सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आदर गर्नुपर्नेलाई आदर गर्नुहोस्

आदर गर्नुपर्नेलाई आदर गर्नुहोस्

“प्रशंसा, आदर, महिमा र पराक्रम सदासर्वदा सिंहासनमा बस्नुहुने र थुमाकै होस्।”—प्रका. ५:१३.

गीत: ९, १०८

१. केही मानिस किन अरूबाट आदर पाउन योग्य हुन्छन्‌? यस लेखमा हामी कुन कुरा छलफल गर्नेछौं?

आदर गर्नु भनेको कसैको सम्मान वा कदर गर्नु हो। कसैले आदर पाउन लायकको केही काम गरेको छ वा उसले कुनै विशेष ओहदामा सेवा गरिरहेको छ भने हामी त्यस्तो व्यक्तिलाई सम्मान गर्छौं। यस लेखमा हामीले कसको आदर गर्नुपर्छ अनि त्यसो गर्नु किन उचित हो, त्यसबारे छलफल गर्नेछौं।

२, ३. (क) यहोवा किन विशेष आदर पाउन योग्यको हुनुहुन्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्) (ख) प्रकाश ५:१३ मा बताइएको थुमा को हुनुहुन्छ अनि उहाँ किन आदरको योग्य हुनुहुन्छ?

प्रकाश ५:१३ ले बताएअनुसार “सिंहासनमा बस्नुहुने र थुमा” आदर पाउन साँच्चै योग्य हुनुहुन्छ। प्रकाशको किताबको अध्याय ४ मा यहोवा किन आदर पाउन योग्य हुनुहुन्छ भनेर एउटा कारण बताइएको छ। स्वर्गीय जनहरू ठूलो स्वरले कराउँदै “सदासर्वदा जीवित रहनुहुने” यहोवाको प्रशंसा गर्छन्‌। तिनीहरू यसरी जयजयकार गर्छन्‌: “हे यहोवा हाम्रा परमेश्वर, तपाईं महिमा, आदर अनि शक्ति ग्रहण गर्न योग्य हुनुहुन्छ, किनकि तपाईंले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”—प्रका. ४:९-११.

थुमा भनेको येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ “परमेश्वरको थुमा” हुनुहुन्छ, “जसले संसारको पाप हटाउनुहुन्छ!” (यूह. १:२९) उहाँ अहिलेसम्मका सबै मानिस र राजाहरूभन्दा उत्कृष्ट हुनुहुन्छ भनी बाइबल बताउँछ। बाइबलमा यसो भनिएको छ: “हाम्रा प्रभु येशू ख्रीष्ट . . . धन्य र एक मात्र अधिराज अनि राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु हुनुहुन्छ, जससित मात्र अमरता छ, जो कोही पुग्न नसक्ने ज्योतिमा बास गर्नुहुन्छ अनि जसलाई कुनै मानिसले देखेको छैन र देख्न पनि सक्दैन।” (१ तिमो. ६:१४-१६) हाम्रा पापहरूको लागि फिरौतीको बलिदान दिन समेत तयार हुने राजा आजसम्म अरू कोही छ र? यो कुरा विचार गर्दा तपाईं पनि स्वर्गका लाखौं-लाख स्वर्गदूतसित चर्को सोरमा यसो भन्न जुरमुरिनुहुनेछ: “थुमा, जो काटिनुभएको थियो, उहाँ शक्ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा पाउन योग्य हुनुहुन्छ।”—प्रका. ५:१२.

४. हामीले यहोवा परमेश्वर र येशू ख्रीष्टको किन आदर गर्नै पर्छ?

हामीले यहोवा परमेश्वर र येशू ख्रीष्टको आदर गर्नै पर्छ, यसको कुनै विकल्प छैन। उहाँहरूको आदर गर्नुमा हाम्रो अनन्त जीवन निर्भर छ। यो कुरालाई यूहन्ना ५:२२, २३ मा येशूले भन्नुभएका यी शब्दहरूले स्पष्ट पार्छ: “बुबाले कसैको पनि न्याय गर्नुहुन्न तर न्याय गर्ने सम्पूर्ण जिम्मा उहाँले छोरालाई सुम्पनुभएको छ, ताकि सबैले बुबाको जस्तै छोराको पनि आदर गरून्‌। छोराको आदर नगर्नेले उसलाई पठाउनुहुने बुबाको पनि आदर गर्दैन।”भजन २:११, १२ पढ्‌नुहोस्।

५. हामीले मानिसहरूलाई किन केही हदसम्म आदर गर्नुपर्छ?

