सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान दिइरहनुहोस्

सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान दिइरहनुहोस्

“तिनीहरूले जानून्‌, कि तपाईं जसको नाउँ परमप्रभु हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।”—भज. ८३:१८.

गीत: ४६, १३६

१, २. (क) मानिसजातिको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? (ख) यहोवाको सार्वभौमिकतालाई समर्थन गर्ने कुरामा किन ध्यान दिइरहनुपर्छ?

आज थुप्रै मानिसको लागि सबैभन्दा ठूलो कुरा भनेकै पैसा हो। तिनीहरू धनसम्पत्ति थुपार्न र त्यसलाई जोगाउनमै तल्लीन छन्‌। अरू कति भने आफ्नो परिवार, स्वास्थ्य अथवा आफूले हासिल गर्न चाहेको उपलब्धिलाई नै महत्त्वपूर्ण ठान्छन्‌।

तर मानिसजातिको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा अर्कै छ। त्यो हो, यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नु अर्थात्‌ उहाँको शासन गर्ने अधिकारलाई समर्थन गर्नु। हामीले यस महत्त्वपूर्ण कुरामा ध्यान दिइरहनुपर्छ। किन? आफ्नो दिनचर्यामा अति व्यस्त भयौं अथवा आफ्ना समस्याहरूमा बढ्‌तै ध्यान दियौं भने यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर बिर्सन सक्छौं। तर उहाँको सार्वभौमिकतालाई समर्थन गर्नुको महत्त्व राम्ररी बुझेका छौं भने जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न अझ सक्षम हुनेछौं। साथै यहोवासित अझ नजिक हुनेछौं।

यहोवाको सार्वभौमिकता—सबैभन्दा महत्त्वपूर्ण कुरा

३. सैतानले कस्ता दाबीहरू गरेको छ?

सैतानले यहोवाको शासन गर्ने अधिकारमाथि प्रश्न खडा गरेको छ। त्यसले यहोवा भ्रष्ट शासक हुनुहुन्छ र आफ्ना जनहरूलाई असल कुरादेखि वञ्चित गर्नुहुन्छ भनेर दाबी गर्छ। मानिसहरू आफैले शासन गरे भने अझ आनन्दित हुन सक्छन्‌ भनेर दियाबल तर्क गर्छ। (उत्प. ३:१-५) कुनै पनि मानिस मनैदेखि यहोवाप्रति वफादार हुँदैन अनि गाह्रो अवस्था आइपऱ्यो भने उसले यहोवालाई शासकको रूपमा इन्कार गर्छ भनेर पनि सैतान दाबी गर्छ। (अय्यू. २:४, ५) त्यसैले यहोवालाई शासकको रूपमा नस्विकार्दा जीवन कत्ति पीडादायी हुन्छ भन्ने कुरा स्पष्ट पार्न परमेश्वरले मानिसहरूलाई समय दिइरहनुभएको छ।

४. सार्वभौमिकताको विवाद किन सुल्झिनुपर्छ?

दियाबलका दाबीहरू झूटा हुन्‌ भनेर यहोवालाई थाह छ। तैपनि परमेश्वरले किन सैतानलाई आफ्नो दाबी प्रमाणित गर्ने मौका दिनुभयो? किनभने सार्वभौमिकताको विवादमा सम्पूर्ण मानिसजाति र स्वर्गदूत मुछिएका छन्‌। (भजन ८३:१८ पढ्‌नुहोस्) प्रथम मानव दम्पतीले यहोवाको शासन तिरस्कार गरे र त्यतिबेलादेखि अरू थुप्रै मानिसले पनि त्यसै गरेका छन्‌। त्यसैले कसै-कसैलाई दियाबलको दाबी सत्य हो कि भन्ने लाग्न सक्छ। सार्वभौमिकताको विवाद नसुल्झेसम्म राष्ट्र, जाति, परिवार र मानिसहरूबीच साँचो शान्ति र एकता छाउन असम्भव छ। तर यहोवा मात्र शासन गर्न योग्य हुनुहुन्छ भनेर प्रमाणित भएपछि सबै जना उहाँको शासनको अधीनमा बस्नेछन्‌ अनि पूरै ब्रह्माण्डमा फेरि शान्ति छाउनेछ।—एफि. १:९, १०.

