सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पुरानो व्यक्तित्वलाई फुकाल्नुहोस् र त्यसदेखि अलग रहनुहोस्

पुरानो व्यक्तित्वलाई फुकाल्नुहोस् र त्यसदेखि अलग रहनुहोस्

“पुरानो व्यक्तित्वलाई त्यसका कामहरूसहित फुकालेर मिल्काइदेओ।”—कल. ३:९.

गीत: ८३, १२९

१, २. मानिसहरूले यहोवाका साक्षीहरूबारे के याद गरेका छन्‌?

मानिसहरूले हामी यहोवाका साक्षीहरूका राम्रा गुणहरू याद गरेका छन्‌। उदाहरणको लागि, जर्मनीमा नाजी शासनको बेलाका हाम्रा भाइबहिनीबारे लेखक आन्टोन गीलले यस्तो लेखे: “नाजीहरू यहोवाका साक्षीहरूलाई शत्रु नै ठान्थे। . . . सन्‌ १९३९ सम्ममा ६,००० साक्षीलाई यातना शिविरमा राखिएको थियो। चरम यातना दिइए तापनि साक्षीहरू “शान्त स्वभावका थिए अनि भरोसा गर्न लायकका थिए” भनेर तिनले लेखे। साथै तिनीहरूको “विश्वास र एकता” बलियो थियो।

केही वर्ष अघिको कुरा हो, दक्षिण अफ्रिकाका मानिसहरूले पनि साक्षीहरूका राम्रा गुणहरू याद गरेका थिए। कुनै समय त्यस देशमा विभिन्न वर्ण र जातिका साक्षीहरू खुलेआम सङ्‌गत गर्न सक्दैनथे। तर सन्‌ २०११ डिसेम्बर १८, आइतबार दक्षिण अफ्रिकाको जोहानेसबर्ग सहरको सबैभन्दा ठूलो रङ्‌गशालामा त्यही देशका र छिमेकी देशहरूबाट विभिन्न वर्ण र जातिका ७८,००० भन्दा धेरै साक्षी आध्यात्मिक कार्यक्रमको लागि भेला भए। ती साक्षीहरूबारे रङ्‌गशालाका म्यानेजरले यसो भने: “मैले यो रङ्‌गशालामा तपाईंहरूजस्तो असल आचरण भएका मानिसहरू पहिला कहिल्यै देखेको थिइनँ। सबै जना कस्तो चिटिक्क परेका! तपाईंहरूले सरसफाइ पनि एकदम राम्ररी गर्नुभयो। तपाईंहरू फरक-फरक वर्ण र जातिको भए पनि यसरी मिलेर बसेको देख्दा अचम्म लाग्यो।”

३. हाम्रो अन्तरराष्ट्रिय भाइचारा किन अरूको भन्दा फरक छ?

मानिसहरूको यस्तो प्रतिक्रियाबाट स्पष्ट हुन्छ, हाम्रो अन्तरराष्ट्रिय भाइचारा अरूको भन्दा निकै फरक छ। (१ पत्रु. ५:९) किन? किनभने हामी आफ्नो ‘पुरानो व्यक्तित्व फुकालेर मिल्काउन’ परमेश्वरको वचन र उहाँको पवित्र शक्तिमा भर पर्छौं। अनि पुरानो व्यक्तित्वको ठाउँमा “नयाँ व्यक्तित्व धारण” गर्न कडा मेहनत गर्छौं।—कल. ३:९, १०.

४. हामी यस लेखमा के छलफल गर्नेछौं? किन?

