सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘आफ्नो भाकल पूरा गर्नुहोस्’

‘आफ्नो भाकल पूरा गर्नुहोस्’

“यहोवासित गरेको भाकल पूरा गर्नू।”—मत्ती ५:३३.

गीत: ६३, ५९

१. (क) न्यायकर्ता यिप्तह र हन्नाबीच कस्तो समानता थियो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्) (ख) यस लेखमा कस्ता प्रश्नहरूको जवाफ पाउनेछौं?

न्यायकर्ता यिप्तह साहसी पुरुष र वीर योद्धा थिए। हन्ना कुशल गृहिणी थिइन्‌ र आफ्नो पति एल्कानाको अधीनमा बस्थिन्‌। यिप्तह र हन्ना एउटै परमेश्वरको उपासना गर्थे। यी दुई व्यक्तिबीच अरू के समानता थियो? तिनीहरू दुवैले परमेश्वरसित भाकल गरेका थिए र आफूले गरेको भाकल पूरा गरे। वर्तमान समयमा यहोवालाई भाकल गर्ने पुरुष तथा स्त्रीको लागि यिप्तह र हन्ना उत्कृष्ट उदाहरण हुन्‌। तर केही महत्त्वपूर्ण प्रश्न उठ्‌छन्‌: भाकल भनेको के हो? परमेश्वरलाई भाकल गर्नु कत्तिको गम्भीर कुरा हो? यिप्तह र हन्नाबाट हामी कस्ता पाठ सिक्न सक्छौं?

२, ३. (क) भाकल के हो? (ख) परमेश्वरलाई भाकल गर्नेबारे धर्मशास्त्र के भन्छ?

बाइबलमा प्रयोग गरिएको “भाकल” शब्दले परमेश्वरसित गरिने गम्भीर वाचालाई बुझाउँछ। भाकल गर्ने व्यक्तिले कुनै कदम चाल्ने, भेटी चढाउने, एउटा खास किसिमको सेवा सुरु गर्ने वा केही कुराबाट अलग्गै बस्ने वाचा गर्छ। हुन त भाकल भनेको आफ्नो इच्छाले अनि आफैले छनौट गर्ने कुरा हो। तर परमेश्वरलाई गरिने भाकल पवित्र कुरा हो र त्यो पूरा गर्नै पर्छ। किनभने भाकल गर्ने व्यक्तिले कुनै कुरा गर्छु वा गर्दिनँ भनेर शपथ खाएको हुन्छ। (उत्प. १४:२२, २३; हिब्रू ६:१६, १७) परमेश्वरलाई भाकल गर्नु गम्भीर कुरा हो भनेर धर्मशास्त्रले कसरी बुझाएको छ?

मोशाको व्यवस्थामा यसो भनिएको थियो: “कुनै मानिसले परमप्रभुको निम्ति भाकल गऱ्यो अथवा वाचा बाँधेर शपथ खायो भने, त्यसले आफ्नो वचन भङ्‌ग गर्नुहुँदैन। त्यसको मुखबाट जुन वचन निस्केको थियो, त्यो त्यसले गर्नैपर्छ।” (गन्ती ३०:२) परमेश्वरको प्रेरणा पाएर सुलेमानले यस्तो लेखे: “परमेश्वरमा भाकल गर्दा त्यो पूरा गर्न ढीलो नगर्‌ किनभने मूर्खसँग उहाँ प्रसन्न हुनुहुन्न। जे भाकल गर्दछस् त्यो पूरा गर्‌।” (उप. ५:४) येशूले पनि भाकल गर्नु एकदमै गम्भीर कुरा हो भनेर यसरी अझ जोड दिनुभयो: “प्राचीन समयका मानिसहरूलाई यसो भनिएको पनि तिमीहरूले सुनेका छौ: ‘कसम खाएपछि तिमीले त्यसलाई नतोड्‌नू तर यहोवासित गरेको भाकल पूरा गर्नू।’”—मत्ती ५:३३.