५. हामी कसरी यहोवाको सार्वभौमिकतालाई समर्थन गर्न सक्छौं?

परमेश्वर मात्र शासन गर्न योग्य हुनुहुन्छ भनेर प्रमाणित हुनेछ। सैतान र मानवजातिको शासन पूर्णतया असफल हुनेछ अनि त्यो हटाइनेछ। परमेश्वरले मसीही राज्यमार्फत गर्नुहुने शासन सफल हुनेछ। मानिस सत्यनिष्ठ रहन सक्छ र परमेश्वरको शासनको पक्षमा खडा हुन सक्छ भनेर वफादार मानिसहरूले साबित गरिसकेका हुनेछन्‌। (यशै. ४५:२३, २४) के तपाईं पनि सत्यनिष्ठ रहेर यहोवाको सार्वभौमिकतालाई समर्थन गर्न चाहनुहुन्छ? पक्कै चाहनुहुन्छ। सत्यनिष्ठ रहिरहन हामीले आफ्नो ध्यान त्यस महत्त्वपूर्ण कुरामा केन्द्रित गर्नुपर्छ र त्यो कत्तिको महत्त्वपूर्ण छ भनेर बुझ्नुपर्छ।

यहोवाको सार्वभौमिकता—हाम्रो उद्धारभन्दा महत्त्वपूर्ण

६. यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नु कत्तिको महत्त्वपूर्ण छ?

सुरुमा उल्लेख गरिएझैं मानिसजातिको लागि महत्त्वपूर्ण कुरा यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नु हो। कुनै व्यक्तिको खुसीभन्दा परमेश्वरको सार्वभौमिकतालाई समर्थन गर्नु अझ महत्त्वपूर्ण छ। के यसको मतलब यहोवा हाम्रो कुनै ख्याल राख्नुहुन्न अनि हामीले उद्धार पाए पनि नपाए पनि उहाँलाई केही फरक पर्दैन भन्ने हो? अहँ, होइन। किन?

७, ८. यहोवा मात्र शासन गर्न योग्य हुनुहुन्छ भनेर प्रमाणित हुँदा हामीलाई कस्तो फाइदा हुन्छ?

यहोवा मानिसजातिलाई धेरै माया गर्नुहुन्छ र तिनीहरूलाई अनमोल ठान्नुहुन्छ। हामीले अनन्त जीवन पाओस् भनेर उहाँले आफ्नो छोरा फिरौतीस्वरूप दिनुभयो। (यूह. ३:१६; १ यूह. ४:९) यदि यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुभएन भने दियाबलले उहाँ फटाहा, अन्यायी अनि मानिसहरूलाई असल कुरादेखि वञ्चित गर्ने परमेश्वर हुनुहुन्छ भनेर आरोप लगाउने बहाना पाउनेछ। साथै विरोधीहरूले भनेको यो कुरा पनि सही साबित हुनेछ: “उहाँले प्रतिज्ञा गर्नुभएको उहाँको उपस्थिति खोइ? किनकि सृष्टिको सुरुवातदेखि सबै कुरा जसरी चल्दै आएको थियो, हाम्रा पुर्खाहरू मृत्युको चिर निद्रामा परेको दिनदेखि यता पनि त्यसरी नै चलिरहेको छ।” (२ पत्रु. ३:३, ४) यहोवाले आफू मात्र शासन गर्न योग्य छु भनेर प्रमाणित गर्नुहुँदा आज्ञाकारी मानिसहरूको उद्धार पनि गर्नुहुनेछ। (यशैया ५५:१०, ११ पढ्‌नुहोस्) उहाँ सधैं मायालु तरिकामा शासन गर्नुहुन्छ। त्यसैले उहाँले आफ्ना वफादार सेवकहरूलाई सधैं माया गर्नुहुन्छ, तिनीहरूलाई अनमोल ठान्नुहुन्छ र तिनीहरूको कदर गर्नुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं।—प्रस्थ. ३४:६.

