सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?”

“के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?”

“ए यूहन्नाको छोरा सिमोन, के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?” — यूह. २१:⁠१५.

गीत: १२८, ४५

१, २. रातभरि माछा मार्न बसेका पत्रुसले कस्तो पाठ सिके?

येशूका सात जना चेला गालील समुद्रमा रातभर माछा मार्न बसेका थिए। तर तिनीहरूले एउटै माछा मार्न सकेका थिएनन्‌। यो दृश्य पुनर्जीवित हुनुभएका येशूले किनाराबाट हेरिरहनुभएको थियो। तब उहाँले तिनीहरूलाई भन्नुभयो: “ ‘डुङ्‌गाको दाहिनेतिर जाल हान अनि तिमीहरूले केही भेट्टाउनेछौ।’ तिनीहरूले त्यसै गरे अनि जालमा धेरै माछा परेकोले तिनीहरूले तान्न सकेनन्‌।” — यूह. २१:​१-६.

तिनीहरूलाई नास्ता दिइसक्नुभएपछि सिमोन पत्रुसतिर फर्कंदै येशूले सोध्नुभयो: “ए यूहन्नाको छोरा सिमोन, के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?” येशूले यहाँ के भन्न खोज्दै हुनुहुन्थ्यो? पत्रुसलाई माछा मार्ने काम असाध्यै मन पर्थ्यो। त्यसैले येशूले पत्रुसलाई सबैभन्दा मन पर्ने कुरा के हो भनेर सोध्दै हुनुहुन्थ्यो जस्तो देखिन्छ। के तिनी येशू र उहाँको शिक्षालाई भन्दा माछा र माछा मार्ने व्यवसायलाई बढी माया गर्थे? पत्रुसले यस्तो जवाफ दिए: “गर्छु प्रभु, म तपाईंलाई माया गर्छु भनेर तपाईंलाई थाहै छ नि।” (यूह. २१:१५) पत्रुसले आफ्नो जवाफअनुसारै जीवन बिताए। त्यसपछि चेला बनाउने काममा पुरापुर भाग लिएर तिनले ख्रीष्टप्रति आफ्नो प्रेम देखाए। तिनी पछि गएर प्रथम शताब्दीको ख्रीष्टियन मण्डलीको खामो बने।

३. ख्रीष्टियनहरू कस्ता खतराहरूदेखि सजग हुनुपर्छ?

येशूले पत्रुसलाई भन्नुभएको कुराबाट हामी के सिक्न सक्छौं? ख्रीष्टप्रतिको प्रेमलाई बलियो बनाइराख्न अनि अरू कुरामा नअलमली परमेश्वरको राज्यसम्बन्धी कामकुरामा ध्यान दिन हामी सजग हुनुपर्छ। यस संसारको फिक्रीको बोझ कस्तो हुन्छ भनेर येशूलाई राम्ररी थाह थियो। येशूले बिउ छर्नेको दृष्टान्तमा कसै-कसैले “राज्यको वचन” स्विकार्छन्‌ अनि सुरु-सुरुमा प्रगति पनि गर्छन्‌ तर “यस संसारको फिक्री र धनसम्पत्तिको भ्रामक शक्तिले गर्दा वचन निसासिन्छ” भनेर बताउनुभयो। (मत्ती १३:​१९-२२; मर्कू. ४:१९) हो, हामी होसियार भएनौं भने सामान्य दिनचर्याको फिक्रीले यहोवाको सेवामा बाधा पुऱ्याउन सक्छ र हामी आध्यात्मिक तवरमा सेलाउन सक्छौं। त्यसैले येशूले चेलाहरूलाई यस्तो चेतावनी दिनुभयो: “तिमीहरू आफ्नो विषयमा होसियार बस, ताकि धेरै खाने र पिउने अनि जीवनको फिक्रीको बोझले तिमीहरूको मनलाई दबाउन नपाओस्।” — लूका २१:⁠३४.