४. (क) परमेश्वरसित वाचा गर्नु कत्तिको गम्भीर कुरा हो? (ख) हामी यिप्तह र हन्नाबाट के सिक्न चाहन्छौं?

स्पष्ट छ, परमेश्वरसित वाचा गर्नु गम्भीर कुरा हो। आफूले गरेको वाचालाई कसरी लिन्छौं, त्यसले यहोवासितको हाम्रो सम्बन्धलाई असर गर्छ। दाऊदले यस्तो लेखे: “परमप्रभुको डाँडामा को उक्लनपाउला? र उहाँको पवित्र स्थानमा को उभिनपाउला? त्यहीनै, जसको हात निष्कलंक, र जसको हृदय शुद्ध छ। जसले . . . छल-छामसँग किरिया हालेको छैन।” (भज. २४:३, ४) यिप्तह र हन्नाले कस्तो भाकल गरे? के तिनीहरूलाई आफ्नो भाकल पूरा गर्न सजिलो थियो?

परमेश्वरलाई गरेको भाकल तिनीहरूले पूरा गरे

५. यिप्तहले कस्तो भाकल गरे? त्यसपछि के भयो?

यिप्तहले अम्मोनीहरूसित लडाइँ गर्न जाँदा यहोवालाई गरेको भाकल पूरा गरे। त्यतिबेला अम्मोनीहरूले परमेश्वरका जनहरूलाई धम्क्याइरहेका थिए। (न्याय. १०:७-९) तिनीहरूमाथि विजय हासिल गर्ने तीव्र इच्छा व्यक्त गर्दै यिप्तहले यस्तो भाकल गरे: “यदि तपाईंले अम्मोनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने, जब म अम्मोनीहरूबाट कुशलसित फर्कूंला तब मलाई भेट्‌नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ।” त्यसपछि के भयो? अम्मोनीहरू हारे अनि जब यिप्तह विजय हासिल गरेर घर फर्के, तब तिनलाई भेट्‌न सबैभन्दा पहिला तिनकी प्यारी छोरी निस्किन्‌। त्यही छोरी ‘परमप्रभुको हुने थिइन्‌।’ (न्याय. ११:३०-३४) अब यिप्तहकी छोरीले के गर्नुपर्ने थियो?

६. (क) यिप्तहले गरेको भाकल पूरा गर्न तिनी र तिनकी छोरीलाई किन सजिलो थिएन? (ख) परमेश्वरलाई भाकल गर्नेबारे व्यवस्था २३:२१, २३ र भजन १५:४ ले कुन कुरा प्रस्ट पार्छ?

यिप्तहको भाकल पूरा गर्न तिनकी छोरीले वासस्थानमा पूर्ण-समय यहोवाको सेवा गर्नुपर्थ्यो। के यिप्तहले केही सोचविचार नगरी यस्तो भाकल गरेका थिए? अहँ थिएनन्‌। किनभने घर फर्कंदा आफूलाई भेट्‌न निस्कने पहिलो व्यक्ति आफ्नै छोरी हुन सक्छिन्‌ भनेर तिनलाई थाह थियो होला। तैपनि बुबा-छोरीलाई यो बिछोड सहन असाध्यै गाह्रो हुने थियो। यो भाकल पूरा गर्न तिनीहरूले ठूलो त्याग गर्नुपर्ने थियो। यिप्तहले छोरीलाई देखेपछि “आफ्नो लुगा च्याते” अनि आफ्नो मन भाँचिएको कुरा बताए। तिनकी छोरीले “आफ्नो कुमारी अवस्थाको मृत्युमाथि शोक” गरिन्‌। किन? किनभने यिप्तहको छोरा थिएन अनि आफ्नो एक मात्र छोरीले कहिल्यै विवाह गर्न पाउने थिइनन्‌। यसले गर्दा नातिनातिना हुने सम्भावना पनि थिएन। आफ्नो वंश चलाउने र वारिस कोही हुने थिएन। तर तिनलाई सबैभन्दा धेरै पिरोलेको कुराचाहिं त्यो थिएन। किनभने यिप्तहले यसो भने: “मैले परमप्रभुमा एउटा भाकल गरेको छु, औ म त्यो टार्न सक्तिनँ।” यो सुनेपछि छोरीले भनिन्‌: “तपाईंले जो गम्भीर भाकल गर्नुभएको छ त्यहीअनुसार मलाई गर्नुहोस्।” (न्याय. ११:३५-३९) तिनीहरू परमेश्वरका वफादार सेवक थिए। त्यसैले सर्वशक्तिमान्‌ परमेश्वरलाई गरेको भाकल तिनीहरूले कुनै हालतमा तोड्‌ने थिएनन्‌। आफूले जस्तोसुकै ठूलो क्षति बेहोर्नुपरे तापनि तिनीहरूले त्यो पूरा गरेरै छोड्‌ने थिए।व्यवस्था २३:२१, २३; भजन १५:४ पढ्‌नुहोस्।

