सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं मतभेद सुल्झाएर शान्ति कायम गर्नुहुन्छ?

के तपाईं मतभेद सुल्झाएर शान्ति कायम गर्नुहुन्छ?

यहोवा आफ्ना उपासकहरू शान्तिप्रिय भएको चाहनुहुन्छ। हामी शान्तिप्रिय भयौं भने ख्रीष्टियन मण्डलीमा शान्ति छाउँछ। यस्तो शान्ति देख्दा झैझगडा मन नपराउने मानिसहरू यहोवातर्फ आकर्षित हुन्छन्‌।

मडागास्करका एक जना झाँक्रीको उदाहरण विचार गर्नुहोस्। तिनले यहोवाका साक्षीहरू एकअर्कासित शान्तिमा बसेको याद गरेका थिए। तिनले मनमनै यसो भने, ‘यदि मलाई कुनै धर्म लिन मन लाग्यो भने म यही धर्म लिन्छु।’ समय बित्दै जाँदा तिनले तन्त्रमन्त्र गर्न छोडे, बाइबलको सिद्धान्तअनुसार आफ्नो वैवाहिक समस्या सुल्झाए अनि शान्तिका परमेश्वर यहोवाका उपासक भए।

हरेक वर्ष तिनीजस्तै हजारौं मानिस ख्रीष्टियन मण्डलीको सदस्य भएका छन्‌ र आफूले खोजिरहेको शान्ति पाएका छन्‌। तर बाइबलले बताएअनुसार “कटु ईर्ष्या अनि वैमनस्यता”-ले मित्रता तोड्‌न सक्छ र मण्डलीमा समस्याहरू निम्त्याउन सक्छ। (याकू. ३:१४-१६) खुसीको कुरा, बाइबलले त्यस्ता समस्याहरूदेखि कसरी जोगिने अनि कसरी शान्ति कायम गर्ने भनेर पनि बताएको छ। आउनुहोस्, ती सल्लाह लागू गर्दा मदत पाएका केही व्यक्तिको उदाहरण विचार गरौं।

समस्या र समाधान

“सँगै काम गर्ने भाइसित मनमुटाव भएको थियो। एक दिन त्यो भाइसित भनाभन पऱ्यो। त्यति नै बेला दुई जना मान्छे आइपुगे अनि हाम्रो झगडा देखे।”—क्रिस।

“म प्रायः एक जना बहिनीसित प्रचार जान्थें। तर पछि उनी एक्कासि मसँग जानै छोडिन्‌। हुँदाहुँदा बोल्न पनि छोडिन्‌। खै किन होला?”—ज्यानेट।

“एक दिन तीन जना फोनमा कुरा गर्दै थियौं। एक जनाले ‘ल बाइ, पछि भेटौं’ भन्यो। मैले सोचें उसले फोन राखिसकेछ। त्यसपछि मैले उसको बारेमा नकारात्मक कुरा भने। तर उसले त फोनै राखेको रहेनछ।”—माइकल।

“हाम्रो मण्डलीमा दुई जना अग्रगामी बहिनीहरूबीच खटपट पर्न थालेको थियो। भेट्‌यो कि दुई जनाको भनाभन परिहाल्थ्यो। उनीहरूको यस्तो झगडाले गर्दा अरू भाइबहिनीहरू खिन्न भएका थिए।”—ग्यारी।

तपाईंलाई लाग्ला, ‘यस्तो कुरा त सामान्य हो नि।’ तर यस्तै स-सानो कुराले मानिसमा भावनात्मक अनि आध्यात्मिक चोट पुऱ्याउँछ, जुन लामो समयसम्म निको नहुन सक्छ। तपाईंलाई यो कुरा थाह पाउँदा खुसी लाग्ला, माथि उल्लेख गरिएका भाइबहिनीले बाइबलको सल्लाह लागू गरेर आपसमा शान्ति कायम गरे। तपाईंको विचारमा तिनीहरूले बाइबलका कस्ता सल्लाहहरू लागू गरे होलान्‌?

