सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरू झूटो धर्मबाट निस्के

तिनीहरू झूटो धर्मबाट निस्के

“हे मेरा मानिसहरू हो, . . . त्यसबाट निस्केर आओ।”—प्रका. १८:४.

गीत: १०१, ९३

१. परमेश्वरका जनहरूले महान्‌ बेबिलोनको कैदबाट मुक्त हुनेछन्‌ भनेर किन आशा गर्न सक्थे? हामी कस्ता प्रश्नहरू छलफल गर्नेछौं?

विश्वासी ख्रीष्टियनहरू एक अर्थमा कसरी बेबिलोनको कैदमा परेका थिए भनेर अघिल्लो लेखमा बुझ्यौं। तर खुसीको कुरा, तिनीहरू सदाको लागि त्यसको कैदमा रहने थिएनन्‌। झूटो धर्मको विश्वसाम्राज्यको कैदबाट कहिल्यै निस्कन नसकिने हो भने “हे मेरा मानिसहरू हो, . . . त्यसबाट निस्केर आओ” भन्ने परमेश्वरको आज्ञाको कुनै अर्थ हुने थिएन। (प्रकाश १८:४ पढ्‌नुहोस्) परमेश्वरका जनहरू महान्‌ बेबिलोनको पन्जाबाट पूर्णरूपमा कहिले मुक्त भए, त्यो जान्न हामी असाध्यै उत्सुक छौं। तर त्योभन्दा पहिला हामीले यी प्रश्नहरूको जवाफ पाउनुपर्छ: सन्‌ १९१४ अघि पनि बाइबल स्टुडेन्टस्ले अर्थात्‌ बाइबल विद्यार्थीहरूले महान्‌ बेबिलोनको सन्दर्भमा कस्तो अडान लिएका थिए? प्रथम विश्वयुद्धको दौडान हाम्रा भाइहरू प्रचारकार्यमा कत्तिको जोसिला थिए? के तिनीहरूलाई सुधार्नु र अनुशासन दिनु परेकोले तिनीहरू बेबिलोनको कैदमा परेका हुन्‌?

“बेबिलोनको पतन”

२. झूटो धर्मको विषयमा बुझेपछि बाइबल विद्यार्थीहरूले कस्तो अडान लिए?

चार्ल्स टेज रसल र तिनका साथीहरूले चर्चजगत्‌का सङ्‌गठनहरूले बाइबलको सत्य सिकाइरहेका छैनन्‌ भनेर प्रथम विश्वयुद्ध भन्दा धेरै अघि नै बुझे। त्यसैले तिनीहरूले झूटो धर्मदेखि अलग रहने सङ्‌कल्प गरे। सन्‌ १८७९ नोभेम्बर महिनाको जायन्स वाच टावर-मा तिनीहरूको धर्मशास्त्रीय अडानबारे स्पष्टसँग यसरी लेखिएको थियो: “सबै चर्चले आफू ख्रीष्टको चोखो दुलही भएको दाबी गर्छन्‌। तर वास्तवमा तिनीहरू संसारसित (अर्थात्‌ जङ्‌गली जनावरसित) मिलेका छन्‌ र तिनीहरूले राजनीतिको साथ पाएका छन्‌। त्यसैले महावेश्यालाई घृणा गर्नुपर्छ।” तिनीहरूले महान्‌ बेबिलोनलाई बुझाउन “महावेश्या” भन्ने अभिव्यक्ति चलाएका थिए।—प्रकाश १७:१, २ पढ्‌नुहोस्।

३. झूटो धर्मबाट अलग रहनुपर्छ भनेर बुझेकाले बाइबल विद्यार्थीहरूले कस्तो ठोस कदम चाले? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

