सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं अन्याय हुँदा यहोवाको जस्तै दृष्टिकोण राख्नुहुन्छ?

के तपाईं अन्याय हुँदा यहोवाको जस्तै दृष्टिकोण राख्नुहुन्छ?

‘म परमप्रभु नाउँको घोषणा गर्नेछु। उहाँ न्यायी हुनुहुन्छ।’—व्यव. ३२:३, ४.

गीत: ११०, 

१, २. (क) नाबोत र तिनका छोराहरूले कस्तो अन्याय भोगे? (ख) यस लेखमा हामी कुन दुइटा गुणबारे छलफल गर्नेछौं?

यो दृश्य कल्पना गर्नुहोस्। एक जना मानिसलाई झूटो अभियोगमा मृत्युदण्ड दिने फैसला सुनाइएको छ। अरूले नीच ठान्ने मानिसहरूको झूटो बयानको आधारमा यस्तो फैसला गरिएको छ। यस घटनाले गर्दा ती निर्दोष मानिसको परिवार र साथीभाइ सबै दुःखी छन्‌। ती निर्दोष मानिस र तिनका छोराहरूलाई मृत्युदण्ड दिएको टुलुटुलु हेर्नुपर्दा अन्याय भएको हेर्न नचाहने मानिसहरूको मन छियाछिया भएको छ। यो कुनै काल्पनिक कथा होइन, यहोवाका वफादार सेवक नाबोतले भोगेको वास्तविक घटना हो। इस्राएलका राजा आहाबको शासनकालमा नाबोतले यस्तो अन्याय भोगेका थिए।—१ राजा २१:११-१३; २ राजा ९:२६.

यस लेखमा हामी नाबोतको उदाहरणका साथै प्रथम शताब्दीको एक जना वफादार एल्डरको विवरण केलाउनेछौं, जसले गलत निर्णय गरेका थिए। बाइबलमा पाइने यी उदाहरणहरू विचार गर्दा अन्याय भएको जस्तो लाग्ने परिस्थितिमा यहोवाको जस्तै दृष्टिकोण राख्न नम्रता कत्तिको महत्त्वपूर्ण छ भनेर बुझ्नेछौं। मण्डलीमा अन्याय भएको देख्दा यहोवाको जस्तै दृष्टिकोण राख्न क्षमाशील हुनु कत्तिको महत्त्वपूर्ण छ भनेर पनि बुझ्नेछौं।

घोर अन्याय

३, ४. नाबोत कस्ता मानिस थिए? तिनले आफ्नो दाखबारी राजा आहाबलाई बेच्न किन मानेनन्‌?

नाबोत यहोवाका वफादार उपासक थिए। तर त्यतिबेला धेरैजसो इस्राएलीले भने राजा आहाब र तिनकी दुष्ट रानी ईजेबेलको नराम्रो उदाहरण अनुकरण गरिरहेका थिए। तिनीहरू बाल देवताको उपासना गर्थे। अनि यहोवाप्रति र उहाँको स्तरप्रति कुनै आदर देखाउँदैन थिए। तर नाबोत आफ्नो ज्यानभन्दा पनि यहोवासितको सम्बन्धलाई मूल्यवान्‌ ठान्थे।

पहिलो राजा २१:१-३ पढ्‌नुहोस्। आहाबले नाबोतलाई यस्तो प्रस्ताव राखे: ‘तिम्रो दाखबारी मलाई बेच। तर त्यसको पैसा लिन चाहँदैनौ भने त्यसको बदलामा अझ राम्रो दाखबारी दिन्छु।’ तर नाबोतले यो प्रस्ताव स्विकारेनन्‌। किन? तिनले आदरपूर्वक यसो भने: “मेरो पैतृक-सम्पत्तिमा सधैं रहेको जमीन मैले तपाईंलाई कसरी दिने? परमप्रभुले यस्तो नगरून्‌।” यहोवाले इस्राएल राष्ट्रलाई आफ्नो पैतृक सम्पत्ति सधैंको लागि नबेच्नू भन्ने आज्ञा दिनुभएको थियो। नाबोतलाई यो कुरा राम्ररी थाह थियो। (लेवी २५:२३; गन्ती ३६:७) यस मामिलामा नाबोतले यहोवाको जस्तै दृष्टिकोण राखे।

५. नाबोतको हत्या गराउन ईजेबेलले के गरिन्‌?

