सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सोच्ने क्षमताको रक्षा गर्नुहोस्

सोच्ने क्षमताको रक्षा गर्नुहोस्

हाम्रो मुख्य शत्रु सैतानले एउटा घातक हतियार प्रयोग गरेर हामीमाथि आक्रमण गर्दै आएको छ। त्यो के हो? अफवाह! यो यस्तो हतियार हो, जसले हाम्रो शरीरलाई होइन, सोच्ने क्षमतालाई ध्वस्त पार्छ।

सैतानको अफवाहले पुऱ्याउने खतराप्रति प्रेषित पावल सजग थिए। तर अरू थुप्रै ख्रीष्टियन भने सजग थिएनन्‌। कोरिन्थका कोही-कोही ख्रीष्टियन अतिविश्वस्त भएका थिए जस्तो देखिन्छ। तिनीहरू आफू आध्यात्मिक रूपमा एकदमै बलियो छु अनि कहिल्यै लड्‌दिनँ भन्ने सोचाइ राख्थे। (१ कोरि. १०:१२) त्यसैले पावलले यस्तो चेतावनी दिए: “सर्पको धुर्त्याइँद्वारा हव्वा बहकिए जस्तै तिमीहरूको दिमाग पनि भ्रष्ट भएर ख्रीष्टको हक लाग्ने तिमीहरूको निष्कपटता अनि चोखोपन खोसिएला कि भन्ने डर मलाई लागेको छ।”​—२ कोरि. ११:३.

पावलका यी शब्दबाट ‘म जस्तो छु, ठिकै छु’ भन्ने सोचाइ राख्नु हुँदैन भनेर थाह पाउन सक्छौं। सैतानको बहकाउमा नपर्न हामीले त्यसको अफवाह कत्तिको खतरनाक छ र त्यसबाट कसरी जोगिने भनेर थाह पाउनुपर्छ।

अफवाह​—यो कत्तिको खतरनाक छ?

अफवाह भनेको के हो? मानिसको सोचाइ अनि व्यवहारलाई बदल्न प्रयोग गरिने झूटो जानकारीलाई बुझाउन यस लेखमा अफवाह शब्द प्रयोग गरिएको छ। एउटा किताबले अफवाहलाई “झूट, धुर्त्याइँ, छल, मनोवैज्ञानिक युद्ध अनि कसैलाई आफ्नो वशमा पार्नु वा बहकाउनु” भनेर व्याख्या गरेको छ। साथै यसले “बेइमान, हानिकारक अनि विकृत चालहरू”-लाई पनि बुझाउँछ।​—अफवाह र छल (अङ्‌ग्रेजी)।

अफवाह कत्तिको खतरनाक हुन्छ? यो अदृश्य, गन्धहीन अनि विषालु हावाजस्तै हो। यसले चालै नपाउने गरी हाम्रो सोचाइलाई भ्रष्ट पार्छ। मानिसको आनीबानीबारे अध्ययन गर्ने विशेषज्ञ भेन्स पकार्डले अफवाहले गर्ने असरबारे यसो भने: “अफवाहले हाम्रो व्यवहारमा सोचेभन्दा कता हो कता असर गरिरहेको हुन्छ।” एक जना विज्ञअनुसार अफवाहले मानिसहरूलाई “सजिलै बहकाउँछ अनि खतरनाक आनीबानीतर्फ धकेल्छ।” जस्तै: ‘जातीय संहार, युद्ध, जातीय भेदभाव, धार्मिक असहिष्णुता र अरू यस्तै मूर्खतापूर्ण कामहरू।’​—सजिलै बहकिएका मानिसहरू—​अफवाहको इतिहास (अङ्‌ग्रेजी)।

मानिसले त अफवाह फैलाएर हामीलाई बहकाउन सक्छ भने सैतानले झन्‌ के गर्ला? मानिसलाई सृष्टि गरिएदेखि नै सैतानले मानिसको बानी-व्यहोरा अध्ययन गर्दै आएको छ। आज “सारा संसार” सैतानको अधीनमा छ। त्यसले झूटो कुरा फैलाउन संसारको कुनै पनि कुरालाई चलाउन सक्छ। (१ यूह. ५:१९; यूह. ८:४४) त्यसले मानिसहरूको ‘समझशक्तिलाई अन्धा तुल्याइदिएको छ’ र ‘सारा संसारलाई ठगिरहेको छ।’ (२ कोरि. ४:४; प्रका. १२:९) त्यसको बहकाउमा नपर्न हामी के गर्न सक्छौं?

