सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो लागि लेखिएका कुराहरूमा के तपाईंले आफ्नो मन लगाउनुहुनेछ?

हाम्रो लागि लेखिएका कुराहरूमा के तपाईंले आफ्नो मन लगाउनुहुनेछ?

“यस युगको अन्तमा बाँचिरहेका हामीहरूकै चेतावनीको निम्ति ती लेखिए।”—१ कोरि. १०:११.

गीत: ११, ६१

१, २. हामी किन यहूदाका चार जना राजाको उदाहरण छलफल गर्नेछौं?

तपाईंको अघिअघि हिंडिरहेको मानिस चिप्लिएर लडेको देख्नुभयो भने के तपाईं होसियार भएर हिंड्‌नुहुन्न र? अरूको गल्तीलाई विचार गऱ्यौं भने हामी त्यही गल्ती नदोहोऱ्याउन होसियार हुनेछौं। परमेश्वरको सेवा गर्ने सन्दर्भमा पनि कुरा त्यही हो। अरू मानिस र बाइबलमा उल्लेख गरिएका व्यक्तिहरूको गल्तीबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं।

अघिल्लो लेखमा छलफल गरिएका चार जना राजाले सारा हृदयले यहोवाको सेवा गरे। तर तिनीहरूले गम्भीर गल्तीहरू गरे। तिनीहरूको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौं? तिनीहरूको जस्तै गल्ती नदोहोऱ्याउन के गर्न सक्छौं? यी उदाहरणहरूबारे मनन गऱ्यौं भने हाम्रो शिक्षाको लागि लेखिएका कुराहरूबाट हामीले लाभ उठाउन सक्नेछौं।रोमी १५:४ पढ्‌नुहोस्।

मानव बुद्धिमा भर पर्दा विपद्‌ आइपर्छ

३-५. (क) आसाले सारा हृदयले यहोवाको सेवा गरे तापनि कस्तो गल्ती गरे? (ख) बाशा यहूदामाथि आक्रमण गर्न आउँदा आसा किन मानिसमा भर परेका हुन सक्छन्‌?

सर्वप्रथम आसाको उदाहरण विचार गरौं अनि परमेश्वरको वचनले हाम्रो जीवनमा कस्तो प्रभाव पार्छ, हेरौं। यहूदामाथि आक्रमण गर्न दस लाख कुशी सिपाही आउँदा आसाले यहोवामा भरोसा राखे। तर पछि इस्राएलका राजा बाशाले आसाको राज्यको सीमावर्ती सहर रामालाई मजबुत बनाउन थाल्दा आसा यहोवामाथि भरोसा राख्न चुके। (२ इति. १६:१-३) यस पटक आसा आफ्नै बुद्धिमा भर परे अनि बाशामाथि आक्रमण गर्न अरामका राजा बेन-हददलाई घुस दिए। के आसाको रणनीति सफल भयो? बाइबल यसो भन्छ: “जब बाशाले यो कुरा सुने तब तिनले रामालाई मजबूत बनाउन छोडिदिए। औ त्यसमा गरिराखेका सबै काम बन्द गरिदिए।” (२ इति. १६:५) झट्ट हेर्दा आसाको रणनीति सफल भए जस्तो देखिन्थ्यो!

तर आसाको कदमलाई यहोवाले कस्तो दृष्टिकोणले हेर्नुभयो? यहोवाले आफ्नो प्रवक्ता हनानीलाई आसाकहाँ पठाउनुभयो अनि परमेश्वरमाथि भरोसा नराखेकोमा तिनलाई हप्काउन लगाउनुभयो। (२ इतिहास १६:७-९ पढ्‌नुहोस्) हनानीले यसो भने: “अब उप्रान्त तपाईंले युद्ध गरिरहनुपर्नेछ।” हुन त बाशा भागे तर आफ्नो शासनकालभरि नै आसा र तिनका मानिसहरूले युद्ध गरिरहनुपऱ्यो।

