सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमेश्वरको शान्ति . . . सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट”

“परमेश्वरको शान्ति . . . सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट”

‘परमेश्वरको शान्ति, जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ, त्यसले तिमीहरूको मनको रक्षा गर्नेछ।’—फिलि. ४:७.

गीत: ७६, १४१

१, २. पावल र सिलासलाई किन झ्यालखानामा हालियो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

मध्यरातको बेला हो। दुई जना मिसनरी पावल र सिलास फिलिप्पीको झ्यालखानाको सबैभन्दा भित्रको खोरमा छन्‌। तिनीहरूको खुट्टा ठिंगुरोमा हालिएको छ। भर्खरै खानुसम्म पिटाइ खाएकोले तिनीहरूको जीउ पूरै दुखिरहेको छ। (प्रेषि. १६:२३, २४) त्यसको अघिल्लो दिन भीडले तिनीहरूलाई घिस्याउँदै बजारमा लगेको थियो र तुरुन्ता-तुरुन्तै नगर प्रशासकहरूको अगाडि केरकार गरेको थियो। त्यतिबेला उनीहरूले पावल र सिलासको लुगा च्यातिदिए र छडी लगाउने हुकुम गरे। (प्रेषि. १६:१६-२२) पावल रोमी नागरिक भएकोले तिनलाई दोषी नठहराई सजाय दिन मिल्दैन थियो। * कत्ति ठूलो अन्याय!

निस्पट्ट अन्धकार छाएको त्यो खोरमा पावल त्यस दिनका घटनाहरूबारे सोचिरहेका हुन सक्छन्‌। अनि फिलिप्पीका मानिसहरूबारे सोचिरहेका हुन सक्छन्‌। पावल गएका अरू सहरमा यहूदी सभाघरहरू थिए। तर फिलिप्पीमा भने एउटा पनि सभाघर थिएन। त्यसैले यहूदीहरू उपासना गर्न सहरको ढोकाबाहिर रहेको नदी किनारामा जानुपर्थ्यो। (प्रेषि. १६:१३, १४) सभाघर बनाउन कम्तीमा पनि दस जना यहूदी पुरुष हुनै पर्थ्यो। त्यहाँ त्यो सङ्‌ख्या नपुगेकोले सभाघर नबनेको हो कि? फिलिप्पीका मानिसहरू आफूसित रोमी नागरिकता भएकोमा असाध्यै घमन्ड गर्थे। (प्रेषि. १६:२१) पावल र सिलास यहूदी भएकोले तिनीहरूसित पनि रोमी नागरिकता होला भनेर त्यहाँका मानिसहरूले सोच्दै सोचेनन्‌। जे होस्, पावल र सिलासलाई अन्यायपूर्वक झ्यालखानामा हालियो।

३. झ्यालखानामा हुँदा पावलको मनमा कस्ता कुरा आएका हुन सक्छन्‌? तैपनि तिनले के गरे?

पावलले केही महिनाअघिका घटनाहरूबारे पनि सोचिरहेका हुन सक्छन्‌। तिनी एसिया माइनरको एजियन समुद्रपारि थिए। त्यहाँ छँदा पवित्र शक्तिले तिनलाई कुनै-कुनै इलाकामा प्रचार गर्नदेखि बारम्बार निषेध गरेको थियो। मानौं, पवित्र शक्तिले तिनलाई अरू नै ठाउँमा धकेलिरहेको थियो। (प्रेषि. १६:६, ७) तर कहाँ? त्रोआसमा छँदा तिनले दर्शनमा त्यसको जवाफ पाए। दर्शनमा तिनले यसो भनेको सुने: “म्यासिडोनिया आउनुहोस्।” त्यो यहोवाको नै इच्छा हो भनेर स्पष्ट भएकोले तिनी तुरुन्तै म्यासिडोनियातिर लागे। (प्रेषित १६:८-१० पढ्‌नुहोस्) त्यसपछि के भयो? त्यहाँ पुगेको केही समय नबित्दै तिनी झ्यालखानामा पो परे! पावलको मनमा यस्ता प्रश्न आएका हुन सक्छन्‌: ‘यहोवाले ममाथि किन यस्तो अन्याय हुन दिनुभएको होला? यो झ्यालखानामा कहिलेसम्म बस्नुपर्ने होला?’ तर यस्तो कुराले न तिनले आफ्नो विश्वास ढलपल हुन दिए न त आनन्द नै गुम्न दिए। पावल र सिलास “प्रार्थना गर्दै परमेश्वरको स्तुतिगान” गाउन थाले। (प्रेषि. १६:२५) परमेश्वरको शान्तिले तिनीहरूको मन र सोच्ने क्षमताको रक्षा गऱ्यो।

