सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“विदेशीहरू”-का छोराछोरीलाई मदत गर्नुहोस्

“विदेशीहरू”-का छोराछोरीलाई मदत गर्नुहोस्

“मेरा छोराछोरीहरू सत्यमा चलिरहेका छन्‌ भनेर सुन्न पाउनुभन्दा बढ्‌ता खुसीको कुरा मसित अरू छैन।”​—⁠३ यूह. ४.

गीत: ८८, ४१

१, २. (क) थुप्रै आप्रवासी छोराछोरीले कस्तो समस्या भोग्दै छन्‌? (ख) यस लेखमा कस्ता प्रश्नहरूबारे छलफल गर्नेछौं?

आप्रवासी आमाबाबुका छोरा जोशुवा भन्छन्‌, “म सानैदेखि घरमा अनि मण्डलीमा आमाबुबाको मातृभाषा बोल्थें। तर स्कुल जान थालेपछि भने यहाँकै भाषा बोल्न सजिलो लाग्न थाल्यो। केही वर्षपछि यो नयाँ भाषा नै मलाई आफ्नो भाषाजस्तो लाग्न थाल्यो। त्यसपछि सभामा भनिएको कुरा बुझ्न गाह्रो लाग्यो अनि आमाबुबाको रहनसहन पनि नौलो लाग्न थाल्यो।” अरू थुप्रैले पनि जोशुवाले जस्तै अनुभव गरेका छन्‌।

आज संसारमा २४ करोडभन्दा धेरै मानिस आफू जन्मेको देश छोडेर विदेशमा बसोबास गर्दै छन्‌। तपाईं आप्रवासी हुनुहुन्छ भने आफ्नो छोराछोरीलाई यहोवालाई प्रेम गर्न र ‘सत्यमा चलिरहन’ कसरी मदत गर्न सक्नुहुन्छ? (३ यूह. ४) अनि अरूले कसरी मदत गर्न सक्छन्‌?

आमाबाबु हो, राम्रो उदाहरण बसाल्नुहोस्

३, ४. (क) आमाबाबुले छोराछोरीको लागि कसरी राम्रो उदाहरण बसाल्न सक्छन्‌? (ख) आमाबाबुले छोराछोरीबाट के आशा गर्नु हुँदैन?

आमाबाबु हो, छोराछोरीले यहोवासित राम्रो सम्बन्ध गाँसेको अनि अनन्त जीवन पाएको चाहनुहुन्छ भने तपाईंले राम्रो उदाहरण बसाल्नु धेरै महत्त्वपूर्ण छ। तपाईंले ‘परमेश्वरको राज्यलाई पहिलो स्थान दिइरहनुभएको’ देख्दा छोराछोरीले दैनिक आवश्यकताको लागि यहोवामाथि भर पर्न सिक्छन्‌। (मत्ती ६:​३३, ३४) त्यसैले सरल जीवन बिताउनुहोस्। आध्यात्मिक कुरा हासिल गर्न भौतिक कुरा त्याग्न इच्छुक हुनुहोस्, भौतिक कुराको लागि आध्यात्मिक कुरा होइन। सकेसम्म ऋण नलिनुहोस्। धनसम्पत्ति वा “मानिसहरूबाट पाउने प्रशंसा” नखोज्नुहोस् बरु “स्वर्गमा धनसम्पत्ति” थुपार्नुहोस् अर्थात्‌ यहोवाको अनुमोदन खोज्नुहोस्।​—⁠मर्कूस १०:​२१, २२ पढ्‌नुहोस्; यूह. १२:⁠४३.

छोराछोरीलाई समय नै दिन नसक्ने हदसम्म कहिल्यै व्यस्त नहुनुहोस्। छोराछोरीले आफ्नो वा तपाईंको लागि नाम-दाम कमाउनुको साटो यहोवालाई पहिलो स्थान दिने निर्णय गरेकोमा तपाईं खुसी हुनुहुन्छ भनेर तिनीहरूलाई थाह दिनुहोस्। छोराछोरीले आमाबाबुलाई सुख-सुविधामा राख्नुपर्छ भन्ने धारणा बाइबलसँग मेल खाँदैन। त्यसैले यस्तो धारणा नराख्नुहोस्। यो कुरा नबिर्सनुहोस्, “छोराछोरीले आमाबाबुको लागि होइन तर आमाबाबुले छोराछोरीको लागि धनसम्पत्ति थुपार्नुपर्छ।”​—⁠२ कोरि. १२:⁠१४.