हामी यहोवाको सार्वभौमिकतालाई महत्त्वपूर्ण ठान्छौं। तर यसको अर्थ यहोवाको नजरमा हाम्रो उद्धार महत्त्वपूर्ण छैन अनि हामी कुनै मोलका छैनौं भन्ने होइन। उहाँ हाम्रो गहिरो चासो राख्नुहुन्छ। त्यसैले कुन कुरा महत्त्वपूर्ण छ भन्ने कुरा हामीले सधैं मनमा राख्नुपर्छ। यसो गर्दा सार्वभौमिकताको विवादमा आफ्नो ध्यान केन्द्रित गरिरहन अनि यहोवाको शासनको पक्षमा खडा भइरहन मदत पाउनेछौं।

अय्यूबले आफ्नो सोचाइ सच्याए

९. सैतानले अय्यूबबारे के भन्यो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

यहोवाको सार्वभौमिकतालाई महत्त्वपूर्ण ठान्नुपर्छ भन्ने कुरा सुरु-सुरुतिर लेखिएको अय्यूबको किताबबाट थाह पाउन सक्छौं। धेरै दुःख भोग्नुपऱ्यो भने अय्यूबले परमेश्वरलाई त्याग्नेछन्‌ भनेर सैतानले दाबी गरेको कुरा यस किताबमा पाउँछौं। सैतानले परमेश्वरलाई अय्यूबमाथि दुःखकष्ट ल्याउन भन्यो। यहोवाले त्यसो गर्नुभएन बरु सैतानलाई अय्यूबको परीक्षा लिन अनुमति दिनुभयो। उहाँले त्यसलाई यसो भन्नुभयो: “त्यसकहाँ जे जत्ति छन्‌ सबै तेरै हातमा भयो।” (अय्यूब १:७-१२ पढ्‌नुहोस्) छोटो समयमै अय्यूबले आफ्ना नोकरहरू, गाई-वस्तुहरू र दस जना छोराछोरी गुमाए। सबै दुःख कष्ट परमेश्वरले नै ल्याउनुभएको हो भन्ने भान पर्नेगरि सैतानले अय्यूबमाथि दुःखकष्ट ल्यायो। (अय्यू. १:१३-१९) त्यसपछि सैतानले अय्यूबलाई निकै पीडादायी अनि घिनलाग्दो रोगले प्रहार गऱ्यो। (अय्यू. २:७) साथी भनौंदाहरू र आफ्नै पत्नीले समेत तीखा वचन बोलेर तिनको मनको घाउमा नुन-चुक छरे।—अय्यू. २:९; ३:११; १६:२.

१०. (क) अय्यूबले आफू सत्यनिष्ठ छु भनेर कसरी देखाए? (ख) अय्यूबको सोचाइ किन सच्याउनुपर्ने भयो?

१० त्यसपछि के भयो? सैतानको दाबी पूर्णतया झूटो साबित भयो। अय्यूबले परमेश्वरलाई त्यागेनन्‌। (अय्यू. २७:५) तर केही समयको लागि तिनले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर बिर्सेका थिए। तिनले आफैलाई धर्मी ठहऱ्याउने कुरामा बढी नै ध्यान दिए अनि परमेश्वरलाई आफूले दुःख भोग्नुको कारणसमेत सोधे। (अय्यू. ७:२०; १३:२४) तिनले भोग्नुपरेको दुःख विचार गर्ने हो भने तिनमा त्यस्तो भावना आउनु स्वाभाविकै हो जस्तो लाग्न सक्छ। तैपनि परमेश्वरले अय्यूबको सोचाइ सच्याउनुपर्ने आवश्यकता देख्नुभयो। यहोवाले तिनलाई के भन्नुभयो?

११, १२. यहोवाले अय्यूबलाई कसरी मदत गर्नुभयो अनि तिनले के गरे?

