सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्वरको असीम अनुग्रह पाएकोमा आभारी!

परमेश्वरको असीम अनुग्रह पाएकोमा आभारी!

“हामी सबैले. . .प्रशस्त गरी असीम अनुग्रह पायौं।”—यूह. १:१६.

गीत: ९५, १३

१, २. (क) दाखबारीको मालिकको दृष्टान्त बताउनुहोस्। (ख) यो दृष्टान्तमा उदारता र असीम अनुग्रह कसरी देखिन्छ?

दाखबारीको मालिक खेतालाहरू खोज्न बिहान सबेरै बजारतिर निस्कन्छन्‌। तिनले आफूले भनेअनुसारकै ज्यालामा काम गर्ने खेताला भेट्टाउँछन्‌ र तिनीहरूलाई काममा पठाउँछन्‌; तर तिनलाई अझै खेतालाहरू चाहिएको छ। त्यसैले तिनी पटक-पटक बजार जान्छन्‌ र खेतालाहरू बोलाउँछन्‌। तिनले सबैलाई एउटै ज्यालामा काम लगाउँछन्‌। यहाँसम्म कि, साँझतिर काम गर्न पठाएको खेतालालाई समेत तिनले सुरुकै खेतालाको ज्यालामा काम लगाउँछन्‌। साँझ पर्छ; तिनले सबै खेतालालाई एक ठाउँमा भेला गर्छन्‌; बिहान सबेरै आउने अनि केही समयअघि मात्र काम सुरु गर्ने सबैलाई तिनले एउटै ज्याला दिन्छन्‌। यो कुरा थाह पाएपछि बिहान सबेरैदेखि आउनेहरूले तिनी विरुद्ध गनगन गर्छन्‌। त्यो सुनेर दाखबारीका मालिकले यसो भन्छन्‌: ‘के तिमीले मसित यति ज्यालामै काम गर्ने कबुल गरेका होइनौ? मेरो सम्पत्ति म जेसुकै गरूँ, के त्यो मेरो अधिकार होइन र? वा मैले भलाइ गरेको [उदारता] देखेर तिमीलाई डाह लाग्यो?’—मत्ती २०:१-१५.

येशूले दिनुभएको यो दृष्टान्त पढ्‌दा हामीलाई यहोवाको एउटा अनमोल गुण याद आउँछ। त्यो हो, बाइबलमा पटक-पटक उल्लेख गरिएको उहाँको बहुमूल्य गुण—“असीम अनुग्रह।” (२ कोरिन्थी ६:१ पढ्‌नुहोस्) दृष्टान्तलाई विचार गर्ने हो भने, एक घण्टा मात्र काम गर्ने खेतालालाई पूरै ज्याला दिनु उचित होइन जस्तो देखिन्छ, तर दाखबारीका मालिकले तिनीमाथि अपार अनुग्रह देखाए। थुप्रै बाइबल अनुवादमा “असीम अनुग्रह”-लाई “अनुग्रह” भनेर अनुवाद गरिएको छ। यो गुणबारे एक जना विज्ञले यस्तो लेखे: ‘छोटकरीमा भन्ने हो भने यो शब्दको अर्थ, मानिसले नकमाईकन र योग्य नभए तापनि परमेश्वरको अनुग्रहको कारण उहाँबाट सित्तैंमा पाउने वरदान हो र यो मानिसको आफ्नै प्रयासले कहिल्यै पाउन सकिंदैन।’

यहोवाले उदार हुँदै दिनुभएको वरदान

३, ४. यहोवा परमेश्वरले सम्पूर्ण मानिसजातिलाई किन असीम अनुग्रह देखाउनुभयो? अनि कसरी देखाउनुभयो?

बाइबलमा ‘परमेश्वरको असीम अनुग्रहद्वारा सित्तैंमा पाइने वरदान’-बारे बताइएको छ। (एफि. ३:७) ‘सित्तैंमा पाइने’ यो वरदान यहोवाले किन अनि कसरी दिनुहुन्छ? यहोवाले माग गर्नुहुने कुरा हामीले शतप्रतिशत पूरा गरेको भए हामी उहाँको अनुग्रह पाउन लायक हुन्थ्यौं। तर हामी त्यसो गर्न असमर्थ छौं। त्यसैले बुद्धिमान्‌ राजा सुलेमानले यस्तो लेखे: “संसारमा यस्तो कुनै धर्मी मानिस छैन जसले सबै काम ठीक गर्छ र कहिल्यै भूल गर्दैन।” (उप. ७:२०) प्रेषित पावलले पनि यस्तै कुरा लेखे: “सबैले पाप गरेका छन्‌ अनि परमेश्वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छन्‌।” तिनले यसो पनि भने: “पापले तिर्ने ज्याला मृत्यु हो।” (रोमी ३:२३; ६:२३क) हो, हामी यसैको लागि मात्र लायक छौं।

