सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंको पहिरनले परमेश्वरको महिमा गर्छ?

के तपाईंको पहिरनले परमेश्वरको महिमा गर्छ?

“सबै थोक परमेश्वरकै महिमाको निम्ति गर।”—१ कोरि. १०:३१.

गीत: ३४, ६१

१, २. यहोवाका साक्षीहरू पहिरनको सन्दर्भमा किन उच्च स्तर कायम राख्छन्‌? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

चर्चका अगुवाहरूको एउटा सभामा तिनीहरूले लगाएको पहिरनबारे नेदरल्याण्ड्समा छापिने एउटा स्थानीय पत्रिकामा यस्तो लेखिएको थियो: “गर्मी हुँदा खासगरि तिनीहरूले सभामा बस्दा जस्तो लुगा लगाएको पाइएन। . . . तर यहोवाका साक्षीहरूको अधिवेशनमा भने त्यस्तो देखिएन। साना केटाहरूदेखि लिएर वयस्कहरू टाई-सुट लगाउँछन्‌। अनि केटीहरू र आइमाईहरूले लगाएको स्कर्टको लम्बाइ पनि ठिक्क र चिटिक्क मिलेको हुन्छ।” साक्षीहरूले ‘भद्रता, शालीनता र सुझबुझ झल्किने अनि परमेश्वरको भक्ति गर्ने मानिसहरूलाई सुहाउने’ पहिरन लगाएकोमा मानिसहरूले अक्सर तारिफ गर्ने गर्छन्‌। (१ तिमो. २:९, १०) हुन त यी पदहरूमा प्रेषित पावलले स्त्रीहरूबारे कुरा गरिरहेका थिए, तर यही सिद्धान्त ख्रीष्टियन पुरुषहरूलाई पनि लागू हुन्छ।

यहोवाका सेवकहरू भएकोले पहिरनको सन्दर्भमा हामी उचित स्तर कायम गर्न चाहन्छौं अनि हामीले उपासना गर्ने परमेश्वर, यहोवाले यसलाई महत्त्वपूर्ण ठान्नुहुन्छ। (उत्प. ३:२१) पहिरन र कोरीबाटीको सन्दर्भमा धर्मशास्त्रमा जे-जति कुरा लेखिएका छन्‌, त्यसले ब्रह्माण्डका सर्वोच्च शासक यहोवाले आफ्ना साँचो उपासकहरूको लागि पहिरनको सन्दर्भमा उचित स्तर तोक्नुभएको छ भनेर स्पष्ट पार्छ। त्यसैले पहिरन र कोरीबाटीको सन्दर्भमा आफूलाई जे मन पर्छ, त्यही गर्छु भन्नु हुँदैन। सर्वोच्च परमेश्वर यहोवालाई के मन पर्छ, त्यो पनि विचार पुऱ्याउनुपर्छ।

३. पहिरनबारे इस्राएलीहरूलाई दिइएको व्यवस्थाबाट हामी के सिक्न सक्छौं?

उदाहरणको लागि, परमेश्वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा भएका नियमहरूले तिनीहरूलाई वरपरका राष्ट्रहरूको छाडा जीवनशैलीबाट जोगाउँथ्यो। त्यस व्यवस्थामा पुरुष र स्त्रीबीचको भिन्नता नछुट्टिने प्रकारका लुगाहरू लगाएको यहोवा पटक्कै चाहनुहुन्न, उहाँ त्यसलाई घृणा गर्नुहुन्छ भनेर बताइएको थियो। तर अहिले भने त्यस्तै फेसन चलेको पाइन्छ। (व्यवस्था २२:५ पढ्‌नुहोस्) पहिरनबारे परमेश्वरले दिनुभएको निर्देशनले कुन कुरा स्पष्ट पार्छ भने पुरुषलाई स्त्रीजस्तो देखाउने अनि स्त्रीलाई पुरुषजस्तो देखाउने अर्थात्‌ केटा र केटीबीचको भिन्नता नछुट्टिने पहिरन परमेश्वरलाई मन पर्दैन।

४. पहिरनसम्बन्धी सही निर्णय गर्न ख्रीष्टियनहरूलाई कुन कुराले मदत गर्छ?