४. ख्रीष्टलाई कत्तिको प्रेम गर्छौं भनी हामी कसरी जाँच्न सक्छौं? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

४ पत्रुसले जस्तै हामीले पनि येशूले सुम्पनुभएको कामलाई पहिलो स्थान दिएर उहाँलाई प्रेम गरेको देखाउन सक्छौं। प्रचारकार्यलाई पहिलो स्थान दिइरहन के गर्न सक्छौं? बेलाबेलामा आफूलाई यस्ता प्रश्नहरू सोध्नुपर्छ: ‘म सबैभन्दा धेरै केलाई माया गर्छु? मलाई कुन कुरा गर्न धेरै रमाइलो लाग्छ​—⁠सामान्य दिनचर्याका कुरा वा आध्यात्मिक कुरा?’ यस सन्दर्भमा हामीले जीवनका तीन वटा पक्षलाई उचित स्थानमा राख्नुपर्छ। त्यसो गरेनौं भने ख्रीष्ट र आध्यात्मिक कुराहरूप्रति हाम्रो प्रेम सेलाउन सक्छ। ती तीन वटा पक्ष हुन्‌: काम, मनोरञ्जन र भौतिक कुराहरू।

कामलाई त्यसको उचित स्थानमा राख्नुहोस्

५. यहोवाले परिवारका शिरहरूलाई कस्तो जिम्मेवारी दिनुभएको छ?

५ पत्रुसको लागि माछा मार्ने काम एउटा सौख मात्र थिएन। त्यो तिनको जीविकोपार्जन गर्ने बाटो थियो। यहोवाले परिवारका शिरहरूलाई आफ्नो परिवारको भौतिक आवश्यकता पूरा गर्ने जिम्मेवारी दिनुभएको छ। (१ तिमो. ५:⁠८) यो जिम्मेवारी पूरा गर्न तिनीहरूले कडा मेहनत गर्नुपर्छ। तर यस अन्तको दिनमा कामले गर्दा अक्सर तनाव हुन सक्छ।

६. कामले गर्दा कसरी तनाव हुन सक्छ?

रोजगारीको अवसर थोरै छ तर जागिर खोज्नेहरूको सङ्‌ख्या धेरै छ। त्यसैले धेरैजसो मानिस थोरै तलबको लागि धेरै घण्टा काम गर्न बाध्य छन्‌। साथै कम्पनीहरू थोरै कामदार लगाएर धेरै उत्पादन गर्न खोज्छन्‌। यसले गर्दा कामदारहरू शारीरिक, मानसिक र भावनात्मक तवरमा लखतरान हुन्छन्‌। अनि माग गरेजति काम गरेन भने कम्पनीले कामबाट निकालिदेला कि भन्ने चिन्ता पनि हुन्छ।

७, ८. (क) हामी कोप्रति सबैभन्दा वफादार हुनुपर्छ? (ख) थाइल्याण्डका एक जना भाइले आफ्नो कामको सन्दर्भमा कस्तो महत्त्वपूर्ण पाठ सिके?

हामी ख्रीष्टियनहरू आफ्नो हाकिम वा मालिकप्रति भन्दा यहोवा परमेश्वरप्रति वफादार हुनुपर्छ। (लूका १०:२७) जागिर भनेको आधारभूत आवश्यकता पूरा गर्ने र आफ्नो प्रचारकार्यलाई टेवा पुऱ्याउने एउटा माध्यम हो। तर होसियार भएनौं भने हाम्रो जागिरले उपासनासम्बन्धी गतिविधिमा बाधा पुऱ्याउन सक्छ। थाइल्याण्डका एक जना भाइ आफ्नो अनुभव यसरी सुनाउँछन्‌: “म कम्प्युटर मर्मत गर्ने काम गर्थें। मलाई त्यो काम असाध्यै मन पर्थ्यो। तर धेरै समय दिनुपर्थ्यो। यसले गर्दा आध्यात्मिक कामकुराको लागि फुर्सदै हुँदैनथ्यो। त्यसैले परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिने हो भने अर्को काम खोज्नुपर्छ भनेर महसुस गरें।” ती भाइले के गरे?