पुरानो व्यक्तित्व फुकालेर मात्र पुग्दैन, त्यसदेखि अलग पनि रहनुपर्छ। हामी पुरानो व्यक्तित्व कसरी फुकाल्न सक्छौं अनि हामीले किन तुरुन्तै यस्तो कदम चाल्नुपर्छ भन्नेबारे यस लेखमा छलफल गर्नेछौं। गलत काम गर्ने बानी नै बसिसकेको छ भने पनि कसरी त्यस्ता बानी त्याग्न सक्छौं, त्यसबारे पनि छलफल गर्नेछौं। लामो समयदेखि यहोवाको सेवा गरिरहेकाहरूले पुरानो व्यक्तित्वदेखि अलग रहिरहन के गर्न सक्छन्‌, त्यसबारे पनि छलफल गर्नेछौं। हामीलाई यस्ता सम्झौटा किन चाहिन्छ? किनभने कसै-कसैले होस नपुऱ्याएकोले पुरानै व्यक्तित्व झल्कने काम गर्न पुगेका छन्‌। त्यसैले हामी सबैले यो चेतावनी मनमा राख्नुपर्छ: “जसले आफू खडा छु भनी सोच्छ, ऊ होसियार रहोस् नत्र त ऊ लड्‌नेछ।”—१ कोरि. १०:१२.

‘अवैध यौनसम्बन्ध राख्ने कुइच्छाहरूलाई मार्नुहोस्’

५. (क) पुरानो व्यक्तित्व फुकाल्न किन तुरुन्तै कदम चाल्नुपर्छ? उदाहरण दिनुहोस्। (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्) (ख) कलस्सी ३:५-९ अनुसार पुरानो व्यक्तित्वमा कस्ता कामहरू समावेश छन्‌?

तपाईंको लुगामा फोहोर लाग्यो अनि गन्हाउन पनि थाल्यो भने तपाईं के गर्नुहुन्छ? तुरुन्तै त्यो लुगा फुकाल्नुहुन्छ नि होइन? त्यस्तैगरि, यहोवाको व्यक्तित्वसित मेल नखाने बानीहरू हटाउन पनि हामीले तुरुन्तै कदम चाल्नुपर्छ। प्रेषित पावलले ख्रीष्टियनहरूलाई दिएको यो सल्लाह हामी पालन गर्न चाहन्छौं: “यी सबै कुराहरूबाट पूर्णतया अलग रहो।” आउनुहोस्, तिनले उल्लेख गरेका खराब कुराहरूमध्ये दुइटा विचार गरौं: अवैध यौनसम्बन्ध र अशुद्धपन।कलस्सी ३:५-९ पढ्‌नुहोस्।

६, ७. (क) पुरानो व्यक्तित्व फुकाल्न निकै मेहनत गर्नुपर्छ भन्ने कुरा पावलको सल्लाहबाट कसरी थाह पाउन सक्छौं? (ख) साकुरा कस्तो जीवन बिताउँथिन्‌? नराम्रो बानी छोड्‌न तिनलाई केले मदत गऱ्यो?

अवैध यौनसम्बन्ध। “अवैध यौनसम्बन्ध” भनेर अनुवाद गरिएको वाक्यांशले मौलिक भाषामा कानुनी रूपमा विवाह नगरेका व्यक्तिहरूबीच राखिने यौनसम्बन्ध अनि समलिङ्‌गी सम्बन्धलाई बुझाउँछ। पावलले सङ्‌गी ख्रीष्टियनहरूलाई यस्तो भने: “शरीरका ती अङ्‌गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्न हुन्छन्‌: अवैध यौनसम्बन्ध।” पावलको स्पष्ट सल्लाहबाट यो कुरा बुझ्न सक्छौं: कुइच्छाहरू हटाउन कडा मेहनत गर्नुपर्छ। यस्ता कुइच्छाहरू हटाउन गाह्रो त छ तर असम्भव भने छैन।