परमेश्वरको डर राख्ने व्यक्तिहरूले अब के गर्नुपर्छ भनेर राम्ररी बुझे। झूटा धार्मिक सङ्‌गठनहरूलाई समर्थन गरिरहेमा परमेश्वरको आशिष्‌ पाइँदैन भनेर तिनीहरूले बुझे। त्यसैले थुप्रै बाइबल विद्यार्थीहरूले चर्चको सदस्यता त्याग्न राजीनामा पत्र लेखे। तिनीहरूमध्ये कतिपयले त चर्चको सभामा ठूलो स्वरमा सबैको सामुन्ने त्यो पत्र पढेर सुनाए। तर खुलेआम पढेर सुनाउन निषेध गरिएका ठाउँहरूमा चाहिं तिनीहरूले चर्चको प्रत्येक सदस्यलाई एक-एक प्रति राजीनामा पत्र पठाइदिए। तिनीहरू झूटो धर्मसित कुनै सम्बन्ध राख्न चाहँदैन थिए! वर्षौंअघि यस्तो कदम चाल्ने आँट गरेका भए तिनीहरूको ज्यानसमेत जान सक्थ्यो। तर १८७० तिर थुप्रै देशका चर्चहरूलाई सरकारले समर्थन गर्न छोडिसकेका थिए। त्यसैले यस्ता देशहरूमा सजायको कुनै डरविना मानिसहरू खुलेर धार्मिक विषयमा छलफल गर्न सक्थे र चर्चहरूसित असहमत भएको कुरा पनि बताउन सक्थे।

४. प्रथम विश्वयुद्धको दौडान परमेश्वरका जनहरूले महान्‌ बेबिलोनप्रति कस्तो दृष्टिकोण राखेका थिए?

झूटो धर्मप्रतिको आफ्नो अडानबारे नातेदार, साथीभाइ अनि चर्चका सदस्यहरूलाई मात्र बताएर पुग्दैन भनेर बाइबल विद्यार्थीहरूले बुझे। महान्‌ बेबिलोन बाइबलको शिक्षाअनुसार चलिरहेको छैन, वास्तवमा एउटा वेश्याले जस्तै आफूलाई बिटुलो पारिरहेको छ भनेर सारा संसारले थाह पाउनु जरुरी थियो! त्यसैले केही हजार सङ्‌ख्यामा भएका बाइबल विद्यार्थीहरूले सन्‌ १९१७ डिसेम्बरदेखि १९१८ को सुरुतिरसम्म “बेबिलोनको पतन” भन्ने पर्चा जोडतोडले एक करोड प्रति वितरण गरे। चर्चजगत्‌माथि कत्ति ठूलो प्रहार! यसले गर्दा पादरीहरू कत्ति विघ्न रिसाए होलान्‌, तपाईं सजिलै अनुमान लगाउन सक्नुहुन्छ। तर बाइबल विद्यार्थीहरूले हार नमानी यस महत्त्वपूर्ण कामलाई निरन्तरता दिइरहे। तिनीहरू “मानिसहरूको भन्दा परमेश्वरको आज्ञा” मान्न कटिबद्ध थिए। (प्रेषि. ५:२९) यसबाट हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? विश्वयुद्धको दौडान ती बाइबल विद्यार्थीहरू महान्‌ बेबिलोनको कैदमा परेनन्‌, बरु तिनीहरू त्यसको प्रभावबाट निस्किरहेका थिए अनि अरूलाई पनि त्यसबाट निस्कन मदत गरिरहेका थिए।

प्रथम विश्वयुद्धको दौडान देखाएको जोस

५. प्रथम विश्वयुद्धको दौडान बाइबल विद्यार्थीहरूले जोसिलो भई प्रचार गरिरहेका थिए भन्ने कस्तो प्रमाण छ?

प्रथम विश्वयुद्धको दौडान यहोवाका सेवकहरू प्रचारकार्यमा जोसिला थिएनन्‌। त्यसैले उहाँ तिनीहरूसित खुसी हुनुहुन्नथियो भनेर पहिला हामीले बुझेका थियौं। यही कारणले गर्दा यहोवाले तिनीहरूलाई केही समयको लागि महान्‌ बेबिलोनको कैदमा पर्न दिनुभयो भन्ने निष्कर्षमा पुग्यौं। तर १९१४-१९१८ तिर विश्वासी भाइबहिनीले प्रचारकार्यप्रतिको जोस सेलाउन नदिन एउटा समूहको रूपमा सक्दो प्रयास गरे। यसलाई समर्थन गर्ने सशक्‍त प्रमाण छ। परमेश्वरका जनहरूको इतिहास राम्ररी केलाउँदा बाइबलमा उल्लेख गरिएका कुनै-कुनै घटनाहरूबारे अझ स्पष्टसँग बुझ्न सकेका छौं।