७. (क) हन्नाले कस्तो भाकल गरिन्‌ र किन? नतिजा कस्तो भयो? (ख) हन्नाको भाकल पूरा गर्न शमूएलले के गर्नुपर्थ्यो? (फुटनोट हेर्नुहोस्)

हन्नाले पनि यहोवालाई गरेको भाकल पूरा गरिन्‌। आफू बाँझी भएकोले तिनी असाध्यै दुःखी थिइन्‌ अनि सौताले पनि दिनरात खसालेर कुरा गर्थिन्‌। (१ शमू. १:४-७, १०, १६) यस्तो अवस्थामा हन्नाले परमेश्वरलाई आफ्नो मनको बह पोख्दै यस्तो भाकल गरिन्‌: “हे सेनाहरूका परमप्रभु, यदि तपाईंले मेरो दुःख बुझेर ममाथि कृपा-दृष्टि गर्नुभयो र मलाई सम्झनुभयो, औ यदि तपाईंले मलाई भुल्नुभएन, र एउटा बालक दिनुभयो भने, म त्यस बालकलाई त्यसको जीवनपर्यन्त परमप्रभुमा समर्पण गर्नेछु, औ त्यसको कपालमा कहिल्यै छुरा लाग्नेछैन।” * (१ शमू. १:११) परमेश्वरले हन्नाको बिन्ती सुन्नुभयो र तिनले छोरा जन्माइन्‌। तब तिनी साह्रै खुसी भइन्‌! तर तिनले परमेश्वरलाई गरेको भाकल बिर्सिनन्‌। छोरा जन्मिएपछि तिनले यसो भनिन्‌: “मैले त्यसलाई परमप्रभुसँग मागेकी हुँ।”—१ शमू. १:२०.

८. (क) हन्नालाई आफ्नो भाकल पूरा गर्न किन सजिलो थिएन? (ख) भजन ६१ मा लिपिबद्ध दाऊदका शब्दहरू हन्नाको असल मनोभावसित कसरी मेल खान्छ?