तिनी भन्छन्‌: “एक वर्षजति राम्ररी सोचविचार गरें अनि पैसा पनि जम्मा गरें। त्यसपछि बाटोमा बसेर आइसक्रिम बेच्ने निर्णय गरें। सुरु-सुरुमा त पैसा कमाउन धौ-धौ पऱ्यो, निराश पनि भएँ। अफिसका साथीहरू मेरो खिल्ली उडाउँथे। एयर कन्डिसन अफिसमा बसेर कम्प्युटर बनाउनुभन्दा फुटपाथमा आइसक्रिम बेच्दा धेरै कमाइन्छ कि क्या हो भन्थे। यस्तो गाह्रो अवस्था सहन अनि आध्यात्मिक कामकुरामा धेरै समय बिताउने लक्ष्य हासिल गर्न मदत दिनुहोस् भनेर यहोवालाई प्रार्थना गरें। धेरै समय नबित्दै आइसक्रिमको व्यापार राम्रो हुन थाल्यो। ग्राहकहरूलाई कस्तो स्वाद मन पर्छ भनेर थाह पाएपछि त्यसैअनुसार बनाउन थालें। त्यसपछि त हरेक दिन सब आइसक्रिम बिक्री हुन थाल्यो। साँच्चै भन्ने हो भने कम्प्युटरको काम गर्दा जति कमाउँथें, आइसक्रिम बेच्दा त्यो भन्दा धेरै कमाउँथें। पहिलाको जागिरमा जस्तो तनाव र चिन्ता नभएकोले म पहिलेभन्दा खुसी छु। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवासित अझ घनिष्ठ भएको छु।” — मत्ती ५:​३,  पढ्‌नुहोस्।

९. कामप्रति कसरी सन्तुलित दृष्टिकोण राख्न सक्छौं?

हामी लगनशील भएको देख्दा यहोवा खुसी हुनुहुन्छ। अनि कडा मेहनत गर्दा इनाम पाइन्छ। (हितो. १२:१४) अघिल्लो अनुच्छेदमा उल्लेख गरिएका भाइले भनेझैं कामलाई त्यसको उचित स्थानमा राख्नुपर्छ। येशूले यसो भन्नुभयो: “उहाँको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा [अर्थात्‌ आधारभूत कुराहरू] तिमीहरूलाई दिइनेछ।” (मत्ती ६:३३) काम र आध्यात्मिक जिम्मेवारीलाई सही सन्तुलनमा राखेका छौं कि छैनौं भनी पक्का गर्न यस्ता प्रश्नहरू सोध्नु बेस हो: ‘के मलाई आफ्नो काम रमाइलो र महत्त्वपूर्ण तर आध्यात्मिक कुराहरूचाहिं पट्टाइलाग्दो अनि साधारण कामजस्तो लाग्छ?’ आफ्नो कामप्रति र आध्यात्मिक गतिविधिप्रति हाम्रो दृष्टिकोण कस्तो छ भनेर गहिरिएर विचार गऱ्यौं भने हामी सबैभन्दा धेरै केलाई माया गर्छौं भनेर पत्ता लगाउन सक्छौं।

१०. कुन कुरालाई प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भमा येशूले कस्तो महत्त्वपूर्ण पाठ सिकाउनुभयो?

१० हामीले आफ्नो कामकुरा र आध्यात्मिक कुरालाई कसरी सही सन्तुलनमा राख्न सक्छौं भनेर येशूले सिकाउनुभयो। एक चोटि येशू मरियम र तिनकी दिदी मार्थाको घर जानुभएको थियो। त्यतिबेला मार्था खाना बनाउन एकदमै व्यस्त थिइन्‌। तर मरियम भने येशूको पाउनेर बसेर उहाँको कुरा सुन्दै थिइन्‌। बहिनीले काममा नसघाएकीले मार्थाले गुनासो गरिन्‌। तब येशूले मार्थालाई यसो भन्नुभयो: “मरियमले आफ्नो निम्ति असल भाग रोजेकी छे र त्यो ऊबाट खोसिनेछैन।” (लूका १०:​३८-४२) येशूले मार्थालाई एउटा महत्त्वपूर्ण पाठ सिकाउँदै हुनुहुन्थ्यो। आफ्नै कामकुरामा नअलमलिन अनि ख्रीष्टलाई प्रेम गरेको देखाउन हामीले पनि “असल भाग” रोज्नुपर्छ अर्थात्‌ आध्यात्मिक कुरालाई प्राथमिकता दिनुपर्छ।

मनोरञ्जनप्रतिको हाम्रो दृष्टिकोण

११. आराम र मनोरञ्जन गर्नेबारे बाइबल के भन्छ?

