सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले गर्नुभएको प्रबन्धबाट पूरापूर लाभ उठाउनुहोस्

यहोवाले गर्नुभएको प्रबन्धबाट पूरापूर लाभ उठाउनुहोस्

“म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो फाइदाको निम्ति तँलाई सिकाउँछ।”—यशै. ४८:१७.

गीत: ११७, ११४

१, २. (क) यहोवाका साक्षीहरूलाई बाइबल कस्तो लाग्छ? (ख) तपाईंलाई बाइबलको कुनचाहिं भाग एकदमै मन पर्छ?

यहोवाका साक्षीहरू बाइबल निकै मन पराउँछन्‌। किनभने त्यसले भरपर्दो निर्देशन दिन्छ अनि सान्त्वना र आशा पाउन मदत गर्छ। (रोमी १५:४) हामी बाइबललाई मानव विचारको सङ्‌गालोको रूपमा होइन तर “परमेश्वरकै वचनको रूपमा” लिन्छौं, “जुन साँच्चै हो पनि।”—१ थिस्स. २:१३.

हामी सबैलाई नै बाइबलको कुनै न कुनै अंश निकै मन पर्छ भन्ने कुरामा कुनै शङ्‌का छैन। कसै-कसैलाई सुसमाचारको पुस्तक एकदमै मन पर्छ किनभने त्यसमा दिइएको येशूको विवरणले यहोवाको व्यक्तित्व राम्ररी बुझ्न मदत गर्छ। (यूह. १४:९) अरू कतिपयलाई भने भविष्यवाणीहरू मन पर्छ—सायद यसमा “छिट्टै हुन लागेका कुराहरू”-को झल्को दिने प्रकाशको किताब पनि पर्छ होला। (प्रका. १:१) अनि भजनको किताबबाट सान्त्वना नपाउने र हितोपदेशको किताबबाट व्यावहारिक पाठ नसिक्ने हामीमध्ये को नै छौं होला र? साँच्चै बाइबल सबैका लागि लेखिएको किताब हो।

३, ४. (क) हाम्रा प्रकाशनहरू हामीलाई कस्तो लाग्छ? (ख) कस्ता निश्‍चित समूहका लागि पनि हाम्रा प्रकाशनहरू तयार पारिन्छ?

बाइबल मन पर्ने भएकोले बाइबलआधारित प्रकाशनहरू पनि हामीलाई मन पर्छ। जस्तै: किताब, पुस्तिका, पत्रिका वा अरू प्रकाशनमार्फत्‌ दिइने आध्यात्मिक भोजनको हामी साह्रै मोल गर्छौं। किनभने हामीलाई थाह छ, यहोवाले गर्नुभएका यी प्रबन्धहरूले हामीलाई आध्यात्मिक रूपमा चनाखो रहन, तृप्त हुन र ‘विश्वासमा दह्रो हुन’ मदत गर्छ।—ती. २:२.

साधारणतया, हाम्रा प्रकाशनहरू हामी साक्षीहरूलाई नै लक्षित गरेर तयार पारिएको हुन्छ तर कहिलेकाहीं निश्‍चित समूहको लागि भनेर पनि त्यस्ता प्रकाशनहरू तयार पारिन्छन्‌। जस्तै: कुनै-कुनै लेख जवानहरूको लागि भनेर तयार पारिएको हुन्छ, कुनै-कुनै तिनीहरूको आमाबुबाको लागि। हाम्रो धेरैजसो पत्र-पत्रिका अनि वेबसाइटमा भएको धेरैजसो लेखहरू नयाँ मान्छेलाई ध्यानमा राखेर तयार पारिएको छ। प्रशस्त मात्रामा पाएको यस्तो आध्यात्मिक भोजनले हामीलाई यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो भनेर सम्झाउँछ किनभने उहाँले ‘सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरूको भोज लाउने’ प्रतिज्ञा गर्नुभएको थियो।—यशै. २५:६.

५. यहोवाले कुन कुराको मोल गर्नुहुन्छ भनेर हामी पक्का हुन सक्छौं?