६, ७. (क) प्रथम विश्वयुद्धको दौडान बाइबल विद्यार्थीहरूले कस्ता चुनौतीहरू सामना गरे? (ख) बाइबल विद्यार्थीहरूले कस्तो जोस देखाए, उदाहरणसहित बताउनुहोस्।

वास्तवमा भन्ने हो भने प्रथम विश्वयुद्धको दौडान (१९१४-१९१८) बाइबल विद्यार्थीहरूले जोडदार ढङ्‌गमा प्रचार गरेका थिए। विभिन्न कारणले गर्दा त्यतिबेला प्रचार गर्नु सजिलो थिएन। तीमध्ये दुइटा कारण विचार गरौं। एउटा कारण, त्यतिबेलाका बाइबल विद्यार्थीहरूले प्रचार गर्ने मुख्य तरिका भनेकै बाइबलआधारित साहित्यहरू वितरण गर्नु थियो। सन्‌ १९१८ को सुरुतिर टुंगिएको रहस्य (अङ्‌ग्रेजी) भन्ने पुस्तकलाई सरकारले प्रतिबन्ध लगाउँदा धेरै बाइबल विद्यार्थीहरूलाई प्रचार गर्न गाह्रो भयो। किनभने तिनीहरूले बाइबल मात्र प्रयोग गरेर प्रचार गर्न सिकिसकेका थिएनन्‌। तिनीहरू टुंगिएको रहस्य भन्ने पुस्तक चलाएर प्रचार गर्थे; भनौं भने, त्यस पुस्तकले नै तिनीहरूको तर्फबाट “बोलिदिन्थ्यो।” दोस्रो कारण, सन्‌ १९१८ मा फैलिएको स्पेनिश फ्लूको महामारी थियो। त्यो डरलाग्दो महामारीले गर्दा बाइबल विद्यार्थीहरूलाई यताउता गएर प्रचार गर्न सजिलो भएन। बाइबल विद्यार्थीहरूले यी र अन्य कारणको बाबजुद एउटा समूहको रूपमा भने प्रचारकार्यमा लागिरहन सक्दो प्रयास गरे।

ती बाइबल विद्यार्थीहरू जोसिला थिए! (अनुच्छेद ६, ७ हेर्नुहोस्)

सन्‌ १९१४ मा मात्रै बाइबल विद्यार्थीहरूको सानो समूहले “सृष्टिसम्बन्धी फोटो-चलचित्र” (अङ्‌ग्रेजी) ९० लाखभन्दा धेरै मानिसहरूलाई देखाए। त्यसलाई चलचित्र भन्न मिल्थ्यो, किनभने चित्रहरूसँगै आवाज पनि मिलाएर देखाइन्थ्यो। त्यसमा मानव इतिहासको सुरुदेखि ख्रीष्टको हजार वर्षीय शासनको अन्तसम्मका दृश्यहरू देखाइएको थियो। यो त्यतिबेलाको ठूलो उपलब्धि थियो। सोच्नुहोस् त, सन्‌ १९१४ मा यो चलचित्र हेर्ने मानिसहरूको सङ्‌ख्या अहिले हाम्रो समयका प्रकाशकहरूको सङ्‌ख्याभन्दा धेरै थियो! यसबाहेक रिपोर्टहरूले देखाएअनुसार सन्‌ १९१६ मा अमेरिकामा मात्रै ८ लाख ९ हजार ३ सय ९३ जना जनसभामा उपस्थित भएका थिए। सन्‌ १९१८ मा त्यो सङ्‌ख्या बढेर ९ लाख ४९ हजार ४ सय ४४ जना पुग्यो। ती बाइबल विद्यार्थीहरू साँच्चै जोसिला थिए!

८. प्रथम विश्वयुद्धको दौडान बाइबल विद्यार्थीहरूको आध्यात्मिक आवश्यकता कसरी पूरा गरियो?