४, ५. (क) हाम्रो परिस्थिति कसरी पावलको जस्तै हुन सक्छ? (ख) पावलको जीवनमा कस्ता अप्रत्याशित घटना घटे?

तपाईं पनि पावलको जस्तै परिस्थितिमा पर्नुभएको छ होला। तपाईं यहोवाकै इच्छाअनुसार चलिरहनुभएको थियो तर नतिजा भने सोचेको जस्तो भएन होला। उल्टै विभिन्न चुनौतीको सामना गर्नुपऱ्यो होला। नयाँ परिस्थितिले गर्दा सायद जीवनमा ठूलठूला परिवर्तनहरू गर्नुपऱ्यो। (उप. ९:११) ती दिन सम्झँदा ‘यहोवाले किन त्यसो हुन दिनुभयो’ भन्ने प्रश्न मनमा आउँछ होला। त्यस्तो अवस्थामा यहोवाले सहने बल दिनुहुन्छ भन्ने कुरामा विश्वस्त हुन केले मदत गर्छ? जवाफ पाउन आउनुहोस्, पावल र सिलासको अनुभव फेरि विचार गरौं।

पावल र सिलास भजन गाउँदै गर्दा एकपछि अर्को अप्रत्याशित घटना घट्‌न थाल्छन्‌। अचानक ठूलो भूकम्प जान्छ। एकाएक झ्यालखानाका सबै ढोका खुल्छन्‌। सबै कैदीका बन्धनहरू फुकिन्छन्‌। पावलले जेलरलाई आत्महत्या गर्नदेखि रोक्छन्‌। पछि जेलर र उनको घरमा हुनेजति सबैले बप्तिस्मा गर्छन्‌। भोलिपल्ट बिहानै नगर प्रशासकहरूले अङ्‌गरक्षकहरूलाई पावल र सिलासलाई मुक्त गर्ने आदेश दिन्छन्‌। जेलरले तिनीहरूलाई शान्तिसित आफ्नो बाटो लाग्न आग्रह गर्छन्‌। तिनीहरू रोमी नागरिक हुन्‌ भनेर थाह पाएपछि नगर प्रशासकहरूले आफूहरूले ठूलो गल्ती गरेको महसुस गर्छन्‌। अनि पावल र सिलासलाई छोड्‌न उनीहरू आफै आउँछन्‌। तर सहर छोडेर जानुअघि पावल र सिलास भर्खरै बप्तिस्मा गरेकी लिडियालाई भेट्‌ने इच्छा गर्छन्‌। त्यही मौकामा तिनीहरूले त्यहाँका दाजुभाइ दिदीबहिनीलाई बलियो बनाउँछन्‌। (प्रेषि. १६:२६-४०) घटनाले कत्ति छिटो अर्कै मोड लियो!

“सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट”

६. हामी कस्ता विषयमा छलफल गर्नेछौं?

ती घटनाबाट कस्तो पाठ सिक्न सक्छौं? यहोवा हामीले आसै नगरेको कुरा गर्न सक्नुहुन्छ; त्यसैले परीक्षा आइपर्दा हामी चिन्तित हुनुपर्दैन। यो सत्यले पावलमा अमेट छाप पारेको थियो। यो कुरा तिनले परमेश्वरको शान्ति अनि चिन्ता-फिक्रीको विषयमा फिलिप्पीका दाजुभाइ दिदीबहिनीलाई लेखेको पत्रबाट प्रस्ट हुन्छ। आउनुहोस्, सुरुमा पावलले फिलिप्पी ४:६, ७ मा (पढ्‌नुहोस्) लेखेको कुराबारे छलफल गरौं। अनि यहोवाले विगतमा कसरी आसै नगरेको कुरा गर्नुभयो, बाइबलका केही उदाहरण विचार गर्नेछौं। अन्तमा, “परमेश्वरको शान्ति”-ले सहने बल दिन्छ भन्ने कुरामा किन ढुक्क हुन सक्छौं, त्यसबारे छलफल गर्नेछौं।

७. फिलिप्पीका ख्रीष्टियनहरूलाई लेखेको पत्रमा पावलले कुन कुरा जोड दिए? तिनका शब्दहरूबाट कस्तो पाठ सिक्न सक्छौं?