हामीमध्ये धेरैलाई बाइबल अनि बाइबलआधारित प्रकाशनहरू पढ्‌न अझ धेरै समय भए हुन्थ्यो जस्तो लाग्छ। हामीले नियमित रूपमा बाइबल पढ्‌न अनि व्यक्तिगत अध्ययन गर्न “समयको पूर्ण सदुपयोग” गर्न जुन प्रयास गरेका छौं, त्यसको यहोवाले मोल गर्नुहुन्छ भन्ने कुरामा हामी पक्का छौं। (एफि. ५:१५, १६) वास्तविक कुरा भन्ने हो भने, हामीसित जे-जति आध्यात्मिक भोजन उपलब्ध छ, त्यो सबै लिनको लागि हामीले सधैं नै उत्तिकै समय लगाउन सक्दैनौं। त्यसैले हामी यसले निम्त्याउन सक्ने अदृश्य पासोबाट जोगिनुपर्छ। त्यो पासो के हो?

६. कस्तो सोचाइले गर्दा हामी यहोवाले गर्नुभएको प्रबन्धबाट लाभ उठाउनदेखि चुक्न सक्छौं?

कहिलेकाहीं हामीलाई कुनै-कुनै प्रकाशन आफ्नो लागि लेखिएको होइन जस्तो लाग्न सक्छ। यस्तो सोचाइ राख्दा हामी त्यसबाट लाभ उठाउनदेखि चुक्न सक्छौं, जुन हाम्रो लागि पासो हो। जस्तै: कुनै-कुनै बाइबल विवरण हाम्रो परिस्थितिसित ठ्‌याक्कै मेल खाँदैन भने के गर्ने? कुनै-कुनै प्रकाशन अरू नै कसैलाई लक्षित गरेर लेखिएको हो भने के गर्ने? के हामी त्यसमा भएको जानकारी सरसरती मात्र हेर्छौं वा पढ्‌दै-पढ्‌दैनौं कि? त्यसो हो भने हामीले आफूलाई ठूलो लाभ पुऱ्याउने कुरा गुमाइरहेका हुनेछौं। यस्तो पासोमा नपर्न हामीले के गर्नुपर्छ? हामीले मनमा राख्नुपर्ने मुख्य कुरा भनेको सबै आध्यात्मिक प्रबन्धको मुख्य स्रोत परमेश्वर हुनुहुन्छ। भविष्यवक्ता यशैयामार्फत्‌ उहाँले यसो भन्नुभयो: “म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो फाइदाको निम्ति तँलाई सिकाउँछ।” (यशै. ४८:१७) बाइबलको सबै भागबाट अनि हामीसँग भएका विभिन्न किसिमका आध्यात्मिक भोजनबाट पूरापूर लाभ उठाउन हामीलाई तीनवटा सल्लाहले मदत गर्नेछ।

बाइबल पढाइबाट लाभ उठाउने तरिका

७. बाइबल गहिरिएर पढ्‌नु किन आवश्यक छ?

पहिलो तरिका: फराकिलो सोचाइ राखेर पढ्‌नुहोस्। बाइबलमा स्पष्टसित लेखिएको छ, “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो र यो . . . उपयोगी छ।” (२ तिमो. ३:१६) हो, बाइबलका कुनै-कुनै अंश सुरुमा एक जना व्यक्ति वा समूहलाई सम्बोधन गरिएर लेखिएको थियो। त्यसैले हामीले बाइबल पढ्‌दा फराकिलो सोचाइ राख्नुपर्छ। एक जना भाइ यसो भन्छन्‌: “बाइबल पढ्‌दा म त्यसबाट थुप्रै कुरा सिक्न सकिन्छ भन्ने कुरा मनमा राख्छु। यो कुरा मनमा राख्दा म सरसर्ती मात्र नभई गहिरिएर अध्ययन गर्न उत्प्रेरित हुन्छु।” त्यसैले हामी पनि फराकिलो सोचाइ राख्न मदत गर्नुहोस् र बुद्धि दिनुहोस् भनेर बाइबल पढ्‌नुअघि यहोवालाई बिन्ती गर्न सक्छौं। यसो गर्दा हामीले यहोवाले चाहेकै कुरा बुझ्न सक्नेछौं।—एज्रा ७:१०; याकूब १:५ पढ्‌नुहोस्।

बाइबल पढाइबाट पूरापूर लाभ उठाउन के तपाईं भरपूर प्रयास गर्दै हुनुहुन्छ? (अनुच्छेद ७ हेर्नुहोस्)

८, ९. (क) बाइबल पढ्‌दा हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ? (ख) ख्रीष्टियन एल्डरमा हुनुपर्ने गुणहरू विचार गर्दा हामी त्यसबाट यहोवाबारे के सिक्न सक्छौं?