दुःखको कुरा, नाबोतले नमानेपछि राजा आहाब र तिनकी पत्नीले एकपछि अर्को घोर अत्याचार गरे। दाखबारी किन्ने आफ्नो श्रीमान्‌को इच्छा पूरा गर्न ईजेबेलले नाबोतमाथि झूटो आरोप लगाउन षड्‌यन्त्र रचिन्‌। पछि नाबोत र तिनका छोराहरूको हत्या पनि गर्न लगाइन्‌। यस्तो ठूलो अन्याय हुँदा यहोवाले के गर्नुभयो?

परमेश्वरको उचित न्याय

६, ७. यहोवाले आफू अन्याय नसहने परमेश्वर भएको कसरी देखाउनुभयो? यो कुरा नाबोतको परिवार र साथीभाइको लागि किन सान्त्वनादायी भएको हुनुपर्छ?

आहाबलाई भेट्‌न यहोवाले तुरुन्तै एलियालाई पठाउनुभयो। एलियाले आहाबलाई हत्यारा र चोर भने। यस मामिलामा यहोवाले कस्तो फैसला सुनाउनुभयो? नाबोत र तिनका छोराहरूजस्तै आहाब, उनकी पत्नी र छोराहरू पनि मारिने थिए।—१ राजा २१:१७-२५.

आहाबले नाबोत र तिनका छोराहरूको हत्या गराए। यसले गर्दा नाबोतको परिवार र तिनका साथीभाइले ठूलो चोट सहनुपऱ्यो। आफूमाथि भएको अन्याय यहोवाको नजरबाट लुकेको छैन भनेर थाह पाउँदा र उहाँले तुरुन्तै कदम चाल्नुभएको देख्दा तिनीहरूले केही हदसम्म सान्त्वना पाएको हुनुपर्छ। तर त्यसपछि भएका घटनाहरूले तिनीहरूको नम्रता र यहोवामाथिको भरोसाको पक्कै जाँच भयो होला।

८. यहोवाले दण्ड दिनुहुने कुरा सुनेपछि आहाबले के गरे? पछि के भयो?

यहोवाले कस्तो दण्ड दिनुहुनेछ भनेर थाह पाएपछि आहाबले “आफ्ना लुगा च्याते, भाङरा ओढे र उपवास बसे। तिनी भाङरा लाएरै सुते, र दीनतार्पूवक हिंड्‌न लागे।” आहाबले आफ्नो गल्ती स्विकारे। त्यसपछि के भयो? यहोवाले एलियालाई यसो भन्नुभयो: “त्यसले आफूलाई यस्तो दीन तुल्याएकोले गर्दा म त्यसको जीवनकालमा त्यसको घरानामाथि सर्वनाश ल्याउनेछैनँ, तर त्यसको छोराको पालामा ल्याउनेछु।” (१ राजा २१:२७-२९; २ राजा १०:१०, ११, १७) यहोवा “मानिसको मन जाँच” गर्ने परमेश्वर हुनुहुन्छ। त्यसैले उहाँले आहाबलाई दया देखाउनुभयो।—हितो. १७:३.

नम्रताले हाम्रो रक्षा गर्छ

९. नाबोतको परिवार र तिनका साथीभाइलाई नम्रताले कसरी रक्षा गरेको हुनुपर्छ?

नाबोत र तिनका छोराहरूको बीभत्स हत्या गर्ने आहाबले सजाय पाउनेछैन भनेर थाह पाउँदा नाबोतको परिवार र साथीभाइलाई कस्तो लाग्यो होला? परिस्थितिले अर्कै मोड लिएको जस्तो देखिंदा तिनीहरूको विश्वासको जाँच भएको हुनुपर्छ। त्यस्तो बेला नम्रताले तिनीहरूलाई आफ्नो विश्वास बलियो बनाइराख्न मदत गर्ने थियो। यहोवाले कहिल्यै अन्याय गर्नुहुन्न भन्ने कुरामा विश्वस्त हुँदा तिनीहरूले वफादार भई उहाँको उपासना गरिरहन सक्ने थिए। (व्यवस्था ३२:३, ४ पढ्‌नुहोस्) यहोवाले असल मानिसहरूलाई पुनर्जीवित गर्नुहुँदा नाबोत, तिनका छोराहरू र तिनीहरूको परिवारले उचित न्याय पाउनेछन्‌। (अय्यू. १४:१४, १५; यूह. ५:२८, २९) अर्को कुरा, “हामीले गरेको हरेक काम, असल होस् वा खराब होस् हरेक गुप्त कुराको न्याय परमेश्वरले गर्नुहुनेछ” भन्ने कुरा नम्र व्यक्तिले कहिल्यै बिर्संदैन। (उप. १२:१४) हामीलाई थाह नभएका कुराहरू पनि विचार गरेर यहोवाले न्याय गर्नुहुन्छ। त्यसैले नम्र हुँदा निर्दोष व्यक्तिले यहोवामाथिको भरोसा गुमाउनेछैनन्‌।

१०, ११. (क) कस्ता अवस्थाहरूले हाम्रो विश्वासको जाँच गर्न सक्छ? (ख) नम्र हुँदा कसरी हाम्रो रक्षा हुन्छ?

