सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो अभिलेखालयबाट

“जसलाई काम सुम्पिइएको छ”

“जसलाई काम सुम्पिइएको छ”

केही दिनसम्म हुरीबतास र पानी परेपछि सोमबार सेप्टेम्बर १, १९१९ को दिन बिहानैदेखि न्यानो र पारिलो घाम लाग्यो। अमेरिकाको सिडार प्वाइन्ट, ओहायोको २,५०० सिट भएको हलमा त्यस दिउँसो झन्डै १,००० जना अधिवेशनको सुरुको दिनको लागि भेला भइसकेका थिए। साँझसम्म त जहाज, कार र विशेष रेलबाट आएका अरू २,००० जना त्यहाँ थपिसकेका थिए। मङ्‌गलबारको दिनसम्म त भेला हुनेहरूको ठूलै भीड जम्मा भइसकेको थियो। त्यसैले अधिवेशन कार्यक्रमको बाँकी भाग सुन्नको लागि हलबाहिर ठूलठूला रूखहरूमुनि बस्ने ठाउँको प्रबन्ध मिलाउनुपऱ्यो।

घामको किरणले गर्दा मानिसहरूले लगाएका कोटमा हरिया पातहरूको छाया बुट्टा कोरिएझैं देखिन्थ्यो। त्यहाँ भेला भएका दिदीबहिनीले लगाएका टोपीमा भएको प्वाँख इराई तालबाट आउने मन्द हावाले फरफराइरहेका थिए। “चारैतिर हराभरा थियो; कुनै होहल्ला थिएन। पुरानो संसारलाई छोडेर प्रमोदवनमा पुगेझैं लाग्यो” भनेर एक जना भाइले बताए।

चारैतिर देखिने निकै सुन्दर, रमणीय वातावरण पनि त्यहाँ भेला भएका मानिसहरूको खुसी र आनन्दको अघि कता-कता फिक्काझैं लाग्क्थ्यो। स्थानीय एउटा पत्रिकामा यस्तो कुरा लेखिएको थियो: “तिनीहरू एकाग्र भएर सुनिरहेका थिए अनि असाध्यै खुसी र आनन्दित देखिन्थे।” त्यसभन्दा अघि केही वर्षसम्म बाइबल विद्यार्थीहरूले निकै गाह्रो परिस्थितिको सामना गर्नुपरेको थियो। जस्तै: युद्धको बेला विरोधको सामना गर्नुपरेको थियो; मण्डलीमा फुट उत्पन्न भएको थियो; ब्रूक्लिन बेथेल बन्द गर्नुपरेको थियो; राज्य प्रचारकार्यमा भाग लिएकाले धेरै जनालाई जेलमा हालिएको थियो; विशेषगरि त्यतिखेर प्रचार गतिविधिको नेतृत्व लिइरहेका आठ जना भाइहरूलाई २० वर्षभन्दा लामो समयका लागि जेल सजाए तोकिएको थियो। * यस्ता कठिनाइहरू पार गरेपछि त्यस अधिवेशनमा ख्रीष्टियन दाजुभाइ दिदीबहिनीलाई भेट्‌न पाउँदा सबै जना खुसीले गद्‌गद थिए।

त्यस्तो कठिनाइको कारण निराशा र अन्योलमा परेका केही बाइबल विद्यार्थीहरूले प्रचार गर्न छोडे। तर धेरैजसोले भने अख्तियारवालाहरूले बन्द गराउन निकै दबाब दिए पनि प्रचार गर्न सकेसम्म लागि परे। छानबिन गर्ने एक जना व्यक्तिले त बाइबल विद्यार्थीहरूबारे एकदमै छक्कलाग्दो कुरा रिपोर्ट गरेका थिए; तिनले ती विद्यार्थीहरूलाई प्रश्न सोध्दा कडा चेतावनीको बाबजुद पनि “अन्तसम्मै परमेश्वरको वचनको प्रचार गर्ने” अडान लिएको कुरा बताए।

यस्तो गाह्रो अवस्थाको बेला वफादार बाइबल विद्यार्थीहरू “प्रभुको डोऱ्याइको आशामा थिए; . . . बुबाको निर्देशन पाउनको लागि व्यग्र प्रार्थना गर्दै थिए।” तर अहिले तिनीहरूले सिडार प्वाइन्टको अधिवेशनमा भेला भएर फेरि एकताको आनन्द उठाउन पाएका छन्‌। एक जना बहिनीले व्यक्त गरेको भावनाले त्यहाँ भेला भएका सबैको भावनालाई समेट्‌छ; कसरी प्रचारको काम अघि बढ्‌ला; कसरी व्यवस्थित तरिकामा प्रचार गर्न सकिएला भनेर खुलदुली लागेको कुरा ती बहिनीले बताएकी थिइन्‌। तिनीहरूको मुख्य चासोको विषय नै जतिसक्दो चाँडो प्रचारको काममा फर्कनुथियो।

“जीए”—एउटा नयाँ औजार!