तर यहोवाले आफूमा भएको असीम अनुग्रहको कारण त्रुटिपूर्ण मानिसहरूलाई अपार प्रेम देखाउनुभएको छ। हामीजस्तो तुच्छ प्राणीलाई बचाउन उहाँले आफ्नो “एक मात्र छोरा”-लाई यस पृथ्वीमा मर्न पठाउनुभयो। (यूह. ३:१६) कत्ति ठूलो वरदान! पावलले तिनै येशूबारे यस्तो लेखे: “मृत्यु भोग्नुभएकोले उहाँलाई गौरव र आदरको मुकुट पहिराइयो। साथै, परमेश्वरको असीम अनुग्रहद्वारा उहाँले हरेक मानिसको लागि मृत्यु चाख्नुभयो।” (हिब्रू २:९) हो, “परमेश्वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रीष्ट येशूमार्फत अनन्त जीवन हो।”—रोमी ६:२३ख.

५, ६. (क) पापको नतिजा के हो? (ख) असीम अनुग्रहको नतिजा नि?

सम्पूर्ण मानिसजातिलाई पिरोल्ने यस्तो पाप र मृत्युको दलदलमा हामी कसरी पऱ्यौं? बाइबल भन्छ: “एक जना मानिसको [आदमको] अपराधले गर्दा” तिनका सबै सन्तानमाथि “मृत्युले राजाले झैं राज गऱ्यो।” (रोमी ५:१२, १४, १७) तर खुसीको कुरा, हामी पापको शासनको अधीनमा नबस्ने छनौट पनि गर्न सक्छौं। येशूले दिनुभएको फिरौतीको बलिदानमा विश्वास गरेर हामी आफूलाई यहोवाको असीम अनुग्रहको अधीनमा राख्छौं। तर यो कसरी सम्भव छ? बाइबल भन्छ: “पाप जति बढ्‌यो, असीम अनुग्रह त्योभन्दा झनै बढ्‌यो। अनि यसको उद्देश्य? ताकि जसरी पापले मृत्युसित मिलेर राजाले झैं राज गऱ्यो, उसरी नै हाम्रा प्रभु येशू ख्रीष्टमार्फत असीम अनुग्रहले पनि राजाले झैं राज गरोस् र हामीलाई असल ठहराउनुका साथै अनन्त जीवन पनि देओस्।”—रोमी ५:२०, २१.

हामी पापी अवस्थामा भए पनि पापले आफूमाथि हुकुमत नचलाओस् भनेर हर प्रयास गर्नुपर्छ। केहीगरि पापको फन्दामा परी नै हाल्यौं भने पनि हामी यहोवासित क्षमा माग्नेछौं। पावलले ख्रीष्टियनहरूलाई यस्तो चेतावनी दिए: “पापलाई आफूमाथि प्रभुत्व जमाउन नदेओ, किनकि तिमीहरूलाई थाह छ, तिमीहरू व्यवस्थाको अधीनमा होइन तर असीम अनुग्रहको अधीनमा छौ।” (रोमी ६:१४) त्यसकारण हामी आफूलाई “असीम अनुग्रहको” अधीनमा राख्छौं। यसो गर्दा नतिजा कस्तो हुनेछ? पावल भन्छन्‌: “परमेश्वरको असीम अनुग्रह[ले] . . . हामीलाई भक्तिहीनता र सांसारिक इच्छाहरू त्याग्न अनि यस वर्तमान युगमा सुझबुझ चलाउन, परमेश्वरको स्तरबमोजिम असल काम गर्न र परमेश्वरको भक्ति गर्दै जीवन बिताउन सिकाउँछ।”—ती. २:११, १२.