मानिसहरू ‘परमेश्वरको स्वरूपमा’ सृष्टि गरिएका थिए। (उत्प. १:२७) त्यसैले प्रायजसो मानिसले धेरै होस् वा थोरै, परमेश्वरका गुणहरू देखाउँछन्‌। मानिससित अरूलाई दयामाया गर्ने र कृपा देखाउने क्षमता छ। हामीलाई अन्तस्करणसहित सृष्टि गरिएको थियो। हुन त हाम्रो अन्तस्करणले कहिलेकाहीं गलत वा टेढोमेढो आवाज दिन सक्छ। तैपनि हामी सही-गलत, इमान-बेइमान र उचित-अनुचित छुट्टयाउन सक्छौं। (रोमी २:१४, १५) धेरैजसो मानिसलाई सफा अनि सुन्दर कुराहरू मन पर्छ। मानिसहरू साधारणतया अरूसित मिलेर बस्न रुचाउँछन्‌। मानिसहरूले याद गरेका होऊन्‌ या नहोऊन्‌, तिनीहरूले केही हदसम्म यहोवाको महिमा झल्काइरहेका हुन्छन्‌। यसकारण मानिसहरू केही हदसम्म आदर पाउन योग्य छन्‌।—भज. ८:५.

उचित तरिकामा अरूको आदर गर्नुहोस्

६, ७. आदर गर्ने सन्दर्भमा यहोवाका साक्षीहरूको दृष्टिकोण किन धेरैजसो मानिसको भन्दा फरक छ?

अरूलाई कस्तो प्रकारको आदर गर्नु उचित होइन अनि कुन हदसम्म आदर गर्नुपर्छ भनेर बुझ्नु आवश्यक छ। धेरैजसो त्रुटिपूर्ण मानिसलाई सैतानको संसारको मनोभावले निकै असर गरेको छ। त्यसकारण मानिसहरू केही खास पुरुष वा स्त्रीलाई उचित आदर र सम्मान मात्र दिए पुग्ने ठाउँमा तिनीहरूलाई भगवान्‌जस्तै ठान्छन्‌। तिनीहरू धार्मिक र राजनैतिक नेता, खेलाडी, कलाकार अनि अन्य नाम चलेका व्यक्तिहरूलाई अचाक्ली आदर गर्छन्‌ र देवीदेवतालाई जस्तो व्यवहार गर्छन्‌। यस्ता व्यक्तिहरूलाई युवादेखि वृद्ध सबैले आफ्नो आदर्श मान्छन्‌ अनि उनीहरूको हाउभाउ, पहिरन र आनीबानीको नक्कल गर्छन्‌।

अरूलाई आदर गर्ने सन्दर्भमा साँचो ख्रीष्टियनहरू यस्तो टेढोमेढो सोचाइ राख्दैनन्‌। हाम्रो एक मात्र आदर्श येशू ख्रीष्ट हुनुहुन्छ। (१ पत्रु. २:२१) हामीले मानिसहरूलाई जति आदर गर्नुपर्ने हो, त्यो भन्दा बढ्‌ता गऱ्यौं भने परमेश्वर खुसी हुनुहुनेछैन। हामी यो आधारभूत सत्य कहिल्यै नबिर्सौं: “सबैले पाप गरेका छन्‌ अनि परमेश्वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छन्‌।” (रोमी ३:२३) हामीले कुनै पनि मानिसलाई उपासना गर्ने हदसम्म आदर गर्नु उचित होइन।

८, ९. (क) सरकारी हाकिमहरूप्रति यहोवाका साक्षीहरू कस्तो दृष्टिकोण राख्छन्‌? (ख) सरकारी हाकिमहरूलाई कुन हदसम्म समर्थन गर्नु उचित होइन?