कार्यक्रम पर्चीमा, निम्तो पर्चीमा, अधिवेशन हलको वरपर राखिएको ब्यानरमा लेखिएको “जीए” (GA) भन्ने अक्षरको अर्थ के होला भनेर बुझ्न अधिवेशनमा उपस्थित सबै जना उत्सुक थिए। हप्ताको अन्ततिर बल्ल त्यसको रहस्य खुल्यो। शुक्रबारको दिन “सहकर्मीहरूको लागि” भन्ने विषयमा भाषण दिंदा भाइ जोसेफ एफ. रदरफोर्डले अधिवेशनमा भेला भएका ६००० मानिसहरूसामु त्यसको रहस्य खोलिदिए। “जीए”-को पूरा नाम द गोल्डन एज (सुनौलो युग) थियो अनि यो पत्रिका नै प्रचारमा प्रस्तुत गरिने नयाँ औजार थियो। *

भाइ रदरफोर्डले सङ्‌गी अभिषिक्त ख्रीष्टियनहरूबारे यसो भन्नुभयो: “तिनीहरूले गाह्रो अवस्थाको सामना गर्नुपर्दा समेत मसीहले सिंहासनमा बसेर सुनौलो युगको सुरुवात गरेको कुरा विश्वासको आँखाले देखे; . . . अब चाँडै नै सुनौलो युग आउँछ भनेर बताउन पाएको कुरालाई तिनीहरूले सुअवसर र आफ्नो मुख्य कर्तव्य ठाने। यो तिनीहरूलाई स्वयम् परमेश्वरले दिनुभएको आज्ञा हो।”

“तथ्य, आशा र विश्वासको पत्रिका” अर्थात्‌ द गोल्डन एज पत्रिका चलाएर सत्य फैलाउने एउटा नयाँ तरिका सुरु गरियो। त्यो हो: घरघरमा गएर ग्राहक बनाउने अभियान। यस काममा ‘को-को सहभागी हुन चाहनुहुन्छ’ भनेर सोधिंदा सबै श्रोता जुरुक्क उठे। जे. एम. नोरिसले आफ्नो अनुभव यसरी बताए: “येशूको अनुकरण गर्ने सबैले जोसिलो अनि उत्साहित हुँदै यो गीत गाए: ‘तपाईंको ज्योति र तपाईंको सत्यता पठाइदिनुहोस्।’ त्यो गीत गाउँदा रूखहरू नै थर्केजस्तो लागेको थियो। त्यो क्षण म कहिल्यै बिर्सन सक्दिनँ।”

कार्यक्रम सेसनपछि उपस्थित सबै जना यसको पहिलो ग्राहक बन्न लाइन लागे। त्यतिबेला धेरै जनाले माबेल फिलब्रिकले जस्तै महसुस गरे, जसले यसो भनिन्‌: “हामीले फेरि पहिलाजस्तै प्रचार गर्न पाउने भयौं भनेर निकै उत्साहित थियौं।”

“जसलाई काम सुम्पिइएको छ”

यस काममा भाग लिन झन्डै ७,००० बाइबल विद्यार्थीहरू तयार भए। सङ्‌गठनात्मक संरचना (अङ्‌ग्रेजी) र जसलाई काम सुम्पिइएको छ (अङ्‌ग्रेजी) भन्ने पुस्तिकामा यस्तो लेखिएको थियो: अब यो कामको नेतृत्व मुख्यालयको नयाँ सेवा विभागले लिनेछ। मण्डलीमा सेवा समिति गठन गरिनुपर्छ र निर्देशनहरू दिनको लागि एक जना निर्देशक नियुक्त गरिनुपर्छ। इलाका छुट्‌याउँदाखेरि एउटा इलाकामा १५० देखि २०० वटा घर हुनुपर्छ। क्षेत्र सेवामा बटुलेका अनुभवहरू बताउन र सेवा रिपोर्ट बुझाउन बिहीबार साँझ सेवा सभा सञ्चालन गरिनेछ।

“घर फर्कने बेला भइसक्दा पनि पत्रिकाको ग्राहक बनाउने अभियानमा निकै व्यस्त हुन्थ्यौं” भनेर हर्मन फिलब्रिकले बताए। त्यतिबेला चासो दिने मानिसहरू थुप्रै थिए। ब्यौला कोभे यसो भन्छन्‌: “युद्ध र दुःखकष्टले वाक्क-दिक्क भएका मानिसहरू सुनौलो युगको कुरा सुन्न पाउँदा मात्र पनि साह्रै खुसी भए।” अर्थर क्लाउसले यस्तो लेखे: “तीनथुप्रो मान्छे ग्राहक बनेको देखेर पूरै मण्डली छक्क पऱ्यो।” पहिलो अङ्‌क निस्केको दुई महिनाभित्रै द गोल्डन एज-को नमुनाप्रति ५ लाख वितरण भयो र ५० हजार ग्राहक बने।

सन्‌ १९२०, जुलाई १, अङ्‌कको प्रहरीधरहरा-मा “राज्यको सुसमाचार” भन्ने लेख छापिएको थियो। यस लेखबारे ए. एच. म्याकमिलनले यसो भने: ‘विश्वव्यापी रूपमा राज्यको सुसमाचार प्रचार गर्नुपर्छ भनेर औपचारिक जानकारी दिइएको यो नै पहिलो पल्ट थियो। नभन्दै अहिले त्यसैअनुसार प्रचार गरिंदैछ।’ यो लेखले सबै अभिषिक्त ख्रीष्टियनहरूलाई “स्वर्गको राज्यले शासन गर्न सुरु गरिसकेको छ भनेर विश्वभरि प्रचार गर्न घचघच्यायो।” अहिले ख्रीष्टका भाइहरू, “जसलाई काम सुम्पिइएको छ” तिनीहरूसित मिलेर लाखौंले जोसिलो हुँदै मसीहले ल्याउने सुनौलो युगको प्रतीक्षा गर्दै विश्वभरि प्रचार गरिरहेका छन्‌।

^ अनु. 5 यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्‌घोषकहरू (अङ्‌ग्रेजी), अध्याय ६, “परीक्षाको समय (१९१४-१९१८)” भन्ने शीर्षक हेर्नुहोस्।

^ अनु. 9 द गोल्डन एज पत्रिकाको नाम सन्‌ १९३७ मा कन्सोलेसन राखियो र पछि सन्‌ १९४६ देखि त्यसलाई अवेक! (ब्यूँझनुहोस्!) भन्न थालियो।