शमूएललाई लगभग तीन वर्षको उमेरमा दूध छुटाउनेबित्तिकै हन्नाले आफ्नो भाकल पूरा गरिन्‌। भाकल पूरा नगरूँ कि भन्ने सोचाइ तिनको मनमा कहिल्यै आएन। तिनले शमूएललाई शीलोमा प्रधान पुजारी एलीकहाँ ल्याइन्‌ र यसो भनिन्‌: “यही बालकको निम्ति मैले प्रार्थना गरेकी थिएँ, औ मैले मागेको कुरा परमप्रभुले मलाई दिनुभयो। मैले मागेको कुरो मैले पाएँ। औ यसलाई परमप्रभुकहाँनै अर्पण गर्दछु। त्यसको जीवनभरिनै त्यो परमप्रभुमा अर्पण गरिएको छ।” (१ शमू. १:२४-२८) शीलोमा “बालक शमूएल परमप्रभुको सामने बढ्‌नलाग्यो।” (१ शमू. २:२१) तर हन्नालाई कस्तो लागेको हुनुपर्छ? तिनी आफ्नो सानो छोरालाई औधी माया गर्थिन्‌। तर अब उसलाई दिनदिनै भेट्‌न पाउने थिइनन्‌। सोच्नुहोस् त, हन्ना आफ्नो छोरालाई अङ्‌गालो हाल्न, ऊसित खेल्न अनि उसको लालनपालन गर्न कत्ति लालायित थिइन्‌ होली! एउटी मायालु आमा आफ्नो छोरा हुर्कंदै जाँदाका मीठा सम्झनाहरू सँगाल्न चाहन्छिन्‌। हन्ना पनि यस्तै चाहन्थिन्‌ होली! तर यहोवालाई गरेको भाकल पूरा गर्न पाउँदा हन्ना आनन्दित थिइन्‌, तिनलाई कुनै पछुतो थिएन।—१ शमू. २:१, २; भजन ६१:१, ५,  पढ्‌नुहोस्।

के तपाईंले यहोवालाई गरेको भाकल पूरा गरिरहनुभएको छ?

९. हामी कस्ता प्रश्नहरू विचार गर्नेछौं?

अहिलेसम्मको छलफलबाट परमेश्वरलाई भाकल गर्नु भनेको अत्यन्तै गम्भीर कुरा हो भनेर बुझ्यौं। अब यी प्रश्नहरू विचार गरौं: हामी ख्रीष्टियनहरूले कस्ता भाकलहरू गरेका हुन सक्छौं? अनि भाकल पूरा गर्न हामी कत्तिको कटिबद्ध हुनुपर्छ?

समर्पण वाचा

समर्पण वाचा (अनुच्छेद १० हेर्नुहोस्)

१०. ख्रीष्टियनहरूले गर्ने सबैभन्दा महत्त्वपूर्ण भाकल कुन हो? यो भाकल पूरा गर्नुमा के-के समावेश छ?

१० ख्रीष्टियनहरूले गर्ने सबैभन्दा महत्त्वपूर्ण भाकल यहोवालाई आफ्नो जीवन समर्पण गर्ने वाचा हो। किन? किनभने तिनले जस्तोसुकै अवस्था आइपरे पनि आफ्नो सारा जीवन यहोवाको सेवामा बिताउनेछु भनेर व्यक्तिगत प्रार्थनामा भाकल गरेका हुन्छन्‌। येशूकै शब्दमा भन्ने हो भने तिनले ‘आफूलाई इन्कार गर्छन्‌’ अर्थात्‌ आफूमाथि यहोवाको मात्र अधिकार छ भनेर स्विकार्छन्‌। अनि परमेश्वरको इच्छा पूरा गर्नुलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा ठान्नेछु भनेर भाकल गर्छन्‌। (मत्ती १६:२४) त्यस दिनदेखि तिनी ‘यहोवाकै हुन्छन्‌।’ (रोमी १४:८) समर्पण वाचा गर्ने सबैले आफ्नो भाकललाई यी भजनरचयिताले जस्तै गम्भीरतापूर्वक लिनुपर्छ, जसले यसो भने: “परमप्रभुले गर्नुभएको मेरो उपकारको निम्ति म उहाँलाई के भर्ना चढाऊँ? परमप्रभुमा म आफ्नो भाकल पूरा गर्नेछु। उहाँका सारा प्रजाहरूकै सामने पूरा गर्नेछु।”—भज. ११६:१२, १४.

११. तपाईंले बप्तिस्मा गर्नुभएको दिन के भयो?