केही मानिस ठूलो ओहदामा बसेर काम गर्छन्‌। ती सरकारी हाकिमहरू देशमा शान्ति र सुव्यवस्था कायम गर्छन्‌ अनि आफ्ना जनताको हेरचाह गर्छन्‌। यसले गर्दा सबैको हित हुन्छ। त्यसैकारण प्रेषित पावलले ती सरकारी हाकिमहरूलाई हामीले “उच्च अख्तियारवालाहरू” ठान्नुपर्छ र तिनीहरूको अधीनमा बस्नुपर्छ भने। पावलले यस्तो सल्लाह दिए: “तिनीहरूलाई तिर्नुपर्ने सबै कुरा तिर; कर तिर्नुपर्नेलाई कर, . . . आदर गर्नुपर्नेलाई आदर गर।”—रोमी १३:१, ७.

यहोवाका साक्षीहरू खुसीसाथ उच्च अख्तियारवालाहरूलाई आदर गर्छन्‌। देशअनुसार चलन फरक हुने भएकोले अख्तियारवालाहरूले हामीबाट आशा गर्ने कुरा पनि फरक हुन्छ। तैपनि तिनीहरूको अधीनमा बस्दा तिनीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न सजिलो हुन्छ। तर तिनीहरूलाई कुन हदसम्म आदर र समर्थन गर्ने भनेर बाइबलले एउटा सीमा तोकेको छ। हामी परमेश्वरको आज्ञा उल्लङ्‌घन गर्ने वा ख्रीष्टियन तटस्थता तोड्‌ने हदसम्म पुग्नेगरि अख्तियारवालाहरूलाई समर्थन गर्दैनौं।१ पत्रुस २:१३-१७ पढ्‌नुहोस्।

१०. सरकार र उच्च अख्तियारवालाहरूलाई कुन हदसम्म आदर गर्नुपर्छ भनेर विगतमा यहोवाका सेवकहरूले कस्तो उदाहरण बसाले?

१० सरकार र उच्च अख्तियारवालाहरूलाई कुन हदसम्म आदर गर्नुपर्छ भनेर विगतमा यहोवाका सेवकहरूले राम्रो उदाहरण बसालेका छन्‌। रोमी सरकारले मानिसहरूलाई जनगणनामा भाग लिन उर्दी जाहेर गर्दा यूसुफ र मरियमले त्यो आज्ञा पालन गरे। त्यतिबेला मरियम दुई जीउकी थिइन्‌ र उनको पहिलो सन्तान जन्मने दिन नजिकै थियो। तैपनि तिनीहरू नाम दर्ता गराउन बेतलेहेमसम्म गए। (लूका २:१-५) अर्को उदाहरण पावलको हो। तिनलाई गलत अभियोग लगाइँदा तिनले आदरपूर्वक आफ्नो सफाइ पेस गरे अनि राजा हेरोद अग्रिपालाई र पछि फेस्तस, जो रोमको यहूदा प्रान्तका राज्यपाल थिए, तिनलाई उचित आदर देखाए।—प्रेषि. २५:१-१२; २६:१-३.

११, १२. (क) हामी किन धर्मगुरुहरूलाई विशेष आदर गर्दैनौं? (ख) अस्ट्रियाका साक्षीले एक जना राजनीतिज्ञलाई आदर देखाउँदा कस्तो राम्रो नतिजा निस्क्यो?

११ धर्मगुरुहरूलाई आफू विशेष आदर पाउन योग्य छु जस्तो लाग्छ होला। तर यहोवाका साक्षीहरूले तिनीहरूलाई त्यस्तो आदर दिंदैनन्‌। तिनीहरू परमेश्वरबारे सत्य कुरा सिकाउँदैनन्‌ अनि उहाँको वचनमा पाइने शिक्षालाई बङ्‌ग्याउँछन्‌। त्यसैले हामी तिनीहरूलाई विशेष आदर गर्दैनौं बरु अरू साधारण मानिसलाई जस्तै आदर गर्छौं। हामीलाई थाह छ, येशूले आफ्नो समयका धर्मगुरुहरूलाई कपटी र अन्धा अगुवा भनेर हप्काउनुभएको थियो। (मत्ती २३:२३, २४) तर अर्कोतर्फ, सरकारी हाकिमहरूलाई दिनुपर्ने आदर र सम्मान दिंदा कहिलेकाहीं राम्रो नतिजा निस्केको छ। त्यस्तो नतिजा आउला भनेर हामीले आशासमेत गरेका थिएनौं होला।