छोराछोरीले भाषा बुझ्दैनन्‌ भने के गर्ने?

५. आमाबाबुले छोराछोरीलाई किन यहोवाबारे सिकाइरहनुपर्छ?

भविष्यवाणी गरिएझैं “सबै जातिका विभिन्न भाषा बोल्नेहरू” यहोवाको सङ्‌गठनमा ओइरिरहेका छन्‌। (जक. ८:२३) तर छोराछोरीले तपाईंको भाषा बुझ्दैनन्‌ भने बाइबलको सत्य सिकाउन गाह्रो हुन सक्छ। तपाईंले एकदमै ध्यान दिएर सिकाउनुपर्ने बाइबल विद्यार्थी तपाईंकै छोराछोरी हुन्‌। तिनीहरूले यहोवाको ‘ज्ञान लिनु’ भनेको तिनीहरूको लागि अनन्त जीवन हो। (यूह. १७:⁠३) आमाबाबुले छोराछोरीलाई विभिन्न मौकामा यहोवा र उहाँको शिक्षाबारे सिकाइरहनुपर्छ।​—⁠व्यवस्था ६:​६, ७ पढ्‌नुहोस्।

६. तपाईंको मातृभाषा सिक्दा छोराछोरीलाई कस्तो फाइदा हुन्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

तपाईंको छोराछोरीले स्कुल वा अरू मानिसहरूबाट स्थानीय भाषा सिक्छन्‌ होला। तर तपाईंको मातृभाषा सिक्ने मुख्य तरिका तपाईंसँग नियमित रूपमा कुराकानी गरेरै हो। तपाईंको मातृभाषा सिक्दा छोराछोरीले तपाईंसँग खुलेर कुराकानी गर्न सक्छन्‌। त्यति मात्र होइन, दुइटा भाषा जानेपछि छोराछोरीको सोच्ने क्षमता तिखारिन्छ र विभिन्न किसिमका मानिससित घुलमिल हुन पनि सिपालु हुन्छन्‌। साथै तिनीहरूले आफ्नो सेवाको काम विस्तार गर्ने मौकाहरू पनि पाउँछन्‌। आप्रवासी आमाबाबुकी छोरी क्यारोलिना यसो भन्छिन्‌, “विदेशी भाषाको मण्डलीमा सेवा गर्न निकै रमाइलो छ। आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्दा मज्जा लाग्छ।”

७. छोराछोरीले तपाईंको भाषा बुझ्दैनन्‌ भने के गर्न सक्नुहुन्छ?

स्थानीय रहनसहन र भाषा सिक्दै जाँदा कसै-कसैलाई आमाबाबुको मातृभाषामा कुराकानी गर्न झिजो लाग्न सक्छ र भाषाको कारण कुराकानी गर्न गाह्रो लाग्न सक्छ। आमाबाबु हो, यदि तपाईंको छोराछोरीलाई पनि यस्तै लागिरहेको छ भने तपाईंले नै अलि-अलि भए पनि स्थानीय भाषा सिक्न सक्नुहुन्छ कि? यदि तपाईंले छोराछोरीको कुराकानी बुझ्नुभयो, तिनीहरूले कस्तो मनोरञ्जन गर्दै छन्‌ र स्कुलको पढाइ कस्तो हुँदै छ भनेर थाह पाउनुभयो अनि स्कुलका शिक्षकहरूसँग कुराकानी गर्न सक्नुभयो भने तिनीहरूलाई यहोवाको बाटोमा हुर्काउन सजिलो हुनेछ। हुन त नयाँ भाषा सिक्न समय, कोसिस र नम्रता चाहिन्छ। तर मानौं, केही गरी तपाईंको बच्चा कान नसुन्ने भयो भने तिनीसित कुरा गर्न के तपाईं साङ्‌केतिक भाषा सिक्ने कोसिस गर्नुहुन्न र? त्यसैगरि, तपाईंको बच्चालाई अर्को भाषा राम्ररी आउँछ भने के तपाईं तिनको भाषा सिक्न त्यस्तै प्रयास गर्नुहुन्न र?  *

८. नयाँ भाषा राम्ररी आउँदैन भने पनि तपाईं कसरी छोराछोरीलाई मदत गर्न सक्नुहुन्छ?