११ के तपाईंले यहोवालाई आफ्नो जीवन समर्पण गरेको कुरा बप्तिस्माद्वारा जनसमक्ष प्रकट गरिसक्नुभयो? गरिसक्नुभयो भने एकदम राम्रो! तपाईंलाई आफ्नो बप्तिस्माको दिन याद होला। त्यतिबेला तपाईंलाई आफ्नो जीवन यहोवालाई समर्पण गरिसक्नुभएको छ कि छैन भनेर सोधिएको थियो। साथै “समर्पण र बप्तिस्मा गरिसकेपछि तपाईं यहोवाको साक्षी बन्नुहुन्छ र उहाँको पवित्र शक्तिले डोऱ्याएको सङ्‌गठनको सदस्य भनेर चिनिनुहुन्छ” भन्ने कुरा बुझ्नुभएको छ कि छैन भनेर सोधिएको थियो। तपाईंले सकारात्मक जवाफ दिएर आफू हरहालतमा परमेश्वरप्रति समर्पित रहनेछु र यहोवाको सेवकको रूपमा बप्तिस्माको लागि योग्य छु भन्ने कुरा सबैको अगाडि देखाउनुभयो। तपाईं बप्तिस्मा गर्न तयार हुनुभएको देखेर यहोवा कत्ति खुसी हुनुभयो होला!

१२. (क) आफैलाई कस्ता प्रश्नहरू सोध्नु बेस हो? (ख) हामीले कस्ता गुणहरू थप्दै लैजानुपर्छ भनी पत्रुसले बताए?

१२ बप्तिस्मा सुरुवात मात्रै हो। त्यसपछि पनि हामी आफ्नो समर्पणअनुसारै यहोवाको सेवा गरिरहन चाहन्छौं। त्यसैले आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्छौं: ‘बप्तिस्मा गरेपछि मैले के-कस्तो आध्यात्मिक प्रगति गरें? के म अहिले पनि पूरा तनमनले यहोवाको सेवा गर्दै छु? (कल. ३:२३) प्रार्थना गर्ने, बाइबल पढ्‌ने, सभाहरूमा उपस्थित हुने अनि प्रचारकार्यमा सक्दो भाग लिने गर्दै छु? अथवा यीमध्ये कुनै-कुनै गतिविधिमा अलि सेलाएको छु कि?’ हामीले आफ्नो विश्वासमा ज्ञान, सहनशीलता र परमेश्वरको भक्ति थप्दै गयौं भने उहाँको सेवामा निष्क्रिय हुनेछैनौं भनी प्रेषित पत्रुसले बताए।२ पत्रुस १:५-८ पढ्‌नुहोस्।

१३. समर्पण गरेर बप्तिस्मा गरिसकेका ख्रीष्टियनले कुन कुरा बुझ्नुपर्छ?

१३ हामी आफ्नो समर्पण वाचालाई कुनै पनि हालतमा रद्द गर्न सक्दैनौं; परमेश्वरलाई दिन्छु भनेर प्रतिज्ञा गरिसकेको कुरा फिर्ता लिन सक्दैनौं। बप्तिस्मा गरिसकेको कुनै व्यक्ति अबउप्रान्त यहोवाको सेवा गर्न वा ख्रीष्टियनको रूपमा जीवन बिताउन चाहँदैनन्‌ भने पनि आफूले समर्पण गरेकै थिइनँ र आफ्नो बप्तिस्मा अमान्य थियो भन्ने दाबी गर्न मिल्दैन। * किनभने तिनले राम्ररी सोचविचार गरेर आफ्नो पूरै जीवन यहोवालाई समर्पण गरेका थिए। त्यसैले कुनै गम्भीर पाप गरेमा तिनी यहोवा र मण्डलीसामु जबाफदेही हुनेछन्‌। (रोमी १४:१२) येशूले हामीबारे कहिल्यै यसो भन्न नपरोस्: “तिमीसित पहिले जुन प्रेम थियो, अहिले त्यो छैन।” बरु उहाँले यसो भन्नुभएको चाहन्छौं: “मलाई तिम्रा कामहरू अनि तिम्रो प्रेम, विश्वास, सेवा र सहनशीलता थाह छ। अनि तिमीले हालै गरेका कामहरू पहिलेका भन्दा धेरै छन्‌ भनेर पनि मलाई थाह छ।” (प्रका. २:४, १९) हामी आफ्नो समर्पण वाचाअनुसारै जीवन बिताउन जोस देखाइरहौं। यो देखेर यहोवा पक्कै खुसी हुनुहुनेछ!