१२ लेयपोल्ट इङ्‌गलाइट्‌नर अस्ट्रियाका जोसिला साक्षी थिए। तिनलाई नाजी सिपाहीहरूले गिरफ्तार गरेर बुखेनवाल्ड यातना शिविर लैजाने रेलमा राखेका थिए। त्यही रेलमा अर्का कैदी डा. हेनरिख ग्लाइस्नर पनि थिए। उनी अस्ट्रियाका राजनीतिज्ञ थिए। तर तिनलाई नाजी सेनाले मन पराउँदैनथ्यो। यातना शिविरमा जाँदै गर्दा भाइ इङ्‌गलाइट्‌नरले ग्लाइस्नरलाई आफ्नो धार्मिक आस्थाबारे आदरपूर्वक बताए। ग्लाइस्नरले पनि ध्यान दिएर सुने। दोस्रो विश्वयुद्धपछि ग्लाइस्नरले अस्ट्रियाका साक्षीहरूलाई पटक-पटक मदत गरे किनभने त्यतिबेला तिनी उच्च ओहदामा थिए। साक्षीहरूले सरकारी हाकिमहरूप्रति उचित आदर देखाउँदा अर्थात्‌ बाइबलले भनेझैं आदर गर्नुपर्नेलाई आदर गर्दा राम्रो नतिजा निस्केको कतिपय उदाहरण तपाईंलाई पनि थाह छ होला।

आदर पाउन योग्य अरू व्यक्तिहरू

१३. आदर र सम्मान पाउन विशेषगरि को योग्य छन्‌ र किन?

१३ एउटै विश्वासमा भएका दाजुभाइ दिदीबहिनी पनि हाम्रो आदर र सम्मान पाउन योग्य छन्‌। विशेषगरि नेतृत्व लिइरहेका एल्डरहरू। (१ तिमोथी ५:१७ पढ्‌नुहोस्) यी एल्डरहरूको राष्ट्रियता, शैक्षिक स्तर, सामाजिक ओहदा वा आर्थिक अवस्था जस्तोसुकै भए तापनि हामी तिनीहरूको आदर गर्छौं। बाइबलमा तिनीहरूलाई “वरदानको रूपमा पुरुषहरू” भनिएको छ। अनि आफ्ना जनहरूको हेरचाह गर्न परमेश्वरले गर्नुभएको प्रबन्धमा एल्डरहरू प्रमुख भूमिका खेल्छन्‌। (एफि. ४:८) मण्डलीका एल्डर, क्षेत्रीय निरीक्षक, शाखा समितिका सदस्य र परिचालक निकायका सदस्यहरूलाई विचार गर्नुहोस्। प्रथम शताब्दीका ख्रीष्टियनहरू नेतृत्व लिन नियुक्त गरिएका पुरुषहरूको अत्यन्तै कदर गर्थे। हामी पनि त्यस्तै कदर गर्छौं। ख्रीष्टियन मण्डलीहरूमा नाम चलेका प्रतिनिधिहरूलाई अति-विशिष्ट व्यक्ति वा स्वर्गदूतहरूजस्तो ठानेर तिनीहरूलाई अचाक्ली मान गर्दैनौं। बरु उचित आदर गर्छौं किनभने तिनीहरू नम्र छन्‌ र कडा मेहनत गर्छन्‌।२ कोरिन्थी १:२४; प्रकाश १९:१० पढ्‌नुहोस्।

१४, १५. साँचो ख्रीष्टियन गोठालाहरू र धर्मगुरुहरूबीच कस्तो भिन्नता छ?

१४ यी एल्डरहरू नम्र गोठालाहरूजस्तै हुन्‌। तिनीहरू नम्र भएकोले गर्दा आफूलाई ख्यातिप्राप्त व्यक्तिलाई जस्तो व्यवहार गरेको चाहँदैनन्‌। अहिलेका र प्रथम शताब्दीका धर्मगुरुहरूभन्दा कत्ति भिन्न! येशूले आफ्नो समयका धर्मगुरुहरूबारे यसो भन्नुभयो: “तिनीहरू रात्रि-भोजहरूमा मुख्य-मुख्य आसन खोज्छन्‌, सभाघरहरूमा सबैभन्दा अगाडि बस्न रुचाउँछन्‌, बजारहरूमा विशेष अभिवादन चाहन्छन्‌।”—मत्ती २३:६, ७.