अघिल्लो लेखमा छलफल गरिएझैं परमेश्वरले आसाको हृदय जाँच्नुभयो र तिनले सारा हृदयले उहाँको सेवा गरिरहेको पाउनुभयो। (१ राजा १५:१४) परमेश्वरको नजरमा आसाले निकै हदसम्म उहाँको आज्ञा पालन गरिरहेका थिए। तर आफ्नो मूर्खतापूर्ण कदमको नतिजा तिनले भोग्नुपऱ्यो। आसाले यहोवामाथि भरोसा राख्नुको साटो किन बेन-हदद र आफैमाथि भरोसा गरे? के तिनले परमेश्वरमा भर पर्नुभन्दा कुटनैतिक वा कुनै सैन्य चाल चाल्यो भने जित हासिल हुनेछ भन्ने सोचेका थिए? अथवा अरूको गलत सल्लाह सुनेर त्यस्तो तर्क पो गरेका थिए कि?

६. आसाको गल्तीबाट हामी कस्तो पाठ सिक्न सक्छौं? उदाहरणसहित बताउनुहोस्।

आसाको विवरणले के हामीलाई पनि आफ्नो सोचाइ र व्यवहार केलाउन झक्झक्याउँदैन र? आफूले पार लगाउनै नसक्ने जस्ता समस्याहरू आइपर्दा हामी स्वतः यहोवामाथि भर पर्छौं होला। तर दिनदिनै आइपर्ने सानातिना कुराहरूको सामना गर्नुपर्दा भने के गर्छौं? के हामी मानव सोचाइमा भर पर्दै आफ्नै तरिकाले समस्या समाधान गर्न खोज्छौं? वा बाइबलका सिद्धान्तहरू केलाएर ती लागू गर्ने प्रयास गर्छौं? यस्तो प्रयास गर्दा समस्याहरूको समाधान गर्न हामी यहोवाको काम गर्ने तरिकामा भरोसा गर्छौं भनेर देखाइरहेका हुँदैनौं र? उदाहरणको लागि, सभा वा सम्मेलन जाने कुरालाई लिएर कहिलेकाहीं तपाईंको परिवारबाट विरोध आउन सक्छ। त्यस्तो अवस्थामा के तपाईं यहोवाको मदत माग्नुहुन्छ र के गर्नु सबैभन्दा उपयुक्त हो भनेर उहाँको निर्देशन खोज्नुहुन्छ? अथवा आफ्नो जागिर गुम्यो र अर्को जागिर पाउन गाह्रो भयो भने के गर्नुहुन्छ? धेरै प्रयास गरेपछि नयाँ जागिर पाउनुभयो भने हरेक हप्ता सबै सभामा नियमित रूपमा जानेछु भनेर सुरुमै नयाँ मालिकलाई बताउनुहुनेछ? समस्या जस्तोसुकै किन नहोस्, भजनरचयिताका यी शब्दहरू पालन गर्नु बुद्धिमानी हो: “आफ्नो मार्ग परमप्रभुलाई सुम्पी। उहाँमानै भरोसा राख्, अनि उहाँले सो पुऱ्याइदिनुहुनेछ।”—भज. ३७:५.

खराब सङ्‌गतले तपाईंलाई कस्तो असर गर्न सक्छ?

७, ८. यहोशापातले कस्ता गल्तीहरू गरे? नतिजा के भयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

अब आसाको छोरा यहोशापातलाई के भयो, विचार गरौं। तिनीसित थुप्रै राम्रा-राम्रा गुण थिए। परमेश्वरमाथि भर पर्दै यहोशापातले धेरै राम्रा काम गरे। तर तिनले मूर्ख निर्णयहरू पनि गरे। उदाहरणको लागि, तिनले उत्तरी राज्यका दुष्ट राजा आहाबसित वैवाहिक नाता जोडे। तिनले भविष्यवक्ता मीकायाको चेतावनीलाई बेवास्ता गर्दै आहाबसित मिलेर अरामीहरूविरुद्ध लडे। त्यस युद्धमा यहोशापात झन्डै मारिएका थिए। त्यसपछि तिनी यरूशलेम फर्के। (२ इति. १८:१-३२) त्यतिबेला भविष्यवक्ता येहूले तिनलाई यस्तो प्रश्न सोधे: “के दुष्टलाई सहायता र परमप्रभुका शत्रुहरूसँग मित्रता गरेर तपाईं खुशी हुनुहुन्छ?”२ इतिहास १९:१-३ पढ्‌नुहोस्।