जापानकी साकुरा * बहिनीको अनुभव विचार गर्नुहोस्। हुर्कंदै जाँदा तिनले एक्लो महसुस गर्न थालिन्‌। तिनलाई जीवनको कुनै उद्देश्य छैन जस्तो लाग्थ्यो। एक्लोपन कम गर्न तिनले १५ वर्षको उमेरदेखि विभिन्न पुरुषसित यौनसम्बन्ध राख्न थालिन्‌। विगतको कुरा सम्झँदै तिनी यसो भन्छिन्‌, “मैले तीन चोटि गर्भपतन गरें।” तिनी अझै भन्छिन्‌: “सुरुमा त मलाई आफू एक्लो छैनँ जस्तो लाग्थ्यो। किनभने कसैलाई मेरो खाँचो छ अनि मलाई माया गर्ने कोही छ जस्तो लाग्थ्यो। तर जति धेरै त्यस्तो सम्बन्ध राख्दै गएँ, मैले झन्‌झन्‌ एक्लो महसुस गरें।” तिनले तेइस वर्षको उमेरसम्म यस्तो सम्बन्ध राखिन्‌। पछि तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालिन्‌। तिनलाई आफूले सिकेको कुरा मन पऱ्यो। तिनी एकदमै दोषी महसुस गर्थिन्‌; तिनलाई आफैदेखि घिन लाग्थ्यो। तर यहोवाको मदतले गर्दा तिनी त्यस्ता भावनासित लड्‌न सकिन्‌ र अवैध यौनसम्बन्धदेखि अलग रहन सकिन्‌। तिनी अहिले नियमित अग्रगामी गर्दै छिन्‌। अहिले तिनी एक्लो महसुस गर्दिनन्‌। तिनी यसो भन्छिन्‌, “हरेक दिन यहोवाको माया अनुभव गर्न पाएकोमा म असाध्यै खुसी छु।”

अशुद्ध आनीबानी त्याग्नुहोस्

८. हामीलाई यहोवाको नजरमा अशुद्ध बनाउने कुराहरू के-के हुन्‌?

अशुद्धपन। अशुद्धपन भनेर अनुवाद गरिएको शब्दले मौलिक भाषामा यौनसित सम्बन्धित पापहरू मात्र नभई चुरोट खाने अनि अश्‍लील ठट्टा गर्नेजस्ता बानीलाई पनि बुझाउँछ। (२ कोरि. ७:१; एफि. ५:३,४) साथै गुप्तमा गरिने अशुद्ध बानी-व्यहोरालाई पनि बुझाउँछ। जस्तै: यौन उत्तेजना जगाउने किताबहरू पढ्‌ने अनि अश्‍लील सामग्री हेर्ने। त्यस्ता कुराले हस्तमैथुन गर्ने फोहोरी बानीतर्फ धकेल्न सक्छ।—कल. ३:५. *

९. आफूमा “कामवासना” जगाउँदा कस्ता नराम्रा नतिजा हुन सक्छन्‌?

अश्‍लील सामग्री हेर्ने बानी परेकाहरूले आफूमा अनियन्त्रित “कामवासना” जगाइरहेका हुन्छन्‌। यसले गर्दा तिनीहरूमा यौनसम्बन्ध राख्ने वा यौनबारे मात्र सोच्ने लत बस्न सक्छ। अनुसन्धानहरूले देखाएअनुसार अश्‍लील सामग्री हेर्ने लत लाग्नु भनेको रक्सी अनि लागूपदार्थ खाने लत लाग्नुजस्तै हो। ती दुवै लतमा लाग्ने सकसकी उस्तै हुन्छन्‌। अश्‍लील सामग्री हेर्ने बानीले थुप्रै नराम्रो असर पुऱ्याउँछ। जस्तै: आफैदेखि घिन लाग्नु, कामको गुणस्तर घट्‌नु, पारिवारिक जीवनमा समस्या आउनु, सम्बन्धविच्छेद हुनु अनि आत्महत्या गर्नु। अश्‍लील सामग्री हेर्ने बानी त्यागेको एक वर्ष पुगेकोमा खुसी हुँदै एक जना मानिसले यसो भने: “मैले गुमाएको आत्मसम्मान फेरि पाएँ।”

१०. अश्‍लील सामग्री हेर्ने लत त्याग्न रिबेरोलाई केले मदत गऱ्यो?