११ अय्यूब अध्याय ३८ देखि ४१ मा परमेश्वरले अय्यूबलाई भन्नुभएको कुरा पाउँछौं। तर कतै पनि तिनले भोग्नुपरेको दुःखको कारणबारे बताइएको पाउँदैनौं। यहोवाले तिनीसित कुरा गर्नुको उद्देश्य तिनलाई दुःखकष्टको कारण बताउनु थिएन। किनभने त्यस्तो दुःखकष्ट आफूले ल्याएको होइन भनेर परमेश्वरले सफाइ दिइरहनु आवश्यक थिएन। बरु तिनको दुःखभन्दा अझ महत्त्वपूर्ण कुरा के हो भनेर बुझ्न यहोवा तिनलाई मदत दिन चाहनुहुन्थ्यो। साथै उहाँको महानताको अगाडि तिनी कत्ति नगण्य छन्‌ भनेर बुझ्न पनि मदत दिन चाहनुहुन्थ्यो। (अय्यूब ३८:१८-२१ पढ्‌नुहोस्) यसले अय्यूबलाई आफ्नो सोचाइ सच्याउन मदत गऱ्यो।

१२ यतिबिघ्न दुःखमा परेका अय्यूबलाई यहोवाले सिधै सल्लाह दिनुभयो। के उहाँ तिनीसित रुखो व्यवहार गर्दै हुनुहुन्थ्यो? अहँ, त्यसो त पक्कै थिएन। अय्यूबले त्यस्तो महसुस गरेनन्‌। बरु गाह्रो अवस्थामा पनि तिनले यहोवाको सल्लाह स्विकारे। तिनले यसो भने: “म आफूलाई तुच्छ ठान्छु, म धूलो र खरानीमा बसेर पश्‍चाताप गर्दछु।” यहोवाको स्पष्ट तर स्फूर्तिदायी सल्लाहले गर्दा अय्यूबले आफ्नो सोचाइ बदल्न सके। (अय्यू. ४२:१-६) यसअघि पनि अय्यूबले आफूभन्दा कम उमेरका एलीहूबाट सल्लाह पाइसकेका थिए। (अय्यू. ३२:५-१०) अय्यूबले आफ्नो सोचाइ सच्याएको यहोवाले देख्नुभयो अनि तिनको वफादारीदेखि उहाँ खुसी हुनुहुन्छ भनेर अरूलाई थाह दिनुभयो।—अय्यू. ४२:७, ८.

१३. अय्यूबको अवस्था राम्रो भइसकेपछि पनि यहोवाको सल्लाहले तिनलाई कसरी मदत गर्ने थियो?

१३ अय्यूबको अवस्था राम्रो भइसकेपछि पनि यहोवाको सल्लाहले तिनलाई धेरै मदत गर्ने थियो। कसरी? यो कुरा विचार गर्नुहोस्। बाइबल भन्छ: “परमप्रभुले अय्यूबको जीवनको पछिल्लो समयलाई अघिल्लो समयभन्दा बढी आशिष्‌ दिनुभयो” अनि “तिनका सात छोरा र तीन छोरी भए।” (अय्यू. ४२:१२-१४, NRV) यो कुरा विचार गर्दा तिनको अवस्था सुध्रिन समय लागेको हुनुपर्छ भन्न सकिन्छ। अहिले तिनका १० जना छोराछोरी भए तापनि सैतानले गर्दा गुमाउनुपरेका छोराछोरीको यादले तिनलाई पक्कै सताउँथ्यो होला। आफूले भोगेको दुःखकष्ट लामो समयसम्म पनि तिनको मनमा ताजै थियो होला। हुन त पछि तिनले आफूले भोगेको परीक्षाको कारण अझ राम्ररी बुझे होलान्‌। तैपनि आफूले किन त्यतिबिघ्न दुःख भोग्नुपरेको होला भनेर कहिलेकाहीं सोच्ने गर्थे होलान्‌। तिनमा जस्तोसुकै भावना आएको भए तापनि यहोवाको सल्लाहमा मनन गर्दा तिनले महत्त्वपूर्ण कुरामा ध्यान दिइरहन मदत पाउन सक्थे र त्यसबाट सान्त्वना पाउन सक्थे।—भज. ९४:१९.