जब फिलिप्पीका ख्रीष्टियनहरूले पावलको पत्र पढे, तब उनीहरूले पावल फिलिप्पीमा छँदा तिनलाई के-के भएको थियो अनि यहोवाले त्यतिबेला कसरी आसै नगरेको कुरा गर्नुभयो भन्ने कुरा सम्झे होलान्‌। पावल आफ्नो पत्रमार्फत के सिकाउन खोज्दै थिए? तिनी उनीहरूलाई ‘चिन्ता नगर्नू, प्रार्थना गर्नू अनि तिमीहरूले परमेश्वरको शान्ति पाउनेछौ’ भन्न खोज्दै थिए। तिनले यसो भने: “परमेश्वरको शान्ति . . . सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ।” यसको अर्थ के हो? केही अनुवादकले यस अभिव्यक्तिलाई “परमेश्वरको शान्ति हाम्रा सबै सपनाभन्दा सर्वोत्कृष्ट छ” अथवा “मानिसको सम्पूर्ण योजनाभन्दा उत्तम छ” भनेर पनि अनुवाद गरेका छन्‌। पावलले एक अर्थमा “परमेश्वरको शान्ति” हामीले कल्पना गरेभन्दा कता हो कता अद्‌भुत छ भन्न खोज्दै थिए। मानिसको नजरबाट हेर्दा कुनै-कुनै समस्या पार लगाउनै नसकिने किसिमका हुन्छन्‌ तर यहोवाको लागि ती कुरा केही पनि होइनन्‌; उहाँ हामीले आसै नगरेको कुरा गर्न सक्नुहुन्छ।२ पत्रुस २:९ पढ्‌नुहोस्।

८, ९. (क) पावलले अन्याय भोग्नुपरे तापनि त्यसको नतिजा कस्तो भयो? (ख) फिलिप्पीका दाजुभाइ दिदीबहिनीले किन पावलको कुरालाई गम्भीरतासाथ लिए?

फिलिप्पीका दाजुभाइ दिदीबहिनीले पावलको पत्रबाट पक्कै बल पाएको हुनुपर्छ। पावलले फिलिप्पीमा खेदो भोगेको १० वर्ष भइसकेको थियो। त्यस दौडान यहोवाले आफूहरूलाई कसरी मदत गर्नुभयो भन्ने कुरामा मनन गर्दा फिलिप्पीका दाजुभाइ दिदीबहिनीको विश्वास पक्कै बलियो भएको हुनुपर्छ। पावलले लेखेको कुरा सत्य थियो। किनभने यहोवाले पावल र सिलासमाथि अन्याय हुन दिनुभए तापनि अन्तमा त्यसको नतिजा राम्रो भयो। त्यस घटनाले गर्दा “सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना” गर्न सम्भव भयो। (फिलि. १:७) त्यसपछि रोमी नगर प्रशासकहरूले भर्खरै स्थापना भएको मण्डलीविरुद्ध केही कदम चाल्न गाह्रै पर्ने थियो। पावलले आफू रोमी नागरिक भएको कुरा बताएपछि अरूले तिनका सहयात्री लूकालाई पनि रोमी भन्ठानेका हुन सक्छन्‌। त्यसैले पावल र सिलास फिलिप्पी छोडेर गएपछि पनि लूकालाई त्यहाँ बस्न अनि भर्खरै ख्रीष्टियन भएका दाजुभाइ दिदीबहिनीलाई थप मदत दिन सजिलो भएको हुन सक्छ।

पावलले त्यो पत्र कुनै अफिसमा आरामसित बसेर लेखेका थिएनन्‌ भनेर फिलिप्पीका दाजुभाइ दिदीबहिनीलाई राम्ररी थाह थियो। किनभने त्यो पत्र लेख्दा तिनी नजरबन्दमा थिए। अनि तिनले भीषण खेदोहरूको सामना गरेका थिए। तर त्यस्तो अवस्थामा पनि तिनले आफूसँग “परमेश्वरको शान्ति” भएको कुरा देखाए।—फिलि. १:१२-१४; ४:७, ११, २२.