१० अश्‍लील सामग्री हेर्ने लत त्याग्न कसै-कसैले निरन्तर सङ्‌घर्ष गरिरहनुपर्ने हुन्छ। तर यस्तो लत त्याग्न असम्भव छैन भन्ने कुरा ब्राजिलका रिबेरोको अनुभवले देखाउँछ। तिनले किशोरावस्थामै घर छोडेका थिए। पछि तिनले कागज पुनःप्रशोधन गर्ने कारखानामा काम गर्न थाले। त्यहाँ तिनले अश्‍लील पत्रपत्रिका भेट्टाए। तिनी भन्छन्‌: “बिस्तारै अश्‍लील सामग्री हेर्ने लत लाग्न थाल्यो। म त्यो नहेरी बस्नै नसक्ने भएँ। यतिसम्म कि मसँगै कोठामा बस्ने केटी कहिले बाहिर जाली र अश्‍लील सामग्री हेरुँला भनेर पर्खिरहन्थें।” एक दिनको कुरा हो, किताबहरूको चाङमा तिनले पारिवारिक आनन्दको रहस्य भन्ने किताब देखेछन्‌। तिनलाई त्यो किताबमा भएको कुरा धेरै मन पऱ्यो। तिनले यहोवाका साक्षीहरूसित अध्ययन गर्न थाले। आफ्नो कुलत त्याग्न तिनलाई निकै समय लाग्यो। तिनले कसरी त्यो कुलत त्याग्न सके? तिनी भन्छन्‌: “प्रार्थना गर्दा, बाइबलको अध्ययन गर्दा अनि आफूले सिकेको कुरामा मनन गर्दा मैले यहोवालाई अझ राम्ररी चिन्न सकें। जति उहाँलाई चिन्दै गएँ, उहाँप्रतिको माया पनि बढ्‌दै गयो। उहाँप्रतिको मायाले अश्‍लील सामग्री हेर्ने कुइच्छालाई जित्यो।” परमेश्वरको वचनबाट र उहाँको पवित्र शक्तिबाट मदत पाएर तिनले आफ्नो पुरानो व्यक्तित्व फुकाल्न सके। तिनले बप्तिस्मा गरे र अहिले तिनी एल्डरको रूपमा सेवा गर्दै छन्‌।

११. अश्‍लील सामग्री हेर्ने लत त्याग्न के गर्नुपर्छ?

११ कुलत त्याग्न रिबेरोले बाइबलको अध्ययन मात्र गरेका थिएनन्‌। तिनले बाइबलको कुरा आफ्नो मनसम्म पुऱ्याउन त्यसमा मनन गरेका थिए। साथै मदतको लागि तिनले यहोवालाई प्रार्थना गरेका थिए। यसरी तिनले परमेश्वरप्रतिको प्रेम बढाउन सके र अश्‍लील सामग्री हेर्ने लत त्याग्न सके। अश्‍लील सामग्रीदेखि अलग रहन यहोवाप्रतिको प्रेम बलियो बनाउनै पर्छ अनि खराब कुरालाई घृणा गर्नै पर्छ।भजन ९७:१० पढ्‌नुहोस्।

रिसाउने, दुर्वचन बोल्ने अनि झूट बोल्ने बानी त्याग्नुहोस्

१२. स्टेफनलाई रिसाउने अनि दुर्वचन बोल्ने बानी त्याग्न केले मदत गऱ्यो?