यताउता छरिएका बाइबल विद्यार्थीहरूलाई आध्यात्मिक भोजन र प्रोत्साहन दिन प्रथम विश्वयुद्धको दौडान सक्दो प्रयास गरियो। यस्तो प्रयासले गर्दा बाइबल विद्यार्थीहरूले प्रचारमा लागिरहने बल पाए। सक्रिय भई प्रचारकार्यमा लागेका भाइ रिचर्ड एच. बार्बरले त्यतिबेलाको कुरा सम्झँदै यसो भने: “हामीले केही क्षेत्रीय निरीक्षकहरूलाई विभिन्न ठाउँमा पठाउन सक्यौं। उनीहरू प्रहरीधरहरा (अङ्‌ग्रेजी) पत्रिका साथमा लिएर जान्थे। यसरी हाम्रो पत्रिका क्यानाडामा पुग्न सक्यो, जहाँ हाम्रा पत्रिकाहरूमाथि प्रतिबन्ध लगाइएको थियो। खल्तीमा बोक्न मिल्ने गरी तयार पारिएको टुंगिएको रहस्य पुस्तक थुप्रै साथीहरूसम्म पुऱ्याउने सुअवसर मैले पाएको थिएँ। किनभने त्यो पुस्तक सरकारले जफत गरेको कारण धेरै जनासित थिएन। यस्तो कठिन अवस्थामा परेका बाइबल विद्यार्थीहरूलाई सकेसम्म प्रोत्साहन दिन अमेरिकाको पश्‍चिमी इलाकामा पर्ने केही सहरहरूमा अधिवेशनहरूको आयोजना गर्न र वक्ताहरू पठाउन भाइ रदरफोर्डले हामीलाई आग्रह गर्नुभयो।”

छाँटकाँटको आवश्यकता

९. (क) सन्‌ १९१४ र १९१९ बीच परमेश्वरका जनहरूलाई किन सुधार्नु र अनुशासन दिनु आवश्यक पऱ्यो? (ख) तिनीहरूलाई अनुशासन दिनुको अर्थ के थिएन?

सन्‌ १९१४ देखि १९१९ बीच बाइबल विद्यार्थीहरूले गरेका सबै कुरा बाइबल सिद्धान्तअनुसार थिए भन्न सक्दैनौं। तिनीहरूको मनसाय राम्रो भए तापनि उच्च अख्तियारवालाहरूको अधीनमा बस्नुको अर्थ राम्ररी बुझेका थिएनन्‌। (रोमी १३:१) त्यसैले तिनीहरू समूहको रूपमा युद्धको मामिलामा सधैं तटस्थ रहन सकेनन्‌। उदाहरणको लागि, अमेरिकाको राष्ट्रपतिले सन्‌ १९१८ मे ३० लाई शान्तिको लागि प्रार्थना गर्ने दिनको रूपमा छुट्टयाउने घोषणा गरे। प्रहरीधरहरा-ले बाइबल विद्यार्थीहरूलाई त्यस प्रार्थनामा सामेल हुन आग्रह गऱ्यो। केही भाइहरूले युद्धलाई समर्थन गर्न आर्थिक सहयोगसमेत गरे। कतिपय भाइहरू बन्दुक बोकेर युद्धमा गए। त्यतिबेला ती बाइबल विद्यार्थीहरूलाई सुधार्नु र अनुशासन दिनु आवश्यक पऱ्यो। तैपनि यही कारणले गर्दा तिनीहरू महान्‌ बेबिलोनको कैदमा परे भन्न चाहिं मिल्दैन। किनभने झूटो धर्मबाट अलग बस्नुपर्छ भनेर तिनीहरूले बुझिसकेका थिए। अनि प्रथम विश्वयुद्धको दौडान झूटो धर्मको विश्वसाम्राज्य महान्‌ बेबिलोनबाट तिनीहरू लगभग निस्किसकेका थिए।—लूका १२:४७, ४८ पढ्‌नुहोस्।

१०. बाइबल विद्यार्थीहरूले जीवनको पवित्रतासम्बन्धी कस्तो दृढ अडान लिए?

१० ख्रीष्टियन तटस्थतामा के-के मुछिएको छ भनेर आज हामीले जे-जति बुझेका छौं, त्यतिबेलाका बाइबल विद्यार्थीहरूले बुझेका थिएनन्‌। तैपनि बाइबलले मानिसहरूको हत्या गर्न निषेध गरेको छ भनेर तिनीहरूले स्पष्टसित बुझेका थिए। त्यसैले प्रथम विश्वयुद्धको दौडान केही भाइहरू बन्दुक बोकेर युद्धभूमिमा गए तापनि अरूलाई मार्न हतियार उठाउन भने राजी भएनन्‌। अरूको हत्या गर्न इन्कार गर्नेहरू मारियोस् भनेर कोही-कोहीलाई युद्धको अग्रपङ्‌क्तिमा खटाइयो।

११. बाइबल विद्यार्थीहरूले युद्धको मामिलामा लिएको अडानप्रति सरकारी अख्तियारवालाहरूले कस्तो प्रतिक्रिया देखाए?