११ हाम्रो जीवन एकदमै व्यस्त छ। त्यसैले कहिलेकाहीं आराम र मनोरञ्जन गर्ने समय चाहिन्छ। बाइबल यसो भन्छ: “मानिसले खानु, पिउनु र आफ्नो काममा सन्तुष्ट रहनुभन्दा अरू अझ बढी केही गर्न सक्दैन।” (उप. २:​२४, NRV) येशूले आफ्ना चेलाहरूलाई आराम चाहिन्छ भनेर बुझ्नुभएको थियो। एक चोटि, प्रचारकार्यबाट एकदमै थाकेर आएका चेलाहरूलाई उहाँले यसो भन्नुभयो: “तिमीहरू पनि मसँगै एकान्तमा आओ र अलिकति आराम गर।” — मर्कू. ६:​३१, ३२.

१२. मनोरञ्जन गर्ने सन्दर्भमा किन होसियार हुनुपर्छ? एउटा अनुभव बताउनुहोस्।

१२ मनोरञ्जन हामी सबैलाई चाहिन्छ। तर यसैलाई हामीले आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा ठान्यौं भने खतरा हुन सक्छ। प्रथम शताब्दीका थुप्रै मानिस यस्तो सोचाइ राख्थे: “आओ, हामी खाऔं र पिऔं, किनकि भोलि त हामी मरिहाल्छौं पो।” (१ कोरि. १५:३२) आज पनि थुप्रै ठाउँका मानिसहरू यस्तै सोचाइ राख्छन्‌। एउटा अनुभव विचार गरौं। केही वर्षअघि युरोपका एक जना युवक हाम्रा सभाहरूमा उपस्थित हुन थाले। तर मनोरञ्जन गर्न असाध्यै मन पर्ने भएकोले तिनले साक्षीहरूसँग सङ्‌गत गर्न छोडे। मनोरञ्जनमै चुर्लुम्म डुब्दा तिनी एकपछि अर्को समस्यामा परे अनि जीवन पनि आफूले सोचे जस्तो भएन। त्यसैले तिनले फेरि बाइबल अध्ययन सुरु गरे अनि पछि प्रकाशक बन्न योग्य भए। बप्तिस्मा गरेपछि तिनले यसो भने: “मनोरञ्जनको पछि लाग्नुभन्दा यहोवाको सेवा गर्नुमा धेरै आनन्द पाइन्छ भन्ने कुरा नबुझ्दा मैले आफ्नो धेरै समय त्यतिकै खेर फालें। मलाई पछुतो लागेको एउटै मात्र कुरा यही हो।”

१३. (क) मनोरञ्जन गर्न धेरै समय बिताउँदा कस्ता खतरा आइपर्न सक्छन्‌, उदाहरणसहित बताउनुहोस्। (ख) मनोरञ्जन गर्ने सन्दर्भमा सन्तुलित हुन केले मदत गर्छ?

१३ हामीले मनोरञ्जन गर्नुको उद्देश्य स्फूर्ति अनि नयाँ जोस-जाँगर पाउन हो। त्यसोभए मनोरञ्जन गर्न कति समय बिताउनु बेस हो? यो उदाहरण विचार गर्नुहोस्: धेरैजसोलाई कहिलेकाहीं मिठाई खान मन पर्छ तर सधैंजसो मिठाई खान थाल्यौं भने त्यसले हाम्रो स्वास्थ्य बिगार्छ। त्यसैले हाम्रो मुख्य आहार पोसिलो खाना नै हुनुपर्छ। त्यस्तैगरि हामीले आफ्नो सौख पूरा गर्न अनि मनोरञ्जन गर्न धेरै समय बिताउन थाल्यौं भने त्यसले हाम्रो आध्यात्मिक स्वास्थ्य बिगार्छ। त्यसो हुन नदिन नियमित रूपमा राज्य गतिविधिमा भाग लिनुपर्छ। मनोरञ्जन गर्ने सन्दर्भमा हामी सन्तुलित छौं कि छैनौं भनेर कसरी पक्का गर्न सक्छौं? हामी कुनै एउटा हप्ता रोज्न सक्छौं अनि त्यो हप्ता राज्य गतिविधिमा कति समय बितायौं, त्यसको रेकर्ड राख्न सक्छौं। जस्तै: सभामा उपस्थित हुन, प्रचारकार्यमा भाग लिन अनि व्यक्तिगत वा पारिवारिक अध्ययन गर्न। त्यही हप्ता मनोरञ्जन गर्न कति समय बितायौं, त्यसको पनि रेकर्ड राख्न सक्छौं। जस्तै: खेल खेल्न, सौख पूरा गर्न, टिभी हेर्न वा भिडियो गेम खेल्न। यी दुइटा रेकर्ड तुलना गरेर हेर्दा “मिठाई” कम गर्नुपर्ने जस्तो देखिन्छ कि? — एफिसी ५:​१५, १६ पढ्‌नुहोस्।