१२ तुरुन्तै रिसाइहाल्ने मानिसहरू अक्सर दुर्वचन बोलेर आफ्नो रिस पोखाउँछन्‌। यस्तो बानीले पारिवारिक जीवनमा तनाव उत्पन्न गर्छ। अस्ट्रेलियाका स्टेफन यसो भन्छन्‌: “म असाध्यै फोहोर बोली बोल्ने गर्थें। अनि ससाना कुराहरूमा पनि रिसाइहाल्थें। श्रीमतीसित तीन चोटि छुट्टिएर बस्नुपरेको थियो। सम्बन्धविच्छेदको लागि प्रक्रिया अगाडि बढिसकेको थियो।” पछि तिनीहरूले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले। स्टेफनले आफ्नो जीवनमा बाइबलका सिद्धान्तहरू लागू गर्न थालेपछि नतिजा कस्तो भयो? तिनी भन्छन्‌: “हाम्रो पारिवारिक जीवनमा ठूलो परिवर्तन आयो। पहिला म छिसिक्क केही हुनेबित्तिकै बमजस्तै पड्किहाल्थें। तर यहोवाको मदत पाएर शान्त हुन सिकें।” अहिले स्टेफन सहायक सेवकको रूपमा सेवा गर्दै छन्‌ अनि तिनकी श्रीमतीले नियमित अग्रगामी गरेको वर्षौं भइसक्यो। मण्डलीका एल्डरहरू तिनीबारे यसो भन्छन्‌: “स्टेफन शान्त स्वभावको हुनुहुन्छ। मेहनती अनि नम्र हुनुहुन्छ।” ती एल्डरहरूले तिनी रिसाएको कहिल्यै देखेका छैनन्‌। आफ्नो जीवनमा आएको परिवर्तनको लागि तिनी कसलाई श्रेय दिन्छन्‌? तिनी भन्छन्‌: “मैले जति पनि आशिष्‌ पाएको छु, ती सबै यहोवाबाटै पाएको हुँ। उहाँको मदत नस्विकारेको भए यस्तो परिवर्तन गर्न सक्ने थिइनँ।”

१३. रिसाउने बानी किन खतरनाक छ? यसबारे बाइबल कस्तो सल्लाह दिन्छ?

१३ हाम्रै भलाइको लागि बाइबलले रिसाउने, दुर्वचन बोल्ने अनि चिच्याउने बानी त्याग्न सल्लाह दिएको छ। (एफि. ४:३१) यस्ता बानीले अक्सर मानिसहरूलाई हिंसा गर्न उक्साउँछ। संसारका मानिसहरू रिसाउने बानीलाई सामान्य ठान्छन्‌। तर यस्तो बानीले यहोवाको अनादर गर्छ। थुप्रैले नयाँ व्यक्तित्व धारण गर्नुअघि त्यस्ता खराब बानी हटाउन निकै सङ्‌घर्ष गर्नुपरेको थियो।भजन ३७:८-११ पढ्‌नुहोस्।

१४. के हिंस्रक स्वभावका व्यक्ति नम्र हुन सक्छन्‌? अनुभव बताउनुहोस्।

१४ अस्ट्रियामा एल्डरको रूपमा सेवा गरिरहेका हान्स भाइको उदाहरण विचार गर्नुहोस्। मण्डलीका संयोजक तिनीबारे यसो भन्छन्‌: “उहाँ एकदमै नम्र हुनुहुन्छ।” तर हान्स भाइ पहिला त्यस्तो थिएनन्‌। तिनी किशोरावस्थादेखि रक्सीको कुलतमा फसेका थिए। यसले गर्दा तिनी हिंस्रक हुन थाले। खाएको सुरमा तिनले आफ्नै गर्लफ्रेन्डको हत्या गरे। तिनलाई २० वर्ष जेल सजाय सुनाइयो। जेलमा परे पनि तिनमा केही परिवर्तन आएन। पछि तिनकी आमाले एक जना एल्डरलाई तिनीसित भेट्‌न अनि बाइबल अध्ययन गराइदिन आग्रह गरिन्‌। तिनी भन्छन्‌: “पुरानो व्यक्तित्व हटाउन साह्रै गाह्रो थियो। मैले यशैया ५५:७१ कोरिन्थी ६:११ बाट निकै प्रोत्साहन पाएँ। यशैया ५५:७ मा ‘दुष्टहरूले आफ्नो बाटो त्यागोस्’ भनेर लेखिएको छ। अनि १ कोरिन्थी ६:११ मा खराब काम त्यागेका मानिसहरूको बारेमा ‘तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ’ भनेर लेखिएको छ। वर्षौंसम्म यहोवाले मलाई धीरजी हुँदै मदत गर्नुभयो। नयाँ व्यक्तित्व धारण गर्न उहाँले मलाई आफ्नो पवित्र शक्ति दिनुभयो।” साढे १७ वर्षपछि तिनलाई रिहा गरियो। जेलमा छँदै तिनले बप्तिस्मा गरे। तिनी भन्छन्‌: “यहोवाले मलाई असीम दया देखाउनुभयो, मलाई क्षमा दिनुभयो। म उहाँप्रति आभारी छु।”

१५. मानिसहरूको लागि कस्तो कुरा सामान्य हो? यसबारे बाइबल के भन्छ?