“कुनै कुराको विषयमा चिन्तित नहोओ”

१०, ११. अचाक्ली चिन्तित हुँदा हामीले के गर्नुपर्छ? हामी कुन कुरामा ढुक्क हुन सक्छौं?

१० कुनै कुराको विषयमा चिन्ता नगर्न र “परमेश्वरको शान्ति” अनुभव गर्न केले मदत गर्न सक्छ? चिन्ताको औषधी प्रार्थना हो भन्ने कुरा फिलिप्पीका दाजुभाइ दिदीबहिनीलाई लेखिएको पत्रबाट देखिन्छ। त्यसैले चिन्तित हुँदा हामीले आफ्नो सारा फिक्री यहोवामाथि बिसाउनुपर्छ। (१ पत्रुस ५:६, ७ पढ्‌नुहोस्) यहोवा हाम्रो ख्याल राख्नुहुन्छ भन्ने कुरामा पूरा भरोसा राख्दै प्रार्थना गर्नुहोस्। आफूले पाएका आशिष्‌हरूको लागि यहोवालाई “धन्यवाद” दिनुहोस्। यहोवाले “हामीले मागे वा सोचेभन्दा कता हो कता धेरै गर्न सक्नुहुन्छ” भन्ने कुरा मनमा राख्दा उहाँमाथिको भरोसा बलियो हुनेछ।—एफि. ३:२०.

११ यहोवाले फिलिप्पीमा पावल र सिलासलाई मदत गर्नुभएजस्तै हामीलाई पनि मदत गर्नुहुन्छ। उहाँले त्यस्तै चमत्कार त गर्नुहुन्न होला तर सधैं हामीलाई चाहिएकै मदत दिनुहुन्छ। (१ कोरि. १०:१३) तर त्यसो भन्दैमा ‘यहोवाले सबै कुरा मिलाउनुहुन्छ’ भन्दै हामीचाहिं हात बाँधेर बस्नु हुँदैन। प्रार्थना गरेपछि त्यसअनुसार काम पनि गर्नुपर्छ। (रोमी १२:११) यसो गर्दा हामी निष्कपट छौं र यहोवाबाट आशिष्‌ चाहन्छौं भन्ने देखिन्छ। अनि बिर्सन नहुने कुरा, यहोवा हामीले मागे वा आशा गरेभन्दा धेरै कुरा गर्न सक्नुहुन्छ। कहिलेकाहीं हामीले आसै नगरेको कुरा गरेर उहाँ हामीलाई चकित पार्नुहुन्छ। आउनुहोस्, यहोवा हामीले आसै नगरेको कुरा गर्न सक्नुहुन्छ भन्ने कुरामा हाम्रो विश्वास बलियो बनाउने बाइबलका केही विवरण विचार गरौं।

यहोवा हामीले आसै नगरेको कुरा गर्नुहुन्छ

१२. (क) सनहेरीबले धम्की दिंदा हिजकियाहले के गरे? (ख) यहोवाले हिजकियाहलाई मदत गर्नुभएको कुराबाट कस्तो पाठ सिक्न सक्छौं?

१२ यहोवाले मानिसले आसै नगरेको कुरा गर्नुभएको थुप्रै विवरण बाइबलमा पाइन्छ। राजा हिजकियाहको समयमा अश्शूरका राजा सनहेरीबले यरूशलेमबाहेक यहूदाका सबै सहर कब्जा गरे। (२ राजा १८:१-३, १३) त्यसपछि सनहेरीबले यरूशलेममाथि आक्रमण गर्ने योजना बनाए। यस्तो सङ्‌कट आइलाग्दा हिजकियाहले के गरे? तिनले मदतको लागि यहोवालाई प्रार्थना गरे अनि भविष्यवक्ता यशैयासित सल्लाह मागे। (२ राजा १९:५, १५-२०) साथै सनहेरीबले माग गरेको कर तिरेर तिनले व्यावहारिक कदम पनि चाले। (२ राजा १८:१४, १५) सनहेरीबले घेराबन्दी गर्लान्‌ कि भनेर हिजकियाहले त्यसको सामना गर्न आवश्यक तयारी गरे। (२ इति. ३२:२-४) तर त्यो ठूलो सङ्‌कट कसरी टऱ्यो? यहोवाले एक जना स्वर्गदूत पठाएर एकै रातमा सनहेरीबको १ लाख ८५ हजार सैनिकलाई नाश गर्नुभयो। यहोवाले त्यसरी चमत्कारपूर्ण तरिकामा मदत गर्नुहोला भनेर हिजकियाहले सोचेका पनि थिएनन्‌!—२ राजा १९:३५.

