जीवनी
परीक्षा सहँदा आशिष् पाइन्छ
एक जना के जि बि-का अफिसरले * मलाई यसरी गाली गरे, “तँ कस्तो निर्दयी बाउ हँ! आफ्नो गर्भवती श्रीमती, सानी छोरीलाई एक्लै छोड्ने! तिनीहरूलाई कसले पाल्छ, कसले हेर्छ? हेर्, भनेको मान्। तेरो धर्मसर्म छोड् अनि घर जा।” मैले भने, “मैले आफ्नो परिवारलाई छोडेको होइन। तपाईंहरूले नै मलाई यहाँ ल्याउनुभएको हो। मैले के गरेको थिएँ र?” अफिसरले भने: “यहोवाको साक्षी हुनुजस्तो ठूलो अपराध अरू छैन।”
माथिको घटना सन् १९५९ तिरको हो। त्यतिबेला म रूसको इर्कुत्स सहरको एउटा जेलमा थिए। म र मेरी श्रीमती मारिया किन सत्यको खातिर ‘दुःख भोग्न’ तयार भयौं अनि वफादार रहँदा कसरी आशिष् पायौं, तपाईंहरूलाई बताउन चाहन्छु।—१ पत्रु. ३:१३, १४.
मेरो जन्म सन् १९३३ मा युक्रेनको जोलोत्निकी भन्ने गाउँमा भएको थियो। सन् १९३७ मा सानिमा अनि सानाबा फ्रान्सबाट हामीलाई भेट्न आउनुभयो। उहाँहरू यहोवाको साक्षी हुनुहुन्थ्यो। उहाँहरूले हाम्रो लागि वाच टावर सोसाइटीले निकालेको सरकार र छुटकारा (अङ्ग्रेजी) भन्ने किताबहरू पढ्नको लागि छोड्नुभयो। बुबाले त्यो किताब पढेपछि परमेश्वरमाथि विश्वास गर्न थाल्नुभयो। दुःखको कुरा, सन् १९३९ मा उहाँ असाध्यै बिरामी पर्नुभयो। मर्नुअघि उहाँले आमालाई यसो भन्नुभएको थियो, “यो नै सत्य हो। छोराछोरीलाई यो कुरा सिकाउनू है।”
साइबेरिया—प्रचारको नयाँ इलाका
सन् १९५१ अप्रिलमा अख्तियारवालाहरूले यहोवाका साक्षीहरूलाई पश्चिमी सोभियत सङ्घबाट साइबेरियामा निर्वासनमा पठाउन सुरु गरे। म, आमा र भाइ ग्रिगोरीलाई युक्रेनबाट देश निकाला गरियो। रेलमा ६,००० किलोमिटर लामो यात्रा गरेपछि हामी साइबेरियाको टुलुन सहर पुग्यौं। दुई हप्तापछि मेरो दाइ बोग्दानलाई पनि टुलुननजिकै रहेको अङ्गर्स्क सहरको शिविरमा ल्याइयो। उहाँलाई २५ वर्षको लागि श्रम शिविरमा राख्ने सजाय सुनाइएको थियो।
म, आमा र ग्रिगोरीले टुलुनको बस्तीमा प्रचार गऱ्यौं। तर हामी कुराकानी गर्न सिपालु हुनुपर्थ्यो। हामी यसरी कुरा सुरु गर्थ्यौं, “यहाँ गाई बेच्न चाहने कोही हुनुहुन्छ कि?” अनि त्यस्तो मानिसलाई भेट्यौं भने उनीहरूसित गाई कत्ति अचम्म तरिकाले सृष्टि गरिएको छ भनेर कुरा गर्थ्यौं। अनि कुरै कुरामा सृष्टिकर्ताबारे बताउँज्थ्यौं। त्यतिबेलातिर एउटा पत्रिकामा साक्षीहरू गाईको विषयमा कुरा गर्छन् तर खासमा भेडा खोजिरहेका हुन्छन् भनेर छापिएको थियो। हुन पनि हामीले थुप्रै भेडाखाले नम्र मानिस भेट्टायौं! कसैलाई नखटाइएको इलाकामा गएर नम्र अनि अतिथिसत्कार गर्न रुचाउने मानिसहरूलाई बाइबलको कुरा सिकाउन पाउनु आनन्दको कुरा थियो। अहिले टुलुनमा १०० जनाभन्दा धेरै प्रकाशक भएको एउटा मण्डली छ।