१४. उचित प्रकारको मनोरञ्जन छान्न कुन कुराले मदत गर्छ?

१४ बाइबलमा यहोवाले दिनुभएको सिद्धान्तसित बाझिंदैन भने कस्तो मनोरञ्जन छान्ने भनेर प्रत्येकले आफै निर्णय गर्न सक्छन्‌ अनि परिवारको शिरले पनि आफ्नो परिवारको लागि उचित मनोरञ्जन छान्न सक्छन्‌। * उचित प्रकारको मनोरञ्जन “परमेश्वरको दान” हो। (उप. ३:​१२, १३) हुन त मनोरञ्जन गर्ने सन्दर्भमा हरेकको रुचि फरक-फरक हुन्छ। (गला. ६:​४, ५) तर मनोरञ्जन छान्दा होसियार भने हुनुपर्छ। येशूले यसो भन्नुभयो: “जहाँ तिम्रो धन हुन्छ, त्यहीं तिम्रो मन पनि हुन्छ।” (मत्ती ६:२१) त्यसैले येशूलाई मनैदेखि प्रेम गर्छौं भने सामान्य दिनचर्याका कुरालाई भन्दा राज्य गतिविधिलाई अझ महत्त्वपूर्ण ठान्छौं भनेर आफ्नो सोचाइ, बोली अनि व्यवहारबाट देखाउनेछौं। — फिलि. १:​९, १०.

भौतिकवादविरुद्ध लड्‌नुहोस्

१५, १६. (क) हाम्रो लागि भौतिकवाद कसरी पासो हुन सक्छ? (ख) भौतिक कुराहरूबारे येशूले कस्तो राम्रो सल्लाह दिनुभयो?

१५ आज थुप्रै मानिस नयाँ-नयाँ फेसनका लुगा, इलेक्ट्रोनिक साधनजस्ता कुराहरू जम्मा गर्नमै लग्गू भएका छन्‌। त्यसैले प्रत्येक ख्रीष्टियनले आफूलाई नियमित रूपमा जाँच्न यस्ता प्रश्नहरू सोध्न सक्छन्‌: ‘के मेरो मुख्य चासोको विषय भौतिक कुराहरू हुन थालेको छ? सभाको तयारी गर्न जति समय बिताउँछु, त्योभन्दा धेरै समय नयाँ-नयाँ बाइक, गाडी वा फेसनबारे जान्न अनि त्यसैबारे सोचिरहन बिताउँछु? सामान्य दिनचर्याका काममा अति व्यस्त भएकोले प्रार्थना गर्न अनि बाइबल पढ्‌न थोरै समय बिताउँछु कि?’ ख्रीष्टलाई भन्दा भौतिक कुराहरूलाई धेरै प्रेम गरिरहेको जस्तो लागेमा येशूका यी शब्दहरू विचार गर्नुपर्छ: “हर प्रकारको लालचबाट आफूलाई जोगाओ।” (लूका १२:१५) येशूले किन यस्तो गम्भीर चेतावनी दिनुभयो?