१० एल्डरहरूको कुनै निर्णय राम्ररी नबुझ्दा वा चित्त नबुझ्दा तपाईं के गर्नुहुन्छ? जस्तै: तपाईंले वा तपाईंले माया गरेको व्यक्तिले आफूलाई मन परेको सुअवसर गुमाउनुपऱ्यो भने के गर्नुहुन्छ? आफ्नो श्रीमान्‌ वा श्रीमती, छोरा वा छोरी अथवा घनिष्ठ साथीलाई बहिष्कार गरियो र त्यो निर्णय तपाईंलाई चित्त बुझेको छैन भने के गर्नुहुन्छ? एल्डरहरूले पाप गर्ने व्यक्तिलाई दया देखाउनु उचित थिएन जस्तो लाग्दा तपाईं के गर्नुहुन्छ? यी अवस्थाहरूले यहोवा र उहाँको सङ्‌गठनको प्रबन्धमाथि हाम्रो विश्वासको जाँच गर्न सक्छ। यस्तो बेला नम्रताले कसरी तपाईंको रक्षा गर्नेछ? दुई वटा तरिका विचार गरौं।

एल्डरहरूले घोषणा गरेको कुनै निर्णय चित्त बुझेन भने तपाईं के गर्नुहुन्छ? (अनुच्छेद १०, ११ हेर्नुहोस्)

११ पहिलो, नम्र छौं भने हामीलाई सबै कुरा थाह छैन भनेर स्विकार्नेछौं। कुनै परिस्थितिबारे जति नै राम्ररी थाह भए पनि यहोवाले मात्र मानिसको हृदय पढ्‌न सक्नुहुन्छ। (१ शमू. १६:७) यो अकाट्य सत्यलाई मनमा राख्यौं भने हामी नम्र हुनेछौं, आफ्नो सीमितता बुझ्नेछौं र आफ्नो सोचाइ परिवर्तन गर्नेछौं। दोस्रो, नम्र छौं भने अन्याय भएकै हो भने पनि यहोवाले त्यो नसच्याउन्जेल अधीनमा बस्नेछौं र धैर्य गर्नेछौं। एक जना बुद्धिमान्‌ मानिसले यस्तो लेखे: “परमेश्वरसँग डराउनेहरूलाई असलै हुनेछ . . . तर दुष्ट मानिसलाई भलो हुनेछैन। त्यो दीर्घायु पनि हुनेछैन।” (उप. ८:१२, १३) हो, नम्र हुँदा हाम्रो र अरू कसैको पनि यहोवासित सम्बन्ध बिग्रनेछैन।१ पत्रुस ५:५ पढ्‌नुहोस्।

देखावटी व्यवहार

१२. हामी कुन विवरण केलाउनेछौं र किन?

१२ प्रथम शताब्दीमा सिरियाली एन्टिओकका ख्रीष्टियनहरूको नम्रताको मात्र होइन, क्षमा दिने इच्छुकताको पनि जाँच भयो। त्यो कस्तो अवस्था थियो, आउनुहोस् सँगै विचार गरौं। क्षमा दिने सन्दर्भमा हाम्रो मनोवृत्ति कस्तो छ, त्यो पनि केलाएर हेरौं। अनि क्षमा दिनु र यहोवाले गर्नुहुने न्यायबीच कस्तो सम्बन्ध छ, अझ राम्ररी बुझौं।

१३, १४. प्रेषित पत्रुसले कस्ता सुअवसरहरू पाए र तिनले कसरी साहस देखाए?

१३ प्रेषित पत्रुस नाम चलेका एल्डर थिए। तिनी येशूका साथी थिए र उहाँले तिनलाई महत्त्वपूर्ण जिम्मेवारीहरू सुम्पनुभएको थियो। (मत्ती १६:१९) उदाहरणको लागि, इस्वी संवत्‌ ३६ मा पत्रुसले कर्नीलियस र उनको घरानालाई सुसमाचार सुनाउने मौका पाए। यो घटना उल्लेखनीय थियो किनभने कर्नीलियस खतना नगरेका गैर-यहूदी थिए। कर्नीलियस र उनको घरानाले पवित्र शक्ति पाउँदा पत्रुसले यो कुरा मानिलिए: “हामीले जस्तै यिनीहरूले पनि पवित्र शक्ति पाएका छन्‌। त्यसैले, यिनीहरूले पानीमा बप्तिस्मा गर्न मिल्दैन भनेर के कसैले रोक्न सक्छ र?”—प्रेषि. १०:४७.