यूसुफबाट कस्तो पाठ सिक्न सक्छौं?—उत्प. ४१:४२ (अनुच्छेद १३ हेर्नुहोस्)

१३. (क) यूसुफबाट कस्तो पाठ सिक्न सक्छौं? (ख) साराको जीवनमा कस्तो आसै नगरेको घटना घट्‌यो?

१३ याकूबका जवान छोरा यूसुफलाई विचार गर्नुहोस्। झ्यालखानामा हुँदा आफू मिश्रको दोस्रो शक्तिशाली व्यक्ति बनुँला भनेर के यूसुफले सोचेका थिए? अथवा परिवारलाई अनिकालदेखि जोगाउन यहोवाले आफूलाई प्रयोग गर्नुहोला भनेर सोचेका थिए? (उत्प. ४०:१५; ४१:३९-४३; ५०:२०) यूसुफले सोच्दै नसोचेको तरिकामा यहोवाले तिनलाई मदत गर्नुभयो। अब यूसुफका जिज्यूआमा साराबारे विचार गरौं। सारा वृद्ध भइसकेकी थिइन्‌। तिनले आफ्नी दासीको छोरालाई नै आफ्नो छोरा मानेर बस्नुपरेको थियो। के यस्तो उमेरमा यहोवाले आफूलाई कुनै सन्तान दिनुहोला भनेर तिनले सोचेकी थिइन्‌? तर पछि साराले इसहाकलाई जन्माइन्‌। त्यो कुरा तिनले कहिल्यै कल्पना गरेकी थिइनन्‌।—उत्प. २१:१-३, ६, ७.

१४. हामी कुन कुरामा विश्वस्त हुन सक्छौं?

१४ नयाँ संसार आउनुअघि नै यहोवाले सबै समस्या चमत्कारपूर्ण तरिकामा हटाइदिनुभएको हामी आशा गर्दैनौं न त आफ्नो जीवनमा कुनै चमत्कार गरिदिनुहोस् भनेर यहोवालाई बिन्ती नै गर्छौं। तर हामी यो कुरामा विश्वस्त छौं: आफ्ना सेवकहरूलाई आश्चर्यपूर्ण तरिकामा मदत गर्नुहुने परमेश्वर यहोवा नै हुनुहुन्छ। (यशैया ४३:१०-१३ पढ्‌नुहोस्) यस्तो विश्वासले हामीलाई यहोवामाथि भरोसा राख्न मदत गर्छ। यहोवाले हामीलाई उहाँको इच्छा पूरा गर्न जस्तोसुकै मदत पनि दिन सक्नुहुन्छ भनेर हामीलाई थाह छ। (२ कोरि. ४:७-९) हिजकियाह, यूसुफ र साराको उदाहरणबाट कस्तो पाठ सिक्न सक्छौं? कुनै-कुनै समस्या सुल्झाउनै नसकिनेजस्तो देखिएला। तर यहोवाप्रति वफादार रह्यौं भने त्यस्तो समस्या सुल्झाउन पनि यहोवा हामीलाई मदत गर्न सक्नुहुन्छ।

कुनै-कुनै समस्या सुल्झाउनै नसकिनेजस्तो देखिएला। तर यहोवाप्रति वफादार रह्यौं भने त्यस्तो समस्या सुल्झाउन पनि यहोवा हामीलाई मदत गर्न सक्नुहुन्छ

१५. हामी कसरी “परमेश्वरको शान्ति” कायम राख्न सक्छौं? परमेश्वरसितको सम्बन्ध राम्रो बनाउन कसरी सम्भव भएको छ?