के यहोशापातले त्यस घटनाबाट पाठ सिके? हुन त तिनले परमेश्वरको सेवा गर्न जोस देखाइरहे। तर आहाबसित सम्बन्ध गाँस्दा भोग्नुपरेको नतिजाबाट तिनले केही पाठ सिकेनन्‌ जस्तो देखिन्छ। अनि तिनले येहूको चेतावनी पनि बेवास्ता गरे। किनभने त्यसपछि पनि यहोशापातले अर्को गलत कदम चाले; तिनले परमेश्वरको शत्रु अर्थात्‌ आहाबका छोरा दुष्ट राजा अहस्याहसित मित्रता गाँसे। यहोशापात र अहस्याह मिलेर जहाजहरू बनाए। तर ती जहाजहरू क्षतिग्रस्त भए। त्यसैले जुन उद्देश्य राखेर ती जहाजहरू बनाइएका थिए, त्यो पूरा हुन सकेन।—२ इति. २०:३५-३७.

९. खराब सङ्‌गतले हामीलाई कस्तो असर गर्न सक्छ?

यहोशापातको विवरण पढेपछि हामी पनि आफ्नो जीवन केलाउन जुरमुरिनुपर्ने हो। किन? किनभने यहोशापात असल राजा थिए। तिनले जे असल थियो, त्यही गरे अनि “आफ्नो पूरा हृदयले परमप्रभुको अगुवाइ” खोजे। (२ इति. २२:९) तैपनि खराब सङ्‌गतको असरबाट तिनी मुक्त रहन सकेनन्‌। परमेश्वरको प्रेरणा पाएर लेखिएको यो हितोपदेशलाई विचार गर्नुहोस्: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान्‌ होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।” (हितो. १३:२०) बाइबल सत्य सिक्न चासो देखाइरहेका व्यक्तिहरूलाई मदत गर्न हामी कोसिस गर्दै छौं होला। तर यो कुरा नबिर्सौं, यहोशापातले अनावश्यक रूपमा आहाबसित हिमचिम बढाउँदा तिनले झन्डै आफ्नो ज्यान गुमाएका थिए। त्यसैगरि यहोवाको सेवा नगर्ने व्यक्तिहरूसित अनावश्यक रूपमा सरसङ्‌गत गऱ्यौं भने हामीले पनि दुःखद नतिजा भोग्नुपर्ने हुन सक्छ।

१०. (क) विवाह गर्ने सन्दर्भमा यहोशापातको विवरणबाट कस्तो पाठ सिक्न सक्छौं? (ख) खराब सङ्‌गतबारे हामीले कुन कुरा बिर्सनु हुँदैन?

१० यहोशापातको अनुभवबाट हामी कस्तो व्यावहारिक पाठ सिक्न सक्छौं? कुनै ख्रीष्टियनलाई यहोवाका साक्षीहरूमाझ आफूलाई सुहाउने जोडी कोही छैन जस्तो लाग्न सक्छ। त्यसैले तिनको मनमा यहोवालाई प्रेम नगर्ने व्यक्तिप्रति रोमान्टिक भावना जाग्न सक्छ। अथवा यहोवाको उपासना नगर्ने नातेदारले ‘विवाहचाहिं बेलैमा गर्नुपर्छ है’ भनेर दबाब दिन सक्छन्‌। कसै-कसैले यी साक्षी बहिनीले जस्तो महसुस गर्न सक्छन्‌: “अरूको माया अनि साथ पाउने हाम्रो जन्मजात चाहना हो।” अब यस्तो अवस्थामा के गर्ने? यहोशापातको विवरणलाई केलायौं भने मदत पाउन सक्छौं। तिनले प्रायजसो अवस्थामा परमेश्वरको डोऱ्याइ खोजे। (२ इति. १८:४-६) तर यहोवालाई प्रेम नगर्ने आहाबसित सङ्‌गत गर्न थाल्दा यहोशापातलाई के भयो? सारा हृदयले यहोवाको सेवा गर्ने व्यक्तिमाथि उहाँको नजर रहन्छ भनेर तिनले सम्झनुपर्थ्यो। आज हाम्रो समयमा पनि परमेश्वरको दृष्टि “सारा पृथ्वीभरिनै” रहन्छ अनि हामीलाई “सहायता” गर्न उहाँ तयार हुनुहुन्छ। (२ इति. १६:९) उहाँ हाम्रो परिस्थिति बुझ्नुहुन्छ र हामीलाई माया गर्नुहुन्छ। कसैबाट माया र साथ पाउने तपाईंको चाहनालाई यहोवाले उचित तरिकामा पूरा गरिदिनुहुनेछ भन्ने कुरामा के तपाईं विश्वास गर्नुहुन्छ? एक न एक दिन उहाँले त्यो चाहना पूरा गरिदिनुहुनेछ भनेर ढुक्क हुनुहोस्!

विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिनुहोस् (अनुच्छेद १० हेर्नुहोस्)

आफ्नो हृदयलाई अभिमानी हुन नदिनुहोस्

११, १२. (क) हिजकियाहले आफ्नो हृदयमा भएको कुरा कसरी प्रकट गरे? (ख) हिजकियाह किन परमेश्वरको क्रोधबाट बचे?

११ हामीले हिजकियाहबाट सिक्न सक्ने पाठ हाम्रो हृदयसित सम्बन्धित छ। एक चोटि, हृदय जाँच्नुहुने यहोवाले हिजकियाहको हृदयमा भएको कुरा प्रकट गरिदिनुभयो। (२ इतिहास ३२:३१ पढ्‌नुहोस्) हिजकियाह सिकिस्त बिरामी पर्दा तिनी निको हुनेछन्‌ भनेर परमेश्वरले तिनलाई एउटा चिन्ह दिनुभएको थियो। त्यो चिन्ह थियो, छाया पछि सर्ने। त्यो चिन्ह के थियो भनी बुझ्न बाबेलका राजकुमारहरूले आफ्ना दूतहरू पठाए। (२ राजा २०:८-१३; २ इति. ३२:२४) हिजकियाहको हृदयमा के छ भनी प्रकट गर्न यहोवाले तिनलाई एक्लै ‘छोडिदिनुभयो।’ त्यतिबेला तिनले बाबेलका ती दूतहरूलाई “आफ्ना सबै भण्डार” देखाए। यो मूर्खतापूर्ण कदमले “तिनको हृदयका सबै कुरा” प्रकट गऱ्यो।

१२ हिजकियाहको हृदय कसरी अभिमानी बन्न पुग्यो भनेर बाइबलमा बताइएको छैन। अश्शूरीहरूमाथि विजयी भएकोले वा परमेश्वरले चमत्कारपूर्ण ढङ्‌गमा निको पार्नुभएकोले हो कि? अथवा आफ्नो “धेरै धन-सम्पत्ति र मान-मर्यादा”-ले हो कि? जेहोस्, हिजकियाह अभिमानी भए र “परमप्रभुले तिनलाई असल गरेकोमा तिनी कृतज्ञ भएनन्‌।” कस्तो दुःखलाग्दो कुरा! हुन त हिजकियाहले परमेश्वरलाई आफ्नो सारा हृदयले सेवा गरेका थिए। तर केही समयको लागि तिनी अभिमानी भए र यहोवालाई दुःखी तुल्याए। पछि ‘हिजकियाहले परमप्रभुमा आफूलाई समर्पण गरे’ अर्थात्‌ आफूलाई नम्र तुल्याए। यसले गर्दा तिनी र तिनका मानिसहरू परमेश्वरको क्रोधबाट बचे।—२ इति. ३२:२५-२७; भज. १३८:६.