मारियाको विश्वासको जाँच
दोस्रो विश्व युद्धको दौडान मेरी श्रीमती मारियाले युक्रेनमा सत्य सिकी। एक चोटिको कुरा हो, के जि बि-को एक जना अफिसरले उसलाई आफूसित यौनसम्बन्ध राख्न दबाब दिए। त्यतिबेला ऊ १८ वर्षकी थिई। उसले साहसी हुँदै दबाबको प्रतिकार गरी। एक दिनको कुरा हो, ऊ घर फर्कंदा उसको खाटमा ती अफिसर पल्टिरहेका रहेछन्। मारिया त्यहाँबाट भागिहाली। ती अफिसर साह्रै रिसाए र मारियालाई यहोवाको साक्षी भएको आरोपमा जेलमा हालिदिने धम्की दिए। नभन्दै सन् १९५२ मा मारियालाई १० वर्षको जेल सजाय सुनाइयो। मारियाले सत्यनिष्ठाको कारण जेलमा परेका यूसुफले जस्तै महसुस गरी। (उत्प. ३९:१२, २०) मारियालाई अदालतबाट जेलमा लगिंदै गर्दा ट्याक्सी ड्राइभरले उसलाई यसो भने: “चिन्ता नगर्नुहोस्, जेलमा पर्ने सबैले आफ्नो आत्मसम्मान गुमाउँदैनन्। तपाईंले पनि गुमाउनुहुनेछैन।” ती शब्दले मारियालाई बलियो बनायो।
मारियालाई सन् १९५२ देखि १९५६ सम्म रूसको गोर्की सहरनजिकैको (अहिले निज्नी नोभ्गोरोद) श्रम शिविरमा राखियो। कठ्याङ्ग्रिने जाडोमा पनि उसलाई रूख उखेल्ने आदेश दिइयो। त्यसले गर्दा मारिया बिरामी परी। सन् १९५६ मा ऊ जेलबाट मुक्त भई अनि टुलुनतिर लागी।
श्रीमती र छोरीहरूदेखि टाढा
टुलुनको एक भाइबाट एक जना बहिनी आउँदै छिन् भन्ने खबर पाएँ। उसको सरसामान बोकिदिन साइकल लिएर बस स्टपमा गएँ। एकै नजरमा माया बस्यो। उसको मन जित्न धेरै मेहनत गर्नुपऱ्यो। आखिरमा मैले उसको मन जितेरै छोडें। हामीले सन् १९५७ मा विवाह गऱ्यौं। एक वर्षपछि हाम्री छोरी इरिनाको जन्म भयो। हामी धेरै खुसी थियौं। तर त्यो खुसी लामो समयसम्म रहेन। सन् १९५९ मा बाइबल साहित्य छापेको आरोपमा मलाई गिरफ्तार गरियो। मलाई छ महिनासम्म एकल कारावासमा राखियो। आफ्नो मनोशान्ति कायम राख्न मैले निरन्तर प्रार्थना गरें, राज्य गीतहरू गाएँ अनि कारावासबाट मुक्त भएपछि म कसरी प्रचार गर्छु होला भनेर कल्पना गरें।
एक पटक केरकारको दौडान अफिसरले यसो भनेर थर्काए, “तिमीहरूलाई त मुसालाई जस्तै किचेर मार्नुपर्छ!” मैले भनें, “येशूले राज्यको सुसमाचार सबै जातिलाई प्रचार गरिनेछ भनेर भन्नुभएको छ। त्यसैले यो काम कसैले पनि रोक्न सक्दैन।” त्यसपछि मलाई आफ्नो धर्म त्याग्न लगाउन अफिसरले अर्कै जुक्ति लगाए। मैले सुरुमा बताएको घटना यही बेलाको हो। जति दबाब दिए पनि केही सीप नलागेपछि मलाई सात वर्षको लागि सारान्स्क सहरनजिकैको श्रम शिविरमा पठाइयो। शिविरमा लगिंदै गर्दा मेरी छोरी ओल्गाको जन्म भएको खबर पाएँ। हुन त श्रीमती अनि छोरीहरू मदेखि टाढा थिए तर हामी श्रीमान्-श्रीमती यहोवाप्रति वफादार रहन सकेकोले मैले सहने बल पाएँ।