दोस्रो तरिका: प्रश्नहरू सोध्नुहोस्। बाइबल पढ्‌दा मनन गर्नको लागि एकछिन समय छुट्‌याउनुहोस् र आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘यसले यहोवाबारे के बताउँछ? यो जानकारी म आफ्नो जीवनमा कसरी लागू गर्न सक्छु? अरूलाई मदत गर्न म यसमा भएको बुँदा कसरी चलाउन सक्छु? यस्ता प्रश्नहरू विचार गर्दै बाइबल पढ्‌यौं भने हामीले थुप्रै गहिरो कुराहरू सिक्न सक्छौं। उदाहरणका लागि, ख्रीष्टियन एल्डरहरूका लागि धर्मशास्त्रमा तोकिएको योग्यताहरू विचार गरौं। (१ तिमोथी ३:२-७ पढ्‌नुहोस्) हामीमध्ये धेरैजसोले एल्डरको रूपमा सेवा नगर्ने भएकोले त्यस पदमा भएको कुरा त्यत्ति लागू हुँदैन भन्ने लाग्न सक्छ। तर निम्न प्रश्नहरूको सम्भावित जवाफलाई विचार गऱ्यौं भने त्यसमा तोकिएको योग्यताको सूचीबाट हामीले पनि थुप्रै तरिकामा लाभ उठाउन सक्छौं भनेर बुझ्नेछौं।

यसले यहोवाबारे के बताउँछ? एल्डरहरूका लागि तोकिएको त्यस सूचीलाई विचार गर्दा यहोवाले आफ्नो सेवा गर्नेहरूको निम्ति उच्च स्तर तोक्नुभएको छ भन्ने कुरा बुझ्न सक्छौं। उहाँ तिनीहरूले राम्रो उदाहरण बसालेको चाहनुहुन्छ अनि “आफ्नै छोराको रगतद्वारा किन्नुभएको मण्डलीलाई” तिनीहरूले कस्तो व्यवहार गर्छन्‌, त्यसैअनुसार उहाँले तिनीहरूको लेखा पनि लिनुहुन्छ। (प्रेषि. २०:२८) उहाँले नियुक्त गर्नुभएका गोठालाहरूको छत्रछायामा हामी सुरक्षित रहेको उहाँ चाहनुहुन्छ। (यशै. ३२:१, २) यो तरिकाले बुझ्दा यहोवा हाम्रो कत्ति ख्याल राख्नुहुन्छ भन्ने कुरा ख्रीष्टियन एल्डरहरूका लागि तोकिएको योग्यताबाट छर्लङ्‌गै हुन्छ।

१०, ११. (क) एल्डरहरूमा हुनुपर्ने योग्यताहरूबारे पढ्‌दा हामी त्यसमा भएका कुराहरू कसरी आफ्नो जीवनमा लागू गर्न सक्छौं? (ख) अरूलाई मदत गर्न ती जानकारी कसरी चलाउन सक्छौं?

१० यो जानकारी म आफ्नो जीवनमा कसरी लागू गर्न सक्छु? एल्डरको रूपमा नियुक्त भएको व्यक्तिले बेला-बेला यी पदहरू मनन गरेर आफूले उन्नति गर्नुपर्ने क्षेत्र कुन हो, त्यो पक्का गर्नुपर्छ। “कुनै पुरुष निरीक्षक बन्न अघि बढिरहेको छ भने” उसले यी योग्यतामा निकै ध्यान दिनुपर्छ किनभने उसले आफ्नोतर्फबाट यस्ता योग्यताहरू खेती गर्न सक्दो प्रयास गर्नुपर्छ। (१ तिमो. ३:१) वास्तवमा भन्ने हो भने यी पदहरूमा लेखिएको योग्यता प्रत्येक ख्रीष्टियनलाई नै लागू हुन्छ किनभने त्यसमा लेखिएको धेरैजसो कुरा यहोवाले हामी सबै ख्रीष्टियनबाट माग गर्ने कुराहरू नै हुन्‌। जस्तै: हामी सबै नै व्यावहारिक हुनुपर्छ र सुझबुझ चलाउनुपर्छ। (फिलि. ४:५; १ पत्रु. ४:७) अनि एल्डरहरू “बगालको उदाहरण” भएमा हामी तिनीहरूबाट सिक्न सक्छौं र “तिनीहरूको विश्वासको अनुकरण” गर्न सक्छौं।—१ पत्रु. ५:३; हिब्रू १३:७.