११ हुन त त्यतिबेला भाइहरू युद्धको मामिलामा पूर्णतया तटस्थ रहेका थिएनन्‌। तर उनीहरूले लिएको अडान देखेर दियाबल रिसले चूर भयो। त्यसकारण त्यसले “नियमद्वारा अधर्म” रच्यो। (भज. ९४:२०) अमेरिकी सेनाका मेजर-जर्नेल जेम्स फ्रान्कलिन बेलले युद्धमा हतियार उठाउन इन्कार गर्नेहरूलाई मृत्युदण्ड दिने नियम पारित गर्न खोजेको कुरा भाइ जोसेफ एफ. रदरफोर्ड र डब्लु. ई. भान एमबर्गसितको कुराकानीमा तिनले बताएका थिए। यी मेजर-जर्नेल खास गरी बाइबल विद्यार्थीहरूलाई मृत्युदण्ड दिन चाहन्थे। रिसले मुरमुरिंदै जर्नेल बेलले भाइ रदरफोर्डलाई यसो भने: “[अमेरिकाको राष्ट्रपति] विल्सनले रोकेकोले मात्रै यो नियम पारित भएन। तिमीहरूलाई के गर्नुपर्छ, हामीलाई राम्ररी थाह छ। त्यसैले जसरी भए पनि दण्ड दिएरै छाड्‌नेछौं!”

१२, १३. (क) आठ जना जिम्मेवार भाइहरूलाई किन लामो जेल सजाय सुनाइयो? (ख) के जेलमा परेपछि ती भाइहरूले यहोवाप्रतिको निष्ठा तोडे? व्याख्या गर्नुहोस्।

१२ अख्तियारवालाहरूले त्यस धम्कीअनुसारै कदम चाले। वाच टावर सोसाइटीका प्रतिनिधिहरू भाइ रदरफोर्ड र भान एमबर्गलगायत अरू छ जनालाई गिरफ्तार गरियो। तिनीहरूको मुद्दा हेरिरहेका न्यायाधीशले यस्तो सजाय सुनाए: “यिनीहरूले फैलाइरहेको धार्मिक अफवाह जर्मन सेनाको एउटा टुकडीभन्दा पनि खतरनाक छ। . . . यिनीहरूले सरकार अनि सेनाको मात्र होइन, सम्पूर्ण चर्चविरुद्ध प्रश्न उठाएको छ। त्यसैले यिनीहरूलाई कडाभन्दा कडा दण्ड दिनुपर्छ।” (ए. एच. म्याकमिलनद्वारा लिखित पुस्तक, फेथ अन द मार्च, पृष्ठ ९९) तिनीहरूलाई साँच्चै कडा दण्ड दिइयो। ती आठ जना बाइबल विद्यार्थीहरूलाई लामो जेल सजाय सुनाइयो र जर्जियाको एटलान्टास्थित सरकारी सुधारगृह पठाइयो। तर युद्ध अन्त भएपछि तिनीहरू जेलमुक्त भए र सबै आरोप फिर्ता लिइयो।

१३ ती आठ जना भाइ जेलमा छँदा पनि बाइबलबाट आफूले जति बुझेका थिए, त्यसअनुसार निष्ठावान्‌ रहिरहे। तिनीहरूले अमेरिकाको राष्ट्रपतिलाई आफ्नो सजाय कम गरी पाऊँ भनी बिन्ती गर्दै यस्तो पत्र लेखे: “धर्मशास्त्रअनुसार प्रभुको इच्छा यस्तो छ, ‘तैंले हत्या नगर्नू।’ त्यसैकारण प्रभुमा समर्पित [अन्तरराष्ट्रिय बाइबल स्टुडेन्टस्का] कोही पनि सदस्यले जानीबुझी परमेश्वरको आज्ञा उल्लङ्‌घन गर्नेछैन। किनभने त्यसो गऱ्यो भने उहाँको अनुमोदन गुमाउनुपर्नेछ र नाशसमेत हुनुपर्नेछ। त्यसैले त्यसका सदस्यहरू जानीबुझी अरूको हत्या गर्नेछैनन्‌।” राष्ट्रपतिलाई यस्तो पत्र लेख्न तिनीहरूले साँच्चै ठूलो साहस देखाए! स्पष्ट छ, तिनीहरू कुनै पनि हालतमा सम्झौता गर्न चाहँदैन थिए।

बल्ल स्वतन्त्र भए!