१३, १४. (क) यहोवाले हामीलाई कहिलेकाहीं एक्लै ‘छोड्‌नुको’ कारण के हुन सक्छ? (ख) अरूले प्रशंसा गर्दा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

१३ हिजकियाहको विवरण पढेर त्यसमा मनन गर्दा हामी कस्तो लाभ उठाउन सक्छौं? यो कुरा नबिर्सनुहोस्, यहोवाले सनहेरीबलाई हराउनुभएको र हिजकियाहको गम्भीर रोग निको पार्नुभएको केही समय नबित्दै तिनी अभिमानी भए। हामीले कुनै राम्रो काम पूरा गरेपछि हाम्रो हृदयको कुरा प्रकट गर्न यहोवाले हामीलाई पनि एक्लै ‘छोडिदिनुभएको’ हुन सक्छ। उदाहरणको लागि, एक जना भाइले ठूलो समूहमा भाषण दिन निकै तयारी गरेका हुन सक्छन्‌। अनि राम्रो भाषण दिएकोमा थुप्रैले तिनको प्रशंसा गर्न सक्छन्‌। यस्तो प्रशंसा पाउँदा तिनी कस्तो प्रतिक्रिया देखाउँछन्‌?

१४ अरूले प्रशंसा गर्दा येशूका यी शब्दहरू सम्झनु बेस हो: “तिमीहरू पनि जब आफूलाई अह्राइएको सबै काम पूरा गर्छौ, तब यसो भन्नू: ‘हामी निकम्मा दासहरू हौं। हामीले त आफूले जे गर्नुपर्ने हो, त्यो मात्र गरेका हौं।’” (लूका १७:१०) तर हिजकियाहले यस्तो मनोवृत्ति देखाएनन्‌। तिनी अभिमानी भए र “परमप्रभुले तिनलाई असल गरेकोमा तिनी कृतज्ञ भएनन्‌।” परमेश्वरले हाम्रो लागि गरिदिनुभएका असल कुराहरूमा मनन गऱ्यौं भने हामी अभिमानी हुनेछैनौं किनभने यो दुर्गुणलाई यहोवा घृणा गर्नुहुन्छ। साथै यहोवाले हाम्रो लागि गर्नुभएका कुराहरूबारे कृतज्ञ भई अरूलाई बताउनेछौं। वास्तवमा, आफ्ना जनलाई मदत गर्न पवित्र धर्मशास्त्र र पवित्र शक्ति दिनुहुने यहोवा नै हुनुहुन्छ।

सोचविचार गरेर निर्णय गर्नुहोस्

१५, १६. योशियाहले किन परमेश्वरको सुरक्षा र आफ्नो जीवन गुमाए?

१५ अन्तमा, असल राजा योशियाहको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं? तिनी लडाइँमा किन हारे र मरे, त्यो विचार गर्नुहोस्। (२ इतिहास ३५:२०-२२ पढ्‌नुहोस्) मिश्रका राजा नेकोले योशियाहलाई तिनीसित आफ्नो कुनै झगडा छैन भनेका थिए। तैपनि योशियाह ‘नेकोको सामना गर्न गए।’ योशियाहसित आफ्नो कुनै झगडा छैन भनेर नेकोले वास्तवमा “परमेश्वरको आज्ञाद्वारा” भनिरहेका थिए भनी बाइबल बताउँछ। तैपनि योशियाह किन लडाइँ गर्न गए? यसबारे बाइबलले केही बताएको छैन।

१६ नेकोका शब्दहरू यहोवाबाटै आएका थिए भनेर योशियाहले कसरी थाह पाउन सक्थे? तिनले परमेश्वरका वफादार भविष्यवक्ता यर्मियालाई सोध्न सक्थे। (२ इति. ३५:२३, २५) तर तिनले त्यसो गरे भनी लेखिएको कुनै विवरण पाउँदैनौं। नेको कर्कमीशतिर जाँदै थिए। उनी यरूशलेमविरुद्ध नभई अरूसित लडाइँ गर्न गइरहेका थिए। अर्को कुरा, यसमा परमेश्वरको नाम मुछिएको थिएन किनभने नेकोले यहोवा वा उहाँका जनहरूको अपमान गरिरहेका थिएनन्‌। त्यसैले नेकोविरुद्ध लडाइँ गर्न जाने योशियाहको निर्णय गलत थियो। यस घटनाबाट हामी कुनै पाठ सिक्न सक्छौं कि? समस्या आइपर्दा हामीले के गरेको यहोवा चाहनुहुन्छ भनेर पत्ता लगाउनु बुद्धिमानी हो।

१७. समस्या आइपर्दा योशियाहले जस्तै गल्ती नगर्न हामी के गर्न सक्छौं?