सारान्स्कदेखि टुलुनसम्म रेलमा आउन-जान १२ दिन लाग्थ्यो। तैपनि मारिया मलाई हरेक वर्ष भेट्न आउँथी। अनि हरेक चोटि एक जोर जुत्ता ल्याइदिने गर्थी। जुत्ताको हिलमा नयाँ-नयाँ प्रहरीधरहरा लुकाइएका हुन्थे। एक चोटि मारियाले छोरीहरूलाई सँगै लिएर आई। छोरीहरूलाई देख्दा म असाध्यै खुसी भएँ! त्यो दिन म कहिल्यै बिर्सन सक्दिनँ।
नयाँ ठाउँ, नयाँ चुनौती
म सन् १९६६ मा श्रम शिविरबाट मुक्त भएँ। हामी चारै जना कृष्ण सागरनजिकै रहेको अर्माभिर सहरमा सऱ्यौं। त्यहाँ हाम्रा छोराहरू यारोस्लाब र पाभेलको जन्म भयो।
त्यसको केही समय नबित्दै के जि बि-का अफिसरहरूले हाम्रो घरमा छापा मार्न थाले। कुनै बाइबल साहित्य भेटिन्छ कि भनेर सबैतिर खोजे। गाईको दानामा समेत खोजे। एक चोटिको रोमी १२:२१.
कुरा हो, अफिसरहरू गर्मीले असिनपसिन भएर आएका थिए। लुगाभरि धुलैधुलो थियो। त्यस्तो अवस्था देखेर मारियालाई साह्रै दया लागेछ। किनभने ती अफिसरहरू केवल सरकारको आदेश पालन गरिरहेका थिए। मारियाले अफिसरहरूलाई पिउनको लागि जुस, लुगा सफा गर्न ब्रस, एक बटुको पानी अनि रुमाल दिई। पछि के जि बि-का मुख्य अफिसर आइपुगे। अफिसरहरूले तिनलाई मारियाको राम्रो व्यवहारबारे बताए। ती अफिसर मुस्कुराउँदै अनि हात हल्लाउँदै बिदा भए। ‘खराबीलाई भलाइले जितिरहने’ प्रयास गर्दा नतिजा राम्रो भयो। यो देख्दा हामीलाई साह्रै खुसी लाग्यो।—त्यस्तो परिस्थितिमा समेत हामीले अर्माभिरमा प्रचार गर्न छोडेनौं। साथै हामीले कुर्गानिन्स्क सहरमा रहेको सानो समूहलाई बलियो पार्न पनि मदत गऱ्यौं। अहिले अर्माभिरमा ६ वटा र कुर्गानिन्स्कमा ४ वटा मण्डली छन्। यस्तो प्रगति देख्दा असाध्यै खुसी लाग्छ।
कुनै-कुनै बेला हामी आध्यात्मिक रूपमा कमजोर भएका थियौं। त्यतिबेला वफादार भाइहरूले हामीलाई सच्याउनुभयो र आध्यात्मिक रूपमा बलियो पार्नुभयो। यसको लागि हामी यहोवाप्रति आभारी छौं। (भज. १३०:३) कुनै समय के जि बि-का गुप्तचरहरू आफ्नो परिचय लुकाएर मण्डलीमा घुसेका थिए। त्यो समयमा पनि हाम्रो विश्वासको ठूलो जाँच भयो। तिनीहरू प्रचारकार्यमा सक्रिय अनि जोसिला देखिन्थे। केहीले त सङ्गठनमा जिम्मेवारी पनि पाएका थिए। तर पछि हामीले तिनीहरूको वास्तविकता थाह पायौं।
सन् १९७८ मा मारिया फेरि गर्भवती भई। त्यतिबेला ऊ ४५ वर्षकी थिई। ऊ मुटुको दीर्घकालीन रोगी थिई। त्यसैले बच्चा जन्माउँदा आमाको ज्यान जान सक्ने भएकोले डाक्टरहरूले उसलाई गर्भपतन गर्ने सल्लाह दिए। मारियाले त्यसो गर्न मानिन। त्यसपछि केही डाक्टर जबरजस्ती उसलाई सुई दिन उसको पछि लागे। बच्चा जन्मने समय पुग्नुअघि नै ती डाक्टरहरू सुई दिएर बच्चा खसाल्न चाहन्थे। आफ्नो बच्चाको ज्यान जोगाउन मारिया अस्पतालबाट भागी।