छोराछोरीको नयाँ भाषामा पोख्त हुन कोही-कोही आप्रवासी आमाबाबुको लागि असम्भव हुन सक्छ। जसले गर्दा छोराछोरीलाई “पवित्र लेखोटहरू”-बाट गहिरो शिक्षा सिकाउन गाह्रो हुन सक्छ। (२ तिमो. ३:१५) तपाईं यस्तै अवस्थामा हुनुहुन्छ भने पनि आफ्नो छोराछोरीलाई यहोवालाई चिन्न र उहाँलाई प्रेम गर्न सिकाउन मदत गर्न सक्नुहुन्छ। शान भन्ने एल्डर यसो भन्छन्‌, “हामीले राम्ररी बुझ्ने भाषा आमा त्यत्ति बुझ्न सक्नुहुन्नथ्यो। अनि दिदी, बहिनी र मलाई उहाँको भाषा राम्ररी आउँदैनथ्यो। तर उहाँले अध्ययन गरेको, प्रार्थना गरेको अनि हरेक हप्ता पारिवारिक उपासना गर्न सक्दो कोसिस गरेको देख्दा यहोवाबारे सिक्नु कत्ति महत्त्वपूर्ण छ भनेर हामीले बुझ्यौं।”

९. दुइटा भाषामा यहोवाबारे सिक्नुपर्ने छोराछोरीलाई आमाबाबुले कसरी मदत गर्न सक्छन्‌?

केही छोराछोरीले दुइटा भाषामा यहोवाबारे सिक्नुपर्ने हुन सक्छ​—⁠एउटा स्कुलको भाषा अनि अर्को घरको। त्यसैले केही आमाबाबुले छोराछोरीलाई सिकाउँदा तिनीहरूले बुझ्ने दुवै भाषाका पुस्तक-पुस्तिका, अडियो रेकर्डिङ अनि भिडियो प्रयोग गर्छन्‌। कुरा स्पष्ट छ, छोराछोरीलाई यहोवासितको सम्बन्ध बलियो बनाउन मदत गर्न आप्रवासी आमाबाबुले धेरै समय दिनुपर्छ र आफै अग्रसर हुनुपर्छ।

तपाईं कुन भाषाको मण्डलीमा जानु बेस हो?

१०. (क) कुन भाषाको मण्डलीमा जाने भनेर कसले निर्णय गर्नुपर्छ? (ख) यसबारे निर्णय गर्नुअघि तिनले के गर्नुपर्छ?

१० “विदेशी” भाइबहिनीको नजिकै तिनीहरूकै भाषा बोल्ने साक्षीहरू छैनन्‌ भने तिनीहरू त्यहींको कुनै स्थानीय मण्डलीमा जानुपर्ने हुन्छ। (भज. १४६:⁠९) तर यदि तपाईंको मातृभाषाको मण्डली नजिकै छ भने तपाईंलाई लाग्ला: ‘मेरो परिवार कुन भाषाको मण्डलीमा जानु बेस होला?’ यसबारे निर्णय गर्नुअघि परिवारको शिरले राम्ररी सोचविचार गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ र पत्नी अनि छोराछोरीसित सरसल्लाह गर्नुपर्छ। (१ कोरि. ११:⁠३) परिवारको शिरले कस्ता कुराहरूमा विचार पुऱ्याउनुपर्छ? बाइबलका कस्ता सिद्धान्तहरू लागू हुन्छन्‌? आउनुहोस्, यसबारे विचार गरौं।

११, १२. (क) छोराछोरीले सभाबाट कत्तिको लाभ उठाउँछन्‌ भन्ने कुरालाई भाषाले कस्तो असर गर्छ? (ख) केही छोराछोरी किन आमाबाबुको भाषा सिक्न चाहँदैनन्‌?

११ आमाबाबुले आफ्नो छोराछोरीको आवश्यकताबारे राम्ररी विचार गर्नुपर्छ। हुन त भाषा जुनसुकै भए पनि तपाईंको छोराछोरीले बाइबलको सत्य राम्ररी बुझ्न हरेक हप्ता सभामा केही घण्टा मात्र बाइबलको शिक्षा लिएर पुग्दैन। तर साथै यो कुरा पनि विचार गर्नुहोस्: छोराछोरीले बुझ्ने भाषाको मण्डलीमा उपस्थित हुँदा मात्र पनि तिनले बाइबलको धेरै कुरा सिक्न सक्छन्‌, सायद आमाबाबुले सोचेभन्दा धेरै। तर सभामा बोलिने भाषा तिनले राम्ररी बुझ्दैनन्‌ भने यस्तो नहुन सक्छ। (१ कोरिन्थी १४:​९, ११ पढ्‌नुहोस्) सुरुमा त तिनलाई आमाबाबुको भाषा नै आफ्नो भाषाजस्तो लाग्थ्यो होला तर पछि, तिनले सोच्ने र तिनको मनसम्म पुग्ने भाषा त्यो नहुन सक्छ। केही छोराछोरीले आमाबाबुको भाषामा टिप्पणी दिन, प्रस्तुति र भाषणहरू दिन सिक्न सक्छन्‌। तर त्यो तिनीहरूको मनदेखि नआएको हुन सक्छ।