के हामी आफ्नो समस्यामा नभई यहोवाको सार्वभौमिकतालाई समर्थन गर्ने कुरामा ध्यान दिइरहन सक्छौं? (अनुच्छेद १४ हेर्नुहोस्)

१४. अय्यूबको विवरणबाट कस्तो पाठ सिक्न सक्छौं?

१४ अय्यूबको विवरणबाट हामी सान्त्वना पाउन सक्छौं र महत्त्वपूर्ण कुरामा ध्यान दिइरहन मदत पाउन सक्छौं। हुन पनि यहोवाले यी “सबै कुरा हाम्रो शिक्षाका लागि” लेख्न लगाउनुभएको हो, “ताकि हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीलाई आशा होस्।” (रोमी १५:४) अय्यूबको विवरणबाट कस्तो पाठ सिक्न सक्छौं? यहोवाको सार्वभौमिकतालाई समर्थन गर्ने कुरालाई नै बिर्सने हदसम्म पुग्नेगरि हामीले आफ्ना समस्याहरूमा बढ्‌तै ध्यान दिनु हुँदैन। अय्यूबजस्तै हामी पनि यहोवाको सार्वभौमिकतालाई समर्थन गरेको देखाउन गाह्रो अवस्थामा पर्दा समेत वफादार रहिरहन चाहन्छौं।

१५. परीक्षा आउँदा हामी किन सहनशील हुनुपर्छ?

१५ अय्यूबको अनुभवबाट हामी सान्त्वना पाउन सक्छौं। कसरी? तिनको अनुभवबाट हामीले थाह पायौं, यहोवा हामीदेखि रिसाउनुभएकोले हामीमाथि परीक्षा आएको होइन। वास्तवमा, परीक्षाले हामीलाई यहोवाको सार्वभौमिकतालाई समर्थन गर्ने मौका दिन्छ। (हितो. २७:११) सहनशील हुँदा हामीले परमेश्वरबाट ‘अनुमोदन’ पाउँछौं र आफ्नो आशालाई बलियो बनाउन सक्छौं। (रोमी ५:३-५ पढ्‌नुहोस्) अय्यूबको विवरणले “यहोवा कस्तो कोमल स्नेहले भरिपूर्ण अनि कृपालु हुनुहुँदो रहेछ” भनेर बुझ्न मदत गर्छ। (याकू. ५:११) त्यसैले हामी यस कुरामा ढुक्क हुन सक्छौं, उहाँको सार्वभौमिकतालाई समर्थन गर्ने सबैलाई उहाँले इनाम दिनुहुनेछ। यो कुरा थाह पाउँदा ‘धीरजी र आनन्दित भई सबै कुरा सहन’ बल पाउनेछौं।—कल. १:११.

महत्त्वपूर्ण कुरामा ध्यान दिइरहनुहोस्

१६. यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुको महत्त्वबारे आफैलाई किन सम्झाइरहनुपर्छ?

१६ यहोवाको सार्वभौमिकतालाई समर्थन गर्ने कुरामा ध्यान केन्द्रित गरिरहनु चुनौतीपूर्ण छ। जीवनमा आइपर्ने समस्याले गर्दा कहिलेकाहीं हामी यहोवाको सार्वभौमिकतालाई समर्थन गर्ने कुरा बिर्सन सक्छौं। समस्यामा मात्र घोरिरह्यौं भने सानोजस्तो देखिने कुरा पनि ठूलो हुन सक्छ। त्यसैले परमेश्वरको सार्वभौमिकतालाई समर्थन गर्नुको महत्त्वबारे आफैलाई बेलाबेलामा सम्झाउनु बेस हुन्छ।

१७. यहोवाको सेवामा नियमित रूपमा लागिरह्यौं भने हामी कसरी उहाँको सार्वभौमिकतालाई समर्थन गर्ने कुरामा ध्यान दिइरहन सक्नेछौं?