११ अरूलाई मदत गर्न म यो जानकारी कसरी चलाउन सक्छु? बाइबलको कुरामा चासो राख्नेहरूलाई वा बाइबल विद्यार्थीहरूलाई एल्डरहरू चर्चका पादरीहरूभन्दा फरक छन्‌ भनेर बुझाउन ख्रीष्टियन निरीक्षकहरूका लागि तोकिएको योग्यता देखाएर कुरा गर्न सक्छौं। अनि यी योग्यताहरूलाई विचार गर्दा मण्डलीका एल्डरहरूले हाम्रो लागि कत्ति धेरै काम गर्दै छन्‌ भनेर बुझ्न पनि मदत गर्छ। तिनीहरूले हाम्रो लागि ‘कडा परिश्रम गरिरहेको’ कुरालाई विचार गर्दा तिनीहरूप्रतिको हाम्रो “आदर” झनै गहिरो हुनेछ। (१ थिस्स. ५:१२) हामी जत्ति धेरै ती मेहनती निरीक्षकहरूको कदर गर्छौं, त्यत्ति नै तिनीहरू खुसी हुनेछन्‌।—हिब्रू १३:१७.

१२, १३. (क) आफूसँग भएको स्रोत-सामग्री चलाएर हामी कस्तो विषयमा अनुसन्धान गर्न सक्छौं? (ख) थप कुराहरूको जानकारी लियौं भने झट्ट पढ्‌दा थाह पाउन नसक्ने पाठहरू सिक्न सक्छौं भन्ने कुरालाई बुझाउन एउटा उदाहरण दिनुहोस्।

१२ तेस्रो तरिका: अनुसन्धान गर्नुहोस्। आफूसँग भएका स्रोत-सामग्रीहरू चलाएर हामी यी विषयहरूमा अनुसन्धान गर्न सक्छौं:

  • धर्मशास्त्रको यो भाग कसले लेखेका हुन्‌?

  • यो कहिले र कहाँ लेखियो?

  • बाइबलको कुनै पुस्तक लेख्दा कस्तो उल्लेखनीय घटना घटेको थियो?

यस्ता थप कुराहरूको जानकारी लियौं भने हामी झट्ट पढ्‌दा थाह पाउन नसक्ने पाठहरू सिक्न सक्छौं।

१३ उदाहरणका लागि, हामी इजकिएल १४:१३, १४ मा यस्तो लेखिएको पाउँछौं: “जब कुनै देशले विश्वासघात गरेर मेरो विरुद्धमा पाप गर्छ, र त्यसको विरुद्धमा आफ्नो हात उठाएर त्यसको अन्नको मूल म नाश गरिदिउँला, र त्यहाँ अनिकाल ल्याइदिउँला, र यहाँबाट मानिस र पशु दुवैलाई नाश गरिदिउँला, औ त्यहाँ यी तीन जना मानिस, अर्थात्‌ नूह, दानियल र अय्यूब भए पनि तिनीहरूले आफ्ना धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्नेछन्‌, परमप्रभु परमेश्वर भन्नुहुन्छ।” अनुसन्धान गरेर हेर्दा इजकिएल पुस्तकको यो भाग ईसापूर्व ६१२ मा लेखिएको थियो भनेर पत्ता लागेको छ। त्यतिबेला नूह र अय्यूब मरेको सयौं वर्ष भइसकेको थियो र तिनीहरूले देखाएको वफादारी परमेश्वरको सम्झनामा थियो। तर दानियल भने त्यतिबेला जीवितै थिए। वास्तवमा यहोवाले तिनलाई नूह र अय्यूबसित तुलना गर्दा तिनी किशोरावस्था पार गर्नै लागेका वा भर्खरै २० काटेका हुन सक्छन्‌। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? साँच्चै! यहोवा आफ्ना सबै वफादार सेवकहरूको कदर गर्नुहुन्छ, जसमा कलिला उमेरका सेवकहरू पनि पर्छन्‌।—भज. १४८:१२-१४.