१५ साँचो ख्रीष्टियन गोठालाहरू नम्र भई येशूको यो आज्ञा पालन गर्छन्‌: “तिमीहरू भने आफूलाई रब्बी भन्न नलगाओ, किनकि तिमीहरूको गुरु एकै जना हुनुहुन्छ र तिमीहरूचाहिं सबै दाजुभाइ हौ। साथै, तिमीहरू पृथ्वीमा कसैलाई पिता नभन, किनकि तिमीहरूका पिता एकै जना हुनुहुन्छ, जो स्वर्गमा बस्नुहुन्छ। न त कसैले तिमीहरूलाई ‘नेता’ भनोस्, किनकि तिमीहरूका नेता एकै जना हुनुहुन्छ, जो ख्रीष्ट हुनुहुन्छ। तर तिमीहरूमाझ जो सबैभन्दा ठूलो हो, ऊ तिमीहरूको सेवक बनोस्। जसले आफूलाई उचाल्छ, ऊ होच्याइनेछ अनि जसले आफूलाई होच्याउँछ, ऊ उचालिनेछ।” (मत्ती २३:८-१२) त्यसैले संसारभरिका दाजुभाइ दिदीबहिनीले एल्डरहरूलाई माया, आदर र सम्मान गर्नुको कारण हामी बुझ्न सक्छौं।

एल्डरहरूले नम्र भई सेवा गर्दा अरूबाट माया, आदर र सम्मान पाउँछन्‌ (अनुच्छेद १३-१५ हेर्नुहोस्)

१६. आदर देखाउने सन्दर्भमा बाइबलको सल्लाह राम्ररी बुझ्न र त्यो लागू गर्न हामीले किन प्रयास गरिरहनुपर्छ?

१६ हुन त हो, कसलाई आदर देखाउने अनि कसरी उचित आदर देखाउने भनेर राम्ररी बुझ्न समय लाग्न सक्छ। सुरु-सुरुका ख्रीष्टियनहरूलाई पनि यस्तै भएको थियो। (प्रेषि. १०:२२-२६; ३ यूह. ९, १०) तर आदर गर्ने सन्दर्भमा बाइबलको सल्लाह पालन गर्न हामी जे-जति प्रयास गर्छौं, त्यो खेर जानेछैन। परमेश्वरले चाहनुहुने तरिकामा आदर देखाउँदा हामी थुप्रै फाइदा उठाउन सक्छौं।

उचित तरिकामा आदर देखाउनुका फाइदाहरू

१७. उच्च ओहदामा भएका व्यक्तिहरूलाई आदर देखाउनुका केही फाइदा के हुन्‌?

१७ सरकारी उच्च ओहदामा भएका व्यक्तिहरूलाई आदर र सम्मान देखाउँदा तिनीहरूले हाम्रो पक्षमा बोलिदिने सम्भावना धेरै हुन्छ। यसले गर्दा प्रचार गर्ने हाम्रो अधिकारको सुरक्षा हुन्छ। साथै तिनीहरूले हाम्रो गतिविधिलाई सकारात्मक दृष्टिकोणले हेर्न सक्छन्‌। केही वर्षअघि जर्मनीकी एउटी अग्रगामी बहिनी बर्जिट आफ्नी छोरीको स्कुलको वार्षिक कार्यक्रममा गएकी थिइन्‌। साक्षी केटाकेटीलाई केही वर्ष पढाउन पाएकोमा शिक्षकहरूले खुसी व्यक्त गरे। आफ्नो स्कुलमा एक जना पनि साक्षी केटाकेटी भएन भने त साह्रै नमज्जा हुनेछ भने। बर्जिटले भनिन्‌: “राम्रो आचरण देखाउने सन्दर्भमा हामीले आफ्नो छोराछोरीलाई परमेश्वरको स्तर पालन गर्न सिकाएका छौं। त्यसैले तिनीहरू शिक्षकहरूको आदर र सम्मान गर्छन्‌।” एउटी शिक्षिकाले भनिन्‌: “स्कुलका सबै केटाकेटी तपाईंहरूका छोराछोरीजस्तै भइदिए त कस्तो सजिलो हुन्थ्यो!” त्यसको केही हप्तापछि एक जना शिक्षिका लिपजिग सहरमा आयोजना गरिएको अधिवेशनमा आइन्‌।

१८, १९. एल्डरहरूलाई उचित आदर देखाउँदा हामीले कुन कुरा बिर्सनु हुँदैन?