“विभिन्न तरिकामा प्रकट” हुने असीम अनुग्रह

७, ८. यहोवाले “विभिन्न तरिकामा” असीम अनुग्रह देखाउनुहुन्छ भन्नुको मतलब के हो? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

प्रेषित पत्रुसले लेखे: “तिमीहरू हरेकले परमेश्वरबाट वरदान पाएका छौ। त्यसैले विभिन्न तरिकामा प्रकट भएको परमेश्वरको असीम अनुग्रहको असल भण्डारेको रूपमा त्यो वरदान एक-अर्काको सेवा गर्नमा चलाओ।” (१ पत्रु. ४:१०) यसको मतलब के हो? हामीले भोग्ने कठिनाइ फरक-फरक किसिमको हुन्छ; तर यहोवाले पनि हामीलाई फरक-फरक तरिकाले अनुग्रह देखाएर सहने बल दिन सक्नुहुन्छ। (१ पत्रु. १:६) त्यसैले हामी भन्न सक्छौं, जस्तो किसिमको कठिनाइ हो, यहोवाले त्यसैअनुसारको अनुग्रह देखाउनुहुन्छ।

यहोवाले विभिन्न तरिकामा देखाउनुहुने असीम अनुग्रहबारे प्रेषित यूहन्नाले लेखे: “हामी सबैले उहाँबाट प्रशस्त गरी असीम अनुग्रह पायौं, किनकि उहाँ असीम अनुग्रहले भरिपूर्ण हुनुहुन्छ।” (यूह. १:१६) यहोवाले विभिन्न तरिकामा अनुग्रह देखाउनुभएकोले अहिले हामीले थुप्रै आशिष्‌ पाउन सकेका छौं। ती के-के हुन्‌?

९. यहोवाले असीम अनुग्रह देखाउनुभएको कारण हामीलाई कस्तो लाभ भएको छ? हामी उहाँप्रति आभारी भएको कसरी देखाउन सक्छौं?

पापको क्षमा पाउन सकेका छौं। यहोवाको असीम अनुग्रहले गर्दा हामीले पापको क्षमा पाउन सकेका छौं। हो, पश्‍चात्ताप गरेको कारण अनि पापी झुकाव विरुद्ध डटेर लडेको कारण हामीले यस्तो मौका पाएका छौं। (१ यूहन्ना १:८, ९ पढ्‌नुहोस्) त्यसैले परमेश्वरले देखाउनुभएको कृपाप्रति हामी मनैदेखि आभारी हुनुपर्छ र उहाँको महिमा गर्न जुरमुरिनुपर्छ। आफ्नो समयका अभिषिक्त ख्रीष्टियनहरूलाई पावलले यस्तो लेखे: “[यहोवाले] हामीलाई अन्धकारको शक्तिबाट छुटाएर आफ्नो प्यारो छोराको राज्यमा पुऱ्याउनुभयो, जसले तिर्नुभएको फिरौतीद्वारा हामी मुक्त भयौं अर्थात्‌ हामीले आफ्ना पापहरूको क्षमा पायौं।” (कल. १:१३, १४) पापको क्षमा पाएकोले नै हामीले अरू अद्‌भुत आशिष्‌हरू पनि पाउन सकेका छौं।

परमेश्वरले असीम अनुग्रह देखाउनुहुन्छ: सुसमाचार सुन्ने मौका दिएर (अनुच्छेद ११ हेर्नुहोस्)

१०. परमेश्वरले असीम अनुग्रह देखाउनुभएको कारण हामीले कस्तो मौका पाएका छौं?

१० परमेश्वरसित सुमधुर सम्बन्ध गाँस्न सकेका छौं। पापको अधीनमा परेको कारण हामी जन्मँदैदेखि परमेश्वरको शत्रु बन्न पुग्यौं। पावलले पनि यो कुरालाई यसरी मानिलिए: “हामी शत्रु छँदै उहाँको छोराको मृत्युले गर्दा परमेश्वरसित हाम्रो मिलाप भयो।” (रोमी ५:१०) यस्तो मिलापले गर्दा हामीले यहोवासित सुमधुर सम्बन्ध गाँस्न सकेका छौं। पावलले यो कुरालाई यहोवाले देखाउनुभएको असीम अनुग्रह हो भनी बताए। तिनले भने: “अब विश्वासले गर्दा हामी [ख्रीष्टका अभिषिक्त भाइहरू] असल ठहरिसकेको हुँदा, आओ, हामी हाम्रा प्रभु येशू ख्रीष्टमार्फत परमेश्वरसित शान्तिमय सम्बन्ध कायम राखौं। उहाँमाथि विश्वास गरेको हुनाले हाम्रो निम्ति असीम अनुग्रह पाउने बाटो खुलेको छ, जुन अनुग्रह हामीले अहिले पाइरहेका छौं। त्यसैले आओ, परमेश्वरले दिनुहुने महिमाको आशामा रमाऔं।” (रोमी ५:१, २) कत्ति ठूलो आशिष्‌ नि, होइन र?