विभिन्न प्रकाशनहरूबाट लाभ उठाउनुहोस्

१४. जवानहरूको लागि तयार पारिएको प्रकाशनहरूले तिनीहरूलाई कस्तो मदत गर्छ अनि त्यो पढेर अरूले पनि कस्तो लाभ उठाउन सक्छन्‌? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

१४ परमेश्वरको वचनको सबै अंश पढ्‌नु नै लाभदायी छ भनेर हामीले बुझ्यौं। त्यसैगरि हामीसँग भएका सबै आध्यात्मिक भोजन नै हाम्रा लागि उपयोगी छन्‌। केही उदाहरण विचार गर्नुहोस्। जवानहरूको लागि तयार पारिएको लेख तथा प्रकाशनहरूबारे के भन्न सकिन्छ? विगतका केही वर्षहरूमा जवानहरूको लागि भनेर थुप्रै प्रकाशन तयार पारियो। [१] कुनै-कुनै लेख जवानहरूले स्कुलमा सामना गर्ने चुनौती वा किशोरावस्थामा आइपर्ने चुनौतीहरूसँग जुझ्न मदत गर्ने हिसाबले लेखिएको थियो। ती लेखहरू जवानहरूका लागि मात्र नभएर अरू सबैका लागि पनि किन लाभदायी छन्‌? त्यस्ता लेखहरू पढ्‌दा हामी जवानहरूले कस्तो समस्या भोगिरहेका छन्‌ भनेर बुझ्ने मौका पाउँछौं। अनि तिनीहरूलाई चाहिएको मदत दिन र प्रोत्साहन दिन सक्षम हुन्छौं।

१५. जवानहरूलाई लक्षित गरेर लेखिएको लेखहरूमा वयस्क ख्रीष्टियनहरूले चासो दिनुपर्छ, किन?

१५ जवानहरूलाई लक्षित गरेर लेखिएको लेखमा उनीहरूले नै भोग्ने गरेको विषयवस्तुलाई समेटिएको हुन्छ। तर उनीहरूले मात्र होइन, हामी सबैले नै आफ्नो विश्वासको साक्षी दिनुपर्छ, भावनालाई काबुमा राख्नुपर्छ, साथीहरूले नराम्रो काम गर्ने दबाब दिंदा इन्कार गर्नुपर्छ अनि खराब सङ्‌गत तथा मनोरञ्जनबाट अलग्गै बस्नुपर्छ। जवानहरूको लागि तयार पारिएको लेखमा यी अनि अन्य यस्तै विषयमा सल्लाह-सुझाव दिइएको हुन्छ। के त्यसो भए वयस्क ख्रीष्टियनले जवानहरूको लागि तयार पारिएको प्रकाशन पढेर काम छैन भन्ने निष्कर्ष निकाल्नुहुन्छ त? अहँ, पटक्कै हुँदैन। हुन त त्यस्ता प्रकाशनहरू जवानहरूको मन छुने तरिकामा लेखिएको होला तर त्यसमा भएका जानकारीहरू कहिल्यै पुरानो नहुने धर्मशास्त्रीय सिद्धान्तहरूमा आधारित हुन्छ अनि यस्ता आध्यात्मिक प्रबन्धहरूबाट हामी सबैले नै लाभ उठाउन सक्छौं।

१६. हाम्रा प्रकाशनहरूले जवानहरूलाई अरू के गर्न मदत गर्छ?

१६ हाम्रा प्रकाशनहरूले जवानहरूलाई समस्या विरुद्ध लड्‌न मात्र होइन तर आध्यात्मिक रूपमा परिपक्व हुन र यहोवासित नजिक हुन पनि मदत गर्छ। (उपदेशक १२:१, १३ पढ्‌नुहोस्) यस सन्दर्भमा पनि वयस्क भइसकेका ख्रीष्टियनहरूले लाभ उठाउन सक्छन्‌। उदाहरणका लागि, सन्‌ २००९ अप्रिल महिनाको अङ्‌ग्रेजी ब्यूँझनुहोस्!-मा “युवाहरू सोध्छन्‌ . . . म बाइबल पढाइलाई कसरी रोचक बनाउन सक्छु?” भन्ने लेख छापिएको थियो। त्यस लेखमा थुप्रै सल्लाहहरू दिइएको थियो; त्यसमा भएका पेटीहरू काटेर बाइबलमा पनि राख्न मिल्थ्यो। के त्यस लेखबाट वयस्कहरूले लाभ उठाएका छन्‌? विवाह गरिसकेकी अनि बच्चा जन्माइसकेकी बहिनीले समेत यसबाट लाभ उठाएकी छिन्‌। चौबीस वर्षकी ती बहिनी यसो भन्छिन्‌: “मलाई बाइबल पढ्‌न निकै गाह्रो लाग्छ। तर त्यस लेखमा भएको कुराले मेरो मन छोएको छ। त्यसमा भएको पेटीहरू काटेर मैले त्यसको सदुपयोग गरिरहेकी छु। अहिले मलाई कहिले बाइबल पढूँ जस्तो हुन्छ। बाइबलका किताबहरू आपसमा कसरी सम्बन्धित छन्‌, अहिले मैले बुझ्न सकेकी छु। यो त रङ्‌गीबिरङ्‌गी धागोलाई आपसमा बुनेर सुन्दर बुट्टा निकालिएको कपडाजस्तै रहेछ। बाइबल पढ्‌न मलाई यत्तिको रमाइलो पहिला कहिल्यै लागेको थिएन।”