पहिरन छनौट गर्ने सन्दर्भमा सही निर्णय गर्न परमेश्वरको वचनमा सिद्धान्तहरू दिइएका छन्‌। त्यसैले जहाँ बस्ने भए पनि, जुनसुकै संस्कृतिको भए पनि अनि जस्तो सुकै मौसममा पनि कस्तो पहिरन लगाउने भन्ने सन्दर्भमा सही निर्णय गर्न सक्छौं। कस्तो स्टाइलको लुगा लगाउनुहुन्छ, कस्तो स्टाइलको लगाउनु हुँदैन भनेर हामीलाई लामो सूची चाहिंदैन। तर बाइबलमा पाइने सिद्धान्तहरूलाई विचार गऱ्यौं भने सही छनौट गर्न सक्छौं, अनि यसले आफूलाई मन पर्ने खालको लुगा लगाउने स्वतन्त्रता पनि दिन्छ। त्यसोभए आउनुहोस्, पहिरनको सन्दर्भमा “परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा” के रहेछ भनेर बुझ्न मदत गर्ने केही बाइबल सिद्धान्त विचार गरौं।—रोमी १२:१, २.

“आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौं”

५, ६. हाम्रो पहिरनले अरूलाई कस्तो प्रभाव पार्नुपर्छ?

परमेश्वरको प्रेरणा पाएर प्रेषित पावलले २ कोरिन्थी ६:४ मा दिइएको सिद्धान्तलाई निकै जोड दिए। (पढ्‌नुहोस्) वास्तवमा भन्ने हो भने, हाम्रो पहिरनले नै हामीबारे धेरै कुरा बताइरहेको हुन्छ। धेरैजसो मानिसहरूले हाम्रो ‘रूप हेरेरै’ हामी कस्ता किसिमका मानिस हौं भनेर अड्‌कल काटिसकेका हुन्छन्‌। (१ शमू. १६:७) त्यसकारण परमेश्वरको सेवक भएकोले आफूलाई सजिलो लाग्ने लुगा लगाए भइहाल्यो नि भनेर मात्र पुग्दैन भनेर हामीलाई थाह छ। परमेश्वरको वचनमा पाइने सिद्धान्तहरू बुझेको हुँदा टिमिक्क कसेको, अङ्‌ग प्रदर्शन हुने वा यौन उत्तेजना जगाउने खालको लुगा नलगाउन सजग हुनेछौं। गोप्य अङ्‌गहरू देखिने वा त्यसमा मात्रै ध्यान खिच्ने खालको लुगा लगाउनु हुँदैन। हाम्रो पहिरन हेर्दा अरूलाई अप्ठ्‌यारो लाग्ने वा अन्तै मुन्टो फर्काउनुपर्ने किसिमको हुनु हुँदैन।

हाम्रो पहिरन र कोरीबाटी सफा, चिटिक्क अनि भद्र किसिमको छ भने हामी सर्वोच्च परमेश्वर यहोवाका सेवक हौं भनेर मानिलिन अरूलाई सजिलो लाग्नेछ। अनि तिनीहरू पनि हामीले उपासना गर्ने परमेश्वरतर्फ आकर्षित हुन सक्छन्‌। त्यतिमात्र होइन, हाम्रो भद्र पहिरनले अरूलाई हाम्रो सङ्‌गठनको बारेमा राम्रो छाप पार्न सक्छ; अनि यसले गर्दा हामीले सुनाउने जीवनदायी सन्देश सुन्न तयार हुन सक्छन्‌।

७, ८. कस्तो बेला हामीले आफ्नो पहिरनमा विशेष ध्यान दिनुपर्छ?