“बाटोमा झगडा नगर।” (उत्प. ४५:२४) यो सल्लाह यूसुफले आफ्नो बुबाकहाँ फर्कन लागेका दाइहरूलाई दिएका थिए। कत्ति बुद्धिमानी सल्लाह! मान्छेले आफ्नो भावनालाई वशमा राख्न सकेन भने उसले तुरुन्तै चित्त दुखाउँछ अनि रिस देखाउँछ। क्रिसले आफू घमन्डी रहेछु अनि आफूलाई अरूको सल्लाह स्विकार्न गाह्रो लाग्दो रहेछ भन्ने कुरा याद गरे। अनि आफ्नो बानी सुधार्नुपर्ने महसुस गरे। तिनले काम गर्ने ठाउँको भाइसित माफी मागे र आफ्नो रिसलाई नियन्त्रणमा राख्न धेरै सङ्‌घर्ष गरे। क्रिसको यस्तो कोसिस देखेर ती भाइले पनि आफ्नो नराम्रो बानी हटाए। अहिले तिनीहरू सँगै मिलेर यहोवाको सेवा गर्दै छन्‌।

“परामर्श विनाको योजना विफल हुन्छ।” (हितो. १५:२२) ज्यानेटले यो सल्लाह लागू गर्ने निर्णय गरिन्‌। तिनले अर्को बहिनीसित “परामर्श” अर्थात्‌ कुरा गरिन्‌। आफ्नो कुनै व्यवहारले गर्दा चित्त दुखेको छ कि भनेर ज्यानेटले ती बहिनीलाई सोधिन्‌। अनि आफ्नो कुरा खुलेर बताउन उनलाई आग्रह गरिन्‌। सुरुमा त के भन्ने नभन्ने, दुवैलाई अलि गाह्रो भयो। तर शान्त भएर कुरा गर्दा दुवैले आफ्नो मन खोलेर कुरा गर्न सके। आफूलाई गलतफहमी भएको रहेछ अनि आफ्नो चित्त दुख्नुमा ज्यानेटको केही दोष थिएन भन्ने कुरा ती बहिनीले बुझिन्‌। अनि ज्यानेटसँग माफी मागिन्‌। अहिले तिनीहरू सँगै मिलेर यहोवाको सेवा गर्दै छन्‌।

“तिमीले वेदीमा आफ्नो भेटी चढाउन ल्याउँदा तिम्रो विरुद्धमा तिम्रो भाइसित केही गुनासो छ भन्ने तिमीलाई झल्याँस्स याद आयो भने आफ्नो भेटी त्यहीं वेदीअगाडि छोड र गएर पहिले आफ्नो भाइसित मिलाप गर।” (मत्ती ५:२३, २४) तपाईंलाई यादै होला, येशूले यो सल्लाह डाँडाको उपदेशमा दिनुभएको थियो। माइकलले आफूले रुखो व्यवहार गरेको अनि विचारै नपुऱ्याएर बोलेको महसुस गरे। यसले गर्दा तिनलाई साह्रै नमजा लाग्यो। आफूले चित्त दुखाएको भाइसित शान्ति कायम गर्न तिनी आफ्नोतर्फबाट सक्दो कोसिस गर्न तयार भए। तिनी ती भाइलाई भेट्‌न गए र माफी मागे। नतिजा कस्तो भयो? माइकल भन्छन्‌: “मेरो भाइले मलाई साँचो मनले माफी दिए।” तिनीहरूको मित्रता फेरि बलियो भयो।

“यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।” (कल. ३:१२-१४) लामो समयदेखि अग्रगामी गरिरहेका ती दुई जना बहिनीको उदाहरण विचार गरौं। एक जना मायालु एल्डरले तिनीहरूलाई यस्ता प्रश्नहरू विचार गर्न आग्रह गरे: ‘हामी दुईबीच मतभेद भयो भन्दैमा के हामीसित मण्डलीका भाइबहिनीलाई चोट पुऱ्याउने अधिकार छ र? के हामीसित एकअर्कालाई नसहने र क्षमा नदिने कुनै कारण छ र?’ तिनीहरूले एल्डरको सल्लाह स्विकारे अनि त्यसैअनुसार गरे। तिनीहरू अहिले सँगै मिलेर सुसमाचार प्रचार गर्दै छन्‌।

कसैले तपाईंको चित्त दुखायो भने सुरुमा कलस्सी ३:१२-१४ को सिद्धान्त लागू गर्नु मदतकारी हुन सक्छ। किनभने नम्र हुँदा क्षमा दिन अनि अरूको गल्तीलाई बिर्सन सजिलो भएको धेरैले याद गरेका छन्‌। तर यो सल्लाह लागू गर्न प्रयास गर्दा पनि केही सीप लागेन भने के गर्ने? यस्तो बेला मत्ती १८:१५ ले मदत गर्न सक्छ। हुन त येशूले त्यो सल्लाह कसैले गम्भीर पाप गर्दा कस्तो कदम चाल्नुपर्छ भन्ने सन्दर्भमा दिनुभएको थियो। तर त्यो सल्लाह सानातिना मतभेद हुँदा पनि लागू गर्न सक्छौं। त्यसैले आफ्नो चित्त दुखाउने भाइ वा बहिनीलाई भेट्‌न जानुहोस्। नम्र र दयालु हुँदै समस्याबारे कुरा गर्नुहोस् र समाधान गर्ने कोसिस गर्नुहोस्।