१७ यहोवाको सेवामा नियमित रूपमा लागिरह्यौं भने उहाँको सार्वभौमिकतालाई समर्थन गर्ने कुरामा ध्यान दिइरहन सक्नेछौं। रिनी बहिनीको अनुभव विचार गरौं। मस्तिष्कघात भएपछि उनलाई टाउको दुख्ने व्यथाले कहिल्यै छोडेन। त्यसमाथि उनलाई क्यान्सर पनि भयो। अस्पतालमा जचाउन जाँदा उनी त्यहाँका स्टाफ, बिरामी र बिरामी भेट्‌न आएकाहरूलाई प्रचार गर्थिन्‌। एक चोटि, उनले एउटा अस्पतालमा साढे दुई हप्ताको अवधिमा ८० घण्टा प्रचार गरिन्‌। धेरै दिन बाँच्दिनँ भनेर थाह भए पनि रिनीले यहोवाको सार्वभौमिकतालाई समर्थन गर्न कहिल्यै बिर्सिनन्‌। यसले उनलाई केही हदसम्म आफ्नो पीडा सहन बल दियो।

१८. यहोवाको सार्वभौमिकतालाई समर्थन गर्ने सन्दर्भमा जेनिफरको अनुभवबाट के सिक्न सक्छौं?

१८ दिनदिनैको तनाव अनि कठिन अवस्थामा पनि हामी यहोवाको सार्वभौमिकतामा ध्यान केन्द्रित गरिरहन चाहन्छौं। जेनिफर बहिनीले त्यसै गरिन्‌। एकपछि अर्को फ्लाइट रद्द हुँदा तिनी तीन दिनसम्म एयरपोर्टमै बस्नुपऱ्यो। तिनले साह्रै एक्लो अनि थकित महसुस गरिन्‌। यस्तो बेला तिनी निराश हुन सक्थिन्‌। तर तिनले आफूजस्तै मर्कामा परेका सहयात्रीहरूलाई सुसमाचार सुनाउन सकूँ भनेर प्रार्थना गरिन्‌। परिणाम कस्तो भयो? तिनले धेरैलाई साक्षी दिइन्‌ अनि थुप्रै साहित्य पनि दिइन्‌। तिनी भन्छिन्‌: “यहोवाले मलाई त्यस्तो गाह्रो अवस्थामा पनि आशिष्‌ दिनुभयो। उहाँको नामको महिमा गर्न मलाई चाहिने बल दिनुभयो।” यसरी तिनले यहोवाको उद्देश्यमा ध्यान केन्द्रित गरिरहन सकिन्‌।

१९. कुन कुराले गर्दा साँचो धर्म चिन्न सजिलो भएको छ?

१९ यहोवाका जनहरूले मात्र उहाँको सार्वभौमिकतालाई समर्थन गर्नुको महत्त्व राम्ररी बुझेका छन्‌। यसले गर्दा साँचो धर्म चिन्न सजिलो भएको छ। परमेश्वरका जनहरूले लामो समयदेखि उहाँको सार्वभौमिकतालाई समर्थन गर्दै आएका छन्‌। साँचो उपासनाको समर्थकको रूपमा हामी हरेकले पनि यसो गर्न सक्दो प्रयास गर्नुपर्छ।

२०. यहोवाको सार्वभौमिकतालाई समर्थन गर्न हामीले गर्ने मेहनत देख्दा उहाँलाई कस्तो लाग्छ?

२० वफादार भई सेवा गरेर अनि परीक्षाहरू सहेर यहोवाको सार्वभौमिकतालाई समर्थन गर्न हामीले गर्ने मेहनतको उहाँ धेरै कदर गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्। (भज. १८:२५) हामीले किन मनैदेखि यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुपर्छ र यो कसरी गर्न सक्छौं? यसबारे हामी अर्को लेखमा छलफल गर्नेछौं।