१२ केटाकेटीको मनलाई भाषाले मात्र होइन, अरू कुराले पनि असर गर्छ। सुरुमा चर्चा गरिएका जोशुवालाई यस्तै भएको थियो। तिनकी दिदी एस्थर यसो भन्छिन्‌, “साना केटाकेटीलाई आमाबाबुको भाषा, रहनसहन अनि धर्म भनेको अलग-अलग नभई एउटै कुरा हो जस्तो लाग्छ।” त्यसैले यदि बच्चालाई आफ्नो आमाबाबुको रहनसहन आफ्नो जस्तो लागेन भने तिनीहरूले आमाबाबुको भाषा अनि धार्मिक आस्थाबारे सिक्ने इच्छा नदेखाउन सक्छन्‌। यस्तो अवस्थामा आप्रवासी आमाबाबुले के गर्न सक्छन्‌?

१३, १४. (क) एउटा आप्रवासी परिवार किन स्थानीय भाषाको मण्डलीमा सरे? (ख) आध्यात्मिक रूपमा बलियो भइरहन ती आमाबाबुले के गरे?

१३ ख्रीष्टियन आमाबाबु आफ्नो रुचिलाई भन्दा छोराछोरीको आध्यात्मिक हितलाई पहिलो स्थान दिन्छन्‌। (१ कोरि. १०:२४) जोशुवा र एस्थरका बुबा स्यामूएल भन्छन्‌: “म र मेरी श्रीमतीले हाम्रो छोराछोरीले कुन भाषामा बाइबलको कुरा राम्ररी सिकिरहेका छन्‌ भनेर ध्यान दियौं र बुद्धिको लागि प्रार्थना गऱ्यौं। जवाफ हामीले सोचेभन्दा फरक थियो। हामीले बुझ्ने भाषाको मण्डलीबाट उनीहरूले लाभ उठाउन सकिरहेका थिएनन्‌। त्यसैले हामीले स्थानीय भाषाको मण्डलीमा जाने निर्णय गऱ्यौं। हामी नियमित रूपमा सभा अनि प्रचार गयौं। अनि मण्डलीका भाइबहिनीलाई खाना खान बोलायौं। उहाँहरूसँगै घुमघाम गर्न गयौं। यसले गर्दा हाम्रो छोराछोरीलाई भाइबहिनीसित घुलमिल हुन सजिलो भयो। अनि उनीहरूले यहोवालाई आफ्नो परमेश्वरको रूपमा मात्र होइन, बुबा र साथीको रूपमा पनि स्विकार्न सके। यो कुरा उनीहरूले हाम्रो भाषा राम्ररी बोल्न सक्नुभन्दा धेरै महत्त्वपूर्ण लाग्यो।”

१४ स्यामूएल भन्छन्‌: “आध्यात्मिक रूपमा बलियो भइरहन म र मेरी श्रीमती हाम्रै भाषाको मण्डलीमा पनि गयौं। हुन त यसले गर्दा हामी धेरै व्यस्त भयौं अनि थकित पनि। तर हाम्रो मेहनत अनि त्यागमा यहोवाले आशिष्‌ दिनुभयो। यसको लागि हामी उहाँप्रति निकै आभारी छौं। अहिले हाम्रा तीनै जना छोराछोरी पूर्ण-समय सेवा गर्दै छन्‌।”

छोराछोरीले के गर्न सक्छन्‌?

१५. आफूलाई सजिलो लाग्ने भाषाको मण्डलीमा अझ राम्ररी यहोवाको सेवा गर्न सक्छु जस्तो क्रिस्टिनालाई किन लाग्यो?