१५ झूटो बोल्नु पनि पुरानो व्यक्तित्वको भाग हो। मानिसहरू सरकारदेखि कर छल्न अनि गल्तीको सजाय भोग्नदेखि जोगिन झूट बोल्छन्‌। यो तिनीहरूको लागि सामान्य कुरा हो। तर यहोवा भने “सत्य परमेश्वर” हुनुहुन्छ। (भज. ३१:५) त्यसैले उहाँ हामी ‘हरेकले आफ्नो छिमेकीसित सत्य बोलेको’ अनि अरूलाई ‘नढाँटेको’ चाहनुहुन्छ। (एफि. ४:२५; कल. ३:९) सत्य बोल्न कहिलेकाहीं गाह्रो हुन सक्छ अथवा आफै लाजमा पर्नुपर्ने हुन सक्छ। तर यस्तो अवस्थामा पनि हामीले सत्य बोल्नुपर्छ।—हितो. ६:१६-१९.

तिनीहरू कसरी सफल भए?

१६. हामी कसरी पुरानो व्यक्तित्व फुकालेर फाल्न सक्छौं?

१६ हामी आफ्नै बलबर्कतमा पुरानो व्यक्तित्व फुकालेर फाल्न सक्दैनौं। यस लेखमा उल्लेख गरिएका साकुरा, रिबेरो, स्टेफन अनि हान्सले आफ्नो खराब आनीबानी त्याग्न सङ्‌घर्ष गर्नुपरेको थियो। यहोवाको वचन अनि उहाँको पवित्र शक्तिमा भर परेकोले तिनीहरू आफ्नो खराब आनीबानी त्याग्न सफल भए। (लूका ११:१३; हिब्रू ४:१२) यहोवाको मदत पाउन हामीले हरेक दिन बाइबल पढ्‌नुपर्छ अनि त्यसमा मनन गर्नुपर्छ। साथै बाइबलको सिद्धान्त लागू गर्न चाहिने बल र बुद्धिको लागि निरन्तर प्रार्थना गर्नुपर्छ। (यहो. १:८; भज. ११९:९७; १ थिस्स. ५:१७) सभाको लागि तयारी गर्दा अनि सभामा उपस्थित हुँदा पनि हामी परमेश्वरको वचन र उहाँको पवित्र शक्तिको मदत पाउन सक्छौं। (हिब्रू १०:२४, २५) साथै यहोवाले आध्यात्मिक भोजन उपलब्ध गराउनको लागि मिलाउनुभएका प्रबन्धहरूको पुरापुर सदुपयोग गर्नुपर्छ। जस्तै: पत्रपत्रिका, JW ब्रोडकास्टिङ, JW लाइब्रेरी, jw.org आदि।—लूका १२:४२.

हामी कसरी पुरानो व्यक्तित्व फुकालेर फाल्न सक्छौं? (अनुच्छेद १६ हेर्नुहोस्)

१७. अर्को लेखमा के छलफल गर्नेछौं?

१७ ख्रीष्टियनहरूले त्याग्नुपर्ने केही खराब आनीबानीबारे हामीले यस लेखमा चर्चा गऱ्यौं। परमेश्वरको अनुमोदन पाउन त्यति मात्र गरे पुग्छ? पुग्दैन। पुरानो व्यक्तित्व फुकालेर फालेपछि हामीले नयाँ व्यक्तित्व धारण गर्नुपर्छ। नयाँ व्यक्तित्वका कस्ता पक्षलाई हामीले आफ्नो जीवनको अभिन्न भाग बनाउनुपर्छ भन्नेबारे यसपछिको लेखमा छलफल गरिएको छ।

^ अनु. 7 यस लेखमा केही नाम परिवर्तन गरिएका छन्‌।