११. अभिषिक्त जनले “अरू भेडा”-लाई कसरी सत्यको मार्गमा डोऱ्याएका छन्‌?

११ सत्यको मार्गतर्फ खिचिएका छौं। हामी सबैले जन्मजातै परमेश्वरको स्तरअनुसार नचल्ने अर्थात्‌ सत्यको मार्गमा नचल्ने झुकाव बोकेर आएका छौं। तर भविष्यवक्ता दानियलले अन्तको दिनमा “ज्ञानी अगुवाहरू” अर्थात्‌ बाँकी रहेका अभिषिक्त जनहरूले “मानिसहरूलाई सत्यको मार्गमा” डोऱ्याउनेछन्‌ भनेर बताए। (दानियल १२:३ पढ्‌नुहोस्) प्रचारकार्य अनि सिकाउने काम गरेर तिनीहरूले लाखौं “अरू भेडा”-लाई परमेश्वरको स्तरबमोजिमको सत्य मार्गतर्फ खिचेका छन्‌। (यूह. १०:१६) तर यो काम पनि यहोवाको असीम अनुग्रहले गर्दा मात्र सम्भव भएको हो। पावलले भने: “परमेश्वरले आफ्नो असीम अनुग्रह देखाएर सित्तैंमा उपहारस्वरूप तिनीहरूलाई आफ्नो नजरमा असल ठहराउनुभयो। ख्रीष्ट येशूले तिर्नुभएको फिरौतीद्वारा मुक्त गरेर उहाँले तिनीहरूलाई यसरी असल ठहराउनुभयो।”—रोमी ३:२३, २४.

प्रार्थना गर्ने मौका दिएर (अनुच्छेद १२ हेर्नुहोस्)

१२. प्रार्थना गर्ने सुअवसर परमेश्वरले देखाउनुभएको असीम अनुग्रह हो भनेर हामी किन भन्न सक्छौं?

१२ प्रार्थनाद्वारा यहोवाको सिंहासनसामु जाने मौका पाएका छौं। आफ्नो असीम अनुग्रहको कारण यहोवाले हामीलाई प्रार्थनामार्फत उहाँको सिंहासनसामु जाने मौका दिनुभएको छ। वास्तवमा भन्ने हो भने, पावलले यहोवाको सिंहासनलाई “असीम अनुग्रहको सिंहासन” भनेका छन्‌ र “निर्धक्क भई बोल्ने साहसका साथ” त्यस सिंहासनसामु जान आग्रह गरेका छन्‌। (हिब्रू ४:१६क) यहोवाले हामीलाई यो सुअवसर आफ्नो छोरामार्फत दिनुभएको छ, जसद्वारा “हामीले . . . निर्धक्क भई बोल्ने साहस पाएका छौं अनि उहाँमाथिको विश्वासद्वारै ढुक्क भई परमेश्वरसामु जान सक्छौं।” (एफि. ३:१२) साँच्चै, प्रार्थनाद्वारा निर्धक्क भई यहोवासामु जान पाउने सुअवसर उहाँले देखाउनुभएको असीम अनुग्रहको बेजोड नमुना हो।

चाहिएकै बेलामा मदत दिएर (अनुच्छेद १३ हेर्नुहोस्)

१३. असीम अनुग्रहले गर्दा हामीले “चाहिएकै बेला मदत पाउन” सक्छौं, तर कसरी?