बाइबलमा अरू व्यावहारिक सल्लाहहरू पनि दिइएका छन्‌। तर ती सल्लाहअनुसार चल्न हामीले “पवित्र शक्तिको फल” अर्थात्‌ “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वास, नम्रता, आत्मसंयम” देखाउनुपर्छ। (गला. ५:२२, २३) तेलले मेसिनलाई राम्रोसित चल्न मदत गरेझैं यी गुणहरूले मतभेद सुल्झाउन अनि शान्ति कायम गर्न सजिलो बनाउँछ।

फरक-फरक व्यक्तित्वले मण्डली अझ रमाइलो बनाउँछ

हामी सबैको व्यक्तित्व फरक-फरक छ। हाम्रो सोच्ने तरिका अनि भावना व्यक्त गर्ने तरिका पनि फरक-फरक छ। यस्ता भिन्नताहरूले गर्दा हामीलाई साथीहरूसित समय बिताउन रमाइलो लाग्छ। तर अर्कोतर्फ, यस्तै भिन्नताहरूले गर्दा आपसमा मनमुटाव पनि हुन सक्छ। एक अनुभवी एल्डरले यसो भने: “लजालु स्वभावको मान्छेलाई हँसीमजाक गर्ने अनि खुलेर कुरा गर्ने मान्छेसित सङ्‌गत गर्न गाह्रो लाग्न सक्छ। यो कुरा सामान्य जस्तो लाग्ला। तर यसले गम्भीर समस्याहरू निम्त्याउन सक्छ।” त्यसोभए के यसको मतलब फरक व्यक्तित्व भएका व्यक्तिहरू कहिल्यै राम्रा साथी बन्न सक्दैनन्‌ भन्ने हो? दुई जना प्रेषितको उदाहरण विचार गरौं। पत्रुस भन्नेबित्तिक्कै तपाईंको मनमा कस्तो चित्र आउँछ? आफूलाई लागेको कुरा भनिहाल्ने अनि हडबडे स्वभावको व्यक्तिको चित्र आउँछ होला। यूहन्ना नि? तिनको नाम सुन्दा एक जना मायालु अनि केही बोल्न वा गर्नअघि सोचविचार गर्ने व्यक्तिको चित्र आउँछ होला। यी दुवै प्रेषितको व्यक्तित्व फरक-फरक थियो। तैपनि तिनीहरूले सँगै मिलेर काम गरे। (प्रेषि. ८:१४; गला. २:९) त्यस्तैगरि आज पनि फरक-फरक व्यक्तित्व भएका ख्रीष्टियनहरू सँगै मिलेर काम गर्न सक्छन्‌।

कुनै भाइको बोली-व्यवहारले गर्दा तपाईंलाई दिक्क लागेको छ होला। तर बिर्सन नहुने कुरा, ख्रीष्ट हाम्रो लागि मात्र होइन, तिनको लागि पनि मर्नुभएको हो। अनि हामीले तिनलाई प्रेम देखाएको उहाँ चाहनुहुन्छ। (यूह. १३:३४, ३५; रोमी ५:६-८) त्यसैले तिनीसित मित्रता तोड्‌नु वा तिनीदेखि टाढिनुको सट्टा आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘के ती भाइले कुनै गम्भीर पाप गरेको हो? के तिनले मलाई जानाजानी दुःख दिन खोजेको हो? वा हाम्रो व्यक्तित्व मात्र फरक भएको हो?’ अनि अझ महत्त्वपूर्ण प्रश्न: ‘तिनमा भएका कस्ता राम्रा गुणहरू अनुकरण गर्न सक्छु?’

यो अन्तिम प्रश्न विचार गर्दा तपाईंले धेरै लाभ उठाउन सक्नुहुन्छ। उदाहरणको लागि, तपाईं शान्त स्वभावको हुनुहुन्छ तर तपाईंको चित्त दुखाउने भाइ भने कुरा गर्न मन पराउने खालका छन्‌ होला। त्यसोभए तिनीसँगै प्रचार गएर तिनीबाट सिक्न सकिने कुरा के रहेछ, हेर्नुभए कसो होला? अथवा तिनी तपाईंभन्दा उदार छन्‌ होला। त्यसोभए दिंदा पाइने आनन्द अनुभव गर्न तिनीजस्तै उदार भएर वृद्ध, बिरामी वा खाँचोमा परेकाहरूलाई मदत गर्नुभए कसो होला? व्यक्तित्व फरक-फरक भए तापनि तपाईंहरूको सम्बन्ध सुमधुर हुन सक्छ। कसरी? एकअर्काको सकारात्मक पक्षमा ध्यान दिएर। हुन त यसो गर्दैमा तपाईंहरू घनिष्ठ साथी नै बन्नुहुन्न होला। तर यसले तपाईंहरू र मण्डलीका दाजुभाइ दिदीबहिनीबीच शान्ति कायम गर्न मदत गर्नेछ।