हाम्रो पवित्र परमेश्वर, हाम्रा ख्रीष्टियन दाजुभाइ दिदीबहिनी र आफ्नो इलाकाका मानिसहरूमा हाम्रो पहिरनले राम्रो या नराम्रो असर पार्न सक्छ। हाम्रो पहिरनले यहोवाको अनि हामीले सुनाउने सन्देशको महिमा गर्नुपर्छ। (रोमी १३:८-१०) ख्रीष्टियन गतिविधि जस्तै: सभा जाँदा वा प्रचारकार्यमा भाग लिंदा हामीले आफ्नो पहिरनमा विशेष ध्यान दिनुपर्छ। हाम्रो पहिरन “परमेश्वरको भक्ति गर्छु भनी दाबी गर्ने” मानिसहरूलाई सुहाउने किसिमको लगाउनुपर्छ। (१ तिमो. २:१०) हो, एउटा ठाउँमा उपयुक्त हुने लुगा अर्को ठाउँमा उपयुक्त नहुन सक्छ। त्यसैले हामी यहोवाका साक्षीहरू जुन सुकै ठाउँमा बसे तापनि अरूलाई ठक्कर नपुऱ्याउन आ-आफ्नो ठाउँको चलनलाई पनि विचार पुऱ्याउनुपर्छ।

के तपाईंको पहिरनले तपाईंले उपासना गर्ने परमेश्वरप्रति आदर जगाउँछ? (अनुच्छेद ७, ८ हेर्नुहोस्)

पहिलो कोरिन्थी १०:३१ पढ्‌नुहोस्। सम्मेलन वा अधिवेशनमा जाँदा हाम्रो पहिरन भद्र अनि शालीनता झल्किने किसिमको हुनुपर्छ, संसारमा सामान्य ठानिने उत्ताउलो पहिरन लगाउनु हुँदैन। होटेलमा बस्न जाँदा र होटेल छोड्‌दा, अधिवेशनको कार्यक्रमको अघि वा पछि आराम गर्ने समयमा पनि हाम्रो पहिरन अभद्र वा बेढङ्‌गी हुनुहुँदैन। यसो गऱ्यौं भने गर्वका साथ आफू यहोवाको साक्षी हुँ भनेर चिनाउन सक्नेछौं। अनि मौका पाउने बित्तिकै साक्षी दिन पनि अप्ठ्‌यारो लाग्नेछैन।

९, १०. लुगाफाटा छनौट गर्ने सन्दर्भमा फिलिप्पी २:४ मा पाइने सिद्धान्त किन विचार गर्नुपर्छ?

फिलिप्पी २:४ पढ्‌नुहोस्। आफ्नो पहिरनले अरू ख्रीष्टियन दाजुभाइ दिदीबहिनीलाई कस्तो असर गर्छ भनेर किन विचार पुऱ्याउनुपर्छ? एउटा कारण, बाइबलको यो सल्लाह पालन गर्न परमेश्वरका जनहरू निकै कोसिस गर्छन्‌: “त्यसकारण, पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्‌गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्न हुन्छन्‌: अवैध यौनसम्बन्ध, अशुद्धपन, कामवासना।” (कल. ३:२, ५) हामी ख्रीष्टियन दाजुभाइ दिदीबहिनीलाई यो सल्लाह पालन गर्न गाह्रो हुने अवस्था सृजना गर्न चाहँदैनौं। हाम्रा कोही-कोही दाजुभाइ दिदीबहिनीले छाडा जीवन बिताउन छोडिसके तापनि आफ्ना पापी झुकावविरुद्ध अझै सङ्‌घर्ष गरिरहेका हुन सक्छन्‌। (१ कोरि. ६:९, १०) त्यसैले तिनीहरूको यस्तो सङ्‌घर्षलाई के हामी अझै कठिन बनाउन चाहन्छौं र?

१० हाम्रा ख्रीष्टियन दाजुभाइ दिदीबहिनीको माझमा हुँदा हामी नैतिक स्वच्छता कायम गर्ने मानिसहरूको समूहमा हुन्छौं। त्यसैले हाम्रो पहिरनले त्यो स्वच्छता कायम राखिराख्न मदत गर्नुपर्छ। सभामा मात्र होइन, अन्य सामान्य जमघटमा पनि हाम्रा दाजुभाइ बहिनीसित हुँदा यही कुरा लागू हुन्छ। हुन त हो, हामी सबैसित कस्तो लुगा लगाउने भनेर छनौट गर्ने स्वतन्त्रता छ। तैपनि, अरूलाई चोखो रहन अनि तिनीहरूलाई आफ्नो सोचाइ, बोली र व्यवहारद्वारा परमेश्वरको स्तर कायम राख्न सजिलो बनाउने लुगाफाटा लगाउनु हामी सबैको दायित्व हो। (१ पत्रु. १:१५, १६) साँचो प्रेमले “अभद्र व्यवहार गर्दैन, आफ्नै फाइदा खोज्दैन।”—१ कोरि. १३:४, ५.

