पनि सकिन्छ २) तर सुल्झिएन भने बहिष्कार हुने हदसम्म पनि पुग्न सक्छ। कसैलाई जालसाजी गर्ने वा अरूको बदनाम गर्न निन्दा गर्ने, यसका केही उदाहरण हुन्‌। येशूले भन्नुभएको तीनवटा कदम यस्तो अवस्थामा मात्र लागू हुन्छ। तर श्रीमान्‌-श्रीमतीबाहेक अरूसित यौनसम्बन्ध राख्ने, समलिङ्‌गी, धर्मत्याग, मूर्तिपूजा वा अरू घोर पापको सन्दर्भमा भने यी तीनवटा कदम लागू हुँदैन किनभने यस्ता मामिलाहरू सिधै एल्डरहरूले नै सम्हाल्नुपर्छ।

भाइसँगको सम्बन्ध सुमधुर बनाउन ऊसित पटक-पटक कुरा गर्नुपर्ने हुन सक्छ (अनुच्छेद १५ हेर्नुहोस्)

१५ येशूले दिनुभएको सल्लाहको उद्देश्य आफ्नो भाइलाई प्रेमले उत्प्रेरित हुँदै मदत गर्नु हो। (मत्ती १८:१२-१४) हामीले सबैभन्दा पहिला त अरूलाई नमुछिकन समस्या सुल्झाउने प्रयास गर्नुपर्छ। यसको लागि, “पाप” गर्ने व्यक्तिसित एकचोटि मात्र भेटेर नपुग्न सक्छ, पटक-पटक भेटेर तर्कपूर्ण कुराकानी गर्नुपर्ने हुन सक्छ। त्यसो गर्दा पनि केही सीप लागेन भने उसले गल्ती गरेको देख्ने वा उसले गल्ती गरेको हो कि होइन भनेर सही निष्कर्ष निकाल्न सक्ने व्यक्तिलाई राखेर कुरा गर्नुपर्ने हुन सक्छ। उनीहरूको मदतले समस्या सुल्झाउन सक्नुभयो भने तपाईंले आफ्नो “भाइलाई ठीक बाटोमा फर्काउन” सक्नुहुनेछ। ध्यान दिनुपर्ने कुरा के हो भने बारम्बार प्रयास गर्दा पनि केही सीप लागेन भने मात्र त्यो कुरा एल्डरकहाँ पुऱ्याउनुपर्छ।

१६. येशूको सल्लाह एकदमै व्यावहारिक र मायालु छ भनेर हामी किन भन्न सक्छौं?

१६ मत्ती १८:१५-१७ मा लेखिएको तीनै वटा कदम चाल्नुपर्ने मामिलाहरू थोरै मात्र हुन्छन्‌। यो कुरा हाम्रो लागि साँच्चै प्रोत्साहनदायी छ। किन? किनभने प्रायजसो अवस्थामा “पाप” गर्ने व्यक्तिले बेलैमा आफ्नो गल्ती महसुस गर्छन्‌ र समस्याको समाधान गर्छन्‌; फलस्वरूप बहिष्कार गर्नुपर्ने अवस्था नै सृजना हुँदैन। अनि चित्त दुखेको व्यक्ति पनि मनमा रिस नपाली माफी दिन अघि सर्छन्‌। कुरा जेसुकै होस्, हतारपतारमा एल्डरलाई कुनै मामिलामा मुछ्‌नु राम्रो होइन भनेर येशूको शब्दहरूबाट देखिन्छ। सुरुको दुइटा कदम चालिसकेको छ र त्यस मामिलालाई प्रमाणित गर्ने ठोस प्रमाण छ भने मात्र एल्डरहरूले त्यो मामिला सम्हाल्न सक्छन्‌।

१७. मेलमिलापमा रहन ‘शान्ति खोज्दा’ कस्तो आशिष्‌ पाउन सक्छौं?

१७ सैतानको यो संसार रहुन्जेल सबै मानिस त्रुटिपूर्ण नै हुनेछन्‌ र तिनीहरूले एकअर्कालाई चित्त दुखाउने काम गरी नै रहनेछन्‌। त्यसैले चेला याकूबले लेखेका यी शब्दहरू एकदमै सही छन्‌ भनेर हामी भन्न सक्छौं: “यदि कोही आफ्नो वचनमा चुक्दैन भने ऊ आफ्नो सारा शरीरमा लगाम कस्न सक्ने सर्वगुणी मानिस हुन्छ।” (याकू. ३:२) मतभेद सुल्झाउने हो भने हामीले सकेजति प्रयास गरेर ‘शान्ति खोज्नुपर्छ र त्यसैको पछि लाग्नुपर्छ।’ (भज. ३४:१४, NRV) शान्ति कायम गर्ने प्रयास गऱ्यौं भने हामीले मण्डलीका अरू सदस्यहरूसित राम्रो सम्बन्ध कायम राख्न सक्नेछौं र एकताको गाँठोलाई अझै कसिलो बनाउन सक्नेछौं। (भज. १३३:१-३) सबैभन्दा ठूलो कुरा भनेको त हामीले “शान्ति दिनुहुने परमेश्वर” यहोवासित राम्रो सम्बन्ध गाँस्न सक्नेछौं। (रोमी १५:३३) प्रेमले उत्प्रेरित भएर मतभेद सुल्झाउनेहरूले मात्र यस्तो आशिष्‌ पाउन सक्छन्‌।

^ [१] (अनुच्छेद १२) शान्तपूर्वक मतभेद सुल्झाउनेहरूमा यिनीहरू पनि पर्छन्‌: याकूबले एसावसित मिलाप गरे (उत्प. २७:४१-४५; ३३:१-११); यूसुफले आफ्ना दाइहरूसित मिलाप गरे (उत्प. ४५:१-१५); गिदोनले एप्रैमीहरूसित मिलाप गरे। (न्याय. ८:१-३) बाइबलमा भएका यस्तै खालका अरू उदाहरणहरू पनि तपाईं सम्झन सक्नुहुन्छ।