विवाह वाचा

विवाह वाचा (अनुच्छेद १४ हेर्नुहोस्)

१४. मानिसले गर्ने दोस्रो महत्त्वपूर्ण भाकल कुन हो र किन?

१४ मानिसले गर्ने दोस्रो महत्त्वपूर्ण भाकल विवाह वाचा हो। किन? किनभने विवाह पवित्र बन्धन हो। दुलहा-दुलहीले परमेश्वर र अरू मानिसहरूसामु विवाह वाचा बाँध्छन्‌। तिनीहरूले अक्सर “परमेश्वरको वैवाहिक प्रबन्ध अनुरूप पृथ्वीमा सँगै बाँचुन्जेल” एकअर्कालाई प्रेम, कदर र आदर गर्नेछु भनी वाचा गर्छन्‌। संसारका मानिसहरूले विवाह वाचा बाँध्दा ठ्‌याक्कै यही शब्दहरू नभने पनि भगवान्‌सामु वाचा भने बाँधेका हुन्छन्‌। त्यसपछि तिनीहरू श्रीमान्‌-श्रीमती हुन्छन्‌। तिनीहरूको वैवाहिक बन्धन जीवनभरिको लागि हुन्छ। (उत्प. २:२४; १ कोरि. ७:३९) येशूकै शब्दमा भन्ने हो भने “जसलाई परमेश्वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्टयाओस्।” यो वैवाहिक बन्धनलाई पति, पत्नी वा अरू कसैले छुट्टयाउनु हुँदैन। त्यसैले विवाह गर्न लागेका पुरुष र स्त्रीले पछि खटपट भएमा सम्बन्धविच्छेद गर्न सकिहालिन्छ नि भन्ने सोचाइ दिमागबाट पूरै हटाउनुपर्छ।—मर्कू. १०:९.

१५. संसारका मानिसहरूले जस्तो ख्रीष्टियनहरूले किन विवाहलाई हल्कासित लिनु हुँदैन?

१५ विवाह भनेको दुई जना त्रुटिपूर्ण मानिसको मिलन भएकोले कुनै पनि विवाह समस्यारहित हुँदैन। त्यसैकारण बाइबल यसो भन्छ: “जसले विवाह गर्छ, उसले शारीरिक दुःखकष्ट झेल्नेछ।” (१ कोरि. ७:२८) दुःखको कुरा, धेरैजसो मानिस विवाहलाई हल्कासित लिन्छन्‌। वैवाहिक सम्बन्धमा फाटो आयो भने तिनीहरू आ-आफ्नो बाटो लाग्छन्‌ र जीवनसाथीलाई त्याग्छन्‌। तर साँचो ख्रीष्टियनहरूले यसो गर्नु उचित होइन। विवाह वाचा तोड्‌नु भनेको परमेश्वरसित झूट बोल्नु सरह हो। अनि झूट बोल्नेहरूलाई परमेश्वर घृणा गर्नुहुन्छ। (लेवी १९:१२; हितो. ६:१६-१९) प्रेषित पावलले यस्तो लेखे: “के तिम्रो पत्नी छ? त्यसोभए ऊबाट मुक्त हुन नखोज।” (१ कोरि. ७:२७) पावल किन यसो भन्न सक्थे? किनभने धोका दिएर सम्बन्धविच्छेद गर्ने कुरालाई पनि यहोवा घृणा गर्नुहुन्छ भनेर तिनलाई थाह थियो।—मला. २:१३-१६.

१६. सम्बन्धविच्छेद र छुट्टिएर बस्नेबारे बाइबल के भन्छ?