समय र ठाउँ सुहाउँदो पहिरन

११, १२. लुगा छनौट गर्दा हामीले कुन कुरा विचार गर्नु राम्रो हो?

११ कुन लुगा लगाउने भनेर निर्णय गर्दा परमेश्वरका सेवकहरू बाइबलको यो सल्लाह मनमा राख्छन्‌: “हरेक कार्य र हरेक अभिप्रायको ठीक समय हुन्छ।” (उप. ३:१, १७) हो, हामी हावापानी अनि मौसमअनुसार लुगाफाटा लगाउँछौं। विभिन्न परिस्थिति वा ठाउँले पनि हाम्रो पहिरनलाई फरक पार्छ। पहिरनसम्बन्धी यहोवाको स्तर मौसमसँगसँगै परिवर्तन हुँदैन।—मला. ३:६.

१२ गर्मी मौसमको हाम्रो पहिरन भद्र छ कि छैन, शालीन छ कि छैन वा सुझबुझ चलाएको देखिन्छ कि देखिंदैन भनेर पक्का गर्न विशेषगरि गाह्रो हुन्छ। त्यसैले एकदमै कस्सिएको वा अङ्‌ग प्रदर्शन हुने ह्वार्लाङ्‌ङ परेको लुगा लगाएनौं भने हाम्रा ख्रीष्टियन दाजुभाइले हाम्रो प्रयासको कदर गर्नेछन्‌। (अय्यू. ३१:१) अनि समुद्र किनारमा आराम गर्दा वा स्वीमिङ पुलमा पौडी खेल्दाको स्वीमिङ कस्ट्युम पनि भद्र किसिमको हुनुपर्छ। (हितो. ११:२, २०) हुन त, संसारका मान्छेहरू पौडी खेल्दा ज्यादै अङ्‌ग प्रदर्शन हुने कस्ट्युम लगाउँछन्‌ तर हाम्रो लुगाले हाम्रा पवित्र परमेश्वर यहोवाको महिमा गर्नुपर्छ।

१३. लुगा छनौट गर्ने विषयमा १ कोरिन्थी १०:३२, ३३ मा दिइएको सल्लाहले हामीलाई कस्तो असर पार्छ?

१३ उपयुक्त लुगा छान्ने सन्दर्भमा हामीलाई अर्को महत्त्वपूर्ण सिद्धान्तले पनि मदत गर्छ। त्यो हो, हाम्रा ख्रीष्टियन दाजुभाइ दिदीबहिनी र अरू मानिसहरूको अन्तस्करणलाई हामी ठेस पुऱ्याउन चाहँदैनौं। (१ कोरिन्थी १०:३२, ३३ पढ्‌नुहोस्) अरूलाई आपत्तिजनक लाग्न सक्ने लुगा नलगाउन हामी सजग हुनुपर्छ र यसो गर्नु हाम्रो दायित्व हो। प्रेषित पावलले यस्तो लेखे: “हामी प्रत्येकले आफ्नो छिमेकीको उत्थान हुने राम्रो काम गरेर उसलाई खुसी पारौं।” त्यसपछि तिनले कारण पनि यसरी बताए: “किनकि ख्रीष्टले पनि आफैलाई खुसी पार्न खोज्नुभएन।” (रोमी १५:२, ३) हो, येशूले आफ्नो सुविधालाई भन्दा अरूलाई मदत गर्नुलाई प्राथमिकता दिनुभयो, किनभने अरूलाई मदत गरेर उहाँले परमेश्वरको इच्छा पूरा गर्दै हुनुहुन्थ्यो। त्यसैले हाम्रा कुनै-कुनै लुगाले अरूलाई परमेश्वरको सन्देश सुन्न बाधा पुऱ्याउँछ भने आफूलाई त्यो जतिसुकै मन परेको भए तापनि हामी त्यस्तो लुगा लगाउनेछैनौं।

१४. आफ्नो पहिरनद्वारा यहोवाको महिमा गर्न आमाबाबुले छोराछोरीलाई कसरी सिकाउन सक्छन्‌?