१५ ठूलो भइसकेका छोराछोरीलाई आफूले राम्ररी बुझ्ने भाषाको मण्डलीमा जाँदा यहोवाको सेवा अझ राम्ररी गर्न सकिन्छ जस्तो लाग्न सक्छ। यदि तिनीहरूले तपाईंलाई त्यस्तो कुरा बताएमा ‘अब छोराछोरीले हाम्रो माया मार्ने भए’ भन्ठान्नुपर्दैन। क्रिस्टिना भन्छिन्‌, “म अलि-अलि आमाबुबाको भाषा बुझ्थें तर सभाको कुरा भने बुझ्न गाह्रो लाग्थ्यो। म १२ वर्षको हुँदा, स्कुलमा बोलिने भाषाको अधिवेशन गएँ। आफूले सुनिरहेको कुरा सत्य हो भनेर मैले पहिलो चोटि महसुस गरें! पछि, स्कुलमा बोलिने भाषामा प्रार्थना गर्न थालेपछि मैले राम्ररी बुझ्ने भाषा कुन हो भनेर स्पष्ट भयो। मैले यहोवासित मन खोलेर कुरा गर्न सकें!” (प्रेषि. २:​११, ४१) क्रिस्टिना १८ वर्षको भएपछि यसबारे आमाबाबुसँग कुरा गरिन्‌ र आफूले राम्ररी बुझ्ने भाषाको मण्डलीमा सर्ने निर्णय गरिन्‌। तिनी भन्छिन्‌: “स्कुलमा बोलिने भाषामा यहोवाबारे सिक्न थालेपछि उहाँको सेवामा अघि बढ्‌न उत्प्रेरित भएँ।” केही समय नबित्दै क्रिस्टिनाले नियमित अग्रगामी सेवा सुरु गरिन्‌ र तिनी निकै खुसी छिन्‌।

१६. नाडिया स्थानीय भाषाको मण्डलीमा नसरेकोमा किन खुसी छिन्‌?

१६ युवाहरू हो, के तपाईं पनि स्थानीय भाषाको मण्डलीमा सर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने आफू सर्न चाहनुको कारण पत्ता लगाउनुहोस्। नयाँ मण्डलीमा सर्दा के तपाईं यहोवासित अझ नजिक हुनुहुनेछ? (याकू. ४:⁠८) अथवा के तपाईं आमाबाबुदेखि स्वतन्त्र हुन वा सजिलो बाटो रोज्न सर्दै हुनुहुन्छ? अहिले बेथेल सेवा गरिरहेकी नाडिया यसो भन्छिन्‌, “किशोरावस्थामा पुगेपछि हामी छोराछोरीहरू स्थानीय भाषाको मण्डलीमा सर्न चाहन्थ्यौं।” तर यसरी सर्नु तिनीहरूको आध्यात्मिकताको लागि ठीक छैन भनेर नाडियाको आमाबाबुलाई थाह थियो। नाडिया भन्छिन्‌, “आमाबुबाले हामीलाई बाइबलको कुरा आफ्नै भाषामा सिकाउन धेरै मेहनत गर्नुभयो अनि हामीलाई उहाँहरूकै भाषाको मण्डलीमा राख्नुभयो। यसको लागि अहिले हामी धेरै कृतज्ञ छौं। हाम्रो जीवन अर्थपूर्ण भएको छ र मानिसहरूलाई यहोवाबारे सिकाउने थुप्रै मौका पाएका छौं।”

अरूले कसरी मदत गर्न सक्छन्‌?

१७. (क) यहोवाले छोराछोरी हुर्काउने जिम्मेवारी कसलाई दिनुभएको छ? (ख) आमाबाबुले छोराछोरीलाई बाइबलको सत्य सिकाउन कसको मदत लिन सक्छन्‌?

१७ छोराछोरीलाई बाइबलको सत्य सिकाउने जिम्मेवारी यहोवाले हजुरबुबा-हजुरआमा वा अरूलाई होइन, आमाबाबुलाई दिनुभएको छ। (हितोपदेश १:८; ३१:​१०, २७, २८ पढ्‌नुहोस्) तर स्थानीय भाषा नआउने आमाबाबुलाई छोराछोरीको मनसम्म पुग्नेगरि बाइबलको कुरा सिकाउन मदत चाहिन सक्छ। छोराछोरीलाई सिकाउन अरूको मदत लिनु भनेको आफ्नो जिम्मेवारीदेखि पन्छिन खोज्नु होइन बरु तिनीहरूलाई “यहोवाको डोऱ्याइ बमोजिम अनुशासन अनि चेतावनी” दिएर हुर्काउनको लागि मदत खोज्नु हो। (एफि. ६:⁠४) जस्तै, पारिवारिक उपासना सञ्चालन गर्न र छोराछोरीको लागि राम्रा साथीहरू खोज्न आमाबाबुले एल्डरहरूको मदत लिन सक्छन्‌।