१४ ख्रीष्टियन धर्म अङ्‌गाल्ने गैर-यहूदीहरूले खतना गर्नुपर्छ कि पर्दैन भन्ने विवाद सुल्झाउन इस्वी संवत्‌ ४९ मा यरूशलेममा भएका प्रेषित र एल्डरहरू एकै ठाउँमा भेला भए। खतना नगरेका गैर-यहूदीहरूले केही वर्षअघि पवित्र शक्ति पाएको घटनाबारे पत्रुसले त्यहाँ उपस्थित भएकाहरूलाई बताए। ती गैर-यहूदीहरूले पवित्र शक्ति पाएको पत्रुस आफैले देखेका थिए। त्यसैले तिनको बयानले प्रथम शताब्दीको परिचालक निकायलाई खतनाको विषयमा निर्णय गर्न मदत गऱ्यो। (प्रेषि. १५:६-११, १३, १४, २८, २९) पत्रुसले साहसी भई दिएको बयानको लागि यहूदी र गैर-यहूदी ख्रीष्टियन तिनीप्रति निकै आभारी भएको हुनुपर्छ। पत्रुसजस्तो आध्यात्मिक रूपमा परिपक्व व्यक्तिमाथि भरोसा राख्न ती ख्रीष्टियनहरूलाई पक्कै सजिलो भएको हुनुपर्छ!—हिब्रू १३:७.

१५. सिरियाली एन्टिओकमा छँदा पत्रुसले कस्तो गल्ती गरे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

१५ इस्वी संवत्‌ ४९ मा प्रेषित र एल्डरहरूको सभा भएको केही समय नबित्दै पत्रुस सिरियाली एन्टिओक गए। तिनले त्यहाँका गैर-यहूदी भाइहरूसित घुलमिल गर्न केही अप्ठ्‌यारो मानेनन्‌। ती भाइहरूले पत्रुसको ज्ञान र अनुभवबाट धेरै कुरा सिक्ने मौका पाए होलान्‌। तर पत्रुसले अचानक ती भाइहरूसँग बसेर खान छोड्‌दा तिनीहरू कत्ति छक्क परे होलान्‌! अनि त्यस्तो व्यवहारले गर्दा तिनीहरूको कत्ति चित्त दुख्यो होला, हामी कल्पना गर्न सक्छौं! पत्रुसको प्रभावमा परेर मण्डलीका अरू यहूदीहरू र बर्णाबासले समेत पत्रुसको जस्तो व्यवहार देखाए। पत्रुसको यस्तो व्यवहारले मण्डलीको एकता भङ्‌ग हुन सक्थ्यो। पत्रुसजस्तो पाको एल्डर कसरी यस्तो गल्ती गर्न पुगे? एल्डरको बोली वा व्यवहारले गर्दा हाम्रो चित्त दुख्यो भने पत्रुसको घटनाबाट कस्तो पाठ सिक्न सक्छौं?

१६. पत्रुसलाई कसरी सच्याइयो? कस्ता प्रश्नहरू उठ्‌छन्‌?

१६ गलाती २:११-१४ पढ्‌नुहोस्। पत्रुस मानिसहरूसित डराए। (हितो. २९:२५) गैर-यहूदीहरूप्रति यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर पत्रुसले राम्ररी बुझेका थिए। तैपनि तिनी यरूशलेमको मण्डलीमा भएका खतना गरेका यहूदीहरूले के भन्लान्‌ भनेर डराए। इस्वी संवत्‌ ४९ मा यरूशलेममा भएको सभामा प्रेषित पावल पनि उपस्थित थिए। त्यसैले पावलले पत्रुसलाई एन्टिओकमा भेटे र पत्रुसको देखावटी व्यवहार पर्दाफास गरिदिए। (प्रेषि. १५:१२; गला. २:१३) पत्रुसको भेदभावपूर्ण व्यवहारले गर्दा चित्त दुखाएका गैर-यहूदी ख्रीष्टियनहरूले के गर्ने थिए? के तिनीहरूले ठेस खाने थिए? के यस गल्तीले गर्दा पत्रुसले विशेष सुअवसरहरू गुमाउने थिए?