१४ आफ्ना छोराछोरीलाई बाइबलका सिद्धान्तहरू लागू गर्न सिकाउने जिम्मेवारी आमाबाबुको हो। यसमा आमाबाबुले आफू र आफ्ना छोराछोरीले भद्र पहिरन तथा कोरीबाटीद्वारा यहोवाको मन खुसी बनाएको छ कि छैन भनेर पक्का गर्नु पनि समावेश छ। (हितो. २२:६; २७:११) आफूले राम्रो उदाहरण बसालेर अनि छोराछोरीलाई मायालु र व्यावहारिक सल्लाह दिएर आमाबाबुले आफ्ना छोराछोरीको मनमा यहोवाप्रति उचित आदर राखिदिन सक्छन्‌। तिनीहरूले छोराछोरीलाई भद्र लुगा कहाँ पाइन्छ र त्यस्तो लुगा कसरी छान्ने भनेर सिकाउनु राम्रो कुरा हो! यसो गर्दा छोराछोरीले आफूलाई मन पर्ने लुगा छान्ने मात्र होइन तर यहोवा परमेश्वरको महिमा हुने किसिमको लुगा छान्न मदत पाउनेछन्‌।

स्वतन्त्र इच्छालाई सही तरिकाले चलाउनुहोस्

१५. लुगा छनौट गर्दा प्रत्येकले कुन कुरामा विचार पुऱ्याउनुपर्छ?

१५ परमेश्वरको वचनले हामीलाई परमेश्वरको महिमा हुने बुद्धिमानी छनौटहरू गर्न व्यावहारिक डोऱ्याइ दिन्छ। तर कस्तो लुगा लगाउने भन्ने विषयमा हाम्रो आफ्नै छनौट हुन सक्छ। हो, हामी सबैको रुचि फरक-फरक छ; आर्थिक अवस्था पनि एउटै छैन। तर हामीले लगाउने लुगा सधैं सफा, चिटिक्क, शालीनता झल्किने, अवसर सुहाउँदो र स्थानीय इलाकामा स्वीकार्य हुनुपर्छ।

१६. उपयुक्त पहिरन लगाउन गरेको जस्तोसुकै प्रयास किन खेर जाँदैन?

१६ सही, सुझबुझ झल्किने वा सबै कुरालाई विचार पुऱ्याएर निर्णय गर्न सधैं सजिलो हुँदैन भन्ने कुरा हामीले मानिलिनुपर्छ। बजारमा एकदमै चलेको फेसनको लुगा बेचिन्छ। त्यसैले भद्र देखिने स्कर्ट, ड्रेस, टप अनि टिमिक्क नपरेको कमिज पाइन्ट भेट्टाउन धेरै समय लाग्ने र निकै खोज्नुपर्ने हुन सक्छ। तर हामीले आकर्षक अनि उपयुक्त लुगा भेट्टाउन साँच्चै प्रयास गरेको कुरा हाम्रा ख्रीष्टियन दाजुभाइ दिदीबहिनीले याद गर्नेछन्‌ र त्यसको कदर गर्नेछन्‌। स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबाको महिमा गर्न हामीले त्यागहरू गर्नु परे तापनि हाम्रो पहिरनले उहाँको महिमा गर्छ भनेर थाह पाउँदा कता हो कता सन्तुष्टि मिल्नेछ!

१७. दाह्री पाल्ने कि नपाल्ने भन्ने विषयमा कुन-कुन कुरा विचार गर्नुपर्छ?