के जि बि-ले हामीलाई अर्माभिर सहर छोड्ने आदेश दियो। हामी इस्टोनियाको टालिन भन्ने सहरनजिकैको गाउँमा सऱ्यौं। त्यतिबेला टालिन सोभियत सङ्घमा पर्थ्यो। त्यहाँ मारियाले स्वस्थ बच्चा जन्माई; डाक्टरहरूको अनुमान गलत साबित भयो। हामीले छोराको नाम भिटाली राख्यौं।
पछि, हामी इस्टोनिया छोडेर रूसको दक्षिणतिर पर्ने नेजलोब्ने भन्ने ठाउँमा सऱ्यौं। देशको विभिन्न ठाउँबाट मानिसहरू त्यहाँ बिदा मनाउन अनि आफ्नो स्वास्थ्य राम्रो बनाउन आउँथे। ती पर्यटकीय इलाकामा हामी होसियार भएर प्रचार गर्थ्यौं। त्यहाँ मानिसहरू आफ्नो स्वास्थ्य सुधार होस् भनेर आउँथे तर कोही-कोही अनन्त जीवनको आशा लिएर फर्कन्थे।
छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउँदै
यहोवालाई माया गरोस् अनि उहाँको सेवा गरोस् भनेर हामीले छोराछोरीलाई धेरै कुरा सिकायौं। हामी घरमा प्रायजसो मण्डलीका भाइबहिनीहरू बोलाइरहन्थ्यौं। यसले गर्दा छोराछोरीमा राम्रो छाप परेको थियो। मेरो भाइ ग्रिगोरीलाई पनि बोलाइरहन्थ्यौं। उसले सन् १९७० देखि १९९५ सम्म परिभ्रमण निरीक्षकको रूपमा सेवा गरेको थियो। ऊ निकै हँसीमजाक गर्थ्यो, खुब रमाइलो हुन्थ्यो। पाहुनाहरूसँग हामी प्रायजसो बाइबल गेमहरू खेल्थ्यौं। यसले गर्दा छोराछोरीले बाइबलका ऐतिहासिक विवरणहरू मन पराउन थाले।
सन् १९८७ मा हाम्रो छोरा यारोस्लाब लाट्भियाको रिगा
सहरमा सऱ्यो। त्यहाँ उसले अझै खुला रूपमा प्रचार गर्न पायो। पछि उसलाई सैन्य सेवाको लागि बोलाइयो। सेनामा भर्ती हुन नमानेकोले उसलाई साढे एक वर्षको जेल सजाय सुनाइयो। त्यस दौडान उसलाई नौ वटा विभिन्न जेलमा सारियो। उसलाई सहन मदत मिलोस् भनेर मैले आफू जेल पर्दाको कहानी सुनाएँ। जेलबाट छुटेपछि यारोस्लाबले अग्रगामी सेवा सुरु गऱ्यो। सन् १९९० मा हाम्रो अर्को छोरा पाभेलले जापानको सखलिन टापुमा गएर अग्रगामी गर्न चाहेको कुरा बतायो। त्यतिबेला ऊ १९ वर्षको थियो। त्यो टापु हामी बसेको सहरबाट ९,००० किलोमिटर टाढा थियो। त्यहाँ २० जना मात्र प्रकाशक थिए। सुरुमा त उसलाई त्यहाँ पठाउन चाहेनौं। तर पछि जान दियौं। त्यो निर्णय राम्रो भयो। त्यहाँका थुप्रै मानिसले बाइबलको सन्देश स्विकारे। केही वर्षभित्रै त्यहाँ आठ वटा मण्डली स्थापना भयो। पाभेलले त्यहाँ सन् १९९५ सम्म सेवा गऱ्यो। त्यतिबेला हामीसँग कान्छो छोरा भिटाली मात्र बसिरहेको थियो। सानैदेखि उसलाई बाइबल पढ्न मन पर्थ्यो। भिटालीले १४ वर्षको उमेरमा अग्रगामी सेवा सुरु गऱ्यो। ऊसँग मिलेर मैले दुई वर्ष अग्रगामी सेवा गरे। ती दिनहरू सम्झँदा साह्रै रमाइलो लाग्छ। उन्नाइस वर्षको उमेरमा ऊ विशेष अग्रगामीको रूपमा अर्कै ठाउँ सेवा गर्न गयो।