१३ चाहिएकै बेलामा मदत पाउन सकेका छौं। पावलले हामीलाई निर्धक्क भई प्रार्थना गरेर यहोवासामु जान हौसला दिएका छन्‌, “ताकि चाहिएकै बेला मदत पाउन हामीले उहाँको कृपा र असीम अनुग्रह हासिल गर्न सकौं।” (हिब्रू ४:१६ख) सङ्‌कष्ट वा कठिनाइ आइपर्दा हामी जुनसुकै समयमा पनि कृपालु परमेश्वर यहोवालाई मदतको निम्ति गुहार्न सक्छौं। हुन त हामी उहाँको मदत पाउन लायक छैनौं, तैपनि उहाँले हाम्रो पुकारा सुन्नुहुन्छ। अनि प्रायजसो अवस्थामा मण्डलीका दाजुभाइ दिदीबहिनीलाई चलाएर सहायता दिनुहुन्छ, ताकि “हामी असाध्यै साहसी भएर यसो भन्न सकौं: ‘यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैन। मानिसले मलाई के गर्न सक्छ र?’”—हिब्रू १३:६.

१४. यहोवाको असीम अनुग्रहले गर्दा हाम्रो मनलाई कस्तो फाइदा भएको छ?

१४ हाम्रो मनलाई सान्त्वना मिलेको छ। यहोवाको असीम अनुग्रहले गर्दा हाम्रो दुःखी मनले ठूलो सान्त्वना पाउन सकेको छ; यो उहाँको अनुग्रहले गर्दा पाएको ठूलो आशिष्‌ हो। (भज. ५१:१७) सतावट भोगिरहेका थिस्सलोनिकाका ख्रीष्टियनहरूलाई पावलले यस्तो लेखे: “हाम्रा प्रभु येशू ख्रीष्ट स्वयम्ले र हामीलाई प्रेम गर्नुहुने अनि आफ्नो असीम अनुग्रहद्वारा चिरस्थायी सान्त्वना र उज्ज्वल आशा दिनुहुने परमेश्वर, हाम्रा बुबाले तिमीहरूको मनलाई सान्त्वना देऊन्‌ र तिमीहरूलाई हरेक असल काम अनि वचनका लागि दृढ बनाऊन्‌।” (२ थिस्स. २:१६, १७) यहोवाले उदार हुँदै देखाउनुभएको अनुग्रहको कारण हामीले उहाँको मायालु रेखदेख पाउन सकेका छौं भनेर बुझ्न पाउनु कत्ति सान्त्वनाको कुरा हो!

१५ अनन्त जीवनको आशा पाउन सकेका छौं। पापी भएकोले हामीले आफ्नै बलबर्कतले कुनै उज्ज्वल आशा पाउन सक्ने थिएनौं। (भजन ४९:७, ८ पढ्‌नुहोस्) तर यहोवाले हामीलाई अद्‌भुत आशा दिनुभएको छ। येशूले आफ्ना चेलाहरूलाई यस्तो प्रतिज्ञा गर्नुभयो: “मेरो बुबाको इच्छा यही छ कि ज-जसले छोरालाई हेर्छ र ऊमाथि विश्वास गर्छ, उसले अनन्त जीवन पाओस् र म उसलाई आखिरी समयमा पुनर्जीवित पारूँ।” (यूह. ६:४०) हो, अनन्त जीवन यहोवाले हाम्रो लागि दिनुभएको अनमोल उपहार हो र यो उहाँले देखाउनुभएको असीम अनुग्रहको बेजोड नमुना हो। पावल पनि यो कुराप्रति आभारी थिए, त्यसैले त तिनले यसो भने: “हरकिसिमका मानिसहरूलाई उद्धार दिने परमेश्वरको असीम अनुग्रह प्रकट भएको छ।”—ती. २:११.

परमेश्वरको असीम अनुग्रहलाई पाप गर्ने बहाना नबनाउनुहोस्

१६. प्रथम शताब्दीका कुनै-कुनै ख्रीष्टियनले परमेश्वरको असीम अनुग्रहबारे कस्तो गलत धारणा राखे?

१६ यहोवाले देखाउनुभएको असीम अनुग्रहले गर्दा थुप्रै आशिष्‌हरू पाएका छौं भन्नुको मतलब हामीले जे गरे पनि छुट छ भन्ने चाहिं होइन। प्रथम शताब्दीको कुरा विचार गर्नुहोस्। त्यतिबेला कसै-कसैले “परमेश्वरको असीम अनुग्रहलाई छाडा आचरणमा चल्ने बहाना” बनाउन खोजेका थिए। (यहू. ४) ती अवफादार ख्रीष्टियनहरूले ‘पाप गरे पनि केही फरक पर्दैन; यहोवाले क्षमा दिइहाल्नुहुन्छ नि’ भन्ने सोचाइ राखेका हुन सक्छन्‌। त्योभन्दा पनि नराम्रो कुरा त, तिनीहरूले आफ्ना भाइहरूलाई समेत यस्तो भ्रष्ट सोचाइ राख्न बहकाए। यदि अहिले पनि कसैले यसो गर्न खोज्छ भने उसले “असीम अनुग्रहलाई हेय दृष्टिले हेरेर पवित्र शक्तिको अपमान” गरिरहेको हुन्छ।—हिब्रू १०:२९.