मण्डलीका दाजुभाइ दिदीबहिनीसित सङ्‌गत गरेर आमाबाबु र छोराछोरीले थुप्रै लाभ उठाउन सक्छन्‌ (अनुच्छेद १८, १९ हेर्नुहोस्)

१८, १९. (क) आध्यात्मिक रूपमा परिपक्व भाइबहिनीले कसरी केटाकेटीहरूलाई मदत गर्न सक्छन्‌? (ख) आमाबाबुले के गरिरहनुपर्छ?

१८ आमाबाबुले बेलाबेलामा अरू परिवारलाई आफ्नो पारिवारिक उपासनामा बोलाउन सक्छन्‌। साथै आध्यात्मिक रूपमा परिपक्व साथीहरूसँगै प्रचार गएर अनि स्फूर्तिदायी मनोरञ्जनमा भाग लिएर युवाहरूले धेरै कुरा सिक्न सक्छन्‌। (हितो. २७:१७) यसअघि उल्लेख गरिएका भाइ शान यसो भन्छन्‌, “मलाई आध्यात्मिक मदत दिने भाइहरूलाई म बिर्सन सक्दिनँ। सुरु-सुरुमा विद्यार्थी भाषण दिन थाल्दा उहाँहरूले मलाई धेरै मदत गर्नुभयो। यसबाट धेरै कुरा सिक्न सकें। फुर्सतको बेला उहाँहरूसँग रमाइलो पनि गर्थें।”

१९ आप्रवासी छोराछोरीलाई मदत गर्ने भाइबहिनीले तिनीहरूलाई आफ्नो आमाबाबुको आदर गर्न प्रोत्साहन दिनुपर्छ। यसो गर्न ती भाइबहिनीले तिनीहरूको आमाबाबुबारे नकारात्मक कुराकानी गर्नु हुँदैन अनि तिनीहरूलाई हुर्काउने जिम्मेवारी आफै लिन खोज्नु हुँदैन। साथै मण्डलीभित्र र बाहिरकाहरूले गलत अर्थ लगाउन सक्ने कुनै पनि आचरण ती भाइबहिनीले देखाउनु हुँदैन। (१ पत्रु. २:१२) छोराछोरीलाई प्रशिक्षण दिने जिम्मेवारी आमाबाबुले अरूलाई सुम्पनु हुँदैन। बरु अरूले छोराछोरीलाई कसरी सिकाउँदै छन्‌ भनेर निगरानी गर्नुपर्छ र आफूले पनि सिकाइरहनुपर्छ।

२०. छोराछोरीलाई यहोवाको असल सेवक बन्न आमाबाबुले कसरी मदत गर्न सक्छन्‌?

२० आमाबाबु हो, मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस् अनि आफूले सकेजति प्रयास गर्नुहोस्। (२ इतिहास १५:७ पढ्‌नुहोस्) आफ्नो कुरालाई भन्दा छोराछोरीको यहोवासितको सम्बन्धलाई पहिलो स्थान दिनुहोस्। बाइबलको कुरा छोराछोरीको मनसम्म पुग्नेगरि सिकाउन सक्दो मेहनत गर्नुहोस्। तपाईंको छोराछोरी यहोवाको असल सेवक बन्न सक्छन्‌ भनेर विश्वस्त हुनुहोस्; कहिल्यै हार नमान्नुहोस्। तिनीहरू बाइबलको शिक्षाअनुसार चल्दा र तपाईंको राम्रो उदाहरण अनुकरण गर्दा तपाईंले पनि प्रेषित यूहन्नाले जस्तै महसुस गर्नुहुनेछ: “मेरा छोराछोरीहरू सत्यमा चलिरहेका छन्‌ भनेर सुन्न पाउनुभन्दा बढ्‌ता खुसीको कुरा मसित अरू छैन।”​—⁠३ यूह. ४.

^ अनु. 7 अप्रिल-जून, २००७, ब्यूँझनुहोस्!, पृष्ठ १२-१४ मा भएको “नयाँ भाषा सिक्न असम्भव छैन!” भन्ने लेख हेर्नुहोस्।