क्षमा दिनुहोस्

१७. यहोवाको क्षमा पाएर पत्रुसले के गर्न सके?

१७ पावलले सच्याउँदा पत्रुसले नम्र भई स्विकारे। पत्रुसले सुअवसरहरू गुमाए भनेर बाइबलमा कतै पनि बताइएको छैन। पछि तिनले परमेश्वरको प्रेरणा पाएर दुइटा पत्र लेखे र ती पत्रहरू बाइबलको भाग बने। उल्लेखनीय कुरा के छ भने पत्रुसले आफ्नो दोस्रो पत्रमा पावललाई “हाम्रा प्रिय भाइ” भनेका छन्‌। (२ पत्रु. ३:१५) पत्रुसको देखावटी व्यवहारले गर्दा मण्डलीका गैर-यहूदी ख्रीष्टियनहरूको निकै चित्त दुखेको हुनुपर्छ। तर मण्डलीको शिर येशूले पत्रुसलाई विभिन्न जिम्मेवारी पूरा गर्न प्रयोग गरिरहनुभयो। (एफि. १:२२) यस घटनाले गर्दा मण्डलीका सदस्यहरूले क्षमा दिने सन्दर्भमा येशू र उहाँको बुबाको अनुकरण गर्ने मौका पाए। आशा छ, ती ख्रीष्टियनहरूमध्ये कसैले पनि एक जना त्रुटिपूर्ण मानिसको गल्तीले गर्दा ठेस खाएनन्‌ होला।

१८. अन्याय भएको जस्तो लाग्ने कस्ता अवस्थाहरूमा हामीले यहोवाको जस्तै दृष्टिकोण राख्नुपर्छ?

१८ प्रथम शताब्दीमा जस्तै अहिलेका मण्डलीहरूमा पनि त्रुटिरहित एल्डरहरू कोही पनि छैनन्‌। बाइबल यसो भन्छ: “हामी सबै जना धेरै चोटि चुक्छौं।” (याकू. ३:२) यो कुरा स्विकार्न हामीलाई त्यति गाह्रो लाग्दैन होला तर कुनै भाइको कमीकमजोरीले गर्दा चित्त दुखेको छ भने हामी के गर्छौं? त्यस्तो अवस्थामा के हामी यहोवाको जस्तै दृष्टिकोण राख्छौं? जस्तै: एल्डरले तपाईं वा अरू कसैको विषयमा भेदभावपूर्ण टिप्पणी गरेको जस्तो लागेमा तपाईं के गर्नुहुन्छ? एल्डरले सोचविचारै नगरी बोलेको कुराले गर्दा चित्त दुख्यो वा रिस उठ्‌यो भने के तपाईं ठेस खानुहुन्छ? उक्त भाइ एल्डरको रूपमा सेवा गरिरहन योग्य छैनन्‌ भन्ने निष्कर्षमा पुगिहाल्नुको साटो के तपाईं यो मामिला मण्डलीका शिर येशूले सँभाल्नुहुनेछ भनेर धैर्य गर्दै पर्खनुहुन्छ? त्यस भाइले वर्षौंदेखि गरिरहेको वफादार सेवालाई सम्झेर के तपाईं आफ्नो दृष्टिकोण अझ फराकिलो बनाउनुहुन्छ? तपाईंविरुद्ध पाप गर्ने भाइले एल्डरको रूपमा सेवा गरिरहन्छन्‌ वा थप सुअवसरसमेत पाउँछन्‌ भने के तपाईं तिनीसितै रमाउनुहुन्छ? क्षमाशील हुनुभयो भने अन्याय भएको जस्तो लागेको अवस्थामा तपाईंले यहोवाको जस्तै दृष्टिकोण राखिरहनुभएको हुनेछ।—मत्ती ६:१४, १५ पढ्‌नुहोस्।

१९. हामी के गर्न कटिबद्ध हुनुपर्छ?

१९ अहिले सैतान र त्यसको दुष्ट संसारले गर्दा मानिसहरूले घोर अन्याय भोगिरहेका छन्‌। त्यसैले अन्याय भएको हेर्न नचाहने मानिसहरू त्यस दिनको प्रतीक्षामा छन्‌, जब यहोवाले सबै अन्याय नामेट पार्नुहुनेछ। (यशै. ६५:१७) त्यो दिन नआउन्जेल नम्र भई आफ्नो सीमितता मानिलिएर अनि हामीविरुद्ध पाप गर्नेहरूलाई खुला मनले क्षमा दिएर यहोवाको जस्तै दृष्टिकोण राख्न कटिबद्ध होऔं।