१६ कसैले आफ्नो पति वा पत्नीबाहेक अरूसित अवैध यौनसम्बन्ध राख्यो अनि निर्दोष पक्षले तिनलाई क्षमा नदिने निर्णय गऱ्यो भने मात्र सम्बन्धविच्छेद गर्न सकिन्छ। विवाह वाचा तोड्‌न सकिने धर्मशास्त्रीय आधार यही मात्र हो भनेर येशूले सिकाउनुभयो। (मत्ती १९:९; हिब्रू १३:४) त्यसोभए आफ्नो पति वा पत्नीसित छुट्टिएर बस्नेबारे चाहिं के भन्न सकिन्छ? यस सन्दर्भमा पनि बाइबलले स्पष्टसित बताएको छ। (१ कोरिन्थी ७:१०, ११ पढ्‌नुहोस्) पति वा पत्नी छुट्टिएर बस्न सक्ने कुनै धर्मशास्त्रीय आधार छैन। तर केही विवाहित ख्रीष्टियनले कुनै-कुनै अवस्थामा छुट्टिएर बस्ने निर्णय गरेका छन्‌। जस्तै: पति वा पत्नी धर्मत्यागी भएकोले अथवा दुर्व्यवहार गरेकोले आफ्नो ज्यान वा आध्यात्मिकता नै खतरामा पर्दा। *

१७. ख्रीष्टियन दम्पतीले आफ्नो वैवाहिक बन्धन टुट्‌न नदिन के गर्न सक्छन्‌?

१७ कहिलेकाहीं मण्डलीका सदस्यहरू आफ्नो वैवाहिक समस्याबारे एल्डरहरूसित सल्लाह माग्न आउँछन्‌। यस्तो अवस्थामा एल्डरहरूले तिनीहरूलाई हालै साँचो प्रेम भन्ने भिडियो हेरेका छन्‌ कि छैनन्‌ र सुखी परिवार—तर कसरी? भन्ने पुस्तिका अध्ययन गरेका छन्‌ कि छैनन्‌ भनेर सोध्नु बेस हो। किन? किनभने यी सामग्रीहरूमा दिइएका धर्मशास्त्रीय सिद्धान्तहरूले धेरैलाई आफ्नो वैवाहिक बन्धन बलियो बनाउन मदत गरेको छ। एक दम्पतीले यसो भने: “यो पुस्तिका अध्ययन गर्न थालेदेखि हाम्रो वैवाहिक जीवन पहिलेभन्दा सुखमय भएको छ।” एउटा दम्पतीले विवाह गरेको २२ वर्ष भइसके तापनि तिनीहरूको विवाह टुट्‌नै लागेको थियो। पत्नीले यसो भनिन्‌: “हामी दुवैले बप्तिस्मा गरिसकेका छौं तर भावनात्मक तवरमा भने हामीबीच आकाश-जमीनको अन्तर थियो। हामीलाई चाहिएकै बेलामा यो भिडियो पायौं! अहिले हाम्रो सम्बन्ध निकै राम्रो भएको छ।” के तपाईं विवाहित हुनुहुन्छ? हुनुहुन्छ भने यहोवाले दिनुभएका सिद्धान्तहरू हर हालतमा लागू गर्नुहोस्। त्यसो गर्नुभयो भने तपाईंले आफ्नो विवाह वाचा पूरा गर्न सक्नुहुनेछ र आनन्दित हुनुहुनेछ!

विशेष पूर्ण-समय सेवकहरूको शपथ

१८, १९. (क) थुप्रै ख्रीष्टियन आमाबाबुले के गरेका छन्‌? (ख) विशेष पूर्ण-समय सेवा गरिरहेकाहरूबारे के भन्न सकिन्छ?