१७ समस्या आइपर्दा त्यससित सम्बन्धित बाइबलका सिद्धान्तहरू विचार गर्नुपर्छ। त्यसपछि सन्तुलित भई ती सिद्धान्तहरू लागू गर्नुपर्छ। कुनै-कुनै अवस्थामा हामी एल्डरहरूसित सरसल्लाह गर्न चाहन्छौं होला। त्यस विषयमा आफूलाई पहिल्यै थाह भएका विभिन्न कुरा विचार गर्नुका साथै हाम्रा प्रकाशनहरूमा थप अनुसन्धान पनि गरिसक्यौं होला। तर एल्डरले हामीलाई बाइबलका अन्य सिद्धान्तहरू पनि केलाउन मदत गर्न सक्छन्‌। उदाहरणको लागि, एक जना साक्षी बहिनीलाई सुसमाचार प्रचार गर्नुपर्ने जिम्मेवारीबारे राम्ररी थाह छ। (प्रेषि. ४:२०) तर मानौं, तिनले जुन दिन प्रचार जाने योजना बनाएकी थिइन्‌, त्यही दिन बेग्लै धर्म मान्ने तिनका पतिले तिनलाई घरैमा बस्न भन्लान्‌। सँगै समय नबिताएको धेरै भएकोले पतिले सँगै मिलेर केही गरौं भन्न सक्छन्‌। ती बहिनीको दिमागमा बाइबलमा भनिएका कुराहरू याद आउँछ होला। जस्तै: परमेश्वरको आज्ञा मान्ने र चेला बनाउने। (मत्ती २८:१९, २०; प्रेषि. ५:२९) तर यस्तो अवस्थामा पतिको अधीनमा बस्नुपर्ने र व्यावहारिक हुनुपर्ने सिद्धान्त पनि सम्झनुपर्छ। (एफि. ५:२२-२४; फिलि. ४:५) के तिनको पतिले तिनलाई सधैं प्रचार जान रोक्छन्‌ वा त्यो एक दिन मात्र नजान भनेका हुन्‌ कि? हामी हरेक परिस्थितिमा परमेश्वरको इच्छा के हो, सो राम्ररी बुझेर व्यावहारिक निर्णय गर्न चाहन्छौं। यसो गर्दा आफ्नो अन्तस्करण पनि सफा राख्न सक्छौं।

सारा हृदयले सेवा गर्नुहोस् र आनन्दित हुनुहोस्

१८. यस लेखमा बताइएका चार जना राजाको विवरण केलाउँदा तपाईं कस्तो लाभ उठाउन सक्नुहुन्छ?

१८ त्रुटिपूर्ण भएकोले हामीबाट पनि कहिलेकाहीं गल्ती हुन सक्छ। भर्खरै छलफल गरिएका ती चार जना राजाजस्तै हामी (१) चालै नपाई मानव बुद्धिमा भर पर्न सक्छौं, (२) खराब सङ्‌गत गर्न थाल्न सक्छौं, (३) अभिमानी हुन सक्छौं वा (४) परमेश्वरको इच्छा के हो, त्यो विचार नगरी निर्णय गर्न सक्छौं। यहूदाका ती चार जना राजाले गल्ती गरे तापनि यहोवाले तिनीहरूमा भएको असल कुरा याद गर्नुभयो। त्यसैगरि हामीमा भएको असल कुरा पनि यहोवा याद गर्नुहुन्छ। हामी यहोवालाई कत्तिको माया गर्छौं अनि सारा हृदयले उहाँको सेवा गर्न कत्तिको इच्छुक छौं, त्यो पनि याद गर्नुहुन्छ। त्यसैले गम्भीर गल्तीहरू नगरोस् भनेर उहाँले हामीलाई यस्ता चेतावनीमूलक उदाहरणहरू दिनुभएको छ। बाइबलका यी विवरणहरू मनन गरौं अनि ती उदाहरणहरू हाम्रो शिक्षाको लागि दिनुभएकोमा यहोवाप्रति आभारी होऔं!