१४. सन्‌ १९१४ देखि १९१९ बीच के भयो, बाइबलबाट व्याख्या गर्नुहोस्।

१४ मलाकी ३:१-३ मा “लेवीका सन्तान” अर्थात्‌ अभिषिक्त जनहरूलाई शुद्ध पारिने समयबारे बताइएको छ। (पढ्‌नुहोस्) त्यो सन्‌ १९१४ देखि १९१९ को सुरुतिरको समय हो। त्यतिबेला यहोवा र “करारका ती दूत” अर्थात्‌ येशू ख्रीष्ट आध्यात्मिक मन्दिरमा सेवा गरिरहेकाहरूको जाँच गर्न आउनुभयो। तिनीहरूलाई आवश्यक अनुशासन दिएर स्वच्छ पारेपछि तिनीहरू नयाँ जिम्मेवारी वहन गर्न तयार भए। सन्‌ १९१९ मा आफ्नो घरका अरू दासहरूलाई आध्यात्मिक भोजन दिन “विश्वासी र बुद्धिमान्‌ दास” नियुक्त गरियो। (मत्ती २४:४५) अब भने परमेश्वरका जनहरू महान्‌ बेबिलोनको कैदबाट साँच्चै मुक्त भए! त्यस समयदेखि यहोवाको असीम अनुग्रहले गर्दा परमेश्वरका जनहरूले उहाँबारे धेरै ज्ञान लिइरहेका छन्‌ अनि स्वर्गमा बस्नुहुने बुबासँग घनिष्ठ हुन सकेका छन्‌। यहोवाले दिनुभएको यस्तो आशिष्‌को लागि तिनीहरू साँच्चै कृतज्ञ छन्‌! [१]

१५. महान्‌ बेबिलोनको कैदबाट छुटकारा पाएकोमा कृतज्ञ छौं भनी हामी कसरी देखाउन सक्छौं?

१५ महान्‌ बेबिलोनको कैदबाट छुटकारा पाएकोमा हामी साँच्चै कृतज्ञ छौं! साँचो ख्रीष्टियन धर्मलाई पृथ्वीबाट नामेट पार्ने सैतानको प्रयास पूर्णतया विफल भएको छ। तर यहोवाले हामीलाई स्वतन्त्र पार्नुको उद्देश्य बिर्सनु हुँदैन। (२ कोरि. ६:१) लाखौं सोझा मानिसहरू अहिले पनि झूटो धर्मको कैदमा छन्‌। त्यसबाट निस्केर आउन हामीले तिनीहरूलाई मदत गर्नुपर्छ। हामी तिनीहरूलाई बाटो देखाइदिन सक्छौं। त्यसकारण आउनुहोस्, विगतका दाजुभाइ दिदीबहिनीले झैं मानिसहरूलाई झूटो धर्मको कैदबाट निस्केर आउन सक्दो मदत गरिरहौं!

^ [१] (अनुच्छेद १४) यहूदीहरू ७० वर्षसम्म बेबिलोनको कैदमा परेको घटना र धर्मत्याग सुरु भएपछि ख्रीष्टियनहरूमाथि आइपरेका कुराहरूबीच थुप्रै समानता छन्‌। तर यहूदीहरू कैदमा परेको घटना ख्रीष्टियनहरूमाथि आइपरेका कुराहरूको भविष्यसूचक सङ्‌केत थिएन। जस्तै: एउटा भिन्नता भनेको कैदको समयावधि हो। यहूदीहरू कैदमा पर्दाको प्रत्येक घटना, सन्‌ १९१९ अघिका वर्षहरूमा ख्रीष्टियनहरूले भोगेका कुराहरूको भविष्यसूचक सङ्‌केत थियो भनेर केलाइरहनु आवश्यक छैन।