१८ मण्डलीका एल्डरहरूलाई कसरी उचित आदर देखाउने भन्ने सन्दर्भमा परमेश्वरको वचनमा भरपर्दो अनि बुद्धिमानी डोऱ्याइ पाउन सक्छौं। (हिब्रू १३:७, १७ पढ्‌नुहोस्) एल्डरहरूले गर्ने कडा मेहनतको लागि हामी तिनीहरूको प्रशंसा गर्न सक्छौं र त्यसो गर्नु पनि पर्छ। अनि तिनीहरूले दिने निर्देशनहरू पालन गर्न कोसिस गर्नुपर्छ। यसो गऱ्यौं भने तिनीहरूले खुसीसाथ आफ्नो जिम्मेवारी पूरा गरिरहन सक्नेछन्‌। तर यसको मतलब प्रभावशाली ठानिने कुनै एल्डरको पहिरन, कोरीबाटी, भाषण दिने शैली वा कुराकानी गर्ने तरिकासमेत नक्कल गर्नुपर्छ भनेको होइन। त्यसरी नक्कल गऱ्यौं भने हामीले ख्रीष्टको होइन, मानिसको अनुकरण गरिरहेका हुन्छौं। ती एल्डर पनि त्रुटिपूर्ण व्यक्ति हुन्‌ भनेर हामीले बिर्सनु हुँदैन। हामी सबैले अनुकरण गर्नुपर्ने व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ।

१९ हामी एल्डरहरूलाई ख्यातिप्राप्त व्यक्तिलाई जस्तो व्यवहार गर्नुको साटो उचित आदर र सम्मान गर्छौं। यस्तो व्यवहार गर्दा तिनीहरू घमन्डको सिकार हुनदेखि जोगिन सक्छन्‌। साथै तिनीहरूले आफूलाई अरूभन्दा श्रेष्ठ नठान्न वा आफ्नो स्तर अरूमाथि नलाद्‌न मदत पाउँछन्‌।

२०. अरूलाई आदर गर्दा हामीलाई कस्तो फाइदा हुन्छ?

२० आदर गर्नुपर्नेलाई आदर गर्दा हामी आफै पनि स्वार्थी हुनदेखि जोगिन्छौं। अरूले हामीलाई आदर गर्दा आफूलाई अत्यन्तै ठूलो ठान्नेछैनौं। साथै यहोवाको सङ्‌गठनसँगसँगै अघि बढ्‌न मदत पाउँछौं। किनभने यहोवाको सङ्‌गठनले कुनै पनि मानिसलाई अचाक्ली वा अनुचित आदर देखाउँदैन, चाहे तिनीहरू साक्षी होऊन्‌ या नहोऊन्‌। साथै अरूलाई उचित आदर गर्नु बुद्धिमानी हो किनभने हामीले आदर गर्ने व्यक्तिले हामीलाई निरुत्साहित बनाउने कुनै काम गऱ्यो भने पनि हामी ठेस खानेछैनौं।

२१. आदर गर्नुपर्नेलाई आदर गर्दा हुने सबैभन्दा ठूलो फाइदा के हो?

२१ आदर गर्नुपर्नेलाई आदर गर्दा हुने सबैभन्दा ठूलो फाइदा भनेको हामीले परमेश्वरलाई खुसी बनाइरहेका हुन्छौं। उहाँले चाहनुहुने तरिकामा व्यवहार गरिरहेका हुन्छौं र उहाँप्रति निष्ठावान्‌ भइरहेका हुन्छौं। यसो गऱ्यौं भने यहोवाको आलोचना गर्न खोज्नेहरूलाई उहाँले मुखभरिको जवाफ दिन सक्नुहुनेछ। (हितो. २७:११) अरूलाई आदर गर्ने सन्दर्भमा संसारका धेरैजसो मानिसको दृष्टिकोण टेढोमेढो छ। तर हामीले भने यहोवाले चाहनुहुने तरिकामा अरूलाई आदर गर्न सिकेका छौं। यसको लागि हामी उहाँप्रति साँच्चै कृतज्ञ छौं!