विश्वास बलियो बनाउनुहोस्

अफवाहदेखि जोगिन येशूले यस्तो सरल तरिका सिकाउनुभयो: “तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।” (यूह. ८:३१, ३२) युद्धमा शत्रुहरूले विपक्षी सेनालाई बहकाउन झूटो कुरा फैलाउँछन्‌। यस्तो बहकाउमा नपर्न प्रत्येक सिपाहीलाई भरपर्दो जानकारीको स्रोत थाह हुनुपर्छ। त्यसैगरि सैतानको अफवाहदेखि जोगिन हामीलाई पनि सही र भरपर्दो जानकारीको स्रोत थाह हुनुपर्छ। यहोवाले हामीलाई बाइबलमार्फत त्यस्तो जानकारी दिनुभएको छ।​—२ तिमो. ३:१६, १७.

हामी बाइबलमार्फत सत्य कुरा थाह पाउन सक्छौं भनेर सैतानलाई थाह छ। त्यसैले हामीलाई बाइबल पढ्‌न अनि अध्ययन गर्नदेखि रोक्न सैतानले यो संसारलाई प्रयोग गर्छ। त्यसका दाउपेचहरूदेखि होसियार हुनुहोस्! (एफि. ६:११) बाइबलको कुरा ‘राम्ररी बुझ्न’ हामीले मेहनत गर्नुपर्छ। (एफि. ३:१८) लेखक नोआम चोम्सकीले यसो भने: “सत्य भनेको कोही आएर हाम्रो दिमागमा हालिदिने कुरा होइन। त्यसलाई हामी आफैले खोज्नुपर्छ।” त्यसैले ‘होसियारीसाथ दिनहुँ धर्मशास्त्र जाँच्नुहोस्।’​—प्रेषि. १७:११.

सोच्ने क्षमताको रक्षा गर्न सैतानको अफवाह कत्तिको खतरनाक छ र त्यसबाट कसरी जोगिने भनेर थाह पाउनुपर्छ

हामीले आफ्नो सोचविचार गर्ने क्षमता प्रयोग गरेको सैतान चाहँदैन। किन? एउटा किताबअनुसार “मानिसलाई सोच्न निरुत्साहित पार्न सकियो भने अफवाह झनै प्रभावकारी हुन्छ।” [बीसौं शताब्दीको सञ्चार माध्यम र समाज (अङ्‌ग्रेजी)] त्यसैले सुनेको हरेक कुरा आँखा चिम्लेर विश्वास नगर्नुहोस्। (हितो. १४:१५) बरु सिकेको कुरामा पक्का हुन यहोवाले दिनुभएको सोचविचार गर्ने क्षमता र समझशक्ति चलाउनुहोस्।​—हितो. २:१०-१५; रोमी १२:१, २.

एकतामा रहनुहोस्

एउटा सेनाले अर्को विपक्षी सेनाको आत्मबल कमजोर बनाउन अफवाह प्रयोग गर्छ। यस्तो अफवाहले सिपाहीहरूलाई आफू-आफूमै झगडा गर्न वा सैन्य दलबाट अलग्गिएर बस्न उक्साउन सक्छ। प्रथम विश्वयुद्धमा जर्मनी हार्नुको एउटा कारणबारे जर्मन जर्नेलले यसो भने: “सर्पले खरायोलाई सम्मोहित गरेझैं शत्रुहरूको अफवाहले मानिसहरूलाई बहकाएको थियो।” सैतानले पनि यस्तै चाल चलेर ख्रीष्टियनहरूको एकता भङ्‌ग गर्न खोज्छ। उदाहरणको लागि, सैतानले अफवाह फैलाएर मण्डलीका भाइबहिनीबीच फुट पैदा गराउन खोज्छ। अथवा सङ्‌गठनले आफूमाथि अन्यायपूर्ण व्यवहार गरेको छ भन्ने भान पारेर सङ्‌गठनदेखि अलग्याउन खोज्छ।