१७. पत्रुसले कस्तो कडा सल्लाह दिए?

१७ आज पनि सैतानले कुनै-कुनै ख्रीष्टियनलाई त्यस्तै सोचाइ राख्न बहकाएको छ; ‘पाप गरे पनि क्षमा पाइहालिन्छ नि’ भन्ने सोचाइ त्यसले मानिसहरूमा हालिदिएको छ। तर कुरा त्यसो होइन। हुन त हो, यहोवा पश्‍चात्तापी पापीहरूलाई क्षमा दिन इच्छुक हुनुहुन्छ तर हामीले आफ्नो पापी झुकावहरू विरुद्ध डटेर लडेको पनि उहाँ आशा गर्नुहुन्छ। उहाँले प्रेषित पत्रुसलाई यस्तो लेख्ने प्रेरणा दिनुभयो: “त्यसकारण, हे प्रियहरू हो, तिमीहरूलाई पहिल्यैदेखि यो कुराको ज्ञान भएकोले होसियार होओ, नत्र त व्यवस्था उल्लङ्‌घन गर्ने ती मानिसहरूको पछि-पछि लागेर तिमीहरू आफ्नो स्थिरताबाट पतित हुनेछौ। बरु हाम्रा प्रभु अनि उद्धारक येशू ख्रीष्टको असीम अनुग्रह र ज्ञानमा बढ्‌दै जाओ।”—२ पत्रु. ३:१७, १८.

असीम अनुग्रहले गर्दा पाएको जिम्मेवारी

१८. यहोवाको असीम अनुग्रह पाएको कारण हामीले कस्ता जिम्मेवारीहरू पूरा गर्नुपर्छ?

१८ असीम अनुग्रह देखाउनुभएको कारण हामी यहोवाप्रति आभारी छौं। उहाँको असीम अनुग्रहले गर्दा उहाँप्रति र छिमेकीप्रति हामी ऋणी भएका छौं। त्यसैले उहाँको महिमा गर्न अनि छिमेकीको भलाइ गर्न आफूले पाएको वरदान उपयोग गर्नु हाम्रो दायित्व हो। तर हामी कसरी त्यसो गर्न सक्छौं? पावल यस्तो जवाफ दिन्छन्‌: “हामीलाई देखाइएको असीम अनुग्रहअनुसार हामीले फरक-फरक वरदान पाएका छौं। . . . सेवा गर्ने वरदान हो भने हामी सेवा गरिरहौं; अनि जसले सिकाउने वरदान पाएको छ, उसले सिकाइरहोस्; जसले अर्ती दिने वरदान पाएको छ, उसले अर्ती दिइरहोस्; . . . अनि जसले कृपा देखाउने वरदान पाएको छ, उसले खुसीसाथ कृपा देखाओस्।” (रोमी १२:६-८) यहोवाले देखाउनुभएको असीम अनुग्रहसँगसँगै हामीमा विभिन्न दायित्व पनि थपिएको छ; ख्रीष्टियनहरूले गर्नुपर्ने सेवाको काममा व्यस्त हुने, अरूलाई बाइबलको कुरा सिकाउने, दाजुभाइ दिदीबहिनीलाई अर्ती दिने अनि चित्त दुखाउनेहरूलाई खुसीसाथ क्षमा दिने जिम्मेवारी हामीमा आएको छ।

१९. अर्को लेखमा के छलफल गर्नेछौं?

१९ यहोवाले उदार भई देखाउनुभएको प्रेमप्रति आभारी हुँदै हामीले “परमेश्वरको असीम अनुग्रहको सुसमाचारको विस्तृत साक्षी दिन” यथासक्दो गर्नुपर्छ। (प्रेषि. २०:२४) यसपछिको लेखमा हामी यही जिम्मेवारीबारे कुरा गर्नेछौं।