१६ “कोही पनि दुई मालिकको दास बन्न सक्दैन” भनेर येशूले बताउनुभयो। उहाँले यसो पनि भन्नुभयो: “तिमीहरू परमेश्वर र धनसम्पत्ति दुवैको दास बन्न सक्दैनौ।” किनभने यी दुवै मालिक आफ्नो बाहेक अरू कसैको सेवा गरेको चाहँदैनन्‌। येशूले बताउनुभएअनुसार हामीले ‘एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछौं अथवा हामी एक जनासित टाँसिनेछौं र अर्कोलाई तुच्छ ठान्नेछौं।’ (मत्ती ६:२४) त्रुटिपूर्ण भएकोले हामी सबैले “शरीरका कुइच्छाहरू”-विरुद्ध लडिरहनुपर्छ। त्यस्ता कुइच्छाहरूमा भौतिकवाद पनि समावेश छ।​—⁠एफि. २:⁠३.

१७. (क) सांसारिक सोचाइ राख्ने मानिसहरूलाई भौतिक कुराहरूप्रति सन्तुलित दृष्टिकोण राख्न किन गाह्रो हुन्छ? (ख) भौतिकवादी सोचाइविरुद्ध लड्‌न कुन कुराले मदत गर्छ?

१७ सांसारिक सोचाइ राख्ने मानिसहरूलाई भौतिक कुराहरूप्रति सन्तुलित दृष्टिकोण राख्न गाह्रो हुन्छ। किन? किनभने परमेश्वरले कुन कुरालाई महत्त्वपूर्ण ठान्नुहुन्छ भनेर बुझ्ने तिनीहरूको क्षमता कमजोर भएको हुन्छ। (१ कोरिन्थी २:१४ पढ्‌नुहोस्) तिनीहरूको सोच्ने-बुझ्ने क्षमता बोधो भएपछि सही र गलत छुट्टयाउन झनै गाह्रो हुन्छ। (हिब्रू ५:​११-१४) परिणामस्वरूप, कोही-कोहीले भौतिक कुराहरूको अचाक्ली चाह गर्न थाल्छन्‌ र तिनीहरूलाई जति भए पनि पुग्दैन। (उप. ५:१०) तर भौतिकवादी सोचाइ हटाउने एउटा उपाय छ। त्यो हो, परमेश्वरको वचन बाइबल नियमित रूपमा अध्ययन गर्ने। (१ पत्रु. २:⁠२) येशूले परमेश्वरको वचनमा मनन गर्नुभएकोले प्रलोभनको प्रतिरोध गर्न बल पाउनुभयो। हामीले पनि बाइबलका सिद्धान्तहरू लागू गऱ्यौं भने भौतिकवादी सोचाइविरुद्ध लड्‌न सक्छौं। (मत्ती ४:​८-१०) यसरी बाइबलका सिद्धान्तहरू लागू गर्दा हामी भौतिक कुरालाई भन्दा येशूलाई धेरै प्रेम गर्छौं भनेर उहाँलाई देखाइरहेका हुन्छौं।

तपाईं कुन कुरालाई जीवनमा पहिलो स्थान दिनुहुन्छ? (अनुच्छेद १८ हेर्नुहोस्)

१८. तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

१८ येशूले पत्रुसलाई “के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ” भनेर सोध्नुभयो। त्यतिबेला उहाँले पत्रुसलाई आध्यात्मिक कुरालाई पहिलो स्थान दिनुपर्छ भनेर सम्झाउँदै हुनुहुन्थ्यो। पत्रुस नामको अर्थ “चट्टानको टुक्रा” हो। चट्टानरूपी गुणहरू देखाएर तिनले आफ्नो नामअनुसार जीवन बिताए। (प्रेषि. ४:​५-२०) आज हामी पनि आफ्नो काम, मनोरञ्जन अनि भौतिक कुराहरूलाई उचित स्थानमा राखेर ख्रीष्टप्रतिको प्रेम देखाउन कटिबद्ध छौं। हाम्रा छनौटहरूले हामी पनि पत्रुसको जस्तै सोचाइ राख्छौं भनेर देखाओस्, जसले येशूलाई यसो भने: “प्रभु, म तपाईंलाई माया गर्छु भनेर तपाईंलाई थाहै छ।”

^ अनु. 14 प्रहरीधरहरा, अक्टोबर १५, २०११ मा भएको “के तपाईंको मनोरञ्जन फाइदाजनक छ?” भन्ने लेख (पृ. ९-१२, अनु. ६-१५) हेर्नुहोस्।