नबहकिनुहोस्! परमेश्वरको डोऱ्याइअनुसार चल्नुहोस्! मण्डलीका भाइबहिनीसित एकता कायम गर्ने सन्दर्भमा बाइबलले ‘एक-अर्कालाई खुला मनले क्षमा गरिरहन’ र तुरुन्तै मतभेद सुल्झाउन सल्लाह दिएको छ। (कल. ३:१३, १४; मत्ती ५:२३, २४) साथै मण्डलीबाट अलग नहुन पनि कडा चेतावनी दिएको छ। (हितो. १८:१) सैतानको अफवाहको प्रतिरोध गर्न तयार रहनुहोस्। आफैलाई सोध्नुहोस्: ‘पछिल्लो पटक कोही भाइ वा बहिनीसित मतभेद हुँदा मैले कस्तो मनोभाव देखाएँ? संसारको मनोभाव कि परमेश्वरको?’​—गला. ५:१६-२६; एफि. २:२, ३.

आफ्नो विश्वास कमजोर हुन नदिनुहोस्

आफ्नो नाइकेप्रतिको भरोसा कमजोर छ भने सिपाहीले राम्ररी युद्ध लड्‌न सक्दैन। त्यसैले विपक्षी सेनाले अफवाह फैलाएर सिपाही र नाइकेबीचको भरोसा र विश्वास कमजोर बनाउन खोज्छ। तिनीहरूले यस्तो अफवाह फैलाउन सक्छन्‌: “तिमीहरूको नाइके भरोसा गर्न लायकको छैन!” अथवा “तिनीहरूको पछि लागेर आफ्नो जिन्दगी बरबाद नगर!” त्यसमाथि नाइकेहरूको कमीकमजोरीलाई बढाइचढाइ गरेर तिनीहरू आगोमा घ्यू थप्छन्‌। सैतानले पनि यस्तै गर्छ। हाम्रा नेता यहोवामाथिको विश्वास कमजोर बनाउन सैतान लागिपरेको छ।

सैतानको पासोमा नपर्न के गर्न सक्छौं? जस्तोसुकै अवस्थामा पनि यहोवाको सङ्‌गठनप्रति वफादार भइरहौं। नेतृत्व लिइरहेका भाइहरू त्रुटिपूर्ण भए तापनि तिनीहरूलाई समर्थन गरिरहौं। (१ थिस्स. ५:१२, १३) धर्मत्यागीहरूले हाम्रो सङ्‌गठनबारे भनेका कुराहरू साँचो जस्तो लाग्न सक्छ तर हामीले ‘झट्टै आफ्नो सुद्धीबुद्धि गुमाइहाल्नु हुँदैन।’ (२ थिस्स. २:२; ती. १:१०) हामीले जवान तिमोथीलाई दिइएको निर्देशन लागू गर्नुपर्छ। आफूले सिकेको कुरा सत्य हो भन्ने कुरामा कहिल्यै शङ्‌का नगरौं अनि आफूले कसबाट सत्य सिक्यौं भन्ने कुरा सधैं मनमा राखौं। (२ तिमो. ३:१४, १५) यहोवाले हामीलाई सत्यको बाटोमा डोऱ्याउन आफ्नो सङ्‌गठन प्रयोग गर्दै आउनुभएको लगभग सय वर्ष भइसक्यो। यस दौडान उहाँको सङ्‌गठनमाथि भरोसा गर्न सक्ने थुप्रै प्रमाण हामीले पाएका छौं।​—मत्ती २४:४५-४७; हिब्रू १३:७, १७.

डरले आफूलाई कमजोर बनाउन नदिनुहोस्

सैतानले हामीलाई बहकाउन सधैं झूटो जानकारी फैलाउँछ भन्ने छैन। त्यसले कहिलेकाहीं डरधम्की देखाएर सिधै आक्रमण पनि गर्छ। “अफवाह फैलाउने विभिन्न तरिकामध्ये एउटा पुरानो तरिका” डरधम्की हो। [सजिलै बहकिएका मानिसहरू​अफवाहको इतिहास (अङ्‌ग्रेजी)] उदाहरणको लागि, अश्शूरी सेनाले आफ्ना शत्रुहरूलाई दबाउन झूटो जानकारी फैलाउनुका साथै डरधम्की पनि देखाएको थियो भनेर बेलायती प्राध्यापक फिलिप एम. टेलरले बताए। मानिसको डर, खेदोको डर, मृत्युको डर र अन्य प्रकारका डर देखाएर सैतानले हामीलाई यहोवाको सेवा गर्नदेखि रोक्न खोज्छ।​—यशै. ८:१२; यर्मि. ४२:११; हिब्रू २:१५.