१५ गाह्रो अवस्थामा समेत हामी कसरी “परमेश्वरको शान्ति” कायम राख्न सक्छौं? यहोवासितको सम्बन्ध राम्रो बनाइराखेर। यस्तो सम्बन्ध फिरौतीको बलिदान चढाउनुभएका “ख्रीष्ट येशूद्वारा” मात्र सम्भव भएको हो। फिरौतीको प्रबन्ध हाम्रो बुबा यहोवाले गर्नुभएको आश्चर्यका कामहरूमध्ये एउटा हो। फिरौतीको बलिदानले गर्दा हामीले आफ्नो पापको क्षमा पाउन, अन्तस्करण सफा बनाउन र यहोवासित नजिक हुन सकेका छौं।—यूह. १४:६; याकू. ४:८; १ पत्रु. ३:२१.

‘त्यसले मन र सोच्ने क्षमताको रक्षा गर्नेछ’

१६. “परमेश्वरको शान्ति” पाउँदा हामीलाई कस्तो फाइदा हुन्छ? उदाहरण दिनुहोस्।

१६ ‘सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट परमेश्वरको शान्ति’ पाउँदा हामीलाई कस्तो फाइदा हुन्छ? बाइबल भन्छ: ‘त्यसले ख्रीष्ट येशूद्वारा हाम्रो मन र सोच्ने क्षमताको रक्षा गर्नेछ।’ (फिलि. ४:७) “रक्षा” भनेर अनुवाद गरिएको मौलिक भाषाको शब्द सैन्य सेवामा प्रयोग गरिन्थ्यो। प्राचीन समयमा पर्खालले घेरिएको सहरको सुरक्षा गर्न सैन्य दल तैनाथ गरिएको हुन्थ्यो। यस्तो सुरक्षालाई बुझाउन “रक्षा” शब्द प्रयोग गरिन्थ्यो। फिलिप्पी त्यस्तै एउटा सहर थियो। सैनिकहरूले सहरको सुरक्षा गर्दै छन्‌ भनेर थाह भएकोले फिलिप्पीका मानिसहरू कुनै डरविना ढुक्कसित सुत्थे। त्यस्तैगरि, यदि हामीसित “परमेश्वरको शान्ति” छ भने हाम्रो मन अनि मस्तिष्कमा कुनै चिन्ता वा तनाव हुँदैन। यहोवा हाम्रो ख्याल राख्नुहुन्छ र हामी सफल भएको चाहनुहुन्छ। (१ पत्रु. ५:१०) यो कुरा थाह भएकोले हामी अचाक्ली चिन्तित हुन वा निराशामा डुब्नदेखि जोगिन्छौं।

१७. महासङ्‌कष्टको दौडान यहोवामाथि भरोसा राख्न केले मदत गर्नेछ?

१७ मानिसजातिले कहिल्यै अनुभव नगरेको महासङ्‌कष्ट नजिकै छ। (मत्ती २४:२१, २२) त्यतिबेला प्रत्येक व्यक्तिले कस्तो अवस्थाको सामना गर्नुपर्नेछ, हामी भन्न सक्दैनौं। तर त्यसबारे अचाक्ली चिन्ता भने गर्नुपर्दैन। त्यतिबेला यहोवाले गर्नुहुने एक-एक कुरा त हामीलाई थाह छैन तर उहाँ कस्तो परमेश्वर हुनुहुन्छ भनेर चाहिं थाह छ। अनि विगतमा यहोवाले आफ्ना जनहरूलाई कसरी मदत गर्नुभयो, हामीलाई थाह छ। अवस्था जस्तोसुकै होस्, यहोवा सधैं आफ्नो उद्देश्य पूरा गर्नुहुन्छ, कहिलेकाहीं हामीले आसै नगरेको तरिकामा। यहोवाले हरेक चोटि मदत गर्नुहुँदा हामीले ‘उहाँको शान्ति सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ’ भन्ने कुरा नयाँ-नयाँ तरिकामा अनुभव गर्न सक्नेछौं।

^ अनु. 1 सम्भवतः सिलास पनि रोमी नागरिक हुन सक्छन्‌।—प्रेषि. १६:३७.