सायद इयोदिया र सिन्तकेको व्यक्तित्व निकै फरक थियो। तैपनि पावलले तिनीहरूलाई “प्रभुमा एकै मनका होओ” भनेर सल्लाह दिए। (फिलि. ४:२) के तपाईं पनि यस्तै लक्ष्य राख्दै मण्डलीका दाजुभाइ दिदीबहिनीसित शान्तिमा रहन प्रयास गर्नुहुन्छ?

मतभेद सुल्झाउन ढिलो नगर्नुहोस्

हामीले आफ्नो मनबाट अरूप्रतिको नकारात्मक भावनालाई हटाउनुपर्छ। किन? यस्तो नकारात्मक भावना भनेको सुन्दर फुलको बोट वरिपरि उम्रने झारजस्तै हो। यसलाई उखालेनौं भने त्यसले पूरै बगैंचा कुरूप बनाउन सक्छ। त्यस्तैगरि, हामीले मनमा रिस पालिराख्यौं भने त्यसले पूरै मण्डलीलाई असर गर्न सक्छ। यहोवा अनि मण्डलीका दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्छौं भने मण्डलीको शान्ति कायम राख्न हामी जस्तोसुकै कदम चाल्न पनि तयार हुनेछौं।

नम्र हुनुभयो अनि शान्ति कायम गर्न प्रयास गर्नुभयो भने राम्रा नतिजाहरू हासिल गर्न सक्नुहुनेछ

शान्ति कायम गर्ने उद्देश्यले मतभेद सुल्झाउन प्रयास गऱ्यौं भने नतिजा हामीले सोचेभन्दा राम्रो हुन सक्छ। एक जना बहिनी आफ्नो अनुभव यसरी बताउँछिन्‌: “एक जना बहिनीले मसित बच्चालाई गर्ने व्यवहार गरेको जस्तो लाग्यो। मलाई साह्रै रिस उठ्‌यो। मनमा रिस बढ्‌दै गएपछि म त्यो बहिनीसित झर्केर बोल्न थालें। मलाई लाग्यो, ‘ऊ मेरो आदर गर्दैन भने मचाहिं किन गर्ने?’”

पछि ती बहिनीले आफ्नो आनीबानी कस्तो छ भनेर केलाउन थालिन्‌। तिनी भन्छिन्‌: “मैले आफूमा भएको कमीकमजोरी याद गर्न थालें। साह्रै नमज्जा लाग्यो। आफ्नो सोचाइ परिवर्तन गर्नुपर्छ जस्तो लाग्यो। यस विषयमा यहोवासित प्रार्थना गरें। त्यसपछि ती बहिनीको लागि एउटा सानो उपहार किनें अनि मेरो नराम्रो व्यवहारको लागि माफी माग्न एउटा कार्ड लेखें। हामीले एकअर्कालाई अँगालो हाल्यौं अनि बितेको कुरालाई बिर्सने निर्णय गऱ्यौं। अहिले हामीबीच कुनै समस्या छैन।”

शान्ति सबैलाई मन पर्छ। तर जब आफ्नो ओहदा र प्रतिष्ठा खतरामा पर्छ, तब तिनीहरू शान्तिको कुनै वास्ता गर्दैनन्‌। यहोवाको उपासना नगर्ने मानिसहरू शान्तिको कुनै मोल गर्दैनन्‌। तर यहोवा आफ्ना जनहरू शान्ति अनि एकतामा रहेको चाहनुहुन्छ। यहोवाले पावललाई यस्तो लेख्न लगाउनुभयो: “म . . . तिमीहरूलाई बिन्ती गर्छु, कि तिमीहरू आफूले पाएको बोलावटको योग्य जीवन बिताओ। सधैं विनम्र र कोमल भएर, धीरज धरेर, प्रेम देखाउँदै एक-अर्कालाई सहेर अनि शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास गरिरहो।” (एफि. ४:१-३) “शान्तिको बन्धन” साँच्चै अनमोल छ। त्यसैले यो बन्धनलाई बलियो बनाइराखौं अनि कुनै मतभेद हुँदा त्यसलाई सुल्झाइहाल्ने अठोट गरौं।