१८ यिप्तह र हन्नाबीच अर्को पनि समानता थियो। के तपाईंले याद गर्नुभयो? यिप्तहको भाकलले गर्दा तिनकी छोरी अनि हन्नाको भाकलले गर्दा तिनको छोरा वासस्थानमा विशेष प्रकारको पवित्र सेवा चढाउन अर्पण गरिए। ती छोरा र छोरीले सबैभन्दा सन्तोषजनक जीवन बिताए। आज थुप्रै ख्रीष्टियन आमाबाबुले आफ्ना छोराछोरीलाई पूर्ण-समय सेवा गर्न अनि परमेश्वरको सेवालाई प्राथमिकता दिन प्रोत्साहन दिएका छन्‌। त्यसैले पूर्ण-समय सेवामा लागेकाहरू साँच्चै प्रशंसायोग्य छन्‌।—न्याय. ११:४०; भज. ११०:३.

विशेष पूर्ण-समय सेवकहरूको शपथ (अनुच्छेद १९ हेर्नुहोस्)

१९ अहिले यहोवाका साक्षीहरूको विशेष पूर्ण-समय सेवकहरूको विश्वव्यापी समाजमा ६७,००० जति सदस्य छन्‌। कतिले बेथेल सेवक, निर्माण सेवक, क्षेत्रीय निरीक्षक, विशेष अग्रगामी अनि मिसनरीको रूपमा सेवा गरेका छन्‌ भने कतिले चाहिं बाइबल स्कुल सञ्चालन गरिने ठाउँ वा सम्मेलन भवनको रेखदेख गर्ने सेवक अनि विभिन्न स्कुलको प्रशिक्षकको रूपमा सेवा गरेका छन्‌। तिनीहरू सबैले “आज्ञाकारिता र निर्धनताको शपथ” लिएका छन्‌। त्यसैले परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउने जुनसुकै सेवाको काम गर्न, सरल जीवन बिताउन अनि अनुमतिविना अरू ठाउँमा जागिर नखान राजी हुन्छन्‌। विशेष पूर्ण-समय सेवा भन्नेबित्तिकै व्यक्ति नै विशेष जस्तो लाग्न सक्छ तर वास्तवमा तिनले चढाउने सेवाचाहिं विशेष हो। यी सेवकहरूले विशेष पूर्ण-समय सेवा गरुन्जेल आफूले गरेको गम्भीर शपथअनुसार जीवन बिताउनुपर्ने महत्त्व बुझेका छन्‌।

२०. हामीले “दिनहुँ” के गर्नुपर्छ र किन?

२० यस लेखमा छलफल गरिएका कति वटा भाकल तपाईंले गर्नुभएको छ? एउटा, दुइटा कि तीनै वटा? भाकल भनेको हल्कासित लिने कुरा होइन भनेर तपाईंले पक्कै बुझ्नुभएको छ होला। (हितो. २०:२५) यहोवालाई दिएको वचन पूरा नगर्दा र आफ्नो भाकल पूरा नगर्दा गम्भीर परिणाम भोग्नुपर्ने हुन्छ। (उप. ५:६) त्यसैले ‘दिनहुँ आफ्ना भाकलहरू पूरा गर्दै’ खुसीसाथ ‘परमेश्वरको नाउँको सदासर्वदा प्रशंसा गरौं!’—भज. ६१:८.

^ अनु. 7 हन्नाको भाकलअनुसार तिनको सन्तान आजीवन नाजिरी हुने थिए। नाजिरी हुनु भनेको यहोवाको पवित्र सेवाको लागि छानिनु, अलग्गै छुट्टयाइनु र अर्पण गरिनु हो।—गन्ती ६:२, ५, ८.

^ अनु. 13 कुनै व्यक्ति बप्तिस्माको लागि योग्य छ कि छैन भनी पक्का गर्न एल्डरहरूले विभिन्न कुरामा विचार पुऱ्याउने भएकोले त्यस व्यक्तिको बप्तिस्मा अमान्य हुने अवस्था विरलै मात्र हुन्छ।

^ अनु. 16 “आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख” किताबको पृष्ठ २५१-२५३ हेर्नुहोस्।