सैतानले डरधम्की प्रयोग गरेर हाम्रो सत्यनिष्ठा तोड्‌न अनि आत्मबल घटाउन खोज्छ। तर येशूले भन्नुभएको यो कुराले हामीलाई साहस दिन्छ: “त्यस्ताहरूसित नडराओ जसले तिमीहरूको ज्यान लिन सक्छन्‌ तर त्योभन्दा बढ्‌ता अरू केही गर्न सक्दैनन्‌।” (लूका १२:४) हाम्रो ख्याल राख्छु, हामीलाई “असाधारण शक्ति” दिन्छु र जस्तोसुकै डरधम्कीको सामना गर्न मदत गर्छु भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको छ। यस प्रतिज्ञामा पूरा भरोसा गर्नुहोस्।​—२ कोरि. ४:७-९; १ पत्रु. ३:१४.

डरधम्कीको कारण कहिलेकाहीं हाम्रो आत्मबल घट्‌न सक्छ। तर यहोवाले यहोशूलाई दिनुभएको यो प्रोत्साहनदायी शब्द सधैं मनमा राख्नुहोस्: “बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।” (यहो. १:९) चिन्ताले सताउँदा आफ्नो मनको बह तुरुन्तै यहोवालाई पोखाउनुहोस्। ‘परमेश्वरको शान्तिले तपाईंको मन र सोच्ने क्षमताको रक्षा गर्नेछ’ भन्ने कुरामा तपाईं ढुक्क हुन सक्नुहुन्छ। उहाँको शान्तिले सैतानको जस्तोसुकै अफवाहको प्रतिरोध गर्न तपाईंलाई बल दिनेछ।​—फिलि. ४:६, ७, १३.

अश्शूरका सेनापतिले परमेश्वरका जनहरूलाई बहकाउन कस्तो अफवाह फैलाएका थिए, तपाईंलाई याद छ? तिनले एक अर्थमा यसो भन्न खोज्दै थिए: ‘तिमीहरूलाई अश्शूरको हातबाट कसैले बचाउन सक्दैन। तिमीहरूका परमेश्वर यहोवाले पनि तिमीहरूको उद्धार गर्न सक्दैन।’ तिनले अझै यसो भने: ‘यस देशलाई नाश गर्न परमप्रभुले नै हामीलाई भन्नुभएको हो।’ तर यहोवाले आफ्ना जनहरूलाई यसो भन्नुभयो: “अश्शूरका राजाका चाकरहरूले मेरो निन्दा गरेको कारण तँ नडरा।” (२ राजा १८:२२-२५; १९:६) त्यसपछि उहाँले एक जना स्वर्गदूत पठाउनुभयो, जसले एकै रात १,८५,००० अश्शूरीलाई नाश गरे।​—२ राजा १९:३५.

बुद्धिमान्‌ हुनुहोस्​—सधैं यहोवाको कुरा सुन्नुहोस्

मानौं, तपाईं फिल्म हेर्दै हुनुहुन्छ। फिल्ममा एउटा पात्रले अर्को पात्रलाई झूट बोलेर बहकाउन खोजेको देख्नुभयो। त्यतिबेला मनमनै यस्तो भन्नुहुन्छ होला: ‘त्यसले झूट बोल्दै छ। त्यसको कुरा नपत्याऊ!’ त्यस्तैगरि स्वर्गदूतहरूले पनि तपाईंलाई यसो भनिरहेका हुन सक्छन्‌: “सैतानले झूट बोल्दै छ। त्यसको कुरामा विश्वास नगर।”

सैतानको अफवाह नसुन्नुहोस्। (हितो. २६:२४, २५) यहोवाको कुरा सुन्नुहोस् अनि आफ्नो सबै चालमा उहाँमाथि भरोसा गर्नुहोस्। (हितो. ३:५-७) उहाँ हामीलाई माया गर्नुहुन्छ र यस्तो आग्रह गर्नुहुन्छ: “बुद्धिमान्‌ हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ।” (हितो. २७:११) यसो गऱ्यौं भने हामीले आफ्नो सोच्ने क्षमताको रक्षा गरिरहेका हुनेछौं।