१७, १८. नयाँ मानिसको लागि तयार पारिएको पत्रिकाबाट हामी कस्तो लाभ उठाउन सक्छौं? उदाहरण दिनुहोस्।

१७ नयाँ मानिसका लागि तयार पारिएको लेख। सन्‌ २००८ देखि हामीले प्रहरीधरहरा-को अध्ययन संस्करण पाउन थाल्यौं, जुन मुख्य गरी यहोवाका साक्षीहरूलाई लक्षित गरेर तयार पारिन्छ। त्यसो भए नयाँ मानिसहरूका लागि तयार पारिएको पत्रिकाहरूबारे चाहिं के भन्न सक्छौं त? के हामी त्यस्ता लेखहरू पढेर पनि लाभ उठाउन सक्छौं? एउटा उदाहरण विचार गर्नुहोस्। तपाईंले निम्तो दिनुभएको मान्छे सभामा आउँदा तपाईं निकै खुसी हुनुहुन्छ। सभामा वक्ताले भाषण दिंदै गर्दा तपाईं सायद त्यो नयाँ व्यक्तिबारे सोच्नुहुन्छ होला। यसो गर्दा तपाईंले आफूलाई त्यस व्यक्तिको ठाउँमा राखेर भाषण सुनिरहनुभएको हुनेछ। फलस्वरूप, तपाईंले त्यो विषयलाई नयाँ तरिकाले बुझ्न सक्नुहुन्छ।

१८ नयाँ मानिसहरूका लागि लेखिएको लेख पढ्‌दा पनि हामीले केही हदसम्म त्यस्तै अनुभव गरिरहेका हुन्छौं। जनसंस्करण प्रहरीधरहरा-लाई लिनुहोस्। त्यसमा यहोवाको सेवा नगर्ने मानिसहरूले बुझ्ने तरिकामा धर्मशास्त्रका कुराहरू लेखिएको हुन्छ। अनि jw.org मा राखिने धेरैजसो लेखहरू जस्तै: “बाइबलसम्बन्धी प्रश्नहरूको जवाफ” र “अक्सर सोधिने प्रश्नहरू” पनि त्यस्तै किसिमले तयार पारिएको हुन्छ। यस्ता जानकारी पढ्‌यौं भने हामीले पहिल्यैदेखि जानेबुझेको सत्यलाई अझै गहिरिएर बुझ्न सक्छौं। अनि प्रचारमा आफ्नो विश्वासबारे नयाँ तरिकामा बताउने सीप पनि सिक्न सक्छौं। साथै ब्यूँझनुहोस्! पत्रिकाले पनि हामीलाई साँचो परमेश्वरको अस्तित्व छ भनेर विश्वस्त हुन र आफ्नो विश्वासमा अडिग हुँदै अरूसित तर्क गर्न सिकाउँछ।१ पत्रुस ३:१५ पढ्‌नुहोस्।

१९. यहोवाले गर्नुभएको प्रबन्धप्रति हामी कसरी धन्यवादी हुन सक्छौं?

१९ कुरा स्पष्ट छ, हामीले लाभ उठाओस् भनेर यहोवाले हाम्रो लागि प्रशस्तै सल्लाह तथा निर्देशनहरू दिनुभएको छ (मत्ती ५:३) त्यसैले आफूसित भएको हरेक आध्यात्मिक प्रबन्धको पूरापूर सदुपयोग गरौं। यसो गर्दा हामीलाई लाभ पुऱ्याउने तरिकामा सिकाउनुहुने महान्‌ व्यक्तिप्रति धन्यवादी भइरहेका हुनेछौं।—यशै. ४८:१७.

^ [१] (अनुच्छेद १४) यस अन्तर्गत युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ, (अङ्‌ग्रेजी) भाग १ अनि अनलाइनमा प्रकाशित हुने “युवाहरू सोध्छन्‌” भन्ने शृङ्‌खलाबद्ध लेख समावेश छन्‌।