सन् १९५२ मा के जि बि-का अफिसरले मारियालाई यसो भनेका थिए: “खुरुक्क आफ्नो धर्म छोड्! नत्र १० वर्ष जेलमा सड्नुपर्ला! बाहिर निस्कुन्जेल तँ बूढी भइसक्छस्, कोही हुँदैन तेरो।” तर नतिजा ठीक उल्टो भयो। हामीले यहोवा परमेश्वर, छोराछोरी अनि हामीले बाइबल सत्य सिकाउन मदत गरेका भाइबहिनीबाट धेरै माया पायौं। पछि मारिया र म छोराछोरीले सेवा गरिरहेको ठाउँहरू घुम्न गयौं। छोराछोरीको मदतले गर्दा थुप्रैले यहोवाबारे सिक्न पाएका थिए। ती व्यक्तिहरूसित भेट्न पाउँदा अनि कृतज्ञताका शब्द सुन्न पाउँदा धेरै खुसी लाग्यो।
यहोवाको भलाइप्रति कृतज्ञता
सन् १९९१ मा सरकारले यहोवाका साक्षीहरूलाई कानुनी मान्यता दियो। यसले हामीमा नयाँ जोस र जाँगर थपिदियो। हामी जोडतोडले प्रचारमा लाग्यौं। सप्ताहन्तमा नजिकैका सहर अनि गाउँहरूमा प्रचार गर्न सजिलो होस् भनेर हाम्रो मण्डलीले एउटा बस पनि किन्यो।
यारोस्लाब र उसकी श्रीमती आल्योना अनि पाभेल र उसकी श्रीमती राया अहिले बेथेल सेवा गर्दै छन्। भिटाली क्षेत्रीय निरीक्षकको रूपमा आफ्नी श्रीमती स्वेतलानासँगै सेवा गर्दै छ। छोरा-बुहारीहरू यसरी यहोवाको सेवामा लागेको देख्दा साह्रै खुसी लाग्छ। जेठी छोरी इरिना आफ्नो परिवारसँगै जर्मनीमा बस्दै छे। इरिनाको श्रीमान् भ्लाडिमिर अनि तिनीहरूको तीन जना छोरा एल्डरको रूपमा सेवा गर्दै छन्। अर्की छोरी ओल्गाचाहिं इस्टोनियामा बसछे। मलाई बेलाबेलामा फोन गरिरहन्छे। सन् २०१४ मा मारियाको मृत्यु भयो। म उसलाई फेरि भेट्ने दिनको उत्सुकतासाथ प्रतीक्षा गर्दै छु। अहिले म बेलगोरोद सहरमा बस्दै छु। यहाँका भाइबहिनीहरूले मलाई धेरै मदत गर्दै हुनुहुन्छ।
लामो समय यहोवाको सेवा गर्दा मैले थुप्रै कुरा सिकें। सत्यनिष्ठा कायम गर्न धेरै दुःख झेल्नुपर्ने हुन सक्छ। तर यहोवाले हामीलाई ठूलो मनोशान्ति दिनुहुन्छ, जसलाई कुनै कुरासित तुलना गर्न सकिंदैन। वफादार भई यहोवाको सेवा गरेकोले मारिया र मैले प्रचुर आशिष् पायौं। सन् १९९१ मा सोभियत सङ्घ विघटन हुनुअघि ४० हजारभन्दा अलि धेरै मात्र प्रकाशक थिए तर आज ती इलाकामा ४ लाखभन्दा धेरै प्रकाशक यहोवाको सेवा गर्दै छन्। अहिले म ८३ वर्ष पुगिसकें। मण्डलीमा एल्डरको रूपमा सेवा गर्दै छु। यहोवाले मलाई परीक्षाहरू सहन सधैं मदत गर्नुभएको छ। हो, यहोवाले मलाई प्रशस्त आशिष् दिनुभएको छ।—भज. १३:५, ६.
^ अनु. 4 के जि बि भनेको सोभियत सरकारको सुरक्षा निकाय हो।