१७ त्यसोभए दाह्री पाल्ने विषयमा चाहिं के भन्न सकिन्छ? मोशाको व्यवस्थाअनुसार पुरुषहरूले दाह्री पाल्नु पर्थ्यो। तर ख्रीष्टियनहरू मोशाको व्यवस्थाको अधीनमा छैन र त्यसमा लेखिएअनुसार गर्नुपर्ने बाध्यता पनि छैन। (लेवी १९:२७; २१:५; गला. ३:२४, २५) कुनै-कुनै संस्कृतिमा चिटिक्क मिलाएको दाह्री स्वीकार्य र आदरणीय पनि हुन सक्छ अनि दाह्री पालेर राज्य सन्देश सुनाए तापनि मानिसहरूले अप्ठ्‌यारो नमान्न सक्छन्‌। वास्तवमा भन्ने हो भने, कोही-कोही अभिषिक्त पुरुषहरूले दाह्री पालेका छन्‌। तैपनि हाम्रा केही दाजुभाइले भने दाह्री नपाल्ने निर्णय गर्न सक्छन्‌। (१ कोरि. ८:९, १३; १०:३२) कुनै-कुनै इलाका वा संस्कृतिमा भने दाह्री पाल्ने चलन छैन अनि ख्रीष्टियन सेवकहरूले दाह्री पालेको स्वीकार्य मानिंदैन। साँच्चै भन्ने हो भने, त्यस्तो अवस्थामा दाह्री पाल्ने ख्रीष्टियन भाइले आफ्नो पहिरन र कोरीबाटीले परमेश्वरको महिमा नगरेको हुन सक्छ र कुनै दोष नलागेको व्यक्ति भन्ने चिनारी पनि नपाउन सक्छ।—रोमी १५:१-३; १ तिमो. ३:२, ७.

१८, १९. परमेश्वरलाई मनपर्ने किसिमको पहिरन लगाउन मीका ६:८ ले कसरी मदत गर्छ?

१८ यहोवा परमेश्वरले पहिरन र कोरीबाटीको सन्दर्भमा तीनथुप्रो नियम दिएर हामीलाई बोझ बोकाउनुभएको छैन। के यो खुसीको कुरा होइन र? बरु, उहाँले हामीलाई आफ्नो स्वतन्त्र इच्छा चलाउन दिनुभएको छ र धर्मशास्त्रमा दिइएका सुस्पष्ट सिद्धान्तहरूको आधारमा सुझबुझ चलाउँदै सही निर्णय गर्न दिनुहुन्छ। त्यसैले आफ्नो पहिरन र कोरीबाटीले पनि “नम्र” अर्थात्‌ शालीन हुँदै ‘परमेश्वरसित हिंड्‌न’ चाहन्छौं भनेर देखाउन सक्छौं।—मीका ६:८.

१९ शालीन हुनु भनेको यहोवाको शुद्धता र पवित्रतासित मेल खाने कामकुरा गरेको छौं कि छैनौं भनेर नम्र भई आत्म-परीक्षण गर्नु हो। किनभने हामीलाई सबैभन्दा भरपर्दो डोऱ्याइ दिने व्यक्ति यहोवाबाहेक अरू कोही हुनुहुन्न। शालीनता भनेको अरूको भावना र विचारको कदर गर्नु पनि हो। त्यसैले परमेश्वरको उच्च स्तरसित मेल खाने ढङ्‌गमा जीवन बिताएर अनि अरूको भावनाको कदर गरेर हामी “नम्र” अर्थात्‌ शालीन हुँदै ‘परमेश्वरसँग हिंड्‌न सक्छौं।’

२०. हाम्रो पहिरन र कोरीबाटीले अरूलाई कस्तो प्रभाव पार्नुपर्छ?

२० हामी यहोवाका उपासक हौं भनेर हाम्रो पहिरनबाट स्पष्ट हुनुपर्छ। हामी साँच्चै यहोवाको प्रतिनिधित्व गर्ने व्यक्तिहरू हौं भनेर हाम्रा ख्रीष्टियन दाजुभाइ दिदीबहिनी अनि अरू मानिसले पनि देख्नुपर्छ। परमेश्वरको स्तर उच्च छ र खुसीसाथ हामी ती स्तर पालन गर्ने प्रयास गर्छौं। हाम्रा कतिपय दाजुभाइ दिदीबहिनीको राम्रो पहिरन र आनीबानीले गर्दा असल मन भएका मानिसहरू बाइबलको जीवनदायी सन्देश सुन्न आकर्षित भएका छन्‌। यसरी ती दाजुभाइ दिदीबहिनीले यहोवाको महिमा गर्छन्‌ र उहाँलाई खुसी बनाउँछन्‌। तिनीहरू साँच्चै सराहनीय छन्‌। आफ्नो पहिरनको सन्दर्भमा सही निर्णय गर्दा त्यसले “आदर र महामहिमाको पोशाक पहिरनुभएको” परमेश्वर यहोवाको साँच्चै महिमा गरिरहनेछ।—भज. १०४:१, २.